15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आदर्श मानवताको उदाहरण ‘डबली’ उपन्यास

कृति/समीक्षा डा. टीकाराम आचार्य आरुणि July 16, 2022, 7:19 am

१.विषय प्रवेश
राजेश्वर देवकोटा दार्शनिक उपन्यास लेखक मात्र होइनन् । उनी मानवतावादलाई उपन्यासमा प्रच्छन्न रूपमा प्रकट गर्ने मानवतावादी उपन्यासकार पनि हुन् । उनको मानवता त्यतिखेर प्रस्फुरित भएको छ । जतिखेर विश्वमा कहालिलाग्दा घटना घटेका छन् । एक ध्रुवीय राजनीति पनि खण्डित भएको छ । उदाहरण हेर्दै जाने हो भने सन् १९९६ मा तालिबानले अफगानिस्तानको बामियानमा रहेको विश्वको सबैभन्दा ठुलो बुद्धमूर्ति बमले उडाएर ध्वस्त पारे । सन् २००१ मा ओसामा बिन लादेनको हमलाबाट अमेरिकामा विश्वव्यापार केन्द्रका जुम्ल्याहा टावर खरानी बने । इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सन् २००३ मा अमेरिकी बेलायती गठबन्धनले जबरजस्ति सत्ताच्यूत गरी सुलीमा चढायो । नेपालमा २०५२ सालबाट माओवादीहरूले आन्दोलन छेडे । हो यिनै वैश्विक राजनैतिक घटनाहरूको अमिट छाप र धर्मान्धहरूको कोकोहोलोको पृष्ठभूमिमा डबली उपन्यासको बीज अडेको छ । मानिसलाई अतिरञ्जित गरी फाटो ल्याएर अकण्टक राज गर्न खोज्नेहरूप्रति शालीन व्यङ्ग्य गर्दै देवकोटाले यस उपन्यासमा भ्रातृत्वयुक्त मानवताको गम्भीर वकालत गरेका छन् ।
२.मानववादका प्रतिमानहरू
लोकतन्त्रप्रति गहिरो आस्था प्रकट गर्नु मानवतावादको मूल मर्म हो । मानवलाई यस धर्तीमा बाँच्नका लागि चाहिने आधारभूत अधिकार यसैबाट प्रत्यायोजित हुन्छ । हत्या हिंसाबाट होइन कि आपसी सद्भाव र भ्रातृत्वबाट संसार मानिसहरूलाई प्रेम गर्नुपर्छ । एउटा मानिसले अर्को मानिसप्रति असल बानी प्रदर्शन गर्नु, हरेक मानिसमा अन्तर्निहित आदर्श भावनालाई स्वीकार गर्नु, अन्यजनको अस्तित्वलाई ग्रहण गर्नु, दोस्रोको भावनामा ठेस नपु¥याउनु, हरेकको इज्जत गर्नु र असल स्वभावलाई गहण गर्नु मानवतावादको विशेषता हो । समानता, स्वतन्त्रता, न्याय, शान्ति (आतङ्कको विरोध), अन्धविश्वासको विरोध, अतिधार्मिकताप्रति अनास्था, सहधर्मिता र अलौकिकताप्रति अविश्वास मानवतावादका आधारभूत चिनारी हुन् । मानवतावादले संसारको जुनसुकै ध्रुबका मानिसलाई समान व्यवहार गर्न र मानवीय दुःखमा समवेदना प्रकट गरी दुःखबाट उम्कने उपाय खोज्न जोड दिन्छ । एउटा मानवले अर्को मानवालाई गर्ने व्यवहार, कर्म, यत्न पनि मानव धर्मभित्र समेटिन्छन् । शान्ति, एकता, सहयोग र भाइचाराको सम्बन्ध मानवतावादका मूल मन्त्र हुन् । हत्या, आतङ्क, असहिष्णुता, स्वार्थ र हिंसा मानवतावादका विरोधी तŒव हुन् । विश्वमा मानवताका विरोधी तŒवबाट होइन शान्तिका माध्यमबाट राष्ट्रलाई आदर्श राज्य (डबली) मा रूपान्तरण गर्न सकिन्छ भन्ने विचार मानतावादले बोकेको छ । मानवतावादका यिनै विचारलाई ग्रहण गरी राजेश्वर देवकोटाको डबली उपन्यासलाई निम्नलिखित विशेषताबाट अनुशीलन गर्न सकिने देखन्छ ः
लोकतन्त्रिक आस्था
विश्वशान्तिको कामना
साम्प्रदायिक अनास्था
नैतिक परोपकार
सहिष्णुतायुक्त भ्रातृत्व
३.मानवताका कोणबाट डबलीलाई चियाउँदा
उपन्यसको प्रारम्भमा डबलीको चौतारोमा उभिएर पवनले भाषण गरेको छ । उसले आफू कुनै पनि धर्मको अनुयायी नभएको घोषणा गरेको छ । डबलीकै बिचबाट उदाएकी उर्वीले पवनलाई आफ्नो प्रेमी घोषणा गरेकी छे । डबलीमा स्माइल (इस्लाम), जर्ज (इसाइ), शाक्य (बौद्ध) र मिजार (कम्युनिष्ट) को प्रवेश भएको छ । उनीहरूका बिचमा स्वधर्म (सिद्धान्त समेत) को श्रेष्ठता र धर्मप्रचारका विषयमा बहस भएको छ । पवनले प्रवचन गर्ने स्थलमा विभिन्न देवीदेवता, यिसु, कुरान र कार्लमाक्र्सका मूर्ति एवं फोटो स्थापित भएका छन् । पवनले आदरसाथ ती सबैको सम्मानपूर्वक प्रार्थना गरेको छ । पवनका शिष्यहरूले पवनपन्थ निर्माण गरी उसको मूर्ति स्थापना गर्न उद्यत छन् । शिष्यहरूद्वारा पवन बन्दी भएको छ । जर्ज र स्माइलका बिचमा लडाइँ भएको छ । डबलीमा ऊर्वीलाई सहयोग गर्न आएका पर्वतीय महिलाहरू गाउँ पसेका छन् । जर्ज र स्माइल पनि तिनको पछि लागेर गाउँ पुगेपछि त्यहीँको वातावरणमा भिजेका छन् । मौलवी र पादरीसमेत धर्मप्रचारको मुख्य काम बिर्सेर गाउँमै रमाएका छन् । गाउँमा पुगेपछि हरेक धर्माबलम्बी रुढि विचारको पासोबाट मुक्त भएका छन् । इसाइ र इस्लामले आफ्नो लडाइँ अन्त्य भएको घोषणा गरेका छन् । पूर्वप्रधान, अपरप्रधान र अरबकुमारीको धर्मप्रचार गर्ने मनसायमा वदलाब आएको छ । अफ्रिकी काले (जन्मले इसाइ) र पूर्वकी गोरी (बौद्ध) का बिचमा विवाह भएको छ तर अफ्रिकी धर्म कानुनका जगमा टेकी न्यायधीशले असमान (तथाकथित विधर्मी) विवाह गरेकोमा दुबैलाई जेल कोचिदिएको छ । अन्त्यमा पवन र ऊर्वीको मतभेद अन्त्य भएपछि उपन्यासको कथा सकिएको छ ।
३.१ लोकतान्त्रिक आस्था
