15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शीतलको अनुकरणीय सुगन्ध यात्रा

कृति/समीक्षा बालकृष्ण लामिछाने June 19, 2022, 2:33 am
बालकृष्ण लामिछाने
बालकृष्ण लामिछाने

१. सन्दर्भ
बहिर्मुखी स्वभाव भएको हाम्रो एउटा साथी मनमा केही कुरा नराखी बोल्ने गर्थ्यो । ऊ कुनै कुराको यस्तो वर्णन गर्दथ्यो कि हामी सबै रमाइलो मानेर सुन्ने गर्थ्यौँ । उसको धेरैजसो कुरा गराइ उसकै आफ्नी प्रेमिकाको प्रसङ्गमा हुने गर्थ्यो । ऊ तिनै प्रेमिकासँग अर्को साल विवाह गर्ने योजनामा रहेको कुरा पनि सुनाउँथ्यो । कतिपय अवस्थामा उसको कुरा ठट्टा हो वा साँचो हो भनेर छुट्याउन पनि सकिदैनथ्यो । ऊ प्रेमिकाले पठाएका भन्दै विभिन्न तुक्का, किस्सा र गजलहरु सुनाइरहन्थ्यो :

म नाजुक काँचको हुँ पत्थर नउठाऊ है
टुक्रिन पनि के बेर नजर नउठाऊ है ।

उसले मुखाग्र बनाएका यस्ता पङ्तिहरु सुन्दासुन्दै हामीलाई पनि कण्ठजस्तै भइसकेको थियो । जे होस् उसका गफमा हामी नजानिँदो गरी तानिएका थियौँ ।
यस्तैमा रेडियो नेपालको साहित्य संसार कार्यक्रमका सञ्चालक रमेश पौडेलले शीतल कादम्बिनीको पुस्तक विमोचन कार्यक्रम बार एसोसियसनको हलमा हुने तय भएकाले मलाई पनि निमन्त्रणा गरेका थिए । मलाई पनि यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा निकै रमाइलो लाग्थ्यो । म निर्धारित समयभन्दा केही ढिला गरी कार्यक्रममा प्रवेश गर्दा एकजना स्रष्टा उही गजल वाचन गर्दै थिइन् :
म नाजुक काँचको हुँ ..........

म हलमा पस्नासाथ मनमा उर्लिएको आश्चार्यको खहरेलाई अनुभव गर्दै दोस्रो लहरको खाली सिटमा गएर बस । सोचेँ हाम्रो साथीले महिनौँ दिन अगाडिदेखि कुरा गर्दै आएकी उसकी प्रेमिका यिनै रहिछन् । केहीबेर बसेपछिमात्रै गजल वाचन गर्दै रहेकी शीतल कादम्बिनी रहिछन् भन्ने तथ्य खुल्यो । जसको नयाँ गजल सङ्ग्रह सुगन्ध यात्रा विमोचन गर्नका लागि नै आजको कार्यक्रम आयोजना गरिएको थियो । उनी आफ्नो विमोचित कृतिका केही गजल सुनाउने क्रममा अगाडि उभिएकी रहिछन् । चितवनका विभिन्न साहित्यिक कार्यक्रम र एफ एम रेडियो मार्फत् प्रसारण भएका उनका गजलहरु निकै लोकप्रिय भएका रहेछन् । तिनै सुनेका र मन परेका गजलहरु हाम्रो साथीलाईं उनकी प्रेमिकाले पठाएकी रहिछन् । यसरी हामीहरुले पनि नजानिदो तरिका र माध्यमबाट शीतल कादम्बिनीका गजलहरु कण्ठ पारेका रहेछौँ । यस्तो अचम्मको संयोगमा लेखिकाबाट प्राप्त भएको यो गजल सङ्ग्रहको सामान्य समीक्षात्मक अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

