15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संवेदना, यथार्थ र अनुभूतिको अन्तर्घुलन भएर बगेका कविता

कृति/समीक्षा प्रा डा.लक्ष्मणप्रसाद गौतम May 21, 2022, 3:55 pm
प्रा डा.लक्ष्मणप्रसाद गौतम
प्रा डा.लक्ष्मणप्रसाद गौतम

सशरीर चिनेको छैन, अर्थात् भेट भएको छैन कृष्ण उपाध्यायसँग । साइबर संसारमा साक्षात्कार हुनुअघि चिनेको हुँ उनको ‘प्रथम पुरुष’लाई । ‘प्रथम पुरुष’देखि ‘जदौ काठमान्डू’सम्म आइपुग्दा कृष्ण उपाध्यायसँग मेरो हार्दिकता गाँस्ने माध्यम बने उपाध्यायकै बेलायती छिमेकी अर्थात् मेरा पुराना अनन्य मित्र नियात्राकार, कथाकार कृष्ण बजगाईं । एउटा कुरा नढाँटी भन्छु– मित्र कृष्ण बजगाईंको विशेष अनुरोध नभएको भए सायद टारिदिन्थेँ म यी शब्दहरूमा पोखिन । किन किन उनको अनुरोध टार्न नसक्ने भएको छु म ।
प्रिय कवि कृष्ण उपाध्याय ! ‘प्रथमपुरुष’ कवितासङ्ग्रहमा पृथक् विषय, पृथक् शैली, पृथक् भाषाको अवगाहनमा चुर्लुम्म डुबेपछिको तत्वको शुभ्रता थियो । अहिले ‘जदौ काठमाण्डू’मा त नयाँ वर्ष, प्रेम र काठमाडौँका तरल बिम्बहरू नै विषय बनेर आएछन् त ! अलिकति दर्शनको रङ घोलिएन ? – सोध्न त मन थियो उनीसँग यो कुरा तर सोधिनँ । उनको ‘प्रथमपुरुष’पछि द्वितीय पुरुष बनेर आएको ‘जदौ काठमान्डू’सँगको सानो संवादमा छु यतिखेर म ।
सुन्दरीलाई त्यति संवेदनात्मक, अनुभूतिपरक, ्तत्वलाई नै झङ्कृत पार्ने र कोमल पदावलीमा सुस्त मुसार्ने हृदयसंवेद्य भाव कति मार्मिक छ हगि ?
कान्तिपुरका कलिला रात ओछ्याएर
तिमी सुत र जूनताराको सपनामा रमाऊ”
(सुन्दरी)

सरल शब्दमा पनि कति लालित्यमय बिम्ब आउँदो रहेछ ! ‘जदौ काठमान्डू’भित्रका बाइसवटै कविता मस्तिष्क हल्लाउने महनीयता नहोला । तर, हृदयमा गहिरोसँग बस्ने र केही कविता त हृदय हल्लाउने खालकै छन् भनेर ढुक्कसँग भन्न सक्छु म । अन्तर्वस्तुका दृष्टिले प्रत्येक कविताले पृथक् पृथक् कुरा बताउँछन् । यति हुँदाहुँदै पनि नयाँ वर्षप्रतिका संवेदनात्मक, उन्मादित, प्रेमिल र आततायी भावबिम्बका अनेक परिधिका सन्दर्भहरूले पाठकलाई पृथक् किसिमले सोच्न बाध्य बनाउँछन् । देख्दा सामान्य लाग्ने यस्ता अन्तर्वस्तुका कविता एउटै विषयका वैविध्यमय आयाम हुन् । ‘बर्बरिक वर्ष’, ‘नयाँ वर्षको आगमन’, ‘नयाँ वर्ष’, ‘नयाँ वर्षको उन्माद’, ‘आक्रोशित वर्ष’, ‘कोरोना वर्ष’जस्ता कवितामा नयाँ वर्षलाई हेर्ने बहुमुखी आयाम छन्, बहुमुखी दृष्टिचेतना छन् ।
कवि कृष्ण उपाध्याय एउटै विषयलाई वैविध्यमय विस्तार गर्न कति सिपालु रहेछन् भन्ने कुरा राम्रै अनुभूत गरेँ मैले । आपैmलाई प्रेम गर्नुपर्छ भन्ने स्वप्रेमानुभूति, नववर्षसँग हिममानवको समीकरण अनि नयाँ वर्षसँग जीवनबोधी भावलाई प्रस्तुत गर्ने उनको दृष्टिकोण कति सूक्ष्म छ ।
उत्तरआधुनिक युग एकल राष्ट्र, एक संस्कृति, एकल जाति, मूल्य र मान्यताको युग होइन, यसले बहुसांस्कृतिकतालाई आपूmभित्र समाहित गर्छ । आजको परिवेश बहुवैश्विक चेतनाको समय हो र त्यो सांस्कृतिक सम्मिश्रणमा प्रतिबिम्बित हुन्छ । कवितामा यही भाव सरल रूपमा आएको छ ः
आऊ तिम्रो र मेरो नियति मिसाऔँ
अलिकति जीवन्तता देऔँ
पर्व र कर्म मिसाऔँ ।
(नयाँ वर्ष)