राजेश्वर देवकोटाले डबली उपन्यासमा लोकतन्त्रप्रति गम्भीर रूपमा आस्था प्रकट गरेका छन् । उनले माक्र्सवादी विचारलाई अतिरञ्जनापूर्ण तरिकाबाट व्याख्या गर्ने राजनीतिज्ञप्रति अनास्था पनि प्रकट गरेका छन् । उनीहरू जनताको सेवामा भन्दा बढी मारकाट गर्न र डरत्रास सिर्जना गर्नमा तल्लीन भएको देखेर माक्र्सिजमको दुरूपयोग गरेकाप्रति देवकोटाको विमति रहेको छ । क्रान्तिका नाममा अनेक आतङ्क सिर्जना गरी हाँसिया हथौडाको त्रास देखाई जनतामा भय फैलाउनेहरूप्रति डबली उपन्यासमा चोर औँला ठड्याइएको छ । कम्युनिष्टहरूलाई देखेपछि डबलीबासीहरू भाग्नुले कम्युनिष्टहरूमा लोकतन्त्रप्रति भन्दा पनि लुटतन्त्र र धम्कीतन्त्र बढी हावी रहेको देखाएको छ । यसै सन्दर्भमा मिजारले भनेको छ ः “त्यो (पवन) कम्युनिष्ट होइन रहेछ (पृ.१०) ।” कम्युनिष्टहरूले लोकतन्त्रको मूल मर्मलाई भन्दा अवसरवादलाई वढावा दिएकोमा डबली उपन्यासले आक्रोश प्रकट गर्दै ठाउँठाउँमा व्यङ्ग्य प्रहार गरेको छ ।
लोेकतन्त्रले स्वतन्त्रताको गुणगान गाउँछ । त्यसैको दुरूपयोग गर्दै भिडभाडमा मान्छेको समवेदनाको समेत ख्याल नगरी उल्टै उनीहरूलाई ब्ल्याकमेलिङ गरी अर्को उद्देश्य साँध्ने परिपाटि विकास भएकोमा डबलीले आक्रोश पोखेको छ । पवनको प्रवचन सुन्न आएकालाई कसैले इसाइ, कसैले इस्लाम र कसैले कम्युनिष्ट बनाउने मक्सत बोकेका छन् । पवनलाई समेत सबै धर्मका अनुयायीले आफ्नो कित्तामा सामेल गराउन ठुलै कसरत चलेका छन् तर पवन कुनै पनि समूहमा नपस्ने निधो गरी स्वतन्त्र जीवन जिउन खोजेको छ । पवनलाई पनि उसकै चेलाहरूले घेरामा सीमित तुल्याएका छन् । अन्यको स्वतन्त्रता हनन हुने गरी गरिएको यस्तो कर्म राम्रो ठानिएको छैन । पवनको प्रवचनमा इस्माइ, शाक्य, जर्ज, उर्वी र ग्रामीण महिलाहरू स्वतस्फूर्त समावेश भएका छन् । मूर्तिकार र स्वर्णकारले कुनै पनि सम्प्रदाय ग्रहण गर्न सजिलै अस्वीकार गरेका छन् । पवनका चेलाले गुरुको आदेश आज्ञाकैभरमा नभई स्वविवेकको प्रयोग गरी पालना गर्नुपर्छ भन्दै आफ्नै गुरुको समेत शालीन अवज्ञा गरेका छन् । ‘मलाई घेरामा नहाल’ भन्ने गुरुको आदेशलाई ठुकु¥याएर पवनलाई नै घेराबन्दी हालेका छन् । नेतृत्वलाई समेत अवज्ञा गर्ने अदम्य साहस पवनका चेलाहरूले देखाएका छन् । जुन लोकतान्त्रिक स्वतन्त्रताको सुन्दर दृष्टान्त हो । यस्तोे स्वतन्त्रता प्रदान गर्ने संस्कार न त माक्र्सवादीमा देखिएको छ न त इसाइ र इस्लाम धर्मावलम्बीहरूमा पाइएको छ । यही कुरा यहाँ पवनका माध्यमबाट प्रस्तुत गरिएको छ । उक्त कथनको सारमा व्यक्तिको स्वतन्त्रताभित्र लोकतन्त्रको मर्म लुकेको हुन्छ भन्ने परिभाषा उपन्यासमा व्यक्त भएको छ ।
माक्र्सवाद आफैँमा राष्ट्रहरूलाई रामराज्यमा परिणत गर्न चाहने आदर्श सिद्धान्त हो । यसको आर्दशलाई मिहीन रूपमा व्यवहारमा उतार्नुमा भन्दा माक्र्सलाई नै फेरि देवत्वकरण (अकाट्य) गर्ने परिपाटिका विरुद्धमा उपन्यासले राम्रैसँग मुख फोरेको छ । यस वादका अनुयायीहरू माक्र्सवादको खण्डन हुनै नसक्ने तर्क गर्छन् र त्यसलाई नै अन्तिम सत्य ठान्छन् । एकजना प्रौढ कमरेडले एक्काइसौँ शताब्दी कम्युनिष्टहरूका लागि फापेको छैन भनेको छ (पृ.२८) भने अर्को नवकम्युनिष्टले हात बाँधेर बसे पनि बाइसौँ शताब्दीमा सबै समान (समजवाद आइजाने छ) भइजाने छन् भन्ने विचार प्रकट गरेको छ । यसरी एक आदर्श सिद्धान्तलाई अतिरञ्जनापूर्ण तरिकाबाट दुरूपयोग गरी सतही ढङ्गबाट व्याख्या गरिएकोमा उपन्यासले चित्त बुझाएको छैन । माक्र्सवादलाई समाज रूपान्तरणका लागि भन्दा ज्यादा मात्रामा भाषण गर्न, जनतालाई भ्रममा राख्न, स्वार्थ पूरा गर्ने साधन बनाउनमा र भय सिर्जना गर्नका लागि दुरुपोग गरिएको विचार ठाउँठाउँमा प्रशस्त ध्वनित भएको छ । उपन्यासले माक्र्सवादीहरूबाट पनि लोकतन्त्र सुरक्षित हुन नसक्ने विचार प्रत्यक्ष रूपमा प्रकट गरेको छ ।
लोकतन्त्रले सामूहिक उन्नति मात्र हैन संसारका हरेक मानिसलाई समान रूपमा व्यवहार गर्नुपर्छ भन्ने अभिमत प्रकट गर्छ । लोकतान्त्रिक समानताका अतिरिक्त समन्याय पनि उपन्यासमा पवन, उर्वी र पार्वतीहरूकै माध्यमबाट प्रकट भएको छ । पवनले डबलीमा प्रवचन गर्दा जुनसुकै सम्प्रदाय (धार्मिक र राजनैतिक) प्रति गहिरो सम्मान प्रकट गरेको छ । कसैलाई पूर्वाग्रही भएर भेदभाव गरेको छ । सबैका सकारात्मक पक्षलाई सजिलै स्वीकार गरेको छ । पार्वतीहरूले विधर्मीहरूलाई पनि आफ्नो चुलोसम्म पहुँच दिएर समव्यवहार प्रदर्शन गरेका छन् । बरु माक्र्सवादीहरूले माक्र्सवादबाहेक अन्य विषयमा प्रवचन गरेकोमा पवनलाई आक्रमण गर्ने योजना बनाएका छन् । उनीहरू द्वन्द्वात्मक भौतिकवाद सिद्धान्तलाई अपरिवर्तनीय शिलालेख ठान्छन् । जसको खण्डन गरेमा सफाया गर्ने तानाबाना बुन्छन् । त्यसकारण उनीहरू अझ बढी रुढिग्रस्त र गैरलोकतान्त्रिक छन् (पृ.३५) । माक्र्सवादका अनुयायीलाई मात्र आफ्ना (मित्र वा आफन्त) ठान्ने उनीहरू थप दासत्व, पराधीनता र मण्डलीकरणबाट ग्रस्त छन् । उनीहरूका लागि समानता भनेको किताबी ज्ञान मात्र हो, व्यावहारिक सीप होइन भनेर उपन्यासले जोड दिएको छ । यदि समानताको भाव सबैमा विस्तार गर्ने हो भने समाज आफैँ मानवीय भावबाट सुसज्जित हुन्छ । कुनै वादको विशेष आग्रह आवश्यक पर्दैन भन्ने विचार उपन्यासमा सघन रूपमा प्रस्तुत भएको छ । यसरी यस उपन्यासले लोकतन्त्रले स्वीकार गरेका समता र स्वतन्त्रतालाई बलियो रूपमा निरूपण गरेको छ भने न्यायको पाटोलाई प्राकृतिक न्यायको बाटोमा लगेको जोडेको छ । जसमा विविध परिस्थिति गुज्रिएको कर्मकर्ताले आफैँ असल वा खराब कर्मको दण्ड पुरस्कार पाएको देखिन्छ । यस्तो प्राकृत न्यायले अलौकिक शक्तिमाथि विश्वास गर्ने हुनाले मानवताको अर्को पाटो धर्मनिरपेक्षता सम्बन्धी विचार सशक्त मात्रामा उपन्यासमा निरुपण हुन नसकेको देखिन्छ ।
