19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुखेपछि

कविता डिल्लीप्रसाद अधिकारी June 15, 2022, 4:39 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

हा देव मैले कति के बिराएँ
मैले कहाँ भूल गरेर आएँ
सारा रहेछन् अब पाप खालि
मान्छे रहेछन् सब दुष्ट जाली

बनाइ मन्दिर गरेर अर्चना
अहंकार भारी कमाएर नाना
शंका बनेछन् अब शक्ति तिम्रा
दम्भी भएका अधिकै नराम्रा

आफ्नो हुँद‍‍ोमा तिमीमा खुसिने
बिग्रे भने मानिस दोषी भन्ने
आस्था तिमीमा कसरी गरौं म
मान्छेहरूकै तिमी छौ खिलौना।

पापी बढे मन्दिर धेर गाउँमा
मान्छे गए पाप पखाल्न त्यहाँ
ईश्वर जस्का मनमा सधैँ छ
जसमा सुबुद्धि उहीँ शुद्धता छ

धर्मै छ यस्तो जो मलाई लाग्छ
समाज जैले पसिनै त माग्छ
मेरो छ भक्ति तिमीमै अपार
फ्याँकौँ म राक्षेस विचार दुष्ट ।

मन्दिर मस्जिद झगडा गराउने
हे नाथ मान्छे छ सबै गराउने
दोषी तिमी मनिस भूल गर्छन्
राम्रा भए जे जति भाग्य भन्छन्

फर्केर आउ अब नाथ मन्मा
बुद्धि फिराउ सबका मनैमा
मन्दिर छोडी घटमा बसेमा
मानिन्छ शक्ति छ सधैँ तिमीमा।
(उपजाति छन्द)

सिक्किम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।