२. प्रसङ्ग
चितवनमा रहेर सिर्जनशील जीवन व्यतित गरिरहेकी शीतल कादम्बिनीको सुगन्ध यात्रा प्रथम प्रकाशित गजल सङ्ग्रह हो । उनी स्थानीय एफ. एम्. रेडियो तथा पत्रपत्रिकामा लोकप्रिय बनिसकेकी र निकै परिस्कृत बनेर मात्र पुस्तकाकार कृतिका माध्यमबाट सार्वजनिक बनेकी हुन् । विद्युतीय माध्यमबाट गजलमा सवाल जवाफको श्रृङ्खलामा प्रेमविनोद नन्दनसँग सहयात्रा गरेकी कादम्बिनीको लेखन प्रतिभा नन्दनकै हाराहारीसम्म पुगेको देखिन्छ । आज साहित्यकार बन्ने हतारमा यथेष्ट परिस्कृत नभई शिल्पसौंदर्यविनाका कृति प्रकाशनमा ल्याएर पाठकलाई दिक्दारी दिने काम भइरहेको देखिन्छ । तिनका माझमा शीतल कादम्बिनीले प्रकाशनमा ल्याएको पहिलो कृतिले नै ओजपूर्ण मूल्य स्थापना गर्नु नवसिर्जनशील स्रष्टाका लागि प्रेरणदायी कार्य , पाठकका लागि खुशीको कुरा र समग्र नेपाली साहित्यका लागि स्तरीकरणको यात्रा हो ।

वि. सं. २०४० को दशकमा नेपाली गजललेखनले तीब्रता पाउन थाल्यो । २०५० को दशकमा त गजल लेखनमा भेलबाढी नै चल्यो । गजल यति प्रिय बन्यो कि सायद नेपाली साहित्यको इतिहासमा अन्य साहित्यिक विधा यति लोकप्रिय बनेका थिएनन् । सर्वेक्षण गर्ने हो भने गजलका लेखक र पाठकका सङ्ख्याले नयाँ कीर्तिमान कायम गर्नेछ । यसले नराम्रो त केही गरेन तर नेपाली साहित्यका पाठक उल्लेख्य सङ्ख्यामा बढाएको छ । नेपाली साहित्यमा भेलबाढी चल्यो । गन्न नसकिने सङ्ख्यामा गजलकारले कलम चलाए । भेलबाढी सङ्लन लाग्दा सङ्लिएर बग्ने गजलकारहरु परिचित हुन्छन् । त्यसमा शीतल कादम्बिनीको सुगन्धयात्रा शिल्पसौंदर्य र चोटिलो अभिव्यक्तिले खारिएर आएको देखिन्छ ।

शीतल कादम्बिनीद्वारा प्रकाशनमा ल्याइएको गजलसङ्ग्रह सुगन्ध यात्रामा ६२ ओटा गजलहरु समेटिएका छन् । गजलसङ्ग्रहका प्रत्येक गजलका लागि छुट्टाछुट्टै शीर्षक राखिएको छ । मैले यहाँ उक्त सङ्ग्रहभित्रका गजलहरुको संरचना र भावविचारको सामान्य अध्ययन गर्न खोजेको छु ।

कविताको उपभेदका रुपमा चिनिने गजल रचनाको आफ्नै संरचना पाइन्छ । रदिफ काफियाहरुको उचित संयोजन गरी मिसराहरुमा बाँधेर रचना गरिने गजलका नियमभित्र रहेर नै कादम्बिनीले आफ्ना गजलहरुको सिर्जना गरेकी छन् । उनका केही गजलहरुमा रदिफ नपाइए पनि यसविना गजल सिर्जना गर्ने परिपाटी रहेकै छ । असावधानीका कारणले रदिफ नराखेको होइन । उनका गजलहरु अनुप्रासयुक्त अथवा समस्वर उत्पन्न गर्ने पूर्ण काफियाको प्रयोग भएर नै रचना भएका देखिन्छन् ।

जिन्दगीले पत्थर उठाई हान्यो सिसा ठानी
पूरा कहिल्यै नहुने त्यो जिजीविषा ठानी

यति ठुलो दुनियामा जहाँ हेर्छु सुनसान छ
प्रारब्ध नै निदाएछ मलाई निशा ठानी

यथार्थमै निदाउने रहरहरु थिए
सिरानीमै दवाइराख्यौ मोनालिसा ठानी । ( पृ २९ )

