16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाटो बिराएकी काली केटी

कविता विमला जोशी प्रधान July 3, 2022, 1:18 pm
विमला जोशी प्रधान
विमला जोशी प्रधान

हिजो बिहानीपख
चञ्चल पवन आएको थियो
त्यहिक्षण खुशीले
बेहोशप्रायः भएर
मदहोशप्रायः भएर
दुइवटा चल्ठो बाटी
रङ्गीन पुतलीहरु
शिरमा सजाएर
खालि खुट्टै उफ्रिरहेकी थिइ
हातेमालो गरि आफैलाई बिर्सिएर
फूल खरानी जस्तै
उडिरहेकी थिइ
बेखबर----- बेवास्ता ।
मदेशको बन्द चियाबारीबाट
झिकिएकी काली केटी
एउटा खरको झुपडीबाट
हिलाम्मे गोरेटो हुँदै
शहरको अनुहार हेर्न
निस्किएकी हो
सपनाहरुको लामलश्कर
मलामीहरु लिएर।
सपनाहरु पनि कहाँ ठूलो थिए र?
उसले त आफ्नै
सुकिलो बस्त्र फेर्नलाई
एक टुक्रा मुस्कान छर्नलाई
गरिबी नामको भोकको
भ्वाङ् भर्नलाई आएकी थिइ
आँशु पुछने रुमाल
माँग्न आएकी थिइ
उ त बस,
आफ्नै काम गर्ने हातहरु
ज्यालासित साट्न आएकी
थिइ ।
तर कस्तो बिडम्बना
मालिक्निको दुर्वचनका
तीरहरु सँधै चलिबस्छन्
उसको मन मस्तिष्कमा
सँधै सँधै।
दुर्वचनका काँडाहरुले
जतिनै घोंचेपनि
छिया छिया परेको मनलाई
यसै टाल्न
सिपालु बनेकी छे
हिजआज।
एकाबिहानै चारतले घरको
सिँडीदेखि भुँइहरु पुछदै गर्दा
कति ती कलिला हातहरु
गँग्रिए होलान्
तातो आँशुको तप्कनासँगसँगै
दुर्भाग्यको तार
आफ्नै जिन्दगीमा तन्काएर
कति बज्दो हो
बेदनाका करुण बीणा
दुर्भाग्यका सुर , लय अनि तालहरुमा ।
मालिक्नि चिच्याउँदै थिइन्
सँधै झैं
तर उ भने
चुपचाप आफ्नो तालिकामा
डटिरहन्छे डटिरहन्छे
मानौं त्यो काली केटी
एक मशिन सरह हो ।
यसरी------- त्यो काली केटी
आफ्नै सुर र तालमा नाँचिरहन्छे
प्रत्येक दिन प्रत्येक क्षण
बाटो बिराएको बटुवा झैं
हिँडदा हिँडदै दोबाटोमा
अलमल्ल परे झैं।।

नागरी फार्म चियाबारी, दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।