15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धुन

कथा सतीश छेत्री July 16, 2022, 6:42 am
सतीश छेत्री
सतीश छेत्री

म सागरको किनारमा बसेको छु, ढुङ्गाहरू थुप्रिएको ठाउँमा। छाल आई ठोक्किएर फुटेको, छरिएको पानी - हेरिरहेछु। केही छिटाले मलाई भिजाइरहेछन्। दुर क्षितिजमा सुन्तलाको रङ्ग लतपतिएको छ। केही वर पानीमा त्यही रङ्ग पोखिएर हल्लिँदैछ। टाड़ा धेरै टाड़ा डुङ्गाहरूमा बसेका छायाँहरू छन्। केही छायाँहरू आकाशमार्गबाट पनि कतै चराजस्तै उड़ी जाँदैछन्।

यो सागरमा म भन्न सक्दिनँ, कतिवटा संसार विद्यमान छन्। मैले त केही देखिरहेको छुइनँ, तर यहाँ भित्र जीवन छैन, भन्ने पनि मेरो आँट छैन। म आँखा भएर पनि कति सिमिततामा बाँच्न बाध्य प्राणी हुँ। फेरि आउँछ भिजाउँछ छिटाले।

मेरा साथी छन्, उसको नाम मलाई थाह छैन।
कसैले भनेको मनोहर अरे! कसैले भनेको काले अरे! कसैले भनेको नटवर अरे ! कसैले भनेको बिहारी अरे ! कसैले भनेको यहवी अरे! कसैले भनेको मिस्सा अरे! कसैले भनेको आनन्द अरे!

ऊ कहाँ बस्छ त्यो थाह छैन।
कहिले गुरुद्वारा गल्लीबाट आउँछ। कहिले चर्चगेटको बिल्डिङबाट आउँछ। कहिले मस्जिदलाइनको साट्ठी सिँढ़ीबाट आउँदै हुन्छ। कहिले महाकालेश्वर चोकको बायाँ कल्पटतिरको बस्तीबाट आउँछ। कहिले नगरबधु आश्रमको ओह्रालैओह्रालो आउँदैहुन्छ। कहिले दारूभट्टी स्लम क्षेत्रको बिचबाट आउँछ। कहिले टोयट्रेन हेरिटेज डाँड़ाको चौतारीमा आएर बिसाएको हुन्छ। कहिले मकैबारीको कान्लैकान्ला उकालो चढ़दै हुन्छ। कहिले युवाभगत दाज्यूको फूल नर्सरीबाट बिहानै निस्किँदै हुन्छ।कहिले कति हाँसउठ्दो माछा पोखरी तालबाट नाकडुबी हानेर फूत्त निस्किएर आउँछ। कहिले पूर्वाेत्तर गरिबरथको दैलोमा एकहातले झुण्डिएर आएको हुन्छ। कहिले नीलो कारको पछिल्लो सीटमा बसेर आएको हुन्छ।
न समयको कुरा छ, न स्थानको कुरा छ।

ऊ हाँस्छ देख्छु ओठ अनि हेर्दा देख्छु आँखा मात्र। म सम्पूर्ण पनि देख्दिनँ उसलाई, देख्छु खण्ड-खण्डहरूमा। त्यही खण्डहरूलाई जोड़ेर, मैले मेरो साथी बनाएको छु। साथीको स्वरूप त्यस्तै हो कि न मेरो आफ्नै भ्रमप्रतिरूप हो। म साथीलाई अनुभव गर्छु, एउटा विश्वास बनाउँछु। साथीले मलाई कहिले एक्लो छोड़दैन। ऊ बाँसुरी बजाउँछ। बाँसुरी बजाउँछ कि न संसार बनाउँछ।

