–कागज बनाएर विदेश आएँ ।
– कागजी बिहे गरेर बस्ने चाँजोपाँजो मिलाएँ ।
–कागजकी स्वास्नी र म सँगै बस्छौं भन्ने कुरा कागजमा मात्र सिमित थियो ।
–कागजकी स्वास्नीको ब्याइफ्रेन्ड भएको कुरा मलाई पहिले नै थाहा थियो ।
–कागजकी स्वास्नी गर्भवती भएको कुरा अलिकपछि थाहा पाएँ ।
–कागजकी स्वास्नीले छोरो पाई । कागजकी स्वास्नीको छोरो मेरो पनि कागजी छोरो भयो ।
– कागजकी स्वास्नीले छोरो पाएर उ खुसी भएपछि म पनि खुसी हुन बाध्य भएँ ।
–कागजी छोरोलाई पैसा पेलेर हुर्काएँ, पढाएँ ।
– कागजकी स्वास्नीले अचानक एकदिन मसँग निहुँ खोजी । अनि बिहे गरेको कागज च्याती ।
–कागजको पछि कुद्दा कुद्दै अचानक कागज भन्दा पनि च्याङ्लो भएर च्यातियो जिन्दगी । स्वदेश फर्किएर घरमा स्वास्नी र छोराछोरीलाई कसरी मुख देखाउनु ?
मृतकको कोठामा भेटिएको एउटा कागजमा उपरोक्त बेहोरा लेखिएको थियो ।
बेलायत