15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि वीरभद्रको कविता यात्रा : उत्तरआधुनिक मोडतर्फ

कृति/समीक्षा बालकृष्ण लामिछाने May 21, 2022, 3:17 am
बालकृष्ण लामिछाने
बालकृष्ण लामिछाने

कवि वीरभद्र कार्कीढोली ( सन् १९६४ ) सिक्किममा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित विशिष्ट साधक हुन् । हँसमुख मुहारका मृदृभाषी वीरभद्रसँग अरुमाझ सहजै आफ्नो प्रभाव छाड्न सक्ने क्षमता छ । उनी निदाइरहेको परिस्थितिलाई जुरुक्कै उठाउन सक्षम देखिन्छन् । लामो समयदेखि प्रक्रिया साहित्यिक पत्रिका सम्पादन / प्रकाशन गर्दै आएका उनले साहित्यको विकासमा योगदान दिनुका साथै धेरै नवप्रतिभालाई प्रस्फुटन हुने अवसर पनि दिएका छन् । यसबाट नेपाली साहित्यको प्रवृत्ति तथा गति , मोड र विकासको आँकलन गर्नसमेत सजिलो भएको छ । साहित्यक रुचि हुनेहरुमाझ नयाँ उत्प्रेरणा सिर्जना गरी प्राज्ञिक माहौल बनाउन समेत उनको उत्तिकै लगाव रहेको देखिन्छ । भाषा साहित्यको उत्थानका लागि अनवरत उत्साह भएका उनी भारतीय नेपाली समाजका प्रिय पात्र हुन् । उनका प्रकाशित “ निर्माण यो मोडसम्म ” ( सन् १९८२ ) आभाष ( सन् १९८६ ) कविता पर्खिएर आधारातसम्म ( सन् १९८८ ) एकमुठी कविता ( सन् १९९४ ) शब्द र मन ( सन् २००० ) अक्षरहरुको यात्रा ( सन् २००५ ) समाधि अक्षरहरु ( सन् २००७ ) र ध्वनि अन्तरध्वनि ( सन् २०११ ) कविता सङ्ग्रहहरुले उनलाई नेपाली साहित्यका उत्कृष्ट कवि प्रतिभाका रुपमा सुपरिचित गराएका छन् । यसबाहेक उनले कथा र संस्मरणात्मक कृतिहरु पनि प्रकाशनमा ल्याएका छन् । उनले साहित्यिक पत्रकारिता र कविता सिर्जना कार्य एकसाथ अघि बढाएका छन् ।

नेपाली भाषाले भारतमा संवैधानिक मान्यता प्राप्त गरेको छ । यो भारतीय नेपालीभाषी समुदायका लागि गौरवको विषय हो । अन्य भारतीय भाषाकै तुलनामा नेपाली भाषालाई पनि संमृद्घ तुल्याउने उनीहरुको एउटै अभीष्ट हो । नेपाली साहित्य पनि उत्तिकै सशक्त हुनुपर्ने उनीहरुको अपेक्षा रहेकै हुन्छ । यसतर्फ सङ्केत गर्दै कवि वीरभद्र भन्छन् “हामीले अन्य संमृद्घ भाषाका साहित्यलाई पनि हेरिराख्नु परेको छ ।” यस्तो हेराइ र अध्ययनले अन्य अनेक संमृद्घ भाषाका तुलनामा नेपाली साहित्यलाई पुर्‍याउन सकिने देखिन्छ । एक नेपालीभाषी साहित्यकार उनले आफ्ना अनुभूति र संवेदनालाई अन्य भाषामा पनि अनुवाद गरी प्रकाशनमा ल्याएका छन् । तुमने जीवन तो दिया र शब्दका कोहरा हिन्दी भाषामा , वीरभद्र कार्की ढोली र निर्वाचित मन आसामिया भाषामा , एक्सप्रेसन अफ वर्डस्र अङ्ग्रेजी भाषामा जस्ता कविता सङ्ग्रहहरु प्रकाशन गरी आफ्ना अनुभूति र संवेदनालाई विश्वस्तरीय रुप दिने प्रयत्न गरेका छन् । यसरी उनी नेपाली भाषा साहित्यका विश्वकविका रुपमा परिचय बनाउन सफल भएका छन् ।

