15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ सांस्कृतिक खोज: ‘तँ–तिमी, तपाईँ–हजुर’

कृति/समीक्षा डा.कृष्णराज अधिकारी July 16, 2022, 6:57 am
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

श्यामप्रसाद शर्मा (वि.सं.१९८६–२०७४) नेपालको प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अग्रणी व्यक्तित्व हुन् । वि.सं. २००१ देखि नै राजनीति, साहित्य–संस्कृति र पत्रकारिता मार्फत् नेपालको प्रगतिशील आन्दोलनमा योगदान गर्दै आएका शर्मा वि.सं. २००१ देखि राजनीतिक कार्यकर्ताका रूपमा, २००२ सालदेखि कविका रूपमा र २००५ देखि पत्रकारका रूपमा चिनिदै आएका छन् । २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना गरी सबै प्रगशिील लेखकहरूलाई एकै ठाउँमा समेट्न खोज्ने शर्मा नेपालको प्रगतिशील आन्दोलनको अगुवा मात्र होइन सिङ्गो संस्था जस्तै बन्न पुगेको पाइन्छ । सादा जीवन, शिष्ट र सरल व्यवहार अनि जनपक्षीय चिन्तन बोकेका शर्मा बोली र व्यवहारमा तादात्म्य कायम गर्ने दुर्लभ लेखकमध्ये पर्दछन् । पटक–पटक जेल र झण्डै २४ वर्षको लामो भूमिगत जीवन बिताएका शर्माको जीवन आफ्ना कृतिहरू जस्तै सरल र उद्देश्यमूलक रहन पुग्यो ।
श्यामप्रसादको लेखन–यात्रा साहित्येतर (वैचारिक) र साहित्यिक दुवै तर्फ उत्तिकै गतिमा अघि बढेको पाइन्छ । साहित्येतर रचनाहरूमा उनले राजनीतिक, सामाजिक, धार्मिक, शिक्षा, संस्कृति, स्वास्थ्य, पे्रम, विवाह, महिला–मुक्ति जस्ता जीवनोपयोगी तथा व्यवहारोपयोगी विषयहरूमा कलम चलाउन पुगे भने साहित्यिक विधा तर्फ पत्र–साहित्य, यात्रा–साहित्य, बाल–साहित्य, गीत–कविता, आत्मपरक निबन्ध र समालोचनाको क्षेत्र रोज्न पुगे । साहित्यमा नाटक र उपन्यास बाहेक सबैजसो विधामा कलम चलाउने शर्मा मूलतः निबन्धकारकै रूपमा स्थापित र सम्मानित हुन पुगेका छन् । पत्र साहित्यलाई यिनैले स्थापित गरी अघि बढाएको पाइन्छ । यिनका निजात्मक निबन्धहरूले पाठकमा वैचारिक सन्देशसहित गहिरो प्रभाव छाड्न सफल देखिन्छन् । ‘बहिनीलाई चिठी’ (२००८), ‘तँ–तिमी, तपाईँ–हजुर’ (२०१४), ‘धनीको पनि ओड लिने’ (२०४८), ‘उनी कति राम्री’ (२०५२), ‘साथी बनाउन खोज्दा’ (२०५२), ‘श्यामप्रसादका निबन्धहरू’ (२०६२) जस्ता निबन्धहरूले श्यामप्रसादको भाषिक सरलता, निजात्मक शैली र सांस्कृतिक चिन्तनलाई उजागर गरेका छन् ।
श्यामप्रसादको लेखन सधैं उद्देश्यमूलक रहन पुग्यो । उनले आफ्नो लेखन ‘स्वान्त सुखाय’का लागि नभएर समाज परिवर्तनको माध्यम बनाएका थिए । यसैले यिनले साहित्यलाई उच्चस्तरको कला–शिल्पले कुँद्न र नयाँ नयाँ शिल्प–प्रयोगको क्रीडास्थल बनाउनतिर नभएर समाजका बहुसङ्ख्यक वर्गले समेत बुझ्ने गरी तिनको चेतनाअनुरूप सरल तर सन्देशमूलक हुने गरी लेख्न पुगे । जनताको निम्ति लेखिने साहित्य जनताले नै नबुझ्ने क्लिष्ट र जटिल हुनु हुँदैन । आम जनताको शैक्षिक तथा चेतनास्तर अनुरूप कै साहित्य लेखिनुपर्छ भन्ने मान्यता राख्ने हुनाले यिनको लेखन सरल मात्र नभएर कृतिहरू पनि सानो आकारका र सस्ता समेत हुन पुगे । यिनको यही अति सरल शैली, सामान्य विषय अनि वैचारिक सन्देशले भरिएको अन्तर्वस्तुले गर्दा एकथरि लेखक–समीक्षकहरू यिनका रचनामा कलात्मक मूल्यको अभाव देख्न पुग्छन् । तर निजात्मक शैलीका यिनका निबन्धहरूमा कलात्मक शिल्प र वैचारिकताको सुन्दर समन्वय पाइन्छ । जनतालाई सचेत र जागरुक बनाउन लेखिएका वैचारिक प्रकृतिका लेखहरूमा अपेक्षित कला–शिल्प नभेटिनुलाई स्वाभाविक मान्न सकिन्छ ।
