15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डा. पारसमणि प्रधानको जीवन यात्राका केही प्रेरक प्रसङ्गहरू

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व June 11, 2022, 2:28 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्यको जग बसाउने प्रारम्भकालीन निर्माताका रुपमा सुपरिचित एक अग्रज लब्धप्रतिष्ठ व्यक्तित्व स्वनामधन्य पारसमणि प्रधानको जन्म जयन्ति प्रत्येक वर्षको पहिलो जनवरीको दिन पर्दछ। उहाँले आफ्नो जीवनमा स्वजाति, भाषा र साहित्यको निम्ति गर्नु भएको सेवा एवं सत्कर्महरूको स्मरण गर्दै हामी भारतीय नेपाली भाषी गोर्खा जातिले उहाँप्रति श्रद्धा सुमन अर्पण गरी कृतज्ञता प्रकट गर्नु पर्ने दिन हो यो। आजभन्दा लगभग 124 वर्षअघि सबैले नववर्ष आगमनको खुशीयाली मनाइरहेको बेला कालेवुङ निवासी पिता भाग्यमणि प्रधान अनि माता लक्ष्मीमाया प्रधानको एक साधारण परिवारमा 1 जनवरी 1898 को दिन उहाँको जन्म भएको थियो। त्यो बेला कालेबुङ शहरमा अहिले जहाँ डम्बरसिंह गुरुङको सालिग़ स्थापना गरिएको छ त्यहाँ भाग्यमणि प्रधानको घर सहित दाल चामलको एउटा पसल थियो भन्ने जानकारी पाइन्छ। सन् 1901 मा इंग्ल्याण्डकी महारानी भिक्टोरियाको मृत्यु भए पश्चात् कालेबुङका डाक्टर ग्राह्म, चार्ल्स बेल र रामचन्द्र मिन्त्रीले उनको घर अन्यत्र सार्न लगाएर त्यहाँ महारानी भिक्टोरियाको सालिग़ निर्माण गर्ने निश्चय गरेको हुनाले उनले त्यसको विरोध गरेता पनि वाध्यतावश त्यस स्थानलाई छोडेर शहरदेखि केही टाढा सिन्देबुङ बस्ती बसाई सर्नु परेछ। फलस्वरूप त्यहाँ खेतीपाती र पशुपालन आदिमा संलग्न रहेर जीवन गुजारा गर्ने एउटा साधारण मध्यम वर्गीय परिवारको रुपमा समय बितिरहेको परिस्थितिमा पाँच वर्षको बाल्य अवस्थादेखि कालेबुङ महकुमाको पुदुङ बस्तीको प्राथमिक पाठशालाबाट आफ्नो प्रारम्भिक शिक्षाको शुरुआत गरेर कालेवुङकै 11 माइलको स्कुल अनि पछि मिशनको प्राइमेरी स्कुल र केही अवधिका निम्ति आफ्नै मामा हर्कध्वज प्रधानले खोलेको रात्री पाठशालाबाट शिक्षा ग्रहण गरेपश्चात् सन् 1913 मा उहाँ दार्जीलिङको सरकारी हाईस्कुलमा सातौं श्रेणीमा भर्ना हुनु भएको थियो। वास्तवमा उनका कान्छा मामा बीरधोज प्रधानका जेठा छोरा सुर्यनारायण प्रधान दार्जीलिङ सरकारी विद्यालयमा भर्ना भएका थिए र उनको देखभालका निम्ति 16 वर्षको उमेर टेकिसकेका पारसमणिलाई साथमा पठाइएको थियो। त्यही अवसरमा उहाँको पनि त्यही विद्यालयमा भर्ना हुने परिस्थिति बन्यो। यस प्रकारले सन् 1917 मा उहाँ म्याट्रीक उतिर्ण हुनु भयो। त्यसको दश वर्षपछि मात्र सन् 1927 मा उहाँले कलकत्ता विश्वविध्यालयबाट प्राइभेट तौरले आइ.ए. प्रथम श्रेणीमा पास गर्नु भएको थियो अनि अझै आठ वर्षपछि सन् 1935 मा बी.ए. परिक्षा पनि दिनु भयो साथै बङ्गलाको हायर ग्रेड परिक्षा उतिर्ण हुनुभयो।
