16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वरिष्ठ समालोचक तथा साहित्यकार श्री अर्जुन प्रधान

व्यक्तित्व / कृतित्व विमला जोशी प्रधान June 19, 2022, 2:30 am
विमला जोशी प्रधान
विमला जोशी प्रधान

साहित्य , संगीत , कला क्षेत्रमा नागरी फार्मलाई एक उर्बर भूमी मानिन्छ ।साहित्यकार गोपीनारायण प्रधान , डि टि जिम्बा , अर्जुन प्रधान , डी के श्रेष्ठ , जे बी मग्राती , सुकराज दियाली , किशन प्रधान , सि डि राई, कृष्ण पि ठटाल , मैतराज जिम्बा , उदय सुब्बा , सञ्जय वान्तावा , सुमन बान्तावा, कल्याण गुरुङ , सृजना सुब्बा , सन्तराज मग्राती , एस के बान्तावा , विमला प्रधान , सतिस दियाली , सन्ध्या सुब्बा , प्रवेशिका राई, प्रेमदिप जोशी आदि यसै नागरी फार्म चियाबारीमा जन्मेर हुर्केका हुन्। राबा अञ्चल नागरी फार्मको साहित्यिक इतिहासमा स्वर्णिम अक्षरहरुले लेखिन पर्ने साहित्यिक हस्ताक्षर हुन् - समालोचक श्री अर्जुन प्रधान।

भारतीय नेपाली साहित्यका बिकासको निम्ति आफ्नो बहुमुल्य साहित्यिक कृतिहरु प्रकाशन गरि आजसम्म विशिष्ट अवदान प्रदान गर्नुहुने स्वनामधन्य साहित्यकार अर्जुन प्रधानको नाउँ अव गरिमामय इतिहासमा अंकित भइसकेको हामीले किटान गरिसकेका छौं।नेपाली भाषा र साहित्यको सम्बर्धनको निम्ति उँहाको दिर्घकालदेखि विशिष्ट सेवा र योगदान उल्लेखनीय र अनुकरणीय रहेको सत्य तथ्य सर्वविदित छन्।

भाषा साहित्य क्षेत्रमा समर्पित यस्ता ब्यक्तित्व वास्तवमा आफ्नो जीवन यात्रालाई ईतिहास बनाइसकेको , लटरम्म फलेका सुस्वादिलो फलका बृक्षको रुपमा आत्मसात हुनसक्ने पुरुष रहेर साहित्यको सेवामा लागि परेका बिज्ञ लेखक हुन् - श्री अर्जुन प्रधान। यस्ता दार्जिलिङे लेखकहरुको भिडमा एक अलग पाठकहरुको मन मस्तिष्कमा बलियो अमिट छाप बसेका लेखक श्री अर्जुन प्रधानको जन्म १४ नोभेम्बर १९५१ मा पिता स्व० रामलाल प्रधान अनि माता स्व० सुर्यमाया प्रधानको कोखबाट भएको हो।

सन् १९५५/५६ तिर उहाँले खल्तीमा मकैका दानाहरु बोकेर नागरी फार्म प्राथमिक पाठशालामा भर्ना भएका थिए।उसबेलाको समयमा छ पूरा नाघेर सात टेकेपछि मात्रै " सि" मा भर्ना हुन पाउँथे।

यसरी नागरी फार्म प्राथमिक पाठशालामा - " याङ का टु टु यहाँ आयो घोडामा चडेर

सबैजाना हाँस्न लागे घोडालाई देखेर ।" अनि

" ती तल जंगली जंगलमा

त्यो कुक्कु गाउँछ गीत

आफ्नो त्यो मीठो स्वरैमा

सुनाउँछ मीठो गीत

कू कू कू कू वसन्त जनाउँदछ।" भन्ने बाल गीतहरु गाउँदा गाउँदै समयको प्रवाहसित बग्दै नागरी यु० पी० स्कुलको बिध्यार्थी रहँदै निश्चल , निर्मल ती पलहरु पार गर्दै अंग्रेजी बिषयमा एम ए पास गर्नु भएको हो।उँहाले आफ्नो जीवनमा शिक्षक पेशा अपनाएर नागरी फार्म उच्चत्तर बिध्यालयमा आफ्नो आधा भन्दा बेसि उमेर बिताएर त्यसै बिधालयबाट अवकाश प्राप्त गरेका हुन्।