कवि वीरभद्र कार्कीढोलीका चयनित कविताहरुको सङ्ग्रह “ विगतदेखि वर्तमानसम्म ( सन् २०१३ ) प्रेमनाथ मनेनको सम्पादनमा प्रकाशनमा आएको छ । यसमा कवि वीरभद्रका सबै कालखण्डका प्रतिनिधि कविताहरु समेटिएका छन् । यही कवितासङ्ग्रहका माध्यमबाट कवि वीरभद्रको काव्यप्रवृत्ति ठम्याउन सजिलो भएको छ ।

कवि वीरभद्रले आफ्ना कवितामार्फत् जीवनलाई अनेक पाटा , पक्ष र माध्यमबाट छाम्न, बुझ्न र अनुभूति गर्न खोजेका छन् । आफ्नो कवितायात्राको सुरुआती चरणमा प्रतिभा तिखार्दै र अभ्यस्त हुँदै गरेका उनले जीवनमा अनेकौँ साँघुरा , अप्ठ्रयारा र बिब्ल्याँटा परिस्थिति झेल्दै तथा तिनका अनुभव र अनुभूति बटुल्दै हिड्ने चाहना व्यक्त गर्दै सिर्जना गर्न थालनी गरेको पाइन्छ :—

आज भोलि मलाई चाहिँ जीवन
विभिन्न आयामबाट हेर्न मनपर्छ
ओहो मेरो बर्तमान जीवनसँग
तिमी दुखी नहौ ,यस्तरी
मलाई जिन्दगीका बोझहरु
यस्तरी नै बोकेर
दुनियाँको ओरालो उकालो
साँघुरो अप्ठेरो
अनुभव र अनुभूतिका बाटाहरु हिँड्न मनपर्छ ।
( पत्थरले होइन हृदयमा कोमलताले बास गर्छ , पृ —५१ )

उनी यस कवितामा तेस्रो आयामले गरेको व्याख्याको नजिक रहेर भाव प्रस्तुत गर्ने कविजस्ता देखिन्छन् । तथापि उनका सुरुवाती चरणका कविता विसङ्गतिवादी चिन्तनले भरिएका छन् । विसङ्गतिवादी चिन्तक विलियम आई. ओलिभरले जन्मनुभन्दा अघि र मृत्युपछि जीवनको कुनै अस्तित्व नरहने बताएका छन् । जन्म र मृत्युबीचको सीमित समयमा अस्तित्वमा रहेको जीवनको उनले कुनै मूल्य पनि देखेका छैनन् । उनले कुनै वस्तु , तथ्य , वा जीवनको परिप्रेक्ष अथवा पाटोमात्र हामीलाई प्राप्त भएको बताउँदै यो हाम्रा इन्द्रियले विवेकलाई छल्ने विसङ्गत अवस्थाका रुपमा व्याख्या गरेका छन् । यही विसङ्गतिवादी चिन्तनलाई कवि वीरभद्रले “क्रमशः जिन्दगी ” शीर्षकको कवितामा अत्यन्त कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् :—

आकाशदेखि धेरै तल
धरतीदेखि धेरै माथि । जहाँ
एकचोक्टा कुहिरो अडिएको छ ,
जिन्दगी ।

उनले यस कवितामा एक झोक्का हावाले उडाउन सक्ने अथवा एक दर्कन पानी पर्दैमा समाप्त हुने एक चोक्टा कुहिरोले जस्तै जिन्दगीले न कुनै स्थायित्वको चेतना प्राप्त गर्न सक्छ , न कुनै मूल्यवान् परिभाषा । उनी अझ अल्वर्ट कामुले परिभाषा गरेझैँ अन्त्यहीन र निःसार जीवनलाई बोकेर हिडिरहनुपरेको बाध्यतामा रहेको देखाउँछन् :—

खोइ , स्वच्छ वतास त्यो डाँडामा
यो जिन्दगी भने अझै बोकिएकै छ
मेरो पिठ्यूँमा एउटा बोझ भएर
उफ् ! यहाँ त कतै रहेनछ
बिसाउनलाई यौटा चौतारोसम्म
अब कहाँ पुर्‍याएर बिसाऊँ त
यो जिन्दगी ।
( खोजिरहेछु त्यो ठाउँ , पृ —३० )

यस कविताले अल्वर्ट कामुले पूराकथामा सिसिफसले जीवनमा निस्सार र कठिन परिश्रम गरेको देखाएझैँ अभिव्यक्ति दिँदै भोगाइका कठिन बोझहरु बोकेर तिनलाई कतै बिसाउन नपाई हिँड्नु परेको विसङ्गत अवस्थालाई देखाएको छ ।

