15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविता फाँटमा ''अघोषित युद्ध'को शङ्खघोष

कृति/समीक्षा कृष्ण प्रधान June 5, 2022, 4:28 am
कृष्ण प्रधान
कृष्ण प्रधान

नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
काँड़ाकै माझमा पहाड़ी फूल छैन र कहाँ हाँसेको ।
......................................................
.....................................................
बुझ्छ र कल्ले रोएको मुटुमा काँड़ा लिएर
अरुको सारमा हाँसेको आँशुका घुट्का पिएर ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
.......................................................
वीरको सन्तान नभन ग्लानिले मुटु पोल्दछ
पिंजड़ाभित्र नेपाली मनको गाँठो खोल्दछ ।"
- अगमसिंह गिरी

प्रस्तुत पङ्क्ति अगमसिंह रचित 'नौलाख तारा'-बाट उद्धृति गरिएको हो । यो कविता 'नौलाख तार उदाए' शीर्षकमा कालेबुङबाट प्रकाशित हुने 'गोर्खा' (१३/४) अगष्ट १९६१ मा प्रकाशित भएको पाइन्छ । पछि यही कविताको केही पङ्क्तिलाई अम्बर गुरुङले गाए र प्रशिद्धि पनि कमाए । प्रस्तुत गीत कालजयी गीत हो ।

यसै सन्दर्भमा भन्नुपर्दा, डा. जेम्स विश्वको नयाँ कविता सङ्ग्रह 'अघोषित युद्ध'मा परेका कविताहरू पढ़्दै र घोत्लिँदै जाँदा कवि गिरीका यिनै कविता पङ्क्तिको झल्झली सम्झना हुन्छ । साठी दशकमा गिरीले प्रस्तुत 'नोलाख तारा उदाए' उबेलाको स्थिति र परिस्थितिलाई हेरेर लेखे पनि यी कविता पङ्क्तिले आजको स्थिति, परिस्थितिको हुबहु चित्र उतारिएको पाइन्छ । यहाँ कवि जेम्स रोएका छन्, हामी रोएका छौं । कवि जेम्स सँगसँगै हामी पनि बाहिर हाँसेर भित्र भक्कुमारी रोएका छौं । गिरीका उबेलाका समयकाहरू पिञ्जराभित्र कँजिएर मनको गाँठो मनैमा राखी जीवन बिताए झैँ आज पनि हामीहरू पिञ्जराभित्र नै कँजिएका छौं भन्ने कवि जेम्सले प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् ।
कवि जेम्स सच्चा, खाँटी मात्र होइन सभ्य, भद्र र शिष्ट कवि पनि हुन् । यिनी सच्चा गोर्खा सपुत हुन् । हाम्रो यतातिर भइरहेको भेदभाव, पक्षपाती, शोषणले कवि जेम्सलाई पनि पिराल्नुसम्म पिरोलेको देखिन्छ । उनका मनभित्र कवि गिरीको मनमा उबेला परेको गाँठोले कवि गिरीलाई उकुसमुकुस पारेजस्तै कवि जेम्सलाई पनि कवि गिरीभन्दा दोबर उकुसमुकुस पारेको देखिन्छ । आफू बसेको ठाउँको असहनीय उकुसमुकुसले छटपटिएर जब कवि के गरुँ कसो गरुँ हुन्छन् त्यतिबेला उनको हृदयबाट कविताको कुलो बग्छ । कवि समाजको सबैभन् सचेत व्यक्तित्वका अधिकारी हुन्छ, यहाँ डा. जेम्स विश्वभित्र दोहोरी व्यक्तित्व देखिन्छ । ती हुन् डा. जेम्स कवि व्यक्तित्वका अधिकारी अनि दोस्रो डाक्टर व्यक्तित्वका अधिकारी । यी दुवै व्यक्तित्वको सङ्घारमा डा जेम्सको कवि व्यक्तित्व टड़कारो देखिन्छ । यसैले ता उनी आफ्ना कविताहरूमा जीवन र जगतको शाश्वत भोगाइ कवितामा छ्याङ्ङै देखिन्छ । यिनका कविता वा गीतहरू सरसरती हेर्दा यिनलाई रहरका मात्र कवि ठ्याम्मै लाग्दैन । समाजमा भइरहेको किसिम अव्यवस्था, अमिल्दा कुराहरू, असामञ्जस्य तथा तह नमिलेको स्थिलिले जब यिनलाई बिथोल्छ, जब यिनलाई पिरोल्नुसम्म पिरोल्छ तब यिनी कविता वमन गर्छन् । जुन कविताले कविता पढ़्ने पाठकलाई पनि एकक्षण न एकक्षण ता गहिरो सोंचमा डुबाएरै सोंच्छ । कवि हुर्किएका समाजभित्रको उच्छृङ्खलप्रति पनि कविको टड़्कारो विद्रोह देखिन्छ ।

