17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि मोहन जोशीको ‘कहाँ छ ठाउँ’

कृति/समीक्षा प्रा.डा.वासुदेव त्रिपाठी June 11, 2022, 3:03 pm
प्रा.डा.वासुदेव त्रिपाठी
प्रा.डा.वासुदेव त्रिपाठी

प्रा.डा. मोहनप्रसाद जोशी (वि.सं.२०१४, काठमाडौँ) पेशाले स्वदेश–विदेशमा लामो समयसम्म कार्यरत वरिष्ठ चिकित्साशास्त्री र चिकित्साकर्मी हुुनुहुुन्छ र उहाँले नेपाली कवितातर्फ गहिरो सृजनात्मक रुचि राखी रच्नुभएको प्रस्तुत ‘कहाँ छ ठाउँ’ नामक कवितासङ्ग्रह पनि मानवीय पूर्ण सुस्वास्थ्यका निम्ति अपरिहार्य आध्यात्मिक जीवनमूल्यका प्राप्तितर्फ मुख्यतः परिलक्षित एक उत्कृष्ट आध्यात्मिक कवितावली वा काव्य हुन आएको मैले अनुभव गरेँ। शैक्षिक पृष्ठभूमिका दृष्टिले हेर्दा उहाँ २०४० सालमा चिकित्सा तथा शल्यचिकित्सातर्फ एम्बीबीएस् (भारत, अलाहबाद), चिकित्साशास्त्रमा औषधिविज्ञान विषयमा एम्.डी. (भारत, नयाँ दिल्ली) र २०५० सालमा चिकित्सकीय औषधिविज्ञान विषयमा एम्एस्सी (स्कटल्याण्ड) मा पनि समुत्तीर्ण भई विगत सत्ताईस वर्षका बीच चिकित्साशास्त्रका क्षेत्रमा त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थान र त्यसका महाराजगन्ज क्याम्पस र शिक्षण अस्पतालसँग पनि सम्बद्घ रही विभागीय प्रमुख, प्राध्यापक, स्वास्थ्यप्रशासक, अनुसन्धानकर्ता र नवप्रवर्तक तथा विशिष्ट लेखकका रूपमा नेपालमा र क्रमशः अन्तर्राष्ट्रिय क्षेत्रमासमेत विशैष हैसियतमा क्रियाशील रही पेशागत व्यापक र दीर्घ अनुभवले पनि सुसम्पन्न व्यक्ति हुनुहुन्छ भने यस शैक्षिक पृष्ठभूमि र व्यक्तित्वविकासबाट प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रह उत्प्रेरित रहेको छ भन्ने म ठान्दछु । वास्तवमा उहाँकोे मानवीय चिकित्साक्षेत्रको यही गहन चासोले नै मानवीय पूर्ण स्वास्थ्यका निम्ति आध्यात्मिक मूल्यको वरणको अपेक्षितातर्फ उहाँको सृजनात्मक चेतनालाई जगाइदिएबाट उहाँको ‘कहाँ छ ठाउँ’ नामक प्रस्तुत कवितासङ्ग्रहका प्रायः मार्मिक त्रिहत्तर (७३) कविताको स्वफूर्त रचनाक्रम उत्प्रेरित हुन पुगेको म अनुभव गर्दछु । स्वास्थ्य तथा चिकित्साक्षेत्रमा उहाँ विशेष गरी प्रतिजीवाणविक प्रतिरोधकता, विवेकसम्मत औषधिप्रयोग, औषधिप्रयोगसमीक्षा, औषधिसूत्रावली, औषधि र थेरापी उपचार, औषधीय सतर्कता, औषधीय आसक्ति वा लग्गूपन, चिकित्सकीय औषधिविज्ञान, स्वास्थ्यशिक्षा आदि क्षेत्रमा देशभित्र र संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत रहँदा मानिसको पूृर्ण रोगनिवारण र पूृर्ण स्वस्थ जीवनका निम्ति उसका विश्व र जीवनप्रतिका दृष्टि र जीवनपद्धतिमा अनि मनोरचनागत प्रवृत्तिमा पनि आउनुपर्ने आधारभूत स्वस्थताका सन्दर्भमा उहाँको अवचेत सृजनज्वार प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका क्रमशः जीवनसन्दर्भित समस्या, खोज र समाधान भनिएका क्रमिक तीन खण्डका अठाह्र, छब्बीस र उनन्तीस कवितामार्फत पोखिई आध्यात्मिक मानवीय जीवनमूल्यप्रतिको गहिरो शरीरमनोविश्लेषकीय र आध्यात्मिक सोच र विश्वासले युक्त सुन्दर कविताका रूपमा रूपान्तरित भएको प्रतीत हुन आउँछ । साथै यहाँ एकातर्फ मानवीय मानसिक र आध्यात्मिक अस्वस्थतासँग सम्बन्धित समस्याको पहिचान, तत्सम्बन्धी खोजपरक निदान र समाधानका उपायहरूको जुन कवितात्मक रोचक प्रस्तुति भएको पाइन्छ त्यसमा चिकित्सकीय शोधपरकताकोे पर्याप्त छापसँगै कवितात्मक सौन्दर्यपूर्ण भाषाशैली, लयविधान, भावमण्डल र भावकेन्द्र तथा संरचनागत उक्ति–युक्तिको पर्याप्त व्यञ्जनाशील घुम्टोमा आध्यात्मिक मानवीय मूल्यको कलात्मक तथा पर्याप्त रहस्यवादी दार्शनिक छाप परेको सूक्ष्म विचार–सम्प्रेषण गरिएको पाइन्छ । उहाँको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कविताको तीन आवृत्ति पठन गर्दा म त छक्कै पनि परेँ — कसरी यौटा विशिष्ट चिकित्साशास्त्री र औषधिविज्ञानी यति धेरै आध्यात्मिक र काव्यात्मक सहऊर्जाशाली स्रष्टा हुन पुगेको र यसरी आकस्मिक रूपमा यस कविताग्रन्थमार्फत प्रकट हुन आएको होला; वास्तवमा यो उहाँको औषधिविज्ञानी चैतन्य र मानवीय संवेदनाशाली अन्तर्हृदयको सिर्जनात्मक आध्यात्मिक संस्कारमय सशक्त भावज्वरको कलात्मक रूपायनको सहज स्वस्फूर्त निर्झरणको सुखद परिणति र प्राप्ति हो भन्ने म ठान्दछु ।

अब यहाँ अलिकति चर्चा कवि मोहनप्रसाद जोशीका वैयक्तिकीबारे पनि गरूँ । उहाँ सुप्रसिद्घ नेपाली विद्वान् तथा प्राध्यापक र समालोचक एवम् त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुखसमेत रहनुभएका डा.ताराप्रसाद जोशीका कनिष्ठ सुपुत्र हुनुहुन्छ । मेरा परमादरणीय गुरु डा.ताराप्रसाद जोशीज्यूसँगका सान्निध्यका क्रममा उहाँका ज्येष्ठ सुपुत्र श्री भरतप्रसाद जोशीसँग मेरो विशेष आत्मीयता रह्यो भने कनिष्ठ सुपुत्र मोहन जोशीप्रति मेरो विशेष स्नेह रहँदै आएको छ । म मोहन बाबुलाई किशोरावस्थादेखि नै चिन्दछु र त्यतिखेरदेखि नै उहाँमा चित्रकलाप्रति विशेष चाख थियो र उहाँले फाट्टफुुट्ट मात्र कविताको रचना गरेको म सम्झिन्छु । उहाँले आनुवंशिक रूपमा नै आफ्ना पुर्खाहरूका पाण्डित्यपरम्पराबाट र पैतृक–मातृक संस्कारगत दायका रूपमा हिन्दू संस्कार तथा आध्यात्मिक चेतनासमेत प्राप्त गर्नु स्वाभाविकै हो । उहाँ वर्षाैं त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत कार्यरत रही २०६० सालदेखि संयुक्त राज्य अमेरिकाको स्वास्थ्यविज्ञान–व्यवस्थापनसम्बन्धी औषधिप्रणालीगत सबलीकरणको अन्तर्राष्ट्रिय कार्यक्रमसँग आबद्घ प्रमुख तथा वरिष्ठ प्रविधिज्ञका रूपमा उतै यतिखेर पनि कार्यरत हुनुहुन्छ — लगभग चौवन्न वर्षका उमेरमा । वस्तुतः जीवनको यस उत्तरवयसम्ममा उहाँले नेपाल, संयुक्त राज्य अमेरिका र विश्वका विभिन्न मुलुकको मानवजीवनको रोगग्रस्तता र चिकित्साक्रम तथा औषधीय प्रभावबारे गरेको लामो अध्ययन–अनुसन्धानको प्राज्ञिक र व्यावहारिक छापसँगै आफ्ना पैतृक–मातृक हिन्दू संस्कार र विशेषतः पैतृक साहित्यिक संस्कार–संवेदना र आध्यात्मिक रिक्थबाटसमेत समवेत रूपमा उहाँ उत्प्रेरित भई उहाँको यो अध्यात्मपरक कवित्व–निर्झरण नेपाली भाषातलमा व्यक्तिन आएजस्तो मलाई लाग्दछ । यसमा उहाँको औषधिविज्ञानीय प्रचुर ज्ञान–सीपसँगै व्यापक राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवजीवनको विश्व–अवलोकन र आनुवंशिक हिन्दू आध्यात्मिक चेतना र पैतृक सृजनात्मक संस्कार एवम् कपाल फुल्दो चोैवन्न वर्षे उत्तरवयको दोपहरी जीवनसोच वा जैविकीले पनि भित्रभित्रै वर्षौदेखि उहाँलाई अध्यात्मपरक सहज स्वस्फूर्त सरल तथा कल्पनाशील सुन्दर कवितावलीको रचनातर्फ झकझक्याएको होला भन्ने म ठान्दछु ।


म अब कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहभित्र प्रवेश गर्दै मेरा भावकीय वा पाठकीय अनुभवको सार यहाँ प्रस्तुत गर्दछु । यस क्रममा सर्वप्रथम कवि जोशीको लेखकीयअन्तर्गतका भनाइका यी अंशबाट यस कवितासङ्ग्रहको जन्मकथाका साथै मुख्य कथ्य र भावभूमिकाबारेमा पनि महत्वपूर्ण प्रकाश पर्न सक्तछ भन्ने म ठान्दछु —

हामीहरूका जीवनमा कहिलेकाहीँ त्यस्ता क्षणहरू आउँछन् जब हामी जिल्लिएर आफैँलाई र आकाशलाई

प्रश्न गर्छौं ‘यो सब रटना के हो, किन भइरहेछ, म को हुँ’ आदि । आजसम्म बितेका राम्रा नराम्रा क्षणहरू

सम्झिन्छौँ र भविष्यको बारेमा तर्कना गर्छौँ । जानी नजानी आ–आफ्नै हिसाबले उत्तरहरू पनि खोज्न

थाल्छौँ । हाम्रा ‘‘समस्या’’ हरू के–के हुन् भन्ने केलाउन थाल्छौँ । यसै क्रममा कहिलेकाहीँ भाग्यवश ‘‘खोज’’

को सुरुवात हुन जान्छ । खोजले इमान्दारी, तीव्रता र गहिराइ पाएमा बिस्तारै–बिस्तारै आफूलाई उपयुक्त

हुने ‘‘समाधान’’ हरू पनि निस्कन थाल्छन् ।

म पनि जीवनमा अलिअलि गरेर यस्तै समस्या, खोज र समाधानका चरणहरूबाट गुज्रिँदै गएँ । यिनै क्रममा

अन्तर्मनमा जे जस्ता भावनाहरू उत्पन्न हुँदै गए तिनीहरूलाई यस कवितासङ्ग्रहको रूपमा पेश गर्ने कोसिस

गरेको छु ।

‘‘यस सङ्ग्रहमा भएका दुईवटा कविता मात्रै मैले करिब १० वर्ष पहिलै लेखेको हुँ, अरू सबै विगत

नौ महिनाभित्रै बनेका हुन् । कैयौँ वर्षसम्म केही पनि आएन, लेख्ने खासै रहर पनि थिएन । तर अहिले

हालै आएर यी कविताहरू आफैँ नै निक्लिँदै गए, म निमित्त बन्दै गएँ ।’’


उपर्युक्त लेखकीय उद्घरणहरूका अवलोकनबाट यो सारा विश्वरटनाबारे र ‘म को हुँ’ भन्नेबारेको समस्यामूलक खोज र समाधानका दिशामा कवि मोहनप्रसाद जोशीका अन्तर्मनमा हुँदो मन्थनबाट दश वर्ष अगि रचिएका दुईवटा र बाँकी चाहिँ विगत नौ महिनाका अवधिमा आफै निर्झरित भएका कविताहरूको सँगालोका रूपमा योे ‘कहाँ छ ठाउँ’ नामक कविताग्रन्थ उभिन पुगेको बुझिन आउँछ र यहाँ कविको मूल ध्येय मानवजीवनमा विशुद्घ आनन्द र शान्तिको प्राप्ति नै रहेको पनि छ ।

यसपछि म क्रमशः प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका जीवनसन्दर्भित क्रमिक तीन खण्डका रूपमा रहेका जीवनका समस्या, खोज र समाधानसँग आबद्घ कविताहरूको संक्षिप्त अवलोकनतर्फ उन्मुख हुँदै छु ।