कवि वीरभद्रले जीवनलाई विसङ्गत देख्दादेख्दै त्यही विसङ्गत अवस्थाकै माझ अस्तित्वबोध पनि गर्न पुग्छन् । जाँ पाल सार्त्रले जीवन निरुपाय , निरुद्देश्य , महत्वहीन, विसङ्गत हुँदाहुँदै पनि जीवनको कुनै न कुनै अस्तित्व भएको बताएका छन् । त्यही विचारलाई अघि सारेर कवि वीरभद्रले विसङ्गतिका माझ अस्तित्ववादी चेतनाले जीवनलाई हेर्न थालेको पाइन्छ । उनी “मलाई पनि जिउने अधिकार देऊ ” शीर्षकको कवितामा भन्छन् :—

मलाई पनि तिम्रो जिन्दगीको डिलमुन्तिर
धूप्पीको रुख उभिन देऊ
म मान्छु । यत्तिमै पनि

पीडा , दुःख र निराशाका स्वर भर्दाभर्दै कवि वीरभद्र आशावादी , जीवनवादी दृष्टिले जीवनलाई हेर्न थाल्छन् । उनी जीवनलाई सिर्जनशील बनाउने उद्देश्यमा जुट्छन् । जीवनलाई सार्थक र मूल्यवान् बनाउने दिशातर्फ प्रवृत्त बन्छन् । उनका सिर्जनाले मानव जीवनलाई सार्थक उद्देश्यतर्फ लाग्न प्रेरित गर्छन् :—
हत्केला फैलाएर मेरो अघि
मेरो नाम नमाग ऐले नै मसँग
सिर्फ कुलो भएर बग्दै गर
मैले खेत नबिराउन्जेल ।
( परिमुक्त / मोडसम्म पृ—९२ )

यसमा जीवन भोगाइका जटिलतासँपिग जुझ्दै , अप्ठ्यारा परिस्थितिलाई पन्छाउँदै उनी बाँच्ज दृढ छन् । उनी जीवन विसङ्गत छ भनेर स्वीकार गर्दै यसको अस्तित्व खोज्न लागेका देखिन्छन् :—

मैले पहरासित प्रेम गरेको छु
साक्षी छौ हिमाल
अबका भूकम्पहरु र चट्याङ्हरुले
मभित्रको उचाइ र दृढता तोड्न सक्ने छैन
( प्रेमका कुरा पृ —१०० )

यसरी विसङ्गतिवादी अस्तित्ववादी दृष्टिकोण बोकेका उनी पछिल्ला चरणमा पृथक मान्यता बोकेर अगाडि आएका छन् । यहाँसम्म आइपुग्दा उनको जीवनलाई हेर्ने दृष्टिकोणमा पनि भिन्नता आएको छ । जीवनलाई अनेक पाटा , पक्ष र कोणबाट हेरेर अनेक परिभाषा गरेपछि उनी यसलाई परिभाषित गर्न नसकिने निष्कर्षमा पुग्छन् । वैयक्तिक भोगाइले जीवनलाई फरक—फरक ढङ्गले बुझ्ने अवस्था सिर्जना गर्छ । जीवन भोग्दै र बाँच्तै जाँदा सुख—दुःख , हर्ष—विस्मात् ,उन्नति—अवनति आदिजस्ता बिभिन्न मोडहरुपिच्छे बुझाइमा आएको गतिशीलतासँगै जीवनको परिभाषा पनि फेरिदै जान्छ । जीवन रुटिनजस्तो चल्दैन र यो सीमित परिभाषामा पनि बाँधिदैन भन्ने कवि
वीरभद्रको अभिव्यक्ति पाइन्छ :—

बिर्ख जी ! रुटिनजस्तो त
हँदैन जिन्दगी
त्यसो त जिन्दगी
जिन्दगीजस्तो पनि हुन सक्दैन ।
( बिर्ख जी ! रुटिनजस्तो नहुँदो रहेछ जिन्दगी , पृ —१२१ )

