पुर्खाको नासो, वीरको चिनो उत्तम उद्यान
मेची र काली, गण्डकी कोसी सिञ्चित बगान ।१
त्यो मखमली, यो सयपत्री चम्पा र चमेली
फुलेका मिली, रिसराग त्यागी बनेका सहेली ।२
खेत र बारी झुलेका बाला खेलेका बहेली
सुरक्षा गर्छन् गोडमेल गर्छन् मिलेर सहेली ।३
मिलेका जन, सुम्पेको तन देशकै निमित्त
बगैँचा देश, जनता माली जुटेका समस्त ।४
खै किन आज गड्बड लाग्छ ? सन्देह जनमा
के होला भोलि कसो पो होला चिन्ता छ मनमा ।५
देशको भक्ति उर्लिँदा फेरि ती भक्ति टोलाए
त्यो वयवृद्ध, ढलेको ज्यान झलक्क सम्झिए ।६
पृथ्वी उठे बोकेर ठेली पृथ्वी झरुँ कि ?
भुलेको दिव्य उपदेश फेरि सम्झाई हेरुँ कि ? ७
लौ करबद्ध भएर माली ढोकामा ढलेको
कसले देख्ने वीरको आत्मा स्वर्गमा जलेको ।८
सोच हे भाइ मित्रता हुन्न कुटिल हाँसोमा
फसे त ज्यादै गारो छ मुक्ति लोभको पासोमा ।९
रहे त राज्य रहला तिम्रो इन्द्रीय आसन
नेपाली जन स्वतन्त्र बाँच्छ मान्दैन शासन ।१०