उनी एक कुशल शिक्षक साथै इमान्दार ब्यक्तित्व बोकेको साहित्यिक साधक हुन्।सबैसित समान दृष्टि र व्यवहार गर्ने भद्र , मृदुभाषी शिक्षक हुन् ।आफु जन्मेको ठाँउलाई हरेक क्षेत्रमा अघि बढाउने उच्च सोंच , एक प्रखर समाज सचेतक ब्यक्ति हुन् - श्री अर्जुन प्रधान। नेपाली काव्य लेखनमा १९६७/६८ देखि आफ्नो लेखन आरम्भ गर्नुहुने श्री प्रधानले ऐस एम चौहानसित मिलेर सयुंक्त कृति " सिरुपात" कविता सग्रंह १९७२ सालमा पाठक माझमा ल्याउन सक्षम बनेका थिए।

उक्त " सिरुपात" कविता संगालोबाट कवि श्री अर्जुन प्रधानको एउटा कविता यहाहरु माझ साझा गरिरहेछु।

" म त्यसरी आउनेछु "

अघाएकाहरुबाट केही भाग झिकेर

भोकाएकाहरुलाई दिन म आउँछु

न्यानोहरुकोबाट केही तातो लिएर

नाङ्गाहरुलाई तताउन म आउँछु

धेरै माया पाउनेहरुकोबाट केही माया खोसेर

नपाउनेहरुलाई बाडँन म आउँछु

निर्णय भएर म आउँछु

तह तह परेको बेतहलाई

तह मिलाउन म निर्णय भएर आउँछु।

हारेकालाई जीताउन

भागेकालाई फर्काउन

रोएकाहरुलाई हँसाउन

चिसिएकाहरुलाई सेकाउन

म विस्फोट भएर आउँछु।

थिचिएकाहरुलाई उचाल्न

मिचिएकाहरुलाई उकास्न

थुनिएकाहरुलाई फाँट दिन

धपिएकाहरुलाई फेरी फर्काउन

मरेकाहरुलाई पूनः ब्युँझाउन

म उँचाई भएर उभिन्छु

म चौडाइ भएर फैलिन्छु

म आह्वान भएर ओर्लन्छु

म संजिवनी भएर छरिन्छु।

अग्लो पर्खाल म भत्काउनेछु

साँघुरो परिधी पनि फोडनेछु

मीठो एउटा भाषण लेख्नेछु

राम्रो एउटा कथा हाल्नेछु

गौरवको इतिहास म बुझाउनेछु

हो म त्यसरी आउनेछु

त्यसरीनै अवश्य आउनेछु।"

यसरी एउटा उखानमा भनिएको छ " कोइ बेलाको गाली कोइ बेलाको बोली"

यसरी त्यो बेलामानै उहाँ ले नेपाली साहित्यमा आउनेछु भनेर पाठकहरुलाई अवगत गराउनु भएकोथ्यो।अनि आज त्यसरीनै श्री अर्जुन प्रधानले भारतीय नेपाली साहित्यलाई जम्मा १९ वटा कृति दिएर नागरी फार्म लगायत दार्जिलिङलाई नै गौरवको ईतिहास बनाएर अवस्मरणीय कार्य गर्नुभएको छ।

