पूर्वोत्तर भारत भारतीय नेपाली साहित्यको एउटा प्रमुख केन्द्र हो। सन् 1886 मा शिलाङमा गोर्खा पाठशाला खोलेर भारतमा सबै भन्दा पहिले नेपाली भाषा-शिक्षाको जग बसाल्ने भूमि पनि हो। अविभक्त असम होस् वा विभक्त असम, यसले प्रारम्भ देखिनै नेपाली भाषा साहित्यको विकासमा ठूलो भूमिका खेल्दै आएको कुरा सर्वविदित छ।
असम प्रान्त पुष्पलाल उपाध्याय, हरिभक्त कटुआल, लीलबहादुर क्षत्री, अनुराग प्रधान, छविलाल उपाध्याय, तारापति उपाध्याय जस्ता असङ्ख्य भाषा-साहित्य प्रेमीहरूले मल-जल हालेको भूमि हो। आज हामी थुप्रै रचनाकारहरू छुट्टाछुट्टै विधामा आफ्नो कलम चलाउँदै भारतीय नेपाली भाषा-साहित्यको ढुकुटी भर्न दिनरात मिहिनेत गरिरहेको देख्दछौं।
असम भूमिले पुरुष सँगसँगै प्रशस्त नारी हस्ताक्षरहरूलाई पनि जन्म दिएको छ। यस लेखमा असम प्रान्तका नारी कलमकारहरूको संक्षिप्त परिचय विधागत रूपमा दिने प्रयास गरिएको छ।
कविता साहित्य
1. गोमा शर्मा
24 मई 1942 मा गुवाहाटीमा जन्मिएकी गोमा शर्मा भारतीय नेपाली साहित्यमा चिने-जानेकी कवयित्री हुन्। उनका कवितामा नारी जीवनको दुख-सुख देख्न पाइन्छ। केवल तिम्रो निम्ति (1986) एवं तिम्रो प्रेरणाले (1986,गीत सङ्कलन) उनका प्रकाशित कृतिहरू हुन्। उनका कवितामा युगीन विषमता, यथार्थ अभिव्यक्ति, सुन्दर शैली र सरल नेपाली भाषाको दर्शन पाइन्छ।
2. चन्द्रकला नेवार
सन् 1942 मा डिगबोई, असममा जन्म लिने चन्द्रकला नेवार कवयित्री हुनका साथै एउ गीतकार पनि हुन्। यिनका प्रशस्त गीतहरू रेडियोमा रेकर्ड भइसकेका छन्। चन्द्रकलाका गीतहरू (1988), चक्रव्यूह (1992), मेरी याशिलाई मेरो आज (2004) कविता संग्रह, तृष्णाको लहरी (2004, गीत संग्रह), ममता (1965) र साँघुरो धरातल (कथा संग्रह 2004), चन्द्रकलाका प्रकाशित कृतिहरू हुन्। यिनका कविता र गीतहरूमा प्रेम, वात्साल्य, आशा, निराशा, आँसु, हाँसो, जस्ता जीवनका विविध पाटाहरू प्रस्तुत भएका पाइन्छन्।
3. वसुन्धरा शर्मा
वसुन्धरा शर्माको जन्म माता स्व. ललिता भंडारी र पिता स्व. छविलाल भंडारी की पुत्रीको रूपमा सन 1950 मा ढेकियाजुली, असममा भएको हो। उनले उच्चतर माध्यमिक विद्यालयसम्म शिक्षा लाभ गरिन्। प्रेरणा (2012), मुक्तमाला (2012), अनुभवका तीन पाइला (2018), अक्लान्त योद्धा नारी (2018) उनका प्रकाशित कृतिहरू हुन। उनका कविताहरूमा सामाजिकता, नारी जनित कोमल भावको सुन्दर अभिव्यक्ति, असमीया नेपाली जनजीवनका समस्याहरू, जातीय अस्मिता, समाज निर्माणमा नारीको भूमिका जस्ता प्रवृत्तिहरू देख्न पाइन्छन्।
4. मैना थापा ‘आशा’
मैना थापा ‘आशा’को जन्म गुवाहाटी असममा 24 जनवरी 1952 मा भएको हो। उनी पेशाले शिक्षिका हुनका साथै स्वतन्त्र पत्रकार पनि हुन्। कस्तूरी (2000) र स्पर्श अन्तर्मनको (2011) नेपाली कविता संग्रह, रजनीगन्धा (1995) र कब कह दिया मैंने (2014) हिन्दी काव्य संग्रह प्रकाशित छन्। उनका कविताहरूमा सामाजिक असमानता, नारीप्रति हीन दृष्टिकोणको प्रतिवाद, भ्रष्टाचार र शासन व्यवस्थाप्रति तीव्र आक्रोश देखिन्छ। बेरोजगारीको समस्याबाट ग्रस्त युवाहरूको अवस्थाको चित्रण कवयित्रीले सरल शब्दमा गरेको पाइन्छ।
5. इन्द्रुप्रभा देवी
