16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पानीकागजको मृत्यु

संस्मरण/स्‍मृति काशीनाथ मिश्रित July 16, 2022, 6:28 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

गत सालको पुस महिनाको अन्तिम साता थियो । म कार्यरत रहेको ठाउँ फोक्सिङबाट आमालाई फोन गरेँ एकाबिहानै । दुईतिन दिन बिराएर गरिने फोनमा खासै नौला खबर हुँदैनथे तर त्यस दिन आमाले अलिक फरक तरिकाले भन्नुभयो – “अँ, अरु सबै त ठिकै छ क्यारे ! यतातिर त मान्छेहरू भताभत मरिराख्या छन् ।“ कोरोनाको बिगबिगी पनि बढ्दै गएकाले मैले सन्दर्भ जोड्दै सोधेँ, “कोरोनाले हो कि त्यत्तिकै?” कोरोनाले हैन । खै केले हो केले चार जना त यो साताभित्रै मरे । आमाले लगातार भन्दै गएको कुरा मैले सुन्दै गएँ । हिजै सन्ते मास्टरको छोरो मर्यो घर भत्काउँदा दारले थिचेर । अस्ति पानीकागज मरे । अलिक दिन अघि पदमकी आमा,त्यसअघि देवीथानेको छोरो ।मलाई सबैको कारण खोतल्ने फुर्सद थिएन तर पानीकागजको कारण सोधेँ । दम थियो रे, एक दुई दिनदेखि बिरामी पनि थिए रे । आमासितको कुरालाई छोट्याउन खोज्यो मस्तिष्कले र कुराको मैझारो गरेँ । अब मेरो मस्तिष्क वर्तमानमा होइन; विगतका पाना पल्टाउँदै कुद्न थाल्यो । मैले रोकेर पनि रोकिन मानेन ।
मृत्यु पनि अचम्मको छ । कोही मर्छ र त्यसकालागि कुनै व्यक्ति दुखी हुन्छ भने कुनै खुसी ! धेरैभन्दा धेरै मानिसलाई त उसको मृत्युको जानकारी नै हुँदैन त्यसैले न दुखी हुनुपर्छ न खुसी नै । कुनै व्यक्तिको मृत्युमा सबभन्दा बढी पिर उसकी पत्नीलाई पर्छ । जीवनभर विधवा हुनुपर्ने हुनाले । त्यसपछि उसका छोराछोरीलाई पिडा हुन्छ अभिभावक विहीन हुनुपरेकोमा । दाजुभाइहरूले काजक्रिया नसक्दासम्म दुःख मनाउ गर्छन् । केही टाढाका छिमेकीहरू ‘ए ! राम्रै मान्छे हो मरेछ ।‘ भनेर थाहा पाएपछि केही बेर समवेदना प्रकट गर्छन । तर मृतकसँग गोप्य कारोबार गरेर पैसा तिर्नुपर्ने कोही आसामीले थाहा पायो भने आहा ! कुचाले बढार्नुपर्ने कसिङ्गर हावाले पो उडाइदियो भनेर दैवलाई धन्यवाद दिन्छ । नातागोताले पनि नछुने र छिमेकी पनि रहेनछ भने उसको मृत्यु र कुकुरको मृत्युमा के फरक !एउटै मृत्युलाई परिस्थितिका सापेक्षतामा मात्र अनुभूति गर्छ जो कसैले पनि । संसारमा दिनहुँ कति जन्मिरहेका छन्, कति मरिरहेका छन् कसलाई के मतलव ! आर्यघाटमा जाने हो भने मात्र हामीले अनुभूति गर्छौँ ए साँच्चै एक दिन त म पनि मर्ने नै हो !!
जन्मेदेखि नमरुन्जेलसम्मको समय नै जीवन हो । जीवनमा मानिसले कैयौँ अनुभूतिहरू बटुल्छ । त्यसैले जीवनलाई अनुभवहरूको सँगालोको रूपमा परिभाषित गर्नेहरूको पनि कमी छैन । जे होस् समाजमा बसेपछि सुख-दुःख, माया-घृणा, ईर्ष्या, डाढ, मेलमिलाप, झैझगडा चलिरहने प्रक्रिया हुन् । हामी यही विविधतामय समाजमा बस्ने प्राणी हौँ । के गर्ने सबैसँग मिलेर बसौँ, प्रतिशोधको भावना नपालौँ भन्दा पनि आफूले चाहे जस्तो हुँदोरहेनछ । पानीकागज र मेरो सम्बन्धमा किन हो किन दरार पैदा भयो । २०५५ सालदेखि बोलचाल नै नभई यस संसारबाट विदा भएछ । उसलाई मान्छे भएर पनि निर्जीव वस्तु पानीकागज किन भनियो होला भन्ने कौतुहल जाग्न सक्छ । त्यही पानीकागजको रहस्य नै मेरो जीवनमा आइपरेको एउटा अविस्मरणीय घटना थियो ।
यस संस्मरणमा आएका त्यतिबेलाका छसात जना पात्रहरू त यति लामो समयको अन्तरालमा स्वर्ग पनि पुगिसके । त्यतिबेला महत्त्वपूर्ण भूमिका खेलेको भाइ कमल ज्ञवालीको मृत्यु भने असामयिक हो । पानीकागजको मृत्युको खबरले मात्र यो भूमिका बाँध्नु परेको हो मलाई नत्र मैले त्यस्तो अविस्मरणीय क्षणलाई अहिले किन कोट्याउउँथेँ र? उतिबेलै कापीमा कोरिसकेको थिएँ । जिउँदै मरेको पात्रलाई किन बाँचेको ठान्नु भनेर वास्तवमै मरेपछि मात्र प्रकाशन गर्न उचित लागेकाले यो प्रयास गरेँ । त्यतिबेला यसलाई ‘मान्छे चिनियो’ शीर्षकमा लेखिएको थियो । प्रस्तुत छ त्यही मान्छे चिनियो शीर्षकको संस्मरणात्मक लेख जस्ताको तस्तै । आजको शैली र चौबिस वर्षअघिको शैली फरक हुन सक्छ । दराजको पिँधमा परेकोमरन्च्यासे कापीले मलाई यत्तिकै नछाड भने जस्तो लाग्यो । तत्कालीन समयमा जे लेखिएको थियो त्यही अक्षरसः प्रस्तुत गरेँ – ‘मान्छे चिनियो !’