जिन्दगीले पत्थर शीर्षकको उक्त गजलमा प्रयुक्त सिसा , विषा , निशा , लिसाजस्ता काफियाहरुको प्रयोग भएको छ । यसरी समस्वरयुक्त पूर्ण काफियाको प्रयोगले गजल निकै चोटिलो बनेको छ । तर आंशिक काफियाहरुको प्रयोग पनि उनका गजलहरुमा पाइन्छ र कतै कतै काफियाहरु दोहोरिएका पनि पाइन्छन् ।

आफ्नै घर जलाएर आगो ताप्न लाग्यौ किन
बिना मेरो अनुमति दिलको सीमा नाघ्यौ किन

हारजित जे जे हुन्थ्यो तत्पर थिएँ युद्ध गर्न
उद्घोषित भएपछि मैदान छोडी भाग्यौ किन

चाहनाका सुवासहरु महकिन दिए हुन्थ्यो
तिनलाई तिमीले हृदयमै राख्यौ किन

भयभीत छन् अधर मेरा सशङ्कित छन् नजरहरु
समारोह उठेपछि मलाई यहाँ डाक्यौ किन

शून्यतालाई नचलाई भो अब सुत युग ओढी
सारा जगत् निद्रामा छ तिमी मात्रै जाग्यौ किन ( पृ ३० )

आफ्नै घर शीर्षकको उक्त गजलका लाग्यौ , नाघ्यौ , भाग्यौ , डाक्यौ , जाग्यौ काफियाहरुमा डाक्यौले समस्वर उत्पन्न हुनमा केही बाधा गरेको छ । यस्तै कस्तो जात शीर्षकको जगलमा दिएर काफिया दोरिएको छ । उस्ता केही गजललाई छोडेर हेर्दा अन्य सबैजसो गजलहरुको संरचना निर्माणमा उनले सचेतता अपनाएकी छन् । रदिफ र काफिया प्रयोगका कारणले उनले सकेसम्म गजलको सुन्दरतालाई खस्कन दिएकी छैनन् ।

गजलको अन्तिम शेरमा गजलकारको नाम उपनाम ( तखल्लुस ) प्रयोग गर्ने परम्परालाई शीलत कादम्बिनीले पनि अँगालेकी छन् । उनले कतिपय गजलमा पहिलो वा अन्य शेरहरुमा पनि तखल्लुस प्रयोग गरेकी छन् । तर उनले प्रयोग गरेको तखल्लुस केवल नाम दिनका लागि मात्र नभएर अर्थपूर्ण रुपमा आएको देखिन्छ । उनले तखल्लुस प्रयोग गरेको एउटा मकता हेरौँ :–

नारायणीको शीतल जल हौ भन्थे साथ छँदा
जानेबेला एउटा दोष लगाएर गए ( पृ ५९ )

उक्त गजलमा शीतल गजलकारको आफ्नो उपनाम तखल्लुसका रुपमा प्रयोग भएको छ । तर शीतलले गण्डकीको पानीको विशेषतालाई पनि अभिव्यञ्जित गरेको छ । यसरी उनका गजलमा अर्थपूर्ण रुपमै तखल्लुस प्रयोग भएको पाइन्छ ।

प्रेमपूर्ण आलाप वा प्रेमालापका अर्थमा आएको गजलको मूल विषयवस्तु प्रेम मानिएको छ । शीतल कादम्बिनीका अधिकांश गजलहरु प्रेमलाई नै मूल विषय बनाएर रचना गरिएका छन् । यस सुगन्ध यात्रा गजलकी स्रष्टा स्वयम् नारी हुन् । त्यसैले उक्त सङ्ग्रहमा नारीका मनभित्रको प्रेमको सम्पूर्णता पोखिएको छ ।