श्यामप्रसादका निबन्धहरूमध्ये २०१४ मा प्रकाशित ‘तँ–तिमी, तपाईँ–हजुर’ सबैभन्दा बढी चर्चित रहेको कृति हो । हेर्दा सामान्य र धेरैले भोगेको विषय जस्तो लाग्ने यहाँका निबन्धहरूले सरल र मीठो भाषामा गम्भीर सांस्कृतिक चिन्तन प्रस्तुत गरेका छन् । निजात्मक परिवेश र संस्मरणात्मक शैलीले गर्दा यी निबन्धहरूले पाठकको हृदय स्पर्श गर्दै मस्तिष्कको ढोका ढकढक्याउँछन् र केही सोच्न लगाउँछन् । २०१३ सालको ‘नौलो पाइलो’ मा प्रकाशित ‘कोट र जुत्ता’ वाहेक अरू छवटै निबन्धहरू २०१४ मा लेखिएर सोही वर्ष प्रकाशित भएको पाइन्छ । यसभन्दा अघि नै ‘गाउँको सफाइ’ (२००१), ‘स्वास्थ्य रक्षा’ (२००३), ‘बहिनीलाई चिठी’ (२००८) जस्ता साहित्येतर विषयका लेखहरू लेखिसकेका शर्माले नेपालीमा निजात्मक निबन्धको अभाव देखेपछि यतातिर अघि सरेको कुरा आफैंले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् । नेपाली साहित्यमा देवकोटाले सुरु गरेको निजात्मक शैली र हृदयचन्द्रसिंह प्रधानले सुरु गरेको प्रगतिशील धारालाई श्यामप्रसादले पछ्याउन पुगेको देखिन्छ । २०१४ मा प्रकाशित ‘तँ–तिमी, तपाईँ–हजुर’ निबन्ध सङ्ग्रहपछि पनि शर्माले अरू थुप्रै लेख–निबन्धहरू प्रकाशन गर्न पुगे । तर पछिल्ला अधिकांश रचनाहरू वस्तुपरक लेखका रूपमा रहे भने निजात्मक प्रकृतिका पछिल्ला निबन्ध पनि ‘तँ–तिमी, तपाईँ–हजुर’ को उचाइमा पुग्न सकेनन् ।
‘कोट र जुत्ता’ सङ्ग्रहभित्रको पहिलो निबन्ध हो । २०१३ माघको ‘नौलो पाइलो’ त्रैमासिकमा पहिलो पटक प्रकाशित यो निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको छ । हाम्रो राज्य र समाज–व्यवस्थाद्वारा सिर्जित विभेदपूर्ण र आडम्बरयुक्त संस्कारहरूलाई खोतलिएको यस निबन्धमा त्यसका विकृत र विरूप अवस्थाहरूलाई निजात्मक अनुभूतिद्वारा उजागर गरिएको छ । विवाहको उद्देश्य र वास्तविक मर्म नै नबुझ्दै बाल्यकालमै गराइदिने विवाह, जन्तीको आडम्बर अनि कोट, जुत्ता, मोजा जस्ता विदेशी पोशाक लगाउनुलाई इज्जतदार र भलाद्मी सम्झने सोच र चिन्तनलाई यहाँ समाज व्यवस्थाकै उपजका रूपमा प्रस्तुत गरिएको छ । महङ्गा विदेशी जुत्ता र कपडा लगाउनुमै इज्जत सम्झने र त्यस्तो पोशाकमा मात्रै भलादमी देख्ने सामन्ती चिन्तन र संस्कृति आज पनि हटिसकेको छैन ।
उही व्यक्ति कोट र जुत्ता सहितको आधुनिक पोशाकमा सजिएर हिँड्दा भलादमी बन्दै धेरैको सम्मान र नमस्कार पाउँछ भने सामान्य कपडामा हिँड्दाचाहिँ उपेक्षित हुन्छ । पुरानो विचार बोक्नेले मात्र होइन आधुनिक विचार बोकेको भनिने मानिसमा समेत यस्तो चिन्तन र संस्कार रहेको छ । बाह्य आडम्बर, रवाफ बोक्रेपनको साम्राज्यले आन्तरिक गुण–सौन्दर्य, योग्यता–क्षमता र मानवीयतालाई निलिरहेछ । जन्ती जाँदा कोट, जुत्ता सहित आएकालाई खाना र बासको राम्रो व्यवस्था अनि सामान्य कपडामा आएकालाई भने कमजोर व्यवस्था गरिएको प्रसङ्ग कोट्याउँदै लेखकले हाम्रो संस्कार र चिन्तनमा भरिएको सामन्ती सोच हटाउन जरुरी रहेको सन्देश दिएका छन् । लेखकले तत्कालीन सामाजिक संस्कार