15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आकारविहिन गोलो

कथा सतीश छेत्री June 4, 2022, 4:22 am
सतीश छेत्री
सतीश छेत्री

“तपाइँ यदि यसलाई सत्य मान्नुहुँदैछ भने यो सत्य होइन। अर्थात् कसो भन्न चाहेको हो भने तपाइँलाई यदि यो संसारमा प्रवेश गरेपछि कुनै पनि घटनासित एकाकार भएर असुविधा हुनथाल्छ भने तत्कालै आफ्नो चेतनालाई प्रयोगमा ल्याउनुहोला। भन्नुहोला - यो आभाषी दुनियाँ हो, मैले उद्वेलित, आन्दोलित वा डर मान्नु पर्ने कारण छैन ।“

तिनले सीटको पेटी कसिदिँदै भनिन् - “तपाइँले यहाँ अब चौआयामिक तौरमा घटनाहरूको अनुभूति गर्नुहुनेछ। यो जीवन-यात्राको ‘भर्चुअल वर्ल्ड’ हो। तपाइँलाई तिर्खा लाग्छ, तिर्खा मेट्नुहुनेछ। तपाइँलाई भोक लाग्छ, भोक पनि मेट्नुहुनेछ। तपाइँ हाँस्नुहुनेछ, रूनु पनि हुनेछ, सन्तानोत्पत्ति गर्नुहुनेछ, परिवार बनाउनुहुनेछ...।“

आँखादेखि कानसम्म घ्वाप्प छोप्ने यन्त्र शिरमा लगाइदिइन्। भन्दैगइन् “... सम्झनुहोस् यो गेम हो, रोमाञ्चक गेम। तपाईंले ‘टास्क’ पूरा नगरी गेम छोड़न पाउनु हुनेछैन।“

यो कुरा सुनेर म अलि दच्किएँ। व्यर्थै जेथा खर्च गरिएछ कि जस्तो पनि लाग्यो! सोधेछु - “कस्तो ‘टास्क’ ?“

मुस्काइन् छुरीजस्तै - “त्यो त हामीले कसरी भन्नु ? गेम आरम्भ भएपछि ‘टास्क’ आफैँ दैख्दै जानुहुन्छ। गोलाई टुङ्गिएपछि अर्को देखिन्छ नि ? त्यस्तै !
कि डर लाग्दैछ ? नखेल्ने ?“

उसले चुनौती यसरी फ्याँकी मानौं कि म उभिएको गलैंचा तानी। म भित्र धर्खरिएँजस्तो भएँ ; तर अचम्भ त छँदै थियो कि... यो कुन स्तरको गेम होला ? सोधेँ -“कस्तो कस्तो सम्भव भयो नि टेक्नोलोजीले ?“

“अवश्यै पनि..“ तिनले भनिन् - “तपाइँले मोबाइलमा पनि हेर्नुहोस् न, गाड़ी-मोटरको होस् वा युद्धविभिषिकाको होस् ती थ्री डी गेमहरू कति जीवन्त छन्! सिमुलेटर गेमहरू आज दैनिक विकास हुने दिशामा छन्। मोबाइल गेम वा साधारण कम्प्युटर गेममा त्यस्तो तरक्की आइसक्यो भने यो हाम्रोचाहिँ महाकम्प्युटर हो।“ - आवश्यक प्राविधिक तयारी गरिसकेपछि मेरो छेउमा उभिएर बोलिन् - “.....हाम्रो जीवन पाँचवटा अनुभूतिहरू - छुवाई, हेराई, चखाई,सुँघाई र सुनाईको वरपर घुम्छ। हामीले छोएकोबाट, हामीले हेरेकोबाट, हामीले चाखेकोबाट, हामीले सुँघेकोबाट र हामीले सुनेकोबाट हाम्रा भाव, हाम्रो मन बनिन्छन्। हाम्रा विचार तीबाट नियन्त्रित हुन्छन् र विचारले संसार सिर्जना गरेको हुन्छ।