सन् 1917 देखि नै उहाँ आफ्नो जीवनको कर्मक्षेत्रतर्फ लाग्नुभएको थियो। प्रथमत: खरसाङको डाउहिल स्थित डेभिस प्राथमिक पाठशालाको शिक्षक बन्नु भयो। त्यसबेला प्राथमिक पाठशालाका शिक्षकको मासिक वेतन साढ़े सात रुपियाँ मात्र थियो। सम्भवत: तुलनात्मक हिसाबले हेर्दा त्यति थोरै तनखामा अल्झिएर बस्ने उहाँको इच्छा थिएन। केही परिचित शुभचिन्तकहरूको परामर्शमा स्कुलका संरक्षकको अनुमति लिएर शिक्षण पेशाको अतिरिक्त उहाँ खरसाङको ‘हरि प्रिन्टिङ प्रेस’ मा काम सिक्न थाल्नु भयो। सात जना व्यक्तिहरूका साझेदारी लगानीमा अप्रील 1917 मा हरि प्रिन्टिङ प्रेसको स्थापना भएको थियो। यसका प्रमुख निर्देशक हरिसिंह थापाबाट प्रेस चलाउने ज्ञान र शीप हासिल गरेपश्चात् सेप्टेम्बर 1917 देखि उहाँ प्रेसका व्यवस्थापकका रुपमा नियुक्त हुनु भयो। त्यहि प्रेसबाट गोर्खा पुस्तकालयको संरक्षणमा उहाँले नेपाली मासिक पत्रिका ‘चन्द्रिका’ 1 जनवरी 1918 देखि आफ्नै सम्पादनमा प्रकाशित गर्न थाल्नु भयो। ‘चन्द्रिका’ अगस्त 1919 सम्म जम्मा 20 अङ्कसम्म प्रकाशित भएर कतिपय असुविधाको कारणले बन्द गर्नु पर्यो। उहाँ खरसाङमा लगभग 2 वर्ष रहनु भएको थियो। त्यस अवधिमा खरसाङको गोर्खा लाइब्रेरीको स्थापना गर्ने कार्यमा उहाँको ठुलो भूमिका रहेको थियो। उहाँले त्यहाँ गोर्खा एमेच्युर क्लबको स्थापना गरेर आफुले लेखेका नाटकीय प्रहसन “सुन्दर कुमार” सहित पौराणिक कथाहरूमा आधारित अन्य नाटकहरू “हरिश्चन्द्र”, “सावित्री-सत्यवान” -को पनि मञ्चन गराउनु भएको थियो । लगभग डेढ वर्ष प्रेसको कामको सम्पूर्ण भार आफ्नो काँधमाथि लिएर पत्रिका प्रकाशन, सम्पादन, मुद्रण, बिक्री व्यवस्थापन आदिमात्र होइन कम्पोजिटर, प्रूफरिडर, बाइन्डर र प्याकरसम्मका कार्यहरुको अनुभव उहाँले प्राप्त गर्नु भयो। त्यसले उहाँलाई पछि आफ्नै प्रेस खोलेर त्यस दिशातर्फ कार्य गर्न ठुलो सहायता मिल्यो।