र चिन्तनलाई उधिन्न खोजेको भए पनि यो आजको समेत यथार्थ हो । यस्तो चिन्तन र संस्कारले गरिव र श्रमिक वर्गलाई अपहेलना अनि शोषक–सामन्त र सम्भ्रान्त वर्गलाई सम्मान र चाकडी गर्न सिकाउँछ । यसले मानिसभित्रको दास मनोवृत्तिलाई हुर्काउँछ र समाजलाई विभेदपूर्ण, अन्यायपूर्ण र शोषणग्रस्त राखिराख्न सघाउ पु¥याउँछ । यस्तो आडम्बरीपन शहर–बजारमा व्याप्त भएपनि गाउँ–घरमा, किसान–मजदुर तथा श्रमजीवी वर्गको बस्तीमा भने त्यस्तो नहुने लेखकको ठहर छ ।
बालक छँदा सबै सरल र निश्छल भए पनि पछि समाज, संस्कार र परिस्थितिले उसलाई चोर, फटाहा, लुटाहा, हत्यारा र बलात्कारी समेत बनाउँछ । यसको कारक तत्व हाम्रो राज्य–व्यवस्था र समाज अनि त्यसद्वारा सिर्जित गलत संस्कार नै हो । आम जनतालाई रोजगारी नदिने, श्रमको अपमान गर्ने, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था नगर्ने, आम जनतालाई गरिवीमा राख्ने अनि उसको गरिवी, अशिक्षा, वेरोजगारी र रोगीपनको उपहास गर्ने हाम्रो राज्यव्यवस्था नै सबै विकृतिको कारक हो भन्ने सन्देश यस निबन्धमा पाइन्छ ।
‘आइमाई साथी’ सङ्ग्रहभित्रको अर्को निबन्ध हो । नारीप्रति सम्मान र मित्रभावको आग्रह राख्ने यस निबन्धमा लेखकले पुरुषले नारी र नारीले पुरुषप्रति राख्ने परम्परागत सोच, दृष्टिकोण र मान्यतालाई अघि सारेका छन् । महिलालाई साथी बनाउन खोज्दा लेखकलाई आइपरेका समस्याको संस्मरणात्मक रूपमा प्रस्तुत गर्दै पुरुषले महिला र महिलाले पुरुष साथी बनाउन नसक्नुमा हाम्रो रुढिग्रस्त संस्कार, सामन्ती सोच, अशिक्षा र चेतनाको कमी नै प्रमुख कारक रहेको सङ्केत गरिएको छ । शिक्षा, स्वास्थ्य, सामाजिक व्यवहार लगायत हरेक क्षेत्रमा महिलाहरू पछि परेका र तिनलाई पुरुष सरह अधिकार दिई समान रूपमा अघि बढाउन पनि महिला र पुरुषका बीच मित्रता आवश्यक रहेको लेखकको ठम्याइ छ । अशिक्षित व्यक्तिमा मात्र होइन पढे–लेखेका र बाहिर नारी अधिकार र परिवर्तनको ठूला–ठूला कुरा गर्नेहरू पनि त्यसको उल्टो व्यवहार गर्दै आफ्ना पत्नी, बहिनी र छोरीहरूप्रति सङ्कीर्ण र अनुदार रहने गरेको यथार्थलाई यहाँ आफ्ना रोचक अनुभवद्वारा प्रस्तुत गरिएको छ । सिद्धान्त एउटा र व्यवहार अर्को हुनुनै आजको समस्याको कारक हो । सिद्धान्तलाई पूजा मात्र गर्ने वा देखाउने दाँत मात्र सम्झने प्रवृत्ति हिजोभन्दा आज अरू मौलाएर गएको छ । एकथरिमा पाइने परम्परावादी चिन्तन र सामन्ती प्रवृत्ति अनि अर्काथरिमा पाइने सिद्धान्तमा जनवादी र व्यवहारमा जनविरोधी हुने ढोंगी चरित्र नै समाजको तीतो यथार्थ बनेको छ ।
लेखक महिला हक र समानताको पक्षमा उभिएका देखिन्छन् । महिला अधिकारका लागि महिला स्वयम् र पुरुष पनि उत्तिकै सचेत र सजग हुनु जरुरी हुन्छ । महिलाले पर–पुरुषलाई हेर्न र बोल्न समेत निगरानी गर्ने समाजमाथि चुनौति दिन पनि महिला पुरुष दुवैले परम्परागत घेरा तोड्नु आवश्यक हुन्छ । साथी बनाएपछि नै एक अर्काका समस्या र अप्ठेरालाई बुझ्न र मिलेर समाधान गर्न सकिन्छ यसैले महिलाले महिलालाई मात्रै साथी बनाउने प्रचलन हटाउँदै पुरुष–महिला दुवैले एक अर्कालाई साथी बनाएर अघि बढ्नुपर्ने लेखकको ठम्याइ छ ।