यदि हाम्रा सेन्स अर्गेनहरूसित यी भाव संवेदनाहरू अलग गरिए, शरीर अलग थोक हुन्छ, दिमाग अलग थोक। हाम्रो जीवन नै अलग मोड़को हुन्छ। अथवा हुँदैन। हामीले जसलाई जीवन भन्छौं, ती हाम्रा यही पाँचवटा ईन्द्रीयहरू र तीद्वारा संवेद्य तरङ्गहरूको करामत हो। अहिले विज्ञान यतिको उन्नत भइसकेको छ कि हामीले दिमागलाई नयाँ संवेदना, नयाँ अनुभूतिहरूसित जोड़ेर चेतनालाई अर्को आभाष गराउन सक्छौँ।


शरीर यस अर्थमा जस्ट एउटा मशीन मात्र हो। त्यो संवेदनाको अभावमा जड़ वस्तु सिद्ध हुन्छ। अर्थात हाड़मासुको मूढ़ो।

त यो गेममा त्यही हुन्छ। यो गेमको यो खासियत हो कि हामी तपाइँका संवेदना-तन्त्रद्वारा तपाइँलाई, त्यही संसारमा हुनुहुन्छ भन्ने जीवन्त आभाष गराइदिने छौं। यो यति जिवन्त हुनेछ कि तपाइँले यसलाई आफूसित भइरहेको अनुभव गर्नुहुनेछ।“

आफ्नो सीटमा प्रकाश छ। बाँकीबात घुप्प अँध्यारो।

लामो सास फेरेँ। उनको कुराले डर डर पनि लाग्यो । कस्तो अनिश्चित यात्रा। कहाँ जानुपर्ने हो ? कसको भरमा जानुपर्ने हो ? कति लामो होला यात्रा ?“

मनलाई हेरेँ । माथिल्लो दाँतले मुनिल्लो ओठको सतहलाई अलिअलि खेलाउँदै त्यसले भन्यो - “आरम्भ होस् न त हेरूँ“।

“रेडी ?“ आवाजले झस्किएँ । तिनले आँखाको तीर ठाड़ो राखेकी थिइन्।

“उँ’ आवाजसित मेरो टाउको हल्लियो। भएका बत्ती पनि झ्याप्प निभे।

**

आँखा, कान थुनेर पानीमुनि पस्दा कस्तो सुनिन्छ, त्यही आवाज सुनिरहेको अवस्थामा म होशमा आएँ, त्यतिबेला म निस्लोट अचेत अवस्थाबाट ब्युँझिएजस्तो भएँ। मैले आँखा खोलेको छु कि छैन, थाह छैन। तर चारैतिर घुप्प अँध्यारो देख्नु मात्र होइन, भोगी पनि रहेको छु। कता हो घुप्प अँध्यारोसित म त आफूलाई एउटा ठूलो ड्रमको पानीमा ढुङ्गाजस्तो भएर डुबिराखेको अनुभूत गर्छु। कान दुवै डम्म छन् - केवल डरलाग्दो घुटुटु ध्वनि मात्र चारैतिर व्याप्त छ। मलाई निराशा, डरहरूले एकैचोटि बोराले झैँ घ्वाप्प छोप्छ। म आफ्नो वृत्त छाम्ने प्रयत्न गर्छु - हात गोड़ा चलाउँछु, छालाको जस्तो भित्ता छेवैमा छोइन्छ। म बिस्तारै अत्तासिन्छु। र अचानक आत्तिन्छु।


तर यो अन्धकारभित्र पानीको गुढ़ गुढ़ आवाजसित मिश्रित केही आवाज पनि सुनिरहेको छु। आवाजले के भनिरहेको छ, ठम्याउने कोशिश गर्छु। अरे ! अचम्म तिनले बोलेको म बुझ्नथाल्छु। भनिरहेको छ- “एक कोशकीय जिउ, अमिबा, माछामा परिणत भइसकेको छ। यो धरतीको गर्भमा जिव सम्भव छ। यो प्रमाणको विकास भएको छ।“


यो आवाज सुनेर मलाई लाग्छ कि मैले यो आवाजलाई सहायता माग्नु पर्छ, म यहाँबाट निस्कन पर्छ। तर मलाई थाह छैन कि कसरी आवाज दिने हो ! तरकिब लगाउनलाई मसित कुनै साधन छैन। आभाष मात्र छ कि म छु। यस उप्रान्त केही छैन देख्नलाई। प्रयास गर्छु, हाम फाल्छु। तर त्यो उफ्राइ आफैंभरिको चक्कर मात्र हुन्छ। मेरो अवस्थिति चक्रजस्तो घुम्छ। डोरीजस्तोमा खुट्टा अल्झन्छ। एक लात लाग्छ - भित्तामा। कोही हाँस्छ, सुन्छु - ‘देख्यौ ? देख्यौ ?’