“मान्छे चिनियो । अब जिन्दगीलाई चिनियो ।“ रु६४० बुझाएर टेकन, घनु, रामु, दुर्गा, पदम र म बाटो लाग्ने कुरा गर्दा मलाई लक्ष्यित गरेर हरिले भने । त्यसअघि अत्यन्त अपत्यारिला आरोप हामीमाथि लगाएको सुन्दा सायद उनकै घर बनाउने कर्मीलाई पनि चित्त नबुझेर ‘क्र्याक भएर हो काका त!’ भन्दै गिल्ली गरेको पनि सबैले सुने । हामीले उनलाई मारेर आन्द्राभूँडी राख्न पोलिथिन जम्मा गरेका थियौँ रे, तिनओटा खाडल खनेका थियौँ रे, उनलाई पुर्न ! आदि ।
हो, वास्तवमा मान्छे चिनियो । दुई खुट्टाले उभिएको सिङ पुच्छरविनाको पशु हो भन्ने छुट्याइयो । नाम थाहा नभए पनि आकार देख्नासाथ यो मान्छे हो भन्ने स्पष्ट हुन्छ तर यसको हैसियत यति छ भन्ने कुरा थाहा पाउन चाहिँ विशेषै पर्नु पर्दोरहेछ । गाउँ छिमेककै र जानेबुझेको मान्छे भएर पनि हरिलाई हामीले विसं २०५५ बैशाख २६ गते राती १२ बजेतिर बनेपामा मात्र चिन्यौँ ।
म नीतिवादी मान्छे ! नीतिलाई स्वीकार्छु । त्यस बेला पनि नीति लागु भएरै छोड्यो-
अनाभ्यासे विषम् विद्या अजिर्णम् भोजनम् विषम् ।
विषम् सभा दरिद्रस्य वृद्धस्य तरुणी विषम् ॥
यसको भाव अभ्यास छाडेपछि विद्या विष हुन्छ, अजिर्णमा खाना विष हुन्छ, दरिद्रलाई सभा समारोह विष हुन्छ अनि बुढालाई तरुणी विष हुन्छन् भन्ने हो । हरिलाई पनि त्यो सभा विष भैदिएछ । त्यति दरिद्र होलान् भन्ने लागेको थिएन । रहेछन् भन्ने आफैले स्पष्ट पारे ।
त्यो संस्मरणीय दिन साँच्चै नै संस्मरणयोग्य थियो हाम्रो निम्ति । यस्तो दिन, तत्सम्बन्धी यात्रा एवं कार्यक्रमको यो कथात्मक संस्मरण लेख्न पाउनु मेरो लागि ताजुवकै कुरा हो ।
बैशाख २५ र २६ गते हाम्रो संघ अर्थात नेपाल नेत्रहीन संघको पाँचौँ केन्द्रीय साधारण सभा हुने भन्ने थाहा थियो तर यहीँ हुने भन्ने निश्चित थिएन । लुम्बिनी शाखाले बुटबलमा आयोजना गर्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास नभए पनि आशावादी थिएँ । अकस्मात् आएको रजिस्ट्री चिठिमा काभ्रे शाखालाई जिम्मा दिइएको कुरा पढ्दा तिन छक परेँ । साँझ दाइलाई फोन गरी स्पष्टीकरण लिएँ । गुल्मी शाखाबाट चारजना प्रतिनिधि लिएर आउने कुराको जिम्मा दाइले मलाई दिनुभयो । अन्तिम दिन अर्थात २३ गते सम्म जम्मा दुईओटाको मात्र निर्णय भएको थियो ।अत्यन्त आग्रह गर्दा पनि सचिवज्यू जान नमानेपछि विकल्पका निम्ति एक पटक बुटबल फोन गरेँ । विस्नुले थाम हरि भए पनि हुने कुरा बतायो । सरासर थाम पुगी हरिलाई जाने बनाएँ । चौथो विकल्प श्रीराम नै थियो । कोही नगए पनि हाम्रो कमी त थिएन नै । झविन्द्र दाइसँग भेट नभएपछि सोकामको जिम्मा रामजी दाइलाई सुम्पेको थिएँ ।
२४ गते बिहान ६ बजेतिर म, हरि र श्रीराम हाम्रो घरबाट प्रस्थान गर्यौँ । टक्सारमा जमघट भएपछि रामजीलाई बसको टिकट लिइदिन पठाएर ट्रकमा चढीबुटबलतर्फ लाग्यौँ । हरि र झविन्द्र दाइको त त्यो गाडी चढाइ नै पहिलो थियो जीवनमा । आफ्नो घर बनाउने जस्तो महत्त्वपूर्ण काम पनि छोडेर एकै वाक्यमा जान स्वीकारेकोमा म हरिसँग प्रसन्न थिएँ बाटाखर्च पनि मन्दिर बनाउन राखेका रु. ६४० लिएर जाने निधो हरिले दिएका थिए । हाम्रो घर आएर हिँड्नुभन्दा अघि “ईः खुट्टो !” भन्दै चारवटा भारती सयका नोट मलाई दिएका थिए । सो रकमको जिम्मा मैले नै लिएको थिएँ । कोकाकोलाको ट्रक रहेछ त्यो । धेरै ठाउँ रोक्दै र पैसा उठाउँदै गरेकाले तिन बजेभन्दा चाँडै बुटबल पुग्न सकेनौँ ।
बुटबलको ब्यारेक नजिकै ओर्लेर हामी सरासर हाटबजार दीपक भिनाजुकहाँ गयौँ । तिन जनालाई त्यहीँ छोडी म रुपन्देहीका प्रतिनिधिहरू र दाइसँग भेट गर्नका लागि गोबिन्दको दोकानतिर लागेँ । त्यहाँ पूर्वपरिचित आत्माराम पौडेल, लगायत पूर्णप्रसाद गौतम, भविश्वर आचार्य र आशबहादुर गुरुङ गरी चार जना थिए । दाइसँग पनि त्यहीँ भेट भयो । तुरुन्तै नवीकृत सदस्यको नामावली तयार गर्यौँ । हरिलाई रुपन्देहीको प्रतिनिधि बनाउनुपर्ने स्थिति आइपर्यो । खेमराज, कुलमणि, डिल्लीराजसँग भेट भयो ।खेमराजसँग पहिले पनि काठमाण्डौ गएका हुनाले छुट्टै बढी कुरा भए । साँझ खाना खुवाउने क्रममा खेमराजको सक्रियता निकै थियो । मौनम् स्वीकृति लक्षणम् भन्ने संस्कृतको भनाइअनुरुप हरिले केही पनि नभनेपछि अब उनलाई रुपन्देही प्रतिनिधि भएको निर्णय भयो । उनले त्यहीअनुरूप बताउनु पर्ने भयो र खाना खाएपछि नौ जना नेत्रहीनहरूको हुल हाताहात गरेर झमझम पानी परेको बेला हाटबजारबाट ट्राफिक चोकतिर लाग्दा बुटबलवासीले तमासा हेरे । आजसम्मै सायद त्यस खालको यात्रा उनीहरूले देखेका थिएनन् होला ।ट्राफिक चोकमा पुगेर नाइट बसको खोजी गर्दा त्यही पुरानो बस भेटियो जसमा म, दाइ, खेमराज र आत्माराम काठमाण्डौबाट बुटबल फर्केका थियौँ । हामीलाई सीटमा आसिन गराएपछि खेमराज र कुलमणि विदा भए अनि हामी नौ जना नेत्रहीनहरू यात्रा सुरु गर्यौँ काठमाण्डौतिर ।