प्रस्तुत निबन्ध–लेखनको समय (वि.सं.२०१४) भन्दा आज महिला हक–अधिकार र सशक्तिकरणका क्षेत्रमा धेरै काम भएको पाइए पनि त्यो शहरी क्षेत्र र शिक्षित वर्ग–समुदायमा संकेन्द्रित भएकाले सुदूर गाउँ, विपन्न वर्ग र दुर्गम क्षेत्रसम्म पुग्न सकेको छैन । एकातिर महिला–पुरुषवीचको मित्रतालाई अझै अस्वीकार्य ठानिन्छ भने अर्कातिर पश्चिमा शैलीको ‘पे्रम’ले त्यसलाई मित्रताको मर्म र भावसम्म पुग्न नदिई प्रेम, यौन र विवाहमै परिसीमित गरिदिएको छ । हरेक चीजलाई उपभोगका दृष्टिले हेर्ने पुँजीवादी–उपभोक्तावादी संस्कृतिले प्रेम र मित्रतालाई पनि उपभोगकै दृष्टिले हेर्ने हुँदा महिला–हिंसा, बलात्कार र यौनजन्य विकृतिहरू बढ्न पुगेका छन् । यसैले एकातिर सामन्ती सोच, रुढि र अशिक्षाका कारण महिलाहरू पुरुषलाई साथी बनाउन सकिरहेका छैनन् भने अर्कातिर बढ्दो महिला हिंसा, अपराध र बलात्कारका घटनाले पनि महिलालाई पुरुषसँग निकट हुन सशङ्कित पारिदिएको छ । यसरी महिलाले पुरुष र पुरुषले महिला साथी बनाउन नसक्नुमा वा चोखो मित्रता कायम हुन नसक्नुमा हाम्रो सामन्तीे समाज–व्यवस्था मात्र जिम्मेवार नभई पछिल्लो समयमा फैलिएको पुँजीवादी विकृत संस्कृति र त्यसले सृजना गरेको अविश्वास र सन्देहसमेत जिम्मेवार रहेको छ । यसैले महिला पुरुष बीचको मित्रताका लागि पनि नयाँ संस्कृतिको विकास हुनु जरुरी देखिन्छ ।
‘बौलाहा रिमाल’ निबन्धमा प्रसिद्ध कवि तथा नाटककार गोपालप्रसाद रिमालसँगको संपर्क र त्यसपछिका विभिन्न समयका भेटका सन्दर्भहरू खोतल्दै रिमालले लेखकलाई पारेको प्रभावलाई संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ । सद्दे भनिएका मानिसमा पाइने खोक्रो आडम्बर, ढोंगी चरित्र र भित्र भित्रै कैंची काट्ने प्रवृत्तिका विपरीत बौलाएका भनिएका रिमालमा पाइने खस्रो बोलीभित्रको निश्छलता, निष्कपटता र स्पष्टताभित्रै मानवता र सच्चाइ रहेको कुरा लेखकले उल्लेख गरेका छन् । सद्दे भनिनेहरूले गर्ने ‘तपाईँ–हजुर’को सम्बोधनभन्दा बौलाहा भनिएका रिमालको आदरार्थीरहित ‘तँ’ संबोधनमै बढी आत्मीयता र हार्दिकता भेटिनु आजको कथित सभ्य र आधुनिक समाजका लागि एउटा व्यङ्य हो । आज बौलाहा र सद्देको परिभाषा छुट्याउन समेत गाह्रो पर्ने अवस्था छ । सद्दे भनिने मानिसहरूले अरूलाई दिने गरेको दुःख र हैरानीभन्दा बौलाएका भनिने रिमालहरूले खस्रो कुरामा गरेको मानवोचित व्यवहार नै सुन्दर लाग्दछ । लेखकले एउटा प्रसङ्ग कोट्याउँदै सरस्वती सदनको कवि सम्मेलनमा रिमालले कविता भन्न नाम टिपाएर पनि भन्न नदिइएको र कार्यक्रम सकिनै लाग्दा श्यामप्रसादकै आग्रहमा उद्घोषकको अनुमति नलिइकनै मञ्चमा गएर कविता सुनाउँदा सबैले रुचाएर ताली बजाएको सन्दर्भले पनि हाम्रो समाज, सोच र मानसिकतालाई स्पष्ट पार्दछ । सत्य र यथार्थलाई नरुचाउने तर कृत्रिमता र आडम्बर मन पराउने हाम्रो संस्कारले हाम्रो समाज ढोंगी र आडम्बरी बन्दै गएको छ ।
