18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानो काम

लघुकथा काशीनाथ मिश्रित June 4, 2022, 4:09 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

विद्यालयको भवन निर्माण कार्य तिब्र रूपमा चलिरहेको थियो । जेठको महिना, टन्टलापुर घाम, कर्मीहरू पसिना काढ्दै काममा जुटिरहेका थिए । बालुवा चाल्ने मजदुर नआउनाले त्यस दिन काममा अवरोध भइरहेको कुरा प्रधानाध्यापकलाई बिझाइरहेको थियो । प्रधानाध्यापक आफै गएर बालुवा चाल्न थाले । एउटा लुङ्गी र टि सटको पहिरनमा साबेलले जालीमा बालुवा फ्याक्दै पसिना पुछ्दै उनी काममा तल्लीन थिए ।
- “ओ दाइ ! यो स्कुलका प्रिन्सिपल कहाँ हुनुहुन्छ?” भर्खर गेटबाट छिरेका दुई जना सुकिलामुकिला तन्नेरीमध्ये एउटाले सोध्यो ।
- “किन? के काम थियो र? भन्नुस् न ।“ उनले काम रोकेर आगन्तुकपट्टि फर्किँदै भने ।
- “तपाईँसित भन्ने काम हैन । हामीले चिफसित कुरा गर्नु छ । एउटा सानो काम हो । भन्नुस् त हेड सर कता हुनुहुन्छ?” अर्कोले अलिक रुखो स्वरमा भन्यो ।
- “के कति सानो काम होला यहाँहरूको? भन्नोस् मै हुँ हेड सर !” गोपी सरले मुस्कुराउँदै जवाफ दिए अनि पुनः काम थाले ।
- “बिल्ला नगर्नुस् न हो दाइ ! अपिस कोठा कुन हो? बताइदिनुस् त हामी त्यहीँ गएर कुर्छौँ बरु ।“ पहिले बोल्ने चाहिँले स्वरमा अझै टर्रोपन थप्दै भन्यो ।
उनले कार्यालय कोठातिर औल्याउँदै भने, “उसो भए गएर बस्दै गर्नुस् । हेड सर त्यहीँ कतै हुनुहुन्छ होला, आउनुहोला नि ।“
कार्यालय खुलै भएको र अरु कोही नभएकाले तिनीहरू प्रअको प्रतिक्षा गरिरहेका थिए । त्यही पोशाकमै सरासर गएर उनी आफ्नो घुम्ने मेचमा बसे उनले पाहुनापट्टि फर्केर हल्का मुस्कान छोड्दै भने, “लौ भन्नुस् के कस्तो सानो काम थियो कुन्नि यहाँहरूको? अब त बताउनुहुन्छ होला नि!”
भर्खर बालुवा चालेको मान्छे आएर कुर्सीमा बसेको देख्दा उनीहरू छाँगाबाट खसे झैँ भए । उनीहरूले सोझै गोपी सरलाई हेर्न सकेनन् । आँखा तलतिर झुकाएर बसिरहे । दुवैले परस्पर मुख हेराहेर गरे । मुख खोल्न खोजे तापनि घाँटीमा के आएर रोकिदियो कुन्नि ! बोली निस्कनै सकेन । नमस्कारको भावमा हात मात्र जोडेर उभिए अनि बाहिरिए ।
फोक्सिङ, गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।