प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको प्रथम समस्या खण्डको पहिलो कविता हो ‘ढोकाको आग्लो खोल्दैनाैँ’ । मानवजीवनको मूल समस्यातर्फको निर्देश यस पहिलो कविताले पनि गरेको छ । ‘ढोकाको आग्लो नखुल्नु’ पनि त्यस समस्याकोे एक पक्ष हुुँदै हो । हाम्रो मानवीय जीवन ढोकामा आग्लो लगाई टुकीको धिपधिपे उज्यालोमा बन्द कोठामा रमाइरहेको छ र त्यो टुकी (जीवनदीप) निभ्नेवाला र नश्वर भए पनि हामी ढोका खोली बाहिरको बृहत् विश्वतर्फ हेर्ने गर्दैनौँ भन्ने समस्यामूलक गुनासोको स्वर यहाँ मुक्त लयको गद्यकविता र मात्रिक तथा वार्णिक गेय लयको साँधको र मध्यम लमाइको अनि अन्त्यानुप्रासी चारहरफे उक्तिढाँचाको चार अनुच्छेदको सहजोद्गारका रूपमा गुँजेको छ । यहाँ आग्लो बन्द रहेको कोठाभित्रको सीमित सोचको जीवनपरिदृश्य र आग्लोबाहिरको बृहत् विश्व–स्थितिको बीचको साङ्केतिक समानान्तरता, वैपरीत्य तथा विरोधाभासमार्फत आग्लो खोली बाहिर निक्ली गर्नुपर्ने बृहत् जीवनयात्राको मुक्तिपथ रेखित छ । यहाँ हाम्रो प्रचलित लौकिक जीवनयात्राको भित्री आग्लो बन्द रहेको अवस्थाको बिम्बविधानका तुलनामा आग्लोभन्दा बाहिरको बृहत् विश्वबारे चाहिँ उति सङ्केत गरिएको छैन तापनि समस्याको मूल जड वा जरो चाहिँ म को हुँ भन्ने खोजको अभाव नै हो भनी यस कविताबाट बुझिन्छ ; वास्तवमा केन्द्रीय प्रतीक वा विस्तारित बिम्ब बन्दै यो बन्द ढोका खोल्ने मुक्तिसन्दर्भ उहाँको यस कवितासङ्ग्रहमा यसपछि पनि आएको छ र त्यसबारे यथास्थान उल्लेख गरिने छ । यहाँ जीवनबत्ती निभ्नुभन्दा अगि आग्लो खोली बाहिर निस्की बाँकी जीवन बचाऔँ भन्ने सूक्ष्म आध्यात्मिक अन्तर्भाव पनि व्यञ्जित छ । यिनै सन्दर्भमा यस कविताका केही पङ्क्ति मननार्थ तल उद्धृत छन् —

म को हुँ भन्ने खोज छैन


टुकीको उज्यालोमा भुल्दै छौँ / कोठाकै सामान हेर्दै छौँ

ढोकाको आग्लो खोल्दैनौँ / बाहिर के छ हेर्दैनौँ

धिपधिप गर्दै छ टुकी, हेरौँ ।


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्या खण्डको दोस्रो कविता हो — ‘रूपान्तरण’ । यसले मानिसको रूपान्तरणदेखिको भयतर्फ समृद्घ रहस्यात्मक स्पर्शसहित सङ्केत गरेको छ गहिरो आत्मपरक रागयुक्त जैविक र वनस्पतीय वस्तुबिम्बहरू वा बिम्बावलीमार्फत । यो रूपान्तरणको सबाल पनि प्रस्तुत आध्यात्मिक जीवनको खोजको यात्राको एक महत्वपूर्ण पक्ष हुँदै हो र यो रूपान्तरण जन्म–मृत्युको जैविक शृङ्खलातर्फको सङ्केत पनि हो । अब यो यात्रा ‘म’ (आफू) बाट ‘तिमी’ (परम सत्ता) तर्फको यात्रा पनि हो । यिनै सन्दर्भमा यस कविताका केही पङ्क्ति तल पाठकीय आस्वादन र अवलोकनका खातिर उद्धरण गरिएका छन् —


झुसिल्किराले आफूलाई जोगाउन खोजे / पुतलीले जन्म नपाउने रहेछ

बीउले आफूलाई बचाउँन सोचे / बिरुवाको अङ्कुरण नहुने रहेछ


बिस्तारै बिस्तारै थाहा पाउँदै छु / म रूपान्तरणदेखि डराउँदै छु

आफूलाई बचाउँदै छु / तिमीलाई गुमाउँदै छु


उपर्युक्त परिप्रेक्ष्यमा सार्वनामिक रूपमा आएका कवितागत कथयिता र सम्बोधित वा लक्षित जस्ता क्रमशः ‘म’ (अहम्) र ‘तिमी’ (त्वम्) का बारेमा कवि मोहन जोशीकै लेखकीय भनाइमा व्यक्त एक अंशले थप प्रकाश पार्न सक्छ र त्यो यस्तो छ —‘‘त्यो तिमी ब्रह्माण्ड चलाउने शक्ति हुन सक्छ, आत्मगुरु हुन सक्छ, विशुद्घ चैतन्य हुन सक्छ अथवा एउटा व्यक्तिका रूपमा खडा हुन सक्छ । जुन रूपमा आएर भए पनि जसले हामीलाई विशुद्घ आनन्द दिन्छ, चिर शान्ति दिन्छ त्यही नै हाम्रो तिमी हो ।’’ यस प्रसङ्गमा सान्दर्भिक कविताहरूका आउँदा चर्चाका क्रममा अरू थप प्रकाशसमेत पारिने छ ।


प्रस्तुत कवितासङ्ग्रहको समस्या खण्डको ‘आधुनिकताको तीखो धनु’ नामक कविता कवि मोहनप्रसाद जोशीको मानवजीवनपरक समस्यामूलक अध्ययनको एक महत्वपूर्ण काव्यात्मक दृष्टिपात प्रकट भएको रचना हो । अपेक्षाकृत छोटा मुक्त मात्रिक लयढाँचाको छहरफे तानाबानाका तीन अनुच्छेदमा टुङ्गिएको र प्रायः सम पङ्क्तिमा अन्त्यानुप्रासी रहेको यस सुन्दर कवितामा रूपकीय ढाँचामा मानवीय छातीभित्र आधुनिकताको तीखो धनु गडेको र मेधावी मननशील मनुसन्ततिस्वरूप वर्तमान मानव पूर्णतः प्रकृति र जैविक विश्वमण्डलबाट विमुख हुन पुगेको अनुभवलाई अभिव्यक्ति दिइएको छ । यहाँ आफ्नै युगीन वर्तमान मानव जीवनप्रति निषेधी–अनुतापी मार्मिक भावबिम्बावलीमार्फत तीव्र आत्मव्यङ्ग्यसमेत गरिएको पाइन्छ । तल यसै प्रसङ्गमा यस कविताका केही पङ्क्ति पाठकीय नमुना आस्वादन र अन्तर्बोधका निम्तिसमेत उद्धृत छन् —


न उक्लेँ माथि छतमा / चाँदनी रातमा

न रुझेँ म बर्सातमा / रूख–बिरुवाको साथमा

न पल्टिएँ केही बेर / प्रकृतिको साथमा


न रोकेँ मैले आफूलाई / हेर्न लामो इन्द्रधनु

सूर्यास्त देख्दा कुनै दिन / रोकिएन मेरो मनु

गढेको देख्छु छातीभित्र / आधुनिकता भन्ने तीखो धनु


विश्वकविताको रुमानी–रहस्यवादी र स्वच्छन्दतावादी युगयुगीन शाश्वत अन्तःप्रवाहको नजिकनजिक रही प्रकृतितर्फ वा प्रथम सामरवका आर्ष तपोवनतर्फ फर्किने सन्देश दिने वा वर्तमान प्रकृतिसंरक्षणवादी काव्यधाराहरूको पनि स्वर केही मात्रामा अन्तर्गुञ्जित रहेको अनि सम्मोहक लय, शैली र बिम्बविधान तथा उक्तिको सहज वैचित्यले उज्ज्वलित रहेको उपर्युक्त ‘आधुनिकताको तीखो धनु’ कविताले जे भनिरहेको छ त्यो औषधिविज्ञानी र आध्यात्मिक कविहृदयी दुवै रहेका मोहन जोशीको मानवीय स्वास्थ्यगत मूल समस्यापहिचानको एक उल्लेख्य प्राप्तबिन्दु हुँदै हो ; तथाकथित यो आधुनिकता मानिसका दिलमा गडेको तीखो धनुर्वाणजस्तै वेधक र पीडक हुन पुगेको छ ।


त्यस्तै प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्याखण्डको चौथो कृतिस्वरूप ‘म त महामूर्ख छु’ कविताले तथाकथित वर्तमान आधुुनिक सभ्यताका सन्दर्भमा आफू (कथयिता तथा ‘म’ नामक मानव अन्तःपात्र) लाई दुई वस्तुबीचको अन्तराललाई आत्मसात् नगर्ने र मनका उद्गममा गई दुई विचारबीचको खालीलाई बुझ्न नसक्ने महामूर्खका रूपमा प्रस्तुत गरेको छ — चार छोटा लयका चार हरफे दृष्टान्तीय र निरन्तरित अनुच्छेदगत मार्मिक चिन्तनगर्भित उक्तिशृङ्खलामार्फत । मानवीय मूल स्वास्थ्यका समस्यापहिचानका सन्दर्भमा यो कविता पनि एक अर्कोे तीव्र उद्घाटक अवलोकन र दृष्टिपातका रूपमा प्रकट हुन आएको छ र यस कविताको सूक्ष्म आत्मव्यङ्ग्यगर्भित मर्मको आंशिक आस्वादन र अभिप्रायबोधका निम्ति तल केही पङ्क्ति उद्धृत छन् —


म त महामूर्ख छु, राम्ररी आकाशमा हेरिन

ताराहरूबीचको खालीलाई / अवलोकन गर्न सकिन

म त महामूूर्ख हुँ / मनको उद्गममा पुग्न सकिन

दुई विचारबीचको खालीलाई / अवलोकन गर्न सकिन


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्या खण्डको ‘हामी मालिक बनाउँछौँ’ कविताले छोटा लयहरफको निरन्तर प्रवाह अँगाल्दै र अनुच्छेदमा नबाँडिदै आधुनिक मानवीय सभ्यता र स्वास्थ्यको एक अर्को प्रमुख समस्यापरक पक्षस्वरूप जडित समयदासताको प्रसङ्गलाई क्षणपरक स्वतन्त्र जीवनधाराका समानान्तरतामा उठाएको छ । यसै सन्दर्भमा तल उक्त कविताका केही पङ्क्ति आस्वादन र मननका निम्ति उद्धृत छन् —


‘‘समय’’ भन्ने कल्पनालाई / हामी मालिक बनाउँछौँ

त्यही कल्पनाको कारागृहमा / थुनिन मन पराउँछौँ

जेलमुक्त भई विचरण गर्न / भित्रदेखि डराउँछौँ


हमेशा समयको दास बनी / वर्तमानलाई गुमाउँछौँ

अहिलेको क्षणसँग एक हुन / जहिले पनि छुटाउँछौँ


त्यस्तै प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासँगालाको समस्या खण्डको अर्को रचना हो तीनहरफे चार अनुच्छेदको ‘प्रत्येक वाक्यमा ‘म’ ’ भन्ने कविता । यहाँ मानवीय सुस्वस्थताका समस्याका पहिचानका क्रममा ‘म’ वा ‘अहम्’ भनिने अहङ्कार र वैयक्तिक स्व–नाममोहप्रति पनि यसरी सूक्ष्म चिन्तनशील व्यङ्ग्योपहास गरिएको पाइन्छ —


आएँ म संसारमा अनाथसरि / झरेर जान्छु सुकेको पातसरि


जन्मेपछि मात्र जन्मने ‘म’ / मरेपछि सँगसँगै मर्ने ‘म’

बीचमा प्रत्येक वाक्यमा ‘म’


उपर्युक्त परिप्रेक्ष्यमा प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको अर्को रचनास्वरूप ‘बस्या छ दिमाग दिलैको माथि’ भन्ने कविताले साथीका रूपमा मानवसमुदायलाई सम्बोधित गर्दै मुख्यतः दिलमाथि दिमाग वा मस्तिष्कका थिचाइका कारणले नै मानिस आफैँ समस्या र आफैँ समाधान हुन गएको वैपरीत्यपूर्ण र विरोधाभासी समानान्तरताको घेरामा मानवजीवनको विषमतालाई सशक्त सहज बिम्बावलीमार्फत ठम्याएको छ । गीतिगुण, मुक्त लय र मात्रिक ढाँचा सम्मिश्रित रहेको यस कविताका चेतनादमित बन्दी अवचेतन जिन्दगी जिइरहेको मानिसप्रति सूक्ष्म व्यङ्ग्योपहासी पङ्क्तिहरूमध्ये केही तल अवगतार्थ उद्धृत छन् —