किशोर अवस्थाबाट जवानीतर्फ पदार्पण गर्दै गरेको बेलामा अदृश्य आकृतिसँग प्रेम बसेको र साकार प्रेमीसँगको सात्क्षात्कारको आकाङ्क्षा उनका गजलमा प्रस्तुत भएको पाइन्छ :–

शून्यतामा एक्लै आज टोलाइरहेछु म
मेरो भावी जिन्दगानी बोलाइरहेछु म ( पृ ४९ )

ल्याएको छु मुटुभरि सौगात कस्लाई टक््रयाऊँ म
रङ्गीचङ्गी प्रीत फुल्ने प्रभात कस्लाई टक््रयाऊँ म ( ४४ )

केही आफू अनुपम भएको सङ्केत , केही समालिएर हिँड्न खोजेको जानकारी दिएर आफ्नो रुपसौन्दर्यको अभिमान देखाइएको बैशालु मनको भाव पनि गजलमा व्यक्त भएको छ :–

शीतलको अर्थ बुझ्न धूपमा डढ्नुहोला
अझै पनि नबुझेमा मलाई पढ्नुहोला ( पृ २० )

यो आँखाको सहरमा बसाईँ तिमी सरिहेर
धेरै धेरै डुबिमरे एकपटक तरिहेर ( पृ ५८ )

बाहिरी अभिमानले छापेर राखेको प्रेमको भित्री आकाङ्क्षाले सम्हाल्न नसकिने स्थितिको रुप लिँदै जाँदा पानी पानी बनेको मनलाई पनि गजलले व्यक्त गरेको छ :–

म नाजुक काँचको हुँ पत्थर नउठाउ है
टुक्रिन पनि के बेर नजर नउठाउ है ( पृ २० )

जटिल भन्थ्यौ तिमीले सरल बनेँ आज
तिम्रो रापमा पग्लिएर तरल बनेँ आज ( पृ ६४ )

यौवनको उपहार मधुमास लिएर आउँदैछु
दिलको साँध विस्तार गर्नू आकाश लिएर आउँदैछु । ( पृ ८ )

सामीप्यताका लागि लालयित बनेको मनले गरेको प्रेमको खुला आव्हानलाई पनि उनका जगलले व्यक्त गरेकी छन् :–

स्नेहको रुमाल झिकी पुछिदेलान् भनी
झरनाझैँ आँखाबाट झरिरहेँ मैले । ( पृ ४७ )

किन किन आफ्नै भाउ झारँ जस्तो लाग्यो
तिमीलाई जिताउन हारुँ जस्तो लाग्यो ( पृ ४७ )

तिम्रो हर विजयमा फूलको हार बनेँ
तिमीले जस्तो चाह्यौ उस्तै आकार बनेँ ।

प्रेमीसँगको मिलन र सम्मोहनमा तृप्त मनको सुख र चीर आनन्दको अनुभूतिलाई पनि गजलले व्यक्त गरेको छ :–

कहाँबाट ज्ञात भयो पर्देशीलाई नाउँ मेरो
पदार्पण गर्‍यौ जब पावन भयो गाउँ मेरो ( पृ ५० )

मेरो लोचनको तिमीले नै विमोचन गरेका थियौ
एउटा भव्य महोत्सवमा तिमीले नै सम्बोधन गरेका थियौ ( प १८ )

तिमीभित्रै भेटेको छु जिन्दगीको सार मैले
स्नेहले सिञ्चेको छु जिन्दगीको टार मैले । ( पृ ४५ )

यस्तै किरणरुपी निराकार प्रेमलाई आकार दिएर प्रेमीलाई पति बनाई पवित्र प्रेमयात्रा गर्दै रहेको मनको भावलाई पनि उनका गजलले व्यक्त गरेका छन् :–

तिमी नै हौ अन्तिम तिमै नै हौ पैलो यहाँ
तिम्रा निम्ति सदा खुला हृदयको दैलो यहाँ

यसरी जीवन र प्रेमप्रति सकारात्मक धारणा यी गजलमा व्यक्त भएको देखिन्छ । गजलमा प्रमलाई जीवन बाँच्ने प्ररणाको स्रोत र जीवनको उज्यालोको रुपमा प्रस्तुत गरिएको छ :–