कवि वीरभद्र एउटै परिवेश , एउटै दृष्टिकोण र एउटै भोगाइसँग असन्तुष्ट देखिन्छन् । उनी विश्वचेतनाको प्रवाहलाई पढेर विचारको नयाँ धरातल निर्माण गर्न चाहन्छन् । उनी नवीनतम् चिन्तन र चेतनाले गतिशील हुन चाहन्छन् । यसरी एकोन्मुख परिस्थितिका व्यतिरेकमा आफूलाई उभ्याउने स्थिरताका विरोधी वीरभद्र उत्तरआधुनिकतावादी मान्यताले अभिप्रेरित भएका देखिन्छन् :—

नयाँ धरातलमा
नयाँ जिन्दगी उम्रन चाहन्छु
नयाँ मुलुकका किताबमा
नयाँ अनुहार / नयाँ जिन्दगी पढ्न चाहन्छु ।
( तिम्रै मुलुकलाई हेरन , पृ ८५ )

यस्ता गतिशील चिन्तन प्रवाहमा प्रवाहित हुन थालेका कवि वीरभद्र केन्द्रमा रहेका पुराना मान्यताई भत्काउन चाहन्छन् । केन्द्रमा रहँदै आएका धर्म—दर्शन , ईश्वर—इतिहास आदिलाई भत्काएर केन्द्रविरोधी उत्तरआधुनिकतावादी अवधारणालाई उपस्थापन गर्ने कवि वीरभद्र पुराना मान्यताले स्थापित गरेको ईश्वरबाट मुक्त भई आफ्ना स्वतन्त्र मान्यताको जिन्दगी जिउन चाहन्छन् :—

मलाई तिम्रो काराबासदेखि यताको
नितान्त नयाँ जीवन सुरु गर्न देऊ
कि म तिम्रो ईश्वरीय दुनियाँमा
पुनः एक जूनी ईश्वरहीन जिउन सकूँ ।
( तिम्रो ईश्वरीय दुनियाँमा , पृ —७७ )

उनी ईश्वरवादी मान्यतामा इतिहासको अविछिन्न गतिमयता र निरन्तरताका विपरीत इतिहासको अन्त्य हुनुपर्ने अवधारणा राख्छन् । उनी समाजले ईश्वर पुजेर बाँचेको लामो इतिहासको अन्त्य भएको घोषणा गर्दै समाजलाई ईश्वरबाट मुक्त गराई नयाँ इतिहास निर्माण गर्न चाहन्छन् । उनी ईश्वरको सार्वभौम अस्तित्वमाथि धावा समेत बोल्छन् । उनी परम्परादेखि अस्तित्वमा रहेका केन्द्रलाई भत्काएर मानवकेन्द्री , प्रणयकेन्द्री र स्वकेन्द्री कविका रुपमा उभिएका छन् । उनी देश , काल , परिस्थिति , संस्कृति आदिका सापेक्षतामा आफ्ना नयाँ मान्यता निर्माण गरी बाँच्न अभिप्रेरित भएका छन् । उनका विचारमा पुराना मान्यता , तथ्य , निष्कर्ष र विश्वास पनि सार्वभौमा होइनन् । नयाँ निर्माण भएका परिस्थितिले नयाँ अर्थ प्रक्षेपण गर्छ भन्ने उनको विचार रहेको छ :—

मदिरा पिएर पनि मान्छे मात्दैनन्
मदिरा नपिई पनि मान्छे मात्छन्
विष पिएर पनि मान्छे मर्दैनन्
विष नपिई पनि मान्छे मर्छन् ।
( विर्ख जी रुटिनजस्तो हुँदैन जीवन , पृ—१२१ )

उनका कविताले एउटै अर्थ प्रक्षेपण गर्दैनन् । उनी लेखकीय महत्व क्षीण भएर पाठकीय महत्व बढेको देख्छन् । उनी पाठकलाई सर्वोपरि स्थान दिएर अर्थको खुलापनमा विश्वास राख्छन् । उनी आफ्नो सजिलोअनुसार अर्थ उत्खनन् गरी बुझ्न पाठक स्वतन्त्र रहेको सङ्केत गर्छन् । उनी रोला बार्थले लेखकको मृत्युको घोषणा गरेजस्तै “बिर्ख जी रुटिनजस्तो हुँदैन जिन्दगी ” कवितामा लेख्छन् :—