३.२ विश्वशान्तिको कामना
लडाइँ गर्नका लागि बहाना जति पनि बनाउन सकिन्छ । आतङ्क सिर्जना गर्नका लागि एक वचन काफी तर शान्ति स्थापनाका लागि कठिन प्रयत्न साँध्नु पर्छ । शान्तिको स्थापना गर्नु, कुुनै तरिका वा बाहनामा सिर्जित आतङ्कको विरोध गर्नु मानवताको मूल मर्म हो । डबली उपन्यासले धार्मिक युद्ध, राजनैतिक द्वन्द्व र सिद्धान्तको समर्थन–विरोधबाट सिर्जना हुने झगडाको अन्त्य हुनुपर्छ भन्ने विचार प्रस्तुत गरेको छ । डबलीमा जम्मा भएका प्रवचनकर्ताहरू भागाभाग हुँदा खैलाबैला मच्चिएको छ । प्रवचनकर्तालाई अनेकथरि आरोपबाट डामिएको छ तर त्यो राम्ररी प्रमाणित हुन सकेको छैन ।
शन्ति बिथोल्नका लागि ठुलो कुनै कारण चाहिँदैन । आफ्नो कित्ताको प्रवचन नगरेकोमा पवनमाथि साङ्घातिक हमला भएको छ । घाइते पवनलाई उर्वीले राम्ररी उपचार गरी निको तुल्याएकी छे । डबलीको ढोका खोली पवनको उपचार गराउँदा राष्ट्रिय सीमा उल्लङ्घन भएको छ । उपन्यसबो यस तथ्यले सीमा भनेको राजनीतिले कोरिएको रेखा मात्र हो । त्यसलाई क्रमिक रूपमा मेटाउँदै लैजानु पर्छ भन्ने सन्देश दिएको छ ।
इसाइ र इस्लाम युद्धमा होमिएका छन् । हातमुखै छाडेर भिडन्तमा उत्रिएका जर्ज र इस्माइललाई गैरधार्मिक पवनले छुट्याइदिएर शन्तिको मेलो सपार्न र अशिन्तको राँटो पुर्न थालेको छ । जिहाद, सिया–सुन्नी, क्याथोलिक–प्रोटेस्टेन्ट, शैव–वैष्णव, हीनयान–महायान जस्ता धार्मिक विभेदबाट सिर्जित आतङ्क मानवता विरोधी भएको हुनाले यस्ता गैरस्वतन्त्रता प्रदायक तŒवप्रति उपन्यासले गहिरो अनास्था प्रकट गरेको छ । हामी नेपालीहरू शन्तिप्रिय भएको हुनाले नै वचन, कर्म, व्यवहार, स्वभाव र संस्कारबाट उत्तरोत्तर शन्तिकै गाथा गाउँछौँ । यहाँको शन्तिप्रियता एवं सहनशीलताले स्माइल र जर्ज जस्ता धर्मप्रचारकहरू पनि परास्त भई ग्रामीण इलाकामा शान्तिदूत बनेर बसेका छन् । यहाँको माटोको सुगन्धले मात्र हैन पहाडी निष्छलताको आलोकले आलोकित भएपछि संसारको कुनै पनि धर्मभीरु गम्भीर रूपमा मोहित भएको छ । पहाडी इलाकाको भ्रमणपछि जर्ज र इस्माइलले मानिसजस्ता मानिस त यहाँ पो रहेछन् भन्ने बोध गरी झगडालु प्रवृत्ति छोडी सहिष्णुमा परिणत भएका छन् । उनीहरूको व्यवहार समूल परिवर्तन भएको छ । त्यसपछि डबलीमा शान्ति, मैत्री र करुणा लगायत मानवीय आदर्शहरू व्यापक रूपमा प्रस्फुटित भएका छन् ।
बुद्धले अपनाएको शान्तिमार्गलाई उपन्यासमा प्रमुखतापूर्वक ठाउँ दिएको छ । हुन त उपन्यासले धर्मान्धतालाई नकार गरेको छ तापनि बुद्ध धर्मको समन्वयकारी र सहनशील विचारप्रति फेरि सहानुभूति देखाएको छ । विश्वशान्तिका लागि शाक्यले जप प्रार्थना गरेको छ । शाक्यको चीबरको सम्मान गर्दै जर्ज र स्माइल मारामार छोडी समन्वयको बाटोमा हिँडेका छन् । यसबाट उनीहरूले धर्मको जञ्जिर तोडेर केबल फुक्का मानव बन्न खोजेको देखिन्छ (पृ.६३) । एक दिन बिना मतभेद शाक्य, जर्ज, स्माइल र कमरेड मिजार एउटै डबलीमा जम्मा भएर मतभेद र मनभेद दुबै समाप्त भएको घोषणा गरेका छन् । त्यसपछि यी चार पात्रसहित पवनसँगको समेत मतभेद अन्त्य भएको छ । डबलीमा राम्ररी अमनचयन कायम भएको छ । धर्मकानुनलाई स्वीकार गर्ने इस्लाम र संसालाई क्रिस्चियनमा रूपान्तरण गर्न खोज्ने इसाइको सोचलाई अलिकति मानवताको गन्ध भरिदिने हो भने विश्वमा शान्तिस्थापना गर्ने काम आधा हलुङ्गो हुने छ (पृ.६७) । दुबैथरिले आफ्नो ठाउँबाट अलि उदार भएर एक कदम अघि बढी मानवको नातालाई प्राथमिकतामा राख्नु पर्ने उद्घोष दरिलोसँग गरेको छ ।
मानिस मानिसमा भेदभाव सिर्जना गरी कित्ताकाट गर्ने काम मानिस स्वयम्ले निकै पछि आएर मात्र आरम्भ गरेको हो । आदिम कालदेखि सबै मानिसहरू समान थिए, स्वतन्त्र पनि । यदि त्यसो हो भने समानताका लागि नयाँ कुनै क्रान्तिको आवश्यकता देखिँदैन । त्यसकारण क्रान्तिका नाममा मानवता मास्ने काम कुनै पनि हालतमा स्वीकार्य छैन भन्ने विचार उपन्यासमा घनीभूत भएर आएको छ । मान्छेले मान्छेलाई बुझेपछि सौन्दर्यको नवोदय हुने र त्यो नवोदयले समस्त विभेदहरू समूल नष्ट हुने विश्वास उपन्यासमा छ (पृ.६९) । यस्तो सौन्दर्यको नवोदय त्यतिखेर श्रीगणेश भएको छ जतिखेरबाट अपरप्रधान (इसाइ), अरबकुमारी, पवन र उर्वी समेत मिली शान्तियात्रामा निस्किएका छन् । उनीहरूको यो यात्राले पश्चिमी र मध्यपूर्वका देशहरूभन्दा स्वदेशमा अद्यापि शान्तिपूर्ण वातावरण कायम रहेको छ भन्ने निचोड निकालेको छ । त्यसैले डबलीबाट फर्केको कालेले भन्छ, “तेस्रो सहस्राब्दीलाई सुन्दर र स्वतन्त्र बनाउन अब हामीले धेरै सुनेका कुरा नपत्याउनुपर्ने छ– त्यस्तो नमान्ने वा मानिरहने स्वतन्त्रता व्यक्तिको हो, समुदायले व्यक्तिको स्वतन्त्रता हरण गरिरहन नपाओस् । जन्मजात विश्वास किंवा आस्था पनि अन्धविश्वासभन्दा कम होइन (पृ.१०४) ।” यहाँ नेपाली बौद्ध नारी (पूर्वकी गोरी) लाई विवाह गरेको अफ्रिकी कालेले धर्मपरास्त कानुनको भर्तसना गरेको छ । धर्मको टीको निधारमा टाँसेर मानवता मासेकाप्रति बिद्रोह गर्दै परम्परागत कनुनी फैसला अस्वीकार गर्ने जिकिर गरेको छ अनि आफू धार्मिक दासताबाट सधैँका लागि मुक्त भएको बोध गरेको छ । यसबाट पनि विदेशीहरू कि त मानवीय स्वतन्त्रताका नाममा छाडा साँढेँझैँ छन् कि त पिँजडाको सुँगाझैँ थुनामा छन् । त्यहाँ मध्यमार्गी बाटो हराएको छ । त्यो हराएको बाटो हाम्रो भूमिमा राजमार्गभैँ छर्लङ्ग देखिएको छ भन्ने भाव उपन्यासमा मसिनो गरी आएको छ ।