यस भन्दा अघि सन् 1915 मा दार्जीलिङको सरकारी विध्यालयमा नवौं श्रेणीको विध्यार्थी छँदा नै उहाँले बङ्किमचन्द्र चट्टोपाध्यायको बङ्गला उपन्यास ‘युगलाङ्गुरीय’-लाई नेपालीमा ‘हिरण्यमयी चरित्र’ नाम दिएर अनुवाद गर्नु भएको थियो । उहाँले पछि बङ्किमचन्द्रको अर्को उपन्यास ‘राधारानी’-को पनि नेपाली अनुवाद गर्नु भयो । विध्यार्थी जीवनदेखि नै उहाँको मनमा नेपाली भाषा एवं साहित्यको सेवा गर्ने भावना जागिसकेको थियो। तिनताक दार्जीलिङमा नेपाली विद्यार्थीहरूले अंग्रेजी भाषा बाहेक भर्नाकुलर विषयका निम्ति हिन्दी, बङ्गला, उर्दु अथवा तिब्बती भाषा पढ्नु पर्थ्यो नेपाली भाषालाई शिक्षा विभागले मान्यता दिएको थिएन। विद्यालयमा ‘हिन्दी साहित्य समाज’ नामको एउटा सानो संस्था र पुस्तकालयको स्थापना पनि गरिएको थियो । त्यस संस्थाका सचिव उहाँलाई नै बनाइएको थियो। संस्थाका सचिवका हैसियतले एकदिन उहाँले त्यस पुस्तकालयमा केही नेपाली पुस्तकहरू पनि राख्न पाए नेपाली भाषी विध्यार्थीहरुले आफ्नो मातृभाषामा पनि केही पढ्ने मौका पाउने थिए भनी केही नेपाली पुस्तकहरू किन्ने सल्लाह दिनुभयो। तर संस्थाको कार्यकारिणी सभाले उहाँको सल्लाह स्वीकार गरेन। तत्पश्चात् उहाँले तुरन्तै ‘हिन्दी साहित्य समाज’ संस्थाबाट राजीनामा दिनुभयो अनि ‘नेपाली साहित्य समाज’ नामको संस्था स्थापित गरी उपलब्ध हुनसकेका नेपाली पुस्तकहरू सङ्ग्रह गरेर त्यस पुस्तकालयमा राखिदिनु भयो।
त्यही वर्ष कलकत्ता विश्वविध्यालयका उपकुलपति दार्जीलिङको सरकारी हाई स्कुल परिदर्शन गर्न आए। पारसमणि प्रधान नवौं श्रेणी पढ्दै गरेका जल्दा-बल्दा युवा अवस्थामा हुनु हुन्थ्यो। उहाँले उपकुलपतिलाई भेटेर नेपाली भाषालाई पनि हिन्दी, बङ्गला, उर्दु र तिब्बती भाषासरह कलकत्ता विश्वविद्यालयले मान्यता दिनुपर्छ भनी एउटा विन्ती पत्र चढाउनु भयो। उपकुलपतिसित एकजना बङ्गाली सज्जन पनि आएका थिए। तिनले प्रसङ्गवश एउटा नकरात्मक टिप्पणी गरेछन् कि नेपाली भाषा त यहाँका कुल्ली कबाडीहरुले बोल्ने बोली (dialect) हो, यो अहिले भाषा भएकै छैन। यस्तो कुरा सुनेर त्यहाँ भएका सम्पूर्ण नेपाली विध्यार्थीहरू रिसले आगो भए तर त्यहाँ तर्क गर्न उचित सम्झेनन् । त्यही दिन होस्टेलको परिदर्शन गरेर फर्किँदै गर्दा मौका हेरी तिनलाई त्यहाँ सिँढीमा पछाडिबाट कसैले घचाड़ी दिएछन् र उनी नराम्रोसित लडेछन्। निकै झमेला भएछ। युवा पारसमणि सहित धेरै जनालाई पक्रेर थाना लगियो अनि आइडेन्टिफिकेसन परेड भयो। तर ती सज्जनले घचेड़ने व्यक्तिलाई चिन्न सकेनछन्। यसर्थ पक्रा परेका सबै छुटे। त्यस घटनाले दार्जीलिङका बहुसङ्ख्यक नेपाली भाषी विध्यार्थीहरूको आकाङ्क्षा अनि मातृभाषाको आवश्यकता र महत्व ती अधिकारीहरूलाई बुझाउन ठुलो सघाउ पुर्यायो। फलस्वरूप पछि कलकत्ता विश्वविद्यालयले 24 जुलाई सन् 1918 मा नेपाली भर्नाकुलर (प्रथम भाषा)-को रुपमा म्यट्रिक, आइ.ए. र बी.ए. सम्म पढाउन सकिने स्वीकृति दियो।