भारतीय नेपाली कविताको विशाल फाँटमा कवि जेम्स उनको 'अघोषित युद्ध' काव्य लिएर आएका छन् । यस काव्य सङ्ग्रहमा कविता बाहेक पनि यिनको गीत तथा लोकगीत पनि समावेश गरिएको पाइन्छ ।

कवितामा तपाई-हाम्रो नै कथाहरू छन् । अस्तित्वको निम्ति युद्धमा होमिँदा होमिँदै गोर्खाहरू थाकिसकेको यथार्थलाई कवितामा उतार्न कवि जेम्स सफल देखिन्छ । अस्तित्विको युद्धमा दिलोज्यानले रगत, पसिना, ताकत, बल, रणनीति फुर्मास गरे पनि अन्त्यमा परिणाम हात लागे शुन्य भएपछि हाम्रा अस्तित्व योद्धाहरूको वर्तमान अवस्थालाई कवि जेम्सले यसरी शल्य चिकित्सा गरेका छन् - " " " "
अस्तित्वको लड़ाइ़़...लड़दै
थाकिसकेका गोर्खाहरू अब,
.........................
रङ्गीबिरङ्गी झण्डा सँगसँगै अलग -ढलक
हाम्रा जातिहरू...
कोही यता पटि...कोही उता
बाँड़िएका हाम्रा उर्जाहरू ।
जात...जातको बण्डा भइसक्यो
माटोको बण्डा बाँकी छ
शहिदको रगतले भिजेको माटो
अझै पनि त चिसै छ । (इतिहास फेरि दोहोरिनेछ)

पहाड़मा अस्तित्वको युद्धको निम्ति लालाबालादेखि भुराभुरी, भुराभुरीदेखि बूढ़ा-बूढ़ीसम्म होमिए । तर परिणाम शहिद हुनुबाहेक अरु केही हात लागेन । यहाँ हाम्रो एकता, हाम्रो योजना, हाम्रो रणनीति सबै टुहुरो विकलाङ्ग भएको छ । हामी असहाय छौं। र पनि हामी उन्मुक्तिको हरहरती तिर्सनामा काकाकुली छटपटिरहेका छौं । कवि यसै हुङ्कार गर्दैनन् -
छोरा गुमाएका कोखह्ररू,
सिन्दुर पुछिएका सिँउदाहरू,
टुहुरो भएका भाग्यहरू,
बसालिएको बिकासले
भोलिको उन्मुक्तिको क्रान्ति
थाम्न सक्ला र....? (इतिहास फेरि दोहोरिनेछ)
कवि जेम्स पीरले पिरोलिएका छन् । कविकै आँखाको अघि भइरहेको शोषण, अत्याचार र षड़यन्त्रले कविको छाती भत्भती पोल्छ र उनी सम्पूर्ण घटना, स्थिति कविता मार्फत् सार्वजनिक गर्न चाहन्छन् । सम्झौतामा बाँच्ने आदत बसिसकेको कुरा पनि यहाँ उगेल्छन् कवि यसरी-
अत्याचार, शोषण र षड़यन्त्रको
सीमा अब नाँघिसकेपछि,
भत-भत पोलेका छातीहरू
बिस्फोट हुन नसकेर ,
रगत छाद्न छटपटिरहेछन् I
आफ्नै देशको कोल्टे नीतिमा,
बाँच्नु पर्ने बाध्यता कस्तो ...?
पुर्खाको इतिहास धमिल्याएर
सम्झौतामा जिउने आदत
भयो हाम्रो..... I
तर ...तर ..हामीमा नेतालाई पुज्ने,
र चिहान खन्ने सम्मको
जल्दोबल्दो इतिहास त छँदैछ I

मातृभाषाप्रति कविको अगाध मोह देखिन्छ । तर अचेल मातृभाषाहरूमाथि हेल्चेक्र्याइँ भएकोले कविको तीव्र विरोध देखिन्छ । भाषा नास्ने र मास्ने जुन षड़यन्त्र बारम्बार दोहिरन्छ त्यसमा पनि कवि बिसञ्चो देखिन्छन् -