वर्तमान समयले शान्तिमा खलल पु¥याउने नयाँ फन्डा अर्थतन्त्रलाई भेटाएको छ । शक्तिसम्पन्न राष्ट्रहरूमा आफ्नो देशको अर्थतन्त्रलाई सबल तुल्याएर विश्वराजनीतिमा अग्रगामी बन्ने हेड नै चलेको छ । उनीहरू एकआपसमा शीतयुद्ध गरिरहेका छन् । आर्थिक नाकाबन्दीको पासो थापी प्रभुत्व विस्तार गर्न अनेक हतकण्डा अपनाएका पनि छन् । शक्तिशालीहरूका बिचको झगडा सामान्य नै भए पनि अनेक आर्थिक प्रलोभनको पासोमा विकासोन्मुख देशहरूलाई थापेका छन् (पृ.८६) । उनीहरूको पासो गरिब देशहरूको भलाइका लागि भन्दा अधिक मात्रामा स्वस्वार्थ सिद्धि गर्नमा केन्द्रित देखिन्छ । उपन्यासमा उदाएका अपरप्रधान र पूर्वप्रधान धार्मिक उपनिवेशलाई मलजल गरी मिसिनरीका माध्यमबाट धनको कनिका छरेर देशीशक्तिलाई कमजोर तुल्याई अशान्ति फैलाउने तŒवका रूपमा चित्रित छन् । विकसित हुने लोभमा फसी पराधीन, परनिर्भर हुन पुगेको अवस्थाप्रति चिन्ता प्रकट गर्दै दाताको जडौरी भिरेर नयाँ आर्थिक दासप्रथाको अघोर समर्थन गरेकाप्रति उपन्यासले नमिठोसँग क्षोभ पोखेको छ । कृतिले सबै राष्ट्रभक्त स्वाधीन नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै यस्ता शान्तिविरोधी तŒवको अर्थजालमा नफस्न चेतावनी पनि दिएको छ । उपन्यासको अन्त्यतिर सबै विरोधी विचारहरू क्रमशः परास्त भएका छन् । पवन र उर्वीले पनि मतभेद समाप्त भएको घोषणा गरेका छन् । यसपछि दुबै जनामा रहेको द्वन्द्व सदाका लागि मथ्थर भएको छ । सबै मतभेद अन्त्य भई भाइचाराको भावना बोकी आपसमा मिलेको देखिँदा शन्तिको सुगन्ध फैलिएको छ । यसैको प्रशस्तिगान उपन्यासले गरेको छ ।
३.३ साम्प्रदायिक अनास्था
धार्मिक आग्रहले मानवता बढी मात्रामा ढलेको छ । राजनीतिको गन्धे खेलले मानवता थिल्थिलिएको छ । मानिसको वर्णलाई नियालेर बनाइने पूर्वधारणाले मानवता पिल्सिएको छ । मानवता विरोधी उल्लिखित तिन तŒवहरूको निरूपण डबली उपन्यासमा गरिएको छ अनि समाजलाई धर्म, राजनीति र कत्लाको खोलबाट बाहिर निस्किन र अनेक प्रकारका आवरणहरू परित्याग गरी शुद्ध मानव बन्नका लागि आह्वान गरिएको छ ।
वर्तमानमा संसारमा धार्मिक आस्था मान्नेहरू इसाइ (२.१ अरब), इस्लाम (१.३ अरब), हिन्दू (९० करोड), चिनियाँ (ताओ, कम्फ्युसिय ३.९४ करोड), बौद्ध (३.७६ करोड) को हाराहारिमा रहेका छन् । हुन त वर्तमान शताब्दी धर्मप्रधान होइन तापनि धार्मिक मुद्दाहरू पेचिला बनेका देखिन्छन् । संसारका यी प्रमुख धर्ममध्ये जनसंख्याको हिसाबमा इसाइ, त्यसपछि इस्लाम, त्यसपछि हिन्दू र अनि बौद्ध रहेको देखिन्छ । उपन्यासमा चिनियाँ धर्मको बारेमा मुख फोरिएको छैन तापनि माक्र्सवादका बारेमा भने गम्भीर विचारहरू प्रकट गरिएको छ । उपन्यासमा इसाइ, इस्लाम र बुद्ध धर्मको किटान सहित नामोच्चारण गरिएको छ भने हिन्दू भनेर कुनै पात्रलाई प्रतिनिधित्व गराइएको छैन । बरु यहाँको माटोलाई डबलीमा परिभाषित गरी यहाँको क्षमाशीलताका माध्यमबाट हिन्दूको भाव ध्वनित गराउन खोजिएको देखिन्छ । यदि देवकोटाबाट हिन्दू भनी किटान नगरिकन व्यञ्जनाका तहबाट त्यसलाई अथ्र्याउन खोजिएको हो भने त्यस्तो अर्थ उपन्यासमा भेटिएको छैन । संसारका अन्य तिन प्रमुख धर्मको नामोच्चरणपूर्वक कथावस्तुलाई गति दिने देवकोटाले हिन्दू वा सनातन भन्न किन हिच्किचाए ? यसका उत्तर धेरै छन् । कि त देवकोटाले पार्वतीहरूका माध्यमबाट हिन्दूत्वको भाव ध्वनित बनाउन खोजे । कि त पवन जस्तै धार्मिकताबाट डामिन चाहेनन् वा हिन्दू भनी कुनै पात्रलाई टोपल्न उचित मानेनन् । कि त हिन्दू नै नभनी पात्रको कार्यव्यापारबाट ध्वनित गराउँछु भन्ने मक्सत लिए । जुनसुकै लक्ष्य लिएको भए पनि हिन्दूलाई छुटाउने उनको उद्देश्य किमार्थ थिएन । बरु उपन्यास लेख्दै जाँदा यस्तै भयो । हिन्दू भन्ने भाव ध्वनित हुन सकेन । यो देवकोटाको असफलता रह्यो । असफलता यस मानेमा कि भन्न खोजेको कुरो भन्न सकिएन तर फेरि हिन्दूलाई छुटाउनै हुँदैनथ्यो भन्ने आग्रह चाहिँ कदापि भने होइन । बरु हिन्दू ऊर्दू जुनसुकै मार्ग भए पनि त्यसले मानव भएर खुला आकाशमा बाँच्न दिन्न भन्नु प्रमुख वैचारिक आग्रह हो ।