पुस्तक लेख्न शर्माले गरेको अनुरोधको जवाफ रिमालले जे जसरी दिन्छन् त्यो तत्कालीन समयको मात्र नभएर आजको समेत यथार्थ हुन गएको छ । पुस्तक लेखेर नेपाली भाषा प्रकाशिनी समितिमा बुझाउँदा पनि प्रकाशन नभएपछि किताव फिर्ता लिन जाँदा रिमालले भोगेको अपमान अहिलेका स्वाभिमानी लेखकहरूले समेत विभिन्न किसिमले भोगिरहेको स्थिति छ । विक्षिप्तावस्थामै पनि कवि रिमालमा देश र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना रहेको तर सद्दे अवस्थाका मानिसहरूमा भने व्यक्तिगत लाभ र स्वार्थभन्दा बढी केही नभएको अवस्था तीतो यथार्थ हो । देशको शासन–सत्तामा बसेकाहरू आफ्नो स्वार्थका लागि सार्वजनिक हितका वस्तु र प्रकाशन संस्था समेत बन्द गराउन उद्दत रहेकामा रिमाल जस्ता कथित बौलाहाहरू देशलाई सम्पन्नतातिर लैजान चिन्तित हुन्छन् । बौलाहा रिमाल गोरखापत्रलाई तत्कालीन रुसबाट निस्कने ‘प्राभ्दा’ जस्तै बनाउनु पर्छ भन्ने सोच राख्छन् तर सत्ताको डाडु–पनियो लिने कथित सद्देहरूचाहिँ चलिरहेको गोरखापत्रलाई समेत कमजोर पार्दै बन्द गराउन उद्धत रहन्छन् । देशको चिन्ता र माया गर्ने रिमाल आफू जेलमा बस्दाको अवस्थाभन्दा अहिले खासै फरक नभएको महसूस गर्छन् । अन्याय, अत्याचार र विभेदको विरुद्ध आगो ओकल्ने उनी दालभात खाएर हैन देशका लागि केही गरेर मर्ने सोच राख्छन् । यसरी निबन्धकार शर्मा बौलाहा भनिएका रिमालको माध्यमबाट उनको देशभक्ति र क्रान्तिभावलाई खोतल्दै सद्दे भनिएका हाम्रो आडम्बरी, वेइमानी र ढोंगीपनलाई उतार्न पुग्छन् ।
‘चाउ नेपाल आउँदा’ मा लेखकले २०१३ मा नेपाल भ्रमणमा आएका चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाइको सन्दर्भ खोतल्दै उनले आम जनतामा पारेको प्रभाव र नेतामा हुनुपर्ने गुणको चर्चा गर्न पुगेका छन् । चाउ एन लाइको जीवनी पढ्न खोज्दै लेखक चीनबाट फर्केका नेपाली समक्ष पुग्दा उनीहरूले अरू सामान ल्याएपनि त्यस्ता कितावहरू नल्याउने गरेको प्रसङ्गबाट हामी नेपालीहरूको प्रवृत्ति उजागर हुन्छ । हामी नेपालीहरू उपभोग्य र विलासी वस्तुहरूमा वेफिक्री खर्च गर्छौं तर ज्ञानलाई फराकिलो पार्ने कुनै पुस्तक, सन्दर्भ सामग्री, वा कलात्मक वस्तुहरू किन्नमा पटक्क रुचि गर्दैनौं । लेखकले यसलाई सीधै उल्लेख नगरेर चाउको जीवनी पढ्न खोज्दा नपाउँदाको प्रसङ्गबाट उजागर गर्छन् । ‘चीनको प्रगति आफूजस्ता दुई–चार जनाको चटकले नभएर संपूर्ण जनताको साझा प्रयत्नबाट भएको’ भन्ने चाउको भनाइबाट व्यक्ति–पूजाको विरुद्ध सामूहिक भावनाको पक्षपोषण गरेको देखाउँछ । नेताको देवत्वकरण गर्ने, सामूहिक भावनाको उपेक्षा गर्दै व्यक्तिवाद र व्यक्ति–पूजालाई प्रोत्साहन र महत्व दिने प्रवृत्ति हाम्रो राजनीतिक संस्कार नै बन्न गएको स्थितिमा चाउको उक्त भनाइ मननीय लाग्दछ ।
त्यसै गरी विदेशी भाषाको ज्ञान भएर पनि जुनसुकै समारोहमा पनि आफ्नै भाषामा बोल्नुबाट चाउको मातृभाषाप्रतिको प्रेम झल्काउँछ । विदेशी भाषामा बोल्नुमै गौरव सम्झने हाम्रो प्रवृत्तिको विपरीत अङ्ग्रेजी भाषमा पोख्त हुँदाहुँदै पनि आफ्नै भाषामा बोलेर उनले एउटा सन्देश समेत दिन्छन् । आफूलाई उपहारमा दिएको फूल एकछिनपछि टेवुलबाट भुइँमा खस्दा वरपर बसेका कसैले वास्ता नगर्नु तर उनी हतपत उठेर उक्त फूल उठाएर राख्नु जस्तो काम हेर्दा अति सामान्य लागेपनि त्यसले निकै महत्वपूर्ण सन्देश दिएको हुन्छ । त्यस सानो प्रसङ्गले एकातिर हाम्रो ठालु प्रवृत्ति र चीनीयाहरूको नम्र प्रवृत्ति देखाउँछ भने अर्कातिर कसैले प्रेमपूर्वक दिएको वस्तुको अपमान होइन सम्मान गर्नुपर्ने सन्देश पनि दिएको देखिन्छ । हाम्रा खराव प्रवृत्ति औंल्याउने सन्दर्भको अर्को प्रसङ्गमा लेखकले साथीलाई भेट्ने समय दिएर घरमा बोलाउने तर आफूचाहिँ विना जानकारी बाहिर हिँडिदिने प्रवृत्तिलाई पनि उधिनेका छन् । यसरी जुनसुकै सन्दर्भ र घटनालाई जोडे पनि लेखकले हाम्रा कमजोरी र खराव प्रवृत्तिहरूलाई उधिन्दै त्यस्ता प्रवृत्ति विरुद्ध सुधारको सन्देश समेत दिन पुगेका छन् ।