हाम्रा नयाँ वर्षहरू कति औपचारिक बनेका छन् र यो औपचारिक सांस्कृतिकताले हामीलाई गणितीय यान्त्रिकतातिर लागिरहेको छ । नयाँ वर्षको गणितीय शुभकामनालाई उनले यसरी देखाएका छन् ः
आउने र जाने त मात्र
हाम्रा गणितीय चेतनाभित्र
अङ्कका चित्र न हुन्
तिमीलाई त्यही गणितीय चेतनाको शुभकामना !
(नयाँ वर्षको उन्माद)

आर्षसभ्यतामा पर्यावरण–प्रकृति पूज्य र सम्मान्य थिए । कृष्ण उपाध्यायको यस सङ्ग्रहका कतिपय कवितामा यो चेतना राम्ररी आएको देखेँ मैले । उनी कहीँ हिममानवको कुरा ल्याउँछन् भने कहीँ आलम्बनसत्ता ‘ऊ’लाई हिमालसँग समीकरण गर्छन् । हिमाली पर्यावरण, स्थानीय प्रकृति र स्थानबिम्बहरूको प्रयोगले उनका कवितामा रम्यता थपेको छ । नेपालको पूर्वी पहाडी क्षेत्रको सुगन्ध कतिपय ठाउँमा प्रतिच्छवि बनेर आएको छ । क्षेत्रीय पहिचान र देशको प्रकृतिसँगको समीकरणमा आफ्नोपनको अनुभूति दिलाउने धेरै पङ्क्ति देखेँ मैले । तर, तिनमा एउटा अनौठो सारल्य छ र त्यसबाट नेपालको पूर्वी पहाडी क्षेत्रका स्थानबिम्बहरू निर्धक्क बाँचेका छन् ।
फिक्कलको फेढीबाट उर्लिंदै उकालो लाग्दा
सगर र सगरमाथा ताक्दै हिँड्दा
ऊ हिमालको चौडा छातीमा
बेग आवेगको अनुभूत गर्छ
हिमालको चौडा छातीमा
आक्रोश अनुभूत गर्छ
भेद र विभेदका विरुद्ध विद्रोह गर्छ ।
(आक्रोशित वर्ष)

उनको यो कवितांश पढिरहँदा वर्डस्वर्थ र देवकोटाको सम्झना हुन्छ र प्रकृति कहिल्यै पनि विभेदकारी छैन भन्ने स्वच्छन्दतावादी प्रवृत्तिको छनक यहाँ पाउन सकिन्छ ।
कृष्ण उपाध्याय तात्कालिक परिवेशमा केन्द्रित भएर पनि कविता लेख्न रुचाउँछन् । विश्वलाई सन्त्रस्त बनाएको कोरोनाको ताण्डव, मानवीय जीवनका विविध भोगाइ र अनुभूति, सौन्दर्यप्रतिको आकर्षण, जीवनवादी चिन्तन र चेतना आदिका साथै जीवन सधैँ सरल रेखामा हिँड्दैन भन्ने कुरा पनि उनले देखाएका छन् । उनी जीवनको गतिलाई यात्रासँग समीकरण गर्छन् र त्यो यात्रा वेदान्त दार्शनिकहरूको डोरीमा सर्पको भान हुने भ्रम त होइन ? भन्ने सन्देहका साथै साकारता र निराकारताको रहस्यमय अभिव्यञ्जना पनि प्रस्तुत गर्छन् ः
तिमीजस्तै म पनि भ्रममा छु
सूर्यको प्रकाशमा सूर्य देख्दिनँ...
मात्र उज्इालो देख्छु
उसको साकार र सगुण स्वरूप बुझ्दिनँ
निराकार र निर्गुण लाग्ने
साकार र सगुण हुन्छन् भन्ने बुझ्दिनँ ।
(भ्रमित पदयात्रा)