श्रीमती राधिका देवी र श्री पुष्प दवाड़ीकी सुपुत्रीको रूपमा सन् 1969 मा शोणितपुर, असममा जन्म लिने इन्द्रुप्रभा असमीया र नेपाली साहित्यमा एम. ए., एम फिल र पीएच.डी उपाधि प्राप्त गरेर वर्तमानमा बी. बरूवा कलेज, असमीया विभागमा प्रवक्ताको रूपमा कार्यरत हुनका साथै असम साहित्य सभाकी वरिष्ठ कार्यकर्ताको रूपमा कार्यरत छिन्। असमीया रामायणको अयोध्या काण्डको नेपाली अनुवाद (2006), सपनाको जरो पहिल्याउँदै (कविता संग्रह, 2007), शब्दशिल्पर कारुकार्य (असमीया निबन्ध संकलन, 2010), एक सय लिमारिक (2011), ती पाइलाहरू (कविता संग्रह, 2012), प्राप्ति अप्राप्ति (कथा संग्रह 2015), तबेलामा बाँधिएका घोडाहरू (कविता संग्रह, 2018), जलप्रपात (असमीया कविता संग्रह, 2019) र रुद्ध अनिरुद्ध (नेपाली कथा संग्रह, 2019), अनुहारभित्रको आकाश (उपन्यास, 2021) उनका प्रकाशित कृतिहरू हुन्। इन्दुप्रभा देवी असम क्षेत्रमा आयरलैण्डमा विकसित लिमारिक काव्य विधा भित्र्याउने पहिलो कवयित्री हुन्।
6. निरु शर्मा पराजुली
माजगाँउ, असममा जन्म लिएकी निरु शर्मा गुवाहाटी विश्वविद्यालयबाट असमीया र नेपाली साहित्यमा स्नात्कोत्तर, गुवाहाटी विश्वविद्यालयको आइडोल केन्द्रबाट एल.एल.बी साथै असम राष्ट्रभाषा प्रचार समितिबाट विशारद परीक्षा उत्तीर्ण नारी हस्ताक्षर हुन्। उनी नेपाली र असमीया दुई भाषामा कलम चलाउँदै आएकीछिन्। स्वप्न एटि मुक्त आकाशर (असमीया कथा संग्रह, 2004), कविताइ मोर भुभुक्षा (असमीया कविता संग्रह, 2007), भोकमा कोरिएका शब्दहरू (नेपाली कविता संकलन, 2008), माधे प्रेमर बाबे ए मुठी अनुभव (असमीया कविता संकलन, 2009), वगी बरमार बारी (असमीया बाल कविता संकलन, 2009), स्पन्दन (असमीयाबाट नेपाली अनुवाद, 2020), म मानिसको निर्मल उत्सव (नेपाली कविता संग्रह, 2021), कोशेली (नेपाली बाल कविता संकलन, 2021), तिर्खाएको मन, केहि पल (नेपाली कविता संकलन, 2021), शब्द बुटलि (नेपालीबाट असमीया अनुवाद, 2021) उनका प्रकाशित कृतिहरू हुन्। उनका कवितामा सकारात्मक सोच, विनिर्माणवाद, वैश्विक दृष्टि, नारी समस्या, नारी मनोविज्ञान, बिम्ब प्रतीकहरूको प्रयोग मानवाधिकार, रुढ़ि विरोध, बाल मनोविज्ञान जस्ता विशेषताहरू देख्न पाइन्छ।
7. नीलिमा आचार्य
नीलिमा आचार्यको जन्म 13 अगस्ट सन् 1980 मा काउडीपथार, विश्वनाथ असममा भएको हो। उनका प्रारम्भिक रचनाहरू सपरिवार, अभिव्यक्ति, युमशकैश जस्ता पत्रिकारहमा प्रकाशित भएको देखिन्छ। उनका परिवर्तन र अन्य कविता (कविता संग्रह, 2021, रजत (2021) शीर्षक उपन्यास र अनुभव र सेइ (संयुक्त असमीया कविता संकलन, 2021) प्रकाशित छन्। उनका कवितामा सामाजिक विसंगति, वर्ण विभाजन, दलित-पीडितहरूको समस्या जस्ता विशेषताहरू पाइन्छन्। उनका उपन्यासको मूल विषय प्रेम हो। यसमा युवा वर्गको समाजप्रति दायित्व, कर्तव्य के कस्तो हुनुपर्छ भन्ने कुरा दर्शाउन खोजिएको छ।
8. पूजा उपाध्याय
1 जनवरी 1993 मा लखिमपुर, असममा माता सीता उपाध्याय र पिता भानु उपाध्यायकी छोरीको रूपमा जन्मलिने पूजा उपाध्याय पेशाले एक शिक्षिका हुन्। उनको असमर्थ सहर (कविता संग्रह, 2021) प्रकाशित छ। पूजा उपाध्याय असम नेपाली साहित्य सभाकी केन्द्रीय सदस्य हुन्। उनी थुप्रै काव्य-प्रतियोगिताहरू जित्न सफल भएकी छिन्।
9. नैना अधिकारी
