15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रक्तदान शिविर

हास्यव्यङ्ग्य कृष्ण प्रधान June 19, 2022, 2:31 am
कृष्ण प्रधान
कृष्ण प्रधान

रक्तदान शिविर ।

आयोजन संस्थाका भोलियण्टरहरू देब्रे छातीमा क्वार्टर प्लेटजस्तै ब्याज सिउरेर दुगुरा-दुगुर गरिरहनेछन् । एउटा महाउत्सव ।

लस्करै पलङहरू सेता च्यादर र सैते सिरानीमा मस्त भएर रक्तदाताहरूलाई कुरिरहेका छन् । एकजना विराट साइजका मान्छे लमतन्न परेको देखिँदैछ । तिनको शारीरिक भाषा हेर्दा काटाकुटी यूरियाले भेटेको लौकाजस्तै देखिन्छ । लिभर मदिराको रसमा चोबलिएकोले अनुहार छिप्पेको इस्कुसजस्तो देखिए पनि पार्लरको फेसियलले झर्झराउँदो नै देखिन्छ । चिरिच्याँट्टै पहिरन । पेटमा महङ्गो दामको ब्राण्डेड पेटी देखिए पनि पेट सेट नभएकोले पेटी पर्लक्कै पल्टेर झुक्रेको पाथी झै नै देखिन्छ । जीउमा फरेन-सरेनको आधा बोतल बोडी स्प्रे खन्याएको होला शायद उल्टी आउने मगमग वासना घरिघरि नाकको दुलामा थुरिन्छ । छेउमा दुइजना भोलियण्टर्स अनि साथमा चाचारजना नर्सहरू पलङ्का वरिपरि देखिन्छन् । टाढ़ाबाट हेर्दा गुलिभर लखतरान भएर ढल्किरहेको अनि तिनका लिलिपुटहरू उभिएका देखिन्छ । चारजना नर्सहरूमध्ये एउटी नर्सलाई अलिक होंची भएकीले रक्तदाता महोदयको भाले ढुङ्गाजस्तो पेटको डिलले छेलेकोले आक्कल झुक्कल ती नर्सको क्याप मात्र चल्मलाएको देखिन्छ । पेटको डिलबाट कथङ्कल चिप्लेर झिङ्गा वा कमिला तल खस्यो भने आय्या पनि भन्नु नपाई ठहरै हुने खाल्को पेट ।

तिनको पालो आयो । हाफ भेष्ट भएकोले लुगा सुर्काउनु परेन । एकजना नर्सले पाखुरामा स्पिरिट दलेर टुनिकेट बाँध्न थालिन् । पाखुरा पनि लरतरो ता कहाँ हो र मेरी बास्सै ! यूरियाले भेटेको बैगुनजस्तो । टुर्निकेट बाँध्न नर्सलाई हम्मे पऱ्यो । साह्रै परेकोले एकजना तरूणी भोलिटियर बहिनी मुस्कुराउँदै आएर आफ्नो पछ्यौरा दिई अनि सोही पछ्यौराले तिनको पाखुरा बाँधेर रगत निकालियो । आधा बोतल पनि पूरा नभई रगत तान्न रोक्ने निर्देश भयो । रक्तदाता मात्र होइन तिनका वरिपरि उभिएका नर्स भोलियण्टर्स बिलखबन्द परे । सबैले रगत तान्न बन्द गराउनेको मुखमा ट्वाल-ट्वाल्ती हेरे । तर तिनले जे गरे ठिकै गरे । किनभने तिनको रगत होइन ह्विस्की थियो। नशा-नशामा ह्विस्की प्रवाहित हुँदोरहेछ तिनको । म्याकडोनाल, डाक्टर, टिचर, आरबी, भाँती अनि कोदोको जाड़ मिसिएको चिरिपरगत । तिनी ठूला सरकारी अनुमोदित कण्ट्र्याक्टर । महिनामा चालिस-पचास हजार ता चिरिपमै स्वाहा । पच्चीस लाखको एयर कण्डिसन्ड गाड़ी । वर्षमा एकपल्ट सपरिवार विदेश यात्रा । रक्तदान शिविरमा ओछ्याइएको सेतो च्यादर नाथे तिनको निम्ति केही होइन....क्याटका क्याट नोटका बिटाको डसनामा सुत्न सक्ने क्षमता ।

