18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक शताब्दी शिक्षा र साहित्यमा सक्रिय वसन्तकुमार शर्म्मा ‘नेपाल’

व्यक्तित्व / कृतित्व बुनू लामिछाने June 15, 2022, 12:35 pm
बुनू लामिछाने
बुनू लामिछाने

१. विषयप्रवेश
नेपाली संसारलाई आफ्नो बहुमुखी प्रतिभा समर्पण गर्दै विगत छ दशकदेखि निरन्तर सिर्जनारत-साधनारत सर्जक, चिन्तक र साधकको स्वनामधन्य एउटा नेपाली नाम हो - वसन्तकुमार शर्म्मा ‘नेपाल’ । सामान्य मानव जीवनयात्रामा जस्तै विभिन्न समयक्रमका विभिन्न कार्यहरुमा व्यस्त हुँदाहुँदै पनि व्यक्तिगत स्वार्थबाट माथि उठी समाजसेवा, शिक्षा र भाषा-साहित्यसेवामा आजीवन समर्पित वसन्तकुमार शर्म्मा ‘नेपाल’ को जीवनी सिर्जना-संसारमा अपार उत्साह, त्याग र निष्ठामय व्यक्तित्वका विविध पाटाहरू समेटिएको गहन र विस्तृत जीवनकथा हो ।
विशेष गरी भाषा-साहित्यक्षेत्रमा निकै ठूलो योगदान दिने शर्म्मा साहित्यका गद्य र पद्य दुवै फाँटअन्तर्गतका थुप्रै विधाहरूका सफल स्रष्टा हुनुबाहेक भाषा र व्याकरणतर्फ पनि उत्तिकै कुशलतापूर्वक कलम चलाउने नेपालका थोरै मात्र शिखर प्रतिभामध्ये एक हुनुहुन्छ । भाषा-साहित्यसंसारमा नेपाली शब्दसागर (सम्पादित, सोपपत्तिक कोश, गद्य महाभारत (अनूदित) र १३५ उपनिषतसङ्ग्रह (अनूदित) जस्ता परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेख्य कृतिलगायत पाठकहरूको मन जित्ने दर्जनौँ-दर्जन प्रकाशित ग्रन्थहरु, दर्जनौँ प्रकाशोन्मुख पाण्डुलिपिहरू र थुप्रै फुटकर रचनाहरूसँग समयसन्दर्भअनुसार विभिन्न उपनामहरूबाट पनि निरन्तर अगाडि बढ्दै मौलिक लेखन, अनुवाद, सम्पादन, सहसम्पादन र सहअनुवादमा पनि शर्म्माको उर्वर कलम सक्रिय रहँदै आएको छ ।
नेपाली भाषा-साहित्यका जो कोही पाठक-अन्वेषकका लागि अनुकरणीय उहाँको जीवनी प्रस्तुत गर्न पाएर हर्षले गद्गद् हुँदाहुँदै पनि त्यस्तो सागरमय व्यापकतालाई आफ्ना बालसुलभ प्रयासभित्र समेट्न नसकिएला कि भन्ने चिन्ता एकातिर छ भने व्यक्तित्वका गुणात्मक आधिक्य प्रस्तुत गर्दा प्रस्तुत लेखन प्रशंसामय देखिएला कि ? भन्ने त्रास अर्कातिर छ । त्यसैले गहन जीवनीका लागि अपर्याप्त हुन जाने त्यस्ता ठाउँहरूमा पाठकहरूसँग क्षमा माग्दै आदरणीय अग्रज वसन्तकुमार शर्म्मा ‘नेपाल’को जीवनीलाई निम्न बुँदाहरू भित्र केन्द्रित रही सार मात्रका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैछु ।

२. जन्म, बाल्यकाल र शिक्षादीक्षा
नेपाली नागरिकताअनुसार वि.सं. १९८४ को चैत्र रामनवमीलाई जन्मदिन मानिएको भए पनि वसन्तकुमार शर्म्मा ‘नेपाल’को जन्म भने वि.सं. १९७९ चैत्र रामनवमीमा भएको पाइएको छ । पिता पण्डित दिवाकर उपाध्याय नेपाल र माता हेमकुमारी देवीका पुत्ररत्न भई काठमाडौँ महाराजगञ्जस्थित एउटा संयुक्त परिवारमा वसन्तकुमारको जन्म भएको थियो । उहाँका एक दाजु र दुई जना भाइहरुको अकालमै मृत्य भएका कारण परिवारको अत्यन्त प्यारो जेठो सन्तानका रूपमा अग्रजहरुको ममतामय वातावरणभित्र उहाँको बाल्यकाल बितेको पाइन्छ ।
काठमाडौँ लाजिम्पाटस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ गराइएका वसन्तकुमार शर्म्मा ‘नेपाल’को वैदिक विधिअनुसार पूजाआजा, यज्ञ र मन्त्रोच्चारणका साथ अक्षरारम्भ संस्कार सम्पन्न भएको पाइन्छ । यसै दिन स्वर्गद्वारी आश्रमका तत्कालीन महाप्रभुको विशेष प्रेरणा पाएका शर्म्माको औपचारिक शिक्षाआर्जन-यात्रा विभिन्न शैक्षिक योग्यताहरु पार गर्दै अगाडि बढेको देखिन्छ । संस्कृत धर्मशास्त्रमा आचार्य, राजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्यभूषण, नेपालीमा एम.ए., बी.एड. र होमियो डाक्टर उपाधि उहाँले हासिल गर्नुभएको छ ।

३. विवाह र पारिवारिक जीवन
साढे चौध वर्षको उमेरमा डोलराज भट्टराईकी सुपुत्री राधादेवीसँग वसन्तकुमार शर्म्मा ‘नेपाल’को वैवाहिक सम्बन्ध गाँसिएको हो । त्यतिखेरको ६ जना बाजेहरु, ७ वटी बज्यैहरु, ११ बाबुहरु र १२ वटी आमाहरुसहितको संयुक्त परिवार र संयुक्त परिवारबाट डिल्लीबजारतर्फ बसाइ सरिसकेपछिको सुन्दर, शान्त, एकल पारिवारिक वातावरण नै शर्म्माको साधनामय जीवनमा सक्रियता र निरन्तरता थप्ने प्रेरणादायी ऊर्जास्थल बन्न पुगे ।
