15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मणिपुरबाट प्रकाशित गजलसंग्रह 'पूर्णिमाको जून' एक अध्ययन

कृति/समीक्षा नवीन पौड्याल June 19, 2022, 2:36 am
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली साहित्यमा गजल अब लोकप्रिय, रूचिकर र सुपाठ्य विषय बन्नपुगेको छ। गजलमा मूल रूपमा प्रेम – प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम मात्र नभई सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्। सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, आर्थिक, राजनैतिक विकृतिलाई तेजधारले व्यङ्ग्य कस्नका निम्ति सबैभन्दा बलियो साधन गजल बनेको छ। दोस्रो कुरा, गजलमा जस्तो अभिव्यक्तिगत सम्प्रेषण दिन अरू विधाले सक्दैनन्। वर्तमान स्थितिको विकृति र विसङ्गतिमाथि सोझै व्यङ्गय प्रहार गरी पाठक र स्रोतासमुदायलाई प्रभावित पारी सन्तुष्टी दिनसक्ने विधा गजल बनेको छ। तेस्रो कुरा, गजलमा भाव र शिल्प माधुर्य, लयात्मकता दिन सकिने हुनाले पनि यो लोकप्रिय बन्दैआएको छ।
नेपाली गजल लेखनको क्रम बढ्दै जाँदा नेपालबाहेक भारतका विभिन्न ठाउँबाट पनि लेखन बढ्दै गएको देखिन्छ। दार्जिलिङ-सिक्किमबाहेक अब असम, मणिपुर, मिजोराम, मेघालयबाट पनि फाट्टफुट्ट रूपमा देखा लेखिने क्रम जारी छ। यताका विभिन्न ठाउँबाट प्रकाशित हुने साहित्यिक पत्र-पत्रिकामा गजलहरू छरिएर रहेका छन्। हालसम्म असमबाट गोविन्द शांडिल्यको गजल गान्धारपछि भविलाल लामिछानेको गजल र केही गजल दुई नज्म गजलसङग्रहका रूपमा देखा परेका छन्। यसैगरी मणिपुरका दीपक पन्थको गजलसङ्ग्रह पनि प्रकाशित भएको देखिन्छ। उनको उक्त संग्रह पूर्णिमाको जून २००८ मा गोर्खा ज्योति प्रकाशन, मणिपुरबाट प्रकाशित भएको देखिन्छ। गजल लेखनका निम्ति विभिन्न तकनिकीगत कुराहरू ख्याल गर्नु पर्दछ। यी कुराहरूका अभावमा गजल बेकारका फजुल बनेका हुन्छन्। गजलमा चाहिने विभिन्न शिल्प-संरचनाको तत्वहरूबारे गजलकारले राम्रो जानकारी लिएको हुनुपर्छ। यसका बाह्य संरचना र आन्तरिक संरचनाबारे ज्ञान र प्रतिभा हासिल गरेर मात्र राम्रो गजलको सिर्जना हुनसक्छ।
सन् १९८९ मा मणिपुरको सेनापति जिल्लाको प्रसाईँ बस्ती, कालापहाडमा बाबु स्व. केदारप्रसाद पन्थ र आमा श्रीमती टिकादेवी पन्थको पुत्रका रूपमा जन्मेका दीपक पन्थले स्नातकसम्म अध्ययन गरी हालमा मणिपुरमा नै शिक्षण पेशामा आवद्ध छन्। उनका कविता र गजलहरू हाम्रो ध्वनि, गोर्खा ज्योति, नेती, संदेश आदि जस्ता विभिन्न साहित्यिक पत्रिकामा प्रकाशित हुँदैआएको देखिन्छ। उनी विभिन्न सामाजिक र साहित्यिक संघ-संस्थामा पनि सक्रिय छन्। उनको प्रथम पुस्तकाकार कृति नै प्रस्तुत गजलसंग्रह 'पूर्णिमाको जून' हो। यसमा जम्मा एकसय वटा गजल समावेश छन्।
प्रस्तुत गजलसङ्ग्रहमा गजलकारको विलक्षण प्रतिभा झल्किएको देखिन्छ। यसमा रहेका गजलहरूको विषयवस्तु चयनमा निकै सचेतता छ भने संरचनाका आधारमा प्रायः सफल देखिन्छन्। वर्तमान युगीन सामाजिक, राजनैतिक, नैतिक चिन्तन गरिएको छ। सामाजिक विकृतिप्रति क्षोभ व्यक्त गर्दै कठोर व्यङ्ग्यसमेत कसिएको पाइन्छ। धेरैजसो गजलमा नैतिक शिक्षालाई प्राथमिकता दिएको देखिन्छ। जस्तै-
खान पाउँदै अन्यायको पक्षतिर लाग्नु हुन्न
सत्यदेखि डराएर कहिल्यै पनि भाग्नु हुन्न।
हिम्मतसँग गर्नु काम हात गोडा सद्धै हुँदै
भरसक पेट पाल्न अर्कासित माग्नु हुन्न।
उनी नारी जागरणका पक्षधर हुन्। उनी पुरूषवर्गले नारीलाई युगौंदेखि शोषण र अन्याय र अत्याचार गरेको पाएर आक्रोशित छन्। उनीका निम्ति नारी गरिमामय छन्। नारीले पुरूषलाई उपकार गरेकी छ तर पुरूष भने नारीप्रति कृतज्ञ नभई बरू उसको भक्षक बनेको देखेर उनी आक्रोश व्यक्त गर्छन्। अहिलेको युगमा नारीलाई झन अन्याय गरेको पाउँछन्-
कलियुगमा दुशासनको जन्म आज हुँदा खेरि
कसको मन पोल्दैन र बढ्या चेली रूँदा खेरि।
तर उनी नारीलाई जागेर समानाधिकारको खोजी गर्न र जागरणको शंखघोष गर्न आह्वान गर्छन्-
नारी तिमी सुत्ने हैन जाग्ने बेला आइसक्यो।
हर कदममा अघि तिमी लाग्ने बेला आइसक्यो।
यस सङ्ग्रहमा गजलमा हुनुपर्ने प्रेम-प्रितीको मूलभावलाई पनि कतै कतै पालन गरेकै छन्। कतै प्रेमामिराग र कतै प्रेम-पीडाको भाव पनि नपाइने होइन।
गीत गाउने भए म धुन बनी दिउँला
शृंगार गर्छौ तिमी म सुन बनी दिउँला।