नैना अधिकारीको जन्म 27 सेप्टेम्बर 1988 मा पिता स्व. नरप्रसाद उपाध्याय की छोरी को रूपमा भएको हो। उनले बीएसम्मको शिक्षा हासिल गरेको देखिन्छ। उनको एउटा काव्य-कृति घात-प्रतिघातका उद्गारहरू (2021) प्रकाशित छ। यस संग्रहमा जम्मा 40 वटा कविताहरू संकलित छन्। उनका कविताहरूमा सामाजिक, राजनैतिक, रुढिगत व्यवस्थाप्रति विरूद्ध तीखो व्यङ्ग्य प्रहार देख्न पाइन्छ।
लङ्काकी विनिता उपाधायायको भावना पुञ्ज (2014), कोक्राझार निवासी विष्णुमाया दाहाल कृत जागरण (2007), विहाली वासिन्दा वसुमति खतिवडाका सम्वेदना र आफ्ना पतिका लेख (2010), बटुलबाटुल (कविता सं, 2014), तेजपुरकी कमला देवी भट्टराईकृत मेरो अभिमान (2012), वसन्तीको जीवन नौका (बाल कविता संकलन), बोगाइँगाँउकी पवित्रादेवीको वैभव लक्ष्मी (2016), तेजपुर निवासी निरुमा सुब्बाका नारीको आह्वान (2016), सिँढी (अनुवाद, 2020), गुवाहाटीकी नीता गुरुङको पहिलो पाइलो (2019), गुवाहाटीकी चन्द्रकला गुरुङको आलो सम्झना (2019), जमुना दाहालको विवशतामा बाँचेको जिन्दगी (2020), रेणु गौतम भण्डारीको शब्दभित्रको अनुहार (2014), बाक्साकी जयन्तीकलादेवीको कोसेली (2016), लखिमपुरकी सीता देवीको तिम्रो स्मृतिमा (1997), गमिरीकी रेणु गैतम भण्डारीको शब्दभित्रको अनुहार (2014), तेजपुरकी डा. शारदीको भावनाका बतासे स्वरहरू (2018) असमबाट प्रकाशित अन्य कविता सङ्ग्रह हुन्। डिमापुरकी अनुपमा कट्टेल पनि कविता साहित्यमा देखा परेकी आशलाग्दी युवा कवयित्री हुन्।
अङ्ग्रेजीमा लेख्ने कवयित्रीहरू
डॉ. सरिता शर्मा
डॉ. सरिता शर्मा, तेजपुर निवासी कलमकार हुन। शिक्षामा पीएचडी, सरिता एउटी शिक्षाविद्,, लेखक, कवि, अनुवादक, महिला मुद्दा कार्यकर्ता र मानसिक स्वास्थ्य सल्लाहकार हुन्। उनी Trans Disciplinary Agora for Future Discussions, Georgia की बोर्ड सदस्य साथै अमेरिकाबाट प्रकाशित हुने TAFFD's पत्रिका, की संयोजक/सम्पादक पनि हुन्। उनले हालसम्म विभिन्न विधामा नौवटा अङ्ग्रेजी पुस्तकहरू प्रकाशित गरिसकेकी छिन्। Of Myriad Voices (अङ्ग्रेजी लघुकथा संकलन, 2016), Damphu-The Rhythms of Life (असमीयाबाट अङ्ग्रेजी मा अनुवाद, 2020), Swades-My Motherland- (असमीयाबाट अङ्ग्रेजीमा अनुवाद, 2021), Rendezvous of Words- (सार्क देशका कविहरूका कविताको संकलन, सम्पादन, 2021), Success Mantra- Decoding Philosophy to a Purposeful Life (सम्पादन, 2019), Poets and Poetry- Spaces Within and Without (सम्पादन, 2020), Dynamics of Poetry- The Said and the Unsaid (शिक्षाविदहरूका शोधमूलक लेखहरूको सँगालो, सम्पादन, 2020), Days V (अङ्ग्रेजी कविताहरूको सँगालो, 2021) अनका प्रकाशित कृतिहरू हुन्। सरिता शर्माले Philosophiqua and Grand Productions Literary Award Canada, TAFFD’s Performer Award, ANESAS Literary Achievement Award, ANESAS Merit Award, Sewa Sadhana Merit Award जस्ता सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेकी छिन्।
लोहिता भण्डारी