बिर्ख जी ! हिँजोको रात
साँच्चै अभूतपूर्व थियो
त्यो रात म मरेको थिएँ ।

ज्याक डेरिडाले विपठन र विनिर्माणको सिद्घान्तमा प्रस्तुत गरेजस्तै कवि वीरभद्र स्वयम्ले पाठको विपठन गरी कविता प्रस्तुत गरेका छन् । यसमा पनि पाठमात्र बाँकी रहने र त्यो पाठको अनेक विपठन हुन सक्ने देखिन्छ । कवि वीरभद्रले सुकरातले निर्धक्कसँग विष पिएर मृत्यु वरण गरे भन्ने पाठलाई विपठन गरी आफ्नो कवितामा लेखेका छन् :—

उनले विष पिएका होइनन् रहेछ
अझै बाँच्न चाहन्थेछन् उनी
विर्ख जी ! सुकरातका आँखामा
आँशुका करुण थोपाहरु देखेँ ।
( विर्ख जी !रुटिनजस्तो नहुँदो रहेछ जिन्दगी , पृ —१२१ )

उनले प्रस्तुत गरेका कवितामा स्वयम् यसको विधागत सीमा मिचिएको र भत्किएकोजस्तो पनि देखिन्छ । उनको त्यस प्रविधिको प्रयोगमा कतै निबन्धात्मक अभिलक्षण देखिन्छन् भने कतै आख्यात्मक अभिलक्षण पनि भेटिन्छन् । कवि वीरभद्रद्वारा रचित कविता पढ्दै जाँदा त्यो कवितामात्र हो भनेर पत्याउन गाह्रो हुन्छ । उनको आख्यात्मक अभिलक्षण भएको कविता “ अचेल म आगोको खेती गर्दैछु ” बाट एक अंश हेरौँ :—

त्यसबेला पोष्टम्यानले तिम्रो पत्र सम्पूर्ण
मेरो हत्केलामा थमाइसकेर परतिर पुग्दा नपुग्दा
आँगनको शिरीषको रुखलाई
चट्याङ्ले यस्तरी हिर्कायो
कि त्यो सम्पूर्ण रुख दुई फ्याक भो चिरिएर
तर म जान्दिन त्यहाँ खजुर थ्यो या थिएन
रुख शिरीषको लड्यो दुई फ्याक भएर ।

पाठभित्र अन्तरपाठको खोजी गर्दा त्यहाँ पाठकीय अभिलक्षण पनि भेट्न सकिन्छ । उनले कवितालाई अनेक दृष्टिकोणबाट हेरेका छन् । उनी “ वस्तुतः कविता ” शीर्षकमा लेख्छन् :—

वस्तुतः कविता तिम्रै भोक र प्यास
गाँस र बास
गरिबी र नाङ्गोपन
शोषण र अत्याचार
अनि तिम्रै सुरक्षाका निम्ति
तिम्रै भविष्यका निम्ति ।

उनका कृति वा पाठको पठनका लागि पाठहरुभित्र घुस्नु आवश्यक देखिन्छ । अनि यी पाठहरुभित्र अन्तर्पठनीयता पनि प्राप्त गर्न सकिन्छ । कवि वीरभद्रका कविता कृतिले अनेक कृतिहरुसँग सम्बन्ध राख्छन् । त्यसक्षण उनका कविताहरुले दबिएको विषय र विचारलाई उठाउने प्रयत्न गर्छन् ।
उत्तरआधुनिकतावादले दबिएको पहिचान र परिचयका खोजीलाई विशेष जोड दिएको छ । हाल सिक्किममा रहँदै आएका वीरभद्र जहाँका आप्रवासी नै हुन् । उनी नेपाली मूलका भारतीय भएर आप्रबासी जीवन भाग्दै आएका छन् । सञ्चार यातायात र भूमण्डलीकरणका कारण पछिल्ला दिनहरुमा विभिन्न ठाउँका मानिसहरु विस्थापित र स्थापित हुने क्रम बढेको छ । अमेरिकालाई त आप्रबासीकै मुलुक भनिन्छ । यस्तो परिप्रक्षमा साहित्यमा पनि आप्रजन अनुभूति अथवा डायस्पोरिक चिन्तन खोज्न थालिएको छ । कवि वीरभद्रका कवितामाा पनि आप्रजन अनुभूति दबिएर रहेको देखिन्छ :—

यो साइनो कहिल्यै आफ्नो हुन सकेन
यो ठाउँ पनि अझै आफनो हुन सकेन
अब उसो आफन्त नखोज्ने / नसोध्ने
विचार गर्दैछु ।
( यो मनको बतास , पृ —८३ )