तत्कालीन कालेवुङका एस.यु.एम.आई.–का हेडमास्टर डा. सदरल्याण्डले पारसमणि प्रधानलाई म्याट्रीकमा नेपाली र संस्कृत विषय पढाउनको निम्ति खरसाङदेखि कालेबुङ बोलाए अनि 16 फरवरी 1919 मा नियुक्ति पत्र दिएपछि उहाँ एस.यु.एम.आई.–का अध्यापक बन्नु भयो। एस.यु.एम.आई.-मा रहँदा ए. टर्नबुलले अंग्रेजीमा लेखेको व्याकरण विद्यार्थीहरुलाई पढाउने क्रममा त्यस पुस्तकमा भएका धेरै गलतिहरू सच्याउनु पर्ने आवश्यकता उनलाई महसुस भयो अनि डा. सदरल्याण्डसित परामर्श लिएर उहाँले सन् 1920 मा ‘नेपाली व्याकरण’ पुस्तक तयार पारी प्रकशित गर्नु भयो। 16 नोभेम्बर 1920 मा प्राथमिक पाठशालाका विद्यार्थीहरूका लागि पाठ्यपुस्तक तयार गर्नु पर्ने अधिसूचना बङ्गाल सरकारको शिक्षा विभागबाट जारी भएको थियो। उहाँले नै त्यस दिशामा कदम चाल्ने अभिभारा लिनु भयो। यसरी सन् 1921 मा उहाँको ‘नेपाली पहिलो किताप’ अनि सन् 1923 मा ‘नेपाली साउँ अक्षर’ प्रकाशमा आयो। सन् 1921 मा उहाँलाई बङ्गालको शिक्षा विभागले दार्जीलिङ पहाडखण्डका प्राथमिक पाठशालाहरूको सव-इन्स्पेक्टर नियुक्त गर्यो र उहाँ दार्जीलिङ जानुभयो।
त्यसबेला दार्जीलिङ जिल्लामा एक जना जिल्ला शिक्षा निरिक्षकको अधीनमा दुई जना उप-निरक्षकहरू थिए। पारसमणि प्रधानको क्षेत्र सम्पूर्ण पहाड खण्ड परेको थियो जसमा लगभग अढाई सय प्राथमिक पाठशालाहरू थिए। ती पाठशालाहरूमध्ये अधिकांश स्कटीश मिशनेरीका अधीनमा रहेका थिए अनि शिक्षाको माध्यम हिन्दी थियो। तर विद्यार्थीहरुमा बहुसङ्ख्यक नेपाली भाषी थिए। यसर्थ उहाँको उत्कट ईच्छा रहेको थियो कमसेकम विध्यालय स्तरमा शिक्षाको माध्यम मातृभाषा नेपाली नै हुनुपर्छ। पाठशालाहरूको परिदर्शन गर्ने कार्यका साथै उहाँले आफ्नो विचार र लक्ष्य प्राप्तीका उपायहरूबारे त्यहाँका जनसाधारण तथा अभिभावकहरू माझ चर्चा-परिचर्चा पनि गर्दै जानुभयो। तर उनीमाथिका अधिकारी जिल्ला शिक्षा निरिक्षक बङ्गाली थिए अनि उनी हिन्दी भाषा नै शिक्षाको माध्यम हुनुपर्छ भन्ने पक्षमा थिए। पारसमणि प्रधानले नेपाली भाषाको पक्ष लिएको उनी पटक्कै मन पराउँदैनथे। विरोधी समुहका केही व्यक्तिहरूले यसको चुगली सरकार समक्ष पुरयाए। जनताहरू धेरै नेपाली भाषाको पक्षमा रहेका थिए भने थोरै यसका विपक्षमा पनि थिए। तत्कालीन बङ्गाल प्रान्तका गभर्नर समक्ष पनि यो कुरा पुग्यो अनि गभर्नरले आफ्नो काउन्सिलको सल्लाह अनुसार तेह्र जनाको एउटा समिति गठन गरेर यस विषयमा छलफल गरी एउटा रिपोर्ट बुझाउने आदेश