मैले के स्मरण गरें। पछिल्तिरबाट आई काँधमा हात राखेको रहेछ। हेरें - मनमोहक त्यो मुहार। जून बलेको अनुहार। छेउमा बस्यो। पर हेरयो। मेरो नजरमा ऊ सरयो। बाँसुरी जब ओठमा लायो। बाँसुरीले सास फेर्न थाल्यो। सङ्गीत बज्यो। धुन देखियो -

पर माथि डाँड़ाको घरको ढोका/खिड़की उघारिएको थियो।
जोड़ी चरा बसेर एकआफूलाई कान कनाइदिँदै थियो।
झरनाको पानीमा एउटा लौरो, टाउको थापेर हल्लिँदैथियो।
केराको पातले जिस्किएर, छैन-छैन भन्दैथियो।
बाँसको टुप्पा नुही नुही, यहीँ छ यहीँ भन्दैथियो।

बादलको माछा बनियो, हावाले पानी भएर बगायो।
घामकीरी जहाज आएर तालमा ईन्धन भर्दै थियो।
पत्थरले आँखा बन्द गरेर खोलाको छिटा थाप्दै थियो।
एउटा किरा झोला बोकेको, पहाड़ चड़दै-झर्दै थियो।


अल्लारे मकैका जुङा उम्रिएका बोटहरू, अङ्गालो मारेर उभिएका थिए।
सेतो लर्को फूल हालेर कानमा, तरूणी सुनाखरीहरू
पाँचपातेको धड़मा उभिएका थिए।
समय कहाँ थियो र त्यहाँ, नभेटेर उमेरहरू फर्कदैँ थिए।


उसले बन्द गरयो। समुद्रले ठेलेर पठाएको एउटा पानी फेरि ठोक्कियो ढुङ्गामा, थोपा-फूलहरू खसेर भिजाए हामी दुवैलाई।
‘जाऊँ, पर भण्डारा चल्दैछ। लङ्गर। ईफ्तर खानु पर्छ। परसात।’

म उसको पछिपछि लागेँ। लहरै बसेका साधुसन्त र साधारणहरू थिए। सबैले केराका पात ओच्छाएर थापेका थिए। हामी पनि गएर बस्यौँ केराको पात थाप्यौँ। पात जसको बिचमा छ कान्छीऔंलीले रेखा कोरेर बनाएको जस्तो सानो नाली। एउटा थाल जत्रो। प्रकृतिको कस्तो हिसाब थालमा खाऊ कि केराको पातमा, पेट तिम्रो भरिने छ। हुनेछैन कुनै कटौती सन्तुष्टिमा।

खीर/लड्डू बाँड़दै आएको एकजनाले देख्यो - एकजना शारीरिक देखिँदो मैलासित बसेको रहेछ, उसले टिनको टवाक्रे थापेको रहेछ। भण्डारावालाले भन्यो - ‘केही त शरम गर यारा! यो खीर हो, परसात, टवाक्रेमा थाप्छौ ?’ त्यो मान्छे विरूप हाँस्यो, इतिहास जमेका दाँतहरूले। यतिबेलासम्म उसका लागि केराका पात प्रबन्ध भइसकेको थियो। खीर हालिदिँदै लङगरवालाले भन्यो - ‘पात्रता तयार गर, यारा! भर्ने मालिक छन्। हामी त उनका दास हौं, मुरिद।’

खाइसकेर साथीले भन्यो - ‘पोजेटिभ एनर्जीको निम्ति यता आउँदा हुन्छ।’
एकछिनपछि भन्यो - ‘अस्ति फातिमासित घुम्न गएको थिएँ।’
‘फातिमासित ?’
‘किन मारिया र लिण्डासित मात्रै त अनि ?’ उसले आँखाले जिस्कायो।
‘मेरो त्यस्तो केही होइन। उनीहरू साथीहरू हुन् ।’ मैले स्पष्टीकरण दिएँ।
उसले भन्यो - ‘त्यस्तो-सित के मत्लब ? प्रेम हो भने त्यस्तो किन भन्नु परयो। प्रेम, प्रेम हो। नराम्रो हो ?’
‘प्रेम त प्रेम नै हो ? तर घरजम गरेर बच्चा काड्ने प्रेमचाहिँ होइन’ मैले हाँसेर भनें।
उसले भन्यो - ‘प्रेम कतिप्रकारको हुन्छ?’
**