सन् 2000, गुवाहाटी असममा जन्म लिएकी लोहिता भण्डारी कानून विषयमा अध्ययनरत छात्रा हुन्। उनी अङ्ग्रेजी कविता विधामा देखापरेकी एउटी नवाङकुर कवयित्री हुन्। उनका पिता डॉ. पुरुषोत्तम भण्डारी एकजना कलेजका उप-प्रधानाचार्य, इतिहासविद साथै वरिष्ठ लेखक हुन्। माता रमा भण्डारी एउटी कलेज की प्राध्यापिका साथै एउटी कवयित्री हुन्। लोहिताको पहिलो कविता सङ्ग्रह Poetic Invasion (2022) शीर्षकमा देखा परेको छ। यसमा युवा मनका चाहना, सपना, आत्मनिर्भरता, अदम्य साहस, प्रकृति प्रेम, मानवता प्रेम, अग्रज पीढीप्रति सम्मान भाव जस्ता भावहरूमा सरल सहज भाषा र शैलीमा अभिव्यक्ति दिएकी छिन्।
कथा साहित्य
1. डा. शान्ति थापा
9 फरवरी 1961 मा शान्तिपुर गुवाहाटीमा जन्म लिने डा. शान्ति आर.जी. बरुवा कलेजमा हिन्दी विषयकी अवकाशप्राप्त प्राध्यापिका साथै गुवाहाटी विश्वविद्यालयको नेपाली एम. ए. कार्यक्रमकी संयोजक थिइन्। 9 जनवरी, 2021 मा यस संसारबाट विदा लिएकी डा. शान्ति थापाका असमेली नेपाली कवितामा गीत (शोध कृति, 1997), नामघरे (अनूदित उपन्यास, 1997), अस्तराग (अनूदित उपन्यास, 2002) माया (गीत संग्रह, 2004), आवर्तन (कथा संग्रह, 2007), मोहिनी डट कम (उपन्यास, 2009) सहर ढल्दैछ (कथा संग्रह, 2018), भारत के स्वाधीनता आन्दोलन में पानबारी रेल दुर्घटना (अनुवाद, 2003), असमेली कथा यात्रा (सम्पादन, 2008), लोहित घाटी की कहानियाँ, अस्मिता के कवि नवसापकोटा (सम्पादन, 2015), समन्वयकी साँघु गीता उपाध्याय (सम्पादन, 2016) र गोमा शर्माको व्यक्तित्व र कृतित्व (सम्पादन) उनका प्रकाशित कृतिहरू हुन्। उनका कथाहरूमा युगीन जनजीवनसँग सम्बन्धित विषयवस्तुहरूको प्रस्तुती पाइन्छ। उनलाई संचनारायण प्रधान स्मृति स्वर्णपदक, नामघरे उपन्यासका लागि साहित्य अकादमी अनुवाद पुरस्कार (2002), आवर्तन कथा सङ्ग्रहका लागि टङ्कनाथ स्मृति पुरस्कार (2008), गुञ्जन प्रतिभा पुरस्कार जस्ता धेरै पुरस्कारहरूले सम्मानित गरिएको छ।
2. रीता सिंह 'सर्जना'
रीता सिंह 'सर्जना'को जन्म गङ्गादेवी सुनुवार र स्वर्गीय तेज़बहादुर सुनुवारकी पुत्रीको रूपमा 17 जनवरी,1968 मा भएको हो। हिन्दी साहित्यमा स्नात्कोत्तर रीता सिंह निजी जीवनमा पर्यावरण र वन विभागकी कर्मचारी हुन्। उनी पूर्वोत्तर हिन्दी साहित्य अकादमी की संस्थापिका अध्यक्षा हुनका साथै देशविदेशका विभिन्न साहित्यिक संगठनहरूमा संलग्न भएर हिन्दी र नेपाली भाषा-साहित्यको उत्थानमा समर्पित व्यक्तित्व हुन्। उनका हिन्दी भाषामा नई सुबह (हिन्दी कथा संग्रह मौलिक 2021) र 21 नारीमन की कहानियाँ, असम (2021) प्रकाशित छन्। उनका प्रशस्त मात्रामा नेपाली र हिन्दी कविता, कथा, लेख, संस्मरणहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएको देख्न पाइन्छ। उनले अवाम, उषा-ज्योति, पूर्वोत्तर सृजन हिन्दी पत्रिका साथै आतुर शब्द र पूर्वोत्तर काव्य सृजन जस्ता साझा संकलनहरूको कुशल सम्पादन पनि गरिसकेकी छिन्। उनका कथाहरूमा असमको छाप स्पष्ट रूपमा देख्न पाइन्छ। सामाजिकता, किनारीकृत वर्गहरूको पीड़ा, सामाजिक समरसता, आशावादिता आदि उनका कथामा पाइने अन्य प्रवृत्तिहरू हुन्। लेखनमा अवदानका लागि रीता सिंहले भागलपुरबाट विद्यावाचस्पति मानद उपाधि, असम गौरव सम्मान, शिवकुमार जी शास्त्री स्मृति सम्मान, अन्तर्राष्ट्रीय शब्द सृजन द्वारा काव्य रत्न सम्मान जस्ता विभिन्न सम्मानहरू प्राप्त गरिसकेकी छिन्।
3. रिजु देवी