माटो, सिमेण्ट. रडसित लुकीचोरी खेल्ने मान्छे परै । यस्ता माटो, सिमेण्ट कति बुकाइसके बुकाइसके भने कति रड मरकमरक पारिसके, त्यसको हिसाब छैन वा अडिट गर्ने अडिटर अहिलेसम्म जन्मेकै छैनन् । यो कण्ट्रयाक्टर जीपनमा हात हालेदेखि यिनले कति माटो, सिमेण्ट बुकाइसके अनि रड कति चपाइसके सो ता तिनको शारीरिक भाषाले नै छर्लङै पार्छ ।

कुकुर भनेपछि जीउ-ज्यान दिन्छन् यी कण्ट्रयाक्टर साहेब । घरमा गतिलो कुकर पालेका छन् । तपाई-हामीले पाल्ने लुतो कुकुरजस्तो होइन तिनी 'टिबेटियन मेष्टिफ' ब्रिड पाल्छन् । यसलाई नेपालतिर 'भोटे कुकुर' पनि भनिन्छ । हेर्दै डँड़ाक...नब्बे किलोसम्म वजन । त्यसको निम्ति एयर कण्डिसण्ड खोर तयारी छ । त्यसलाई हेर्न उस्तै दुइजना स्वाँठ परेका युवकहरू खटाइएको छ । बिहान मर्निङ वकमा डोऱ्याउन यी दुवै स्वाँठलाई त्यसले हत्तु हैरान पार्छ । तपाईृ-हामीजस्ताले यसलाई डोऱ्याउनु पऱ्यो भने दुइ-दुइवटा ठूल्ठूला ढुङ्गा काँधमा भिरेन भने हुत्याएर कहाँ पुऱ्याउँछ-पुर्याउँछ (यस टिबेटियन मेष्टिफबारे पाद टिप्पणी हेर्नू) ।

समाजप्रति यिनलाई लुतो कनाइ केही थिएन । आफूले कमाएको रकमबाट सामान्य अंश समाजमा खर्च गर्दा कुनै पनि कार्यक्रममा तिनीसँगै श्रीमतीलाई पनि निम्त्याइन्छ र माथि मञ्चमा बसी खादा-माला लाउन पाइन्छ भन्ने लोभमा तिनलाई श्रीमतीले समाजसेवा गर्नेतर्फ हुट्हुट्याएकी हुन् ।

जातिको अस्तित्त्वको निम्ति किसिम आन्दोलनहरू भए । कतिले ज्यान दिए, कतिले रगत बगाए । तिनले त्यस्तो आफ्नो जातिको निम्ति रगत बगाउने आँटै गरेन जिन्दगीमा । अहिले बाँच्नको निम्ति वर्षमा एकपल्ट थोत्रे, काम नलाग्ने रगत दान गर्न थालेको छ । तर तिनको रगत मदिरा हुनेछ भन्ने कसलाई थाहा ?

वर्षमा करोड़ौं रूपियाँ कमाउने कुरो मनमा हुनुबाहेक तिनका मनमा अरू केही छैन । रगत छैन । हृदय छैन । लिभर छैन; मुटु ता झन् छँदैछैन । बस् मलाई वर्षमा एक करोड़को व्यापार चाहिन्छ । टिबेटियन मेष्टिफ ब्रीडजस्तै यी मान्छे पनि ब्रीज जनावर हो ।

रक्तदान शिविर । लम्बेतान वक्तव्य । माझ माझमा कानको जाली फुटाउने गरी नेपाली रक सङ्गीत । फेरि वक्तव्य । भोलियण्टर्सहरूको रगरगी । ग्वारग्वार्ती समाजसेवकहरूका ताँती । रगत व्यापारीहरूको उस्तै भीड़ । गाउँमा महाउत्सव चलिरहेछ । रक्तदान शिविर ।