कविताका यी पङ्क्तिहरूको केन्द्रीय कथ्य हो– उज्यालोको खोजी । उनी उज्यालोबाट भ्रमको निवृत्ति चाहन्छन् । तसर्थ, तमसोमा ज्योतिर्गमय उनका कविताको मूल चुरो कुरोजस्तो लाग्छ । विशाल आकाशमा जस्तै आपैmभित्र हराएर परमपदको अनुभूति गर्ने अभीप्सामा कृष्ण उपाध्यायको कवि दर्शनका कवितात्मक आवरणमा वेष्टित छ । यो कविभित्रको मुक्तिको चाहना हो । उनी कतिपय कवितामा मानवतावादी भएर देखिएका छन् भने कतिपय कवितामा ‘म’ र ‘ऊ’ को द्वन्द्व र समीकरणका माध्यमबाट जीवनबोधी चेतना र मृत्युबोधी चेतना व्यक्त भएको छ । यो पनि उनीभित्रको दार्शनिक चेतना हो । कतिपय कवितामा अधिकाव्यिक ९ःभतब उयभतष्अ० चेतना र लेखनका रचनागर्भ पनि अन्तर्गर्भित छन् । यस्ता वैविध्यमय अन्तर्वस्तुका कवितामा ‘यात्रा’, ‘भ्रमित पदयात्रा’, ‘आकाशमुनि’, ‘आकाशमुनि धर्ती बल्नुहुँदैन’, ‘भो अब बोल्दिनँ’, ‘भो नलेख’ आदि कविता उल्लेखनीय छन् ।
कृष्ण उपाध्यायका धेरै कविताको अर्को अन्तर्वस्तु प्रणयपरक रागात्मक चेतन पनि हो । यस्ता प्रकृतिका अधिकांश कवितामा पश्चिमी जगत्का प्रेमपुजारी सन्ट भ्यालेन्टाइनका नाममा विज्ञापित ‘भ्यालेन्टाइनीय प्रेम’का अनेक आधुनिक वा नवभ्यालेन्टाइनका सन्दर्भ पनि देखाइएको छ । कुनै कल्पित आलम्बन सत्ताको परोक्ष–अपरोक्ष प्रेममा चुर्लुम्म भएको अनुभूतिगम्य भावबिम्बलाई कहीँ पुरुष समाख्याता र कहीँ नारी समाख्याता बनाएर प्रस्तुत गरिएको छ । भ्यालेन्टाइन प्रेमका देखिएका यान्त्रिकता र हृदयहीनताको बिम्ब निकै राम्रोसँग खिचेका छन् उनले ः
फाइदा बेफाइदाको हिसाब गर्दा गर्दा
तिमी प्रेम नबुझ्ने क्याल्कुलेटर भयौ
क्याल्कुलेटर
न मेरा केश गन्न सक्छ
न मेरा हृदयका स्पन्दन गन्न सक्छ ।
(भ्यालेन्टाइनको प्रेम)