समयान्तरपछि चावहिल, मैजुबहालमा स्थायी बसोबास गर्न पुगेको शर्म्माको परिवारमा प्रतिभावान् सदस्यको उत्तरोत्तर प्रगतिमै पारिवारिक उन्नति देख्ने हरेक सदस्यहरूको अपार स्नेह र उदारभाव नै सिर्जनशीलताको समुन्नत पृष्ठभूमि बनेका छन् । जम्मा सात जना भौतिक सन्तानका पिता वसन्तकुमार शर्म्मा नेपालका नाति, पनाति र खनाति वंशका थुप्रै भौतिक सन्तानलगायत सिर्जनाजगत्का असङ्ख्य दैवी सन्तानहरु स्वेदश र विदेशमा पनि यत्रतत्र छरिएर रहेका छन् । यी सबैका आदर्श अभिभावक र स्रष्टा-द्रष्टा गुरु बन्ने सौभाग्य उहाँलाई प्राप्त छ ।

४. पेशा, सेवा र संस्थागत संलग्नता
शिक्षा क्षेत्रमा केही गर्ने आफ्नो रुचिअनुसार सुरुमा पद्ममोदय मा.वि.मा शिक्षक भएपछि क्रमैसँग भाषिक-साहित्यिक क्षेत्रबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्दै जाने क्रममा वसन्तकुमार शर्म्मा ‘नेपाल’ले थुप्रै शैक्षिक-प्राज्ञिक सङ्घसंस्थाहरुमा संलग्न रही सेवा प्रदान गर्नुभएको छ । उहाँका सेवा, सहयोग, सरसहल्लाह र मार्गदर्शनप्राप्त सम्बन्धित सङ्घसंस्था र कार्यहरू निम्नअनुसार छन् ।
नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषानुवाद परिषदमा सम्पादक, तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान गद्य साहित्य विभाग तथा विदेशी साहित्यकार सम्पर्क समितिका सचिव र चित्रकला विभागका सहायक सचिव, रत्नराज्यलक्ष्मी कलेजका संस्थापक सचिव र प्राध्यापक, पशुपति क्याम्पस चावहिल र नुवाकोट आदर्श क्याम्पसका सदस्यसचिव एवं क्याम्पसप्रमुख, कन्या क्याम्पस डिल्लीबजारका संस्थापक प्राध्यापक, पद्मोदय मा.वि.का. शिक्षक, पद्मकन्या विद्याश्रम मा.वि.का शिक्षक, शहीद शुक्र मा.वि.का.संस्थापक सदस्य, रात्री पाठशाला (हाल नन्दी रात्री मा.वि.) नक्सालका शिक्षक, शिक्षा परिषद्का संस्थापक शिक्षक, अमर आदर्श आवासीय विद्यालयका संस्थापक शिक्षक, शारदा मा.वि.का संस्थापक शिक्षक, ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्रमुख संरक्षक, पायोनियर एकेडेमीका सञ्चालक समितिका अध्यक्ष, निजी क्याम्पस अर्गनाइजेसनका सदस्यसचिव (२०३८-४३), सरकारका पाठ्यक्रम परिमार्जन समितिमा पटकपटक १-१० कक्षासम्मका नेपाली पुस्तक परिमार्जन
(२०२४-५३ सम्म) मा संलग्न रही भाषा-साहित्यसम्वर्द्धन र शिक्षासेवाका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको पाइन्छ । यसै गरी हाल समाजमा स्थापित अन्य कतिपय शैक्षिक सङ्घसंस्थाको स्थापनाका लागि आवश्यक संरक्षकत्व, सुझाव र सरसल्लाह, छलफल, श्रमदान, अर्थसहयोगलगायत आफ्नो हार्दिक उपस्थिति र सहज सहभागिता दिँदै उनीहरुको उत्थानमा पनि भाषा-साहित्य चिन्तक वसन्तकुमार शर्म्मा ‘नेपाल’को महत्त्वपूर्ण योगदान रहेको देखिन्छ । विश्वबन्धु पुस्तकालय (२००४-१२) का संस्थापक सचिव र अध्यक्ष, नेपाल नाटक सङ्घका संस्थापक सचिव र निर्देशक (२००५-११), अखिल नेपाल पुस्तकालय सङ्घका संस्थापक सदस्यसचिव (२००७-१०), संस्कृत छात्रसङ्घीय अध्यक्ष (२००८-१०), अग्रगामी साहित्यिक मण्डलका संस्थापक सदस्य (२०१३-२०), जस्ता संस्थाहरूले उहाँको सेवामूलक छत्रछायाको सौभाग्य पाएका छन् ।
यसबाहेक पनि आफ्नो सहयोगी बानी र उदार स्वभावका कारण परिवार, छरछिमेक, यात्राक्रम, विद्वत् सभासमारोह र सामाजिक, धार्मिक कार्यस्थलमा हरहमेशा सबैका लागि सेवामय हुन सक्नु वसन्तकुमार शर्म्माको महानता हो ।

५. सिर्जनात्मक सक्रियता र योगदान