दिए। यस समितिको सभा जिल्लाधिकारीको सभापतित्वमा भयो। ती तेह्र जना सदस्यहरूमध्ये हरिप्रसाद प्रधान र कालूसिंह पिटर्स नेपाली भाषाका पक्षमा थिए भने बिहारी, बङ्गाली, भोटे र लाप्चे प्रतिनिधिहरु हिन्दी भाषाका पक्षमा थिए। सभामा प्रतिनिधिहरूमाझ निकै तर्क-वितर्क भयो। जिल्ला शिक्षा निरिक्षक ती बङ्गाली सज्जन कसरी त्यस समितिका सचिव पनि हुन पुगेका रहेछन् सभामा छलफल भएको विवरण तिनले नै तयार गर्नु पर्ने भार सुम्पिएको रहेछ। उनले रिपोर्ट तयार गरी प्रतिनिधिको स्वीकृतिका निम्ति सही गराउन पठाए तर सभामा छलफल भएको कुरा निस्पक्ष भएर नलेखिएको पाउँदा नेपाली प्रतिनिधिहरुले स्वीकृति दिएनन्, बरु त्यसको विरोध गरेर अलग्गै पत्र पठाए। यसो हुँदा तिनको रिपोर्ट रद्ध गरियो। अन्तत: समितिका सभापति डिपुटी कमिश्नर मिस्टर बेअर्स स्वयंले दुवै पक्षका कुराहरू बुझेर रिपोर्ट तयार गरी सरकार समक्ष बुझाए। फलस्वरूप दार्जीलिङ जिल्लाका प्राथमिक पाठशालाहरूका निम्ति शिक्षाको माध्यम नेपाली भाषा स्वीकृत हुने सम्भावना भयो। तर यसका निम्ति अघावै पाठ्यपुस्तकहरू जाँच हुनुपर्ने सर्तहरू पनि थिए। यतिमै सङ्घर्ष समाप्त भएको थिएन। ती जिल्ला शिक्षा निरिक्षकले तयार गरेको रिपोर्ट रद्ध हुँदा तिनको नेपाली भाषाप्रति रहेको विरोधिताको भावना अझ बढेको थियो। यसैले तिनले लाप्चे, भोटेहरूलाई उचालेर विरोधको परिवेश बनाउन भरमग्दुर चेष्टा गरेका थिए। यस्ता कतिपय कारणहरूले गर्दा यसले स्वीकृति पाउन निकै वर्ष विलम्ब हुन गयो। अन्तत: 4 जनवरी 1935 मा तत्कालीन बङ्गाल सरकारका सचिव मिस्टर मार्टिनले दार्जीलिङ जिल्लाका प्राथमिक पाठशालाहरूमा नेपाली भाषी विद्यार्थीहरूका निम्ति मातृभाषा माध्यममा पढाउन सकिने स्वीकृति दिए।
नेपाली भाषा र साहित्यको उन्नति एवं विकासका निम्ति उहाँ व्यवहारिक रुपमा खुबै सक्रिय हुनुहुन्थ्यो। यसरी उहाँले दार्जीलिङमा एउटा सार्वजनिक सभामा भाषा र साहित्यको उन्नतिको निम्ति एउटा दह्रिलो संस्थाको स्थापना हुनुपर्छ र यसको निम्ति ‘नेपाली साहित्य सम्मेलन’ नामक संस्था स्थापित होस् भनी 25 मई 1924 मा एउटा प्रस्ताव राख्नु भयो। त्यस प्रस्तावको सबैले समर्थन गरे अनि ‘नेपाली साहित्य सम्मेलन’ –को स्थापना भयो र त्यस संस्थाका संस्थापक सचिवका पदमा 26 जुलाई सन् 1931 सम्म रहेर धेरै कार्यहरू गर्नु भएको थियो। यसका निम्ति पनि उहाँले शिक्षा विभागका अधिकारीहरूको प्रताड़नाको सामना गर्नु परेको थियो। त्यसबेला संस्थाका सभापति हरिप्रसाद प्रधानको तर्फबाट शिक्षा विभागलाई पत्र