अर्को पलङमा यूरियाले गजबले भेटेको बैगुनजस्ता मान्छे चित परेर सुतेको देखिँदैछ । कसैले गतिलो चढ़्कन लगाएकोजस्तो मुहार । पहिरन पनि गजबकै । मान्छे हेर्दा जीवनमा अरू कुनै कुरामा ध्यान नदिए पनि पनि पेट बढ़ाउनमा गतिलै समय फुर्मास गरेजस्तो देखिन्छ । यस्ता खाले मान्छेहरू धेरै रक्तदान गर्न पलङमा सुतेका देखिन्छन् । यिनीहरू संसारका टिठलाग्दा मानिसहरू हुन् । यिनीहरू न परिवारकै हुन् न ता समाजकै । खासै यिनीहरू कम्पनीका मानिसहरू हुन् । मनिब्याग भन्दा हुन्छ । झोपड़ीमा वास गर्नमै मनग्गे आनन्द उपभोग गर्छन् । मालिकहरू वर्षेनी घुम्न गएजस्तै परिवार लिएर कतै घुम्नु जाने इच्छा हुँदा-हुँदै पनि आर्थिक मेरूदण्ड उहिल्यै खँजाहा भएकोले महाकवि देवकोटाको निम्न कविता परिवारलाई सुनाएरै भ्रमम-तिर्सना मेट्छ -

"आनन्दको एक कुटी छ झोपड़ी

म लेट्छु जस्माथि सकी परिश्रम ।

पङ्खा छ मेरो वटवृक्ष सुन्दर

समीर हम्कीकन चल्छ सर्सर ।"

XXX X XXXXX XXXXX XXXXX

"विमान खासा मनको लिईकन

म चन्द्र, तारा, पृथ्वी घुमीकन ।

विहारको मोज लुटी लुटीकन

फर्कन्छु फेरी उहि रम्य आँगन ।। (देवकोटा - गरीब)"

रक्तदान गरे पछि शिविरबाट दिइएको केरा र आइफल मुखमा हाल्दै जीउभरि रक्सी रगत बोकेको मान्छेको गफ (दार्जिलिङे भाषामा बिग टक [बीटी]) शुरू हुन्छ । जीवनमा अनेकन सङ्घर्ष गरेर बल्ल आफूलाई सफल सक्सेस् मान्छे भएजस्तो लाग्छ । जीवनमा केही थिएन मेरो । अचेल के छैन मसित ? टिबेटियन मिष्टफ ब्रीड कुकुर छ । सधैँ त्यसले पाँच किलो मासु खान्छ । यहाँका कुन नेताले पाँच-पाँच किलो मासु खान सक्छ ?

ऐरे-गैरे-नत्थुखेरैले उनको बीटी स्वाद मानेर सुन्छन् । फेरि उही कुरो, छोराहरूलाई विदेश पढ्न पठाएको छु । अनुहार कति झर्झराउँदा छन् । पन्ध्र वर्ष मात्र टेक्दैछ, तर मसित हिँड्दा मलाई तिनीहरूको छोराजस्तो देखिन्छ, उनीहरूलाई मेरा बाबु ।

तिनकी श्रीमती फेरि अचम्मकै जनावर हो । काटाकुटी सूँढ़़ चुँढ़िएकी ढोई हात्तीजस्तै । एकै खेपमा दसवटा आइसक्रिम खान्छे ।

तिनको रात अचम्म पाराले बित्छ । रम-ह्विस्कीका बोतलहरू रित्तिन्छन् एकै रातमा । अघि गरेको रक्तदान रातभरिमा फेरि रम-ह्विस्कीसित अङ्कमाल गरेर नशाभरि सल्बलाउन थाल्छ ।

भोलिपल्ट खातेहरूले ती बोतल बटुली बिक्री गरेर आफ्नो पेट भर्छन् ।

रित्ता बोतलहरू एकार्कामा कानेखुसी गर्छन् - "फेरि भोलि-पर्सी ता भरिएर रक्तदाता महोदयकहाँ आउनैपर्ने हो ।"


पाद टिप्पणी - टिबेटियन मेष्टिफ डग ठूलो तिब्बती कुकुर हो । तिब्बतको वातावरणलाई सुहाउने यसको दोबर भुत्ला हुन्छ । तिब्बतीहरूले यसलाई घर तथा सम्पत्ति रुङ्न पाल्छन् । यस कुकुरमध्ये डाङोको उचाइँ कम्तिको पनि 26 इञ्चीको हुन्छ भने छाउरीको उचाइँ 24 ई़ञ्च सम्मको हुन्छ । यो 10-12 वर्षसम्म बाँच्छ । यसले बाघ पनि मार्न सक्छ । यो संसारको सबैभन्दा महङ्गो कुकुर हो - एक करोड़ रूपियाँसम्ममा यो बिक्री भएको तथ्य पाइएको छ ।

सिलिगुड़ी , भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।