दिमागले धेरै हिसाब लाउँछ साथी / बाह्रै महिना कुरा खेलाउँछ साथी


दिलको आबाजलाई दबाउँछ साथी


आफैँ धामी, आफैँ झाँक्री / आफैँ समस्या, आफैँ समाधान

आफैँ चोर, आफैँ चपरासी / आफैँ अभियुक्त, आफैँ अभिवक्ता


बस्या‘छ दिमाग दिलैको माथि


कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ भन्ने कवितासङ्ग्रहको समस्या खण्डका समस्यादिग्दर्शक अरू केही कविताहरूबारे सरसर्ती दृष्टिपात गर्दै म अब अगि बढ्न खोज्दै छु । यिनैमध्येको विषम अनुच्छेदगत पङ्क्तिप्रवाह भएको ‘उड्दै थियाैँ हवाईजहाजमा’ कविताले एक हवाई उडानमा पर्यवेक्षक कथयिता म ‘पात्र’ का दायाँतिर मजाले विश्वजीवन जिउने एक यात्री र बायाँतिर अरठ्ठिएर आफै जकडिएको समस्याग्रस्त अर्को यात्री रहेको विषम परिप्रेक्ष्यउपर इसारा गरेको छ । त्यस्तै अर्को ‘मलाई त हासै उठ्छ ’ कविताले पनि संवाद र आत्मालाप मिश्रित गरिएको र निरन्तर पङ्क्तिप्रवाहतर्फ बढी उन्मुख रहँदै आधुनिक मानव दैनिकीको चित्रणमापर्mत विश्रामहीन र कतिपय व्यर्थ प्रकृतिका समय–व्यस्तताको बीचको मानवीय जीवनको दयनीयताप्रति औँल्याएको छ । यी दुवै कविता समस्यापहिचानपरक र व्यङ्गोपहासी भावमुद्रा र स्वरबाट विशेष अभिप्रेरित रहेका छन् । त्यस्तै अर्को ‘कहिले अघाएन दुष्ट’ कविता पनि यही व्यङ्योपहासी भाव मुद्रामा छ र यहाँ ‘म’ पात्रमार्फत आत्मपरक व्यङ्ग्य प्रकट गरिएको छ । लिप्त, मस्त, वासनाग्रस्त, भोग्नै व्यस्त अनि जिन्दगी अस्तव्यस्त पार्ने मानव–मनप्रति यहाँ कहिल्यै अघाएन दुष्ट भनी निन्दोक्तिसमेत व्यक्त गरिएको छ । यस कविताका कतिपय विशिष्ट पङ्क्ति यहाँ पाठकीय अवलोकनका निम्ति उद्धृत छन् —


‘‘करोडौँ विचार माथमा / पोका पन्तुरा हातमा / मैलो मन साथमा / लडिने ठोक्किने बाारम्बार / चिन्ताहरू हजाराैँ हजार / आएर घेर्छन् मेरो निधार / कहिल्यै अघाएन यो दुष्ट । पार्यो जिन्दगी अस्तव्यस्त ।’’


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका समस्या खण्डका अरू कविताहरूमध्येको ‘भर्देउ मन’ कविताले विश्वजीवनमा रहेको खालीपन, रिक्तता वा शून्यता र विरहलाई भर्न आत्मपरक प्रणय र रहस्यका साँधबाट परमसत्ता ‘तिमी’ लाई आह्वान गरेको छ भने अर्को ‘ए मेरो मन’ कविताले चाहिँ सुखको खोजका यात्रामा भौँतारिएको मानवमन चिन्ताग्रस्त भएको र खाली वा निस्सङ्ग हुन नसकेकोमा व्यङ्ग्य र गुनासो मिश्रित रहेको दिक्दारीको भाव व्यक्त गर्न खोजेको छ । अर्को ‘प्वाल भा’ फोसी भएँ’ कविताले चाहिँ मानिसका जीवन र चरित्रका अहङ्कारमोह र तुजुकका विभिन्न बेहोरा र अन्तिम निस्सारतालाई विरोधाभासी आत्मपरक व्यङ्ग्य मुद्रामा यसरी रूपकित गरी टुङ्ग्याएको छ ‘मोहन जोशी भा ‘थेँ / प्वाल भा’ फोसी भएँ ’ ।


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्या खण्डका अरू कविताहरूमध्येको ‘आकाशको आँधी र मनको रिस’ शीर्षक भएको कविताले सफा आकाशमा अकस्मात् आँधी–तुफान आई मुसलधारे बर्सात भई विश्वमा सर्वनाश भएझैं क्रोधाग्निका डँढेलामा वर्षौँवर्षको मानवीय रचनात्मक मिहिनेत निमेषमै ध्वस्त हुन सक्ने वर्तमान भयावह विश्वपरिदृश्यतर्फ इसारा गरेको छ । त्यस्तै ‘अर्को नील डाम छ’ कविताले मानवजीवन इन्द्रियका घोडा बेलगाम भई लडेर जिउमा नीलडाम भएको अवस्थामा रहेको र मानव–मन ‘तमस्’ वा अँँध्याराले भरिएको स्थितिको विरोधाभासी सूक्ष्म परिहासी परिदृश्य प्रस्तुत गरेको छ । अर्को ‘पराधीन बन्न पुगेछु’ कवितामा हिमाली नदी सहरसम्म आइपुग्दा प्रदूषित भएको युगसन्दर्भसँग निर्मल शिशु मानवमन समाजसँग हुर्किँदै कपटी र कुटिल बन्न गएको प्रसङ्ग अनि त्यसमा जङ्गलको स्वतन्त्र चरो पिँजडामा थुनिएको दृष्टान्तीकरणसमेत थपी युग र जीवनका पराधीनताका पीडाजन्य विरोधाभासितातर्फ सङ्केत गरिएको पाइन्छ । अर्को ‘हे पाहुना’ कवितामा चाहिँ संसारको पाहुनो मानिसले जीवनयात्राको अतिथिभाव भुली आफैलाई संसारघरको मालिक ठानी दुःखटन्टा बेसाएकोमा व्यङ्ग्योपहासका मुद्रामा अतिथिभावमा फर्की यहीँ सरल सुखद जीवन बिताउन यहाँ उसलाई आह्वान गरिएको छ । वास्तवमा कवि मोहनप्रसाद जोशीको यो कवितायात्राले गरेको मानवीय अस्वस्थताका मूलभूत समस्याको पहिचानका क्रममा उपर्युक्त यी सबै पक्षहरू पनि उल्लेख्य प्रसङ्ग हु्ँदै हुन् । यस समस्या खण्डको अन्तिम कविता ‘खै के गरेछ’ मा चाहिँ प्राकृतिक र कलाक्षेत्रका चित्रात्मक बिम्बकोसमेत आड लिँदै मानवजीवनको यात्राले रूख हेरेर जङ्गलै हेर्न भुलेको र चित्र हेर्दै क्यान्भास नै बिर्सेको अनि विश्वमानचित्रका धर्का हेरेर अखण्ड पृथ्वी हेर्न नै बिर्सेको र सिङ्गै उपत्यका नदेखी कान्तिपुर भक्तपुर मात्र देख्न थालेको जस्ता दृष्टान्तलहरमार्फत र ‘.......एछ’ को निरन्तरित अन्त्यानुप्रासमार्फत पनि अंशमा भुली पूृर्णलाई बिर्सेको र त्यसले मानवीय अस्वस्थता बढाएको व्यङ्ग्यात्मक र सुधारात्मक निक्र्योल गरेको छ । यस कविताका यी पङ्क्ति पनि विशेष मननीय छँदै छन् —


जिन्दगीले खै के गरेछ / खाली रूखहरूलाई हेरेछ

“जङ्गल” को भावै भुलेछ


कान्तिपुर र भक्तपुरलाई / भिन्नभिन्न भनेछ

फूलचोकीबाट अभिन्न देखिने / उपत्यका भुलेछ


यो जिन्दगीले खै के गरेछ / खाली अंशहरूमै आँखा गाढेछ

पूर्णलाई सम्झनै छाडेछ


उपर्युक्त नमुना–अवलोकन र छलफलबाट कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्कलनको पहिलो समस्या खण्डका उपर्युक्त अठाह्र कवितामध्ये ज्यादाजस्तो उत्कृष्ट नै रहेको र यिनले खास दार्शनिक बोझविना नै विचारका अन्तर्लहर रहेको कलात्मक काव्यभावका सहज सौन्दर्यका छाँयाभित्रभित्र समष्टिमा एक आत्मिक वा आध्यात्मिक कवितावली वा काव्यका रूपमा आफ्नो वैचारिक र कलात्मक – काव्यात्मक सहपरिचय दिएको भेटिन्छ र यहाँ भाव र विचार तत्व अनि काव्यकलाका लय, भाषाशैली, अनुप्रासीयता, बिम्ब–प्रतीक र अर्थगत अलङ्करण एवम् उक्ति–संरचनाका विभिन्न युक्ति र उपकरणका चमत्कारी र प्रभावी सहकारिताबाट आधुनिक मानवीय जीवनका अस्वस्थता र उपचारको मूलभूत आध्यात्मिक दिशाको सघन र समृद्ध एवं मर्मस्पर्शी पहिचान प्रस्तुत भएको पाइन्छ । यहाँ वस्तुध्वनि र अलङ्कार ध्वनि सँगै मुख्यतः प्रणयशृङ्गार तथा हास्यका साथै विशेषतः आध्यात्मिक शान्त भाव बढी व्यञ्जित भएको पाइन्छ ।


अब समाहारमा कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रका पूर्वविवेचित समस्याखण्डका अठाह्र कविताले झल्काएका मुख्य विषयकोे सार खिच्ने प्रयास गरौँ । वर्तमान मानवीय अस्वस्थता, अशान्तता र अपूर्णताका (र विशुद्घ आनन्द र दीगो शान्तिका न्यूनताका) समस्यापरक कवितात्मक प्रस्तुतिका क्रममा प्रतिबिम्बित भई यहाँ झल्किन पुगेका ती मुख्य विषय हुन् — म कोे हुँ भन्ने खोेजकोे अभाव र चैतन्यकोे ढोेकाकोे आग्लोे नखोेलिएकोे सङ्कीर्ण अवस्था, प्रकृतिमा नैसर्गिक रहेकोे रूपान्तरणप्रक्रियालाई जैविकीमा विलम्बित तुल्याइएकोे स्थिति, आधुनिकताका नाममा हुन गएकोे प्रकृतिसँगकोे मानवीय विच्छेदकोे पीडा, मनकोे उद्गमस्रोेतसम्म पुग्न नसकेकोे र दुई वस्तु वा विचारकोे अन्तरालकोे अवलोेकन गर्न नसकेकोे अवस्था, समयकोे काल्पनिक दासता, अहङ्कार र ‘म’ कोे परिसीमाकोे अज्ञान र तिनको प्राचुर्य, दिल र शरीरमाथिकोे दिमागकोे कब्जा, जीवनलाई सहज रूपमा भोेग्न नसकी अरठ्ठिएकोे जीवन–तनाव, विश्रामविहीनता र फाल्टू कामकुराकोे अति–व्यस्तता, मैलोे मन र चिन्ताग्रस्त यात्रा तथा भोेगवादका निरन्तरका दुर्घटना र जीवनकोे अस्तव्यस्तता, जीवनकोे रित्तोेपन र शून्यताकोे मनःस्थिति, सङ्ग्रहवादी र भोेगवादी मन भने नरित्तिएकोे अवस्था, स्व–अहङ्कारी व्यक्ति–जीवन प्वाल भएकोे फोेसीजस्तोे चुहिएर सिद्घिने अवस्थाको आत्मसमीक्षा, मनका रिसका आवेगमा निमेषमै सर्वनाश हुने अवस्था, इन्द्रिय घोेडा बेलगाम रही जिन्दगी दु्र्घटनाग्रस्त हुने र तामसी सङ्ग्रहबाट मुक्ति प्राप्त नहुने स्थिति, निर्दोेष बाल्यावस्थाबाट सामाजिक संसर्गमार्फत बढ्दोे आसक्ति र पराधीनता, संसारकोे पाहुनोे भएर पनि यसैलाई स्थायी निवास ठानी बोेझग्रस्त हुने मानवीय मनोेवृत्ति र पूर्णलाई हेर्न नसकी अंशमा अलमलिएकोे अवस्था । वास्तवमा यी विचारांश वा वैचारिक एकक भ्रूणरूपमा मानवसभ्यतामा चिरकालदेखि चर्चित रहेका अनि मानवीय मनोेविज्ञान, सामाजिक तथा जैविक प्रवृत्ति र नैतिक तथा धार्मिक–आध्यात्मिक एवम् दार्शनिक स्तरमा चर्चा हुँदै रहेका मानवीय आधारभूत समस्याका नै अंश हुँदै हुन् । यहाँ यिनलाई प्रतिभाशाली कवि तथा वरिष्ठ औषधविज्ञानी मोेहनप्रसाद जोेशीले आफ्ना काव्यानुभूतिका प्रत्यक्षणका ज्यासलमार्फत प्रायः कुशलतापूर्वक नै भावायित र रूपायित गरेकोे ठान्न सकिन्छ । इयत्तामा यस्ता मानवीय समस्या अरू पनि थुप्रै हुन सक्छन् तर कविकृत समस्यापहिचान र तिनकोे छनोेटका सन्दर्भमा सारभूत रूपमा मानवीय आन्तरिक अस्वस्थता र तनाव तथा अपूृर्णताका बोधका मुख्य प्रतिनिधि कारकका रूपमा यहाँ जोशीरचित कविताराशि वा काव्यका आध्यात्मिक चेतनातलमा झुल्केका यी मानवीय कमजोेरी खास अपर्याप्त नरहेकोे कुरा भने मननीय छँदै छ ।


सरल शब्दावलीमा र वाक्य रचनामा अडेर लचिलो (गेयता, अल्प मात्रिक अनुशासन र मुक्त गद्यकविताका अभ्यन्तर साँधका) ज्यादाजसो छोटा–मझौला पङ्क्तिसंरचना र प्रायः दुई विषम–सम हरफका बीचको र वैकल्पिक तेस्रो–चौथो हरपmको बीचकोलगायत पर्याप्त अन्त्यानुप्रासीयता र उल्लेख्य अनुप्रासीय वर्णगत छाँदमा आधारित श्रुतिमोहकता रहेको सहज–चमत्कृतिपूर्ण उक्तिविधान र बिम्बावली तथा भावमण्डल र भावकेन्द्र एवं आन्तरिक कसिलो विचारतल रहेको अनि वर्तमान मानवसभ्यताका विसङ्गति र कमजोरीहरूप्रति संवेदनशील र कटाक्षयुक्त अनि आध्यात्मिकतापूर्ण रोचक र मर्मस्पर्शी नव काव्यकला वास्तवमा डा. मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्यापरक प्रथम खण्डको विशिष्ट प्राप्ति हुँदै हो । कवि मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समस्या खण्डका अठाह्र कविताहरूको यति चखनी र आस्वादन तथा एक झुल्को अवलोकनपछि यस सङ्ग्रहको आधारभूत आध्यात्मिक विचारतल र भावकेन्द्रको र कविताकलाको समीकृृत स्वरूपबारे आधारभूत जानकारी प्राप्त भइसकेको परिप्रेक्ष्यमा अब यस कवितासङ्ग्रहको खोज नामक दोस्रो खण्डका छब्बीस कविताको स्थालीपुलकन्यायअनुरूपको चखनी र परिमित चर्चातर्फ लागोैँ ।