यो आवाजले म अरू प्रताड़ित हुन्छु। यो असहायपन विकराल भएको देख्दा रून्छु, आँसु - पानीमा मिसिन्छन्। फेरि हाम फाल्छु, फेरि अवस्थिति घुम्छ। कता हो ठूलो आवाज कड्किन्छ।
**


डर र थकानद्वारा आक्रन्त भएर कहिले निदाइएको थियो - थाह छैन। आँखा खोल्छु। भाव खोलिन्छन् कि ‘आँखा खोलेँ’। लाग्दैन कि परेलाका सर्टर उघ्रे। बन्द छन् दुई आँखा दोकानजस्तो। आफू बसेको सम्पूर्ण अवस्थान घरि ठाड़ो उभिन्छ, घरि ढल्छ, घरि निचारिन्छ, घरि खुला हुन्छ। परिस्थितिअनुसार म आफ्नो अवस्थान मिलाइरहन्छु। एउटा सुनामीको दबाउ मलाई दबाइराखेर आकाशतिर जान्छ। मेरो संसार लछारपछार हुन्छ। ‘वाक् वाक्’ आवाजहरू बिच कसैले भन्यो - ‘बिस्तारी गर ! बिस्तारी !’


यो प्रतीतिमा को बोल्छ, बोल्छ। पानीको गुढ़गुढ़हरूसित अघिको भन्दा अलिकति स्पष्ट सुन्छु - “गर्भमा जीव विकास प्रक्रिया निरन्तर छ। अब अमिबा, माछाहरू हुँदै, त्यो पुच्छर भएको प्राणी भयो। चेतना तल भएको डायनोसर भयो, त्यो मासिँदा यो जीव एकछिन डरायो। अब यो स्तनधारी प्राणी भइसकेको छ।“

मलाई वास्तवमा भन्नु हो भने यो आवाजसित वितृष्णा लाग्न थालेको छ। म भित्र जुन छटपटाहट छ, त्यो आवाजले जानेर पनि नजानेको जस्तो भान गरिरहेको छ, अनि जब जब यो कहाली बढ़दै जान्छ म कुक्रुक्क पर्छु, डोरीमा अल्झन्छु तर मेरा हात कपना जस्तो आपसमा जोडिन्छन् अनि म बिजबाट अङ्कुराउँदै गरेको धरतीको माटोमुनि उद्भिदजस्तो नमस्ते गरेर बुद्धस्तो साधनामा बस्न लाग्छु। म बर्बराउँछु प्रार्थनामा - “म यो चुक घोप्टिएको घुप्प अँध्यारोबाट, यो कष्ट र दुःखाइहरूबाट मुक्त हुन सकुँ। मलाई तपाइँको गोड़ाको कान्छी औंलाको एउटा रौं भाग ठाउँ दिनुहोस्।“


तर मलाई योचाहिँ थाह हुँदैन कि मेरा आराध्य को हुन् ? कस्तो छ तिनको स्वरूप ? कस्तो छ, तिनलाई भेट्न सकिने माध्यम । अँ हँ केही पनि थाह हुँदैन मलाई।

**

मेरा आँखाहरूका सर्टर खोलिँदा देखेँ - उज्यालो तिरमिरतिरमिर। म आँखा खोल्न पनि सङ्घर्ष गरिरहेको छु। मलाई उठाइँदा मेरो शिरले धरतीमा ढोगेको अवस्था थियो। लुगामा लपेटिएपछि, मेरो शरीरमा लागेका रगतका धारा र फाल्साहरू पुछिए। मलाई यतिका समय झुण्डयाइराखेको छालाको डोरी काटियो। मलाई अहिलेसम्मकै न्यानो ठाउँमा पुरयाइयो। तिनले मलाई निधारमा चुम्बन गरिन्। मेरा ओठमा दाना अनि धारा खसे। मैले अमृत् पिउँदै थिएँ। मैले अहिलेसम्म कहिले नगरेको कृत्य, आफै सम्भव हुँदै थियो, यो गोलो ब्रम्हाण्डीय संरचनाबाट अमृत् चुसें, निलियो। त्यो धारा यसरी बगेर ओह्रालो झरयो मानौं कि भागिरथ प्रयासमा पहिलोपल्ट शिवको लटबाट धरतीको सतहमा खसेको हो गङ्गाको मुस्लो फोहोरा।