व्यावहारिक र पेशागत व्यस्तताका दलदलबाट पनि सधैँ होशियारीपूर्वक पाइला चाल्ने वसन्तकुमार शर्म्मा ‘नेपाल’ आफ्ना सक्रिय चेतना र अथक साधनाका कारण नेपाली भाषा-साहित्य संसारलाई थुप्रै अजम्बरी कृति दिन सफल हुनुभएको छ । साहित्य-समालोचना र भाषाव्याकरणका विभिन्न विधा-उपविधाभित्र पर्ने कथा, कविता-काव्य, महाकाव्य, नाटक, निबन्ध, समालोचना, शब्दकोश लगायतका अनेकन् मौलिक र केही अनूदित कृतिहरु उहाँका उर्वर कलमबाट हालसम्म पनि जन्मिरहेका छन् । एकल सिर्जनाका अतिरिक्त विभिन्न कृतिहरुको सहलेखन, सम्पादन तथा सहसम्पादनमा पनि उहाँको लेखकीय धर्मले अग्रणी भूमिका खेलेको पाइन्छ । लेखिएका सबै कृतिहरू सार्वजनिक हुने अवसर नजुर्दा कतिपय पाण्डुलिपिहरू लेखकका घरमा रहेका भए पनि एकातिर उहाँका प्रकाशित कृतिहरूको सङ्ख्या (८२) मात्र पनि सामान्य अनुमानभन्दा निकै माथि छ भने अर्कातिर सङ्ख्यात्मक आधिक्यमा पनि कृतिभित्रको गुणात्मक उच्चता र प्रभावकारिताले पाठकहरूलाई अर्को आश्चर्यमा पार्ने गरेका छन् ।
वि.सं. २००४ सालदेखि फुटकर र २००८ सालदेखि कृति सार्वजनिक भएका उहाँको हालसम्मको साहित्यिक यात्राक्रममा जन्मिएका ती कृतिहरूलाई निम्न पङ्क्तिहरुमा देखाइएको छ —
१. युगको वारिस—२००८ (लधुनाटक)
२. विधवा विवाह—२०१० (खण्डकाव्य)
३. एक्काईस कथा—२०२१ (कथासङ्ग्रह)
४. हँसिला कथा—२०२५ (बाल कथासङ्ग्रह)
५. मित्रको पत्र—२०२५ (नव्यकाव्य)
६. आधुनिक नेपाली निबन्ध—२०२५ (निबन्धसङ्ग्रह)
७. सङ्क्षिप्त नेपाली व्याकरण—२०२६ (व्याकरण)
८. महेन्द्रमाला ६—२०२८ (पाठ्य पुस्तक संयुक्तलेखन)
९. महेन्द्र माला ९ र १०—२०२८ (पाठ्य पुस्तक संयुक्तलेखन)
१०. विप्रलम्भ—२०४४ (महाकाव्य)
११. निबन्धसङ्ग्रह—२०४४ (निबन्ध)
१२. कोटारानी—२०५९ (संवादकथा)
१३. प्रभावती गुप्ता—२०५९ (संवादकथा)
१४. गण्डकयुद्ध : जयापीड—२०५९ (संवादकथा)
१५. राजकुमारीको स्वयंवर—२०५९ (संवादकथा)
१६. रजिया बेगम—२०५९ (लघुनाटक)
१७. गण्डकयुद्ध: ब्रम्हहत्या—२०५९ (संवादकथा)
१८. राज्यश्री—२०५९ (लघुनाटक)
१९. रगतको खोलो—२०५९ (नाट्यकथा)
२०. नमर्ने इच्छा—२०५९ (नाट्यकथा)
२१. लक्ष्मीबाई—२०५९ (संवादकथा)
२२. जनभावनाका जगदगुरू स्वामी प्रणवानन्द—२०६१
२३. तीतामीठा कुरा—२०६३ (काव्य, संयुक्तलेखन)
२४. नीतिका कुरा—२०६५ (काव्य, संयुक्तलेखन)
२५. तीनतारा-(बालकथा) २०६६
२६. नीतिविचार-२०६७ (काव्य, संयुक्तलेखन)
२७. उदारताको पराकाष्ठा-२०७० (बालकथा)
२८. जियालो २०७४ (महाकाव्य, संयुक्तलेखन)
२९. इतिहासका अमर झिल्काहरू (कथासङ्ग्रह) २०७४
३०. व्यावहारिक व्याकरण रचना बोध र अभिव्यक्ति (२०७५)
३१. गीतमालिका (गीतसङ्ग्रह) २०७८
यी विविध सिर्जनाहरुबाट वसन्तकुमार शर्म्मा ‘नेपाल’ कुनै लर्तरो सर्जकको नाम होइन भन्ने कुरा स्वत: अनुमान गर्न सकिन्छ । यी कृतिहरुको अध्ययन गर्ने हो भने उहाँका कवि, काव्यकार, महाकाव्यकार, कथाकार, निबन्धकार, नाटककार, वैयाकरण र कोशकारजस्ता व्यक्तित्वका विविध पाटाहरू कुशलताका साथ प्रस्तुत भएको पाइन्छ ।
वसन्तकुमार शर्म्मा ‘नेपाल’ अनुवाद साहित्यमा पनि उत्तिकै विशिष्ट र चिरपरिचित नाम हो । कुनै स्रष्टाले आफ्ना कृतिभित्र आफ्नै भाषामा व्यक्त गरेको मूलभाव नखज्मजिने गरी अर्को भाषामा अनुवाद गरी अन्य भाषाभाषीका पाठकहरूलाई लाभान्वित तुल्याउने कठिन कार्य पनि उहाँको कलमले सहजताका साथ अघि बढाएको छ । संस्कृत, अङ्ग्रेजी, हिन्दी, बङ्गाली भाषाका ग्रन्थहरूलाई उहाँद्वारा नेपाली भाषामा अनुवाद गरिएका ती अनूदित कृतिहरु हुन् :
१. रत्नावली—२०२९ (नाटिक, विशाखदत्त)
२. रुक्मिणी-परिणय—२०४४ (काव्य, गुणराज पाठक)
३. शकुन्तला—२०४४ (नाटक, कालीदास, सहलेखन चक्रपाणि चालिसे)
४. पाँच रात—२०५१ (नाटक)
५. उपनिषत् प्रसङ्ग-१—२०५४ (६० उपनिषत्)
६. फेरा—२०५७ (उपन्यास, तसलिमा नसरीन)
७. आदिविद्रोही (स्पार्टकस)—२०५७ (उपन्यास, हार्वडफास्ट)
८. उपनिषत् प्रसङ्ग-२—२०५८ (६१ उपनिषत्)
९. श्रीमद्भगवद्गीता—२०५९
१०. संस्कृतका प्रमुख एकाङ्की—२०६१
११. गद्य महाभारत-१-२०६२
१२. गद्य महाभारत-२-२०६२
१३. गद्य महाभारत-३- २०६४
१४. गद्य महाभारत-४—२०६६ (जैमिनीय महाभारतसमेत)
१५. निरपराधको हत्या (उपन्यास, हार्वडफास्ट) २०६६
१६. मुक्ति सङ्ग्राम (उपन्यास, हार्वडफास्ट) २०६६
१७. शब्दार्थ गीता—२०६७ (मूल समेत)
१८. किरातार्जुनीय २०७० (महाकाव्य, भारवि)
१९. रुवाइयात-२०७० (काव्य, उमर खय्याम)
२०. प्रबोधचन्द्रोदय-२०७० (नाटक, श्रीकृष्ण मिश्र)
२१. १३५ उपनिषत् सङ्ग्रह-२०७० (मूल समेत)
