15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुरुङ खन्दैछन् मुसाहरू

कविता डा.कृष्णराज अधिकारी June 11, 2022, 3:46 am
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

मुसाहरू सुरुङ खनिरहेछन्
सीधा दृष्टि नपर्ने
घरका कुना–काप्चामा प्रभुत्व जमाउँदै
माटो खनेर भित्रभित्रै
आफ्नो बारीको डिल छिचलेर
तल्लो गरासम्म पु¥याइरहेछन्
मुसाहरु सुरुङ खनिरहेछन्
पत्तो छैन घरका धेरै मानिसहरुलाई
कसरी, कहाँ र कस्ले खनिरहेछ सुरुङ ?
किन भत्काउन खोजिँदैछ आफैं बसेको घर ?
रातभर घरको गारो
अनि अँध्यारा दुलाहरुमा पसी
मानिसका गतिविधिहरुको निगरानी गर्छन्
अनि, एकाबिहानै
मिर्मिरे हुन नपाउँदै
सुरुङभित्र छिरी
घरको सीमा कट्छन्
अनि तल्लो घरमा पुगी
त्यहाँको ढाडे बिरालोलाई सुनाउँछन्
सबिस्तार, घरका सबै सबै गतिविधिहरु
अनि आज्ञा पाई ढाडे बिरालाको
फर्किन्छन् अनि बम्किन्छन्
घरका अन्य मुसाहरुसँग
घर भत्काउन उद्यत यी खनुवा मुसाहरु
कुनै बेला घरकै ढाडे बिरालोबाट त्रसित यिनीहरु
बिरालोभक्त बन्ने सर्तमा
बिरालाहरुलाई मुसाका गुँडहरु देखाइदिने अर्थमा
बिरालाहरुका बिरुद्ध संगठित नहुने कबोल गर्दै
बन्न पुगेका थिए ढाडेसेवक अनि बिरालोभक्त
रुप र रङ्ग मुसाको भएपनि
नाम र स्वर मुसाकै रहेपनि
बिरालाकै लोलीको बोली
अनि बिरालाकै ध्यान र धन्दा गर्दै
मुसाहरुकै मालिक बनिरहेछन्
मुसाहरु घरभित्रै सुरुङ खनिरहेछन्
घरको ढाडे बाहिरिएपछि
भित्रभित्रै अत्तालिएका यिनीहरु
भरपर्दो संरक्षण खोज्दै
तल्लो घरको ढाडेको सेवक बनिरहेछन्
तिनकै आज्ञाले सुरुङ खनी
घरभित्रै विषालु कीरा र साँपहरुको
निर्वाध प्रवेश गराइरहेछन्
मुसाहरु घरभित्रै सुरुङ खनिरहेछन्
बुझेका छैनन् कतिले
खनुवा मुसाका यी चर्तिकलालाई
बुझेर पनि बुझ पचाइरहेछन् कतिले
तिनका षड्यन्त्र र घातहरुलाई
अनि, बुझेर पनि निरीह बनेका छन् कतिपय
आफ्नो समेत स्वार्थ जेलिएको त्यस जालप्रति
उफ् † कस्तो उदेक
अझै नेतृत्व गर्दै मुसाहरुको
बिरालो समाई घण्टी झुण्ड्याउने भ्रम दिइरहेछन्
बिरालोकै स्वर र संगीत झिकेर
ङ्यार्र –ङुर्र गरिरहेछन्
घरको रक्षक बन्दै
सारा घरभरि दुलै दुला पारिरहेछन्
मुसाहरु सुरुङ खनिरहेछन्
देखेकै थिए धेरैले
विभिन्न वर्णका मुसाहरुलाई
तर विडम्बना !
कुनै बेला बिरालाको विरोध गरेका अनि
उसकै पञ्जामा परी फुत्केका
मुसाहरु समेत सुरुङ खन्न उद्यत छन्
ढाडेको भक्त बन्दै सेवारत छन्
सावधान ! घरका परिवारजनहरु !
मुसाहरु सुरुङ खन्दैछन्
घरभित्र विषालु जीव पसाउँदैछन्
मुसाहरु घर भत्काउँदैछन् !
यसैले आऊ !
घरभित्र साँप र अन्य विषालु जीव–जन्तुहरु पस्न नदिन
सचेत बनौं
यी खनुवा मुसाहरुको निगरानी गरौं
यिनले खनेका सबै दुला र सुरुङहरुको पहिचान गरी तिनलाई बन्द गरिदिऊँ
ढुङ्गाले बनेको र रातो माटोले लिपिएको
यस सुन्दर घरलाई भत्किनबाट जोगाउन
भुइँं, गारो– सबैतिर
सिमेन्ट लगाएर प्लास्टर गरिदिऊँ !
त्यतिखेर,
ती खनुवा मुसाहरु
या त आफैं मर्नेछन् छट्पटाउँदै
या त भाग्दै जानेछन् शरण माग्दै
तल्लो घरको ढाडेसँग हड्बडाउँदै
यसैले आऊ, आजैबाट निगरानी गरौं
मुसाहरु घरभित्र सुरुङ खनिरहेछन्

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।