आँखाहरू टोलाइरहेका छन्। म आश्चार्यचकित छु। रून थामिएको छु। ‘मेरो अवस्थिति भत्कियो’ भन्ने पीड़ामय प्रतीति अघिसम्म थियो।

फेरि आवाज सुन्छु - ‘स्तनधारी प्राणी, अब मानवाकृतिमा रूपान्तर भइसकेको छ। उसको मान्छे हुनुको यात्रा अब प्रारम्भ हुन्छ।’

**

कुनै एकदिन।
घामको आँगन।
बामे सरेर ढुङ्गा रोड़ाहरू खेलाइरहँदा देखिन्छ - एउटा कीरा। मेरो संसारमा यो नौलो अस्तित्वको उपस्थिति हो। हातका औंलाहरू मेरो दिमागले परिकल्पना गरेजसरी काम गर्दैनन्। प्रयास गरिरहन्छु र सफल हुन्छु। समाउँछु। त्यो यति संवेदनशील शरीर हुन्छ कि मेरा औंलाहरूमा समाइनसाथ त्यो नष्ट हुन्छ। यो मेरोलागि रमाइलो कृत्य ठहरिन्छ। मलाई लाग्छ यो खानुहुने थोक हो। मुखमा ल्याउँदा-ल्याउँदै त्यो हराउँछ। अरू पनि त्यस्तै पहेंला कीराहरू धेरै त्यहाँ छन् । म त्यही कृत्य दोहोरयाइरहेको हुन्छु तर म अचानक कोहीद्वारा टिपिन्छु।

किन टिपिएँ, यो मेरो जन्मसिद्ध अधिकार थियो। कोहोलो मच्चिन्छ परिवेश।
**

कुनै अर्को दिन।
आज म बामे सरेर एउटा खुट्टाले धरती टेक्छु , दुई खुट्टाले धरती टेक्छु। उभिन्छु। तर संसार लरबर हल्लिन्छ। संसार मेरो आँखाको।

अब मलाई अनुभव हुनथालेको छ। भोक लाग्दाको दुःखाई, निद्रा लाग्दाको बोझिलपन, केही खेल्नु मन लाग्दाको तनाव अनि तिनको समाधान। समाधान - रूनु ।

तर जति जति समय बित्दै जान्छ, सबै कुराको समाधान रूनु’बाट हुन छाड़दै जान्छ। मेरो यति अनुभव बटुलिँदै जान्छ कि ‘रोएर हरेक थोक नपाइने रै’छ।’ कोही बेला त रूँदा, आँसु अझ चम्ची, डाड़ु कि त पन्युले झन्झन् थपिने प्रक्रिया बड़्छ। हिजोसम्म जुन जुन रोएर समाधान हुँदै थिए आज त्यस्तै नहुँदा हात प्रयोग गर्न थाल्छु। शरीरको सहभागिताले ती पाउन खोज्छु।

शरीरको सहभागिताले धेरै थोक पाउन थाल्छु, तर समयको बहाउसितै कद् बढ़दै जाँदा यसमा पनि धेरैवटा अब प्रतिबन्ध लाग्दै जान लाग्छ ।

यस्तैहरूको एकदिन देख्छु - एउटा बचेरोले रूखबाट हाम फाल्छ। त्यो भुइँमा आएर बजारिन लागेको हुन्छ कि दुई औँलामाथिबाट धुलो उड़ाएर फेरि त्यो आकाशतिरै जान्छ।

केटौले उमेरको म, चराको पखेटा उम्रिएको भाग आफ्नो पिठ्युँमा पनि खोज्छु। लाग्छ - ‘कतै उड़्न नखोजेर पो हो कि नउम्रिएको पखेटा ?’