रिजु देवीको जन्म 1978 मा तेजपुर असममा भएको हो। उनी असमिया साहित्यमा स्नात्कोत्तर हुनका साथै संगीत कलामा प्रवीण नारी हुन्। उनका थुप्रै गीती एलबम प्रकाशित भएका छन्। औँसीको चन्द्रमा (2007), अनमोल हीरा (2017) दुई कथा संग्रह र गीत मञ्जरी (2020) गीत संकलन उनका प्रकाशित कृतिहरू हुन्। उनका कथाहरूमा नरी जीवनका विविध पाटाहरू अभिव्यक्तिएको देख्न पाइन्छ। नारी जागरण, रुढि, अन्ध विश्वास र नारी प्रताडनाको विरोध, समाजिक भेद-भावको विरोध, समरस समाज स्थापना गर्ने आग्रह जस्ता प्रवृत्तिहरू देख्न पाइऩ्छ। रिजु देवीका प्रशस्त लेखहरू विभिन्न पत्रपत्रिका र अनलाइन पत्रिकाहरूमा प्रकाशित भएका देख्न पाइन्छ।
4. इन्दिरा गौतम
गोल्मागाउँ, ओदालगुडी, असम की निवासी इन्दिरा गौतम घृतमाया देवी र तोयाप्रसाद की छोरी हुन्। स्नातकसम्म शिक्षित इन्दिरा पेशाले एक शिक्षिका हुन्। उनले तिज शीर्षक सम्पूर्ण नारी पत्रिकाको कुशल सम्पादन गरिसकेकी छिन्। विभिन्न साहित्यिक प्रतियोगितामा उनले थुप्रै पुरस्कारहरू प्राप्त गरेकी छिन्। उनका प्रशस्त कथाहरू भारत नेपालबाट छापिने पत्र-पत्रिकाहरू साथै अनलाइन पत्रिका र प्लेटफार्ममा देखापरिसकेका छन्। उनी असम नेपाली साहित्य सभा, ओदालगुडी शाखाकी सभानेत्रीको रूपमा कार्यरत छिन्। उनको एउटा कथा संग्रह प्रकाशोन्मुख छ।
डिब्रुगढ निवासी मञ्जु उपाध्यायको मृगतृष्णा (अनुवाद कथा सं), गुवाहाटीकी विजया शर्मा का अनूदित कथा कृति बूढी आमैका दन्तेकथा, जीबा र नाती केटो, गहपुरकी वीणा शर्माको मधुपुरको सम्झना (अनूदित कथा संग्रह, 2014) असम भेकबाट प्रकाशित भएका अन्य कथा संग्रह हुन्।
उपन्यास साहित्य
1. गीता उपाध्याय
सन् 1939 मा असमको शोणितपुर जिल्ला अन्तर्गत माजगाउँमा जन्मलिने गीता उपाध्याय शिवसागर कलेज, राजनीतिशास्त्र विभागकी अवकाशप्राप्त विभागाध्यक्षा हुन्। गीता उपाध्यायले विभिन्न विधा साथै नेपाली र असमीया भाषामा समान्तर रूपमा कलम चलाएको देखिन्छ। एन फ्रैंकको डायरी (अनु, 1972), आमा म फास्ट भएँ (बाल उपन्यास, 1977) महापुरुष शङ्करदेव, जीवन र कर्म (जीवनी, 2003), मन्दाकिनी र अलकनन्दाको तीरैतीर बद्री केदारसम्म (नियात्रा, 2003), दरबारकी सुसारे (अनुवाद नाटक, 2008), अभियात्री (अनु. 2006), कथाञ्जलि (कथा सं. 2008), जन्मभूमि मेरो स्वदेश (उपन्यास, 2013), ऐन फ्राङ्कको बाल्यकाल (बाल कथा सं. 2008), पुड़के हवल्दार र विलियम सेक्सपियरको राजा तृतीय रिचार्ड (सम्पादन), भानुभक्तर रामायण (असमिया, 1987) एन. फ्राङ्कर डायरी (असमिया 1990, 95,99, 2000), एन फ्राङ्कर गल्प (असमिया, 1999), मा मै फास्ट हलों (अनु. 1997), कला सुरुज (अनु. उपन्यास (1998), नेपाल देशर लोक साधु (असमिया, 2000) गीता उपाध्याय का प्रकाशित कृतिहरू हुन्। आमा म फास्ट भएँ र जन्मभूमि मेरो स्वदेश दुवै बाल उपन्यास हुन्। दोस्रो कृति स्वाधीनता आन्दोलनमा गोर्खाहरूको भूमिकामा आधारित छ। दरबारकी सुसारे नाटकलाई 2011 मा साहित्य अकादमी अनुवाद पुरस्कार र जन्मभूमि मेरो स्वदेशका लागि गीता उपाध्यायलाई सन्2016 मा साहित्य अकादमी पुरस्कारले सम्मानित गरिएको छ।
2. नया देवी