बिहान पर्दा उघार्दा सिधा देखिन्छ - परको गजुर। गजुरको कलश अनि नारिवाल। नारिवालको टुप्पामा घामको पहिलो किरण परेको थियो अहिले। यतापट्टिको खिड़की खोल्दा देखिन्थ्यो हरियो गजुरको इमारत, माइक कानमा सिउरेको। अलि पर टङ्टङ बजिरहेको हुन्थ्यो एउटा चुच्चो भवन। चराहरूले एक फन्को मारेर आकाशमा अदृश्य सुरक्षाकवचले चारवटा दिशालाई बाँध्थे। यो शहर कति उदार थियो। थुप्रै सन्तानकी एउटी आमा जस्तो।

आमाले कोठामा पस्दै भनिन् - ‘दूध सकेछ। जा न एक पाकिट लिएर आइज !’
मेरो अल्छीपनले आङ तान्यो। ‘न जा अहिले’ पनि भन्यो। मैले त्यसैको कुरालाई अलिकति मौलिक बनाएर भनें - ‘अहिले एकछिनमा जान्छु नि ! समय छ त’
‘अँ छ!’ आमाले भनिन् - ‘समय त फ्रिजमा राखेको छ नि!’

-----

चिया पिउँदैथियौं। दूधमा चिनी, चियापती, पानी पनि, अरू मसलामा ल्वाङ, अलैँचीहरू हालेपछि चिया हुन्छ। चिया के अर्को आयामको कुरा हो ? जो उपादान र परिस्थितिहरू मिलाएपछि बनिन्छ, तर पहिला आफ्नो मौलिक स्वरूपमा कहीँ भेटिँदैन। जो उपादानहरू र परिस्थितिहरू मिलेर अर्को थोक उत्पादन हुन्छन्, ती कतै थिए होलान् र त अस्तित्वमा आउँछन्। कोलोम्बसले अमेरिका आविष्कार गरेजस्तो ती अस्तित्वमा भएकै थोक विशेष परिस्थितिहरू मिलेपछि बल्ल देखा परेका त होइनन् ? के आयामहरूमा हाम्रो संसार बसेको छ ? चिया मान्छेको चेतना विस्तार भएपछि बनाउन जानिएको हो। भनेपछि जति-जति चेतना विस्तार हुँदै जान्छ मान्छेले भेट्दै आउँछ यस्ता आयामिक कुराहरू ? यस्ता कति थोक होलान्, जो अस्तित्वमा आउनसक्दा हुन् ? चामल - भात भएजस्तो, भात - खोले भएजस्तो, घाँस - दानापानी र गाई, दूध भएजस्तो। दूध- दही, मही र घिउ भएजस्तो। घिउ पोषक भएजस्तो। पोषण शरीर भएजस्तो। बिजन रूखभएजस्तो। रूख - फूल फल र फेरि बिजन भएजस्तो।

यसो हो भने - ‘मैले के छ भन्नु ? के छैन भन्नु ? के हो भन्नु ? के होइन भन्नु ? के यति भन्नु ? के उति भन्नु ? मलाई केही त थाह छैन। केही, केही पनि त थाह छैन। एकछिनको असिना, एकछिनको पानी, एकछिनको बाफ, कुन अन्तिम हो, हो ? के हो - के हो ? के छ, छ ? कसरी हो, हो ? कसरी एउटा बाटो भन्नु ? कसरी दुईटा बाटो भन्नु ? कसरी माथि भन्नु ? कसरी तल भन्नु ?

कसरी हो - हो, पहेँलो दाल, रातो रगत भएको ?