यो पखेटाको भावना आएदेखि म पखेटा खोज्न थाल्छु आफ्नो। हेर्छु अरूको पनि पिठ्युँ। हुनपर्ने त। फेरि तनावजस्तो, अवसादजस्तो अङ्कुरन हुँदै आउँछ।

मेरो एउटो साथीले रूखको हाँगामा बसेर दिशा गर्छ। उसको विष्टा गुरूत्वाकर्षणले पृथ्वीमै खस्छ, म पहिलोपल्ट देख्छु - मान्छेलाई पूरा ।
त्यो विजेता हाँसो हाँस्छ।

मलाई त्यसले बोलाउने नाम हो भूत ।
खेलिसकेर हामी तीन भाइ सँगै घर फर्कन्छौं।

**
त्यो दिन अवकाश थियो।
गाउँमा मासु काटिएको थियो। तर त्यहाँ दुई तीन घरलाई बिलो पुगेन। यो घटना एक सिन्का माचिस भइदियो र गाउँ भइदियो परालको कुनिउँ ! आगो उठे। फैलिए। एउटा गाउँसित अर्को गाउँ पनि मुछियो। गाउँ गाउँ मुछिए। परेवाको डुँढ़मा पनि आगो लाग्यो, बचेराहरू अण्डामै मरे।

भोलि बिहान घाम काला उदाए। नदी काला थिए, घाँस काला उम्रे। फूलहरू, चराहरू, काला थिए। हावामा डड़ेलोको गन्ध थियो।

सबै शान्त भयो।
फेरि केही समयपछि यस्तै भयो। कारण अर्कै थियो, तर भर्खर बनाइसकिएका घरहरू फेरि जलाइए।
फेरि शान्त भयो।
फेरि जलाइयो।
फेरि शान्त भयो।
यो क्रम दायाँ र बायाँ गोड़ा भएर समयको बाटोमा धेरै लामोसम्म हिँड़िरहयो।
गाउँमा यस्ता कुनै घर बाँचेनन् कि कहिले न कहिले, कुनै न कुनै कारणले, कोही न कोहीद्वारा प्रताड़ित नभएको होस्।
गाउँमा कोही त थिए, जसले पूर्णिमाको चन्द्रमालाई नियाल्थे, र भन्थे - ‘कस्तो ठाउँ जहाँ शितलता मात्र छ’

फेरि त्यस्तो कुनै आगजनीपछि, एक हुल अनुभवहरू ठूलो बरको रूखको फेदमा पलेंटी कसेर बसे। त्यहाँ आवाजहरू उठे -
- ‘क्रोध गर्नलाई ठूलो कारण चाहिँदैन’
- ‘कारण सानो होस कि ठूलो परिणाममा कुनै तलमाथि हुँदैन।’
- ‘अबदेखि लँड़ाइ नगरौँ’
- ‘हो हो अबदेखि लँड़ाइ नगरौँ’

**

हाम्रो घरको अघि प्रकृतिको ठूलो क्यानभास छ, जहाँ तिनले आँखाको आयातनमा नअँटाउने, छेउ कुना नभएको हिमाच्छादित हिमाल बनाएकी छिन्। हाम्रो बारीको डिलमा उभिएर सालका रूखहरूले तिनलाई नजिकबाट हेरिरहन्छन्। कहिले कहिले गुराँसले पनि रातो घुम्टो ओड़ेर मुसुक्क हाँस्छे। पार्श्वमा सेतो, अघिल्तिर रातो र दुई छेउमा हरियो। यी सबै देखेर जो कसैको पनि मनले - ‘एकछिन यो डिलमा बस्छु नि!’ भन्छ र यात्रु यहाँ थकाइ मार्छन्। काठको फलैंचामा। बाँसुरीको मधुर धुनजस्तो मन्द बतास चल्छ - आत्मिक छप्प चिसोसित।

तिनै हिमालजस्ता अग्ला छन्, मेरा बोज्यो पनि। उस्तै प्रभा उस्तै स्थीरता। बोज्योसित आगनको घाममा बसेको छु।
पट्ठो न्यूथा र बोज्यो।

