15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली साहित्यमा नारी छन्द शिल्पी - सङ्गम सुधा

कृति/समीक्षा नवीन पौड्याल July 16, 2022, 7:21 am
नवीन पौड्याल
नवीन पौड्याल

प्रतिभाशाली कविका निम्ति छन्दमा कविता लेख्नु स्वाभाविक हो। उसका निम्ति छविता लेख्दा छन्द साधक हो बाधक होइन। उसको कवित्वको अन्तर्वेगलाई सन्तुलित रूपमा उतार्न छन्दले सहयोग गर्छ। छन्दमा पनि सशक्त कविता लेख्न सकिन्छ। छन्दका कवितामा पनि सौन्दर्यको अङ्कन गर्न सकिन्छ, क्रान्तिको ज्वाला सल्काउन सकिन्छ, जीवनका अनुभव र अनुभूति अभिव्यक्त गर्न सकिन्छ। छन्दमा पनि भावसंवेगलाई उतार्न सकिन्छ। छन्द कविताको निम्ति बाधक होइन बरू साधन हो, सहयोगी
लकडाउनको समयमा नेपाली छन्द कविताको प्रचार भयो। नेपालबाट छवि वैरागी, देवी नेपाल, रामप्रसाद ज्ञवाली, सुदीपभत्रद्र खनाल छन्दमा सशक्त रूपमा कविता लेख्छन्। भवानी खतिवडाले त झन छन्दमा नै कवितात्मक प्रश्नोत्तरी गर्नसक्छिन्, कवितामा नै सहजै आफ्नो भाव अभिव्यक्त गर्न सक्छिन्। श्री दुर्गा छेत्री, दुर्गा रिजाल, जीवनहरि शर्मा, गणेश प्रकाश, माधव वियोगी, कविराज पौड्याल आदि पनि छन्दमा नै सहजै कविता लेख्छन्। अमेरिकाबाट सरू गुरागाइँले छन्दोबन्द कविताको अत्यन्तै मिठो वाचन गरेर यसलाई युवा पुस्तालाई छन्दतर्फ आकर्षित पार्न सफल भएकी छन्। उनको छन्दोबद्ध कविता वाचन साँच्चै श्रुतिमधुर, मार्मिक र लयात्मक हुन्छ। यता भारततिर पनि छन्दमा कविता लेख्नेहरूको अहिले बढ्न थालेको छ। असमका छविलाल उपाध्याय, डा खेमराज नेपाल, विद्यापति दाहाल, अनुप शर्मा, अघिदेखि नै छन्दमा कविता लेख्ने गरेका छन्। अहिले आएर कालिम्पोङका भानु अधिकारीको त छन्दमा कवितासङ्ग्रह छन्दमञ्जरी प्रकाशित भइसकेको छ। सिक्किमका गोपाल ढकाल, मोहन अधिकारी, टार्जन कट्टेल, प्रकाश भट्टराई, भवानी घिमिरे, चक्रपाणि भट्टराई आदि सक्रिय देखिन्छन्। यता दार्जिलिङ – कालिम्पोङका महाकवि मोहन दुखुन, भानु अधिकारी, विमल खतिवडा, मदना ओझा, मणिराज खनाल, पि एल धमाला आदि पनि छन्दोमा कविता लेख्न सक्रिय छन्।
नेपाली साहित्यको मानचित्रमा सङ्गम थापाको नाम पनि अब थपिन पुगेको देखिन्छ। उनी सिर्जनामा सक्रिय देखिन्छिन्। उनको गजल लेखनदेखि शुरू भएर अब छन्द अध्येताका रूपमा देखिएकी छन्। उमेरले उनी अहिले उन्नाइस वर्षकी मात्र छन् तर सिर्जनाले उनी परिपक्व देखिन्छिन्। सानैदेखि साहित्यप्रति रूचि लिएर अध्ययन, सिर्जना गर्दै जानु हुने बिरूवाको चिल्लो पातको लक्षण देखाएकी छन्। उनी साहित्यमा नै रमाउँछिन्, साहित्यकै गफ गर्छिन्। साहित्यकारहरूसित नै संसर्ग गर्छिन्, साहित्यिक कार्यक्रमतिर धाइरहन्छिन्। अहिले आएर उनले कालिम्पोङ महाविद्यालय नेपाली विषय लिएर अनर्समा भर्ना लिएकी छन्। उनले दार्जिलिङ कालेबुङ र सिकिकमतिरका अधिकांश साहित्यकार चिन्छिन्, सम्पर्क राख्छिन्। साहित्यिक कार्यक्रममा कविता वा गजल पाठ गर्छिन्। अनलाइन साहित्यिक कार्यक्रममा रचना पाठ गर्छिन्। आफ्नो बगली खर्चबाट पैसा बचाएर पुस्तक किन्छिन्। पक्का साहित्यकार भएकी छिन्। सङ्गम थापा अब गजलदेखि पन्छिएर छन्दको अध्ययन र सिर्जनातिर लागेकी छिन्। यी सङ्गम थापालाई छन्दप्रति निकै उच्च रूचि जागेको देखिन्छ। उनले अनलाइन छन्द प्रशिक्षण पनि सञ्चालन गरेकी थिइन्। उनी छन्दमा कविता लेख्ढिन, राम्रो वाचन गर्छिन्। छन्दका लय जान्दछिन्, छन्दको मिठासको भेउ पाएकी छन्। अरूका छन्द कविता पढ्छिन, सुन्छिन् र गुन्छिन्।