सधैँ सधैँ एकान्तमा शीतल भनी बोलाऊ तिमी
अन्धकारमा विश्वासको एउटा चिराग जलाऊ तिमी ।

प्रेम लिएर र प्रेम दिएर , यही प्रेमको उज्यालो मनमा बालेर बाँच्ता नै जीवन सुखी भएको अनुभव हुन्छ । यो माया लिने र दिने चाहना कहिल्यै समाप्त हुँदैन । चाहना सधै आगो बनेर फैलिरहन्छ । मायामा कहिल्यै तृप्त बन्न नसकेको शाश्वत यथार्थलाई पनि गजलले व्यक्त गरेको छ :–

मलाई थाहा छैन आगो हो कि पानी हो जीवन

तृप्ति अगम छ अतृप्त चाहनाको खानी हो जीवन

तृप्ति अगम छँदैछ , त्यसैले प्रेमको तृप्तिका लागि असंयमित चाहिँ बन्नु हुँदैन ,सम्हालिँदै सिर्जनाको उज्यालोले संसारको अँध्यारोलाई पखाल्न उनका गजलको सन्देश रहेको देखिन्छ :–
जली स्वयम् अँध्यारोलाई पखालेर जाने गर
बरु तिमी आफूलाई सम्हालेर जाने गर ( पृ ३६ )

यसरी प्रमप्रति सकारात्मक धारणा व्यक्त गर्ने यस गजलसङ्ग्रहकी स्रष्टा शीतल कादम्बिनी स्वयम् नारी हुन् । तिनले आफ्नो प्रेम पाठकहरुसँग बाँड्न चाहेकी छन् । तर उक्त अर्थको प्रेम आदान प्रदानका लागि सामाजिक सीमाहरु छन् । त्यही सीमाभित्र नै उनले पाठकहरुलाई बाँध्न चाहेकी छन् ।

मलाई भेट्न आउँछौ त खोज भावभित्र
सबैसित प्रीत मैले गाँस्छु कवितामा ( पृ ६३ )

सबैका हृदयमा अमृतमात्र हुँदैन , बिष पनि हुन्छ । धर्तीका यिनै मानिसहरुसँग खराब प्रवृत्ति पनि छ । कुटिल मनले प्रेमको नाटक रच्ने मानिसका कुप्रवृत्तिप्रति उनका गजलले व्यङ्ग्य गरेका छन् ।

कस्तो जाली मलाई एउटा चिनो दिएर गए
तृषित थिए आउँदा ती मलाई पिएर गए ( पृ ७ )

नारीलाई भोगविलाश र वासनाको साधनमात्र सम्झिएर गरिएको व्यवहारका कारणले एउटी नारीले भोग्नु परेको पीडा अथवा प्रेमका नाममा हुने खेलबाडलाई पनि गजलले व्यक्त गरेको छ :–

प्रतीक्षामा बिताको छु दिन महिना साल मैले
तिमीलाई माया गरी निम्त्याएछु काल मैले ( पृ ३८ )

नओबाउने भयो मेरो हृदयमा
मायालुले टेकेको डाम चिसो चिसो ( पृ ६२ )

नियतिले हिर्काएको दिलमा गहिरो डाम थियो
मेरो हालत खराब हुँदा त्यो गाथमा आराम थियो ( पृ १५ )

यसरी उनका अधिकांश गजलहरुले श्रृङ्गारिक भाव व्यक्त गरेका छन् । प्रेमविषयसँग सम्बन्धित परिवेशमा नै उनका गजलहरु फक्रिएका छन् । उनका केही गजलमात्र अन्य सामाजिक विषयवस्तुसँग सम्बन्धित छन् :–

चिनिसकेँ साथी मैले स्वभाव जिन्दगीको
बार बार उघारेर नकाव जिन्दगीको । ( पृ १३ )