लेखी अनुमति प्राप्त गरेको भएता पनि व्यक्तिगत रुपले विभागसित अनुमति नलिई सचिव पदमा रहेको आरोपमा सजाय स्वरुप उहाँको वेतनको वार्षिक बढोत्तरी मासिक सवा ६ रुपियाँ बन्द गरिएको थियो। यस घटनापछि जिल्ला शिक्षा निरिक्षकका साथै उहाँलाई दार्जीलिङ जिल्लाबाट अन्यत्र स्थान्तरण पनि गरिएको थियो। तर केही महिनापछि उहाँ उपनिरिक्षकको पदबाट दार्जीलिङ सरकारी हाई स्कुलमा अध्यापकको रुपमा स्थान्तरित हुनुभयो। उहाँका जीवनमा घटेका यस्ता अनेकौं प्रसङ्गहरू छन् जसले हामीलाई प्रयाप्त प्रेरणा मिल्दछ। तर ती सबै प्रसङ्गहरू यहाँ उल्लेख गर्न सम्भव छैन। तर पनि उहाँको जीवन चरित्र र उहाँले आफ्नो जीवनमा गर्नु भएका कर्महरूको स्मरणसम्म गर्दा पनि हामीलाई धेरै उत्साह प्राप्त हुनसक्छ।
दार्जीलिङ सरकारी हाई स्कुलमा पढाउन थालेपछि उहाँ प्राथमिक र माध्यमिक तहका पाठ्य पुस्तकहरू तयार गर्ने कार्यमा अझ सक्रिय हुनुभयो। सन् 1925 मा उहाँले लेख्नु भएको ‘बुद्ध चरित्र’ नाटक प्रकाशित भएको थियो। पछि दार्जीलिङमा पनि पौराणिक कथाहरूमा आधारित उहाँले लेख्नुभएका नाटकहरूको मञ्चन गरिएको थियो। सन् 1927 पछि उहाँ पाठ्य पुस्तकहरूको प्रकाशन र विविध विधामा साहित्य सिर्जनामा व्यस्त रहनु भएको पाइन्छ। उहाँ म्याट्रिकसम्मको शिक्षा नेपाली माध्यममा नै हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो र त्यसका निम्ति शिक्षा विभागसित पत्राचार पनि गर्न थाल्नु भएको थियो। त्यस अवधिमा उहाँले तयार गर्नुभएका केही पाठ्य पुस्तकहरू कलकत्ताको म्याक्मिलन कम्पनी र लङ्गमेन्स ग्रीन कम्पनीले पनि प्रकाशित गरेको थियो। ती मध्ये केही यस प्रकार रहेका छन् – नेपाली साहित्य भाग 1 देखि 6 सम्म, नेपाली सजिलो व्याकरण, भारतवर्षको इतिहास, नेपाली प्राथमिक भूगोल, नेपाली सजिलो साहित्य भाग 1 र 2 नेपाली सरल गणित भाग 1 र 2, शिशु बोधिनी भाग 1 र 2, प्राथमिक शिक्षा विधि आदि। सन् 1938 सम्म पाचौं र छैटौं श्रेणीसम्म नेपाली माध्यममा पढाउन सकिने आदेश शिक्षा विभागबाट जारी भइसकेको थियो। सन् 1939 मा उहाँले नेपाली भाषालाई कलकत्ता विश्वविद्यालयमा प्रमुख भाषा (Major Language)-को रुपमा मान्यता दिलाउनको निम्ति विश्वविद्यालयका भाइस चान्सलर, रेजिस्ट्रार अनि डीन डा. सुनीति कुमार च्याटर्जी समक्ष विन्ती पत्र चढाएका थिए। डा. सुनीति कुमार च्याटर्जी प्रख्यात भाषाविद् पनि थिए। उनले आफ्नो पुस्तक Languages and Literatures of Modern India मा भारतका 15 प्रमुख भाषाहरुमध्ये नेपाली भाषालाई पनि सामेल गरेर सकरात्मक टिप्पणी गरेका थिए। त्यसबेला उनकै परामर्श अनुसार विश्वविद्यालयबाट यसको मान्यताको निम्ति तीनवटा शर्त राखिएको थियो। 