२२. आमा २०७० (उपन्यास,म्याक्सिम गोर्की)
२३. ऊरूभङ्ग (अनु.विथी) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२४. कर्णभार (अनु.एकाङ्की) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२५. दूत-घटोत्कच (अनु.एकाङ्की) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२६. दूतवाक्य (अनु.एकाङ्की) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२७. मध्यम व्यायोग (अनु.एकाङ्की) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२८. अभिषेक (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
२९. अविमारक (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३०. चारूदत्त (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३१. पञ्चरात्र (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३२. प्रतिज्ञा-यौगन्धरायण (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३३. प्रतिमा (अनु.नाटक) २०७५ (अनु.भासका समग्र नाट्यकृति भित्र)
३४. बालचरित (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३५. यज्ञफल (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३६. स्वप्नवासवदत्तम् (अनु.नाटक) २०७५ (भासका समग्र नाट्यकृति भित्र)
३७. कर्पूरमञ्जरी (अनु.नाटक) २०७५ (राजशेखरका समग्र नाट्यकृति भित्र)
३८. प्रचण्डपाण्डव (अनु.नाटक) २०७५ (राजशेखरका समग्र नाट्यकृति भित्र)
३९. विद्धशालभञ्जिका (अनु.नाटक) २०७५ (राजशेखरका समग्र नाट्यकृति भित्र)
यसै गरी सम्पादक व्यक्तित्व पनि उहाँको व्यक्तित्वको अर्को उर्वर पाटो हो । उहाँद्वारा सम्पादित पत्रपत्रिकाहरू हुन् :
१. शिक्षा मन्त्रालयबाट प्रकाशित नेपाली शिक्षा, जागृति शिक्षा समाचार, २००६-१०
२. जयन्ती साहित्यिक मासिक, २०२७-३१
३. पद्मोदय रजतजयन्ती मुखपत्र, २०२९ (प्रबन्ध सम्पादकसमेत)
उहाँका सम्पादन कलाबाट पनि नेपाली साहित्यजगत् लाभान्वित भएको छ । उहाँका त्यस्ता कृतिहरूलाई क्रमश: यसरी देखाइएको छ :
१. आत्मसमीक्षा—२०४४ (सम्पादन, लेखक लक्ष्मीप्रसाद देवकोटा)
२. नेपाली शब्दसागर—२०५७ (सोपपत्तिक कोश)
३. सङ्क्षिप्त नेपाली शब्दसागर—२०६१ (कोश, का. सम्पा.विनयकुमार शर्मा नेपाल)
४. सानो नेपाली शब्दसागर—२०६२ (कोश, का. सम्पा.विनयकुमार शर्मा नेपाल)
५. उमा (महाकाव्य) २०६३ (सम्पादन)
६. My Word Book २०६४ (सम्पादन, गोकुलप्रसाद शर्मा)
७. Best Word Book २०६४ (सम्पादन, गोकुलप्रसाद शर्मा)
८. नेपाली अङ्ग्रेजी संस्कृत शब्दसागर—२०६७ (कोश) (संयुक्त सम्पादन, विनयकुमार शर्मा नेपाल)
९. नेपाली अङ्ग्रेजी विशाल शब्दसागर—२०६७ (कोश) (संयुक्त सम्पादन, विनयकुमार शर्मा नेपाल र पुण्यरश्मि खतिवडा)
१०. शब्दार्थ नेपाली शब्दसागर—२०६८ (कोश, का. सम्पा. विनयकुमार शर्मा नेपाल)
११. सङ्क्षिप्त नेपाली शब्दसागर—२०६१ (वि.संस्करण) (कोश, का. सम्पा. विनयकुमार शर्मा नेपाल)
१२. नेपाली सम-विषमार्थ कोश-२०७३ (कोश) (संयुक्त सम्पादन, बुनू लामिछाने, उपमा आचार्य)

६. अन्य
उपर्युक्त कृतिहरुका अतिरिक्त विभिन्न समसामयिक पत्रपत्रिकाहरुमा विभिन्न विधाका फुटकर लेखरचनाहरु मार्फत पनि वसन्तकुमार शर्म्मा ‘नेपाल’का परिपक्व साहित्यिक चिन्तन र मार्गदर्शनहरू नेपाली साहित्यसंसारमा समाहित भइरहेका छन् । वि.सं. २००७ सालदेखि उहाँका लेखहरू वसन्तकुमार शर्म्मा ‘नेपाल’का नामबाट बाहेक पनि वकुश, ज्ञानेश्वरजी, बच्चुरामबाजे, प्रकाश, दाजु, वाणेश्वर, क्षेत्रीबाहुन आदि उपनामहरूबाट पत्रपत्रिका र रेडियोमार्फत नेपाली, संस्कृत, नेवारी, हिन्दीमा प्रकाशित पाइन्छन् । यसै गरी दशैँका नवरात्र- सम्बन्धी रचित र अन्य रेडियो नाटकहरु पनि रेडियोबाट प्रसारण भएको पाइन्छ ।

७. अप्रकाशित कृति
उर्जस्वी साधक वसन्तकुमार शर्म्मा ‘नेपाल’का हरेक दिनका अधिकांश क्षणहरू भाषासाहित्यकै साधना र आराधनामा बितिरहेका हुन्छन् । त्यही व्यस्तताका उपज उहाँका हामीसँग उपलब्ध ५३ पाण्डुलिपिहरू प्रकाशोन्मुख अवस्थामा पनि रहेका देखिन्छन् । अरू बाँकी प्राप्त भए पछि जानकारी गराइने नै छ । जस्तै :