राती कतिखेर निदाउने र कतिखेर कुराकानी गर्दै रह्यौँ । ठिक समयमा पुर्याउनका लागि बसले नौबिसेतिर केही बेर रोक्यो । भविश्वरलाई लिएर म पिसाब फेर्न झरेँ । त्यसै गरी अरु पनि । थानकोट पुग्दा मैले देख्न सक्ने उज्यालो भएको थियो । नयाँ बसपार्कमा उत्रेपछि सबैले एक एक कप चिया पियौँ । दिसापिसाब पनि गर्यौँ । बनेपाको लागि त्यहाँबाट बस नलाग्ने भएकाले पुनः पुरानो बसपार्कतिर लाग्यौँ ।सोभन्दा पहिले दाइले केन्द्रीय कार्यालयमा फोन गरी गुल्मी र रुपन्देहीका प्रतिनिधिहरू बनेपा गएको जानकारी दिनुभयो । फेरि बनेपाको लागि अर्को बसमा चढ्यौ नवै जना । अब उज्यालो घाम लागेको मौसम थियो । बसकाझ्यालबाट बाहिर हेर्दै हामी पुग्यौँ बनेपा नगरपालिकाभित्र । बसबाट ओर्लेपछि अलमलिँदै गरेको बेला एक जनाले हामी जानु पर्ने ठाउँतिर लगे सायद उनी स्वयंसेवक हुनुपर्छ । बनेपा नगरपालिका भवनमा रहेछ कार्यक्रमको तयारी । प्रतिनिधिहरूमा हामी नै चाँडै पुगेका थियौँ । भित्र एक जना साथि पनि थिए । हामी गएर सेट मिलाइएका कुर्सीहरूमा बस्यौँ ।
अन्य प्रतिनिधिहरू क्रमशः आउने क्रम सुरु भयो । केही बेरमै हल खचाखच भयो । चिनेजानेका साथीसित बातचित हुन सुरु भयो । नवीन उमङ्ग र उत्साह त्यहाँ थपियो । स्वयंसेवकहरूद्वारा चाँदनी होटलमा खाना खानको लागि लगियो । त्यहीँ नै हाम्रो गुल्मी शाखा र रुपन्देही शाखाको नाम दर्ता भयो । हरिलाई रुपन्देहीको प्रतिनिधि भन्न निकै कठिन भएको थियो । तैपनि रुपन्देबी भन्दै परिचय दिन्थे । खानापछि नगरपालिका हलमा फर्कियौँ । अब कार्यक्रमका प्रमुख अतिथि आई उद्घाटन हुनै थियो । तर ठिक उद्घाटनको समयमा तत्कालीन महिला तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डे आइपुगिन् जब कि भूपू सभामुख दमननाथ ढुङ्गानाद्वारा पानसमा बत्ती बाली सुरु भैसकेको थियो । उनलाई घन्डी बजाउन लगाएर संयुक्त उद्घाटन भयो । उद्घाटन भएपछि क्रमशः कार्यक्रम सुरु भयो । कुमार थापा उद्घोषणमा थिए । मन्तव्य, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, शाखाहरूको प्रतिवेदन, विधान संशोधन, लगायत पूर्वनिर्धारित कार्यक्रमहरू भए ।
साँझपख मैले हरिलाई यसो नियालेँ । केही मलिन देखेँ । सोधेँ – “काका आत्तिनुभयो र? अब कार्यक्रम सकिन लाग्यो क्यारे । उनले पछुताएको स्वरमा भने – “मलाई बेकारमा ल्याएर ! घर बनाउन थालेको ! काकी र देवीका पासमा पहुँचाइदिनुपर्छ ।“ मैले उनको आन्तरिकता बुझेँ । उनी निकै आत्तिएको जस्तो लाग्यो । हामीभन्दा अझ बढी देख्ने र अरुलाई डोर्याउन समेत सक्ने भएकाले मैले खासै उनलाई त्यति निगरानी गरेको थिइन ।बरु नयाँनया साथीहरूसित परिचय गर्दै थिएँ । सुवर्ण विरहीसँग पनि त्यसै समयमा परिचय भयो । मैले उनको कविता सुन्दै थिएँ, मिनराज पन्थी आएर ‘यो कविता सुन्ने सुनाउने समय है’भनी अर्कैतिर तानीहाले ।
दाइ सदस्यमा उठ्नुभयो । हाम्रो चुनावी लहर सिद्धिएर मतगणना सुरु हुने समयसम्म पुग्यो । मतगणना पनि भयो । दाइ ३२ मत ल्याई विजयी पनि हुनुभयो । नगरपालिका हलभित्र तालीका गडगडाहट सुनिन थाले । अबिर दलादलसमेत भयो । तत्पश्चात त्यो रात सबै चाँदनीमै बस्ने गरी नगरपालिकाबाट निस्कियौँ ।सबै अरु साथी होटलतिर जाँदा भेटिए तर हरि ... ... ।
होटलमा पहिले नै अरु स्वयंसेवकले लगिसकेहोलान् भनेर त्यहाँ पुगी खोज्यौँ । तर होटलका प्रत्येक कोठा कोठामा पनि हरि कतै पाइएन । राती १२ बजे म र अर्को एक जना साथी छिमेकतिर अर्को होटलमा पो गयो कि भनी खोज्न गयौँ । दाइ र प्रभाकर नगरपालिकातिर खोज्न गई नभेटिएर प्रहरीमा जानकारी दिएर फर्कनुभएछ । तत्पश्चात् सबै नेत्रहीन बन्धुहरू ध्यानाकर्षित भए । एक प्रकारले नेत्रहीन संघमै खैलाबैला सुरु भयो । बिभिन्न शङ्का उपशङ्का गरिए । कसैले त भोटका लागि जस्ता पायो त्यस्तै बटुलेर ल्याए भन्ने आरोप लगाउन पनि पछि परेनन् । जे होस् हरि हराए अब राती एक बजेतिर कहाँ खोज्न जाने !