यस कवितामार्फत् उनी आत्मिक आकाङ्क्षाको खोजाइमा रहेका देखिन्छन् । उनी खोज्दिन भन्दा भन्दै आफ्नोपनको आकाश खोज्ने प्रयासमा छन् । उनी टेक्ता नहल्लिने धर्ती र आफ्नो मन बिसाउने ठाउँको खोजाइमा छन् । उनी मृगतृष्णा बोकेर जति कुदे पनि प्यास नमेटिएपछि आफ्नी आमाले पानी थाप्ने पँधेराको खोजाइमा छन् । उनी आफ्नो मनमा खट्किएको अभाव झेल्दै तिनै अभावलाई पूरा गर्ने क्षणको पर्खाइमा छन् । उनी आफूले आफ्नो मानेर बाँचेको धर्तीमा नै बिरानोपन अनुभव गरी आफ्नोपनको

आँगनको खोजाइमा छन् :—
मैले बादल कुहिरो तुवाँलोहरुलाई सोधेँ
वीरभद्र ! तिम्रो आकाश छैन भन्छ
मैले उच्च उच्चतालाई सोधेँ
वीरभद्र ! तिम्रो धरातल छैन भन्छ ।
( कञ्चनजङ्घाले भन्यो , पृ —१०३ )

चिन्तन र विचारको प्रवाहले दिशा बदल्दै जान्छ । चिन्तनको वेग प्रवाह कहिले यताबाट उता बग्छ भने कहिले उताबाट यता बग्छ । यही क्रममा चिन्तन गम्भीरतामा गहिरिँदैन , सतही रुपमा नै प्रवाहित हुन्छ । यस्तो अवस्थामा उनी आफ्ना श्रम र पसिनाले भिजाएको माटोलाई चटक्कै माया मार्न सक्ने अवस्थामा पनि देखिँदैनन् । आफ्नो प्राण , रगत र पसिनाको मोलले जुन माटो सिञ्चिएको छ , त्यससँग पसिनाको मूल्य खोज्न र आत्मीय नाता नछुटाउन चाहन्छन् :—
गङ्गा बगेको देशमा
ओ मेरो देश !
अधिक आँशु बगेको छ । मेरो पनि
टिस्टा सङ्गीत बगेको देशमा
मसित सबै रगत बगेको छ । मेरो पनि
त्यसैले अर्कै छ । रङ्ग नदीहरुको पनि
देख्यौ मेरो देश !

उनका कवितामा आप्रबासका अवस्थाका आत्मपहिचान र स्वत्वको खोजीलाई जोड दिइएको छ । अनि प्रत्येकलाई मानवता र समानताका दृष्टिले हेर्ने देश , देशजस्तै हुनुपर्छ भन्ने विश्वव्यापी अवधारणा उनी आफ्ना कवितामा प्रस्तुत गर्छन् । यससँगै प्रविधिको प्रभावले भूमण्डलीकरणको अवधारणालाई स्वीकार गर्दै आफू जहाँ भए पनि देशमा छु भन्ने अनुभूतिले बाँच्न पाउने अवस्था आओस् भन्ने उनको दृष्टिकोण आएको छ । यातायात र सञ्चारका कारण भौगोलिक दूरीका साथै विभिन्न विभेदको अन्त्य भई जुनसुक ठाउँमा पनि बाँच्न सुलभ हुने कुरा उनका कवितामा व्यक्त भएको छ :—

तिम्रो देश !
जस्तोसुकै होस् भनेको छैन
तिम्रो देश
मेरो देशजस्तै होस् पनि भनेको छैन ।
यतिचाहिँ भन्छु देशलाई
तिम्रो देश , मेरो देश
दुबैको देश , देशजस्तै होस् ।
( देशबारे । पृ — १३ )

कवि वीरभद्रको लेखन कुनै नियमको बन्धन र अनुशासनमा पनि बाँधिएको देखिदैन । उनका कविताले कहिले त्यही कुरा हो भन्छन् , कहिलेचाहिँ त्यही कुरालाई होइन भन्छन् । उनी अराजकता र स्वच्छन्दतालाई अँगाल्ने मुक्त लेखन कलाका कविका रुपमा उभिएका छन् :—

पहाड कसरी झुक्दैन, झुक्छ
पहाड जतिबेला झुक्छ , त्यो बेला
पहाड पहाड नै रहँदैन
त्यसो त पहाड अहँ ! झुक्दैन ।
( आगो र पहाडका कुरा पृ —१०४ )