‘बोज्यो ! म कसरी यहाँ छु ? भन त ?’ - म सोध्छु । म हत्तपत्त बोज्योसित बसेको हुँदिन। बोज्योसित बस्दा उनले के ठान्छन्, मेरो भित्री सोधाई छ।
‘त्यसमा एउटा काथा छ बाउ !’ - बोज्यो दूर क्षितिजमा नजर टिकाएर कथा हाल्न लाग्छन्् - ‘मेरा आबोको आबो, त्यस दिन पनि हाट भर्न गाएछन्। हाटमा सबैले आ-आफ्नो बिस्कुन फिँजाएर बासेको। त्यस्तोमा दैवसांयोग एउटी रूपवतीले कहाँ’ट हो आएर मगले श्ये फिट्दै गरेको फेला पारेछ। हाम्रा बोज्योको आमिक देख्नेबित्तिक्कै उनीसित जुधेछन्“ ।
यो ‘जुधेछन’लाई उनले ठूलोबाट सानो पारी झ्याप्प बन्द गरे।
‘अनि ?’ - कथाको रोचकता यथावत् राख्नलाई मैले सोधेँ।
’अनि तिमी भोयो ।’ बोज्योले कथा सिद्धयाए। मैले उनलाई टवाल्ल हेरेँ । आशय बुझेर उनले थपनी पस्के - “अँ , तिम्री आमुको पट्टि पनि कसैको आमिक, कसैसित जुधेको थियो होला !“

बोज्योले मलाई इयेङ बोलाउँछन्।

**

कलेज जाँदैछु। बाबरीसित मेरो विशेष लगाउ भएको छ। उसको सुगन्धसित म लट्ठिएको छु। ऊ कालीकाली छे। एउटा सुइरोमा पिरिकपिरक मुस्कानहरू फुल्छे। म दङ्ग भएर उसको छेउमा बसिरहन्छु। साथीहरू कलेज परिसरमा घुमिरहन्छन्; तर म बाबरी जहाँ छे, त्यहीँ नै बसिरहन्छु। मन्दमन्द बतास चल्दा उसले पातका औंलाहरू खेलाउँदै रागिनी गाउँछे। पात र फूल भएर मेरो ओठ र ललाटमा चट्ट छुन्छे र हावासितै लजाएर आफैं उता फर्कन्छे।

उसले मलाई प्रनु भन्छे।

म उसलाई त्यहीँ छोड़िराखेर बेलुका साँझ घर आउँछु। ऊ पनि आफ्नो घर जान्छे, प्रकृतिको सुरम्य गाउँ उसको घर छ।
**


मेरो सम्बन्ध सधैँका लागि गाँसियो ऊसित।

हामीले त्यही दिनहरूमा देख्यौँ, धरती र आकाश जोड़िने ठाउँ क्षितिज। जो कि हाम्रै बिच्छयाउना थियो। कसरी भने म फूलका पत्रहरू बर्साउँथें आकाशले पानी बर्षाएजस्तो। उसले खुशी हुँदै धरतीले जस्तो हत्केलाको बटुका थाप्थी। उसको हत्केला भरिन्थ्यो।

यो खेलमा औंलाहरू बुनेर हामी हात समाउँथ्यौं।

मलाई सानो पेटमा किराहरू चल्थे। उसलाई सम्झँन्थें। कुद्दै भित्र आउँथें।
उसका पोल्टामा खन्याइदिन्थेँ।
तल पुगेर पानी लिएर आएकी ऊ, गाग्रीबाट पानी पिउन दिन्थी।
हामी चउरमा पल्टिएर आकाश हेर्थ्यौं।

हामीले एकजोर खरायो पालेका थियौं। उनीहरू पनि तारको जालीभित्र हामीजस्तै आफ्नो संसारमा मस्तमगन थिए। पोथीचाहिँ गाभिनी थिई, यो खबर थाह पाएर, भाले निकै प्रफुल्लित थियो।


हाम्रो छिमेकी परको घरले ठूलो स्वरमा गीत खोल्थ्यो -
‘झिलमिल सितारों का आगन होगा
रिमझिम बरसता सावन होगा
ऐसा सुन्दर सपना, अपना जीवन होगा