रातभरि निद्रा परेन । ओठ तालु सुकेर च्यापच्याप लाग्ने भए । “अब पिर मानेर हुनेवाला केही छैन । प्रहरीमा पनि सूचना दिएका छौँ । मरिहाले पनि हामी ज्यानमारामा पर्ने छैनौँ । चिन्ता नगर् ।“ दाइले सम्झाउनुहुन्थ्यो तर कुरा त्यति सजिलो थिएन । म अझ बढी जिम्मेवार भएर ल्याएको थिएँ । मरे ज्यानमारामा त नपरिएला तर गाउँमा कलङ्कित हुने भइयो । फेरि कुन मुख लिएर उसकी स्वास्नीलाई सुनाउन जाने? आदि तर्कवितर्क आइरहे । अत्यन्त चिन्ताको भुँवरीबिच निदाएको एक घन्टापछि पल्लो कोठाबाट झविन्द्र दाइले बोलाए “लछु भाइ !” दाइ जाग्नुभएछ र उनलाई दिसा गर्न लैजानुभएछ । तर ट्वाइलेट भेटाउनुभएनछ र मलाई उठाउनुभयो । उनलाई दिसाले च्यापेको रहेछ । मैले हतारका साथ चर्पीमा पुर्याई दिसा गराएँ । जागेपछि के बिर्सिन्थ्यो र उही हरि हराएको सम्झना । घरतिरको आफ्नो मर्यादा र अस्तित्वको सम्झना आदि तर्कनाले जोरो आयो । झविन्द्र दाइलाई ल्याएर सुताएपछि म पनि सुतेँ । निद्रा किन आउँथ्यो र त्यो बेला? गल्लीमा कुकुरहरू भुकेको र निदाएका मान्छेको स्वाँ स्वाँबाहेक केही सुनिन्न । मनमा बिर्सुँ भने पनि त्यही हरि जनावरको सम्झना आउँथ्यो; भेटिएला कि नभेटिएला भन्ने तर्कले सताउँथ्यो ।
आखिर संसारमा जसलाई जस्तो परे पनि समय रोकिँदो रहेनछ । उज्यालो भयो । चाँदनी होटलको झ्यालबाट बिहानीले चियायो । सायद हरिलाई उसले पनि खोजेको थियो होला । सबै नेत्रहीन बन्धुहरूको चहलपहल फेरि सुरु भयो । दाइ बनेपामै बसेर हरिको खोजी गर्ने अन्य सबै जाने महाराजगञ्ज भन्ने मैले सुनेँ । त्यो पनि ठिकै हो । सुवर्ण कताबाट हाम्रो कोठामै आइपुगे । कमला श्रेष्ठ(उनकी दिदी)लाई उपाध्यक्षमा विजयी गराउन नसकेकोमा कता कता दुःख लागेर आयो मलाई । त्यहीँबाटै हाम्रो विदाइ भयो । दाइबाहेक अरु सबै बसमा चढ्यौ । बस रिजरभ गरिएको थियो । हरिलाई भेटाएरै आए हुन्थ्यो भन्ने ठानेको थिएँ मैले तर केही बेर बस दौडेपछि दाइलाई बसमै देखेँ । “ त्यहाँ म एक्लै बसेर खोज्न सकिने देखिन, खोजी कार्य काठमाण्डौ नै गएर गर्ने ।“ दाइले भन्नुभयो । नवनिर्वाचित अध्यक्ष नरबहादुर लिम्बूसँग बसेर न्यु बस स्टपमा उत्र्यौँ ।
शाखा प्रमुख र निर्वाचित पदाधिकारीहरूको तिन दिने नेतृत्व विकास तालिम थियो केन्द्रीय कार्यालयमा । त्यसैले अरु सबै त्यहीँबाट विदा हुने भए पनि गुल्मी र रुपन्देहीका सबै प्रतिनिधिहरू महाराजगञ्ज गएर मात्र विदा हुने सल्लाह भयो । त्यहाँबाट फेरि अर्को बसमा हामी महाराजगञ्ज पुग्यौँ । अब म, दाइ र आत्मारामबाहेक त्यहाँ बस्नु पर्दैनथ्यो । निकै दोधारमा परी रुपन्देहीका अरु प्रतिनिधिहरू भविश्वर, पूर्णप्रसाद र आशबहादुरलाई पठाउने सल्लाह भयो ।उनीहरूलाई बाटाखर्च दिई बस चढाउन एउटा स्वयंसेवकलाई पठायौँ । यता श्रीराम र झविन्द्रलाई त्यत्तिकै बस्नु पर्यो । बिचरा झविन्द्र दाइले काठमाण्डौ आएको बेला पशुपतिको दर्शन गर्न पाए हुन्थ्यो केरे भाइ भन्दै थिए । भक्तपुरमा लक्ष्मणलाई फोन गरी श्रीराम र झविन्द्रलाई राख्न भन्नु पर्यो भनी दाइले फोन गरेर बोलाउनुभयो । साँझ पाँच बजेतिर आउने कुरा बताएछन् अनि ती दुई जनालाई त्यतै होटलमा खाना खान पठाई हामी तिन जना तालिमतिर लाग्यौँ ।त्यो तालीममा के के सिक्नु पर्थ्यो, के के सिकाइन्थ्यो मलाई पूरै याद हुन सकेन । कारण जतिखेर पनि हरिकै सोचाइ आउँथ्यो ।
हामी तालिम लिनेहरूलाई हिम अरब होटलमा व्यवस्था गरिएको रहेछ । एक बजेपछि एक घन्टा खाना खाने छुट्टी भयो । होटलमा स्वयंसेवक साथीहरूमार्फत गयौँ र मासुभात खायौँ ।मलाई त्यो खानाले सहेन । पेट दुख्न थाल्यो । दाइले “चिन्ता गरेर हो ।“ भन्दै हुनुहुन्थ्यो ।तालिम सकिए पनि लक्ष्मणको पर्खाइमा हामी त्यहीँ बस्यौँ । गणेश राई पनि छोडिएछन् । दाइले भने हरिलाई खोज्नका लागि भोलि पुनः बनेपा जानुपर्यो कमल र लक्ष्मणसँग भनेर कमललाई फोन गर्नुभयो । त्यत्तिकैमा लक्ष्मण पनि आइपुगे । सबै वृतान्त बताएपछि श्रीराम र झविन्द्रलाई लिएर लक्ष्मण आफ्नो डेरातिर लागे भने हामी हिम अरबतिर । त्यतिन्जेल होटलमा पुग्न अबेर भएकाले होटलको एउटा केटो हामीलाई लिन पनि आइसकेको थियो