अप्रकाशित अनूदित
१. तपती संवरण - कुलशेखर वर्मा - नाटक
२. सुभद्रा धनन्जय - कुलशेखर वर्मा - नाटक
३. ललित माधव - रुप गोस्वामी - नाटक
४. विदग्ध माधव - रुप गोस्वामी - नाटक
५. मालविकाग्निमित्र - कालिदास - नाटक
६. विक्रमोर्वशी - कालिदास - नाटक
७. प्रियदर्शिका - हर्षदेव - नाटक
८. नागानन्द - हर्षदेव – नाटक
९. रत्नाजली - हर्षदेव – नाटक
१०. महावीर चरित - श्रीकण्ठ भट्ट भवभूति - नाटक
११. मालती माधव - श्रीकण्ठ भट्ट भवभूति - नाटक
१२. उत्तरराम चरित - श्रीकण्ठ भट्ट भवभूति - नाटक
१३. चन्द्रकला - विश्वनाथ - नाटिका
१४. सौगन्धिकाहरण - विश्वनाथ - नाटक
१५. प्रभावती परिणय - हरिहर उपाध्याय - नाटक
१६. भतृहरि निर्वेद - हरिहर उपाध्याय - नाटक
१७. कुन्दमाला - महाकवि दिङनाग - नाटक
१८. सुभद्राहरणम् - माधव भट्ट - नाटक (पद्य मात्र)
१९. विद्योत्तमा - विष्णुदत्त त्रिपाठी - नाटक (पद्य मात्र)
२०. अनसूया चरित - विष्णुदत्त त्रिपाठी - नाटक
२१. आश्चर्य चूडामणि - शक्तिभद्र शर्मा - नाटक
२२. प्रसन्नराघव - जयदेव - नाटक
२३. मृच्छकटिक - शुद्रक - नाटक
२४. जवाहरलाल विजय - रमाकान्त मिश्र - नाटक
२५. सिंहल विजय - सुदर्शन पाठी शर्मा - नाटक
२६. सावित्री - कृष्णमणि त्रिपाठी - नाटक
२७. वेणी संहार - भट्ट नारायण - नाटक
२८. मुद्रा राक्षस - विशाखदत्त - नाटिका
२९. पार्वती परिणय - वाण भट्ट - नाटक
३०. विक्रान्तकौरव - हस्तिमल्ल - नाटक
३१. चैतन्य चन्द्रोदय - कर्णपूर परमानन्द - नाटक
३२. छत्रपति साम्राज्य - माणिकलाल याज्ञिक - नाटक
३३. शृङ्गारमञ्जरी - विश्वेश्वर पाण्डेय - सट्टक
३४. किरातार्जुनीय व्यायोग - वत्सराज अमात्य - नाटक
३५. अद्भुत दर्पण - महादेव - नाटक
३६. अनर्घराघव - भट्ट मुरारी - नाटक -
३७. हनुमन्महानाटक - हनुमान् (सं दामोदर मिश्र) - नाटक
३८. अमृतोदय - गोकुलनाथोपाध्याय - नाटक
३९. चण्डकौशिक - आर्य क्षेमीश्वर - नाटक
४०. विद्या परिणायन - आनन्दराम मखी – नाटक
४१. नारी जागरण - गोपाल शास्त्री - नाटक
४२. हरिवंश पुराण –

अप्रकाशित : मौलिक
१. सप्तलक्ष्मी -नाटकसङ्ग्रह
२. पुराण प्रतिनिधि नाटक (पूर्व) - नाटकसङ्ग्रह
३. पाँच लघुनाटक - नाटकसङ्ग्रह
४. पाँच रुपक - नाटकसङ्ग्रह
५. चार रुपक - नाटकसङ्ग्रह
६. सातकाण्ड - नाटकसङ्ग्रह
७. रुपक नै रुपक - नाटकसङ्ग्रह
८. एक युगल प्रेमी - नाटकसङ्ग्रह
९. केही कथा केही कविता - समीक्षासङ्ग्रह
१०. संस्कृत नाटक र नाटककार परिचय - समीक्षा र कथासार
११. शबरपुत्र बहमन – महाकाव्य

८. पुरस्कार, सम्मान, अभिनन्दन र मानपदवीहरु
अनेकौँ उत्तम कार्यहरू र कृतिहरूका अनवरत साधक वसन्तकुमार शर्म्माको अद्वितीय साहित्यिक योगदानको कदर गर्दै केही अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी र निजीस्तरका साहित्यिक, सामाजिक र शैक्षिक संस्थाहरूले उहाँलाई विभिन्न समयमा विभिन्न सम्मान, पुरस्कार, मानपदवी र अभिनन्दनद्वारा उहाँको अनवरत सिर्जना र अथक साधनामा प्रवाहित बहुमुखी प्रतिभाप्रवाहप्रति आ-आफ्ना श्रद्धाभाव प्रकट गरेका छन् । यी सम्मान, अभिनन्दन र पुरस्कारहरू हुन् :
१. ‘आमा’ (मेक्सिम गोर्की) को अनुवादमा रुस सरकारबाट पुरस्कृत—२०१०
२. शिक्षासेवा नगद पुरस्कार—२०२९
३. गुणराज व्याख्यान पुरस्कार—२०५१
४. पशुपति बहुमुखी क्याम्पसबाट अभिनन्दित—२०५३
५. नुवाकोट बहुमुखी क्याम्पसबाट प्रशंसापत्र—२०५६
६. गुणराज पुरस्कार—२०५६
७. विजय श्री पुरस्कार—२०५८
८. हेमराज पुरस्कार—२०५८
९. विश्व हिन्दू परिषद्बाट अभिनन्दित—२०५८
१०. व्रिलियन्ट बहुमुखी क्याम्पसबाट अभिनन्दित—२०५८
११. आफ्नो सहकारी कोषबाट अभिनन्दित—२०५८
१२. नेपाल वंशज परिषद्बाट अभिनन्दित—२०५८
१३. वीरेन्द्र-ऐश्वर्य सेवा पदक—२०५८
१४. पद्मकन्या विद्याश्रमबाट अभिनन्दित— २०५९
१५. राष्ट्रिय व्यक्तित्व सम्मान—२०५९
१६. बालचन्द्र पुरस्कार—२०५९
१७. सुप्रबल गोरखा दक्षिणबाहु—२०५९
१८. आयफा सम्मान—२०६०
१९. त्रि.वि.वि. पुस्तकालयको तुलसाबाट अभिनन्दित—२०६०
२०. देवकोटा काव्य सम्मान—२०६०
२१. पद्मोदय सम्मान—२०६०