यस कवितासङ्ग्रहको दोस्रो खोजखण्डको पहिलो कविता हो अपेक्षाकृत लामो र निरन्तरित पङ्क्तिप्रवाहपूर्ण तथा छोटा–मझोैला पङ्क्तिसंरचना मिश्रित रहेको र परिमित अन्त्यानुप्रासविधान गरिएको अनि द्विपात्रीय संवाद–ढाँचाको उक्तिसंरचना रहेको ‘राजा र मेरो संवाद’ । यहाँ संवादात्मक शैलीमा पुरातन राजनैतिक सङ्कथन र बिम्बावलीमार्फत मानवशरीरमा ‘अहम्’ (अहङ्कार) र इन्द्रियहरू मिली चैतन्यरूपी राजालाई थुनेको र साक्षिभावको असंलग्न दृष्टि र अवलोकन तथा विवेकको सहयोग विना र आत्माको वा ‘म’ को मुमुक्षा वा मुक्तिइच्छाको तीव्रताविना मानवीय चैतन्यको राज्य नफर्किने सङ्केत रोचक ढङ्गले गरिएको छ । यसरी सघन आध्यात्मिक चिन्तनलाई संवादात्मक र अन्तर्नाटकीय रोचक कथात्मकता दिएर रूपकीकृत गर्ने उक्तिचातुर्य यहाँ प्रयोग गरिएको हुँदा गहन विचार पर्याप्त सहज बोध्य र भावमय भई व्यञ्जित हुन पुगेको पनि भेटिन्छ । त्यस्तै अर्को ‘घाँटीलाई स्वतन्त्र पारेँ’ कवितामा आधुनिक (खास गरी पाश्चात्य) सभ्यताका कृत्रिम र यान्त्रिक बन्धनबाट मुक्ति र स्वतन्त्रतातर्फको मानवीय महाप्रस्थानको बिन्दुतर्फ सङ्केत गरिएको छ । यहाँ मोक्षार्थी कथयिता ‘म’ अन्तःपात्र सुटटाई र घडी फुकाली हल्का जुत्ता लगाई ढोका उघारेर हिँडेको र सडक तथा मोटर अनि चक्रपथलाई छोडिदिई गोरेटो हुँदै रूख–बिरूवा र जङ्गल भएको ठाउँमा पुगी हलुका भएको अनि उसले कोलाहलमय काठमाडौँ र सहरिया बोझलाई बिर्सी आफूमा अलि आनन्द उमार्न पुगेको अन्तर्कथाको द्रुतगतिक वर्णन गरिएको पाइन्छ – केवल चार कविता–अनुच्छेदबाट । यस कवितासङ्ग्रहको पहिलो समस्या खण्डको ‘ढोकाको आग्लो खोल्दैनाँै’ कवितामा चर्चित ढोकाको बन्द आग्लो यस ‘घाटीलाई स्वतन्त्र पारेँ’ कवितामा खुलेको अनि टाईविना घाँटीलाई स्वतन्त्र पार्दै सहर–बोझको विसर्जन र मुक्तिबोधको अनि शान्त सुन्दर प्रकृतितर्फ उन्मुख हुँदा आफूमा आनन्द उम्रनुको अवस्थासमेत यहाँ व्यक्त भएको छ । अर्को ‘छोटो स्मरण लामो विस्मरण’ कवितामा अलि लामो लयढाँचाको दुई हरफे अन्त्यानुप्रासी पाँच अनुच्छेदमार्फत मुक्तिपथका मार्गदर्शक गुरुको थोरै सम्झना र बढी बिर्साइले ग्रस्त मानवजीवनको पुरानो दीर्घ कथाव्यथाको उल्लेख गर्दै गुरूकृपाको भावोल्लसित पुकारसमेत गरिएको पाइन्छ । त्यस्तै अर्को ‘चुम्बकीय आकर्षण’ कवितामा एउटा नदीको निर्झरिणी नागबेली सुसेलीयात्रादेखिको सागरसँग मिलनसम्मको प्रणयपूर्ण र प्यासा निरन्तर चुम्बकीय आकर्षणयुक्त खोजयात्राको समाप्तिको समयबिन्दुको महिमा गाई पारदर्शी प्रतीकात्मक व्यञ्जनामार्फत जीवनयात्रामा कुनै एक दिन मानवात्माले समुद्रीय विराट्तामा समाहित हुन पाउने कोमल सम्भावनातर्फ रहस्यवादी छापसहित इङ्गित गरिएको भेटिन्छ । अर्को ‘पृष्ठभूमिलाई पकडौँ’ कवितामा साथीलाई सम्बोधित गरी बृहत् या विराट् परिप्रेक्ष्यमा मानवजीवनलार्इ हेर्ने आध्यात्मिक सन्देश साना–छोटा तीन हरफे मुक्त लयसंरचनाका र अनुच्छेदहरूका अन्तिम पाउहरूमा ‘हेरौँ’ समापिका क्रियापदद्वारा अनुप्रासित आठ अनुच्छेदमार्फत खडा हुने बिम्बावलीद्वारा झल्काइएको छ । यस सुन्दर तथा भावमय र कलात्मक रूपमा सूत्रित भई मनोवैज्ञानिक पुटसमेत परेको अनि विचारगर्भित रहेको कविताका केही पङ्क्ति तल आस्वादनार्थ र अवगतार्थ पनि उद्धृत छन् —


हे साथी / अनन्तको पृष्ठभूमिमा /जीवनमरण हेरौँ

हे साथी / महाकाशको पृष्ठभूमिमा / घटाकाशलाई हेरौँ

हे साथी / विचार रोक्किएको वेला / चेतनालाई हेरौँ

हे साथी / पृष्ठभूमी पकडेर / विराट्मा जाऔँ


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको खोज खण्डकै ‘मलाई देऊ प्रिय’ नाउँको कवितामा पनि मानवीय आध्यात्मिक बृहत् खोजको साधन वा अवलम्बनका रूपमा स्वच्छ पूर्ण दृष्टि, तृप्ति, शान्ति, मुक्ति, शक्ति र भक्तिको प्रणययाचना कथयिता अन्तःपात्र ‘म’ द्वारा आफ्ना प्रियस्वरूप ‘तिमी’ समक्ष गरिएको अभिव्यक्ति उपमावली र दृष्टान्तीकरणमार्फत सशक्त तथा सुन्दर ढङ्गले पेस भएको छ । सघन र रोचक आध्यात्मिक आभासले युक्त यस कविताका केही पङ्क्ति तल परिमित पाठकीय आस्वादन र अन्तर्बोधका निम्ति उद्धृत छन् –


घाम लागेपछि सबै देखेजस्तै / बादल हटेपछि आकाश भेटेजस्तै

दृष्टि / मलाई देऊ प्रिय !


मनभित्र विचारहरू रित्तिएजस्तै / लामो यात्रापछि घर भित्रिएजस्तै

शान्ति / मलाई देऊ प्रिय !


पुरानो बन्दीले छुट्न पाए जस्तै / बिझेको काँडा निस्केर गएजस्तै

मुक्ति / मलाई देऊ प्रिय !


मन्दिरमा पस्दा आँसु आएजस्तै / आफैलाई हेर्दा आफै पाएजस्तै

भक्ति / मलाई देऊ प्रिय !


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको दोस्रो खोज खण्डको अर्को उल्लेख्य कविता हो ‘हे बुबा’ । यहाँ बाल्यकालीन पितृसंस्मरणपरक मुख्य सन्दर्भ छ र आफ्ना बुबालाई ‘तिमी’ का रूपमा संस्मरण गरिएको छ अनि त्यहाँ परमपिता प्रभुको प्रतिच्छाया पनि रहेको पाइन्छ र कथयिता ‘म’ पात्रद्वारा आफ्ना संस्मरण र मनोवादमार्फत अनन्त आकाश ताकी सदा सोधिने मानव–जीवनका दुई आदिप्रश्नहरूसमेत यहाँ उठाइएको छ र ती यी हुन् – कहाँ जाने होला, के गर्ने होला ? वास्तवमा यस कवितासङ्ग्रहअन्तर्गतको आध्यात्मिक खोजयात्रामा ‘म को हुँ’ जस्तै कहाँ जाने होला र के गर्ने होला भन्ने प्रश्न पनि मानवीय जीवनयात्रामा विशेष महत्वपूर्ण छँदै छन् । अब तल छोटोहरफे र मुक्त सङ्गीति रहेको र वैविध्यपूर्ण अनुच्छेदप्रवाह रहेको अनि पुत्रपिता–बिम्बमा व्यक्ति मनुष्य र परम पिता पनि आभासित हुन पुगेको यस मर्मस्पर्शी कविताका केही पङ्क्ति परिमित भावकीय आस्वादन र अवगाहनका निम्ति तल उद्धृत छन् –

पूजा कोठामा तिम्रो / फोटो देख्दा

आज मलाई / तिम्रा ती प्रश्न / याद आए–


कहाँ जाने होला के गर्ने होला / र मैले

आफैमा पनि तिनै प्रश्न / आइरहेको पाएँ


बाहिर नदेखिए पनि / तिम्रो याद / म भित्रभित्र

सङ्गममा सरस्वती जस्तै बगिरहेछ

बचपनमा तिमीसँग / बिताएका क्षणहरूका / ती स्मृतिहरू

नओइलाइने फूलझैँ / ताजै भएर / मेरा मन मन्दिरमा / बसेका छन्


कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका खोज खण्डका अरू उल्लेख्य कविताहरूमध्ये ‘डाइवर कि प्यासेन्जर’ पनि हो र यहाँ मानिसले आफूलाई विश्वजीवनको चालक ठानी दुर्घटना गराइरहनु र चिन्तित भइरहनुभन्दा यात्री भई विश्वनियन्ताप्रति समर्पणभाव राख्दा बेस हुने अन्तध्र्वनि अभिव्यक्त हुन पुगेको छ । त्यस्तै अर्को ‘कविता लेख्न गाह्रो छ भैया’ कवितामा आध्यात्मिक खोजयात्राको पूर्वोक्त अवलोकनका सन्दर्भमा आफैलाई हेर्ने वा आत्मावलोकन या आत्मदर्शन गर्ने आन्तरिक सन्देश यसरी दिइएको पाइन्छ — ‘‘समस्याको स्रोत मनमा छ भैया÷शरीर सुकाएर हुन्छ र÷राम्ररी आफैलाई हेरौँ भैया÷अरूलाई हेरेर के हुन्छ ?’’ । त्यस्तै यस खोज खण्डका अरू उल्लेख्य कवितामध्ये ‘फरक भएको देख्छु’ पनि हो र द्विपङ्क्तिक तथा नौ अनुच्छेद रहेको र मुख्यतः उही ‘छु’ समापिका क्रियाका आवृत्तिद्वारा हरफहरूका अन्त्यमा विशेष अनुप्रासित यस कवितामा मानवीय अहङ्कार आफ्ना मानवीय परिसीमाको बोध गरी गलित भई अब आफू विश्व–केन्द्रबिन्दु नरहेको अनि केन्द्र नै गायब भएको र संसार पनि यथास्थानमा टक्क रहेको देखिने भई आध्यात्मिक सन्दर्भमा हिजो र आजबीच तात्विक फरक वा भिन्नता आएको कुरासमेत बताइएको छ । यसै खोजखण्डको अर्को विशेष महत्वपूर्ण र मीठोे कविता ‘गुरु’ हो र यहाँ पारिजात फूल, कमल, दूबो र रूखलाई गुरुबिम्बका दृष्टान्तमा उभ्याएर परार्थ आत्मअर्पण गरीे जीवनको तनावरहित शान्त अवसान गर्ने आध्यात्मिक जीवन–दीक्षण प्राप्त हुने व्यञ्जनाशील सङ्केत गरिएको छ । यस सुन्दर कविताका यी पङ्क्ति पनि विशेष आस्वादनीय र मननीय लाग्दछन् —

