17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म्यामराज राईका लघुकथामा युगबोध

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने July 24, 2022, 4:54 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

नेपाली लघुकथाका क्षेत्रमा म्यामराज राई (२०४४) नयाँ भए पनि ठुलो सम्भावनाको नाम हो । नेपाली लघुकथामा उनको प्रवेश सामाजिक सञ्जाल हाम्रो लघुकथा पाठशालाबाट भएको देखिन्छ । ‘आशीर्वाद’ २०६२ मा लेखिएको भए पनि उनको ‘आदत’ शीर्षकको लघुकथा हाम्रो लघुकथा पाठशालाको पृष्ठमा २०७८ असार १५ मा पोस्ट भएपछि उनी लघुकथामा सार्वजनिक भएका देखिन्छन् । हाम्रो बाटो (२०७८) भने २०६२ देखि २०७८ सम्मको करिब डेढ दशकको समयावधिमा लेखिएका ६१ लघुकथाको सङ्ग्रह हो । यो उनको पहिलो प्रकाशित कृति र पहिलो लघुकथासङ्ग्रह पनि हो । अक्षरधाम प्रकाशनले प्रकाशन गरेको यस कृतिलाई टङ्कबहादुर आले मगरका चित्र, लता केसीको शुभकामना, दीपक लोहनीको मन्तव्य, ध्रुव मधिकर्मीको टिप्पणी र शेखरकुमार श्रेष्ठको समीक्षात्मक भूमिकाले ओज भर्ने काम गरेका छन् ।
भोजपुर जिल्लाको हतुवागढी-६, होमताङमा जन्मेका राईले यी अधिकांश लघुकथाको रचना जापानमा बसेर गरेका हुन् । त्यसैले यी लघुकथामा नेपाली र जापानी समाजको मिश्रित परिवेश पाइन्छ । नेपालमा जन्मी जापानलाई कर्मथलो बनाइरहेका राईले नेपाल र जापान दुवै बुझेको र भोगेको पाइन्छ । यो कुरा यी लघुकथामा पनि ध्वनित भएको छ ।
राईका यी लघुकथा समकालीन जीवन भोगाइका उपज हुन् । त्यसैले यिनमा युगबोध छ । यी लघुकथा मुख्यतः समकालीन समाज, राजनीति, शिक्षा, स्वास्थ्य आदिसित तथा अंशतः पत्रकारिता, साहित्य, कृषि आदिसँग पनि सम्बद्ध देखिन्छन् ।
समाजसित साहित्यको निकटतम सम्बन्ध हुन्छ । लेखक स्वयम् समाजको एक अंश हो । समाजमा रहँदाबस्दा र व्यवहार गर्दा उसलाई जुन विषयसन्दर्भले स्पर्श गर्छ, ऊ त्यसलाई एक साहित्यिक रूप–स्वरूप दिने प्रयत्न गर्दछ । फलतः साहित्यको सिर्जना हुन्छ । राईका यी लघुकथा पनि उनले देखेभोगेका सामाजिक सन्दर्भका उपजका रूपमा रहेका छन् । यस सङ्ग्रहका ‘आशीर्वाद’, ‘अभावको दसैं’, ‘न्याय’, ‘खड्ग ठाडा मगर’, ‘पुरुष’, ‘हाम्रो बाटो’, ‘मूल्याङ्कन’, ‘फस्ट डेटिङ’, ‘संयोग’, ‘पार्टी’, ‘अनुहार’, ‘घडेरी’, ‘अभियन्ता’, ‘गायन’, ‘बुवाको जन्मदिन’, ‘अनुकरण’, ‘जिम्मेवारी’, ‘आरोप’, ‘छुनु र मुनु’, ‘परिस्थिति’, ‘दोष’, ‘इन्टरनेट सपिङ’, ‘घरबेटी’, ‘पन्चैबाजा’, ‘गाली’, ‘प्रवृत्ति’, ‘मन’, ‘इच्छा’, ‘राष्ट्रियता’, ‘आमा’, ‘भाइटीका’, ‘बोक्सी’ आदि झन्डै आधै लघुकथा सामाजिक सेरोफेरोमा उभिएका छन् ।
