घाम लागेपछि सबै देखेजस्तै,
बादल हटेपछि आकाश भेटेजस्तै
दृष्टि,
मलाई देऊ प्रिय !
सुत्न नपाएकाले निद्रा पाएजस्तै,
भोको मान्छेले पेटभर पाएजस्तै
तृप्ति,
मलाई देऊ प्रिय !
मनभित्र विचारहरु रित्तिएजस्तै,
लामो यात्रापछि घर भित्रिएजस्तै
शान्ति,
मलाई देऊ प्रिय !
पुरानो बन्दीले छुट्न पाएजस्तै,
बिझेको काँडा निस्केर गएजस्तै
मुक्ति,
मलाई देऊ प्रिय !
आमाको दूध बच्चाले पाएजस्तै,
रोग निको भएर फुर्ती आएजस्तै
शक्ति,
मलाई देऊ प्रिय !
मन्दिरमा पस्दा आँसु आएजस्तै,
आफूलाई हेर्दा आफैँ पाएजस्तै
भक्ति,
मलाई देऊ प्रिय !