पलास वा मखमली के मा सुवास छैन
गरौँ महसुस हृदयले अन्तर खास छैन

प्रेमइतरका बिषयवस्तुमा रचना गरिएका उनका गजलहरु पनि उत्तिकै चोटिला र कलात्मक छन् । आज नेपाली जगललेखन प्रेमको सीमाबाट निस्किएर व्यापक विषयवस्तुमा पोखिन थालेको छ । प्रेमविषयमा गजल रचना गरेर राम्रो सफलता हात पारेकी कादम्बिनीले गरेका रचनाको सङ्केतबाट तिनले भोलि गजललेखनको विषयवस्तु र परिवेशलाई व्यापक बनाएर कलात्मक रचना गर्नेछिन् भन्ने आशा गर्न सकिन्छ ।

शीतल कादम्बिनीले सरल भाषामा सरस सिर्जना गरेकी छन् । तिनले लोकमा प्रचलित अति सरल सामाजिक बिम्बको प्रयोग गरी निकै मार्मिक गजल सिर्जना गरेकी छन् :–

इच्छाहरु ठूला म राख्न चाहन्न
जून तिम्रै भयो सितारा मलाई देऊ ( पृ १४ )

उक्त सेरमा जून र सितारा दुई बिम्बको प्रयोग गरी आफू अप्राप्य कल्पनामा बग्न नखोजेर सुख र आनन्दको यथार्थ कल्पनामा रमाउन चाहन्छु भन्ने भाव व्यक्त भएको छ । यसरी शीतल कादम्बिनीका कलात्मकताका नमुना बनेका छन् ।

तिनले आफ्ना गजलमा भाव र विचार सहित विषयवस्तुलाई स्वभाविक ढङ्गले उठान गरेकी छन् । त्यो भाव वा विचार आदि , मध्य र अन्त्यका श्रृङ्खलामा विकास भएर एउटै भाव वा विचारलाई परिपाक अवस्थमा पुर्‍याइएको देखिन्छ । एउटा फुटकर कविताले व्यक्त गर्ने गहन भाव पनि तिनको एउटा छोटो गजलले नै व्यक्त गर्ने सामर्थ्य बोक्छ ।

उक्त गजल सङ्ग्रहको भूमिकामा प्रेमविनोद नन्दनले कादम्बिनीको गायकी कलाको वर्णन गर्दै भनेका छन् : “ स्रष्टा शीतल कादम्बिनीको अन्तर्जगतमा छिपेको कोकिलकण्ठी गायकीको मूर्छनाले कहिलेकाहीँ भ्रम पार्छ , सौन्दर्य फूलमा छ कि सुगन्धमा ।”

उक्त भनाइलाई हेर्दा कादम्बिनीमा गायनकला पनि रहेको थाह हुन्छ । गायनकला भएकी कादम्बिनीका गजलहरु गायनका दृष्टिले पनि उत्कृष्ट छन् । तिनले केही गजलहरु बहरबद्ध बनाई रचना गरेकी छन् भने अधिकांश गजलहरु गीति लयमा रचना परिीएका छन् ।

यसरी कादम्बिनीले संरचना शिल्प र गायनका दृष्टिले उत्कृष्ट गजलहरु सिर्जना गरेकी छन् । उनले श्रृङ्गारिक भावका श्लील गजल रचना गरेकी छन् । ती गजलमा प्रभावगत एकता पाइन्छ । उनले प्रेमका अनुभूतिलाई जीवन्त बनाएर प्रस्तुत गरेकी छन् । उल्लिखित कारणहरुले उनले आफ्नो छुट्टै पहिचान बनाएकी छन् । आफ्नो पहिलो कृतिबाट नै राम्रो पहिचान बनाएकी तिनी नयाँ स्रष्टाका लागि अनुकरणीय र प्रेरणाकी स्रोत बनेकी छन् । आगामी दिनमा समाजपरक भाव वा विचारका गजल लेखनमा पनि उनलाई यस्तै सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।