बिहाली असममा सन् 1942 मा जन्मलिने नयादेवी असमका स्वतन्त्रता सेनानी स्व. विष्णुलाल उपाध्याय की सुपुत्री हुन्। उनी एउटी सेवानिवृत्त शिक्षिका हुनका साथै नेपालीपट्टी महिला समिति तेजपुरकी अध्यक्षा, पुष्पलाल उपाध्याय गोष्ठीकी अध्यक्षा र तेजपुर महिला समितिकी सदस्या हुन्। उनका युगसन्धि (2002) र कौशल्या (2006) दुई उपन्यास, अन्नपूर्णा (2011, जीवनी), चन्द्रप्रभा शइकीयानी (2011, जीवनी) र कथा मञ्जरी (2011, कथा संग्रह) प्रकाशित छन्। उनका दुवै उपन्यासमा प्रगतिशीलता र सामाजिकता, नारी जागरण, नारी समस्या, रुढि उन्मुलन जस्ता प्रवृत्तिहरू देख्न पाइन्छ। कथा मञ्जरीका निम्ति उनलाई टङ्कनाथ उपाध्याय स्मृति पुरस्कार प्रदान गरियो।
3. मनीषा दाहाल
श्रीमती झरनादेवी दाहाल र भाषा सेनानी जगनिधि दाहालकी पुत्री मनीषा दाहालको जन्म सन 1980 मा रौता, असममा भएको हो। एम.ए. (इतिहास) र एम. ए. (नेपाली) मनीषा द आर्ट ऑफ लिविंग संस्था की प्रशिक्षिका हुन्। उनी कविता, कथा, एकाङ्की जस्ता विधाहरूमा कलम चलाउँदै आएकी छिन्। उनी नेपाली, असमियार हिन्दी तीन भाषा कलम चलाउँछिन्। उनको एउटा उपन्यास कृति मैले बोल्दा मान्छे रिसाउँछन् (2022) प्रकाशित छ। यो एउटा व्यक्ति चरित्रपरक उपन्यास हो। यो भाषा सेनानी जगन्निधि दाहालको जीवन र कर्ममा आधारित उपन्यास हो। कृतिहरू प्रकाशोन्मुख छन्। उनी असम नेपाली साहित्य सभासँग जडित हुनका साथै गुवाहाटी विश्वविद्यालयबाट प्रकाशित वृहत्तर गुवाहाटी नेपाली छात्रसंघको मुखपत्र लोहितपुत्रको सम्पादनमा मुख्य भूमिका निभाइसकेकी छिन्
नाटक साहित्य
1. सविता छेत्री
पत्रपत्रिकामा केहि छुटपुट नाटक, एकाङ्कीहरू देखापरे तापनि पुस्तक रूपमा असमेली गोर्खा नारीको कलमबाट केहि कृतिहरूमात्र प्रकाशित भएका छन्। ऐलेसम्मको खोजमा यस दिशामा खनामुखकी सविता छेत्री प्रथम नाटककारको रूपमा देखा परेकी छिन्। उनको अधिकार (2005) शीर्षक नाट्य कृति प्रकाशित छ। सरल सहज भाषा शैलीमा लेखिएको यो नाटक कृति सबै वर्गका पाठकका निम्ति ग्राह्य छ।
2. भारती भण्डारी
तेलिया गाँउ शोणितपुर, निवासी भारती भण्डारी असम दोस्रो नारी नाटकारको रूपमा देखा परेकी छिन्। उनी असमको बाक्सा जिल्लामा आइसीडीएसकी सुपरवाइजरको पदमा सेवारत छिन्। उनका लाश (2012) र जिउँदो इतिहास (2018) दुई पूर्णांक नाट्यकृति प्रकाशित छन्। प्रथम कृति लाशमा दुई नम्बरी धन्धा गर्नेहरुको खुलासा गर्ने प्रयास गरिएको छ भने जिउँदो इतिहास पारिवारिक समस्यामाथि आधारित नाटक हो। नाटकका जम्मै पात्रहरू हाम्रा वरिपरि जीवन भोग्ने मानिसहरू सरह प्रतीत हुन्छन्। नाटक साहित्यको विकासमा योगदान पुऱ्याए बापत उनलाई असम नेपाली नाट्य सम्मेलनले नाट्यज्योति पुरस्कार प्रदान गरेको छ।
निबन्ध साहित्य
कल्पना देवी आत्रेय
कल्पना देवी आत्रेय 26 अप्रिल, 1978 कलियाबर, नगाँव असममा माता नीलिमा देवी र पिता श्री नारायण उपाध्यायकी पुत्रीको रूपमा भएको हो। उनी शिक्षामा बी.ए, डीएलएड हुन्। लेखनमा उनी निबन्ध, कविता, अनुवादमा रुचि राख्दछिन्। हिन्दी, नेपाली र असमिया भाषामा उनको कलम चलेको देखिन्छ। उनी नेपाली संस्कृति सुरक्षा परिषद्, आमा मञ्च, असम की महासचिव, पूर्वोत्तर हिन्दी साहित्य अकादेमी, असम (भारत) की सचिव हुनका साथै असम नेपाली साहित्य सभा र अखिल भारतीय साहित्य परिषद् की आजीवन सदस्या पनि हुन्। उनका चेतनाको स्पन्दन (2019, नेपाली निबन्ध संग्रह) र मृगतृष्णा के छंद अनुवाद काव्य ग्रन्थ (हिन्दी) शीर्षकका कृतिहरू प्रकाशित छन्। यस बाहेक उनका थुप्रै लेख कविताहरू समाचारपत्र र पत्र-पत्रिकामा प्रकाशित छन्। लेखन कार्यमा योगदानका लागि कलिपना आत्रेयलाई उत्तर प्रदेश, मुरादाबादबाट शिक्षारत्न सम्मान, वीरभाषा हिन्दी साहित्य पीठ द्वारा साहित्य गौरव सम्मानले सम्मानित गरिएको छ।