**

थुप्रै दिनहरूपछिको कुनै अलग एकदिन।
जमिनको कटाव बिस्तारै उठेर गएको ठाउँ थियो। पानीहरू भुवादार पर्दै थिए। धारिला अम्लिसाका पातहरू झुकीझुकी तपतप आँसु चुहाउँदैथिए। अलिअलि भुइँ कुइरो लागेको। जति बढ़दैगयो त्यति मात्र खोलिँदै आउने। भिजेका घाँसहरू स्वामस्वाम टेक्दै म माथि पुगेँ - यहाँ माटोको ढिस्कना थियो। भिजेका कोइलाहरू थिए। म घोप्टिएर त्यहाँ बसिरहेँ, पानीका थोपाहरू अलि बाक्ला अनि मोटा दानाका भए।
एउटा लुङ्दरले उभिएर मलाई ‘उठ’ भनिरहेको थियो; मैले उसलाई हात दिइन सकिरहेको थिइन।

मलाई कसैको गहिरो स्मरण हुन लाग्छ।

पातहरू निकै फेरिँदै जान्छन् रूखमा। निरन्तर बादलको नक्सा बन्दै र मेटिँदै, मेटिँदै र बन्दै भइ बस्छन् आकाशमा ।

कुनै एक रात ।
टिनको छानुबाट लहरै धाराहरू खस्दैछन् बाहिर। बत्ती बलिराखेको छ, जसलाई म भावनाले भिजेको ऐनापछिल्तिर उज्यालो पहेँलो छायाँमा मात्र देखिरहेछु। आँसु जस्तो तप्कनाहरू, जमा हुँदै, धाराको रूप लिँदै बगिरहेछन् ऐनाको सतहमा।


रूखहरू तपस्यामा छन्। स्थीर तर आनन्दको झरी-फुहार थापिरहेर। म यो ऐनामा देखिरहेछु - बिम्बहरू एकएक, आफ्ना राम्रा नराम्रा, सुख-दुःख, हाँसो-सुस्केरा जीवनका तमाम, स्मृति चित्रहरू तर सबै-सबै नक्साहरू पखालिरहेछन् पावन थोपाहरूले ऐनामा। जति जति यी पखालिइँदैछन्, म त्यति त्यति बोझरहित हुँदै पनि गइरहेको छु।

मलाई यतिबेला कता याद आएजस्तो हुन्छ - ‘...तपाइँ हाँस्नुहुनेछ, रूनु पनि हुनेछ, ...।’

अनि म निदाउन भनी कोल्टे पर्छु।
“अब तपाईंको समय सक्किन लाग्यो।“ अचानक अप्रत्याशित आवाज सुन्छु।
अन्तरमनबाट हो कि बाहिरबाट, केही थाह गर्न सकिएन।
दश, नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई, एक ।

आँखामा प्रकाशको मुस्लो छिर्छ।
एकछिनपछि मैले रूवाईको कोहोलो सुन्न लाग्छु।
**

बत्तीहरू बले। म जहाँ जुन ठाउँमा यो भर्चुअल संसार हेर्न बसेको थिएँ, त्यही चेयरमा बसिरहेको अवस्थामा आइपुगिसकेको थिएँ। आरम्भकै उही युवती मेरो अघि उभिएकी थिइन्। भनिन् -
“एकछिन रिल्याक्स गर्नुहोस्“


म विव्हल थिएँ। म सोच्न सकिरहेको थिइनँ कि मसित के भयो। कोकोहरू रोएको आवाज अझै पनि मेरा कानमा गुञ्जयमान थिए। मलाई सम्झनाहरू आउँदैथियो, चहकिला र मधुरा हुँदै जाने एकपछि अर्को सम्झना... प्रवाहपूर्ण... पूरानो पूरानो ... लामो सूची थियो।

