‘मिल्न सके सबै मिल्छ; नसके झगडाको बीउ बन्छ । तिमरू के गर्दा रछौ; म हेर्दै छु ।’ यसखाले खबरदारीका साथ मैले पोलेको मुसाका पुच्छरहरू आफ्ना बच्चाहरूलाई दिएको थिएँ । उनीहरूले पनि रमाईरमाई नुनसँग चोबेर खाएका थिए ।
‘मुसाको पुच्छर त यत्ति मिठो हुन्छ । झन् पोलेको मुसाको शरीर खान पाए कति काइदा हुन्थ्यो !’ कान्छी छोरीको इच्छालाई थुम्थुम्याउँदै जेठो बोलेको थियो; ‘सप्पै खान पाइन्छ । बाबा मुसाको मासु सफा गर्दै हुनुहुन्छ । यसरी हैन पकाएर रस हालेको मुसाको मासु र एक थाल भात मज्जाले खान भेटिन्छ ।’
‘दाजु; हिजो घरमै मुसा मारेको थियो । किन नखाएर फ्याकेको ?’ बहिनीको सवालको जवाफमा जेठाको स्वर सुनिएको थियो; ‘घरायसी मुसाहरू गन्हाउँछन् । वनका मुसा गन्हाउँदैनन् । स्वादिला हुन्छन् ।’
‘यत्ति स्वादिष्ट हुँदा पनि अरू जातका मान्छेहरू आफूले परै जाओस् हामीले मुसा खाँदा पनि किन घिनाउँछन् ?’ कान्छो छोराको जिज्ञासाको मुख बन्द पार्न जेठाले जवाफ दिएको थियो; ‘त्यो त सानैदेखि लागेको बानी र पारिवारिक सोचमा भर पर्छ ।’
कुरा सुनिरहेकी आमाले मसला पिस्दै भनेकी थिइन्, ‘हाम्रो जात मुसा खाने हो । हामी प्रकृति पुज्छौँ । प्रकृतिको उपहार निःशुल्क लिन्छौँ । प्राकृतिक जीवनशैली जिउँछौँ ।’
‘किसान मरेर काम गर्छ; खेतमालिक बसेर फाइदा लुट्छ । उसभन्दा पहिले मुसाले लुट्छ । यस उराँवटोलमा चैँ तिनै मुसालाई म लुट्छु ।’ मुसाको मासु परपरी भुट्दै मैले भनेको सुनी जेठाले प्रश्न सोधेर नाजवाफ पा¥यो ।
‘किसानको पसिनाको लाभ खाने खेतमालिक, किसानको मेहनत चोर्ने मुसा हो भने मुसाहरूलाई उठिबास लाउने हजुर चाहिँ के हुनु भो बाबा ?’