२२. पशुपति क्याम्पसबाट सेवा सम्मान—२०६१
२३. लेखनाथ रथयात्रा सम्मान—२०६१
२४. श्रीमद्भागवत् ज्ञान महायज्ञ मूल समारोह समितिबाट अभिनन्दित—२०६१
२५. मदन पुरस्कार स्वर्ण वर्ष सम्मान—२०६२
२६. लोयलिटी एकाडेमी सम्मान—२०६२
२७. स्टानफोर्ड, भानु प्रतिष्ठान, भानु जन्मस्थान वि.स.द्धारा सम्मान—२०६२
२८. खिलशर्म-राजीवलोचन जोशी पुरस्कार-२०६२
२९. पानी पोखरी युवा क्लवबाट सम्मान-२०६४
३०. नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासङ्घबाट अभिनन्दित-२०६४
३१. योगी नरहरीनाथ ट्रष्ट सेवा केन्द्रबाट अभिनन्दित-२०६४
३२. लुम्विनी एकेडेमी फाउन्डेशनबाट अभिनन्दित-२०६४
३३. भद्रकुमारी घले सेवा सदनबाट अभिनन्दित-२०६४
३४. ज्ञानदीप शिक्षा सदनबाट अभिनन्दित—२०६४
३५. तन्नेरी द्वैमासिकबाट अभिनन्दित—२०६५
३६. दायित्व वाङ्मय प्रतिष्ठानबाट अभिनन्दित—२०६५
३७. चक्रपाणि स्मारक प्रतिष्ठानबाट सम्मान—२०६६
३८. सीतापाइला बहुद्देश्य सहकारीबाट अभिनन्दित—२०६६
३९. महाकवि देवकोटा शताब्दी सम्मान—२०६६
४०. उदयानन्द पुरस्कार २०६७
४१. अभिनव साहित्य समाजबाट कदरपत्र २०६७
४२. बूढानीलकण्ठ स्कूलबाट सम्मान २०६७
४३. सुरभि स्रष्टा सम्मान २०६७
४४. डिल्लीबजार कन्या बहुमुखी क्याम्पसबाट अभिनन्दित २०६७
४५. नुवाकोट बहुमुखी क्याम्पसबाट रजतजयन्ती सम्मान २०६७
४६. हृदयचन्द्र स्मृति प्रतिष्ठानबाट सम्मान २०६७
४७. नरेन्द्र वाङ्मय निधिबाट अभिनन्दित २०६८
४८. नेपाली शिक्षा परिषद्बाट सम्मान २०६८
४९. चार्ल्स डार्बिन एकेडेमीबाट सम्मान २०६८
५०. आकाश गङ्गा इन्टरनेशनल एकेडेमीबाट सम्मान २०६८
५१. भद्रकुमारी घले सेवा सदनबाट अग्रज सम्मान-२०६८
५२. नेपाल बन्धु कल्याण समाजबाट सम्मान-२०६८
५३. नौलो नेपाली सम्मान-२०६९
५४. सुप्रबल जनसेवा श्री २०६९
५५. ज्येष्ठ नागरिक सम्मान-२०६९
५६. बि.डी. त्यागी स्मृति पुरस्कार २०६९
५७. शमी साहित्य साधना सम्मान-२०७०
५८. नयाँवस्ती युवा क्लवबाट अभिनन्दित—२०७१
५९. भद्रकुमारी घले व्यक्तित्व पुरस्कार -२०७१
६०. गुञ्जनबाट अभिनन्दित-२०७१
६१. पहलमान सिंह दीर्ध साहित्य साधक पुरस्कार-२०७१
६२. वैयाकरण नेपाल प्रतिष्ठानबाट सम्मान-२०७१
६३. द सनराइज आवसिय विद्यालयद्वारा सम्मान-२०७१
६४. रत्न पुस्तकालयबाट मानार्थ सदस्यता प्रदान-२०७१
६५. ज्येष्ठ नागरिक सम्मान, गौरी नगर सुधार समितिबाट-२०७२
६६. नेपाली साहित्यको विश्व संसद सम्मान-२०७२
६७. नौलो नेपाली स्वर्ण वर्ष सम्मान-२०७२
६८. विश्व हिन्दू महासङ्घद्वारा सम्मानित-२०७२
६९. पशुपति बहुमुखी क्याम्पसद्वारा सम्मानित-२०७३
७०. राप्ती साहित्य परिषद् सल्यानबाट सम्मान-२०७४
७१. साहित्य संवर्द्धन अभिनन्दन-२०७४
७२. स्रष्टा सम्मान दाङबाट-२०७४
७३. हिडपा साहित्यिक परिवारबाट सम्मानित-२०७४
७४. लायन्स शताब्दी सम्मान विराटनगरबाट-२०७४
७५. पोखरा लेखनाथ महानगरपालिकाद्वारा अभिनन्दन, रथारोहण-२०७४
७६. बृहत् सिन्धु साहित्य सम्मेलन चौताराद्वारा अभिनन्दित-२०७५
७७. लोकप्रिय समाचारद्वारा अभिनन्दित, सिन्धुपाल्चोक-२०७५
७८. नवनासो साहित्य सम्मान-२०७५
७९. भानुझपुरस्कार नेपाली शिक्षा परिषद्बाट -२०७५
८०. हरिप्रसाद घिमिरे अभिनव पुरस्कार-२०७५
८१. लेखनाथ प्रतिष्ठान अर्चलेबाट लेखनाथ पुरस्कार -२०७५
८२. सुरभि सम्मान- २०७५
यी सम्मान, पुरस्कार र अभिनन्दनका अतिरिक्त असङ्ख्य पाठकहरुका हृदयबाट पनि वसन्तकुमार शर्म्मा ‘नेपाल’ सधैँ सम्मानित, अभिनन्दित र पुरस्कृत श्रद्धेय स्रष्टा हुनुहुन्छ । उहाँद्वारा रचित भाषा-साहित्य, कोश-व्याकरण र समीक्षा-समालोचनाका विविध ग्रन्थबाट अधिकांश विद्यार्थी प्रभावित हुनु, गद्य महाभारतजस्ता विशालकाय ग्रन्थ पनि थुप्रै पाठकहरुका माझ सम्प्रेषित हुन सक्नु, नेपाली शब्दसागरका धेरै संस्करणहरू सहजताका साथ पाठकहरुसम्म बिक्रीवितरण हुन पाउनु, उत्तरवर्तीहरूमा आदरणीय मार्गदर्शक र लोकप्रिय प्रेरणास्रोत हुने गौरव पाउनु, देशविदेशबाट सम्बन्धित विषयगत सरसल्लाहका लागि विज्ञ व्यक्तित्वहरूले सश्रद्धा पत्याइदिनु, देशभित्रका विभिन्न सामाजिक, बौद्धिक गोष्ठीहरूको प्रमुख आतिथ्य ग्रहण गरिदिन पाउनुजस्ता सम्मानजनक कार्यका लागि उहाँले प्राप्त गर्ने गरेको अग्रस्थान सत्पात्रत्व र सद्विश्वासका उदाहरण पनि जो कोही साधकले कमाउन नसक्ने अपूर्व पुरस्कार हुन् भन्ने मलाई लागेको छ ।

