हे बुबा,
जीवनको उत्तरार्द्धमा
बुर्जामा बसेर
तिमीले गरेको प्रश्न
मैले सुनेको थिएँ;
तिमीले आफैँलाई
र आकाशलाई
सोधेका थियौ —
कहाँ जाने होला?
के गर्ने होला?
पूजा कोठामा तिम्रो
फोटो देख्दा
आज मलाई
तिम्रा ती प्रश्न
याद आए—
कहाँ जाने होला?
के गर्ने होला?
र मैले
आफैँमा पनि तिनै प्रश्न
आइरहेको पाएँ —
कहाँ जाने होला?
के गर्ने होला?
मलाई विश्वास छ,
जहाँ भए पनि
तिमी राम्रै होलाऊ,
सन्चै होलाऊ |
मिलेको खण्डमा
सपनामा आएर मलाई
खुसुक्क भनिदेऊ न—
म यहाँ छु,
म यो गरिरहेको छु |
तिम्रो हाल सुन्न
म बेहाल छु |
बाहिर नदेखिए पनि
तिम्रो याद
म भित्रभित्र
सङ्गममा सरस्वती
जस्तै बगिरहेछ;
बचपनमा तिमीसँग
बिताएका क्षणहरुका
ती स्मृतिहरु
नओइलाउने फूलझैँ
ताजै भएर
मेरा मनमन्दिरमा
बसेका छन् |
सपनामा आउँदा
मभित्र पनि
आउन थालेका
तिनै दुई प्रश्नका उत्तर
मिल्छ भने
बताइदेऊ न है—
तिमीलाई भेट्न
म कहाँ आउँ?
जीवन के हो?
म के गरूँ?
अमेरिका