17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हिजोआज

लघुकथा इन्द्रकुमार श्रेष्ठ सरित् July 16, 2022, 6:31 am
इन्द्रकुमार श्रेष्ठ  सरित्
इन्द्रकुमार श्रेष्ठ सरित्

हिजो
आजको नयाँबानेश्वरस्थित संसद भवन अर्थात् हिजाको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र २०६३÷६४ को सुरुवाती दिनमै नेपाल सुन्दरी प्रतियोगिता भैरहेको थियो । यसको चर्चाले सहर तातेको थियो । अधिकांशको मनमा खुल्दुली थियो अब के हुन्छ ? अब के होला ? नेपाल सुन्दरी बन्न चाहनेहरुको मनमा के थियो त्यसबेलामा, उनीहरु नै जानुन् । तर भर्खरभर्खर खुल्ला राजनीतमा आएको राजनीतिक पार्टीका तल्लोदेखि उपल्लो दर्जाका महिला नेतृहरुले सम्मेलनकेन्द्र बाहिर सुन्दरी प्रतियोगिताको घोर विरोधगर्दै नाराबाजीसमेत गरिहेका थिए ।
आममानिसहरुमा उत्सुक्ता थियो, अब के हुन्छ भनेर भने अलिकति त्रास पनि थियो कतै फेरि शान्त तलाउमा ढुङ्गा खस्ने त हैन ? लाठी चार्ज र अश्रुग्याँसको समेत बेवास्तागर्दै र प्रहरीहरुसँग घम्साघम्सी गरेर पनि महिला नेतृहरुले सुन्दरी प्रतियोगिताको विरोध गरिरहेका थिए । यसैक्रममा निकै जना नेतृहरु पक्राउ पनि परेका थिए । सोही बेलामा एकजना केन्द्रीय नेतृको अन्तरवार्ता टेलिभिजनमा आइरहेको थियो । उनको भनाई थियो —‘महिला पनि मानिस हुन् । उनीहरुलाई विज्ञापनको वस्तु बनाएर प्रदर्शन गर्न पाइन्न । फेरि सौन्दर्य भन्ने कुरा आन्तरिक हुन्छ, मानिसको लम्बाई, चौडाई र मोटाई नापेर भेटिने कुरा होइन । त्यसैले यो सौन्दर्य प्रतियोगिता हामी कुनै पनि हालतमा हुन दिन्नौंँ ।
आज
आज अर्थात् सामाजिक सञ्जाल अत्यन्त सबल भएको समय । एकजना चर्चित बामपन्थी नेताकी सुपुत्री नेपाल सुन्दरी बनिन् । तर कुनै बामपन्थी दलका महिला नेतृहरुले विरोध गरेको सुनिएन पनि, देखिएन पनि बरु उनको सफलताका लागि बधाईको ओइरो लाग्यो । नेता सुपुत्री नेपाल सुपुत्री विश्व सुन्दरी बन्न सात समुद्रपारी हिँडिन् । बामपन्थी वा गैरबामपन्थी पार्टीका महिला नेतृहरुले विरोध गरेको पटक्कै सुनिएन । नेता सुपुत्रीले उपाधि जित्न सकिनन् तैपनि उनले गाली हैन स्याबासी पाइरहिन् । यसै विषयमा एकजना महिला नेतृले टेलिभिजनको अन्तरवार्तामा भनेको सुनियो—‘विचारमात्र ठुलो कुरा हैन, व्यक्तिगत स्वतन्त्रता ठुलो कुरा हो । त्यसैले सुन्दरी प्रतियोगितामा भाग लिनु नराम्रो काम हैन ।’

तरहरा(सुन्सरी)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।