‘एक घण्टा बिताउन’ सङ्ग्रहभित्रको अर्को निबन्ध हो जहाँ पल–पलको महत्व बोकेको समय बिताउन सकसपूर्ण हुने हाम्रो अवस्थालाई सङ्केत गर्दै हाम्रा सोच, प्रवृत्ति, संस्कार, चिन्तन, चरित्र र अवस्थालाई केलाइएको छ । संस्मरणात्मक शैलीमा लेखिएको यस निबन्धमा एक घण्टाको खाली समय बिताउन लेखकलाई सकस पर्छ र समय बिताउन उनी नजिकका आफन्त वा साथीहरूको घर जाने सोच बनाउँछन् । भेट्नका लागि उपयुक्त व्यक्ति वा आफन्त सम्झने सिलसिलामा उनी विभिन्न प्रवृत्तिका मानिस अनि तिनका चरित्र र कमजोरीहरू केलाउन पुग्छन् । कोही व्यक्ति आर्थिक विपन्नताको बाबजूद पाहुनालाई उचित सम्मान गर्दै सकभर मीठो खुवाउन प्रवृत्त रहन्छन् भने कोही राम्रो आर्थिक अवस्था भएर पनि मानवोचित व्यवहार गर्नसम्म पनि कन्जुस्याइँ गर्छन् । कोही ऋण दिएर व्याज खान पल्केका साहु हुन्छन् जो अप्ठेरो अवस्थामा रकम फिर्ता माग्दै घाँटी अँठ्याउन पुग्छन् । भित्रभित्रै नकारात्मक सोच र विचार पालेर बाहिर निकै उदार र सहयोगी कुरा गर्ने ढोंगी चरित्रका मान्छेको प्रवृत्ति अनि पैसाका लागि मरिहत्ते गर्दै एकछिन पनि समय निकाल्न नसक्ने प्रवृत्तिका मानिस पनि यहाँ चिनाइएको छ । समाजका सामन्त र चुसाहा वर्गका खराव प्रवृत्तिलाई समेत देखाउन लेखक ती पात्रहरूलाई समेत उभ्याउँछन् र तिनका खराव प्रवृत्तिका कारण आफन्त नै भएपनि जान इच्छा नभएको धारणा व्यक्त गर्छन् । यसरी एक घण्टा मात्र बिताउन पनि सकस पर्ने अवस्थाका हामी वर्षौं वर्ष र अझ सिङ्गो जीवनै जवरजस्ती घिच्याएर बिताउन अभिशप्त छौं भन्ने सङ्केत गर्दै लेखकले एक घण्टा बिताउन आफन्त वा चिनजानका साथीहरू भेट्ने उपाय सोच्दै जाँदा हाम्रो समाजका विभिन्न चरित्र र तिनका प्रवृत्तिलाई राम्रोसँग केलाउन पुगेका छन् ।
‘तँ–तिमी, तपाईँ–हजुर’ हाम्रो समाजको विभेदकारी संस्कार र सामन्ती सोचलाई उजागर गर्ने निबन्ध हो । संस्मरणात्मक शैलीमा लेखिएको यस शैलीमा गरिव, दलित र शारीरिक श्रम गर्नेहरूलाई अपमान, उपेक्षा र उपहास गर्ने तर धनी, उच्च जात, उच्च ओहदाका व्यक्ति तथा श्रम नगर्ने र बसी खानेहरूलाई भने आदर र सम्मान गर्ने गलत परम्परा र प्रवृत्तिलाई खोतल्दै त्यस्तो प्रवृत्ति अहिल्यैबाट सच्याउनु पर्ने धारणा अघि सारिएको छ । तँ, तिमी, तपाईँ र हजूर जस्ता आदररहित, सामान्य आदर र उच्च आदरार्थी शब्दहरूको प्रयोग पनि व्यक्तिको आर्थिक हैसियत, पद, कामको प्रकृति र बाहिरी रवाफ हेरेर गरिने प्रचलन सामन्ती सोच र संस्कारकै उपज हो । उमेरले आफूभन्दा निकै जेठो, काका, बाबु वा हजुरबा सरहकै भए पनि उसको काम कसैको खेत–बारी जोत्ने, हँसिया–कोदाली बनाउने वा कार्यालयमै पनि पियन वा निम्नश्रेणीको पदमा रहेछ भने उसलाई आदररहित शब्द ‘तँ’ भनेर सम्बोधन गर्दै अपहेलित गरिन्छ । तर उमेरले छोरा वा भाइसरहकै भएपनि सुट–टाइ लगाउने, गाडी चढेर हिँड्ने, कार्यालयको अलि माथिको कर्मचारी वा उच्च जातको बाहुन, क्षेत्री वा ठकुरी रहेछ भने उसलाई सम्मानपूर्वक ‘तपाईँ’ वा ‘हजुर’ जस्ता