उनका गजल आस्वादन गर्दा उनी युग सचेतक देखिन्छन्। युगले कोल्टो फेरेको अवस्थालाई उनले चिनेका छन्। मान्छेको गिर्दो मानवीयता, स्वार्थता, व्यर्थतालाई उनले बुझ्न सकेका छन् र यस्ता विकृतिप्रति व्यङ्ग्य कसेका छन्। मणिपुरलगायत देशका विभिन्न प्रान्तमा आतङ्कवाद, लुटपात, हिंसा, अराजकता, असामाजिक गतिविधिको बोलाबाला देखेर उनी निराश छन्। बन्दुक देखाएर धनको लुटको राजनितीप्रति उनी क्षोभ व्यक्त गर्छन् -
उनका गजल पढ्दा गजल लेखनका कतिपय तकनिकीगत कुरा हुन्छन्। तीप्रति पन्त त्यति जानिफकार देखिदैनन्। गजलमा हुनपर्ने काफियाको अर्थगत र सौन्दर्यात्मक चमत्कार, विषयवस्तु एकोन्मुखता र प्रतिपादनको तीब्रता, प्रभावकारी भावाभिव्यक्ति, गजलका संरचना आदि क्षेत्रमा कता कता पन्तका गजल कमजोर पनि लाग्छन्। यद्यपि गजलबाट प्राप्त हुने आनन्द (तासिर) भने नपाइने होइन। उनले पहिलोचोटि प्रयोगात्मक रूपमा गजल लेखेको प्रतीत हुन्छ। भावपक्ष सबल र सफल छ भने यसको संरचना र शैली पक्ष भने सामान्य छ। गजल सैद्धान्तिक संरचनामा लामिछाने त्यति जम्न सकेका छैनन्। गजलका सामान्य नियमअन्तर्गतका काफिया, रदीफ प्रयोगमा समेत कमजोरी पाइन्छ। उनले अधिकांश गजलमा आंशिक काफियाको प्रयोग गरेका छन्। कुनै कुनै गजलमा त काफिया नै छैनन्।

दार्जिलिङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।