उल्लिखित प्रमुख तिनवटा धर्मका भक्तहरूलाई उपन्यासमा उपस्थित गराएर बहस गराई अन्त्यमा धार्मिकताले मान्छेलाई धार्मिक दासमा परिणत गरेको छ भन्ने भाव व्यञ्जित छ । उपन्यासको प्रमुख पात्र पवनले हाकाहाकी आफूलाई गैरधार्मिक र गैरराजनैतिक व्यक्तिका रूपमा परिचय दिएको छ । पवनको यस्तो अभिप्राय भए पनि धर्मभीरुहरू भने कुनै पनि तरिकाबाट अपहेलित हुन नचाहने बरु त्यसको प्रतिशोध लिई छोड्ने मनस्थितिमा रहेको देखिन्छ (पृ.२) । इसाइहरूले विश्वका गरिब देशका नागरिकहरूलाई आर्थिक प्रलोभनमा पारेर रैथाने धर्महरूको जरो उखेलिरहेको सत्य उपन्यासमा उपस्थापित छ । हो यसरी धर्मसाम्राज्य विस्तार गर्न खोज्ने पाखण्डीको खुलेर विरोध भएको छ । ज्यासलको अधर्मिक मूर्ति पसले भन्छ “कला नै मेरो धर्म हो (पृ.८) ।” उसको यस्तो अभिव्यक्तिभित्र पनि धर्मको पिँजरा स्वीकृति देखिँदैन । बरु ऊ कलाको पारखी रहेको स्पष्ट भएको छ । त्यहीँ व्यापार गर्ने स्वर्णाकारले पनि धर्मानुशरण गर्न मानेको छैन । बरु उसले मानव सिर्जित कलाको पूजा गरेको छ । मूर्तिकार र स्वर्णकार एकमत भएर भन्छन्, सुन र ढुङ्गाको वास्तविक गुण तत्तत् स्थानमा सुरक्षित छ । कलाले त त्यसलाई जीवतन्ता दिने मात्र हो । त्यस्तै हरेक मानिसको स्वाभाविक गुण मानव नै हो । त्यसबाहेक अरु संज्ञाहरू जन्मेपछि थोपरिएका संस्कारजन्य सामाजिक आरोप मात्र हुन् । मानवलाई धर्मको सुलीबाट अलग गर्न सकियो भने संसार बल्ल सुन्दर बन्न सक्छ भन्ने आशावादी स्वर उपन्यासमा रहेको छ । यस्तो आशा वर्तमानकालीन निर्णयात्मक निधोभन्दा पनि भविष्यमा हुन सक्ने आकाङक्षामा बढी निर्भर रहेको देखिन्छ ।
साम्प्रदायिक आग्रहमा मानवलाई परास्त गर्न पाइँदैन । अन्धभक्त भएर मस्जिद, बिहार, गिर्जाघर र मन्दिरका आँखाबाट मात्र संसारका मानिसलाई नियाल्न हुँदै हुँदैन । यदि त्यसो भयो भने मानवताको नाता टुट्छ । त्यसपछि संसारको सुन्दरता हराउँछ, मानव दृश्यमा सुन्दर देखिन्छ सारमा कुरूप भन्ने भाव उपन्यासमा मार्मिक रूपमा प्रस्तुत भएको छ । यो विचारलाई पवनले प्रतिनिधित्व गरेको छ । उसले डबलीको प्रवचन कक्षमा फेरिफेरि राखिएका शङ्कर, बुद्ध, जिसस र कुरानका प्रतिमाहरूलाई समान ढङ्गबाट श्रद्धा गरेको छ । पवनको ध्यानस्थलमा यसरी मूर्ति फेराई फेराई उसको घोर अपमान गरेकोमा चेलाहरू रुष्ट भएका छन् । उसले इसाई नभइकन यिसुको उपदेश मनन गर्ने, इस्लाम नभइकन कुरान पाठ गर्ने, चीबर धारण नगरिकन बुद्धको उपदेश मनन गर्ने विचार खुलस्त रूपमा डबलीमा अभिव्यक्त गरेको छ । जिहादलाई मनुष्यधर्म विरोधी तŒव ठानेको छ । माहात्मा पैगम्बरले सिर्जना गर्न खोजेको भेदभावरहित समाजको, पवित्रताको र त्यागको सन्देशलाई अनुयायीले बिगारेर जिहाद, सिया, सुन्नी जस्ता भेद रचना गरी मनवता मासेकोमा चिन्ता छ । डबलीमा इस्माइले आफ्नो धार्मिक आग्रहका कारण आतङ्क फैलिन गएको भए पनि मञ्चमा गएर माफी माग्न इन्कार गरेको छ । भिक्षुहरूले बुद्धलाई पनि माहात्माबाट देवत्वमा परिणत गरिदिएपछि उनका अहिंसा, करुणा र त्याग नराम्ररी ओझेलमा परेका छन् । यसरी मान्छे जन्मेपछि तोकिएको वर्ग, देश, कुल मान्छे मरेपछि सजिलै सकिन्छ । यस्तो भेद मानिस आफँैले सिर्जना गरेको हो (पृ.४४) । आफूले सिर्जना गरेको भेद मानिसले नै हटाउन सक्छ । बिनासहिष्णुता उदारतालाई त्यागेर पुराना आरोपको पोकोलाई नफुकाइकन मानवता बलियो हुन सक्दैन । महात्मा बुद्ध, यिसु र पैगम्बरलाई अनुयायीहरूले देवत्वकरण गरी निश्चित विचारको घेराभित्र तोरेकोमा उपन्यासले गम्भीर विमति प्रकट गरेको छ । आगमी दिनमा समाजमा रहेको यस्तो धर्मबाट सिर्जित वर्ग समूल नष्ट भएर मानवताले ओतप्रोत समाजको निर्माण हुनेमा उपन्यासले गहिरो विश्वास प्रकट गरेको छ ।
निर्बलहरूले शक्ति निर्माण गर्न खडा गरेको समुदाय सम्प्रदाय हो । जुनसुकै नामको सम्प्रदायले मानिसको दुःख हरण गर्न सक्दैन । यदि दुःख मेटाइदिन्छु भने त्यो भ्रम मात्र हो भन्ने विचार उपन्यासमा खुलस्त छ । लहडमा लागेर जुत्ता सिउन छोडेको मिजारले डबलीमा पुराण सुनेन कि, माक्र्सवाद सुनेन कि, कुरान वा बाइबल समेत सुनेन कि । उसले चाहे जुनसुको समुदाय सम्प्रदायको प्रवचन किन नसुनोस् तर त्यो सुनेकै भरमा न त ऊ स्वर्ग गएको छ नत उसको पुख्र्यौली पेसामा आमूल परिर्वतन आएको छ । उसको दुःख बढेको छ, घटेको छैन । मौलवी, पादरी, जर्ज, इस्माइल पहाडी इलाकामा गएर धर्मप्रचार गर्ने, त्यतै गिर्जाघर र मस्जिद पनि बनाउने उनीहरूको चाह छ । गाउँबासीको कोमलताका रापतापबाट अभिसिञ्चित भएपछि त्यो योजना तुहिएको छ । जर्ज, इस्माइलका बनीहरू परिवर्तन भएपछि आफ्ना चेलाहरूसँग आफूहरू परम्परागत रुढिबाट मुक्त भएका छन् । उनीहरूले इस्लाम इस्लाम बिचको, इसाइ इसाइ बिचको र इसाइ इस्लाम बिचको विभेद अन्त्य भएको घोषणा गरेका छन् (पृ.५०) । उनीहरूको घोषणाले साम्प्रदायवाद समाप्त भएको जनाउ दिएर मानववादको अभ्युदय भएको उद्घोष गरेको छ । साथै खाँबोमा गाडिएको ईश्वरलाई नभई व्यापक परमात्मालाई स्वीकार गर्दा साम्प्रदायिकताका अतिरिक्त काटाकाट मारामार समेत कम हुने विश्वास गरेको छ । यो विचारलाई पवनले समेत समर्थन गरेको छ । पवन यस्तो पात्र हो । योगी भएर पनि कुनै धर्मप्रति विशेष आग्रह नराख्ने, पिता पुर्खाले चलाएको धर्मप्रथाको पछि लागी धर्मलाई आफूमा सार्दै जानुलाई वंशाणुगत दासप्रथा ठान्ने (पृ.६२), ईश्वरलाई डरको पोको तुल्याई सम्प्रदायवाद खडा गरी धर्मराजनीति गर्नेहरूप्रति गहिरो अनस्था प्रकट गर्ने धर्मनिरपेक्ष र सम्प्रदायवादको विरोध गर्ने स्वतन्त्र पात्र हो । ऊ नै उपन्यासकारको विचार बाहक हो । उसकै माध्यमबाट उपन्यासले थोत्रा मोत्रा विचारहरू छोडी मनवताको नयाँ नाता जोड्न विश्वमानव समुदायलाई समग्र रूपमा आह्वान गरेको छ र सम्प्रदायवादको गुरुगम्भीर विरोध गरेका छ ।