मलाई ङयाङ-ङ्याङ गर्ने टाकटुक विचारलाई चोखो मनले भावपूर्ण पिण्डदान दिएर दिमागलाई मुक्त गराउन खोज्छु। जुन विचार भविष्यमार्गी छ म ऊसित हुन्छु। जो उपस्थितिको निम्ति उपस्थित छ, मेरो निम्ति उपस्थित छैन। ती लेँड़े र जब्बरे विचारहरूलाई एउटा सुनामी स्वास फेरेर सबै हुत्याइ बगाउँछु, अनि हाल्छु नालीमा बगाइपठाउँछु। महासागर पुगोस् भनेर।

तब चिया पिउँछु। स्वादको तरङ्ग सल्बलाउँदै मस्तिष्कमा पुग्छ र आँखाको आँखीझ्याल सरयाक्क बन्द गर्छ। टाउको हल्लिन्छ दायाँबायाँ।


बाबा सब्जी लिएर भित्र पस्छन्।
फूलकोपीको सेतो टाउको, टमाटरको रातो गाला, बैगुन डराएर बैगुनी भएको, कल्कलाउँदी यौवना पालक, आइरन गर्दा किरिच बिग्रिएको पत्लुङ पहिरिएर उभिएका भिण्डी र झिङेनीहरू। अझै डरले काँड़ा उम्रिएका चटेलाहरू।

बाबाले एकएक गर्दै सब्जीको रयाकमा राख्छन्। राखिसकेपछि लौकाले च्यापु अड़याएर डिलबाट हेर्दै हुन्छ। एउटी भिण्डी तारबाट मुनि छिरेर टाउकोले झुण्डिरहेकी हुन्छे। मलाई लाग्छ, सोध्यो भने यीहरू बोल्छन होला। यिनीहरू जिउँदा छन् र त यिनीहरूलाई खाएपछि मान्छेको जिउँदो शरीर बनिन्छ। ओठ पो छैन त, भाषा र बोली पो छैन त;


बाबा पलेंटी मारेर बस्छन्। म उनको काखमा पल्टिन्छु। शिरमा हात छोएर - ‘अब त ठूलो भइस् हौ केटा’ - भन्छन्।
म भन्छु - ‘सस्तोमा, भरपर्दो टिकाऊ, तपाइँले गर्ने प्रेमजस्तो, त्यस्तो केही पाउनुभयो भने ल्याइदिनुहोला !’
बाबा भन्छन् - ‘के ?’
म भन्छु - ‘यो पजल हो। त्यसको नाम छैन।’
बाबा भन्छन् -‘आफैं खोज्। बूढ़ो भइसक्यो।’

आमाले ओखरको दिमाग ल्याएर दिन्छिन्। ‘गिदी खाँदिन’ भन्नेहरूलाई प्रकृतिले दिएको चुनौती - ‘नखाएर देखा त!’ म गिदी खान्छु। आमा भन्छिन् - ‘यहाँ आइज त जुम्रा हेरूँ !यो त पर्छ पनि, उताबाट सर्छ पनि' आमाले जुम्रा हेरिदिन्छिन्।

जुम्रालाई हेरी होइन मारिदिन्छिन्।
कपालमा कपालजस्तै भएर बसेका ती निर्बोध प्राणीको यो एक अर्थमा हत्या नै हो । तर आमाले आफ्नो खून एक छटाङ कसैलाई खान दिन्न। जसरी मैले एउटा कविता लेखें अथवा कथा बनाएँ, त्यसरी नै आमा र बाबाले मलाई बनाएका। त्योभन्दा हजारगुणा साह्रो गरी। तर मेरोमा राम्रो जति पाइने, उनीहरूले भरेका, नराम्रो जति मेरो आफ्नो कमाई। उनीहरू आकाश र धरती जति पवित्र छन्। म रूख जस्तो यो साक्ष्य उभिएको हुन्छु।