श्री अर्जुन प्रधानका प्रकाशित कृतिहरु -

१) सिरुपात कविता सग्रंह - १९८२

२) संध्याराग कविता सग्रंह - १९९०

३) मुनाहरु अनि फूलहरु संयुक्त कविता सग्रंह -१९९०

४) अनिँदो पहर लेख सग्रंह - २००१

५) एप्रिल लिलि लेख सग्रंह-२००१

६) जुनेली पाखा सस्मंरण-२००२

७) स्नेहराग लेख सग्रंह-२००५

८) सिर्जनाको सेरोफेरो समालोचना -२००७

९) जीवनका केही पृष्ठ केही परिच्छेद सस्मंरण-२१०११

१०) विमर्शन समालोचना- २०१२

११) निशानीका रेखाहरु कविता सग्रंह-२०१३

१२) सन्धान नामा समालोचना -२०१४

१३) आख्यान कोण समालोचना -२०१५

१४) अन्तर्दृष्टि समालोचना -२०१६

१५) चिन्तनपथ समालोचना - २०१७

१६) मननमार्ग समालोचना -२०१८

१७) परखपृष्ठ समालोचना -२०१९

१८) निष्कर्ष समालोचना -२०२०

१९) गढीदेखि मन्दिरसम्म अध्ययन - १९९०


अनुवाद

१) poem of humanity

४० जाना कविहरुका कविताहरु अंग्रेजीमा अनुवाद

२) The tree प्रा० तेजमान बराइलीको नेपाली काव्य कृति " रुख" को अंग्रेजी अनुवाद।


सम्पादन

१) सगुन साहित्यिक पत्रिका १९७०

२) राष्ट्रबोध साहित्यिक पत्रिका - १९८६

३) एस के घोस स्मृतिग्रन्थ -२००१

४) हिमचुली बिधालय पत्रिका -२००४


विज्ञ समालोचक श्री अर्जुन प्रधान आफ्नो कृति " परखपृष्ठ " पृष्ठिकामा भन्नुहुन्छ -" साहित्य सर्जकहरु समाजका प्रणम्य साधकहरु हुन्। उनीहरुको सृजना शक्तिको एउटा केन्द्र मान्य छ।साहित्य त्यो शकति हो जसले युगलाई सदा सचेत गर्दछ अनि सत्यतातर्फ डोर्याउँदछ।"

यसरी श्री प्रधानले आफ्नो कृति परखपृष्ठ को पृष्ठिकामा जम्मा १४ वटा काव्य कृतिमा आफ्नो कुशल समालोचना गरि नराम्रा पक्षलाई पर पन्छाएर राम्रा पक्षलाई कागजमा उतारेर आजको समयमा निरुपन समीक्षा गरिएको छ। समालोचकले कुनैपनि कृतिमा समीक्षा निरुपन गर्नुभनेको सम्बन्धित ब्यक्तिहरुको प्रशंसा मात्रै गर्नु होइन , कृतिमा समाविष्ट लेखादीले मुल्यबोध र मानिससंगको ससर्गलाई अंगालेको छ कि छैन त्यसको मुल्यांकन गर्नु हो। जो लेखकले आफ्नो कृति " परखपृष्ठमा " हुबहु मुल्यांकन गरेको पाइन्छ।

समालोचक श्री प्रधानको समालोचना पाठकले खोजेका कुराहरु कुनै कुनै चलचित्रका सफा टेलर देखाएझैं स्वच्छ पाइन्छन् ।उनका भाषा शैली अतिनै सरल सहज भएको कारणले उनले भन्न खोजेका तथ्यहरुलाई वा उठान गरेका भावलाई सजिलै आत्मसात गर्न सकिन्छ।

यस्तै यस्तै मिठा रसिला भावहरु बोकेका कविताहरु, लेख , समालोचना , सस्मंरण हरुको थुप्रो पाठकहरु समक्ष पस्किसक्नु भएको विज्ञ लेखक श्री अर्जुन प्रधानलाई हार्दिक नमनको साथमा उनको सुस्वास्थ्य अनि दिर्घायुको कामना राख्दछु।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।