स्थापित सत्ता र मान्यताहरू सबैसबैलाई चुनौती दिई असली प्रगतिको आवाज उपन्यासमा चोटिलो रूपमा प्रस्तुत भएको छ । मक्र्सवादीले चाहेको आदर्श समाजवाद छुट्टै नचाहिने बरु परम्परामा प्रचलित सहभाव र समानताको भावलाई थप मजबुद बनाएमा आदर्श राज्यहरू निर्माण हुँदै जाने विचार उपन्यासमा खुलस्त भएर आएको छ । वार्णिक सम्प्रदायमा आधारित भेदभावहरू समाजबाट अन्त्य भएको देखाउनका लागि उपन्यासमा अफ्रिकी काले र पूर्वको गोरीको विवाह गराइएको छ । सम्प्रदाय र राजनैतिक विचार विनाको मानव जनावर समान हुन्छ भन्ने राजनीतिकर्मीको कुत्सित विचार उपन्यासमा प्रस्तुत छ । उसको यस विचारले मानवताको खण्डन गरेको छ भने धार्मिक कट्टरताको मण्डन गरेको छ । मानिसको सुन्दरताको वकालत गर्दै उर्वीले भनेकी छे, “सत्य र सौन्दर्य स्थापना गर्नका लागि समाजमा विभेद पैदा गर्ने धर्म र सम्प्रदायलाई नयाँ सहस्राब्दीमा कुनै स्थान रहने छैन– नयाँ युगको सन्देश यही हो (पृ.१४) ।” उर्वीको यस कथनले सम्प्रदायिकताको पुरै विरोध गरेको छ भने समतामूलक मानवताको मार्मिक वकालत गरेको छ । उसले अझ थप स्पष्ट पार्दै भनेकी छे, “उसले आफैँसित भनी ‘सम्प्रदायवादको विरोध गर्ने पवनको आफ्नै सम्प्रदाय’ उसलाई एक कौतुहल भयो, दुई मनुष्यजाति उपर नै शङ्का हुन थाल्यो, तिन ऊ जसकी एकोहोरो प्रेमिका मान्दथी, उही आफूभन्दा टाढा फसेको जस्तो लाग्यो (पृ.२९) ।” कुनै सम्प्रदायमा समेल हुन इन्कार गर्ने पवनका चेलाहरूले ‘पवन पन्थ’ निर्माण गरेर फेरि सम्प्रदायमा असंलग्न मानवता सखाप पार्ने मेसो गरेकोमा उर्वीको गम्भीर घृणा रहेको छ । हो यही मानवता विरोधी धर्म र राजनीति नमान्ने मानिसलाई जनावरको संज्ञा दिने प्रतिवादीहरूलाई उपन्यासले नराम्रोसँग झापड हानेको छ । फुक्का र केबल फुक्का मानिस मात्र असली बन्न सक्छ भन्ने विचारलाई उपन्यासले राम्रैसँग जोड दिएको छ ।
उपन्यासले वर्तमान समय धर्मको युग नभएको हुनाले भक्तहरूले धर्मको काँटालाई टाढै राखेर न्यायपूर्ण मानवताको पुजारी बन्न प्रेरित गरेको छ । विभिन्न वादमाथि प्रवचन गराएको जुनसुकै सम्प्रदायले मानिसको वास्तविक स्वतन्त्रता हरण गरेकोमा चिन्ता र आक्रोश प्रकट गरेको छ । मान्छेको वर्ग, देश, कुल, वर्ण राजनैतिक सिद्धान्त आदि सबै नक्कली हुन् । सक्कली भनेको केवल मानिस र केवल मानिस मात्र हो । मनिसलाई धर्मसम्प्रदायका आँखाबाट नहेर । मानव जातिको आँखाबाट आलोकित तुल्याऊ भन्ने आदर्शवादी मानव विचार गम्भीर रूपमा प्रकट भएको छ ।
३.४ नैतिक परोपकार
मानिसका दुःखको हरणका लागि मानिसले सम्पादन गर्ने सकारात्मक कर्म वा परोपकार आदर्शकै अर्को पाटो हो । त्यसैभित्र नैतिकता पनि लुकेको हुन्छ । मानिसबाट नैतिकता र परोपकार झिकिदिने हो भने मानिस कहाँ बाँकी रहन्छ र ? मनिसलाई मानस सावित गर्ने मात्र नभई संसारका मानिसलाई सुन्दर देखाउने तŒव अहिंसा, करुणा, दया, प्रेम र सद्भाव नै हुन् । मानवताको आत्मा परोपकार हो भने त्यसको प्राण भ्रातृत्व हो । यदि यी दुई सुन्दर मन्त्रलाई मानसपटलबाट निकालिदिने हो भने मनवताको आदर्श कहीँ पनि बाँकी रहन्न । यही आदर्शलाई डबली उपन्यासले सजीव ढङ्गबाट चित्रण गरेको छ । एक दिन पवन प्रवचन गर्न डबलीको चौतारोमा उभिएको छ । उसले प्रवचन गर्ने क्रममा आफूअनुकूल विचार प्रस्तुत नगरेकोमा धर्मभीरुहरूले आक्रमण गरेका छन् । पवनलाई आक्रमण गर्ने भिजिलान्तेहरूलाई शारीरिक छन्द राम्रो मिलेका रूपवतीले हँसियाको प्रयोग गरी थप आक्रमण हुनबाट जोगाएका छन् । अहिंसा र करुणा संसारका मनिसको मूल धर्म हो भन्ने पवनको प्रवचनको सार बुझिएको छ (पृ.१४) । जिहादहरू र कु्रसेडाहरूका बिचमा लडाइँ भएको छ । बौद्धहरू त्यस झगडाबाट विमुख भएका छन् । घाइतेहरूलाई उर्वीले मलमपट्टी गरी निको तुल्याएकी छे । त्यसैले ऊ परहित, कल्याण, अनुशासन र सद्भावकी प्रतिमूति बनेकी छे । डबलीमा मच्चिएको खैलाबैलालाई रम्ररी छिमल्न उसकै अहम् भूमिका देखिएको छ । सेवाको भावबाट द्रवित भएपछि उर्वीमा रहेको सरलता र पवित्रता मुखमण्डलमा छचल्किएको छ । त्यसैबाट उसको मुखाकृति झलमलाएको छ । उसको स्वार्थ पवनलाई पाउनु मात्र रहेको देखिन्छ । पवनलाई प्राणवायु र उर्वीलाई परिधान (आवरण) भनी गहन दार्शनिक अर्थ पनि प्रदान गरिएको छ (पृ.३४) । उपन्यासमा यही देवकोटेली सौन्दर्य व्याप्त भएको देखिन्छ । त्यो सौन्दर्यलाई मनदेखि निस्कने पवित्र (निष्कपट) व्यवहार ठानिएको छ । त्यसैभित्र अनुशासन, परोपकार, आशा, अस्तित्व र उत्साह घोलिएर आएका छन् । सौन्दर्यको आत्मा भनेको मानवीय स्वतन्त्रता भनिएको छ । देवकोटेली स्वतन्त्रताभित्र आत्माको स्वतन्त्रता पनि अभिव्यजित छ । त्यसकारण उनको उपन्यासको भिन्न कोणको दार्शनिक महत्ता पनि देखिन्छ । देवकोटाले पवनले जसरी जीवन बिताउन चाहेका छन् । जहाँ कुनै जात, कुल, धर्म र सम्प्रदायको कुनै लगाम हुने छैन । हो भावी समयमा यही मङ्गलमय आदर्श मानवको उदय हुनेमा डबली उपन्यासले गहिरो विश्वास प्रकट गरेको छ । जहाँ मानवताको साइनोले मुकुट लगाएको हुने छ । यसरी डबलीमा देखिएको मानवताको गुणगान जयपृथ्वीबहादुर सिंहको भन्दा कम देखिएको छैन ।