त्यो साँझ मलाई निकै बिसन्चो भयो । पेटको गडबडीले अन्न खान त के सम्झन पनि मन लागेन । दाइले चिन्ताको कारण मात्र जान्नुभयो । विदेशी स्टाइलको त्यो रमझमवाला होटलमा बस्दा स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । तर ... ...... हरि !!! किन हरायो? दिमाग खराब !! मनमा असह्य पिडा र छटपटाहट थियो नै । “उसो भए दही र स्याउ खानुहोस्” होटलवालाले भन्यो । अरु सबैले मासु भात खाँदा आफूलाई त्यो स्याउ पनि रुचेन । जुठो मात्रहालेर छोडेँ । राती दुईचार पटक दिसा लाग्यो । आफूले ट्वाइलेट भेटाइन्थ्यो र मात्र । पङ्खा, फोन आदिको सुविधायुक्त कोठामा हामी थियौँ ।हामी आठ जना साथीहरू कोठा नं. २०२ मा थियौँ त्यो होटलको । दाइ भोलिपल्ट उठेर कमल र लक्ष्मणसँग बनेपा जाने गरी सुत्यौँ । अनावश्यक तनावले गर्दा बनेपा पुगेर पनि डम्बर रसिकलाई भेट्ने मौका परेको थिएन । दाइलाई फोन नम्बर दिएँ जनप्रतिष्ठाको । डम्बर रसिक भारती मेरो २०५१ सालदेखिका ‘पत्रमित्र’ साथी ! जनप्रतिष्ठा साप्ताहिकमा बनेपामै कार्यरत भएको कुरा मलाई थाहा थियो । आत्माराम र म एउटै खाटमा थियौँ । हाम्रो दायाँपट्टि अमरबहादुर बम र कैलाकर जोशीको खाट थियोभने बायाँ पट्टिको खाटमा लक्ष्मीप्रसाद पाठक र कनैयालाल राना सुतेका थिए । दाइ र रमेश पौडेल हामी सबैको गोडापट्टि थिए । रातीसम्म कुरा गर्दागर्दै कतिखेर निदाइएएछ पत्तै भएन ।
उज्यालो भए पनि हाम्रो काम पो के थियो र! कमल आउँछ कि भनेर दाइ तल झर्नु भयो ।त्यस समयमा शङ्करनगर लिलादाइलाई फोन गर्नुभएछ ।“अब त खोजी व्यापक हुनु पर्यो नि ।हामी बनेपा तिर जान्छौँ,तँ संघमा चाँडै गएर मोदननाथ,विष्णु पौडेल,रामनाथ,कमल श्रेष्ठ सबैसित फोन गरेर खोजी गर्न अनुरोध गर् ।“दाइले मलाइ भन्नुभयो ।हामी फेरि चिया खाएर तल झर्यौँ ।सडकमा तिन जना उभिएका थियौँ,कमल पनि आइपुगे । निकै थोरैबेर कुरा गरी हामी संघतिर लाग्यौँ भने कमल र दाइ बनेपातिर ।
आत्माराम सर र म लुरुलुरु पुग्यौँ कार्यालयमा । बीच बाटोमा पुग्दा आत्माराम खम्बामा ठोकिए त्यो पनि मैले ख्याल नगर्दा नै हो । हामी सरासर माथि गई फोन दबाउन थाल्यौँ । रामनाथ ढकाल, मोदनाथ प्रश्रित, विष्णु पौडेल, सोमप्रसाद पाण्डे गरी चार जना सांसदलाई फोन गरी हरिको हुलिया दियौँ । मोदनाथले वासुदेव मरासिनीको फोन नम्बर दिई “मैले यहाँबाट पनि गर्छु, तपाईँले पनि गर्नुस् र यो सबै बताउनुस्“भन्नुभयो । सबै सांसदहरूले संवेदनशील रूपले लिए त्यो घटनालाई । सबैलाई नेत्रहीन संघको फोन टिपाएँ । वासुदेव मरासिनीको फोन उठेन । हामीले फोन गर्दा डिल्लीप्रसाद गिरी(नवनिर्वाचित उपाध्यक्ष) की श्रीमती(जसलाई संघले कर्मचारी राखेको थियो)ले धेरै फोन नगर्न भनिन् । हुन त हामीले पनि जानेजति ठाउँमा फोन गरेकै थियौँ । फेरि एक पटक अम्बिका भाउजूसँग कुरा गरेँ अनि त्यहाँबाट तल झर्यौँ ।
बैशाख २८ गते अर्थात् हाम्रो तालिमको दोस्रो दिन दाइलाई कसैले सोध्छन् कि भनेको थिएँ तर सोधेनन् । केही टेन्सन कम भए पनि सोचाइ आइरहन्थ्यो । तालिममा के के कुरा सिकाइयो भन्ने कुरा यादै हुन सकेन । सबै दिमाग नै हरि डाँकाले खाएछ । “उता होटेलमा खान पर्छ, कुखुराको मासु पनि खान पर्न सक्छ, देउतालाई यतै सम्झाएर हिड्नुस् है काका !” मैले हिँड्ने बेलामा उसलाई भनेको थिएँ । किन सन्केछ कुन्नि ! दिमाग नै फिलिलिलि नाचिरहन्थ्यो । दिउसो जापानी पर्यटकहरू संघमा आए । सबैले परिचय दियौँ । सुरेश राजभण्डारी नवनिर्वाचित महासचिवले जापानी भाषामा रूपान्तर गरिदिए । तालिमको समयमा अमरबहादुर बम र कैलाकर जोशीसँग बढी निकटता रह्यो । सायद दर्जन भन्दा बढी पटक त म ट्वाइलेट नै गएँ हुँला । जतिखेर पनि दिसा लागे जस्तै भइरहन्थ्यो । हाम्रो त्यो दिन बित्यो । हामी फेरि उही हिमअरबतिर लाग्यौँ जुन हाम्रो वासस्थान थियो । म खाटमा पल्टेर केही झकाएको रहेछु, दाइको फोन आएछ र साथीहरूले मलाई उठाए । ताहाचल आइपुगेर फोन गर्नुभएको रहेछ । हरि नभेटिएको र चिन्ता गर्नु नपर्ने कुरा गर्नुभयो । कमलले पनि कुरा गरी भोलि आउँछु भने । त्यो रात दाइ त्यहाँ आउनुभएन । तालिम सिद्धिइनसकेको कारण हामी भोलिपल्ट पनि तालिममा गयौँ । दाइ पनि आउनुभयो । अन्तिम परे मात्र रेडियोमा खबर दिने भन्ने सल्लाह भएकाले २९ गते दिउसो १२ बजेतिर फ्याक्सद्वारा रेडियोमा हुलिया दियौँ ।
तालिमको समापन हुने बेला भइसकेको थियो । प्रमाणपत्र वितरण भए । परियोजना बनाई आयमूलक कार्यक्रम गरेमा शाखालाई ४०००० दिने कुरा निर्देशक अमृत राईबाट सुनियो । त्यहाँको कार्यक्रम सिद्धिए पनि हामी केही बेर त्यहीँ बस्यौँ टाढाका साथीहरू ।
दाइले हिजो डम्बरसँग भेट गरी सबै कुरा गर्नुभएछ । मैले फोन गर्नुपर्ने कुरा पनि बताउनुभयो । त्यहाँबाट STD नजाने भएकाले बाहिरबाट गरौँला भनेर बसेको थिएँ; उनले नै गरिसकेछन् । बनेपाबाट मेरो फोन आएको कुरा दाइले सुनाउनुभयो । म तुरुन्त माथि गई फोन उठाएँ । केही बेर कुराकानी भयो हामी दुवै मित्रको । भेट नगरीकनै जानुहुन्छ र? डम्बरले तिन पटक दोहोर्याए । म भेट्ने अवस्थामा थिइन । आफ्नो विवशता जनाएँ । जनप्रतिष्ठामा त्यो सूचना निकाल्न अनुरोध गर्दै फोन बिसायौँ । तल झर्दा कमल आइसकेका थिए । घाम पश्चिमपट्टि ढल्केका थिए । भवनअगाडिको खुला ठाउँमा कमल र म निकै बेर बस्यौँ । दुःखका कुरा भए त्यहाँ हाम्रा । आत्मारामलाई डिल्लीकी छोरीले लिएर त्यहीँ पुगी । हिजो होटेलअगाडि कमल र आत्मारामबीच परिचय भएको थिएन त्यहाँ भयो । दाइ भने साधारण सभापछिको प्रथम बैठकमा व्यस्त हुनुहुन्थ्यो । बैठक सकिउन्जेल हामीले पर्खनैपर्थ्यो । गफ गर्दै पर्खेर बस्यौँ । निकै बेरपछि तालीको आवाज आयो । बैठक सकिएको अनुमान हामीले गर्यौँ । दाइलगायत सबै पदाधिकारीहरू बैठकबाट तल आए । म र आत्माराम त्यसै दिन बुटबलतर्फ लाग्ने र झविन्द्र र श्रीरामलाई भोलिपल्ट घरतर्फ पठाउने सल्लाह भयो । म र आत्माराम रुपन्देहीमा आई त्यहीँबाट हरिको खोजीमा पार्टीसमेत परिचालन गर्नेसमेत सल्लाह भयो । अमरबहादुर बम, कैलाकर जोशी लगायतका साथीहरूसँग महाराजगञ्ज चोकमा सँगसँगै आयौँ र विदा भई दाइ, कमल, म र आत्माराम बस् स्टपतिर लाग्यौँ ।
रातिको लागि खाना खान समस्या पर्ने हुँदा पाउरोटिको पोको किनेर झोलामा राख्यौँ । दाइ र कमल टिकट लिइदिन जाउञ्जेल हामी दुवै त्यो वासन्ती साँझमा बस्यौँ गोङ्गबु नयाँ बसपार्कमा । दाइहरु आएपछि हामी बिदा भयौँ । बसको सिटमा आसन ग्रहण गयौँ अब हामी दुई नेत्रहीन साथीहरूले ! रात्री यात्रा आरम्भ भयो बैशाख २९ गते ।प्राय म गाडिमा निस्फीक्री बस्न सक्थे यस दिन मानसिक बिरामि त थिएँ नै शारीरीक अस्वस्थ पनि हुनाले गफ उस्तो गर्न सकिएन जति गरौँला भन्ने मनमा थियो । केही बेर बिर्से पनि त्यही हरि हराएको दृश्य आँखाअगाडि आउँथ्यो, अझ पनि नभिटिएको सम्झना हुन्थ्यो । अनि कता कता दुख्थ्यो थाहा नहुने गरी ।
आत्माराम एक साथी थिए, सान्त्वना दिन्थे, सम्झाउँथे । “मरेछ र भेटै भएनछ भने त जे भयो भयो । यदि जिउँदै भेटिएछ र घर पुगेछ भने त्यस जनावरलाई एक घन्टासम्म गाली गर्नुहोला है ।यति मैले भनेको कुरा मान्नुहोला । सोचेर मात्र हुने केही छैन । चिन्ता नगर्नुस् ।“ आत्मारामले भन्नुभएको थियो । सक्दै नसके पनि हामी दुई गफ चाहिँ गर्न बिर्सिएनौँ । वा ! ती स्मृतिका क्षणहरू सम्झँदा यो मन कता कता रोमाञ्चित हुन्छ, विस्मित हुन्छ ।आत्माराम सरको छोरा विमलको भोलि नै ब्रतबन्ध थियो । त्यसकारण पनि उनी ३० गते बिहानसम्म घर पुग्नै पर्थ्यो । फेरि ब्रतबन्धमा मलाई लैजाने आत्मारामको निकै चाहना थियो । त्यो कुरा दाइले पनि बुझ्नुभएको थियो । भोलि बिहान कहाँ कहाँ के के गर्ने भनेर योजना हामीले बसभित्रै बनाएका थियौँ । परिस्थितिले कता हुत्याउने हो त्यो त गर्भमै थियो ।
उज्यालो नहुँदै बुटबल ल्याइपुर्यायो बसले । हामी दोधारमा थियौँ । आफ्नो अवस्था जुनसुकै परिस्थितिमा पनि व्यक्त गर्थ्यौँ नै तसर्थ एक जना यात्रुसँग हामीले आफ्नो अवस्था जाहेर गर्यौँ । ती यात्रु पनि दयालु नै मान्नुपर्छ । एउटा रिक्सावालालाई बोलाएर चढाइदिए । उज्यालो अझै भएको थिएन । हामीलाई बसपार्कसम्म पुर्याएको रु. ५ माग्यो उसले । दियौँ र एउटा पेटीसम्म पुर्याइदिन भनेर त्यहीँ बस्यौँ उज्यालो नहुँदासम्म । योजनाअनुसार त विस्नुकहाँ गई लिला गिरीलाई फोन गर्ने थियो तर हामी पकलभेँडा पुगी विजय पौडेलसँग भेट्ने र त्यहीँबाट फोन गर्ने निर्णयमा पुग्यौँ । हरैया जाने बसमा चढेर लाग्यौँ पश्चिमतिर । भाडा भने दुवैले दिएनौँ । गाडीवालालाई धन्यवाद दिएर ओर्ल्यौँ पकलभेँडा ।
सूर्यले आफ्नो दिप्त ज्योति फिँजाई सकेका थिए पृथिविमा । मोदनाथ प्रश्रितको घरतिर लाग्यौँ । भित्र त प्रश्रित नै बसिरहेका रेडियो सुनेर , अचम्मै लाग्यो ! हिजो बिहान फोन गर्दा त उनी उहीँ थिए । “कतिखेर आउनुभयो र? हिजो त जाने जस्तो कुरा पनि गर्नुभएन ।“ आत्मारामले सोधे । “ जिप रिजब गरेर आयौँ । तपाईँहरूले पनि यता आउने जस्तो कुरा गर्नुभएन । नत्र त सँगसँगै आउन हुन्थ्यो ।“ कानबाट रेडियो अलि पर पुर्याएर प्रश्रितले भने । हामीले हरि नभेटाएको र पार्टी केन्द्रीय स्तरबाट लाग्नुपर्ने कुरा बतायौँ । विजयलाई बोलाउन प्रश्रित आफै गए । विजयसँग पनि परिचय भयो । लिला गिरीकहाँ फोन गर्नुपर्ने कुरा बताएपछि विजयले आफै फोन हानेर केही बेर लिलासँग कुरा गरेपछि मलाई दिए । मैले “हरि भेटिएन, भोलि म त्यहीँ आउँछु दाइ !” भनेर फोन आत्मारामलाई दिएँ । केही बेर कुरा गरेपछि हामीले जान्छौ भनेर विदा माग्यौँ । विजयले खाना खाएर जान आग्रह गरेका थिए तर आत्मारामले आफ्नो विवशता देखाए । छोरालाई भिक्षा दिनुपर्ने भएकाले खाना खान नसकिने कुरा बुझेपछि हिँड्न लाग्दा प्रश्रितसित हात मिलाउँदै मैले साहित्य सम्बन्धी धेरै ज्ञान लिन चाहेको कुरा बताउँदा प्रश्रितले भने – “यस्तो हतारमा सम्भव भएन क्यारे !दुईतिन दिनको समय लिएर आउनुहोस् न गरौँला ।“ विजय र अर्को एक जना अपरिचित व्यक्ति मोटरसाइकलमा कुन्नि कता हो गएर आउन्जेल हामी बाटोकै किनारमा बस्यौँ । विजय आएपछि एउटा बस रोकाई हामीलाई चढाइदिए । पैसा नलिनु पनि भनिदिए । हामी दुवै फायरलाइनसम्म पुगी ओर्ल्यौँ र आत्मारामले चिनेको एउटा पसलनिर पुग्यौँ । त्यहीँ मैले मिठाईँ किनिदिएँ भाइबैनिलाई । ठिक त्यसै बेला जिप पनि आयो र चडिहाल्यौँ अनि लाग्यौँ रुद्रपूर तिर ।