बाल साहित्य
बाल कविता
1. दैवकीदेवी तिम्सिना
दैवकीदेवी तिम्सिना को जन्म सन 1967 मा रौता, मराधनश्री, असममा भएको हो। उनकी माता यमुना देवी र पिता केवली प्रसाद हुन्। नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी उपाधि हासिल गरेकी दैवकीदेवी केहि वर्षसम्म सतिया महाविद्यालय, नेपाली विभाग में भाषा शिक्षिकको रूपमा कार्य गरिन्। तिम्रो स्थान कहाँ छ (कविता संकलन, 2010) घामपानी-घामपानी स्यालको बिहे (शिशु साहित्य, 2015), दुष्ट राजकुमार (बाल उपन्यास, 2021) उनका प्रकाशित कृति हुन्। उनले संस्कृति सुषमा र अमृतवल्ली जस्ता पत्रिकाहरूको कुशल सम्पादन पनि गरेकी छिन्। शिशु साहित्यमा योगदानका लागि उनलाई मितेरी स्वागत सम्मानले सम्मानित गरिएको छ।
3. रमा भण्डारी
सन् 1967 मा जन्म लिने रमा भण्डारी नारङ्गी आञ्चलिक कलेजमा हिन्दी प्रवक्ताको रूपमा कार्यरत छिन्। उनका सानुका कविता (बाल कविता संग्रह, 2020) र मुक्ति (कविता संग्रह, 2022) प्रकाशित छन्। प्रथम कृति तीन खण्डमा प्रकाशित छ। खंड क मा 28, खमा 33 र गमा 31 वटा कविताहरू समावेश छन्। क खण्डका कविताहरू दुईबाट चार वर्षका बाल-बालिकाहरूका लागि हुन भने खण्ड ख का कविता पाँचदेखि आठ वर्षका बाल-बालिकाका निम्ति रचिएका र खण्ड ग मा संकलित कविताहरू भने नौदेखि बारहवर्षका बाल-बालिकाहरूका लागि हुन्। रमा भण्डारीको उन्मुक्ति (2022) शीर्षक कविता संग्रह भर्खरै प्रकाशित भएको छ। यो नारी जागरण संबंधी कविताहरूको सँगालो हो।
बाल कथा
1. मुन्नी सापकोटा
मुन्नी सापकोटाको जन्म 25 नवम्बर 1950 मा गुवाहाटीमा भएको हो। उनी बड़ागाउँ नेपाली नेपाली विद्यालयकी अवकाशप्राप्त प्रधानाध्यापिका हुन्। उनले फूलबारी शीर्षक बाल पत्रिका र अंतरंग हिंदी पत्रिकाको कुशल सम्पादन पनि गरिसकेकी छन्। कथा फुलबारी (2001), बल्ल बुद्धि पलायो (2001), जूनकीरी (2012) बाल कथा संग्रह, शिशु उद्यान (कविता संकलन, 2019), जिङ्गोबाजेका आँसु (अनूदित बालकथा संकलन, 2016), नेपाल की नेपाली कथाएँ (अनुवाद), असमीया नारीका कविता (साझा अनुवाद, 2005), लोहित घाटी की कहानियाँ (साझा अनुवाद, 2008) उनका प्रकाशित कृतिहरू हुन्। मुन्नी सापकोटा असम सरकारको तर्फबाट कीर्ति शिक्षिका पुरस्कार, भारत सरकारको तर्फबाट राष्ट्रीय कीर्ति पुरस्कार, साहित्य अकादमी पुरस्कार प्राप्त कलमकार हुन्।
उनका बालकथाहरू सचित्र हुनाले बच्चाहरूका लागि सहज बोधगम्य छन्। सबै कथाहरू बाल मनोविज्ञान, बाल शिक्षामूलक र मनोरञ्जक छन्। जनावर पात्रहरूको समावेशले कथामा अझ रोचकता थपेका छ। बालसाहित्यको विकासमा योगदानका लागि उनलाई बाल साहित्य अकादमी पुरस्काले सम्मानित गरिसकिएको छ।
माथि उल्लेख कृति बाहेक गीता उपाध्यायको आमा म फास्ट भएँ (1977) उपन्यास एउटा विशिष्ट बाल उपन्यास हो। यो असमीया भाषामा पनि अनूदित भएको छ।
नियात्रा साहित्य
