15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गालीको अर्थ, परिभाषा अनि सम्भावना

कविता सतीश छेत्री June 11, 2022, 2:18 pm
सतीश छेत्री
सतीश छेत्री

जब हात चल्दैन
बात चल्दैन
साथ चल्दैन
तब गाली चल्छ
गिजिगगिजिग चल्छ
कीराजस्तो चल्छ
तर चल्छ
काम चल्छ

जब शंकालुले
आत्मा हार्छ
मूल्य हार्छ
तब हात
केही श्रेयस्कर टिप्नतिर नलागेर
गाली टिप्नतिर
नालीमा झर्छ


जितेको मान्छेले
कहाँ गाली दिन्छ ?
शब्द ब्रम्ह हो भन्ने बुझेपछि
त्यसमा कसरी
मनोयोगले ढलको लेदो भर्न सक्छ।
00

कसैले कसैलाई
गधा भन्छ भने सम्झनू
ऊ कामलाई चोर्ने हो
कसैले कसैलाई
गोरू भन्छ भने
सम्झनू ऊ
हलो पनि नभएको
खेत पनि नभएको
विचारसित कठयाङ्ग्रिएको
सुकुमबासी हो।
कसैले कसैलाई
कुकुर भन्छ भने
सम्झनू ऊ एक नम्बरको
कृतघ्न र नरकमार्गी हो।
कसैले कसैलाई
बाघ भन्छ भने
प्रकृतिले कुची भरेर
कोरेको छैन
उसको पिठ्यूँमा
कलात्मक रेखा रङहरू।
यसैले ऊ
अन्तशःमा पीड़ित छ
भन्दैछ -
रङ्गविहिन भएँ, कसो गरूँ ?
कसैले कसैलाई
साँप, बिच्छी भन्छ भने
छैन ऊसित
आत्मरक्षाका उपायहरू,
अनि मर्न सक्छ
सानो चोटले पनि
नाकमा लागेर ठहरै बरू !
कसैले कसैलाई
खजूरा भन्छ भने
सम्झनू
ऊसित छैन
मार्गमा हिँड़नलाई
दुईवटा खुट्टा
यसैले ऊ भइरहेछ
मर्नु मर्नु ।
कसैले कसैलाई गङ्गटा भन्छ भने
सम्झनू
उ बनिरहन चाहन्छ
सँधैको देवता
उभेर चोकमा।


अनि सम्झनू
एउटा ढुङ्गा मात्र बाँचेर
उसले देखिरहेछ
आफूलाई विशिष्ट

माटोलाई तुच्छ ।


यो पनि सम्झनू कि
जसलाई जे पनि भनेर
गाली ठान्छ उसले
त्यो आफैंभित्र देख्यो अकुत।
किनकि
डराएकै मान्छेले देख्छ
रूखलाई पनि भुत।
उसले मान्छेमा देख्ने सुङ्गुर
उसकै मनभित्र
नाचिरहेको छ -
बाँधेर घुङ्गुर ।

**

महाशय
कहिले गाली शब्द
कहिले गाली आशय
कहिले बन्छ परम्परा
भन्न सकिँदैन।

पुरूषलाई
‘ए आइमे’ भनेर
रूढ़ी गाली दिएको भनी
भान पार्न सकिन्छ
तर
एउटी स्त्रीलाई
‘ऐ पुरूष’ भनेर
गाली दिएको -
कसले भन्न सक्छ ?

एउटी स्त्रीले पनि
‘ऐ आइमे’ भनेर गाली दिए पछि
‘तिमीले आफैंलाई गाली दियौ’
उसलाई कसले भनिदिन्छ ?


नारी-पुरूष’ समान भन्ने
सब वाहियात् कुरा रहेछ
नारी त हेय नै रहेछ
निकृष्ट नै रहेछ
गाली शब्द नै रहेछ
अनि त्यो नजर
वेदगेड़ाको दाना झैं
अन्तशःमा रहेछ।

00

मान्छे
कसरी सुङ्गुर
गोरू
गाइ
भैँसी अलगअलग हुनसक्छ
उ त
प्रकृतिले बनाउँदा-बनाउँदा
बनाएको
अनूपम रूप हो
अझै उता सम्भावना भएको
मौलिक स्वरूप हो
पाँचवटा स्वर्गका द्वार लिएर
हात हाँगा जराको सम्भावना बोकेर
दुःख र सुस्केरालाई
बादल झैं हेर्न सक्ने चेतना लिएर
तर बिर्सिएर
बसेको
ऊ त दिव्य कृति हो
धुलो लागेको
भव्य संरचना र कृति हो ।

**

हे प्रिय!
तिमीलाई गाली दिनेहरूले
तिम्रो चेतनाको बारीमा
आफूले प्रयोग गरेको मैला फ्याँक्छन्
तिम्रा उत्साह र चेतनाको
फूलहरूमा
नैराश्यको तातो पानी खनाउँछन्
अनि भन्छन्
’उम्रिएन तेरो फूल
अब गाली बक्!’

तर तिमीले उविरूद्ध
गाली नबोल्नू है
आफ्नो शब्दलाई मैला नपार्नू !
तिम्रा शब्दहरू भनेको
पहिलो सोपान हो
जसबाट हुँदै गएपछि
पुग्ने छौ अग्लो डाँड़ामा
अनि त्यो डाँड़ा हुनेछ
तिमी स्वयम् !

गालीका व्यापारी
बाँधेर पट्टी
तिम्रो आँखा नखोलियोस् भन्छन्
खेलैखेलमा दही-निम्बु छर्केर
घाममा सुकाउँछन्
पपड़ीचार्ट बनाउँछन्

होसियार !

तिमीले गालीलाई
बनाउँदै जानू सिँढ़ी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।