स्रष्टा के हो ? र द्रष्टा के हो ? कहिलेकाहीँ सोच उब्जन्छ । उब्जिएको सबै सोचलाई म विचारमा परिणत गर्न सक्तिनँ । किन सक्तिनँ ? उत्तर मसँग छैन वा दिन चाहन्नँ ।
हुन त म, मान्छेले पाएका ज्ञान, भोगेका अनुभव, देखेका नौरङ्गी जीवन मर्दा सँगै लिएर जानुहुन्न भन्ने सिद्धान्तमा अडिग छु । सबै कुरा यहीँबाट लिएको हो यहीँ दिन किन कन्जुसी ? तर दिन पनि समय,
परिस्थिति र पात्र त हुनैपर्ने रहेछ । हुन त यो पनि सत्य हो स्रष्टा वा द्रष्टालाई आफ्नो सोच, भाव वा विचार दिन समय, परिस्थिति र विशेष विषयवस्तुको विशेष आवश्यकता पर्दैन ।
स्रष्टाप्रति ममा उठेको सद्भाव र द्रष्टाप्रति ममा उठेको सद्भाव केले तौलने ? कुनै यन्त्र मसँग छैन । छ भने मात्र मन, आत्मा र शरीर अर्थात् स्थूल र सूक्ष्म वा वस्तु र भाव । जे ठान्नोस् ! तपाईंको ठम्याइलाई अहिले म तर्क वितर्क गरेर अतिमा डुबिहाल्न चाहन्न वा सक्तिनँ किनभने ‘अति नै खती’ भन्ने उखानको कारण नै त होला बुद्धले समेत छ भन्ने पनि अति र छैन भन्ने पनि अति, छ कि छैन भनी प्रश्न गर्ने चाहिँ खोजक भनेका हुन् । तपाईं बुद्धको यस कुरोलाई स्रष्टा भाव मान्नोस् वा द्रष्टा भाव म भने स्रष्टा र द्रष्टा दुवै भावको समिश्रण नै मान्दछु ।
जुनसुकै वस्तु वा भावको सीमा–परिभाषा मेरो बुझाइभन्दा अनगिन्ती धेरै वा अनगिन्ती थोरै वा अझै विलकुल फरक पनि हुनसक्छ वा ट्वाक्क मिल्न पनि सक्छ तर मैले होस्, तपाईंले होस् वा अर्कोले त्यति नै दिने हो जति मान्छेसँग छ वा जति ऊ दिन वा पोख्न उपयुक्त ठान्दछ । यहाँ अनगिन्ती उदाहरण उद्धरण गरेर तपाईंलाई निद्रा लगाउने मेरो विचार पनि छैन र लगाएर फाइदा पनि छैन ।
स्रष्टा ठूलो कि द्रष्टा ठूलो ? स्रष्टा महङ्खवपूर्ण कि द्रष्टा महङ्खवपूर्ण ? वेला वेला पाठकहरुमा यो विचार तरङ्गिन्छ । यो विचार तरङ्गिनुमा पनि स्रष्टा र द्रष्टाकै खिचातानीले हुने गर्दछ । कतिपय स्रष्टाहरु द्रष्टालाई फुटेको आँखाले पनि हेर्न चाहँदैनन् किन ? प्रश्न गहन छ । म त भन्छु कुनै मान्छे द्रष्टा भाव नराखी स्रष्टा बन्नै सक्तैन ।
आपूmले देखेको, सुनेको, भोगेको र पढेको कुरालाई द्रष्टा भाव राखेर, चिन्तन मनन गरेर मात्र खाका कोरिन्छ र त्यो खाका सिर्जना बन्दछ । कोरेको खाका वा फुरेको सिर्जना आफैँमा सर्जकको द्रष्टा भाव हो कि होइन ? यस्तो पूर्ण द्रष्टा भावलाई कुनै स्रष्टाले नकारेर देखाओस् न तब म मानौँला कि स्रष्टा द्रष्टाभन्दा ठूलो हो । नत्र सिर्जनाको गुणवगुणको पारख नहुने वा नगरिने हो भने सिर्जना आफैँमा मृत मान्दछु म किनकि पाठक पनि एक थरी द्रष्टै हुन् । आपूmलाई विशुद्ध द्रष्टा मान्ने वा तिनले देखाएका द्रष्टा भावभित्र पनि सूक्ष्म वा तरल रुपमा बसेको स्रष्टा भाव देख्छु म । स्रष्टा वा द्रष्टा दुवै एक सूक्ष्म तलमा पुगेर समाहित भएको तपाईंले देख्न नसके म के गर्न सक्छु ?