असम भूमिबाट साहित्यका अन्य विधा भन्दा नियात्रा साहित्यमा थोरै लेखिकाहरूले आफ्नो कलम साकार गरेको देखिन्छ। सरस्वती सोनारको रोमको यात्रा (1969), डॉ. गीता उपाध्यायको मन्दाकिनी र अलकनन्दाको तीरैतीर बद्री केदारसम्म (2003), भ्रमण संस्मरण (2008), लावण्यादेवी लिखित स्वदेश परदेश (2012) र बृटेनमा केहि दिन (संयुक्त लेखन, 2012) नियात्रा कृतिबाहेक केहि यात्रापरक लेखहरू पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ। जागुनकी मञ्जु उपाध्यायको सुतेका नारी (2017) एउटा प्रबन्ध रचना हो।
अनुवाद
1.गीता उपाध्याय (तेजपुर) - एन फ्रेङ्कको डायरी (अङ्ग्रेजीबाट नेपालीमा,1972), दरबारकी सुसारे (असमियाबाट नेपाली,2008), धनबहादुर सोनार, निज अभिव्यक्ति (नेपालीबाट असमिया, 2008), कला सुरुज (नेपालीबाट असमिया), भानुभक्त रामायण (असमियामा, 1987),मुनामदन (असमियामा, 1998), आनन्दी गोपाल (मराठीबाट असमिया, 2008), भूमिपुत्र (अङ्ग्रेजीबाट असमिया, 2008)
2. राधा राई (डिब्रुगढ) - मितभाष (असमियाबाट नेपाली, 2005), गुणमाला (असमियाबाट नेपाली, 2005)
3. विजया शर्मा (गुवाहाटी) - बुढ़ी आमैको दन्ते कथा (असमियाबाट नेपाली, 2007), जीवा र नाती केटो (शिशुकथा, असमियाबाट नेपाली, 2014)
4. वीना शर्मा (गहपुर) - मधुपुरको सम्झना (कथा सं, असमियाबाट नेपाली, 2014), इन्द्रधनुष (नेपालीबाट असमिया, 2007), समर्पण (नेपालीबाट असमिया, 2014), राजकुमार आरु अन्य गल्प (उडियाबाट असमिया, 2018)
5. चम्पा उपाध्याय (गुवाहाटी) - असमिया नारी कविता (असमियाबाट नेपाली, 2006, सहलेखन)
6. डा. शान्ति थापा (शान्तिपुर, गुवाहाटी) - नामघरे (उपन्यास,1997, अकादमी पुरस्कृत), लोहित घाटी की कहानियाँ (असमियाबाट हिन्दी)
7. निरुमा सुब्बा (तेजपुर) - सिँढी र अन्य लेख (असमियाबाट नेपाली,प्रबन्ध सङ्कलन, 2020)
8. डा. इन्दुप्रभा देवी (गुवाहाटी) - माधव कन्दली रामायण (असमियाबाट नेपाली, 2006)
9. रश्मिरेखा शर्मा - अँध्यारोमा आफ्नै अनुहार (असमियाबाट नेपाली, 2015), उत्सर्ग (नेपालीबाट असमिया, 1996)
10. राधा राई (डिब्रुगढ) - मितभाष (असमियाबाट नेपाली, 2005), गुणमाला (असमियाबाट नेपाली)
11. मञ्जु लामा (डिब्रुगढ) - मृगतृष्णा (नेपालीबाट असमिया, 2019)
12. निरु शर्मा पराजुली - नि:शब्द (नेपालीबाट असमिया)
13. सरिता शर्मा - Damphu (असमियाबाट अङ्ग्रेजी, 2020), Swadesh My Motherland (नेपालीबाट अङ्ग्रेजी, 2021)
14. दक्षिणादेवी गजुरेल (शोणितपुर) - रद आरु बरखुन (नेपालीबाट असमिया, 2017)
असमेली गोर्खा नारी कलमकारहरूले आशलाग्दो गरि नेपाली साहित्यमा आफ्नो छाप छोडेको कुरा माथि उल्लेख गरिएका साहित्यिक तथ्यहरूले स्पष्ट पारेको छ। रचनात्मक लेखनमा मात्रै न भएर अनुवाद कार्यमा पनि उत्तिनै सक्रियता नारी कलमकारले देखाएका छन्। सबै भन्दा उत्कृष्ट कुरा के हो भने असमका गोर्खा नारी कलमकारले नेपालीमा मात्रै सीमित न रहेर हिन्दी, असमिया र अङ्ग्रेजी भाषामा पनि आफ्नो स्थान बनाएको देखिन्छ। यो हामी सबैकालागि गौरवको विषय हो।
सहायक सन्दर्भ स्रोत
1. भारतीय नेपाली साहित्यको विशेलेषणात्मक इतिहास - डा. गोमा दे.शर्मा, गोर्खा ज्योति प्रकाशन, 2018
2. उत्तर पूर्वाञ्चलीय भारतीय नेपाली स्रष्टा - मित्रदेव शर्मा, डा रिजुस्मिता शर्मा, 2021
2. व्यक्तिगत सम्पर्क।
गुवाहाटी