आजका युवायुवतीमा प्रेम छैन, हार्दिकता छैन, प्रेमको गहिराइ छैन । उनीहरू भावुकताको शिखरमा पुगेर प्रेमको हिसाब गर्छन् र भावुकताकै भिरबाट लडेर मर्छन् भन्दै प्रेमको डिलमा पनि नपुगी आकर्षण–विकर्षणमा दुर्घटित हुने आजको संवेदनाशून्य प्रेमप्रति उनका कविताले सुस्वादु व्यङ्ग्य पनि गरेका छन् । यस प्रकृतिका कवितामा ‘भ्यालेन्टाइनको प्रेम’, ‘भ्यालेन्टाइनको रहर’, ‘भ्यालेन्टाइनको गीत’ आदि कविता उल्लेखनीय छन् । प्रणयपरक रागात्मकताका कविले प्रेममा उदात्तता र हार्दिक भाव चाहेका छन् । उत्ताउला रङहरूजस्तो प्रेमभन्दा नीलिमामय व्योममय उदात्त प्रेममा उनलाई विश्वास छ । उनका यस प्रकृतिका धेरै कविताको मूल कथ्य पनि यही हो ।
कवि कृष्ण उपाध्याय कविताकृतिको शीर्षक केही पृथक् रूपमा राख्न चाहन्छन् । पहिलो सङ्ग्रह ‘प्रथमपुरुष’ नौलो खालको शीर्षक हो र यो स्वयम्मा बह्वर्थी छ भने यस सङ्ग्रहको नाम उनले ‘जदौ काठमान्डू’ राखेका छन् । ‘जदौ’ अभिवादनसूचक शब्द हो र काठमाडाँैलाई जदौ गरिएको हुँदा यहाँ यो पूरै व्यङ्ग्यार्थक भएर आएको छ । काठमाडौँ केन्द्र हो, देशको राजधानी हो । खास गरेर सीमान्त क्षेत्रबाट क्षेत्रीय पहिचानको अवरोधक र महासामन्तको आरोप काठमाडौँले पटक पटक खेपेको छ तर काठमाडौँ स्वयम्मा वृद्ध, थकित, गलित, जराजीर्ण र मृत्यून्मुख क्लान्त भएर बसेको स्थितिप्रति धेरैको ध्यान गएको छैन । कविले यहाँ काठमाडौँका यस्तै अनेक विलुप्त बिम्बहरूलाई अगाडि ल्याएका छन् । यस्ता कवितामा ‘काठमाडौँको बुढो’, ‘काठमाडौँको भरिया’, ‘काठमाडौँ’, ‘जदौ काठमान्डू’ आदि शीर्षकका कविता उल्लेखनीय छन् र यी कवितामा उनले काठमाडौँका बहुविध बिम्बचित्र अटाएका छन् । उनले देखेभोगेको काठमाडौँका एउटा भित्री बिम्बचित्र यस्तो छ ः
यही गाउँ कस्तो जहाँ शून्यता छ,
यही ठाउँ कस्तो जहाँ मौनता छ
यही काठमान्डू झनै पो उदास
न हाँसू म यात्री कहाँ ठाउँ खास ?
(जदौ काठमान्डू)
कृष्ण उपाध्यायले अगाडि सारेको काठमाडौँको बुढो सामान्य रूपमा हेर्दा व्यक्तिबिम्ब होला तर साङ्केतिक रूपमा त्यो सिङ्गो काठमाडौँको कथा हो, बिम्बचित्र हो । काठमाडौँका यथार्थ स्थिति, राजधानीको केन्द्रीय पहिचान बोकेर पनि पहिचानविहीन भएको स्थिति, नेताहरूका दुराचार, विपन्नहरूका दारुण अवस्था आदि सबै कुरा काठमाडौँ अटाएको छ । काठमाडौँका राजनीतिक विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य, देशको जर्जरता र रुग्णता, काठमाडौँभित्रका विसङ्गत परिवेश, अनेक विद्रूपता आदिलाई पनि कवि कृष्ण उपाध्यायले समेट्ने काम गरेका छन् । तलको कवितांशमा काठमाडौँको बिम्ब उनले यसरी खिचेको छन् ः
म नमस्ते गर्छु, ऊ सनक्क सन्किन्छ
म प्रेम पस्किन्छु, ऊ चिसो हुन्छ
बेमतलब उभिइरहँदा ऊ
झकझक्याउन आउँछ
म बेवास्ता गर्छु, ऊ ध्यानाकर्षण गराउन थाल्छ ।
कति कोक्ल्याँटो छ काठमाडौँ ।
(काठमाडौँ)
कति विरोधभास छ काठमाडौँ र काठमाडौँमा । सङ्गत–असङ्गत, भाव–अभाव, समस्या–समाधान, प्रेम–घृणा, निन्दा–प्रशंसा आदिआदि अनेक कुराहरूको कोलाजरूपी व्यूहरचना गरेर मान्छेलाई त्यसैमा रनभुल्ल पार्ने कृष्णको कला काठमाडौँ कविताहरूमा देख्न सकिन्छ ।
कृष्ण उपाध्याय यथार्थपरक, व्यङ्ग्यप्रधान र मानवीय संवेदनाका कविता लेख्न रुचाउँछन् । संवेदना, यथार्थ र अनुभूतिको अन्तर्घुलन उनका कविताका पृथक् पाटो हो र मूल विशेषता पनि हो । यही पाटो भएर बगेका छन् उनका यी कविता । उनका कवितामा युगीन कुरूप यथार्थ र मान्छेभित्रमा सुन्दर–असुन्दर दुवै पक्ष विषय बनेर आएका छन् । पूर्वीय मिथक र समसामयिक यथार्थ, पूर्वीय दर्शन र रागात्मकता, वैयक्तिक तथा सामाजिक जीवनका विविध भोगाइ र अनुभूतिको प्रकटीकरण तथा वर्तमानबोध, युगबोध, जीवनबोध, समयबोध र विश्वबोधी चेतनासमेत उनका कवितामा पाइन्छ । कवितात्मक सौन्दर्य र मूल्यबोधका अलिकति अलङ्करण उनका कविताले अपेक्षा गर्छन् । अबका उनका रचना नेपाली कवितामा मानक उपस्थिति लिएर आऊन्, दोस्रो कृतिप्रकाशनका अवसरमा उनलाई धेरैधेरै बधाइ र शुभकामना भन्छु ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।