पारिजात हाम्रो गुरु हो / ब्राह्म मुहूर्तमा फुल्दछ

दौडीदौडी पूजामा पुग्न / बिहानबिहानै खस्दछ

बिना घाउ फिर्ता हुन / आफसे आफ झर्दछ

* * *

रूख पनि त हाम्रो गुरु नै हो / उभ्भिएर अर्चना गर्दछ,

सधैँ तिम्रै खोजी गर्दै / आकाशतिर बढ्दछ,

हजार हात फैलाएर / अभिनन्दन गर्दछ


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको खोज खण्डको आध्यात्मिक सन्देश–निक्षेपणका दृष्टिले उल्लेखनीय अर्को कविता होे ‘बाज’ । यहाँ ‘बाज’ प्रतिका प्रतीकात्मक सङ्केतका माध्यमबाट आफ्नो फुर्तीफार्ती देखाउनभन्दा प्रकृतिको गति र मूल स्रोतसँग सन्तुलन मिलाई जीवन–आकाशमा सललल्ल बगेर जाने उत्प्रेरणा प्रदान गरिएको पनि छँदै छ । यसै परिप्रेक्ष्यमा ‘बच्चाका ती कुरा’ शीर्षकको अर्को कवितामार्फत चाहिँ आफ्नो माघ महिनाको जाडो यामको अर्को बाल्यस्मृतिको संस्मरण गर्दै जीवनका ससाना सुन्दर क्रिया र आफ्नी आमाले तयार गरेको सामग्रीद्वारा बुबाले पूजा गर्दाको धूपधुवाँ र घन्केको घण्टा अनि अञ्जलि–अर्चनालगायतको धार्मिक स्मृतिसन्दर्भसमेत यहाँ समेटिएको छ । त्यस्तै यसै खोजखण्डको आध्यात्मिक अनुभूतिसन्दर्भको अर्को उल्लेख्य कविता हो— ‘पन्ध्र मिनेट अनौठो रह्यो’ । यहाँ कविको कथायिता ‘म’ पात्रका एक सान्ध्यकालीन भ्रमणका बीचमा साक्षात्कारित एक प्रकारको पन्ध्र मिनेटको अनौठो समाधिस्थिति र परमाह्लाद वा आनन्दको अखण्ड आध्यात्मिक चेतनाको अवस्थाको आत्मानुभूति भएको र ती क्षण जिन्दगीमा सदा सुरक्षित रहन पुगेको उल्लेख गरिएको पाइन्छ । तल मानसिक तलमा विचित्र सौन्दर्यानुभूति र आत्माह्लादको अखण्ड बृहत्् चेतना उत्पन्न भएको त्यस आध्यात्मिक समाहितिको क्षणको केही आस्वादन र मननका निम्ति यस कविताका कतिपय पङ्क्ति उद्धृत छन् —


बेलुकीको टाइम थियो / सूर्य भर्खर डुबेको थियो

सानो गोरेटो बाटो थियो


म आनन्दित हुँदै थिएँ / त्यतिकैमा एकदम अचम्म भयो

एक बृहत् चेतना उत्पन्न भयो / जसमा सबै थोक समाहित भयो

वस्तुहरू अलग देखिन बन्द भए / अखण्ड चेतनाकै अंश भए


यस्तो स्थिति दश पन्ध्र मिनेट रह्यो / त्यसपछि बिस्तारै मन फर्किन गयो

हरेक चीज फेरि अलगअलग भयो / तर त्यो पन्ध्र मिनेट जिन्दगीको अनौठो रह्यो


ह्दयमा सदालाई सुरक्षित भयो


कवि मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको खोज खण्डको अर्को ‘बगैँचा त्यसै बन्दैन ’ कवितामा विभिन्न व्यतिरेकी र दृष्टान्तमय उक्तिका दुई हरपmे र आवृत्त अन्त्यानुप्रासी छ अनुच्छेदमार्फत मानवीय ‘अहम्’ को अन्त्यमा नै आनन्द प्राप्त हुने आध्यात्मिक भाव विन्यस्त हुन पुगेको छ । यसै खोज खण्डको अर्को कविता ‘स्तब्ध तुल्याउनै पर्ने भएछ’ मा भने विविध सोच र खोज तथा हिसाबकिताबमा व्यस्त रहने र गणितमा अनुत्तीर्ण पनि हुने अनि बारम्बार घाउ लगाई लड्दै रहने मानवीय जुधारु मनलाई अलि शिथिल तुल्याउन विश्वसृष्टिको विराट्ताको बोध गराउने स्तब्धकारी औषधि नै दिनुपर्ने जैविकीय–चिकित्सकीय अन्तर्बोधसहितको आध्यात्मिक सचेतता झुल्किन पुगेको छ । त्यस्तै यसै परिप्रेक्ष्यको अर्को कविता ‘सूृर्यबाट सिक्नै पर्छ’ मा चाहिँ विशेष गरी सान्ध्य सूृर्यको छवि–उत्सवबीचको रक्तिम सुन्दर आकस्मिक अस्तङ्गमनको रूपकीय व्यञ्जनाशील मानवीय मरणका सन्दर्भमा आध्यात्मिक जीवनसन्देश व्यक्त हुन आएको छ । त्यस्तै अर्को ‘तिमी गजबकै रहेछौ’ कवितामा पनि रहस्यवादी स्पर्शसहित विश्वको जादुमय अन्तर्निक्षिप्त अन्तर्यामी शक्तिसम्बन्धी आध्यात्मिक सङ्केत गरिएको भेटिन्छ । यस्तै अर्को ‘जबजब’ कवितामा पनि ‘जबजब’ र ‘तबतब’का ससर्त वैपरीत्य र समानान्तर स्थितिका बीच विश्वको परम सत्ता ‘तिमी’ को स्मरण र विस्मरणका क्रममा अनुभव हुने मानवीय मनका क्रमशः बेचैनी र आनन्दबोधको अवस्थालाई समीकृत गरी प्रणयगत संयोग–वियोगका अन्तरछायामा आध्यात्मिक विशेष सन्देश ध्वनित गरिएको पाइन्छ । त्यस्तै अर्को ‘निर्णय आफ्नै हातमा रै’छ’ कवितामा आखिर निहत्था बिदा हुने मानवीय जिन्दगीमा वीरताको र ‘अहम्’ को सिंहनाद गर्दै घाउले लतपत हुँदै युयुत्साको विष–पथको वरण गर्ने कि धीरतापूृर्वक शान्त ब्रह्मनाद गरी सर्वमङ्गल सोच्दै आध्यात्मिक मधुपथको अङ्गीकार गर्ने भन्ने मानवीय वैकल्पिक निर्णयस्वतन्त्रताको उल्लेख गरी जीवनका दुई भिन्न वा विषम मार्गको समानान्तर चित्रण गर्दै आध्यात्मिक उत्प्रेरणा प्रदान गरिएको छ ।


त्यस्तै प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासँगालाको दोस्रो खोज खण्डकै अर्को कविता ‘कस्तो गल्ती गरेँ’ मा बीसौँ वर्षका अन्तरालमा ‘म’ ले ‘तिमी’ लाई भुलेको र अब पुनः याद र सम्झना आइरहेको प्रणयविरहका सन्दर्भमा प्रकृतिका विभिन्न सुन्दर सङ्केतमार्फत सम्झाउँदासम्झाउँदै पनि मानिसले परम प्रभुलाई भुलेकोे र अनेक कष्टपछि अब पुनः सम्झिई पश्चात्तापी भई प्रभुकै आँगनमा फिर्ता आएकोे र जीवन फेरि सरल र तरल बन्न पुगेकोे आध्यात्मिक अनुभवलाई व्यक्त गरिएकोे छ । तल यस कविताका कतिपय मर्मस्पर्शी पङ्क्ति परिमित आस्वादन र अवगाहनका निम्ति उद्धृत गरिएका छन् —


अहोे मैेले कस्तोे गल्ती गरेँ / बीसौँ वर्ष भुलेँ, भट्केँ

तिमीलै कैयौँ रूपमा / हावापानी बनेर, पहेँलोे घाम बनेर

बर्सात गरेर, हरियाली भरेर / नीलाम्बर फिँजाएर, नक्षत्रहरू बनाएर

मलाई आफूसँग जोेड्न खोेज्यौ ।

छुट्टिएर गएँ, बिग्रेकोे थिएँ / तर आज याद फिर्ता पाएकोे छु

तिम्रोे आँगनमा फिर्ता आएकोे छु ।


यसै कवितासङ्ग्रहको खोज खण्डकै अर्को रचनास्वरूप ‘प्रेमी भएछु, प्र्रेमिका पनि’ कवितामा ‘तिमी’ परम प्रियप्रति प्र्रेमी र प्रेमिका दुवै रूपमा मधुर प्रेमभावको विभिन्न पक्षको कविताकला–कार्चोपीमार्फत आध्यात्मिक सायुज्यको भाव निवेदित हुन पुगेको छ । यस दुईहरफे र अन्त्यानुप्रासी एवम् मुक्त गीतिलयात्मक एवम् उक्तिवैदग्ध्यशाली छ अनुच्छेदले रचिएकोे सुन्दर तथा मर्मस्पर्शी कविताका यी केही पङ्क्ति आस्वादन र अन्तर्मननका निम्ति तल उद्धृत छन् —

आँखा खुला छ ह्दय पनि / तिमीलाई देख्न पाइन्छ कि भनी


शरीर निहुरिन्छ शिर पनि / तिम्रै वन्दना गर्न भनी


निःशब्द हुन्छु बोेल्छु पनि / चढाउँछु तिमीलाई तिम्रै भनी


प्रस्तुत कवितासङ्ग्रहकोे खोेज खण्डकै अर्कोे कविता ‘जाऔँ जाऔँ’ मा विधिपरक र निषेधपरक दुई थरी अभिव्यक्तिकोे समानान्तर प्रस्तुति गर्ने चारहरफे चार अनुच्छेदमार्फत मानवजीवनभित्रै बृहत्तर मूल्यहरू खोेज्दै र चैतन्यका शरणमा जाँदै तर विचारका बल्छीबाट भने जोेगिँदै जीवनकोे किताबकोे अध्ययन गर्ने आध्यात्मिक प्रेरणा प्रदान गरिएकोे पाइन्छ । त्यस्तै अर्कोे ‘कोे हौ, कोे हौ’ कवितामार्फत विश्वजीवनभित्रै अन्तर्निहित रही मानवीय ‘अहं’ कोे डोेरी काट्ने मुसा, बोेक्रा फुटाई भित्री गुदी निकाल्ने लोेखर्के, प्रश्नसङ्गीत गुञ्जन गर्ने कोेइली, माटोे फुकाउने गँड्यौला र झिल्किने जुनकिरीका बिम्बसन्दर्भहरूबाट स्मरणकोे जरा फैलाउँदै अँध्यारोेबाट उज्यालोेतर्फकोे आध्यात्मिक विकासका निम्ति ‘तिमी’ परम तत्वबाट रोेचक उत्प्रेरणा प्रदान गरिएकोे भावसन्दर्भको उल्लेख गरिएकोे पाइन्छ ; जस्तै ‘जुन्किरी बनेर झिलिक्कझिलिक्क गर्दै छौ । अँध्यारोेबाट उज्यालोेतिर जाऊ भन्दै छौ’ । यसरी नै प्राप्तिपथतर्फ उन्मुख आध्यात्मिक मानवीय जीवनका खोेजका सन्दर्भमा यस ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको उपान्त्य कविता ‘झुलुक्क देखियौ’ – मार्फत उक्त आदि विशुद्घ चैतन्यकोे आध्यात्मिक खोेजकोे क्रम त्यसकोे एक झुल्कोे प्रत्यक्षण प्राप्त भई लगभग एक निष्कर्षबिन्दुतिर आइपुगिरहेकोे अनुभव हुन्छ । आध्यात्मिक साक्षात्कारमय उषा–प्रबोेधका र आत्मजागृतिका सन्दर्भमा मुक्तलयात्मक गीतिमय तथा ‘म’ द्वारा ‘तिमी’ प्रति सम्बोेधित यस कविताका यी सुन्दर पङ्क्तिहरू परिमित आस्वादनार्थ तथा अवलोेकनार्थ तल प्रस्तुत छन् —


उषाकालमा झल्याँस्स ब्युँझेँ / त्योे निद्रा भर्खरै टुटेकोे

तर विचारहरू अझै शुरु नभइसकेकोे / सूक्ष्म अन्तरालमा

भाग्यवश तिमी झुलुक्क देखियौ


ओेहोे ! / तिमी त सबैभन्दा पछाडि बसेर / चूपचाप हेरिरहने रहेछौ,

म र मेरा विचारहरूभन्दा पहिले रहेछौ / व्यक्ति र व्यक्तित्वभन्दा पहिले रहेछौ


प्रस्तुत कवितासङ्ग्रहको खोज खण्डको अन्तिम कविता हो ‘यो पानीलाई बाफ बनाइदेऊ’। यहाँ ‘अहम्’ (म) र ‘त्वम्’ (तिमी) लाई वैकल्पिक ठानी कोही पनि दुवै हुन नसक्ने अनि पानी र बाफमध्ये एकै अवस्था नभई रूपान्तरित भई यो वा त्यो एक अवस्थामा विश्वसृष्टि रहनेतर्फ सङ्केत गरिएको छ र रूपान्तरणलाई स्वीकार्नुपर्ने कुरामा जोड दिइएको छ ।


वास्तवमा कवि मोेहनप्रसाद जोेशीकोे प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहकोे दोेस्रोे खोेज खण्डकोे कविताकोे यस सरसरती सर्वेक्षणबाट यस खण्डका आधासरोे कविता उत्कृष्ट नै रहेकोे र सुन्दर आध्यात्मिक कवितावली वा काव्यका रूपमा यस कवितासङ्ग्रहलाई अगि बढाउनमा यस खोेज खण्डकोे सूक्ष्म पारदर्शी आध्यात्मिक विचारतल र काव्यात्मक भावसम्पदा तथा कलात्मक उपादानकोे अधिकतर सरल सुकोेमल समीकरणमार्फत प्राप्त समुच्चा योेगदान उल्लेखनीय नै हुन पुगेकोे छँदै छ । रहस्यवादी अलौकिकता र शुष्क दार्शनिकीकरणबाट लगभग बच्दै मुख्यतः प्राकृतिक तथा जैविक र मानसिक सन्दर्भका भावतलकै सुकुमार र सहृदय अन्तर्विचरणबाट विशेषतः प्रणयपरक भावतादात्म्यकोे आवाहनमार्फत यहाँ आध्यात्मिक मानवस्वास्थ्यकोे कवितात्मक अन्तर्झाँकीका साथै अन्तर्दर्शन प्रस्तुत हुन पुगेकोे छँदै छ ।