उनको लेखन व्यतिक्रममा आधारित छ । यो क्रमभङ्गताको अवधारणा हो । यो प्रवृत्ति विनिर्माणको नजिक पनि छ । यसर्थ वीरभद्र उत्तरआधुनिकतावादी चिन्तनतर्फ झुकाउ राखी कविता रचना गर्ने कवि हुन् । त्यसैले कवि वीरभद्रको कविता याञा प्रत्यक्षबाट प्रतितितिर अगाडि बढेको छ । उनी वस्तुतथ्य यथार्थलाई भन्दा यथार्थबाट उत्पन्न हुने
भ्रमलाई महत्व दिन पुग्छन् ।

त्यसैले आजकाल मलाई
बिम्बहरुभन्दा अधिक प्रतिबिम्ब मन पर्छ
बरु प्रतिध्वनि मन पर्छ
ध्वनि मन पर्दैन ।
( यो टाकुराको उचाइमा , पृ —८१ )

कवि वीरभद्रका कविताले तात्कालिक यथार्थलाई जोड दिएको छन् । उनी तात्कालिक समय र स्थानीय पर्यावरणका पृष्ठभूमिमा आफ्नो सजिलोअनुसार परिस्थितिलाई अङ्गीकार गर्न चाहन्छन् । त्यसैको कलात्मक प्रतिबिम्बन उनका कवितामा पाइन्छ ।

उनले जीवनलाई विषय बनाएर अनेक कविता रचना गरेका छन् । मानवीय सम्बन्धहरु , सामाजिक अवस्था , पर्यावरण, माटो , मन र प्रणय विषयमा पनि उनले कविता रचना गरेका छन् । विषय जुन भए पनि ती विषय प्रस्तुतिका माध्यमबाट उत्तरआधुनिक विचार र चिन्तनलाई अन्तरमिश्रित गराई अभिव्यक्ति दिएका छन् । विचार र चिन्तनका दृष्टिले हेर्दा उनका कवितामा सम्पूर्णतः उत्तरआधुनिकतावादी चिन्तनमात्र प्रस्तुत भएको छ । तर बिम्ब र प्रतीकका माध्यमबाट चिन्तनलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् । यसरी सामान्य पाठकका लागि कविता सरल र सम्प्रष्य छन् र गम्भीर पाठकका लागि पनि उनले उत्तरआधुनिकतावादी मान्यताको गम्भीर जीवन दर्शन प्रस्तुत गरेका छन् । बिम्बका माध्यमबाट प्रस्तुत भएका उनका कतिपय कविता चित्रात्मक पनि छन् । प्रायः सङ्क्षिप्त आयाममा रचित कविताहरु शिल्पचमत्कार भन्दा विचार प्रकटीकरणमा केन्द्रित छन् । विचार भाव प्रस्तुतिका क्रममा उनका कविता सङ्क्षिप्त र शूक्तिमय पनि छन् । विश्रृङ्खलित भाव विचार प्रस्तुत गर्ने उनका कविता प्रयोगवादी ढाँचामा रचना भएका छन् । तर पनि ती कवितामा प्रयोग भएको भाषा दुर्बोध्य छैन । गद्यलयमा रचना भएका ती कविता अन्तरअनुप्रासका कारण निकै लयात्मक बनेका छन् । आकर्षक शैलीमा रचना भएका उनका कविताले पाठकको मन सहज रुपमा तान्छन् ।