९. दिनचर्या
जिज्ञासु र लगनशील बाल्यकाल, सक्रिय युवावस्था र व्यस्त-अभ्यस्त प्रौढावस्था पार गरी अनुभव-अनुभूति र चिन्तनहरूसँग खारिएको ९७ वर्षे वयोवृद्ध उमेरमा हुनुहुन्थ्यो । सामान्य मानव जीवनचक्रलाई आँकलन गर्ने हो भने धेरैका लागि बोझिलो र पट्यारलाग्दो हुन सक्ने यस्तो उमेर-अवस्था उहाँको विशेष जीवनशैली र दिनचर्याका कारण अत्यन्त सहज, स्वाभाविक र रहरलाग्दो थियो । झ्वाट्ट सुन्दा पत्याउनै गाह्रो भए पनि नपत्याई नहुने सत्य के हो भने त्यत्तिको वृद्धावस्थामा पनि १५ वर्षे युवाको जस्तो उत्साह, स्फूर्ति र तन्दुरुस्तताले उहाँको सङ्गत गर्ने जोसुकैलाई जहिले पनि आश्चर्यमा पारिरहने गर्दथ्यो । जीवनभर आफ्नो अथक प्रयास, अटल आत्मविश्वास र उदार व्यवहारबाट आफैले निर्माण गरेको सफा, शान्त र उर्वर पारिवारिक वातावरणभित्र आहारशुद्धी र व्यवहारशुद्धीमा संयमित र नियमित जीवन यापन गर्दै चलेको उहाँको दिनचर्या सबैका लागि उदाहरणीय र आदर्श देखिन्छ ।
आफ्नो आत्माले ठीक ठानेको कुरा सबैका सामु निर्भीक भई औँल्याइदिन सक्ने स्पष्ट वक्ता स्वभाव र कठिन परिस्थितिमा पनि अन्यायका विपक्षमै उभिइरहन सक्ने निडर प्रवृत्तिले उहाँभित्रको निष्पक्षतालाई हर्दम झल्काइरहन्छन् । जीवनमा अनायास परिरहन सक्ने रोग, शोक र घटना-दुर्घटना आदि झन्झट, झमेलाहरुबाट विचलित नभई धैर्य र हिम्मतका साथ विपत्ति हाँक्न सक्ने यही महान् क्षमताका कारण उहाँ सधैँ प्रसन्न रहन सकेको अनुमान धेरैको छ । समर्पण, त्याग र स्नेह-वत्सलताले भरिपूर्ण उहाँको मिलनसार व्यक्तित्व र सौहार्दपूर्ण व्यवहार तथा शास्त्रचिन्तनमा रमाउने सत्सङ्गतका लागि प्राय: उहाँको निवासमा भाषा-साहित्यानुरागीहरूको जमघट भइरहेको हुन्थ्यो ।
यसरी हेर्दा आफ्ना जीवनकालमा राष्ट्रलाई अमूल्य योगदान दिई असङ्ख्य हार्दिक मानसम्मानले सार्थक स्रष्टा ‘सन्तोषम् परमम् सुखम्’का समाधिमय जीवनमा आसन्न रहे पनि आजन्म वाक्देवीका आराधनामा अभ्यस्त उहाँका सक्रिय हातहरू सधैँ उस्तै जोश, जाँगर र उत्साहका साथ भाषा-साहित्यको अक्षय भण्डार भरिरहनमै तल्लीन रहे । उहाँको स्वस्थ जीवन उत्तरवर्तीहरूका लागि व्यक्तित्व उत्थान र प्रेरणाको अपूर्व उद्गमस्थल हो भन्दा सायद अत्युक्ति हुने छैन । प्रतिभाको आरोग्यप्राप्त उहाँको दीर्घजीवन राष्ट्रका लागि निरन्तर फलदायी र उत्तरोत्तर प्रगतिदायी उर्वर आशीर्वाद हो । आशा गरौँ, अझै चिरकालसम्म पनि हामी सौभाग्यशाली रही उहाँका कृतिहरूमा रमाइरहन पाउनेछौँ ।

१०. अन्तिम स्वास्थ्य अवस्था
२०७५ मङ्सिरबाट रूघाको ज्वरो देखिएर ग्य्राण्डी अस्पताल लगिएको उहाँको बायाँ फोक्सोमा केही दागजस्तो देखार्यो । उपचारकै क्रममा पुन: मस्तिष्क घातका लक्षण पनि देखा पर्यो र सिभिल अस्पतालको आइसियुमा राखियो र फर्काइयो । फेरि उपचारकै क्रममा पेट दुख्ने र कब्जियतले समस्या आयो । क्रमश: एकपछि अर्को स्वास्थ्यमा समस्या आउँदा पनि माघसम्म उहाँ चार पाँच घन्टा भेट्न आउने सहृदयीसँग बसेर साहित्यकै कुरा गर्दै हुनुहुन्थ्यो । बीच बीचमा कहिलेकाहीँ होस हराउने समस्या पनि पुसदेखि देखिँदै गए । पछिल्लो समय नाति विपिन नेपाल डाक्टर हुनाले उहाँको हेरविचार घरमै राम्रो हुने ठानेर घरमै उपचार गरिएको थियो ।
हरेक दिन साहित्य सेवामा सक्रिय रहँदै ९७ वर्षको उमेरसम्ममा पनि उस्तै उर्वर उहाँको जीवन यात्रामा प्रत्येक वर्ष कुनै न कुनै ग्रन्थ प्रकाशित र विमोचन भइरहेका थिए । यसै क्रममा माघमा उहाँको भासका समग्र नाट्यकृति शुद्धाशुद्धी गर्ने बेला ‘तपाई पढेर सुनाउनुस्, म सुनेर करेक्सन गरिदिन्छु ।’ भन्न सक्ने आश्चर्यको ऊर्जा उहाँसँग जीवितै थियो । माघसम्म ‘आज अलि दुख्न कम छ यस्तै भए म पर्सी गणेशस्थान शब्दार्थसम्म गइहाल्छु नि ।’ भन्दै हुनुहुन्थ्यो छोराहरुलाई ।