युवतीले पारदर्शी गिलासमा चम्किरहेको पानी दिँदै भनिन् - “के भयो ठिकै हुनुहुन्छ ?“
मैले पानी कलकलती पिएँ अनि एकछिनपछि भनें - “तर मैले टास्क त पूरा गरिनँ नि। किन रोकिदिनुभएको ?“
“के टास्क ?“ खुद्रा पैसा झरेजस्तो हाँसेर भनिन् - “तपाइँ कसैको सन्तान हुनुभयो, कसैको साथी, कसैको प्रेमी, कसैको शत्रु, कसैको विद्यार्थी - तपाइँले तिनको प्रतिक्रियामा के गर्नुभयो, ती नै हुन् टास्कहरू। “
“त्यसो त मैले केही गरिनँ।“ मैले हतासिएर भनेँ।
“टास्क जीवनमा समानान्तर बहन्छन्, नाक जस्तो अलग्ग त्यो बाहिर उम्रिएको हुँदैन। त्यसमा तपाईंको हेक्का पो रहेन त" - उनले मायालु भावमा भनिन् -"सबै आफआफै भयो जस्तो भयो नि ?"
म अन्यमनस्क भावले निःशब्द भएँ।

“साथीहरू रूँदैछन्, म मरेँ अरे!“ - केहीबेरपछि मैले निभिसकेको त्यो बड़ेमानको हेडफोनजस्तो यन्त्र हेर्दै दुःखजस्तो पोखें।
“त्यहाँ मरेन भने त यहाँ रियलिटी त सुत्तै जान्छ नि त फेरि ।“ उसले झन् हाँसेर भनिन् - “चिन्ता नगर्नुहोस्, आरम्भमा मैले के भनेको थिएँ। तर तपाइँले एउटा कामचाहिँ भुल्नुभयो के ।“
“के ?“ मभित्र कता नदी सुसाइरहेको थियो।
उसले सहज भएर मलाई आँखामा हेरेर सोधिन् - “तपाइँ घुप्प अँध्यारोमा हुँदाखेरि बाहिर निस्कनलाई जुन प्रार्थनाहरू गर्नुभएको थियो। बाहिरको संसारमा आएपछि कहिले त्यो प्रार्थनालाई फलो गर्नुभयो?“
मलाई अहिले केही थाह थिएन, म निरूत्तर भएँ।
“तपाइँले आफ्नो विकासक्रममा अझ विकास थप्नका लागि के गर्नुभयो ?“ - उनले सोधिन्।
म अन्योलजस्तो भएँ । सोधेँ - “के भन्नुभएको हो ? मैले ठम्याउन सकिनँ।“
अलि मायालु हकार्दै भनिन् - “ कस्तो भन्दा नि! प्रकृतिले त आफ्नो विकास गर्दै तपाईँलाई बनायो होइन? तपाइँ बामे सर्नेदेखि हिँड़नेसम्म हुनुभयो। प्रकृतिको यस काममा सहयोग गर्नलाई तपाइँले आफ्नो तर्फबाटचाहिँ के गर्नुभयो ?“
म निरूत्तर भएँ, मैले त्यस्तो उल्लेख्य केही गरिनँ। बिलोको लागि जलेको गाउँहरू हेरिबसेँ। रसपूर्ण गफहरू चप्पचप्प खाइबसेँ, ख्वाइबसेँ।
“खरायो पाल्नु भएको थियो है ?“ म घोरिएको देखेर तिनले भनिन्।
“हजुर !“
उनी हाँसिन् र भनिन् - “तपाइँले जति लगानी गर्नुभएको थियो, त्यतिको भोगचलन यति नै हो। अर्कोपालि मेगा सिरिज खेल्नुहोला ! भयो अब धेरै भावुक हुने कुरा छैन। आउनुहोस् रियल संसारमा तपाइँलाई पुनः स्वागत छ।“

मेरो टोलाइ देखेर भनिन् - “बी रिल्याक्स ! तपाइँ मरेर बाँचेको होइन। यो मृत्युपछिको जीवन पनि होइन।“
उनी आमाजस्तै हाँसिन्।

**

म एउटा अटो पक्रेर आफू बस्ने किरायाको कोठातिर लागेँ।
मलाई कता भित्री प्रेरणाले यो घटनालाई कथा बनाएर लेख्न अह्राइरहेको थियो। साथीसित फोनमा एकछिन भलाकुसारी गरेपछि एकछिन लोलाएँ, टोलाएँ अनि कम्प्युटर अन गरेपछि लेख्न पेज बनाएर आरम्भ गरेँ - त्यही वाक्यदेखि -

“तपाइँ यदि यसलाई सत्य मान्नुहुँदैछ भने...“

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।