यसरी सिक्कममा रहेर नेपाली साहित्य सिर्जनाको श्रीवृद्घिमा क्रियाशील स्रष्टा वीरभद्रले साहित्यिक पत्रकारिताका माध्यमबाट पनि नवस्रष्टाका सिर्जना प्रस्फुटन तथा नेपाली साहित्यको गति , मोड र विशिष्टताको आँकलन गर्न सजिलो बनाएका छन् । यी नेपालीभाषी साहित्यकारले आफ्ना रचना अन्य भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएर नेपाली साहित्यलाई विश्वस्तरमा पुर्‍याउने चेष्टा समेत गरेका छन् । उनको कलम मुख्यतः कवितामा तिख्खर बनेर प्रस्तुत भएको छ । युवा अवस्थाबाट नै कविता लेखनमा रुचिशील हुँदै आएका उनले विसङ्तिवादी —अस्तित्ववादी चिन्तनधाराका कविता यात्राको थालनी गरेका छन् । यस क्रममा प्रशस्त अभ्यास र अध्ययन गर्नुका साथै प्रतिभा पनि तिखार्दै लगेको पाइन्छ । आफ्नो कविता यात्राको पछिल्लो चरणमा उनी उत्तरआधुनिकतावादी चिन्तनधाराबाट अभिप्ररित भई कविता प्रस्तुत गर्न थालेका हुन् । उनले विश्व चेतनाको प्रवाहलाई पक्रेर विचारको धरातल निर्माण गर्न चाहेका छन् । उनले केन्द्रमा रहेका ईश्वर , इतिहास , धर्म , दर्शन आदिलाई भत्काएर मानवकेन्द्री ,प्रणयकेन्द्री र स्वकेन्द्री कविता रचना गरेका छन् । उनले आफ्ना कवितामार्फत् सत्यको सार्वर्भाम अस्तित्वमा धावा बोल्दै देश , काल ,परिस्थिति र संस्कृति आदिका सापेक्षतामा आफ्ना नयाँ मान्यता प्रस्तुत गरी बाँच्न अभिप्रेरित गरेका छन् । लेखकीय अस्तित्व क्षीण भई पाठकीय अस्तित्वलाई महत्व दिने उनका कविता विपठन र विनिर्माणको लेखकीय ढपमा प्रस्तुत भएका छन् । आख्यान र निबन्धका विधागत अभिलक्षण मिश्रित उनका कवितामा समीक्षात्मक गुण पनि प्रस्तुत हुनाुले तिनमा विधा भञ्जन भएको समेत देखिन्छ । अनेक पाठहरुसँग सम्बन्ध राख्ने उनका कवितामा अन्तरपठनीयता पनि प्राप्त गर्न सकिन्छ ।

टेक्ता नहल्लिने धर्ती र मन बिसाउने ठाउँको खोजीमा रहेका उनका कविता आप्रजन अनुभूति तथा डायस्पोरिक चिन्तनले पनि भरिएका छन् । सतही चिन्तनका प्रवाहमा प्रवाहित हुन चाहने उनका कविताले त्यही कुरालाई कहिले ठीक मान्छन् , काहले बेठीक मान्छन् । यथार्थलाईभन्दा परायथार्थलाई प्रस्तुत गर्ने उनका कविता मानव जीवन विषयमा केद्रित छन् । यसरी कवि वीरभद्रले आफ्ना कवितामा उत्तरआधुनिकतावादी मान्यताको गम्भीर दर्शन प्रस्तुत गरेका छन् भने सामान्य पाठकका लागि पनि उनका कविता सरल र सम्प्रेष्य रहेका छन् । पारिजातले जस्तै विसङ्गति चिन्तनले भरिएका कविता प्रस्तुत गरी कविताया त्रा आरम्भ गरेका कवि वीरभद्र पनि पारिजात जस्तै प्रगतिवादी मोडसम्म पुग्लान् वा नपुग्लान् , त्योचाहिँ उनका भविष्यका कविताले नै बताउने छन् ।

सन्दर्भग्रन्थ सूची

१ गौतम, लक्ष्मणप्रसाद, नेपाली साहित्यमा उत्तरआधुनिक समालेचना , काठमाडौँ : ओरियन्टल पब्लिकेसन,२०६१ ।
२ चापागाईँ, निनु, भ्रम र वास्तविकता , काठमाडौँ , सहश्राब्दी प्रकाशन २०६१ ।
३ तामाङ , पेम्बा , विनिर्माण , निर्माण १८/३२ गान्तोक , सन् १९९८ ।
४ पाण्डेय , ताराकान्त , अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्घ , काठमाडौँ : वाङ्मय प्रकाशन तथा अनुसन्धान केन्द्र २०६५ ।
५ भण्डारी , राजेन्द्र र वत्सगोपाल , वार्ता र अन्तवार्ता , सिक्किम : जनपक्ष प्रकाशन, सन् १९९७ ।
६ मनेन, प्रेमनाथ , सम्पा. समालोचकीय दृष्टिमा कवि वीरभद्र , दरामदिन : धर्मप्रकाश देवकोटा २०१२ ।
७ ————————— सम्पा. विगतदेखि वर्तमानसम्म , गान्तोक : रञ्जनकुमार परियार , सन् २०१३ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।