अब कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको पहिलो समस्याखण्डका कविताले मानवीय अस्वस्थता, छटपटी र तनावसँग विशेष सम्बन्धित रही समष्टिगत रूपमा झल्काएका कवितात्मक समस्या–सङ्केतका सन्दर्भमा प्रवेश गदैँ यस सङ्ग्रहको दोस्रो खोज खण्डका छब्बीस कविताले अवलोकन गरेका र झल्काएका मुख्य विषयहरूको सारांश खिच्नेतर्फ लागौँ । यहाँ कविताका कलादर्पणमार्फत व्यक्तिन आएका मानवीय जीवनजगत्का कविसङ्केतित मुख्य विसङ्गति तथा दुरवस्था तथा सुधारका सम्भाव्यता यी हुन् – मानवीय चैतन्य शरीरका महलमा अहङ्कार र इन्द्रियहरूद्वारा झुक्क्याई थुनिन पुगेको र विवेक तथा तटस्थ अवलोकनका साथै मुमुक्षा (मुक्ति–इच्छा) का सहायताले मात्र बिस्तारै चैतन्यको स्वराज्य फिर्ता हुन सक्ने अवस्था, पाश्चात्यीकृत अँठ्याइं र नगरीकृत कोलाहल तथा यन्त्रणाबाट मुक्तिका निम्ति शान्त सुन्दर विराट् प्रकृतितर्फ मानवीय प्रत्यावर्तनको अपेक्षा, विराट् सृष्टिसत्ताप्रतिको छोटो स्मरण र लामो विस्मरण, नदी सागरप्रति चुम्बकाकर्षित भएझैँ मानव चैतन्य विराट् विश्वसत्ताप्रति आकृष्ट हुनै पर्ने अपेक्षा, अनन्तका पृष्ठभूमिमा जीवन–मरणलाई हेर्ने र विचारतरङ्ग रोक्किएको वेला आफ्ना ना चैतन्यलाई आत्मसात् गर्दै विराट्तर्फ जानुपर्ने आध्यात्मिक अपेक्षा, मुख्यतः सांसारिकीबाट आध्यात्मिकीतर्फ दृष्टिपरिवर्तनको अपेक्षा, पिताका विम्बमा परम पिताको स्मृति र कहाँ जाने होला र के गर्ने होला भन्ने मूल प्रश्नको स्मरण, संसारको चालक नभई यात्रीभावको अपेक्षा, बाह्य प्रयोगमा नभोैँतारिई मनमै रहेका विकार र समस्याको स्रोतको पहिचान र सफाइको अपेक्षा, मानवीय वैयक्तिक परिसीमाको बोधपश्चात् पैदा भएको आफूलाई संसारको केन्द्रबिन्दु नठान्ने प्रवृत्तिबाटैे विसङ्गतिबोधको अन्त्य भई फरक मानसिक अनुभवका साथ जीवनमा सम्पूर्ण सकारात्मक परिवर्तन आरम्भ हुँदाको चेतनाको हलुकोपनको अनुभूति, प्रकृतिका पारिजात फूल र कमल तथा दूबो र रूखको आत्मोत्सर्गी सुन्दर वनस्पतिजीवनलाई गुरm मान्ने भावना, प्रकृतिको गति र सृष्टिको मूल स्रोतसँगको तादात्म्य र सन्तुलनबाट जीवनप्रवाह सरल हुने धारणा, बाल्यका आफ्ना घरका पवित्र धार्मिक वातावरणको सम्झना, शान्त प्रकृतिसोैन्दर्यबीच प्राप्त पन्ध्र मिनेटजतिको सम्मोहक समाधि वा मानसिक समाहितिको र बृहत् चेतनाको प्रसङ्ग, आनन्द पाउन ‘अहम्’ अन्त्य गर्नुपर्ने बोध, अति नै विषयी र बारम्बार घायल मनलाई तह लगाउन स्तब्धकारी औषधीस्वरूप विराट्को बोधको अपेक्षा, साँझका वृद्ध सूृृर्यका किरणोत्सवसहितको आकस्मिक अस्तङ्गमनबाट मानिसले जीवनको बुढ्यौलीको पाठ सिक्नुपर्ने अपेक्षा, परम तत्व भित्र लुकी बाहिर लीलारत हुने अनुभूति, परम सत्ताको स्मरण र विस्मरणले क्रमशः मनमा आनन्द र घबडाहट ल्याउने प्रसङ्ग, वीरताको हुङ्कारभन्दा निहत्था बिदा हुने दुई दिनका जिन्दगीमा धीर र शान्त ब्रह्मनादको सान्दर्भिकता, बीसोैँ वर्ष भट्किई पश्चातापी भई पुनः प्रकृतिबीच फर्की परम तत्वको स्मरण र यादबाट सरल तरल जीवनरसको प्राप्तिको अनुभूति, प्रेमी वा प्रेमिकाका रूपमा परम सत्ताको वरण र उनैमा जीवन–मरणको समर्पण, विचारको बल्छीबाट र बाह्य विभ्रान्तिबाट मुक्त भई अन्तस्थ चैतन्यका शरणमा जाने र मूल जीवन पुस्तक पढ्ने आह्वान, मुसा र लोखर्के अनि कोइली तथा गँड्योैला र जूनकिरीका उपमाबाट ‘अहम्’ को डोरी तोड्दै ईश्वरीय स्मरणको जरा फैलाई अँध्याराबाट ज्योतितर्फ लाग्ने कामना र निन्द्रा भर्खरै टुटेको र विचारहरू अझै सुरू नभएको सूक्ष्म अन्तरालको उषाकालीन प्रबोधमा परम सत्ता झलुक्क देखा परेको र त्यो सम्पूर्ण मानवीय विचार र व्यक्तित्वभन्दा पहिलो सत्ता रहेको अनुभूति तथा ‘अहम्’ (म) र तिमी (त्वम्) को सहस्थिति भन्दा रूपान्तरित अन्तर्मिलनमा जोड आदि । वास्तवमा यी सबै सोच र अनुभूतिका एककहरू पूर्व–पश्चिम र प्राचीन–नवीन विपुल आध्यात्मिक चिन्तन र साधनाका प्रवाहको अनुभवराशिको सेरोफेरोकै अनि कवि र औषधिविज्ञानी मोहनप्रसाद जोशीका जीवन–जगत्का आफ्ना वैयक्तिक अवलोकन र आध्यात्मिक प्रत्यक्षणका स्तरमा काव्यकलामार्फत अभिव्यक्त भएका कतिपय मानवीय सम–विषम झल्काका रूपमा पर्याप्त र प्रतिनिधित्वपूर्ण नै ठहरिने खोज हुँदै हुन् ।


कवि मोेहनप्रसाद जोेशीकोे प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहकोे तेस्रोे समाधान खण्ड वास्तवमा यसै सङ्ग्रहका प्रथम र द्वितीय खण्डका मानवीय अस्वस्थताकोे समस्यापहिचान र तत्सम्बन्धी निराकरणका सम्भावनाकोे खोेज हुँदै अब आध्यात्मिक समाधानका अन्तिम चरणतर्फ उन्मुख हुँदै छ । पूर्वोेक्त पहिलोे समस्या खण्ड र दोेस्रोे खोेज खण्डका कविताकोे परिमित अवलोेकनबाट यस कवितासङ्ग्रहकोे आधारभूत आध्यात्मिक समाधानसम्बन्धी सम्भाव्यताकोे वैचारिक र भावगत समीकृत धरातलकोे पूर्वपरिचय पनि प्राप्त भइसकेकोे छँदै छ । त्यसैले अब यस समाधान खण्डका उनन्तीसवटा कविताहरूकोे विचारतल र भावभूमि तथा विशिष्ट कविताकलाकोे चयनपूर्ण संक्षिप्त आकलन गर्दै अगाडि बढौँ ।


प्रस्तु्त ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहकोे समाधान खण्डकोे पहिलोे कविता होे — ‘दर्शनशास्त्रदेखि पर भाग्छु’ । चारहरफे र तिनका बीच पूरै अन्त्यानुप्रासी मझौला लयात्मक ढाँचाका पाँच अनुच्छेदबाट बुनिएकोे यस कवितामा मुख्यतः दर्शनशास्त्र तथा सिद्घान्त र विचारकोे शास्त्रीय र परम्परागत घेराभन्दा परकोे भावमय प्रत्यक्ष दर्शन वा प्रत्यक्षणतर्फ नै कविकोे आध्यात्मिक रुचि रहेकोे कुरा जनाइएकोे छ । यहाँ पनि मानव व्यक्ति ‘म’ र परम सत्ता ‘तिमी’ बीचकोे प्रणयभाव र तादात्म्यकोे इङ्गित र छनक भने छ नै । यसै समाधान खण्डकोे अर्को कविता ‘हात हात मिलाई सँगै जाऊँ’ मा मुक्त मात्रिक गीतिलयका चारहरफे चारवटै अनुच्छेदमा उही ‘....आऊँ’ कोे शृङ्खलाकोे अन्त्यानुप्रास रहेको छ र यसमा पनि मृत्यु वा कालको बोलाहटलाई पाकेकोे फल बोेटबाट उछिट्टिएकोेजस्तोे ठानी विनाछटपटी सहज रूपमा सकार्ने अनि जीवन र मरणमा विरोेध नल्याउने आध्यात्मिक सोेच भावमय रूपमा बिम्बकार्चोेपीसहित नाटकीय रूपमा यहाँ व्यक्त हुन पुगेकोे छ भने यस कविताका यी मार्मिक पङ्क्ति अलिकति अभिव्यक्तिगत कसरकै बीचसमेत मननीय छँदै छन् — ‘‘हर दिन आखिरकोे ठान्न पाऊँ / त्यै भावमा राती सुत्न पाऊँ / बिहान बिऊँझेमा टाउकोे झुकाऊँ / अर्कोे दिन पाएछु भन्न पाऊँ’’ र ‘अन्तिम पलालाई शत्रु नबनाऊँ / तर्सेर उसकोे सौन्दर्य नगुमाऊँ /ऊ आउने बेलामा ढोेकामा जाऊँ / हात मिलाई सँगै निस्केर जाऊँ ।’


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहकोे समाधान खण्डकोे अर्को कविता ‘कहाँ छ ठाउँ दोेस्रोे अटाऊँ’ होे र यसकै पूर्वांशबाट यस कवितासङ्ग्रहकोे नामकरणसमेत गरिएकोे छ । प्रणयपरक ‘म’ र ‘तिमी’ का भावगत सन्दर्भमा यहाँ ‘तिमी’ कोे यादले ‘म’ लाई भरिपूर्ण बनाएकोे छ र अब दोेस्रोे अटाउने ठाउँ कहाँ छ र भन्ने प्रश्नमुद्राद्वारा त्यही प्रेमका प्रगाढता र परिपूर्णतामा जोेड दिइएकोे पाइन्छ । यहाँ उपर्युक्त प्रेमोक्तिमार्फत परम सत्ता ‘तिमी’ को प्रगाढ स्मरणपछि चेतनातलमा पूर्णता अनुभव हुने र अर्को दोस्रो कोही पनि नअट्ने आध्यात्मिक सङ्केत पनि गरिएको भेटिन्छ । अर्कोे ‘लाटाकोे जस्तोे हाल छ’ कवितामा परम अनिर्वचनीयका साक्षात्कारका क्रममा अकमक्क र बोली वा उद्गार व्यक्त गर्न कठिन अनुभव हुने खास बोेलीविहीन र नबुझिने लाटोेपनजस्तो अटेसमटेस भावनाकोे भेल आउने अवस्थाबारे चर्चा गर्दै भनिएकोे छ — ‘‘मनकोे गीत कसले गाउने ÷ आत्मासँग साइनोे कसले लाउने’ । अर्कोे ‘बाँकी जीवन यसै गरी बिताउँछु’ नामक मुक्त मात्रिक गीतिलयात्मक दुईहरफे सात अनुच्छेदयुक्त र उही ‘........आउँछु’ भन्ने अन्त्यानुप्रासका ढाँचामा आबद्घ कवितामा ‘म’ र ‘तिमी’ का बीचका प्रणयमुद्राका प्रतिच्छायामा मानव चैतन्य र परम तत्वका बीचको प्रगाढतम अंशांशी–भावको सम्बन्ध वा साइनोलाई विभिन्न भावभङ्गिमामार्फत अभिव्यक्ति दिइएको छ । यस कविताका यी पङ्क्ति विशेष मार्मिक छँदै छन् — ‘म मनमनै तिम्रो पूजा लगाउँछु / फूल भई आफैलाई चढाउँछु’ ; ‘‘म जे मा पनि तिमीलाई नै पाउँछु’’ र ‘तिमीबाट आएँ तिमीमै बिलाउँछु’’ । अर्को ‘धन्य चैतन्य’ कवितामा चाहिँ सुन्दर वसन्ती बेलुकीपखको घामको बखतको भुसुना, कुकुर, मानिस आदिका बीचको प्राकृतिक र जैविक परिवेशको सौन्दर्यछटाको शब्दचित्रकारिताबीचका बादल र चराको उपस्थिति र अनुपस्थितिका परिप्रेक्ष्यमा कविताको कथयिता र भोक्ता ‘म’ पात्रलाई प्राप्त भएको विशुद्घ चैतन्य बोधको र त्यसअन्तर्गतका चाहना र तरङ्ग नभएको अनि सबै विश्रान्त र पूर्ण भएको मानसिक समाहितिको जस्तो आध्यात्मिक परम आह्लादको अभिव्यक्तिसमेत गरिएको पाइन्छ । यस कविताका यी मर्मस्पर्शी पङ्क्ति पनि मननीय देखिन्छन् — ‘‘बेलुकीको घाम झुल्किरहेको छ / रूखका टुप्पाहरूलाई पहेँलो पारेको छ / आकाश नीलो र खाली छ / ....... आकाश फेरि खाली हुन्छ / बिस्तारै त्यो बादलुको छिर्का पनि हराउँछ /....... म यो सबै हेरिरहेछु / म हेर्दै छु भन्ने बोध पनि भैरहेछ । यस विशुद्घ बोधमा आनन्द छ, / सबै विश्रान्त छ, पूर्ण छ / अहा विशुद्घ चैतन्य धन्य छ !’’