1) भारतीय नेपालीले लेखेको नेपाली व्याकरण 2) यताकै कोशकारले तयार गरेको अङ्ग्रेजी-नेपाली शब्दकोश र 3) यतै सम्पादन, प्रकाशन र मुद्रण गरिएको नेपाली साहित्यिक मासिक पत्रिका, देखाउन सके मात्र प्रमुख भाषाको रुपमा स्वीकृति पाउन सकिन्छ। शर्त 1 अनुसार उहाँको ‘नेपाली व्याकरण’ पुस्तक सन् 1920 मा नै शिक्षा विभागले स्वीकृति दिइसकेको थियो। शर्त 2 अनुसार अंग्रेजी-नेपाली शब्दकोश तयार गर्ने व्यवस्था पनि गरियो। तर शर्त 3 अनुसार नेपाली साहित्यिक मासिक पत्रिका प्रकाशित गर्न निजी प्रेसको आवश्यकता पर्यो। यसको स्थायी रुपले व्यवस्था मिलाउन लगभग 7/8 वर्ष लाग्यो। सन् 1947 मा दार्जीलिङको ‘श्याम कटेज’ मा ‘मणि प्रिन्टिङ प्रेस’ को नामकरण गरेर एउटा छापाखानाको स्थापना गरी उहाँका माइला छोरा नगेन्द्रमणि प्रधानलाई प्रेसको मलिकाना अधिकार दिएर त्यस कार्यको उत्तरदायित्व सुम्पनु भयो। यसरी नेपाली भाषा-साहित्य र संस्कृतिको जगेरा गर्ने र नेपाली भाषी गोर्खा जातिको सर्वाङ्गीण विकास गर्ने उदेश्यले ‘भारती’ नेपाली मासिक पत्रिकाको प्रकाशन जून 1949 देखि शुरु गर्नु भयो। यसका प्रधान सम्पादक रुपनारायण सिन्हा अनि सम्पादक स्वयं पारसमणि प्रधान रहनु भएको थियो। ‘भारती’ जुन 1958 सम्म निरन्तर मोठ 108 अङ्क प्रकाशित भयो। यसरी डा. सुनीति कुमार च्याटर्जीका शर्तहरूलाई पुरा गरे पश्चात् सन् 1949 मा उहाँ आफ्नै प्रेसमा तयार गरिएको शब्दकोश ‘Students’ Standard Dictionary’ अनि ‘भारती’- मासिक पत्रिकाको 6 वटा अङ्क लिएर कलकत्ता विश्वविद्यालय जानु भयो। यस प्रकारले भारत (दार्जीलिङ)-बाट प्रकाशित एउटा उच्च स्तरको शब्दकोश र मासिक पत्रिका देखेर विश्वविद्यालयका अधिकारीहरू छक्क परेका थिए। डा. सुनीति कुमार च्याटर्जीले पनि आफ्नो वचन पुरा गरे। अन्तत: 20 अप्रेल 1953 मा कलकत्ता विश्वविध्यालयले नेपाली भाषालाई स्कुल फाइनल परिक्षाका निम्ति प्रमुख भाषाको रुपमा स्वीकृति दियो अनि कलकत्ताको ग्याजेट मार्फत् बङ्गाल सरकारले एउटा अधिसूचना जारी गरयो।