भाषा मेरो कसस् बेच्दैछ ?
शब्दहरू कहाँ लुक्दैछन्
भाषा पुस्तक पसलमा झुण्डिरहेछ
भाषा जातिभित्रै हराउँदैछ
मेरो भाषा एक्लिँदैछ
मान्यता पाएर अमान्य भएको छ I (मातृभाषा़)
हामीसित सबै भएर पनि केही छैन । आजको दिनसम्म न ता हाम्रो टेक्ने ठाउँ छ, न ता समात्ने हाँगा नै । हामी बसेको धरतीमा हामी साँच्चै बेघर भएका छौं । यहाँ कसलाई हर गोहार माग्ने कविको य़सैमा विद्रोह छ । यो धरती नै रावणको भएपछि हाम्रो वर्तमान अवस्था कस्तो होला भन्ने कुरा नलुकाइ भन्न कवि जेम्सले कुनै कञ्जुस्याइँ गरेको देखिन्न । उनी हाकाहाकी भन्छन् -
आफू जन्मेको धर्तीमा, बेघर हुनु पर्दा
जन्म दिने आमाको गला घोट्नु पर्दा
राम नै रावण भए पछि
कसलाई पुकार्ने अब ?
यो युग नै रावणको हो
यो धर्ती नै रावणको हो I (रावणको युग)

गोर्खाहरूले विश्वयुद्धमा हुँड़ीबिड़ी मच्चाएको कुरा संसारैलाई थाहा छ । गोर्खा सिपाहीहरूले जापान फाँड़ेको, बर्मा बिल्लीबाठ पारेको कथा ढाँट होइन ठ्याम्मै । युद्धभूमिमा गोर्खा सिपाहीहरूले भोगेका युद्ध व्यथाको घटनालाई कवितामा अनुप्रासयुक्त भाखामा कवि जेम्सले उतारेको पाइन्छ । झ्याउरेको छन्दमा लेखिएको यस कवितामा कविले विश्वयुद्धमा गोर्खाहरूको त्याग बलिदान समर्पणको बयान गर्दागर्दै अन्त्यमा उनी पिरोलिएको कुरा पनि यहाँ नढाँटी राखेका छन् -
गोर्खाली युवा घर छाडी जान्छन , कहलाउन पल्टने
पुर्खाको इतिहास जिउदै राख्न , बीरतामै भर पर्ने I


मान्छेको लाश लस्कर लाग्यो बनको छातीमा
स्याल र गिद्ध हाँसेको थियो , फुर्सद नपाउँदमा I

बर्षौ र महिना बितेर गयो ,बर्माको जंगलमा
कन्दमुलहरु परम खाध्य , त्यो महा युद्धमा

घाइते सिपाही तडपिन्थ्यो जब पीडाको ब्यथाले
शत्रु आई हेर्दथ्यो तब घोच्द्थ्यो संगीनले I


रुँदछिन आमा एक्लो भई, छोराको वियोगमा
बुझाउँछिन् हृदय आफैले सँधै, शहीद भएमा I

कसैले पायो छात्तीमा तक्मा ,कसैले पायो मान
कसैले त्याग्यो आफ्नो अंग कसैले दिए ज्यान I

कति पो लेखु यो लामो कथा कलम नै थाक्दछ
सम्पूर्ण इतिहास सम्झेर ल्याउँदा, मुटुनै पोल्दछ I

हाम्रो यतातिर देखिने नेताहरूप्रति कविको व्यङ्ग्य टड़कारो देखिन्छ । प्रथम दृष्टिविन्दु शैलीमा लेखिएको यस कवितामा कविले नेताको ढुटो काढ़ेका छन् -
म हूँ आजको नेता, थुपारेकोछु राजनीतिबाट ‘जेथा’
बुद्धिजीवी र जिद्धीजीवीहरुलाई त् पछारे –पछारे
जनताको ‘मारो गोली’ मेरै परिवारलाई नै सपारे I
..................................................................
विकाश पचाउँने बानी मेरो छुड्दैन I
आशालाग्दो भाषणदिने मेरोमा कला छ
के गर्नु आँखामा रुपियाँको चस्मा लागेको छ i
धन्य यहाँको जनता भेडा बाख्रा झै छन् (आजका नेता)
.........................................

