15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हार्न नजान्ने मान्छे

कथा जी.बी. आचार्य June 5, 2022, 4:13 am

बसपार्क छेउको चियापसलकी साहुनी हो माया । समयले लतारेको अनि विषालु आँखाहरुले ददारेको उसको जीवन ओरालो लाग्दैछ । उमेर पैंतीसको हाराहारी भए पनि ऊ उमेर भन्दा एक दशक बढी देखिन्छे ।
“रक्सी बेचेँ, आलु बेचेँ, बेचेँ च्यूरा मासु, सबै भन्दा धेरै बिक्यो, जोबनको हाँसो” गीतले भने झैं उसको गुलाबी मुस्कानमा लठ्ठ परेर उसको पसलमा चिया खाजा खान आउनेहरु धेरै थिए अनि समयसँगै फिक्का बन्दै गएको उसको मुस्कान जस्तै उसको खाजा पसलको ब्यापर पनि पातलिँदै गएको भेउ पाएकी छ उसले ।
भित्ते घडीको निरन्तर टिकटिकसँगै पिलपिलाउँदै धेरै समय बगेर गएको देखेकी छ मायाले । समयसँगै थुप्रै जीजिविषा आलिशान बनेको अनि थुप्रै जीजिविषा पतन भएर धुलिसाद भएको पनि देखेकी छ ।
उसको खाजापसलसँगै जाडिएको चारतल्ले घर नै दशवर्षमा बाह्रपटक विकेको पनि उसलाई थाहाछ । अनि हरेक पटकको खरिद बिक्रिमा लाखौं लाखको फाइदा भएको पनि उसले सुनेकी हो ।
“फलानो साहुले यति फाइदा लिएर घर बेच्यो ।”
तर उसले थोरै नाफा लिएर चिया खाजा मात्रै बेची ।
खाजा चपाउँदै र चियाको चुस्की लिँदै लोभि नजरले उसको शरीरको भूगोल नाप्न चाहने थुप्रै इशाराहरुलाई अनदेखा गरेर उसले आफूलाई जतन गरेर राखी त्यसको हिसाब थिएन ।
अब त उसको बंशालु वैभव पनि बाँकी थिएन ।
समयले उसको शरीरलाई मोटो भद्दा बनायो । अनुहारमा चाया र खस्रोपन थपियो अनि स्वरको मृदुलता समाप्त भयो ।
यो शहर सम्पूर्णरुपमा बधशाला जस्तो लाग्छ मायालाई । हरेक चिजको बध हुन्छ यहाँ । मानवता, जिजिविषा, चाहना, इच्छा, अनि प्रेम । जाबो शरीरको त के कुरा भो र । मायाले यी सबैलाई जतन गरेर राख्न सकेकी थिईन ।
अठार वर्षकी थिई माया त्यतिबेला । मनमा कुतुहलता बाढी चल्ने आफूलाई देखेर आफै मक्ख पर्ने त्यो उमेरमा उसको मनलाई मायाको दस्तक दिन आएको कुमार ।
मायाको मनको दृढताको पर्खाल कुमारको प्रेमको आव्हानले कति चाँडो भत्कियो । अनि सपनाको प्रतिवद्ध बाटो कतिबेला कुमारको जीवन तिर मोडियो मायाले थाहै पाइन ।
कुमारको एउटै आव्हानमा मायाले घर परिवार, समाज, संस्कार, मान मर्यादा, कुलाचार, लोकाचार सबै एक झपटमा त्यागेर प्रेममा समर्पित भएकी ऊ कुमारको पछि लागेकी थिई ।
एउटी पत्नीले एउटा पतिबाट के चाहन्छे ?” यो प्रश्न दार्शनिक बन्न सक्छ तर कसैले मायालाई सोधेको भए ऊ सहजै भनिदिन सक्थी, बाबु जस्तै हेरचाह गर्ने, साथीले जस्तै हरेक चिजमा साथ दिने, अनुयायिले जस्तै सम्मान गर्ने अनि प्रेमीले जस्तै अथाह माया गर्ने अनि सहयात्री । तर कुमारले मायाका मनका अथाह प्रश्नको जवाफ दिन असमर्थ थियो ।
विवाह गरेको केही समय पछि नै ऊ केबल एउटा पुरुषमा परिणत भएको थियो र सीमित पनि ।
“यस्तो मानिससँग जिन्दगी जान्छ मेरो?” मायाले आफैलाई पटक पटक सोधेकी थिई र अनुत्तरित पनि । उसलाई पीडा दिन्थ्यो कुमारको स्वभाव, आनीबानी र उपश्थितिले ।
“हा जस्तो पर्छ, त्यस्तै टर्छ ।” कुमारको स्वभाव नै यस्तै । शोक सुर्ता, भोक न भकारी ।
“जिन्दगी यसरी चल्दैन ।” यही निष्कर्श थियो मायाको । विवाह भएको दुई वर्ष नपुग्दै ।
“म तिमीसँग बस्न सक्दिन । हामी अलग्गिऊँ ।” । मायाले कुमारलाई निर्णय सुनाएकी थिई ।
“तिम्रालागि सिन्दुर पोतेको कुनै अर्थ छैन ?” कुमार चाहन्थ्यो यो सम्बन्ध कायम राखिराख्न ।
“यदि सिन्दुर पोतेको अर्थ दासता, गुलामी र दोश्रो दर्जाको नागरिक हुनु हो भने, भो मलाई चाहिँदैन मलाई बन्धन् ।” स्पष्ट शब्दमा जवाफ दिएकी थिई मायाले ।
हातमा पढाइ थिएन न त कुनै इलमी सीप । न त दह्रो आर्थिक अवश्था न कोही साथी सहयोगी । भविष्य प्रश्नबाचक चिन्ह बनेको अनिश्चयको पर्याय बनेर उभिन्थ्यो । तर कहिल्यै हार खाइन मायाले ।
स्वतन्त्रताको जीवन बाँच्न उसले के मात्र गरिन र जिन्दगीमा । घर बनाउने ठाउँमा रोडा बालुवा बोक्ने देखि, अर्काको जुठो पूरो सोहोर्ने सम्म । सुत्केरी स्याहार्ने देखि कृषि फार्ममा
तर पनि जिन्दगी कहिल्यै सप्रेन । सधैंको उस्तै अभाव, उस्तै सास्ती ।
अनि नयाँ हुने आशामा आज भन्दा एक दशक अगाडि शुरु गरेकी थिई यसले यो चिया खाजा पसल ।
“साहुनी खाजामा के छ?” एक हुल केटाहरु उसको खाजा पसलमा छिरे । कहिलेकाहीँ आउँछन् उनीहरु त्यस अर्थमा अलिअलि परिचित छन् ।
“जे भए पनि साहुनीको हातै मीठो ।” भीडबाट एउटा केटो बोल्छ ।
“के हो यार बुढीलाई लाइन मार्दैछस् कि ? अर्कोले साथीलाई जिस्काउँछ ।
...................................................................
कलेजको यूनिफर्ममै रहेका केटाहरु कुनै अनुभविले कुरा गर्न थाल्छन् । ती मध्ये मायाको बारेमा भनिएका कुराहरु कति पय आपत्तिजनक नै छन् तर पनि पर्वाह गर्दिन ऊ । बरु फिस्स हाँसेर उडाइ दिन्छे ।
सगरमाथा जस्तो उसको जब्बर आस्था कत्ति पनि धुलिसात हुन्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।