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्कलनको समाधान खण्डको अर्को कविता ‘भिन्नता हेर्ने कि समानता’ मा भोटेसेलो लोकलयको निकट लयमा विविध दृष्टान्तमालाद्वारा अलङ्कारध्वनिमार्फत संसारकाा विभिन्न पदार्थहरूमा पाइने भिन्नता तिनको मूल स्रोतमा पुग्दा समानता वा अभेदमा परिणत हुने कुरा झल्काई द्वैतमा अद्वैतको र भेदमा अभेदको दर्शनको छनक दिइएको पाइन्छ । अर्को ‘तिमी, तिमी, तिमी’ कवितामा सकल विश्वसृष्टिमा तिमी नै तिमी व्याप्त भएको ईशावास्य–भावनाको अन्तर्गुञ्जन व्यक्त हुन आएको छ । त्यस्तै अर्को ‘प्रत्येक पल प्रिय पारौँ’ कवितामा महामरणको अपरिहार्य बिदाइक्षणको मुक्त गीतिका परिप्रेक्ष्यमा जीवनका शेष पल सहअस्तित्वका प्रिय आनन्दबीच बिताउने प्रस्ताव प्रस्तुत छ । अर्को ‘बिहानी, बिरुवा र वसन्त’ कवितामा चाहिँ एउटा बिहानी, बिरुवा वा वसन्त सकिए पनि वर्तुलाकारमा अर्को बिहानी, बिरुवा या वसन्त आइरहने सृष्टिको अनन्तताको महिमा गाइएको छ । त्यस्तै अर्को ‘बादलका आकृति’ कवितामा बादलका बदलिँदा आकृति–चित्रका सन्दर्भमा दौडिरहने मनका विचारको चर्चा गदैँ अबका आध्यात्मिक प्रत्यक्षणपछिका शान्त मनःस्थितिमा चाहिँ ती बादल र मनका विचार–चाञ्चल्य प्रभावहीन भएको कुरा बताइएको छ । अर्को ‘स्रोतको मन्दिर पुगेर हेर्दा’ कवितामा चाहिँ मनका जलमा विचारका तरङ्ग निक्लिन छोडेपछि र सबै प्रतिबिम्ब र आभासको मूल स्रोत फेला परेपछि त्यहाँ आफ्नै स्वरूप बसेको देखिई सबै खोज सकिने र तिनले विश्राम लिने विचार– प्रक्षेपण गरिएको पाइन्छ । यसै सङ्ग्रहको समाधान खण्डको ‘आत्मगुरु’ कवितामा चाहिँ गुरु चरणमा झुकेपछि जीवनको पुरानो कथाको गह्रुँगोपन र मनको पुरानो फोहर विशुद्घ आत्मानुभूतिले हट्ने र स्वयंबाट आफू मुक्त भएको अनुभव हुने परिप्रेक्ष्यमा आध्यात्मिक आत्मगुरुको महिमाको प्रस्थापना प्रस्तुत हुन पु्गेको छ । त्यस्तै अर्को पर्याप्त गीतिमय आध्यात्मिक उद्भावनाको सरल कविता हो ‘ढोका पूरै खु्ला भो’ । यहाँ यस कवितासङ्ग्रहका पूर्ववर्ती दुई खण्डमा प्रयोग हुँदै आएको बन्द ढोका खोल्ने प्रसङ्ग चरितार्थ हुन पुगेको छ र यहाँ आध्यात्मिक मुक्तिको ढोका पूरै खुली अब मन रित्तो भएको, गन्तव्य सकिएको, आत्मयुद्घ र विरोधाभास बन्द भएको, पूजा सकिई सब विश्व मन्दिर भएको, मृत्युको भय हटी श्वासप्रश्वास हलुङ्गो भएको, दुःस्वप्नको भय हटी निद्रा लाग्ने भएको र अब आत्मा बन्दी नरहेको विशुद्घ आध्यात्मिक चैतन्यको अवस्थाको कवितात्मक बयान गरिएको पाइन्छ ।


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समाधान खण्डको ‘बिम्ब बनाई बसाउन’ कवितामा उही ‘तिमी’ वा परम सृष्टितत्वलाई शाश्वत प्रकृतिचक्रअन्तर्गतका छतबाट झर्ने बर्सातको थोपा, पर्वत शिखरको हिमानी र तालको पानी र नदीप्रवाहका साथै सबै सरिता समेट्ने सागरबाट बर्सातको बादल भई उडी पुनः छतको बलेसीबाट झर्ने र माटामा मिली सुगन्धित हुने वृष्टिबिन्दुका सम–बिम्बमा सतत पुनरावर्तनको र अभेदको भावनालाई मनमा बसाउने कविकल्पना अन्तव्र्यक्त हुन आएको छ । यहाँ छतबाट झर्ने प्रथम वृष्टि बिन्दु, पर्वत शिखरको हिमानी र वेगनास तालको अन्नपूर्णाप्रतिबिम्बी पानीजस्ता विविध इन्द्रियसंवेद्य र मर्मस्पर्शी कतिपय ध्वनिबिम्ब, गन्धसन्दर्भ र दृश्यको सुन्दर सजधजपूर्ण चित्रण पनि यसरी प्रस्तुत हुन आएको छ — ‘तिमी आकाशबाट ओर्लियौ / बर्सात भई / मैले तिमीलाई/छतबाट झरेको / पानीका रूपमा हेरेँ / तपतप खसेको / थोपाको रूपमा सुनेँ / र माटोलाई भिजाएर / मीठो गन्ध नाकमा पु¥याउने प्रथम वृष्टिका रूपमा हेरेँ .......; तिमी पर्वत शिखरमा बस्यौ / हिमानी भई / मैले तिम्लाई / चन्द्रकिरणमा चम्किने / पहाडको पोसाकका रूपमा हेरेँ’ । यसै सङ्ग्रहको समाधान खण्डको अर्को कविता ‘तिमी नभएर के भो त’ मा वियोगलाई स्मृतियोगका रूपमा अथ्र्याइएको छ भने अर्को ‘मैले हेरिरहेँ’ कवितामा ‘म’ ले पञ्चतत्वका खेल र इन्द्रियहरूका भेल अनि जीवनलीला र संसारका मेलालाई रङ्गमञ्चका आसनबाट चूपचाप हेरिरहेको र बर्सौँ पछि पग्लिएकी र माया लागी अन्तमा दर्शन दिन पुगेकी ‘तिमी’ लाई हेरेको अनि आजभोलि पनि हेरिरहेको विलक्षण आत्मिक अनुभूतिको चित्रण गरिएको पाइन्छ । अर्को ‘खुसी अलिकति चोरिदिन्छु’ कवितामा चाहिँ लामो पाराको मुक्त मात्रिक गीतिलयमा बगी कर्ताभावको परित्याग गरी सबै कुरा ‘तिमी’ परम तत्वमा बिसाएपछिको विमल जीवन्मुक्त क्षण र अवस्थाको शान्त आल्हादको विश्व–अनुभूतिको चित्रणसमेत प्रस्तुत गरिएको भेटिन्छ । जीवन्मुक्त दृष्टिसँगै सुन्दर प्रकृतिचित्रणसमेत भएको यस कविताका कतिपय सुन्दर पङ्क्ति तल आस्वादन र मननका निम्ति ल्द्धृत छन् —


मेरो काम त पाएको पलालाई राम्ररी बाँच्ने हो / अहिले जे छ, त्यसैसँग सुन्दर तादात्म्य गाँस्ने हो


आउने दिनहरूमा मालीले जस्तै तिम्रो बगैँचा गोड्छु / थाकेको बेलामा रूखमुनि बसेर मजाले विश्राम गर्छु

सररर्र बगेको शीतल हावाको जीउभरि झोक्का लिन्छु / फर्फराइरहेको पातहरूको खुसी अलिकति चोरिदिन्छु


रात परेपछि दुबोको ओछ्यानमा लम्पसार परेर पल्टन्छु / अनादि आकाश र त्यसका सितारा हेर्दाहेर्दै निदाउँछु


प्रस्तुत कवितासङ्ग्रहकै समाधान खण्डको अर्को कविता ‘शाश्वत साथ’ मा शरीर नरहे पनि पाञ्चभौतिक विश्वसृष्टिमा विलीन सूक्ष्म अस्तित्व भने रहिरहने आध्यात्मिक शाश्वत सोच झुल्किन पुगेको छ भने अर्को ‘चिन्ता छाडौँ खुब हाँसौँ’ कवितामा पदार्थ तरङ्गमा र तरङ्ग पदार्थमा रूपान्तरण हुने र अन्तरसम्बन्धित रहने अनि यहाँ केही स्थायी नभई बन्ने–बिलाउने र आउने–जाने गर्दै रहने सन्दर्भमा मृत्युपीडा र रोदन असान्दर्भिक हुने सन्दर्भमा आत्मसत्तामा निश्चिन्त भई हाँस्ने र बाँच्ने आध्यात्मिक सन्देश ध्वनित भएको छ । त्यस्तै अर्को ‘स्थायी आनन्द’ कवितामा चाहिँ क्षणवादको महत्व देखाउँदै क्षणमा नै बाँचेर तथागत भएर मात्र शान्ति तथा आनन्द प्राप्त गर्न सकिने आध्यात्मिक विशेष सोच व्यक्तिन आएको छ । त्यस्तै अर्को ‘दृष्टि स¥यो’ कवितामा चाहिँ अनुभवकर्ता र कर्ताको भावना निवृत्त भएको परिवर्तित आध्यात्मिक दृष्टिसम्बन्धी वैचित्यपूर्ण सोच व्यक्तिन पुगेको छ । अर्को ‘पर्दा च्याते पुग्छ’ कवितामा चाहिँ सपना र विपना तथा पर्दा र अनन्तताका विपरीत सन्दर्भमा मनको पर्दा हट्नाका साथ अनन्तसँग मिलन हुने सोच अभिव्यक्त भएको छ । अर्को ‘त्यसरी बाँच्ने महत्व दिन्छौ’ कवितामा चाहिँ विश्वसृष्टिका विपरीतता र द्वन्द्वका सन्दर्भमा जीवनको ऐश्वर्य वा ईश्वरीय महिमा रहेको कुरा व्यक्त गरिएको छ । यस कविताका यी पङ्क्ति मननीय छँदै छन् — ‘‘राती हुँदा निन्द्रा दिन्छौ ÷ बिहान फेरि बिउँझाइ दिन्छौ ....’’ ; ‘‘..... अन्त्यमा मर्ने शरीर दिन्छौ’’। त्यस्तै अर्को ‘पदचिह्न रहेनछ’ कवितामा चाहिँ विशुद्घ चैतन्यलाई पानीमा हिँड्नेजस्तो पदचिह्नरहित यात्रा तथा पारदर्शी यन्त्र, अकम्पित केन्द्र, आदि–अन्त्यरहित परमाकाश र ब्रह्माण्डचक्षुका रूपमा बुझाइएको छ । यस कविताका यी पङ्क्ति पनि विशेष मननीय प्रतीत हुन्छन् — ‘‘विशुद्घ चेतना कस्तो छ ! ÷ अकम्पित केन्द्र जस्तो छ ÷ सतहमा छाल र आबाज छ ÷ ...........परमाकाश जस्तो छ / न आदि छ न अन्त छ / सबै त्यसमा अटाएको छ । ’’ अर्को ‘अव्यक्त आकाश’ कवितामा सान्ध्य चराको गुँड–फितीँको उडान, बिहानीको सूर्यको पहिलो किरण पातका टुप्पामा परी रातभरमा बनेको शीतको थोपा र सिमसिमे वर्षापछि बादलका पानीका कणमा सूर्यकिरणको स्पर्शले प्रकटित सप्तरङ्गी इन्द्रधनुषको लीला जस्ता विभिन्न प्राकृतिक क्षणको चित्रकारिताका साथसाथै सबै व्यक्त आकाश अव्यक्त आकाशमा समाहित हुनेतर्फ ध्यानाकर्षण गराइएको छ । अर्को ‘ हात मिलाई हातमा’ कवितामा चाहिँ दाम्पत्य प्रेमको योग र परस्पर साथ तथा त्यहाँ अन्तर्निहित अद्वैततातर्फ पनि इसारा गरिएको पाइन्छ ।


प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहको समाधान खण्डको उपान्त्य र विशेष उल्लेखनीय कविता हो ‘हे मेरो प्रियतम, यो के गरिरहेछौ’ नामक रचना । यहाँ ‘तिमी’ भनी सम्बोधित प्रियतम परम सत्ताले लोखर्के, चरा, जलजीव र मनुवालाई अस्तित्वको भ्रम र पृथक्ताको विभ्रम दिई र आफ्नो झल्का र छनक पनि दिई एकै भएर पनि अनेक बनी रमाइलो गरिराखेको र गराइराखेकोमा आध्यात्मिक आश्चर्यभाव व्यक्त गरिएको पाइन्छ । यहाँ एकत्वमा अनुस्यूत अनेकत्वको खेलको विश्वलीलातर्फ इसारा गरिएको छँदै छ । त्यस्तै यस सङ्ग्रहको र यसको समाधान खण्डको पनि अन्तिम कृति ‘भाषामा तिम्रो म अटाउन्न’ कवितामा चाहिँ ‘तिमी’ परम तत्वद्वारा मानिसलाई सम्बोधन गरी आफू सर्वत्र व्याप्त भएको र भाषा, परिभाषा र शब्दार्थमा र सोचमा नअटाउने र बोधगम्य नहुने बरू ती हटेमा आफै झलमलाउनेतर्फ सङ्केत गरिएको पाइन्छ ।