जुम्रा ‘आ’ गरेर भुइँमा झरयो कायौँले। कायौँको दाँतमा उसको सायद ६ वटामा तीनवटा खुट्टा अल्झेको थियो । आमाले भनिन् - ‘ढाड़ी।’
म सोंच्छु - ‘जसको ढाड़ छैन। उसको नाम कसरी ढाड़ी।’

ढाड़ी, भैँसीजस्तै लड़ेको हुन्छ फर्समा। उत्तानो पानीबिना पौड़ी खेल्दै गरेको हुन्छ, यस्तो लाग्छ कि ऊ कुद्दैछ।


त्यसपछि ढाड़ीको टाउकोमा गोलो सेतो वृृत्त घुम्दै गरेको हुन्छ। उसको दुईवटा पखेटाहरू हुन्छन्। बादलको गेटमा पुगेपछि उसलाई अवर्णनीय स्वागत हुन्छ। ऊ पुग्छ - ‘स्वर्ग’ लेखेको बोर्डमुनि। अनि उकालै जान्छ। अप्सरा नाचिरहेका हुन्छन्। त्यहाँ जालो आकारको संरचना मिलिक मिलिक बल्दै-निभ्दै गरिरहेका हुन्छन् - लाइटको डेकोरेशन।

**


हामी सागरको किनारमा बसेका छौं। पानीहरू छर्लम्-छर्लम् फुटिरहेका छन्। हामीलाई भिजाइरहेका छन् पानीका भावहरूले। डुङ्गाहरू नजिक टाढ़ा सरिरहेका छन् समय। कतिको हावा बत्याउने झण्डी पनि छ। कोही गुफाजस्ता छन्। एकजोड़ी जाँदैछ उता पानीमा। एउटा यो किनार बसेको अर्को उ किनारमा। उसले खियाउँदैछ विचारको पतवार। उठ्दै झर्दै बजिरहेछन् युवतीको परेला पतवारसित छप्लक, छप्लक। ओठमा मुस्कान छ आकाशको। बसेर हेरिरहँदा रमाइलो लागेर आउँछ।

मैले साथीलाई सोधेँ - ‘हामी किन यहाँ आउँछौँ ?’
उसले सहज उत्तर गर्छ - ‘यात्रा हेर्न।’
‘अरूले गरेको यात्रा हेर्न ?’ म सोध्छु।
‘होइन! भ्रम र व्यवहार त यही छ तर होइन। आफ्नो यात्रा हेर्न।’
ऊ भन्न थाल्छ -‘अघि घरबाट आयौ। बाटोमा हिँड़यौ। यहाँ आएर बस्यौ। हामी दुवै बस्यौँ। देख्यौ होइन यात्रा ? आफ्नो यात्रा। अँ, त्यो गर्दागर्दै देखियो भनेचाहिँ अर्कै हुँदरहेछ।’
एकछिनपछि बोल्छु - ‘कोही बेला यस्तो भएको छ? जस्तै कि ! तिमी बोल्दैछौ, सुन्नेले सुन्दैछ, उसले प्रतिक्रिया पनि दिँदैछ अरे! तर प्रतिक्रिया सुनेर लागोस् कि यो मान्छेले तिम्रो कुरासित रिलेट गरेकै छैन। बुझेको छैन तर बुझेको अभिनय गरेर उल्टा अर्थ ओकलिरहेको छ। तिमीलाई यस्तो परेको छ ?’