केही स्रष्टा द्रष्टालाई आलोचनाका कारणले पटक्कै देखिसहँदैनन् भने कोही स्रष्टा द्रष्टालाई आफ्नो गुण गाउन लगाउने खेतीमा हुरूक्कै हुने गरी कम्मर झुकाएर चाकडी गर्छन् । वास्तवमा सच्चा स्रष्टाले आफ्ना रचना आफैले पढ्दा आपूmलाई सन्तुष्टि दिन्छ भने कुनै द्रष्टाको गाली र स्तुतिले कुनै फरक पार्दैन किनकि स्रष्टाको सिर्जनाले पहिले आफैलाई आनन्द दिन सक्नुपर्दछ । निश्चय नै आपूmलाई आनन्द दिन सक्ने रचनाले सबैलाई आनन्द दिन्छ । सबै मान्छेको हृदयतलको भावना लगभग उस्तै उस्तै नै हुन्छ । अब तपाईं नै सोच्नोस् स्रष्टा ठूलो कि द्रष्टा ठूलो ? सोच्दैमा तपाईंको के जान्छ र ?
प्रायः स्रष्टाहरु द्रष्टा पनि एक किसिमको स्रष्टै हो भनी मान्न चाहँदैनन् भने द्रष्टाहरु चाहिँे स्रष्टाको भित्र पनि एक किसिमको दृष्टि भाव हुन्छ भनी भुल्न सक्दैनन् । वास्तवमा जसरी द्रष्टा अर्थात् साक्षी भाव नराखी कोही स्रष्टा हुन सक्तैन । त्यसै गरी सिर्जनशीलता वा स्रष्टा भावले ओतप्रोत नभएको मान्छे द्रष्टा बन्नै सक्तैन । यो मेरो निक्र्यौल हो । चाहे तपाईं मान्नोस् या नमान्नोस् । यो मेरो विचार हो र विचारको स्वतन्त्रता तपाईंमा पनि छ र ममा पनि छ । मलाई त लाग्छ जो स्रष्टा द्रष्टालाई स्रष्टा वा सर्जकको रुपमा स्वीकार गर्न सक्तैन ऊ द्रष्टादेखि डराउँछ । किन डराउँछ ? कारण धेरै हुन सक्छन् जुन बुझ्न गाह्रो पटक्कै छैन । जो स्रष्टा आफ्ना रचनाबाट सन्तुष्ट हुन सक्तैन वा अर्काको तानतुन पारेर स्रष्टा भएको गर्व गर्छ वा लेखिटोपल्नको लागि मात्र लेख्छ, निश्चय नै त्यो भित्रैबाट जानी नजानी द्रष्टासँग भयभित हुन्छ । सच्चा स्रष्टाले सच्चा द्रष्टाको र सच्चा द्रष्टाले सच्चा स्रष्टाको सधैँ स्वागत गर्छ र सधैँ स्वीकार गर्छ किनकि स्रष्टाको मूल्य, मान्यता, विचार, मत, सिद्धान्त र धारणालाई उपस्थापन र उजागर गरेर जीवन्त पार्ने काम द्रष्टाले मात्र गर्न सक्छ । त्यसैले म स्रष्टा ठूलो कि द्रष्टा ठूलो भन्ने विवाद वा तर्कमा कुनै तुक देख्दिनँ ।
मान्छे भित्रैबाट उत्प्रेरित नभई, भावनामा चुर्लुम्म नडुबी न सच्चा स्रष्टा बन्न सक्छ न त सच्चा द्रष्टा । सच्चा द्रष्टाले आफ्नो मत, विचार, सिद्धान्त दृष्टिकोण आदि अर्काको कुरो गर्दागर्दै, अर्काको विचारलाई चिन्तन, मनन–खोतलखातल गर्दागर्दै, अनेक कृति र सिद्धान्तसँग तुलना गर्दागर्दै छताछुल्ल पोखिसक्छ, त्यो नदेख्नु भनेको श्रोता होस् वा पाठक, स्रष्टा होस् वा सर्जक तिनको आफ्नो पहुँच हो । पहुँच भनेको मान्छेको क्षमता पनि हो, उसले ओगटेको प्रभावित पार्न सक्ने वृत्त पनि हो र पहुँच एक अर्थमा मान्छेको स्वभाव पनि हो किनभने कुनै पनि मान्छेको स्वभाव अर्थात् चरित्र उसको सोच, भाव, विचार र प्रस्तुतिमा हाबी भइरहन्छ ।