यसरी भारतमा नेपाली भाषाको उत्थान, साहित्यको विकास र त्यसको प्रचार-प्रसार अनि नेपाली भाषा र साहित्यलाई प्राथमिक पाठशाला देखि कलेज र विश्वविध्यालय स्तरसम्म सरकारबाट स्वीकृति प्रदान गराउन उहाँले गर्नुपरेको सङ्घर्षको एउटा लामो इतिहास छ र त्यसभित्र हाम्रा आउने पिढीले जान्नु र बुझ्नु पर्ने उत्साह र प्रेरणाका स्रोतहरू बग्रेल्तै छाडेर जानु भएको छ। हामीले उहाँको जीवन चरित्रबाट धेरै कुराहरू सिक्नु बाँकी रहेको छ। साधारण जीवन र उच्च विचारले सुशोभित उहाँ मद्पान र तासजुवा जस्ता दुर्व्यवसनका घोर विरोधी हुनुहुन्थ्यो। सन् 1951 मा यसै तात्पर्यको उहाँको एउटा कविता सङ्ग्रह ‘जाँड़-रक्सी-जुवा’ प्रकाशित भएको थियो।
सन् 1953 मा उहाँ दार्जीलिङ सरकारी हाई स्कुलबाट अवकाश प्राप्त हुनुभयो। त्यसपछि उहाँ पाठ्यपुस्तक लेखन एवं साहित्य सिर्जनामा अझ सक्रिय भएर लागिपर्नु भएको थियो। उहाँले आफ्नो जीवनकालमा साहित्यका विभिन्न विधा कविता, कथा, लेख-निबन्ध, जीवनी, संस्मरण, अनुवाद तथा अन्य विविध विषयहरू लिएर लेख्नुभएका लगभग 5 दर्जन भन्दा बढी पुस्तक-पुस्तिकाहरू प्रकाशित भएका छन्। त्यसमा अंग्रेजीमा लेखिएका आधा दर्जन भन्दा बढी पुस्तकहरू पनि सामेल छन्। यति मात्र होइन अवकाश ग्रहण गरेपश्चात् उहाँ घरेलु उद्योग तथा खेतीपातीमा पनि आफुलाई व्यस्त राख्नु हुन्थ्यो। यस बाहेक उहाँ उत्तर बङ्गाल विश्व विद्यालयको नेपाली अकादमी, साहित्य अकादमी, दिल्ली, दार्जीलिङ पार्वत्य क्षेत्र विकास समिति र ग्रामोध्योग परियोजना, कालेवुङका पनि प्रमुख सदस्य तथा सल्लाहकार रहनु भएको थियो।
सन् 1968 मा नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानले उहाँलाई नेपाल बाहिर नेपाली भाषा र साहित्यको निरन्तर सेवा गरेबापत् त्रिभुवन पुरस्कार प्रदान गरेर सम्मान जनायो। सन् 1969 मा उहाँ आफ्नो पुस्तक ‘टिपन-टापन’ (निबन्ध सङ्ग्रह)-का निम्ति मदन पुरस्कारले सम्मानित हुनुभयो। त्यसरी नै सन् 1975 मा नेपालको त्रिभुवन विश्वविध्यालयले उहाँलाई सम्मानार्थ विध्यामहावारिधि (डी.लिट.)-को उपाधि प्रदान गरेको थियो भने सन् 1981 मा उत्तरबङ्गाल विश्वविद्यालयले पनि ‘डक्टर अफ लिटेरेचर’ द्वारा सम्मान जनाएको थियो। लगभग 85 वर्षको उमेरमा पनि उहाँ सन् 1982 मा सिलगढीबाट प्रकाशित हुने ‘हिमालचुली’ समाचार पत्रका अवैतनिक प्रधान सम्पादक रहेर भाषा-साहित्यको सेवामा लागिरहनु भएको थियो। नेपाली भाषाको संवैधानिक मान्यताको अभियानमा पनि उहाँको ठुलो योगदान रहेको छ। उहाँ नेपाली साहित्यका वरिष्ठ तीन महारथीहरू ‘सुधपा’ मध्येका ‘पा’ नामले चिनिनु भएका त्यस समयका युगप्रवर्तक हुनुहुन्थ्यो। अन्तत: 2 फरवरी सन् 1986 को दिन भारतीय गोर्खाहरूका एक शीर्ष पुरुष महान व्यक्तित्व पारसमणि प्रधानको देहान्त भयो अर्थात् एउटा युगको अन्त भयो।

बाग्राकोट (डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।