प्रदूषणको रक्षा गरिनुपर्छ भन्ने पनि कविका आह्वान देखिन्छ । रुख रोपेर गाउँ-घर, शहर-बजार स्वच्छ वातावरण बनाउनमा कवि सजग देखिन्छन् -

उजाड पाखाहरुमा
बृक्ष रोपेर रक्षा गरेर I
भावी सन्तान लाई लामो आयु दिलाउन
स्वच्छ परिवेश बनाउँन
मेरो जन्म भूमिलाई सजाउन
मैले गरेको भूल नदोहोराउँन
नयाँ “बिराप्पन” नजन्माउन
मैले बृक्ष रोप्नै पर्छ उजाड पाखाहरुमा
बृक्ष रोपेर रक्षा गरेर I
भावी सन्तान लाई लामो आयु दिलाउन
स्वच्छ परिवेश बनाउँन
मेरो जन्म भूमिलाई सजाउन
मैले गरेको भूल नदोहोराउँन
नयाँ “बिराप्पन” नजन्माउन
मैले बृक्ष रोप्नै पर्छ ( मैले वृक्ष रोप्नै पर्छ)

कवि साँच्चै टुहुरा छन् । तर कवि मात्रै होइन हामी सबै टुहुरा छौं...कारण कवि आमाविहीन भएजस्तै हामी पनि आमाविहीन छौं । जन्मदिने आमाभन्दा पनि कविलाई ता हाँगा समात्ने र टेक्ने ठाउँ दिने आमा चाहिएको छ । तर सबैकी आमा निखोज छन् । सबै आमा खोज्नमा लागिपरेका छन् । तर पनि आमा आजसम्म कतै भेटिएको छैन । आमा खोज्ने हुँदा कविले भोगेका पीर कष्टहरू यहाँ उतारिएको छ । तर यो पीर कष्ट कवि मात्र होइन आमाको खोजमा धुइँपत्ताल गर्ने हरदर टुहुरा सन्तानको आर्तनाद हो -
तिमीलाई खोजिरहेछौं, आमा !
खोजिरहेछौं – खोजिरहेछौं I
टुंगो लाउनै सकेनौ... तिम्रो
तिम्रो खोजाइमा अनगन्ती मारिए,सड़िए कति चै टाड़िएI
कति गाँस न बाँस भए
बनबास र अनगन्ती रुवाबास भएI
आमा... हामी त टुहुरा झै भयौ
अपरिचित र चिन्हारीबिना
संबिधान र राजनीतिको
एक कुपोषित पात्र जस्तो !
पुर्खौदेखि-आजसम्म रगतले किनेको
यो माटोलाई आफ्नो भन्न नपाउनु
देशको सीमानामा हरेक पल्ट शहीद हुँदा पनि
हरेक क्षेत्रमा देशको मान राख्दा पनि
शंकालु र बिदेशीको लाञ्छाना लाग्नु (आमा हराएकी छिन्)
कविको रोमाण्टिक भावना पनि लरतरो देखिन्न -
आफ्नो प्रियेसीको उपहास सहेर
आलो चोटमा संगीन रोपेर
र पनि म बाँचिरहेछु...बाँच्ने छु
तिम्रो खुशी हेर्न, तिमीलाई आशिष बोल्न I (वियोग)

कोरोनाकालमा कविले भोग्ने परेका कठिनाइँहरूलाई कवितामा सविस्तार उतारी संसारभरिकै कोरोना पीड़ितहरूको अवस्थाको नालीबेली लाएका छन् -
पल्लो कोठामा मेरी आमा
स्वास फेर्न सकसमा परेकी छिन
उधारो अक्सीजन लिएर
फारोमा जीवन जिउँदै छिन
रात लम्बीन्दैछ, जीवन छोटिन्दैछ
अक्सिजनको लेबल घट्दै छ
अठार..... सत्र.... पन्द्रह.....I
परिवार हतास र ब्यस्त छन
श्रीमती, छोरा –छोरी, नाता- नातिनीहरु
तितो ‘काडा’ पिएर
मृत्युलाई झुक्याउँने प्रयास गर्दैछन I
यो कस्तो विवशता,कस्तो बिडम्बना
छोरोले आमाको सेवा गर्न नहुने
आमाले सन्तानलाई सुम्सुम्याउनु नपाउने
सबै अलग –अलग, सबै पर–पर I
‘बाँच अनि बाँच्न देउ’
बिरुद्ध बोल्ने ओंठहरु
अजम्बरी जीवन चाँहने मान्छे
विरुद्ध म एउटा युद्ध लड्दैछु I (म एउटा युद्ध लड्दैछु)
नौ टुक्रा गुच्छमा मुक्ताकाकारको रुपमा नौवटा कविताहरू समाविष्ट गरेको पाइन्छ । ती नौ टुक्रै गुच्छमा कविले जीवनका विभिन्न पाटालाई ओँल्याउऩे काम गरेको देखिन्छ ।


७--हाँसो र रोदन
गुलाब र काडाँझै
घाम र छाँयाझै
तृष्णा र पानीझै
हाँसो पछि रोदन लुकेको छ I