‘यस्तो मलाई परेको छैन। तिमीसित परेको हो भने त्यस्तो मान्छेसित धेरै बेर कुरा नगर। चाना किनिदेऊ’ - उसले भन्यो।
‘त्यसो भए मलाई चाना किनिदेऊ!’ मैले भनें।
उसले पुलुक्क हेरयो।
‘किनभने मैले तिम्रो कुरासित रिलेट गर्न सकेको छैन। मेरो गोदामघरे दिमागमा विचारका पाण्डाहरू गोली उछाला-उछाल गर्दैछन्।’ - हामी दुवै हाँस्यौ।
उसले मलाई कटाक्ष गरयो - ‘नसुर्ताऊ ! मेरो कुरा बुझ्नेहरू छन्।’
यसचोटि हामी दुवै आनन्द हाँस्यौँ। तर मैले नहार्नलाई भनें - ‘कुरा बुझेर के गर्नु र ? हामी भोटमा उठ्ने मान्छेमा त परेनौँ।’
उसको वाक्य रहल रहेछ - ‘चुनाउ-चिन्हभन्दा धेरै माथि हो जिन्दगी!’
बाँसुरीको टूप्पाले कपालमा टवाक्क हिर्कायो।
मैले भनें - ‘त्यसो भए मूला भन त’
उसले भन्यो - ‘मूला’
‘अँ !’ मैले भनें।
**


हामी सिँढ़ीहरूमा बसेका छौँ। उसले बाँसुरी बजाउन थाल्छ। बाँसुरीको धुन पर्दामा देख्न थाल्छु -

सेतो हिमालको अघि ध्वजापताका लहराइरहेछन्
हरियो चउरमा खल्टङ खल्टङ बजाउँदै चौरीहरू चरिरहेछन्
आकाश दूर पश्चिम शीरमा, बत्ती नबाली जून हिँड़िरहेछ
घामको तरवार रूखहरूबिच, चमक उज्यालो बलिरहेछ

खोला छ शितल कलकलधारा, धारामुनि गुड़दैछन् गिटी ढुङ्गा
पातमा कर्कलोको दुई थोपा पानी, जिस्किँदैछ लड़ेर हावासँग
आँखाले भ्याए जति सबै, पहेँला फूलेका छन् खेतीबारी
छायाँ भएर घाम छोपिए, चराहरू सौन्दर्य वारिदेखि पारिपारि

गोरूगाड़ी चल्दैछ धरती भूइँमा, रकेट उड़ेर जाँदैछ आकाशमा
उम्रिरहेछन् बिल्डिङ बस्ती, ध्यानमा छन् कोही उपवासमा
जल्दैछ गोला, आरम्भ हो कि समाप्त भएको होला
बिचमा छ हरियो, नीलो नीलो कहाँ-कहाँसम्म होला...

**

यो गाउँमा सुस्ताउन हुने गरी रातो बन्सो उम्रिएको मैदान र अलिकति अग्लो डाँड़ा छ। चिलाउने, झाँक्री सेउलाका रूखहरू झ्याम्म किनारमा छन्। गाउँले साथीभाइसित कुरैकुरामा कुरा हुँदा ‘को काले?’ को कुरा गर्छ भने। मनोहर पनि चिनेनन्, नटवर, बिहारी, यहवी सबै भनें - कोही चिनेनन्।

‘आज 31 डिसम्बरको पार्टी छ बोला न त!’ - भने।

राति नटवर उनीहरूसित नाच्दैथियो। एवमरितले बाह्र बजेर एक मिनट जाँदा सबैसित ‘नयाँ वर्ष’को शुभकामना पनि भन्दैथियो। तर भोलिपल्ट नयाँ वर्षको चार बजीतिर फेरि उसको कुरा झिक्दा फेरि पनि कसैले उसलाई ठम्याउन सकेनन्। एकजनाले चाहिँ ‘हो-हो मैले देखेको थिएँ’ भन्यो। बाँकीबात छैन।

अब यहाँ तीन-चारवटा कुरा आउँछ -
म नशामा छु कि मेरा गाउँले मित्रहरू नशामा छन्
त्यो पनि होइन भने - मैले उल्टो नाम बोलिरहेको छु
त्यसो पनि होइन भने - हुनसक्छ, उनीहरूले उसलाई अर्कै पाराले चिनेका छन्।
*

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।