उच्च आदरार्थी शब्दले सम्बोधन गरिन्छ । दलित जातिको कुनै कामी, दमाई, सार्की, चमार वा डुम रहेछ भने बाहुन वा क्षेत्री–ठकुरी समुदायका साना केटाकेटीले समेत आदररहित ‘तँ’ वा बढीमा ‘तिमी’ शब्दले सम्बोधन गर्ने संस्कार रहिआएको छ । त्यसैगरी पत्नीलाई जहिल्यै ‘तँ’ भन्ने तर पतिलाई भने ‘तपाईं’ वा ‘हजुर’ नै भन्नुपर्ने सोच र संस्कार शिक्षित परिवारभित्रै कायम रहेको पाइन्छ । कार्यालयको पियन वा विद्यालयको बूढो पालेलाई अरू कर्मचारी–शिक्षकहरूले ‘तँ’ वा ‘तिमी’ भन्ने संस्कार विद्यार्थीहरूमा पनि पर्न जाँदा साना विद्यार्थीहरूले समेत स्कुलको पालेलाई ‘तिमी’ भन्ने संस्कार र परम्परा आज पनि विद्यमान छ । यसरी आदर र सम्मान पनि जात, वर्ग र कामको प्रकृति अनुसार विभेदपूर्ण रहिआएको हाम्रो सामाजिक संस्कारलार्ई नङ्ग्याउँदै अहिल्यैबाट त्यस्तो परिपाटीको अन्त्य गर्नुपर्ने लेखकको आग्रह छ ।
तँ, तिमी, तपाईँ र हजुर जस्ता आदररहित, सामान्य आदर र उच्च आदरार्थी शब्द–प्रयोग जातीय, वर्गीय र लिङ्गीय आधारमा सिर्जना गरिएका सामन्ती समाज–व्यवस्थाकै उपज हुन् र आफूलाई प्रगतिशील वा प्रजातान्त्रिक भन्नेहरूले समेत व्यवहारमा त्यही सामन्ती संस्कारलाई अपनाइरहनु उदेकलाग्दो कुरा हो । हरेक व्यक्तिले आत्मसम्मान खोज्छ । मानिसले आफ्नो वाध्यता, रुचि र क्षमता अनुसार विभिन्न काम गरिरहेको हुन्छ । प्रत्येक कामको आफ्नै महत्व हुन्छ । शारीरिक श्रमलाई तुच्छ र हेय सम्झिने तर कामै नगरी बसी बसी खानुलाई ठूलो र इज्जतदार मानिने हाम्रो सामन्ती चिन्तन अझै कायमै छ भने दलित र महिलालाई तल्लो श्रेणीको सम्झिने सोच पनि हटिसकेको छैन । कुनैपनि लोग्नेलाई आफ्नी पत्नीले ‘तपाईँ’ वा ’हजुर’ भन्दा तल झरेर सम्बोधन गरेको सह्य हुँदैन तर पत्नीले भने सधैंं ‘तपाईं र ‘हजुर’ भन्दा अलिकति तल झर्न पाउँदिन । हाम्रो सामन्ती संस्कारले एउटा बूढो हली वा कामदारलाई मालिकका साना केटाकेटीलाई समेत ‘तपाईं’ वा ‘हजुर’ भन्न लगाउँछ तर ती केटाकेटीलाई भने श्रमिक वर्ग, गरिव र दलितहरूलाई ‘तँ’ वा ‘तिमी’ मात्र भन्न सिकाउँछ । यसरी प्रस्तुत निबन्ध मार्फत् लेखकले हाम्रो सामन्ती समाज–व्यवस्था र त्यसले सिर्जना गरेका रुढि, अन्धविश्वास र विभेदपूर्ण भाषा, संस्कार र संस्कृतिमा अहिल्यैबाट सुधार वा परिवर्तनको आवश्यकता रहेको कुरा औंल्याएका छन् ।
सङ्ग्रहभित्रको अन्तिम निबन्ध ‘मेरो आमा’ रहेको छ । लेखकले आफूलाई पालन–पोषण गर्ने आमाको संस्मरणबाट नेपालका थुप्रै आमाहरूमा हुने मातृ–गुण र कतिपय कमजोरीलाई समेत औंल्याउन पुगेका छन् । ‘कुपुत्रो जायते क्वचिदपि, कुमाता नभवति ।’ भन्ने संस्कृत उक्ति सबै आमाहरूमा लागू हुँदैन । सामान्यतः आमाहरू असल नै हुन्छन् । आफूले नखाई सन्तानलाई खुवाउने, आफ्नो सुख–सुविधाको वास्ता नगरी सन्तानकै सुख र भलाइका लागि चिन्तित रहने अनि आफू मरेर वा सकिएर पनि सन्तानलाई बचाउने आमाहरू साँच्चिकै असल र महान् हुन्छन् । तर सबै आमाहरू उत्तिकै असल र महान् भने हुँदैनन् । पर–पुरुषसँग लहसिँदै सन्तानप्रति दुव्र्यवहार गर्ने, दूध खुवाउँदैका सन्तान अलपत्र छाडेर पर–पुरुषसँग हिँडिदिने र कतिपय अवस्थामा तिनको हत्या गर्न समेत तम्सिने दुष्ट आमाहरू पनि हाम्रै समाज–व्यवस्थाका विकृतिका उपज बनेका छन् । तर लेखकले आफूलाई जन्मदिने आमाको निधनपछि आफूलाई पालन–पोषण र हेरविचार गर्ने आमाका सद्गुणहरू खोतल्दै केही कमजोरी समेत औंंल्याएका छन् । सामान्य साक्षर भएर पनि लेखपढमा रुचिराख्ने, पढ्न नपाएकोमा अफसोस मान्ने, व्यावहारिक ज्ञानले परिपक्व, अर्काको गुणको पारख गर्ने, आफ्नो कमजोरी महसूस गर्ने आफ्नी आमाको माध्यमबाट त्यस्तो गुण भएका थुप्रै आमाहरूलाई प्रस्तुत गरेका छन् ।