उनी छन्दमा कविता लेख्न्, छन्दोबद्ध कविता हुँदै अब छन्दको परिचयसहित लक्षण र मौलिक उदाहरणको एउटा पुस्तक तयारी गरेकी छन्- पुस्तकको नाम छन्दारम्भ। साँच्चै भन्नु हो भने नेपाली साहित्यमा छन्द विषयमा कुनै नारीको पहिलो उपस्थिति मान्न सकिन्छ। यसमा उनले एक सयवटा वार्णिक छन्दहरू, पन्ध्रवटा मात्रिक छन् र उनन्तिसवटा लोकछन्दहरूको अध्ययन प्रस्तुत गरेकी छन्। यति धेरै छन्दहरूको सुचीकृत गरी तिनको लक्षणसहित उदाहरण दिइएको छ। यही नै पहिलो छन्द लक्षणग्रन्थ हुनसक्ने सम्भावना देखिन्छ। हामी धेरै पाठकले यहाँ अध्ययन गरिएका धेरै छन्दहरूको नामै सुनेको थिएन। चाहे प्रचलित हुन् वा अप्रचलित हुन्, छन्द भनेको लय हो, हिँडिको तरिका, प्रस्तुतिको ढङ्ग हो। उनले थाह पाएजति, सुनेजति, जानेजति सबै छन्दको परिचय दिएकी छन्।
यसमा जम्मा सन्तानब्बेवटा वार्णिक छन्द, चौधवटा मात्रिक छन्द, अट्ठाइसवटा जातीय छन्दहरूको सोदाहरण परिचय प्रस्तुत गरिएको छ। यस पुस्तकमा छन्दको छोटो परिचय, छन्दमा प्रयुक्त तकनीकिगत व्यवस्था, लघु गुरू, लक्षण, गण, यति, वर्णानुसारी लक्षण, नियमावली आदि सबैबारे प्रकाश पारेकी छन्। यसका साथै गजलका छन्द (बहर) र शास्त्रीय छन्दको तुलना पनि कुशलतासँग गरिएको छ। छन्दका ससाना तकनीकि, पद्धति आदिको परिचय दिएकी छन्।
क.वार्णिक छन्द- यस पुस्तकमा वार्णिक छन्दका बारेमा सबैभन्दा बढी प्रकाश पारिएको छ। यसमा अनुष्टुप, अपरवक्त, अपवाहा, इन्द्रबज्रा, इन्द्वंश, उद्घता, उपस्थिता, उपजाति, उपेन्द्रबज्रा, कनकमञ्जरी, कमल, कुमारललिता, किरीट, कुसुमितलतावेल्लिता, कुर्सी, चण्डवृष्ठिदण्डक, चन्द्रवर्त्म, चम्पकमाला, चुडामणि, तिलका, तुनक, तोटक, त्रिभङ्गी, दोधक, द्रुता, द्रुतविम्बिता, नर्दटक, नाराचिका, पञ्चचामर, प्रवरललिता, पाइत्ता, पुष्पाञ्जली, पुष्पिताग्रा, पृथ्वी, प्रमाणिका, प्रियम्बदा, प्रिया, प्रहर्षिणी, प्रिया, प्रहर्षिणी, भुजङ्गप्रयात, भुजगशिशुभृत, मणिमध्य, मणिमाला, मत्तमयुर, मनोरमा, मन्दाकिनी, मयुरसारिणी, माणवक, मालिका, मालती, मालभारिणी, मालिनी, मौतिकदाम, मदलेखा, यमक, रथोद्धता, रुक्मवति, रूचिरा, रत्नराज, रूपावली, ललितलता, ललिता, वंशस्थ, वसन्ततिलका, विद्युन्माला, विजया, शशिवदना, शार्दूलललित, शार्दूलविक्रीडित, शालिनी, शिखरिणी, शोकमञ्जरी, शीर्षरुपक, सखी, सबैया अरबिन्द, सवैया अर्साद, सवैया उपजाति, सवैया किरिट, सवैया वाम, सवैया मत्तगयन्द, सवैया मनहरण, सवैया मुक्तहरा, सवैया सुन्दरी, सवैया सुमुखी, सुन्दरी, सोमराजी, स्रग्धरा, स्रग्विणी, स्वागता, हंसरूत, हंसी, हरिणप्लुता, हरिणी, हारिणी, हारी, हारी, हृदय।