डबलीको प्रेम सस्तो र भावुक छैन । सांयोगिक र परिस्थितिबाट सिर्जित छ । पवन र उर्वी प्रेमी भए पनि दुबैमा मतभेद छ । उर्वी जीवन सौन्दर्यकी पूजारी हो भने पवन वितरागी योगी हो । यी दुईबिचको मतभेद यसमै छ । योगबाट जीवन बुझ्न चाहन्छ पवन । जीवन नभोगी जीवन बोध हुन्न भन्छे उर्वी तर उपन्यासको अन्त्यमा दुबैले आफ्नो आफ्नो रुढ सिद्धान्तनिष्ठालाई त्यागी समन्वयको बाटोमा हिँडेका छन् । पवन अलिकति सुन्दारताको पारखी भएको छ भने उर्वी अलिकति योग विज्ञानतिर ढल्किएकी छे । उता जर्ज र इस्माइलको, काले र गोरीको पनि योग भएको छ । त्यसपछि विश्वमा शान्ति स्थापना भएको छ । यसरी दुबै जना जोडीहरू आ–आफ्नो वैचारिक दासत्वबाट मुक्त भएका छन् । उपन्यसको उद्देश्य बोकेर हिँड्ने पवन आख्याताको मुखर पात्र पनि हो । उसले स्वच्छ मानवताको गहिरो नातालाई बुलन्द रूपमा उपन्यासमा अभिव्यञ्जन गरेको छ ।
३.५ सहिष्णुतायुक्त भ्रातृत्व
मानवताको जग विश्वबन्धुत्वको भावनामा अडेको छ । त्यसैलाई पूर्वका आचार्यहरूले ‘बसुधैव कुटुम्बकम्’ पनि भन्छन् । विश्वका मानवालाई भाइचाराका नाताबाट हेर्ने दृष्टिकोण यहाँका पूर्वजहरूलै निकै पहिल्यैदेखि बनाएका थिए । त्यसमा संसारका सबै मानिस समान हौँ (सह नौ अवतु), हामी मानिसबिचको भाइचारा अत्यन्त निकट छ, हामी कसैले कसैसँग विद्वेष गर्दैनौँ (माविद्विषावहै), हामी मानवहरू मिलेर उन्नति गर्छौँ (सहवीर्य करबामहै) भन्ने विचार पूर्वको माटोमा हुर्केको खाटी मानववाद सिद्धान्त हो । यो विचार पनि देवकोटाको डबली उपन्यासमा सशक्त भएर आएको छ । बन्धुत्वको भावना बलियो रूपमा बौद्धहरूमा विकास भएको देखिन्छ । इसाइ र इस्लामहरूको झगडामा बौद्धहरू असामेल देखिनुले झगडा भन्दा भाइचारा महती हो भन्ने उनीहरूको विचारबाट झल्किन्छ । यो अभिभाज्य धर्तीलाई राजनीतिकर्मीहरूको स्वार्थका कारण राष्ट्रराष्ट्रहरूमा रक्तरञ्जित रेखाहरू कोरिएका छन् । जसले स्वच्छ बन्धुत्वलाई कुरूप तुल्याएको हुनाले ती सीमाका बन्धनहरूलाई उखेलेर धर्तीलाई एक देशमा रूपान्तरण गर्न चाहने मिठो कल्पना उपन्यासले बोकेको छ । डर, त्रास, धम्की, हेपाइ र उत्तेजना मानवीय हितका विपक्षमा भएको हुनाले शान्ति, सुरक्षा, आड, भरोसा र सम्मानले तिनलाई प्रतिस्थापन गर्न आवश्यक ठानिएको छ । यदि धर्मका नाममा एक्काइसौँ शताब्दीमा पनि लडिरहने हो भने आजको मानव एक हजार वर्ष पछाडि धकेलिन्छ र पछौटेपनबाट गुज्रन्छ भनी कडा चेतावनी उपन्यासले दिएको छ । विचार, बानी र कर्ममा परिवर्तन नभएको एक्काइसौँ शताब्दी फोस्रो समयको धाक मात्र हो । समय अनुसार चिन्तनमा परिवर्तन गरी नयाँ सिराबाट नयाँ समय सञ्चालन गर्नुपर्ने उद्घोष उपन्यासले गरेको छ (पृ.२०) । प्रस्तुत विचारलाई प्रमाणित गर्ने प्रशस्त उदाहरण उपन्यास पाइन्छन् । जस्तै, इसाइको प्रहारबाट इस्लामलाई चोट लागेकोमा जर्जले माफी मागेको छ, जर्ज पनि घायल हुनबाट जोगिएकोमा इस्माइलले प्रशन्नता जाहेर गरेको छ । यसरी उपन्यासको आरम्भमा असहिष्णु देखिएका जर्ज र इस्माइल डबलीको सङ्गतमा आएपछि पुरानो आडम्बरलाई समूल फालेर मानवताको नयाँ पाठ सिकेका छन् । उनीहरूको जडतालाई पगाल्नका लागि यहाँ (साङ्केतिक रूपमा नेपाल) को परिवेशले विशेष भूमिका खेलेको छ । जहाँ इसा, मुसा, माक्र्स, राम या जोसुकैलाई आदर गर्ने संस्कार विकसित छ । यहाँका नागरिकहरूले सहृदयतापूर्वक संसारका मानिसलाई देवतासरह (एक उच्च आदर्श संस्कार) ठान्छन् र विश्वसमुदाय माझ यहाँको करुणासिक्त अतिथ्यता पस्किन्छन् । हो त्यही दयाभित्र मौलिक मानवताको हाँगो फिँजारिएको छ । जुन देवकोटाको डबलीले निरुपण गरेको छ ।
व्यक्तिगत स्वतन्त्रतामा हरेक व्यक्तिको तर्कले मुख्य ठाउँ पाउँछ । धर्मिक कृत्यमा भने तर्कको भूमिका गौण रहन्छ । यही विचारलाई उपन्यासले धार्मिक द्वन्द्वकै चापबाट नियाल्ने यत्न गरेको छ । चाहे चेलाहरू होऊन् चाहे कार्यकता वा कर्मचारी जोसुकै भए पनि नेतृत्वले दिएको कर्म गर्नु उनीहरूको कर्तव्य हुन आउँछ । नेतृत्वका निर्देशन वा सहमतिका विपरीत भएका निर्णयलाई कि त बिद्रोह मानिन्छ कि त स्वतन्त्रता । डबली मा बिद्रोह कम र स्वतन्त्रता खोजी बढीमात्रामा पाइएको छ । पवनको इच्छा विपरीत उसका शिष्यहरूले मूर्ति स्थापनादेखि पवनपन्थ निर्माणसम्मका काम विनाअवरोध सम्पन्न गरेका छन् । व्यक्तिगत स्वतन्त्रताको महिमा प्रस्तुत गर्नेक्रममा पवनले भनेको छ ः
मलाई कसैले सुरक्षा दिनु पर्दैन । एक्लो मान्छे जति बलियो हुन्छ, त्यति बलियो दुई मान्छे हुँदैनन्, समूह त हुँदै हुँदैनन् । एकपछि जति सङ्ख्या थपिन्छ त्यो अनन्त हुन्छ । एकभन्दा दुई बलियो हो भने दुईभन्दा तिन बलियो–यसै क्रमले लाखभन्दा करोड बलियो, सङ्ख्याको सीमा छैन (पृ.२९) ।