नराम्रो वा अन्यायपूर्ण काम भन्ने थाहा पाएर पनि त्यसको विरोध गर्न नसक्नुलाई आमाको कमजोरी देख्ने लेखकले त्यस्ता कमजोरीहरू छिपाएर बसेका थुप्रै आमाहरूको प्रतिनिधि पात्रका रूपमा उल्लेख गरेका छन् । मानिसको मूल्याङ्कन मरेपछि होइन जिउँदो छँदै हुनुपर्छ । असल व्यक्तिको आदर गर्न र राम्रो कामको प्रशंसा गर्न पछि पर्नु हुँदैन । यसले असल व्यक्तिलाई राम्रो काम गर्न प्रेरणा मिल्छ भने नराम्रो प्रवृत्तिको विरोधले त्यस्तो काम गर्न हतोत्साही बनाउँछ भन्ने लेखकको मान्यता छ ।
सङ्ग्रहभित्रका निबन्धहरू पढ्दा लेखकले आफैंले भोगेका कथा वा संस्मरणात्मक लेख जस्ता लागेपनि निबन्धलाई निजात्मक स्वरूप दिन खोज्दा कतिपय काल्पनिक विषय–सन्दर्भ पनि आफैंले भोगेझैं गरी प्रस्तुत गरेको देखिन्छ । संस्मरणात्मक शैलीले आख्यानात्मक कुतूहलताको सिर्जना गर्नुका साथै भाषिक सरलता र मिठासले निबन्धलाई रोचक र प्रभावकारी बनाएका छन् । सामान्य साक्षर व्यक्तिले समेत पढ्न र बुझ्न सक्ने गरी सरल भाषा र मीठो शैलीमा लेख्नु यिनको शैलीगत विशेषता हो भने निबन्ध मार्फत् सामाजिक–नैतिक तथा सांस्कृतिक मूल्य–स्खलन र सामन्ती शोषण र विभेदकारी व्यवस्थाको विरुद्ध नयाँ सांस्कृतिक मूल्य स्थापना नै निबन्ध मार्फत् दिइने सन्देश हो ।
लेखकले निबन्ध मार्फत् दिन खोजेको सन्देशलाई कतै कतै सीधै प्रस्तुत गरेका छन् भने कतैचाहिँ साङ्केतिक रूपले औंल्याएका छन् । सीधै भन्नुपर्दा पनि उपदेश वा आग्रहका रूपमा नगरी पात्र वा घटना मार्फत् भनिएकाले प्रभावकारी बनेका छन् । मानिसको गुण र विशिष्टता उसले लगाउने कोट, जुत्ता जस्ता पोशाकले निर्धारण गर्न थालेको तथ्यलाई प्रस्तुत गर्न कोट र जुत्ता लगाएर जाँदा र नलगाई जाँदा भोग्नुपरेका व्यवहारबाटै पुष्टि गर्न खोजिएको छ । समाजका विभिन्न वर्ग र चरित्रका व्यक्तिलाई देखाउन आफैंलाई पात्र बनाएर त्यस्ता व्यक्तिहरूसँगका भेटका अनुभवलाई पस्कनुले निबन्धलाई रोचक र प्रभावकारी बनाएको छ । आमाको ममता र व्यवहार अतुलनीय हुँदाहुँदै पनि सबै आमाहरूमा केही न केही कमजोरीसमेत रहने गरेको यथार्थलाई आफ्नै आमाका व्यवहार मार्फत् देखाइएको छ । ‘आइमाई साथी’ मा पनि महिलालाई साथी बनाउन खोज्दा भोगेका अप्ठेरा मार्फत् हाम्रो समाज, संस्कार र चिन्तनलाई उजागर गरिएको छ । अन्य वैचारिक निबन्धमा झैं लेखकका विचार र मान्यताहरूलाई सीधै नपस्केर पात्रका भोगाइ र घटनामार्फत् साङ्केतिक रूपमा सन्देश प्रवाह गरिएको हुँदा निबन्धको शैली रोचक र कलात्मक रहेको छ । सरल भाषा, सामाजिक–सांस्कृतिक विषय अनि सामान्य तर विश्वसनीय घटना–सन्दर्भले गर्दा सामान्य पाठकहरूमा समेत लोकप्रिय र प्रभावकारी बनेको यो कृति उत्तिकै महत्वपूर्ण र चर्चित समेत बन्न पुगेको छ ।

पोखरा–६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।