बेला बेला बिचेत हुँदा बालक वा युवाकालका कुरा सम्झेर त्यही दिनमा पुगेर वर्तमान बिर्सनुहुन्थ्यो । माघको १० गते डा. अरुण सायमी आफ्नो प्रेरणा पुरुषलाई आफूले लेखेको पुस्तक दिन आउनुभएको थियो । डा. अरुण २०५७ मा नेपाललाई हृदयाघात भएदेखि उपचार गरिरहेका डाक्टर हुनुहुन्थ्यो । माघकै १८ गते प्रा.राजेन्द्र सुवेदी र विनय नेपालले १ घन्टाको भिडियो अन्तर्वार्ता लिनुभएको थियो भने माघ २२ गते डा. घनश्याम न्यौपानेले तीन घन्टा बसेर एउटा अन्तर्वार्ता लिनुभएको थियो । माघ २९ गतेबाट पिसाबमा इन्फेक्सन देखियो र ५-६ दिन शिथिल भएपछि लगभग फागुन-चैत्रको दिन बिचेतकै अवस्था रह्यो, स्मृति शून्य । कहिलेकाहीँ धेरै बेर एकै र उस्तै कुरा गरिरहेपछि केही मिनेट त्यो कुराको सम्झना आए पनि फेरि स्मृति शून्य हुन्थ्यो ।
चैत्र ३० गते, रामनवमी उहाँको जन्मदिनका दिन गरिने कार्यक्रम वैशाख १ गते गरिने भएको थियो । त्यहाँ उहाँलाई लग्न नसकिने भएपछि उहाँकै हातबाट दिने मनशायले उहाँको मातापिता र उहाँकै नाममा स्थापित हेमकुमारी दिवाकर समाज सेवा सम्मान र वसन्तराधा पुरस्कार प्राप्त गरेका तीन जनालाई
घरैमा उहाँको हातबाट केही आफन्त र साहित्यकारको उपस्थितिमा रामनवमीकै दिन दिइयो, जुन औपचारिक रुपमा भोलिपल्ट वैशाख १ गते प्रदान गरिएको थियो । त्यसदिन त्यस समय १-२ मिनेट उहाँलाई चेतना फर्केको थियो र सम्मानित स्रष्टासँग हात मिलाउने र नमस्कार गर्नुभएको थियो । त्यसै दिन भासका समग्र नाट्यकृति पनि उहाँकै हातमा समर्पण गरिएको थियो । मात्र क्षणभर पुस्तक विमोचनको शैलीमा पुस्तक समात्ने चेत खुलेको थियो । त्यसको सातै दिनपछि अर्थात् वैशाख ७ गते दिनको १:४५ बजे उहाँ ब्रह्मलीन हुनुभएको थियो ।
आफन्त र परिवारलाई खबर गर्ने क्रममा एक घन्टा घरमा राख्दा उनको घरैमा दुई सय जति स्वजन जम्मा भइसकेका थिए । ३ बजे आर्यघाट लगेर दुई घन्टा त्यहाँ राखिएको थियो । त्यहाँ पन्ध्रसय जति सहृदयीको उपस्थितिमा उहाँको पार्थिव शरीरलाई अग्निमा सेलाउँदा ५ बजेको थियो । दिनको ३ बजेदेखि नै देशका राष्ट्रिय पत्रिकाका अनलाइन छापा र टेलिभिजनहरूले लगातार समाचार र क्याप्सनमा सूचना प्रवाह गरिरहे ।

११. अन्त्येष्टिपछि
उहाँको अन्त्येष्टिपछि राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, सूचनामन्त्री, कतिपय वहालवाला र पूर्व मन्त्री र सचिवहरु, न्यायाधीशहरु, बौद्धिक वर्ग, शिक्षक र साहित्यकारहरु, देशका सबैजसो रेडियो, पत्रिका र टेलिभिजनहरुका आआफ्नो किसिमले समवेदना आए । घरमा प्राप्त समवेदनापत्र, समाचार पत्रहरु, टिभीहरु, फेसबुक र ट्युटरका समेत यस्ता समवेदनाका सम्मानित भावहरुले भरिएका तीन सयभन्दा ज्यादा लेखोटहरू सङ्ग्रहीत छन्, जुनपछि कुनै माध्यमबाट जनमानसमा आउला नै ।

१२. उपसंहार
सामान्य व्यक्तिस्तरबाट माथि उठी भाषा-साहित्य संवर्द्धनको सिर्जनायात्रामा निरन्तर साधानारत शिखर प्रतिभापुरुष वसन्तकुमार शर्म्मा ‘नेपाल’को बहुआयामिक जीवनीवृत्तान्त नेपाली पाठक, अन्वेषकका लागि अनुकरणीय, उदाहरणीय र ग्रहणीय जीवनकथा हो । प्रातिभ उच्चता र बहुमुखीताले राष्ट्रिय- अन्तर्राष्ट्रिय गौरव बन्न सफल यस्ता जीवनीहरू राष्ट्रिय इज्जतका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हुन् । यस्तै महत्त्वपूर्ण जीवनीहरूको विशेषाङ्क निकाल्ने पवित्र र महान् कार्यमा जुटेको वैजयन्ती द्वैमासिकको सत् प्रेरणास्वरूप यो जीवनी प्रस्तुत गर्ने प्रयास गरिएको हो ।
बहुमुखी प्रतिभाका अतिरिक्त वैयाकरण र कोशकारका रूपमा सुविख्यात शर्म्माको गहन जीवनी समेट्न हम्मेहम्मे परेको कुरा साँचो भए पनि उहाँको विस्तृत जीवनीका सारभूत कुराहरूलाई सकेसम्म समेट्न कोसिस गरी सङ्क्षिप्त परिचयका रुपमा मात्र उपर्युक्त बुँदाहरुभित्र सीमित रही प्रस्तुत गरिएको छ । यसबाट नेपाली पाठक अन्वेषकहरूको आवश्यकताको आंशिकरूपमै भए पनि परिपूर्ति हुन सकोस् । वसन्तकुमार शर्म्मा ‘नेपाल’को जीवनीले थुप्रै अन्य उर्वर जीवनी निर्माणमा अझै प्रेरणा दिइरहन पाओस् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।