गरगरे चोकमा पूगेपछि झरेर सरासर मामाघरतर्फ लाग्यौँ ।माइजु बाहेक कोहि त्यहाँ थिएनन् । झोला राखि तुरुन्त आत्मारामको मातापिता बस्ने ठाउँतिर लाग्यौँ जून गरगरे देखि पूर्व पर्दोरहेछ जहाँ ब्रतबन्धको कार्यक्रम थियो ।त्यही यज्ञमा जान हिँडेका अर्का एकजना मानिस भेटिए जसलाई आत्मारामले दाई भन्नुहुन्थ्यो । उनी अघिअघि र हामी दुई पछिपछि हिड्यौँ र पूग्यौँ त्यो ठाउँमा जहाँ आत्मारामको छोरा बिमल लगायत चारजनाको ब्रतबन्धको कार्यक्रमको तयारी धुमधामसँग भएको थियो ।“ऊ साइलो पनि आइपुग्यो ।“शायद आत्मारामको पिताको बोली थियो त्यो ।जुत्ता खोलीकेहि बेर बसेपछि नुहाउन जाने सल्लाह भयो ।घरबाट अझै तल पर्ने बोरिङमा गयौँ नुहाउन आत्मारामको भाइसँग । हामीले नुहाएर नसक्दै साना बच्चीहरू हामीलाई लिन त्यहीँ पुगिसकेका थिए । तिनीहरूसँगै हामी हिँड्यौँ । घाम ढल्किसके जस्तो मानेर मैले घडि हेरेँ । १० बज्न पनि १० मिनेट नै बाँकी थियो । मधेसमा त्यो बेला मैले त तिन बजिसके जस्तो अनुभव पो गरेको ! त्यो बैशाखको घाम, मधेसको ठाउँ भरखर नुहाए पनि शितल त के हुन्थ्यो र ! खपटायुक्त पाली रहेछ । त्यसैको छायाँमा राखिएको खाटमा हामी दुवै बस्यौँ । आत्मारामको साथी भएपछि म पनि नेत्रहीनअन्तर्गतकै मान्छे हुने भैहालेँ । यसर्थ त्यहाँ आफूले परिचय गर्नुभन्दा अघि आत्मारामले मेरो परिचय गराइसक्नुहुन्थ्यो?
“ए ! मिलन, नमस्कार गर्, गरिस्?” मलाई नमस्कार गर्नको निम्ति आफ्नो कान्छो छोरालाई आत्मारामले आदेश दिँदै भने ।मिलनले नमस्कार गर्यो । कक्षा ५ मा पढ्ने मिलनसँग परिचय त त्यसको एक महिनापूर्व भैसकेको थियो । वा ! त्यो क्षण सम्झँदा कता कता हृदय कुत्कुत्याउँछ जुन बेला म निस्फिक्री त्यो ठाउँ घुमेको थिएँ । मेरो नव वर्ष नै त्यहीँ मनाइएको थियो । तर यस पल्ट त ... ... ... । त्यही हरि जनावरले गर्दा प्राय मन एकोहोरो हुनाले जस्तोसुकै रमाइलो भए पनि रमाइलो लाग्दो रहेनछ । जे रहेछ मन नै रहेछ । मन खुसी छ भने संसार खुसी छ; मन रोएको छ त संसार निरस हुँदोरहेछ, बेमज्जाको । नियतिको दाम्लोमा बाँधिएर उसले जता डोर्याउँछ उतै लागेको मानिस आखिर जति रोए पनि जति कराए पनि र जति पिर माने पनि हुने नै के र ! अत्यन्त मुस्किलले मन बुझाइरहेको थिएँ । भित्र रोएको कसैले नदेखे पनि बाहिर हाँसेको सबैले देख्थे । त्यसैले यसलाई यत्तिकै चिन्ता छ भन्ने कसलाई के थाहा? मिलनको उमेरका अरु पनि थिए तर अपरिचित ।ऊ मेरो नजिकै बसिरहेको थियो । सायद उसको ममा आदर छ र लाग्छ मेरो सम्पूर्ण प्रेम त्यतिखेर उसैमाथि छ ।
पूजा सकिएपछि प्रसाद भनौँ खाना हिजो एक बजेतिर हिमअरब होटेलपछिको अन्नसँगको भेट हामी दुवैले गर्यौँ । राती बसमा खाएको पाउरोटीको त के मतलव ! आत्मारामले छोरालाई भिक्षा दिने कर्म गरुन्जेलसम्म पर्खेका थियौँ । बिहान विजयले छोरालाई भिक्षा दिनुहोला भनि दिएको रु. १०० भिक्षा दिएपछि उनले खानाको लागि अत्याइहाले । क्रमशः हुँदाहुँदै पनि खाने बेला र पूजा सकिने बेला सँगसँगै पर्यो । पुजा सकिएपछि पनि हामी धेरै बेर त्यहीँ बस्यौँ । साँझपख घाम केही मत्थरिएपछि हामी लाग्यौँ गरगरेतिर । बिहान माइजुसँग मात्र भेट भएकाले अरुसँग भेट हुने अभिलाषा ज्यादै थियो । भाइहरूले बाहुनदाइ भनेर हुरुक्क गरेको र बहिनीले पनि निके सम्मानपूर्वक स्नेह प्रकट गरेको एक महिनाअघिको झल्को उस्तै थियो । हामी दुवै हातेमालो गर्दै पुग्यौँ । आत्मारामजी बाटैबाट विदा भए, भोलि विदाइ गर्न आउने शर्तमा अनि म लागेँ मामाघरतिर ।
मलाई एक महिनाअघिका ती घटनाहरू पूरै याद थिए । त्यतिखेर हजुरआमा पनि त्यहीँ हुनुहुन्थ्यो तर यसपाली भने सुनवल जानुभएको रहेछ । साँझ मामासँग दुःखसुखका गनथनहरू भए । असाथ्यै सम्झनाले कता कता मुटु धड्काइदिन्छ त्यो स्मरण गर्दा । भाइहरू र बहिनीले ज्यादै हुरुक्कै गर्ने !! मलाई याद छ, दाइले त्यहाँ जाँदा बहिनि कोपिलाले बाउन्न दाइ भनेको यात्रा संस्मरण लेख । त्यतिखेर दाइले लेख्नुहुन्थ्यो र म त्यसलाई पढी शीर्षक राख्थेँ । ‘बाउन्न दाइ’ त्यस्तै संस्मरणको शीर्षक थियो ।
मेरो त्यहाँ धेरै बसाइ थिएन । त्यो हरिले गर्दा तनावग्रस्त थियो मन । उज्यालो भएपछि खाना खाएर मात्र जाने योजना मनले बनाएको थिएँ । आत्माराम विदाइ गर्न आउन बाँकी नै थियो । मेरो जिम्मामा रहेको संघले दिएको भत्ता आत्मारामलाई दिन बाँकी नै थियो ।सो रकम बुझाएपछि म विदा भएँ । सानो भाइ कृष्ण मलाई छोड्न रोडसम्म आयो ।उसलाई डिक्सनरी किनिदिएर जीप चढी लागेँ बुटबलतिर ।
