16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेताज्यु गाउँ फर्कनुहोस् ल !

हास्यव्यङ्ग्य विश्व विनोद June 4, 2022, 4:26 am
विश्व विनोद
विश्व विनोद

चुनावको बेला निकै अदव र गजबका साथ यहाँले गाउँको सात फन्को लगाएको म जस्ता सोझालाई थाहा नै छ । भोकालाई अन्न र नांगालाई कपडा दिन्छु भन्ने लफडा यहाँको छँदै थियो । चुल्ठे मुन्द्रे, सुण्ड, मुसुण्डको झुण्ड बोकेर पनि यहाँको पार्टीले चुनाव जितेको थियो । मलाई लाग्थ्यो, हजुरको पार्टी भन्दा अरु कुनै पार्टी यो दुनियमा नै छैन, सबै फु मन्तर गरेर जनताका सारा दुखलाई सुखमा परिणत गराउन सक्छ भनेर , त्यै भएर पनि त्यो बाकसमा खसालेको मतपत्र मेरो अलपत्र नहोस् किनकी मैले मैले मतदान मात्र गरेको थिईन, मेरा बिकासका सपना, रोजगारीका सपना, गाउँको सम्बृद्धिको सपनालाई पनि मतपत्रका स्वस्तिक चिन्हमा सजाएको थिएँ ।
अहिले स्वस्तिक चिन्हको मसि सुकि सक्यो होला, बुढी औंलामा लगाएको चिन्हले मलाई प्रश्न गरिरहेको छ र सोधि रहेको छ , के तैले जिताएको मानिसले गाउँमा बिकास ल्याउला र ? भ्रष्टाचार नियन्त्रण गर्ला र ? स्थानीय स्तरमा रोजगारीको अबसर श्रृजना गर्ला र ? नेता ज्यू यि प्रश्नहरु मेरा अर्धमुर्छित सपनाहरु थिएनन् मात्र थिए ज्युँदो र जागा हुँदाका अब्बल सपनाहरु, के यि सपनाको सुनुवाई कुन चिन्तन र वादको अदालतमा हुन्छ होला ?
ओहो ! तपाई गाउँ डुल्दा यहाँको खाल्डा खुल्डी त थाहा पाउनु भयो नि हैन ? चुनावको बेला शहरबाट आएर थोरै दिन बसे पनि यहाँको बिजुलीको समस्या थाहा पाउनु भो होला नि हैन ? थोरै भए पनि यहाँको कृषि उपज बिक्रि नभएको थाहा पाउनु भयो होला नि ? थोरै भए पनि बिदेशबाट फर्केर डुकुलण्ठक भएका मानिसको तथ्यांक लिनु भयो होला नि नेताज्यू ? अझ शिक्षक ऐन नमानेर पार्टीमा राजनीति गर्ने हरेक शिक्षकको तथ्र्याक हजुर सँग नै मज्जाले होला । यतिका बग्रेल्ती समस्या हुँदा हुँदै के तपाई आफ्ना उमेदबारलाई चुनाव जिताएर सुटुक्क बजारमा गएर राजनीति गर्न सुहाँउछ र ?
हरेक बुथमा जसरी पार्टीका एजेन्ट बसेर यो मानिस सक्कली र यो मानिस नक्कली मतदाता थियो भनेर खुट्याईएको थियो नि , हो त्यसरी नै गाउँका हरेक योजना बनाउनमा हरेक पार्टीका एजेन्ट हरेक टोल टोलमा बस्छन् कि नाई नेता ज्यू ? के हरेक पार्टीका एजेन्टले एकताबद्ध गाउँको बिकासको खाका कोर्न किन सक्दैनन नेताज्यू कि यहाँ बिकासलाई पनि बाद लगाउनु पर्छ ?
गाउँ फर्क अभियान चुनावको बेला मात्र लागेर गाउँको मुहार नफेरिने रहेछ । हस्पिटल धाउन हामीलाई निकै नै धौ धौ छ, तर यहाँ गाउँ बसेर यो बुझ्नको लागि पनि हजुर गाउँ नै आउनु पर्छ । गाउँका हजुरबाबा बृद्ध भत्ता बुझ्नको लागि हजारौं खर्चेर बैंक गएको यहाँले अझै बुझ्न पर्नेछ । एक घर एक धाराको अभियान भए पनि धारामा पानी नआएको यथार्थ बुझ्न पर्ने अझै जरुरी छ । मलाई त लाग्छ, तपाई गाउँ बसेर तपाईको उम्मेदबारलाई सुचना दिने र यहाँको बिकासको लागि सुचनाको संबाहक बनिदिनुहुनेछ । नेताज्यू बिन्ती गाउँ फर्किनुस् न ल !
हरेक पटक यहाँ टुरिष्ट बनेर गाउँमा आएर भोट नमागिदिएको भए हुने थियो । गाउँमा नै बसेर यहाँका बाँझा जग्गाको उपयोगिताको बारेमा नयाँ योजना बनाई दिएको भए हुने थियो । गाउँका खरका छानालाई बिस्थापित गर्न नसकेका ति दिनदुखिको सपनामा मलम लगाउने काम गरिदिएको भए हुने थियो । नेता ज्यू गाउँ फर्किनुहोस् न, अनि बल्ल पो गाउँले असली नेता गाउँमा नै पाउँछ , शहरमा यहाँको खाँचो छैन तर गाउँमा यहाँको खाँचो छ । नेताज्यू गाउँ फर्किनुहोस् !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।