यदि तपाई स्रष्टा भएर आपूmभित्रको द्रष्टा भावलाई देख्नुहुन्न वा त्यसको अस्तित्व स्वीकार गर्नुहुन्न भने तपाईं कुनै हालतमा पनि स्रष्टा बन्न सक्नुहुन्न वा तपाईं सच्चा वा स्वस्पूmर्त स्रष्टा होइन । आपूmभित्र रहेको द्रष्टा भाव नचिन्नु वा स्वीकार गर्न नसक्नु नै स्रष्टाले आफ्नो धरातल र मूल भुल्नु हो । सिर्जना आफैमा स्रष्टाको द्रष्टा भावको गतिलो प्रमाण हो । आफ्ना अनेकतिरबाट प्रभावित र अनुकरणात्मक भावलाई अनेकतिरबाट चिन्तन मनन गर्नु, पर्गेल्नु पनि द्रष्टा भाव नै हो । यस्तो प्रभावित र अनुकरणात्मक भावहरुमाथि चिन्तन मनन गरेर मात्र मान्छे स्रष्टा हुनसक्छ वा आफ्नो भावलाई पोख्न सक्छ ।
त्यसैले मलाई सर्जक शब्द मनपर्छ । यो शब्द बडो मनकारी र मध्यस्थ लाग्दछ । यो शब्द कसले बनायो ? किन बनायो ? कहिले बनायो ? त्यो मलाई थाहा छैन । अब उप्रान्त थाहा भयो भने पनि यहाँ वर्णन गर्न सक्तिनँ । म मात्र यति जान्दछु कि सर्जक शब्द एक अर्थमा स्रष्टा हो भने अर्को अर्थमा द्रष्टा हो । एक अर्थमा उत्पादक हो भने अर्को अर्थमा अन्वेषक हो । एक अर्थमा चिरफार–खोतलखातल गर्ने द्रष्टा हो भने अर्को अर्थमा जन्माउने सिर्जना गर्ने स्रष्टा पनि हो ।
पूर्वका शब्दकोशहरुले सर्जकलाई सृष्टि र सृष्टिकर्ताका रुपमा मात्र देखे, तर मलाई लाग्छ यो सर्जक शब्दको एक खण्डे परिभाषा हो । कुनै पनि मान्छे द्रष्टा वा हेराइको भाव नराखी विषय, भाव वा वस्तुप्रति चिन्तन र मनन नगरी सृष्टि गर्न सक्तैन वा सृष्टिकर्ता बन्न सक्तैन । त्यसैले मलाई पश्चिमको परिभाषालाई मिसमास–थपथाप गर्न मज्जा लाग्यो, हुन सक्छ तपाईंलाई पनि लाग्ला । पश्चिमले सर्जकलाई अन्वेषक, शल्यकर्ता र खोतलखातल पार्नेको रुपमा परिभाषा ग¥यो । यो पनि मात्र एक खण्डे सत्य । सर्जक शब्दको समष्टि सत्य सायद मिश्रणमा छ । वस्तु, भाव वा विषयप्रतिको द्रष्टा भाव अर्थात् अन्वेषण भाव र त्यसले निम्त्याउने–जन्माउने स्रष्टा भाव अर्थात् सिर्जना ।
वास्तवमा यावत् कृति, दर्शन, सिद्धान्त, शास्त्र पढेर कृति र लेखकको सोच, भाव, विचार पर्गेल्ने द्रष्टा ठूलो कि आफ्ना मनमा उठेको सोच र भावलाई सुन्दर कलाकारिताले सिँगारी भावपूर्ण शैलीमा अभिव्यञ्जनासहित पोख्ने स्रष्टा ठूलो ? भन्न र खुट्ट्याउन कठिन छ ।
तपाईं मान्नोस् वा नमान्नोस् सत्य भन्ने हो भने स्रष्टा नभई कोही द्रष्टा र द्रष्टा नभई कोही स्रष्टा बन्न सक्तैन । स्रष्टा वा द्रष्टा दुवै एक अर्कोको परिपूरक हुन् मेरो दृष्टिमा ।