यसरी कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका समाधान खण्डका कविताहरूको संक्षिप्त आकलन गर्दा यहाँ केही कवितामा रहस्यात्मक विलक्षण अनुभवको समावेश र केही कवितामा आध्यात्मिक दार्शनिक कमबेसी चाप देखिए पनि अधिकांश कविता चाहिँ सरल आध्यात्मिक सहजानुभूतिमय भावले चहकिला र रोचक नै रहेको पाइन्छ ।


कवि मोहनप्रसाद जोशीको प्रस्तुत ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका समाधान खण्डका यी तीस कविता वास्तवमा यसै सङ्ग्रहका समस्या र खोज खण्डका उत्तरवर्ती मानवीय आध्यात्मिक सम्भावना तथा विशुद्ध आनन्द र दीगो शान्तिका प्राप्तिका काव्यानुभूतिगत आलेख हुँदै हुन् । अब यस समाधान खण्डका कवितामा कविताकलाका वर्णसङ्गीति र शब्दार्थचित्रकारी तथा बिम्बोक्तिको चहकिलो कार्चोपीमा व्यञ्जित तथा अभिव्यक्त आध्यात्मिक मनस्तलकाा चेतनाका साथै भावभूमिका प्रमुख सन्दर्भलाई संक्षेपतः पर्गेल्ने प्रयास पनि अलिकति गरेर हेरोैँ । यहाँ कविरचित समाधानका रूपरेखाअन्तर्गतका यी कवितात्मक समाधान–आलेखका बीचबाट प्रकट हुने वर्तमान युगीन मानवीय अस्वस्थता र तनावको निराकरण तथा विशुद्ध आनन्द र शान्तिको आध्यात्मिक मुक्ति मार्गका मुख्य प्रसङ्ग यी हुन् – दर्शनशास्त्रभन्दा पर प्रत्यक्ष दर्शन वा प्रत्यक्षानुभूतिमा जोड, मृत्युलाई सहज जैविक प्रक्रियाका रूपमा वरण र स्वागत तथा मृत्युप्रतिको तयारीभाव, परमसत्ता परमात्मालाई प्राप्त गरेपछि चेतनाको पूर्णता र अर्को दोस्रो सत्ता नअटाउने धारणा, अनिर्वचनीय तत्वलाई शब्दवाक्यद्वारा व्यक्ताउन नसकी हुने लाटो विमुग्धताको अवस्था, परमात्मालाई ‘तिमी’ (सं.त्वम्) का रूपमा अनुभूति गरी मूल स्रोत र सर्वव्यापी तत्वका रूपमा त्यससँग तादात्म्य, विशेष सान्ध्य क्षणमा विशुद्ध चैतन्यको प्रत्यक्षानुभूति र आनन्दबोध, सांसारिक भिन्नताभन्दा मूलस्रोतगत अभेद वा साम्यमा जोड, बाहिर छिन्नभिन्न तर भित्र अभिन्नताको र मानवीय मनमा उनै विश्वव्यापी ‘तिमी’ (सं.त्वम्) को विराजमानता, मृत्युको बिदाइ–क्षणप्रतिको तयारीभाव र जानुभन्दा अगि प्रतिपल सहअस्तित्व र प्रेमको भावनाले प्रफुल्ल जीवनको कामना, विश्वसृष्टिमा कुनै पनि पदार्थको समाप्ति र अवसान नभई वर्तुलाकारमा पुनरावृत्ति भइरहने धारणा, विचारहरूको दौडको विश्रान्ति र असंलग्नता तथा उन्मुक्त हृदयाकाशको स्थिति, मनका विचारतरङ्गको विश्रान्ति र सबै प्रतिबिम्ब र आभासको मूल स्रोत भेट्दा त्यहीँ हुने आत्मदर्शन, गुरूकृपा र गुरूचरण–नमनको महिमा र आत्मविसर्जन तथा मुक्तिबोध, विरोधाभासको अवसान र चैतन्यद्वारको पूर्ण खुलापन र भयमुक्त आत्मसुखको अनुभूति, विश्वप्रकृतिका सकल सृष्टिमा तिमी (विश्वसत्ता) को अन्तव्र्याप्ति र त्यसको आत्मबिम्ब, वियोगबीच पनि परमेश्वरीय स्मरणको सेतु र योग, लामो प्रतीक्षापछि तिमी (विश्वसृष्टि तत्व) को अन्तर्दर्शन, कर्ताभावनाको भारी बिसाई विश्वप्रकृतिका लीलामा प्राप्त गरिने आनन्दको अनुभूति, शाश्वत दृष्टि, जगत्को अस्थायिता तथा रूपान्तरशीलताका बीच निश्चिन्त र निरभिमानी भई आत्मसत्ताको हँसिलो अवलोकन, क्षणवादी सोच र तथागत सच्चा आनन्द तथा सच्चा शान्तिको प्राप्ति, कर्ताभाव र अनुभवकर्ताभावको बोझ बिसाई प्राप्त दृष्टिपरिवर्तनका बीच तनावको निवृत्ति, मनको पर्दा हटाई प्राप्त हुने अनन्तको बोध र स्वतः आत्म–पुनर्मिलन, द्वैत र द्वन्द्वका बीच नश्वर र रूपान्तरशील विश्वजीवनको महिमाको झलक, अकम्पित रहने र आदिअन्त्यरहित एवं सर्वव्यापी तथा पदचिह्नरहित तथा ब्रह्माण्डचक्षु जस्तो विशुद्ध चैतन्यको बोध, अवलोकनकर्ताको बोझसमेत बिसाएपछिको सबै व्यक्त आकाश अव्यक्त आकाशमा समेटिई हुने विश्वलीलाको सोैन्दर्यको रसपान, आध्यात्मिक योगपूर्ण दाम्पत्यबिम्ब, अनेकबीच विचरित र लीलाशील एकै तत्वस्वरूप प्रियतम तिमी (त्वम्) सँगको अस्तित्वबोध र अभेदको द्वैत–अद्वैत बोध, ‘म’ (विश्वसृष्टिको परम तत्व) विश्वसृष्टिस्वरूप जगत्मै अन्तर्लीन रहने र भाषा–परिभाषा तथा शब्द–अर्थमा बोधगम्य नहुने तर मोह र अज्ञानका आवरण हटेपछि स्वतः झलमल हुने सुदृष्टि र पूर्णता प्राप्त हुने अन्तर्बोध एवम् पदार्थगत रूपान्तरणको अपरिहार्यता आदि ।


यहाँ मैले कवि मोहनप्रसाद जोशीले यस ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रहका समाधान खण्डका कवितामा काव्यात्मक प्रत्यक्षण गरेका आध्यात्मिक अनुभवपुञ्जलाई सारबद्ध र सूत्रबद्ध गरँे तर यो उहाँको आध्यात्मिक काव्यपूँजी र प्राप्तिको ठोस आकलन मात्र हुँदै हो । वास्तवमा अनादिकालदेखि नै विश्वमा, पूृर्व र पश्चिममा, यहीँ भारतवर्षमा र हाम्रै नेपालमा पनि सहस्रौँ ऋषि–मुनि, सिद्ध, योगी, साधु, फकिर, साधक आदिले र अनेक द्रष्टा र स्रष्टाहरूले पनि आºना विशिष्ट क्षणमा मनस्तलमा साक्षात्कार गरेका र तीमध्ये थोरैजसोमात्र अभिलिखित हुन पुगेका आध्यात्मिक अनुभवपुञ्ज र तिनका अझ विरल काव्यालेखमध्ये पुराना युगका उपनिषद् र परवर्ती दर्शन र योग–तन्त्रलगायतका साधनासँगै परिमित रूपमा आध्यात्मिक काव्यको पनि विरल उपस्थिति पाइन्छ । प्रस्तुत, सन्दर्भमा मलाई यस ‘कहाँ छ ठाउँ’ कवितसङ्ग्रहले केही झल्कामा सूफी र वैष्णव काव्य परम्पराका साथै विश्वकवि रवीन्द्रनाथ ठाकुरको ‘गीताञ्जलि’ काव्यको पनि सम्झना गरायो । वास्तवमा मानवीय अनादि आध्यात्मिक अनुभवराशिका बीच कवि मोहनप्रसाद जोशीको प्रस्तुत कवितासङ्ग्रहको आध्यात्मिक काव्यानुभूतिको इयत्ताको नापो गर्नु अप्रासङ्गिक हुन्छ र त्यो जति मात्रामा र जुन रूपमा यहाँ कविताकलासँग आबद्ध भएको छ त्यो नै यस कवितामालाका निम्ति पर्याप्त सहज सञ्चयन हो भन्ने म ठान्दछु ।


निचोडमा डा.मोहनप्रसाद जोशीको यो ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रह उहाँको सहज निर्झरमय कविप्रतिभा र उत्कृष्ट आध्यात्मिक चैतन्यपरक कवित्व एवम् काव्यवैभवकै पनि सहअस्तित्वशाली र केन्द्रीय भावधाराका दृष्टिले प्रायः एकानुगामी आध्यात्मिक सोच–संवेदना भएको अनि विश्व–साहित्यका सन्दर्भमा उत्तरवर्ती स्वच्छन्दतावादी–रहस्यवादी काव्यधाराका पाराको अभिव्यञ्जना भएको विशेष स्मरणीय कवितासृष्टि हुन आएको छ । पूर्वी वा पश्चिमी अनि पुरातन वा नवीन कुनै दर्शनविशेषका बौद्धिक घेरामा नबाँधिई औषधिविज्ञानी अनुभवी जीवनतत्वविद् र स्वयंस्फूर्त आध्यात्मिक प्रत्यक्षणकर्ता तथा हिन्दू संस्कारशाली अन्तनिर्झरीय सहज स्वस्फूर्त कविप्रतिभाका रूपमा उहाँको कविताकलाको र जीवनदृष्टिको जुन सुन्दर समीकरणको सहझङ्कृति यस कवितासङ्ग्रहमा पाइन्छ त्यो समुच्चा नेपाली कविताकै निम्ति पनि नव आध्यात्मिक कवितावली वा अध्यात्म काव्यका रूपमा स्पृहणीय र महनीय प्राप्ति हुन पुगेको छ भन्ने म ठान्दछु । यहाँ भाषाशैलीगत तथा अभिव्यक्तिगत सानातिना कसर ठाउँठाउँमा रहे पनि र कतिपय आध्यात्मिक सन्दर्भमा बढी वैचित्य र केही अस्पष्टताका साथै केही बौद्धिक अन्तर्बोझ रहे पनि समष्टिमा यो ‘कहाँ छ ठाउँ’ कवितासङ्ग्रह नेपाली कविताको कविशिरोमणि लेखना पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाभन्दा उत्तरवर्ती युगको आध्यात्मिक फाँटको विशेषतः मुक्त अन्तर्गीतिगुञ्जन रहेको एक अभिनव पाराको सोैन्दर्यशाली र जीवन–उद्बोधक काव्यात्मक प्राप्तिका रूपमा खडा हुन आएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्यातिका एक वरिष्ठ नेपाली चिकित्सक प्रा. डा.मोहनप्रसाद जोशीका कलमबाट आफ्ना जीवनका उत्तरवयखण्डमा रचिई यति उत्कृष्ट र सुन्दर अभिनव आध्यात्मिक कवितावली नेपाली वाग्देवीका चरणमा समर्पित हुनु जति आकस्मिक लाग्दछ त्यत्ति नै स्मरणीय उत्कृष्ट काव्य प्रदान पनि यो हुन पुगेको छ । निष्कर्षतः यो आध्यात्मिक ज्ञानकाव्य नभई आध्यात्मिक काव्यमधुद्वारा परिसिञ्चित कवितावली हुन पुगेको छँदै छ । म यस उत्कृष्ट र सुन्दर आध्यात्मिक कवितासाधनाका निम्ति कवि मोहनप्रसाद जोशी र उहाँभित्रको आध्यात्मिक ‘डाक्टर’ वा चिकित्सकप्रति पनि नेपाली साहित्य बगैँचामा उहाँको नव प्रवेशका यस अवसरमा हार्दिक स्वागत–भाव व्यक्त गर्दै प्रस्तुत कवितासङ्ग्रहका सफल साधनाका निम्ति बधाइसमेत दिन्छु । बृहत् नेपाली वाङ्मय र साहित्यका क्षेत्रमा पनि अधक साधना गरी कतिपय नेपाली वरिष्ठ डाक्टर वा चिकित्सकहरूले उत्कृष्ट योगदान दिदैँ आएको सन्दर्भको सगौरव स्मरण गर्दै त्यही लहरमा डा. मोहनप्रसाद जोशी पनि पाका नव कविका रूपमा सम्मिलित हुन आएकोमा म विशेष खुसी व्यक्त गर्दछु । मेरा परम प्रिय भाइतुल्य रहेका मैले चिनेजानेका डाक्टर मोहनप्रसाद जोशी यस उत्तरवयमा आकस्मिक जस्तै ढङ्गले आध्यात्मिक चेतनाधाराका एक ऊर्जस्वी नवकविका रूपमा उदाएकोमा म उहाँको कवितासाधनाको निरन्तरताका साथै यस नयाँ साधनायात्रामा पनि उहाँको उत्तरोत्तर प्रगति र सफलताका निम्ति हार्दिक शुभेच्छा व्यक्त गर्दै भन्दछु – स्याबास मोहनबाबु, तपाईँले चिकित्साक्षेत्रको दीर्घसाधना पश्चात् कवितासाधनाको यो नव वाग्द्वार आफूभित्र उद्घाटित गरी आफ्ना महान् प्रज्ञावान् पिता प्रा.डा.ताराप्रसाद जोशीप्रति श्रद्धार्पणको क्रमको अर्को वाङ्मयिक माध्यम पनि सही रूपमा अँगाल्नुभयो ।


बानेश्वर, काठमाडोैँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।