19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बच्चाका ती कुरा

कविता प्रा. डा. मोहन प्रसाद जोशी June 3, 2022, 8:29 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

गणेशस्थानमा दौडेको,
डन्डीबियो खेलेको,
चङ्गा उडाएको,
गुच्चा गुडाएको,
खल्तीमा हालेर
अलिअलि झिक्दै
चना चपाएको,
टिम्बुरले सुहाएको
त्यो रायोको साग खाएको,
अनि लप्सीको अचारसित
दालभात पड्काएको |
सम्झन्छु पूरा
बच्चाका ती कुरा |

माघको महिना,
तकियामा टाउको,
सिरकमा गुटुमुटु,
झ्यालबाहिर देखिने
त्यो सेतो तुसारो,
अनि बल्ल आएको
एघार बजेको घामको
न्यानो लिन मास्तिर
कौसीमा उक्लेको,
र बुबाले ल्याएको
त्यो तरकारी घाममा
आमाले केलाएको,
अनि साग सुकाएको
र गुन्द्रुक बनाएको |
सम्झन्छु पूरा
बच्चाका ती कुरा |

आमाले तयार गरेको
पूजाको सामग्री
बुबाले चढाएको,
पानसमा बालेको
त्यो पाँचसुते बत्ती,
मकलमा हालेको
त्यो धूपको धूवाँ,
दन्केको कपूर,
घन्केको घण्ट,
अक्षता र अबिर,
आसन र अर्घ,
अञ्जलि र अर्चना |
सम्झन्छु पूरा
बच्चाका ती कुरा |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।