पवनका विचारमा सग्लो व्यक्ति आफैँमा पूर्ण छ । उसको स्वतन्त्रता शक्ति त्यसमै निहित छ भनी वैयक्तिक निर्णयलाई उपन्यासले माथि राखेको छ । भक्त वा कार्यकताको घेरा जेलको घेरा भन्दा पनि खतरनाक छ । त्यसले स्वतन्त्रताको सर्वस्व हरण गर्छ भनेर पवनकै मुख फोराउनुले उपन्यासले व्यक्तिलाई कति महŒव दिन्छ भन्ने जिउँदो उदाहरण हो । धर्मले व्यक्तित्व अपहरण गरेकोमा उपन्यासले भन्छ, इसाइ र इस्लामले सैतानलाई सिपाही बनाए, इन्सानमा इन्सानियत भर्न छोडिदिए, मानवता म¥यो । कि त डेभिल कि त सैतान मान्छेलाई मान्छे रहन दिएको खै ? (पृ.५५) । यस्तो ठाडो प्रश्नात्मक शैलीको उपयोग गरी धर्मले इन्सानियतलाई घाटमा लगेर सेलाएकोमा गम्भीर आक्रोश पोखिएको छ अनि मानवीय स्वतन्त्रताको ढोँग पिटी छद्म तरिकाबाट आफ्नै धर्मलाई विश्वव्यापी गराउने, अरूका धर्मका नराम्रा पक्षलाई उरालझिराल पारेर एकतामा खलल पु¥याउने, गुप्त रूपमा धर्मप्रचार गर्नका लागि उचित वातावरण मिलाउने र धर्मसाम्राज्य विस्तार गर्ने पश्चिमा मुलुकको मुखुण्डो राम्ररी उतारिएको छ । उनीहरूको झेलीलाई जर्ज, पूर्वप्रधान र अपरप्रधान पात्रका माध्यमबाट सजीव रूपमा प्रस्तुत गरिएको छ । उर्वीले पनि यही व्यक्तिगत स्वतन्त्रतालाई जोड दिँदै व्यक्तिको इच्छा बहुमतभन्दा ठुलो हुन्छ भनेकी छ (पृ.८३) । अपरप्रधानसँग कोही अघिपछि नभई सँगै मिलेर अगाडि बढौँ भन्ने पवनको विचारले समानताको उच्च आदर्श प्रस्तुत गरेको छ । जुन मानवताका कोणबाट अति नै सहिष्णु, समन्वयकारी, प्रभावकारी र समभावको आदर्शबाट ओतप्रोत देखिन्छ । धर्म धर्मै हो त्यसले मानवता मार्छ–मार्छ भनी जोड दिएर धर्मान्धको उछितो काडिएको छ । हो यस्तै मानवीय आदर्शको स्वतन्त्र वकालत डबली उपन्यासले गरेको छ ।
यहाँको मौलिक मानवतालाई अफ्रिकी कालेको विवाहका प्रसङ्गबाट चियाइएको छ । अफ्रिकी कालेलाई डबलीबासीले रूपमा जस्तो भए पनि सारमा शील, स्वभाव, व्यहार र मनमा साह्रै गुनी मान्छे रहेकोमा प्रशंसा गरेका छन् । उसलाई पूर्वी क्षितिजकी गोरी (बूढी कन्या) छोरी दिएर पनि पठाएका छन् । ती दुई दम्पती महादेशहरूको भ्रमणमा निस्किएका छन् । काले आफू कुनै धर्मबाट नडामिएको स्वीकार गर्छ तर श्रीमतीले बुद्ध धर्म ग्रहण गरेकोमा पनि कुनै आपत्ति प्रकट गर्दैन । उनीहरू आफ्नो महादेशमा फर्किएपछि त्यहाँको कानुनले कालेलाई तँ इसाइ होस् (पृ.१०५) किन विधर्मी विवाह गरिस् भनी जेलमा जाकिदिएको छ । इस्लाम अरबकुमारी र संघको कर्मचारी इसाइ धर्मका बिचमा भएको विवाहलाई पनि अरब जगत्ले मान्यता दिएन । त्यसैले संसारका मानिसहरूको स्वभावलाई तुलना गरी हेर्ने हो भने स्वदेशको जस्तो क्षमाशीलता सुष्ठु सुहृत्पन विदेशमा देखिएको छैन । त्यसैले सबै धर्मसम्प्रदायलाई समभावका दृष्टिबाट नियाल्ने सहधार्मिक भावना यहीँको माटोमा भेटिएको छ । त्यो भाव अन्य देशको मानवीय आदर्श भन्दा अधिक उच्च कोटिको रहेको विचार उपन्यासमा बलियो भएर आएको छ । यहाँको सानो डबलीको जत्तिको मानवताको तागत सिङ्गो महादेशकै भ्रमणमा नभेटिएको हुनाले आर्षकालदेखि प्रवर्धन गरिएको मानवताको नाता बलियो रहेको छ भन्ने सन्देश उपन्यासले दिएको छ ।
४. निचोड
वर्तमान विश्वले आर्थिक र समाजिक सम्पन्नताको गरिमा बोध गरेको छ तापनि सम्पन्नताको खोलभित्र धर्मको कात्रोमा लडाइँ लडिरहेका कुमान्छेहरूप्रति उपन्यासले घुमाउरो शैलीमा व्यङ्ग्य प्रहार गरेको छ । एकातिर धर्मलाई अफिम हो भनेर हिँड्ने फेरि त्यही धर्मलाई राजनैतिक धन्दा बनाई टोपल्ने छेपारे प्रवृत्तिलाई उपन्यासले नराम्ररी झापड हानेको छ । डलरमा देउतालाई बिकाउनेको खोक्रो मानवता उपन्यासमा उदाङ्गिएको छ । मानवतालाई ढाल बनाएर छद्ममा धर्मव्यापार गर्नेहरूको उछितो काडिएको छ । मनिसको स्वतन्त्रतालाई तिलाञ्जली दिएर कुनै न कुनै धर्मको खाडलमा जाक्न खोज्ने पादरी र मौलवीहरूलाई डबलीको सुगन्धले आप्लावित तुल्याइ लोकतान्त्रिक मूल्यमा आबद्ध तुल्याई साम्प्रदायिक दुर्गन्धमा सुगन्ध भर्ने काम पनि उपन्यासले गरेको छ । क्षमाशीलता, परोपकार, शान्ति, मैत्री, करुणा र भ्रातृत्व जस्ता मानवताका आदर्शहरू अन्तर्देशीय, अन्तरधार्मिक, अन्तरवैचारिक र अन्तरवार्णिक विवाहका माध्यमबाट सजीव रूपमा प्रस्तुत गरिएकोे छ । धर्ममा तर्क नगरिने हुनाले त्यसले व्यक्तिको स्वतन्त्रता हरण गर्छ । त्यो सरासर मानवता विरोधी विचार हो भनेर उपन्यासले मावनवताको वकालत र अमानवीय क्रियाकलापको जोडसँग विरोध गरेको छ । मानवतालाई आर्षसभ्यतासँग जोडी मौलिक स्वरूप दिने काम पनि उपन्यासले गरेको छ । उपन्यासको मानवता जयपृथ्वी बहादुर सिंहले निरुपण गरेको जस्तै उच्च र मौलिक प्रकृतिको देखिएको छ । आदर्श मानवतावाद, अस्तित्ववाद र सांस्कृतिक चेतना समेत उपन्यास विश्लेषणका क्रममा भेटिएका प्रवृत्ति हुन् । यी मध्ये मानवतावादको मात्र तथ्य विश्लेषणबाट पुष्टि गर्ने काम भएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।