पुस्तकमा केही लक्षणका आधारमा धेरै छन्दका नाम नै अनसुना प्रतीत हुन्छ। यसमा लेखकले विभिन्न पुस्तक अध्ययन गरेको प्रतीत हुन्छ।
ख.मात्रिक छन्द- यसमा चौपाया, रोर्ला, हरिगीतिका, दोर्हा, सोरर्ठा, बरर्वै, कवित्त, गीतिका, आर्या, पञ्झटिका, अष्टिका, द्विपदी, चौबाला, पादाकुलकका बारेमा परिचयात्मक अध्ययन प्रस्तुत गरिएको छ।
ग.जातीय छन्द – यसमा झ्याउरे, १, झ्याउरे २, सवाई, सेलो, बालोरी-१, बालोरी २, युगल बालोरी, घाँसे भाका, तीज भाका, मारूनी, रसिया, राजमति, क्षेत्रीय भाका, चुड्के दोहोरी लय, शेर्पा, सुनुवारी, मुन्दुम, खोकु, झाँगड़, चाँचर, विरही, चाम्रुङ, सतारो, कर्खा, मालश्री, कालीपारे, ख्याली र देउड़ा। केही छन्दहरूका बारेमा थोरै थोरै परिचय मात्र पनि दिइएको छ।
पुस्तकको अन्तिम भागमा छन्दकवि अनि उनीहरूका कविताहरू भनेर भारतका केही छन्द कविताहरूको नमुना प्रस्तुत गरिएको छ। यसमा रहेका कविहरूमा महेश सिग्देल, सङ्गम सुधा (दुईवटा कविता), शान्ति भुजेल (दुईवटा कविता), दीपा राई (दुईवटा कविता), विष्णु कुमार बराइली, अलभिना थामी सुब्बा (दुईवटा कविता), कुमार शर्मा (दुईवटा कविता), गायत्री गौतम (दुईवटा कविता), सरस्वती शर्मा (दुईवटा कविता), छविलाल उपाध्याय, मणिराज खनाल, लुइस विष्ट, अनुप शर्मा, दिवाकर न्यौपाने, शरद् छेत्रीका छन्दोबद्ध कविता रहेका छन्। अझ यसमा असमका डा खेमराज नेपाल, कालेबुङकी मदना ओझा, खरसाङका पि एल धमाला आदिका कविता समावेश गरिएका छैनन्। सिक्किमका केही छन्दोबद्ध कविता लेख्नेहरूको नाम आएको छैन। यद्यपि यसमा छन्दतालिम कार्यशालामा रचिएका कविताहरू यहाँ समावेश गरिएको प्रतीत हुन्छ। यसमा कसैले शार्दूलविक्रीडित, इन्द्रबज्रा आदि र केही झ्याउरे छन्दमा लेखिएका छन्।
प्रस्तुत पुस्तक तयारी पार्दा गोपाल ढकालको छन्दशतकम, डा देवी नेपालीको छन्दपराग, उच्चमाध्यमिक नेपाली व्याकरण र रचना, चुड़ामणि बन्धुको नेपाली लोकसाहित्य सन्दर्भग्रन्थका साथै ड़ा घनश्याम न्यौपाने परिश्रमी, शह्कर ढकाल, सन्तवीर लामा, महाकवि मोहन दुखुन र दुर्गा छेत्री आदिसित मौखिक अन्तर्वार्ताको स्रोत ग्रहण गरेको पनि सङ्केत पाइन्छ। यसमा अरू लक्षणग्रन्थको उदाहरण जतिसक्दो लिनभन्दा आफैंले उदाहरण सिर्जना यस छन्दको पुस्तकलाई मौलिकता बनाइएको छ। यद्पि धेरै छन्दको परिचय क्रममा उदाहरण प्रस्तुत गरिएको छैन। प्रसतुत पुस्तकको नाम भने छन्दारम्भ नवीन मध्य भन्ने नाम किन राखियो, यो बुझ्न सकिएन।
यस सूचीमा रहेका कविहरूको नाम हेर्दा नयाँ हाँचका युवा पुस्ता पनि छन्दप्रति नाकनिक गर्दैनन् बरू अब छन्दमा लेख्न थालेका छन्, छन्दप्रति आकर्षित छन् भन्ने स्पष्ट हुन्छ। यस छन्द लक्षण ग्रन्थले नेपाली कवितामा रूचि लिनेलाई धेरै सहयोग पुर्‌याउँदछ। यसका साथै बाह्रौं र कलेजस्तरका विद्यार्थीका निम्ति झन उपयोगी सिद्ध हुनेछ। सङ्गम सुधा जस्ती नयाँ पुस्ताले यसरी छन्दको बारेमा यतिको रूचि लिएर अघि आउनु नेपाली साहित्यको शुभदायक कुराको सङ्केत हो।

कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।