19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बजारवादको गिद्धेनजर

कविता सतीश छेत्री July 3, 2022, 4:50 am
सतीश छेत्री
सतीश छेत्री

गिद्धेनजरले हेरेर
समानता ल्याउँछु
भन्छ स्थिति

गिद्धेनजरले कहाँ राम्रो कुरा देख्छ
'तिमी सन्तान बुद्धको' - भन्नू
'होइन गिद्धको'
भन्छ ऊ
किन कि उसलाई थाह छ
गिद्धे नजर कस्तो हुन्छ
उडान कस्तो हुन्छ
चरित्र कस्तो हुन्छ
नस्ल कस्तो हुन्छ

बजारवादको गिद्धेनजरले
देखाउँछ एउटा,
हुन्छ अर्को
उपभोक्तालाई यो पनि थाह हुँदैन कि
सम्पूर्ण गतिविधि सञ्चालित छ
पछिल्तिरको अर्को आयामबाट।

बजारवादको गिद्धेनजर
कराईमा हुन्छ
कि आज उपभोक्ताको घरमा के पाक्यो।

बजारवादले उपभोक्तालाई
कालो बताउँछ
ताकि उसको बिक्री हुनसकोस् - क्रीम

बजारवादको गिद्धेनजरले
आउँछ र ठुङ्छ
आत्मामा
विश्वासमा
भरोसामा
आशामा
जीवनमा
अनि
एक लाम्टा मासु

एक बोतल खून लैजान्छ
फेरि भन्छ -
'प्लीज ! हाम्रो ठुङाइको
लिनुहोस् सदस्यता।
यही त छ मेरो
परिवार चलाउने माध्यम।
केही हुन्छ कि भनेर
गर्दैछु यति उद्यम।'

अनि आफू ठुङ्गिएको
निरीह भिडियो हेरिरहन्छ
सब्सक्राइब पनि गर्छ
निरीह काल ।

गिद्धेनजरले देखाउँदैन फूल
उच्चारण गर्दैन आकाश
भन्दैन सागर
ईङ्गीत गर्दैगर्दैन धरोहर
बताउँदैन अस्मिता

तर विडम्बना
उसैले
बजारमा निस्किएर
देखाउँछ बाटो
भन्छ -
त्यता गयो भने कता हो कता
यता आउनुहोस्
यता छ मान्छे
यता छ मसानघाट ।

गिद्धेनजरले
मसानघाटमा दौरा बेच्छ ।

गिद्धेनजरले
हेरिबस्छ अरूको पोखरी
अनि हल्लिएको पानी देख्यो भने भन्छ-
'खै माछा
किन धमिलो ?'
माछा पायो भने खाउँला भन्ने
ऊ पनि दाउमै हुन्छ।


बजारवादको गिद्धेनजरलाई
दिनरात, समयको चक्र, कण-पहाड
केही मत्लब त छैन
कुनै कलम गाउँमा आयो भने
झुत खेल्छ
सुँघ्छ
झम्टिन्छ
ठुङ्छ
चिथोर्छ
च्यात्छ
उसको हात भए पो
दुहुनु जान्दछ
उसको त
नङ्ग्रा छ ।
जहाँ छोयो दुलो पार्छ
कैँची हातमा बोकेर
सिलाउँछु भन्छ ।

चैतमै
'टीका लाइदे' कि
'टीका लाइदे' भन्दै
मामामाथि झुण्डिन्छ ।
**

जूवा त हो जीवन
यो महा गेम्बलिङ
चलिरहेछ सृष्टि
ऊ दुई पैसा धपेर
युरेका युरेका चिच्याउँछ।

बजारवादलाई लाग्छ -
ब्रम्हाले पैसामा
बनाएका हुन् सृष्टि ।

गिद्धेनजरलाई थाह छ
चारपाँचवटा शब्द
नेता
जनता
पैसा
कुर्सी
जो चाहिँ उसले पाएन
अथवा खोजिरहेछ ।
**

मान्छे चोक हो
जहाँबाट
उकालो यात्रा चढ्छ
ओह्रालो यात्रा झर्छ
पूर्व पश्चिम उत्तर दक्षिण
यात्रा अघि बढ्छ ।

तर गिद्धेनजरले
टुक्रुक्क बस्न लगाएर
घोप्टो परेर हेर्नू
भन्छ संसारलाई।
अनि भन्छ - जति देख्दैछौ
टाङमुनि जमीन
त्यही तिम्रो अधिकार हो
त्यही तिम्रो संसार हो

उसलाई सायद थाह छ
सायद तर
समयको आँखा खोलियो भने
उसको बजारवादी च्यानलको
के हुन्छ ?
उसको आय-आयस्ताको के हुन्छ ?


तुषारापात गर्छु
यस्तो पाखण्डमाथि।
**
उसले फेरि
बचाउमा
केही गेडादाना अक्षताहरू फ्याँक्ला
आफ्नो दाउ हान्ला
तर म उसलाई
दुई हातको लामो बित्ता बनाएर
मुख लोपरिदिन्छु स्वात्त ।

मान्छेलाई उसको
सही सामर्थ्यको
परिचय नगराएर
आफ्नो बिजिनेस बढाउनेको
उपदेश दिनेको
भेल खोलिदिन्छु हवात्त।

**
यो बजारवादले
गर्छ-
आफ्नो मनको कुरा
भन्छ अरूको ।

बजारवाद डराउँछ
कतै नेता पो
आउँछ कि
मान्छे भेला पो हुन्छ कि
धावा पो बोल्छ कि
तर
उसले बुझ्न पर्छ
जसले स्वको सन्धान गर्छ
उसले कसैलाई बनाउँदैन नेता
न बनाउँछ जनता
ऊ उत्खनन् गरिबस्छ
आफैंलाई ।
अनि यो महानयात्रामा
ऊ पो नहुन सक्छ त।

ए चेतना!
उसले दिएको
कालो गगल्स
खोलेर हेर
ऊ गिद्धेनजरको अनुहार
जसले जिभ्रो मिटठयाइरहेछ
तिम्रो बर्बरतामा।
उसले देखाइरहेछ
एउटा चिन्ह
अनि भनिरहेछ-चुनाउ गर्नू।
वास्तवमा ऊबाट
छैन कोही सुरक्षित ।

**
म भन्छु
हे बजारवाद नदलिदेऊ न
मान्छेको दृष्टिमा रङ्ग
उसलाई आफ्नो आँखाले हेर्न देऊ।
ऊ आफैँलाई अनुभव गर्न देऊ न - संसार ।
ऊ दु:खित, मर्माहित, उद्वीग्न छ भने
रोदन र क्रन्दनमा छ भने
न छ कि
कुनै आयाममा समाधान पनि?
तिम्रो चोसो किन सोझ्याउँछौ
मान्छेले बाटो खोज्न थाल्यो भने
तिमी किन भुतप्रेत उत्रिन्छौ ?

तिमी ढुक्क हुव
तिम्रो गढ्मा कसैले गरेको छैन प्रहार
यति मात्र हो
मान्छेलाई चिन्न देऊ
ऊ आफैँ भित्रको
अनुपम उपहार ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।