‘मिस नेपाल’ मा चुनिएपछि विश्व-सुन्दरी प्रतिस्पर्धामा उनले राष्ट्रको प्रतिनिधित्व गर्ने भई। ऊ स्वभावत: उत्साह, उमङ्ग र उत्तेजनाको चुचुरोमा छे। विश्व-सुन्दरी प्रतियोगिताको स्पर्धामा सरिक हुनुअघि निवर्तमान मिस नेपालसँग ऊ जिज्ञासु बनी। जीउडालको छनक हेरिने शानदार आडम्बरको बजारमा सौन्दर्यको फैसला गर्न केही दिमागी प्रश्न सोधिनेछन्। जहाँ आदर्शका गुलिया जवाफ अपेक्षित हुन्छन्।
‘के भनुँ, के नभनुँ?’ उसले पूर्व राष्ट्र-सुन्दरीलार्इ सोधी।
सिनियर सुन्दरीले जुनियर सुन्दरीलाई वर्णनात्मक शैलीमा भनी- ‘एउटा सूची बनाऊ, प्रश्नहरूको। अनि उत्तर बनाऊ शब्दशिल्पको।’
भन्न नहुने १- विश्व सुन्दरी बने फिल्म र मोडलिङ्गमा सहजै मौका मिल्ला। त्यसपछि त नाम, दाम र नामीगरामी जेन्टलम्यान खुरूखुरू मेरो पछि लागेर आउने छन्।
भन्न नहुने २- रोदी र पार्टीहरूमा झ्याप भा’को। भोलीपल्ट होशमा आउँदा पो बित्यास!
भन्नुपर्ने १- भविष्यमा समाज सेवा गर्नेछु। ‘सुकुम्बासीहरूको सद्भावना दूत’ बन्न चाहन्छु।
भन्नु पर्ने २- सुन्दरता वास्तवमा मांशपेशीको खोँचमा होइन, सोचमा हुन्छ। व्यक्तित्व र आउट-लुकले उसको सौन्दर्य झल्किने हो।
शब्दशिल्पताको यस्तो प्राज्ञिक खुलासाले नवसुन्दरीलाई अलिक सकस भयो। किनकी उसको स्कूलका शिक्षकहरू र जिन्दगीका दौंतरीहरू उसबारे ठीक विपरित सोच्दथे। सद्भावना दूत र बृहत्तर भिजन, अनि आउटलुकको बखान गर्नु उसले नित्य दैनिकीमा जानी आएको र मानी आएको कुरा थिएन। उसका छिमेकले यस्तो कथ्य सुने कति ढोंगी भन्लान्! उसको मनमा चिसो पस्यो- सत्य यति नग्न रुपमा प्रकट नहोस्, जस्तोसुकै ढोङी मानिसलाई पनि आफैँसित लाज लागेर आउँछ।
जुनियर सुन्दरीले आफ्नो पिरलो सुनाई।
‘व्यक्तिपिच्छे जवाफ दिएर सकिन्न सानु। सबैको आ-आफ्नै बजार हुन्छ।’ सिनियर सुन्दरीले जिरलो गरी- ‘तिम्रो बजारमा जे खपत हुन्छ, त्यही कुरा आकर्षक तरिकाले बेच्ने हो सानु।’
जुनियर सुन्दरीले ध्यानपूर्वक सुनी रही।
‘बौद्धिक प्रश्नको प्राज्ञिक जवाफ …’, उ भन्दै रही- ‘सुन सानु! तिम्रो व्यक्तित्वको संप्रेषण ९० प्रतिशत हावभावमा हुन्छ, बोलीमा होइन। यो विज्ञानको नियम हो।’
‘यो हावभावमा के-कस्ता कुरा निर्णायक हुन्छन्?’ जुनियर सुन्दरीले बालसुलभ प्रश्न गरी।
तिम्रो जिउको छनक, वक्रता र कामुकता झल्कनुपर्छ।’ सिनियर सुन्दरीले स्वर उकास्दै महत्त्वकासाथ फेरि भनी- ‘राम्ररी याद गर !’
भन्नु पर्ने ३- यस्तो सुन्दरी प्रतियोगिताले मेरो आत्मसम्मान बढाएको छ।
भन्न नहुने ३- यो सब कामुक पुरूषहरूको मनोरंजनको निम्ति हो।
ब्रसेल्स, बेल्जियम