सरासर हाटबजार पुगेँ विस्नुकहाँ । त्यहाँ गएर मात्र शङ्करनगर जाने सोचाइ थियो । हिजो लिला दाइसँग फोन गर्दा साँझ आउँछु भनेको थिएँ । सोचाइको क्रममा मनको लड्डु घिउसित खाँदाखाँदै म त हाटबजारभन्दा माथि पो पुगेँछु । फेरि फर्केर दीपक भिनाजुकहाँ पुग्दा लक्ष्मी दिदीले भनिन्, “त्यस्तो लिएर गएका मान्छेलाई हराएर? भेटिए अरे केरे हरि त काशी !”मलाई पत्यार लाग्ने त कुरै भएन । विस्नु पनि त्यहीँ देखा पर्यो । विस्नु हाम्रो कान्छो भाइ लाकौल इन्टरप्राइजेजमा काम गर्थ्यो र बसाइ भने दीपक भिनाजुकै घरमा थियो । ‘लिला दाइले फोन गर्नुभएको थियो रे ।‘ विस्नुले भन्यो । लक्ष्मी दिदीले फेरि “यहाँ लिलाले फोन गरेका थिए । हरि भेटिए भनेर । माइला दाइलाई त्यही भनिदिनु भन्थे ।“ भनेपछि मात्र विश्वास लाग्यो । वैतरणी नदीमा फसेको मान्छे नदीबाट उतारिए झैँ भएँ । अब उसले कता गयो, के के गर्यो, कस्तो दुःख पायो त्यो थाहा हुन्छ । किन हरायो त्यो पनि थाहा हुन्छ । हरि भेटिएको खुसियालीमा म मन फुकाएर त्यो दिन त्यहीँ बसेँ ।कुलमणिले पनि बस्न अनुरोध गरे । तर म भने खेमराजको कोठामा बसेँ । अनेरास्ववियु रुपन्देहीका अध्यक्ष रमेश न्यौपाने, म र खेमराज थियौँ त्यस दिन त्यहाँ । जिल्ला कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता भोलि हुने भनेर नै खेमराजले मलाई राख्ने प्रयास गरेको हो । एउटा होटलमा टन्न मासुभात खाई कोठामा गएर प्रश्न जुराइयो । अब दिमागमा कत्ति टेन्सन थिएन । झविन्द्र र श्रीराम उहीँ छन् । तिनीहरूसितै दाइले हरिलाई पठाइदिनुहुन्छ भनेर ढुक्क सुतेँ तर राती निकै पेट दुख्यो । ट्वाइलेट जान खेमराजको निद्रामा बाधा पुर्याई उठाएँ । काठमाण्डौमा पनि मासुले सहेको थिएन । त्यहाँ पनि त्यस्तै भयो । अर्को दिन खेमराजलाई निकै आत्तुरी भयो र मलाई हाटबजार पुर्याई आफू कार्यक्रम तयारीको लागि क्याम्पसतिर लाग्यो । मलाई दिउसोतिर आउनु भनेको थियो । तर पेटकै गडबडिले गर्दा बिसन्चो भयो र कतै गइन ।
आत्मारामले “त्यो भेटिएछ भने मलाई हरैयामा फोन गरेर खबर दिनुहोला है “ भनेको सम्झेको थिएँ फोन गर्ने उचित अवसर पाएको थिइन । पल्लापट्टि गोबिन्दको पसलमा बसेको बेला शिब नेपालसँग परिचय गर्ने मौका मिल्यो । उनी दुरसञ्चारमा काम गर्थे । उनैसँग गएर हरैया फोन गरेँ । विजयकहाँ पनि गरेँ तर विजय नभएर रमा भेटिइन् । खबर चाहिँ दुवैतिर भनेँ । लिलाकहाँ फोन गरेको त परेछ रङ नम्बर !
त्यो रात पनि खेमराजसँगै सुतेँ । जेठको महिना, बुटबलको गर्मी, तैपनि मलाई गर्मी महसुस भएन । दुई गतेका दिन खाना खान पटक्कै मन थिएन पेटको गडबडीका कारण । केरा किनेर झोलामा राखिदिए कुलमणिले । आठ बजेको बसमा चढाई खेमराज र कुलमणि विदा भएपछि म बसले जता तान्छ त्यतै तानिएँ । त्यो बेला मलाई तिनाहुँमा पुर्याए पनि जानै पर्थ्यो । किनभने म आफ्नो खुट्टामा नभएर बसको पाङ्ग्रामाथि थिएँ । साँझ पर्न लागे जस्तो मानेँ मैले टक्सार आइपुग्दा । बसबाट ओर्लेर सिर्जना फोटो स्टुडियोतिर लम्कन लागेको के थिएँ त्यहीँ नै माहिली आमा हुनुहुँदो रहेछ । भेट वार्ता भयो । हरिको बारेमा सोधपुछ गरेँ । सबै सुनेका कुरा माहिली आमाले बताउँदै जानुभयो ।हरिले चौकीमा जान्छु, मुद्दा दिन्छु भनेको रहेछ । कमल छोड्न आएको रहेछ र फर्किसकेछ । मलाई बल्ल थाहा भयो ।
साँझ ओम दाइकहाँ गएँ । पार्टीको कार्यक्रम रहेछ । त्यहाँ जाँदा टेकन गिरीबाट विशेष कुरा थाहा भयो र सुझाव पनि । मैले हरिलाई रु. ६४० बुझाउनु थियो । जाँदालाई केही रकम चाहिएला भनी उसले दिएकोरकम मेरो जिम्मा थियो । आवतजावत र खाना खर्चबाट हामीले कन्जुस्याइँ गरी केही रकम बचाएका थियौँ तर बनेपातिर खोज्न जाँदा सबै सकियो । इत्यादि कुरा त्यहाँ भए । टेकन दाइले भने, “भाइ तपाईँ मात्रै त्यसकहाँ एक्लै नजानुस् । ऊ रिसले चुर भएको छ । दाउराले हान्न बेर छैन । भँगाहा मान्छेको भर हुन्न । बरु जान परे म पनि जाउँला ।“ कुरो मनासिवै लाग्यो र जेठ ६ गगते टेकनकहाँ झरेँ त्यसलाई दाम बुझाउन जान । पदम सर र घनु गिरी पनि त्यहीँ थिए । केही बेरपछि दुर्गा बा पनि झरे ।सबै थामतिर लाग्यौँ । बाटामा रामु पनि भेटिए र ६ जना भई हरिकहाँ गयौँ । त्यहाँबाट हिँड्नुभन्दा अघि दुर्गा माहिला बाले हरिलाई सोधे, “भन् त हरि, तँलाई काटेर चाहिँजो पानीकागजका थैलामा राखेर चाहिँजो काशीले बेचेर कति पैसा चाहिँजो कमाउँथ्यो र? चाहिँजो तेरो बुद्धि सकिएर हिँडिछस् ।“ फर्कँदा उसले भनेको ‘मान्छे चिनियो भन्ने वाक्यांशले मलाई बाटाभरी सोच्ने बनायो । हो मान्छे चिनियो हामीले पनि राम्ररी चिनियो ।यो यस्तै रहेछ भनेर छर्लङ्ग चिनियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।