मेरा गीत गुञ्ज अन्तर्गत कवि जेम्स विश्वले यस 'अघोषित युद्ध'मा ५ आधुनिक गीत, २ लोकगीत गरी मोठ ७ गीत प्रस्तुत गरेर आफूलाई एकजना सफल गीतकारका रुपमा प्रस्तुत गरेको देखिन्छ । अत्यन्तै प्राचीन र भक्कु लोकप्रिय विधा भन्नु नै गीत हो । अन्य विधाहरूको महत्त्व परिस्थितिनुसार बढ़्दै घट्दै जानुसक्ने सम्भावना देखिए पनि गीतको महत्व चाहिँ अजम्बरी हुन्छ...बरु यो गीत लोकप्रिय हुँदै दर पीढ़ी दरसम्म आइपुग्छ । यिनका गीतहरूमा प्रणयोदगार, पणय व्यथा, प्रणय उत्साह तथा रोमाण्टिक भावहरू प्रशस्त पाइन्छ भने लोकगीतमा म पनि गाउँघरको प्रणय कथा नै पाइन्छ ।

उपसंहार - कवि जेम्स साँच्चै जाति, भाषा, संस्कृति प्रति मरिमेट्ने होनहार कवि हुन् । यस काव्यमा समाविष्ट कविताहरू आफ्नो समाज र समाजमा बसोबास गर्ने जनता-जनार्दनका मुक्तिका खातिर आफूलाई बलिवेदीमा होम्न तम्सिनुपर्ने आग्रह प्रतीकात्मक रुपमा व्यक्त गरेको पाइऩ्छ । कविताहरूमा अन्याय, अत्याचार, शोषण, हेपाइ, पक्षपातीत्वको सामु घूँड़ा टेक्ने होइन पौंठाजोरी खेल्न सक्नुपर्दछ भन्ने सन्देश पनि बिम्बात्मक रुपमा अभिव्यक्ति दिएको पाइन्छ । यहाँ समाविष्ट गरिएका कविताहरूमा हामीमाथि भएको राजनैतिक अत्याचारको विरोधमा यहाँका पीड़ित, शोषित, अवहेलित सिङ्गो जनता चेतनशील भई क्रान्ति गर्नुपर्ने सङ्केतात्मक रुपमा आग्रह गरेको पाइऩ्छ । यसैले ता प्रस्तुत काव्य सङ्ग्रहको शीर्षक 'अघोषित युद्ध' राखिएको देखिन्छ । यस दृष्टिकोणबाट हेर्दा, प्रस्तुत काव्यको शीर्षक सार्थक देखिन्छ। सङ्ग्रहमा परेका कविताहरू शिल्पसचेत अभिव्यक्तिमा समेटिएको पाइऩ्छ । कविताहरू प्रेरणामूलक कलाकौशलको ज्वलन्त नमूना बन्न पुगेको छ । प्रत्येक कविताका शीर्षकहरूले सामान्यतया सिङ्गो कविता भावात्मक प्रतिनिधित्व गरेका पाइन्छ । जीवन र जगतको शाश्वत भोगाइ कवितामा मिठाइलो पाराले अभिव्यक्ति भएको छ ।
सुन्दर तथा बान्किलो आवरण भएको यस 'अघोषित युद्ध' का कुनै कुनै कविताहरू अभिधात्मक रुपमा व्यङ्ग्यार्थ प्रकट गर्नु कवि जेम्स विश्वको खूबी मान्नुपर्दछ। अभिव्यक्ति अभिधात्मक रहेर पनि लक्ष्यार्थमा कठोर व्यङ्ग्यहरू छन् यहाँ ।
सबभन्दा ठुङमार्दो कुरा ता के छ भने, यस सङ्ग्रका कविताहरू सरल भाषामा लेखिएको पाइऩ्छ । हिजोआज कविहरूले आफ्ना कवितालाई स्तरीय बनाउने निहुँमा तद्भव शब्द, आगन्तुक शब्दको निहुँमा अङ्ग्रेजी शब्दहरू कविताको माझ-माझमा राखी गतिलै कविता लेखेजस्तो गर्छन् । तर पाठकले शब्दको अर्थ नै खुट्याउन सकेनन् भने सुन्दै नसुनेका शब्दहरू भएका कविताहरू कसरी बुझ्लान् ? तर यस्को ठीक विपरीत डा. जेम्स विश्वले आफ्ना कविताहरूमा क्लिष्ट, तद्भव शब्द प्रयोग गरेको ठ्याम्मै पाइँदैन । यसैकारण पनि साधारणभन्दा साधारण पाठकलाई यिनका कविताहरू बुझ्न गाह्रो पर्नेछैन भन्ने मेरो दावी छ ।

कवि डा. जेम्स विश्वकन भक्कुमारी बधाई अनि शुभकामना ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।