19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चिन्ता देशको

कविता सन्ताेष लुइटेल किंसुका June 3, 2022, 8:18 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

पुर्खाको नासो, वीरको चिनो उत्तम उद्यान
मेची र काली, गण्डकी कोसी सिञ्चित बगान ।१

त्यो मखमली, यो सयपत्री चम्पा र चमेली
फुलेका मिली, रिसराग त्यागी बनेका सहेली ।२

खेत र बारी झुलेका बाला खेलेका बहेली
सुरक्षा गर्छन् गोडमेल गर्छन् मिलेर सहेली ।३

मिलेका जन, सुम्पेको तन देशकै निमित्त
बगैँचा देश, जनता माली जुटेका समस्त ।४

खै किन आज गड्बड लाग्छ ? सन्देह जनमा
के होला भोलि कसो पो होला चिन्ता छ मनमा ।५

देशको भक्ति उर्लिँदा फेरि ती भक्ति टोलाए
त्यो वयवृद्ध, ढलेको ज्यान झलक्क सम्झिए ।६

पृथ्वी उठे बोकेर ठेली पृथ्वी झरुँ कि ?
भुलेको दिव्य उपदेश फेरि सम्झाई हेरुँ कि ? ७

लौ करबद्ध भएर माली ढोकामा ढलेको
कसले देख्ने वीरको आत्मा स्वर्गमा जलेको ।८

सोच हे भाइ मित्रता हुन्न कुटिल हाँसोमा
फसे त ज्यादै गारो छ मुक्ति लोभको पासोमा ।९

रहे त राज्य रहला तिम्रो इन्द्रीय आसन
नेपाली जन स्वतन्त्र बाँच्छ मान्दैन शासन ।१०

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।