‘आशीर्वाद’मा रातमा आएका पाहुना देवता समान हुने लोकविश्वास देखाइएको छ भने ‘अभावको दसैं’मा कोरोना महामारीले गर्दा भएको लकडाउनका कारण सामान (गिट्टी) बिक्री नभएकाले गरिबी र अभावमा दसैँ मनाउन परेको पीडा प्रस्तुत गरिएको छ । ‘न्याय’मा छोरीको बलात्कारका विरुद्ध न्याय खोज्दै हिँडे पनि गरिबीकै कारण पीडक जमिनदारका तर्फबाट उपचार खर्च बेहोरिदिएकाले न्यायको ढोका अदालत नै नपुगेको देखाइएको छ । ‘खड्ग ठाडा मगर’मा स्वैरकल्पनाका रूपमा भानुभक्तको महिमा गाइएको तर भानुभक्तलाई प्रेरणा दिने घाँसीको नामसम्मको खोजी नभएको देखाइएको छ । ‘पुरुष’मा सन्तान नहुनुमा महिलालाई मात्र दोषी देख्ने गरेको सामाजिक परम्परामा यहाँ पुरुषलाई दोषी देखाइएको छ । ‘हाम्रो बाटो’मा जापानी सन्दर्भलाई लिएर बाटोको सरसफाइसम्बन्धी सजगता देखाइएको छ ।
‘मूल्याङ्कन’मा अन्य कारणले नभई साधनाले गर्दा नै कलाकारले सफलता हासिल गरेको तथा ‘फस्ट डेटिङ’मा विवाहित दम्पती नाथुराम र कालुमाया नै सामाजिक सञ्जालमा नितेश र कला भएर च्याट गर्दागर्दा डेटिङको अवस्थामा पुगेका र त्यही बेला यथार्थको उद्घाटन भएको देखाइएको छ ।‘ संयोग’मा सर्पले डसेर हजुरबा, बा बितेको र पोहोर साल आफूलाई पनि डसेको भन्दै नयाँ पुस्ताबाट नागपूजाको विरोध गरेको तथा ‘पार्टी’मा खेल जितेको उपलक्ष्यमा आयोजित पार्टी (भोज) सकेर होटेलमै बास बसेको दुई महिनापछि बल्ल बलात्करको गाइँगुइँ चलेको देखाइएको छ । ‘अनुहार’मा परपुरुषसँग सम्पर्क गरी जन्मेको बच्चाको अनुहार परपुरुषसँग मिलेको तथा ‘घडेरी’मा राम्रो घडेरी किन्ने प्रलोभनमा परेर लुटिएको देखाइएको छ ।
‘अभियान्ता’मा आफू मातृभाषी अभियन्ता बनी हिँड्ने अनि आफ्नी नातिनीलाई अङ्ग्रेजी स्कुलमा पढाउने कथित अभियन्ताको चित्रण गरिएको छ । ‘गायन’मा शौचालयमा चुकुल नभएकाले भित्र पस्नेले गाउनु पर्ने अवस्था देखाइएको छ । ‘बुवाको जन्मदिन’मा हरेकले आफ्ना बाबुको जन्मदिनमा बाबुलाई स्मरण र श्रद्धा गरेको देखाइएको छ । ‘अनुकरण’मा बालबालिकाले बाबुको अनुकरण गर्ने देखाइएको छ । ‘जिम्मेवारी’मा मानिसले जिम्मेवारी पाएमा सो अनुसार गर्ने देखाइएको छ । ‘आरोप’मा घरेलु कामदारलाई अनावश्यक र अनुचित आरोप लगाएको देखाइएको छ । ‘छुनु र मुनु’मा बालबालिकालाई देखावटी रूपमा मात्र माया गरेको देखाइएको छ । ‘स्वभाव’मा उपकारका नाममा ज्येष्ठ नागरिकलाई ठगेको देखाइएको छ । ‘परिस्थिति’मा धेरै कमाउन भनेर खाडीमा पुगेको तर त्यहाँ भनेजस्तो नभएकाले स्वदेशमै केही गर्ने भनी स्वदेश फर्केको देखाइएको छ ।
यस्तै ‘आदत’मा अरुको कुरा काट्दा खुसी हुने तर आफ्नो कुरा काटेको थाहा पाए रिसाउने मानवीय प्रवृत्ति तथा ‘दोष’मा विदेशको परिवेशमा आफूले भुल्ने (गल्ती गर्ने) र अरुलाई दोष लगाउने प्रवृत्ति एवम् ‘इन्टरनेट सपिङ’मा विदेशको परिवेशमा आवश्यक परे इन्टरनेटबाट सपिङ गर्न सकिने देखाइएको छ । ‘घरबेटी’मा पियक्कड घरबेटीको चरित्राङ्कन गरिएको छ । ‘पन्चैबाजा’मा विदेशी परिवेशमा सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकीलाई पात्र बनाएर राष्ट्रिय कला र संस्कृतिको जगेर्नामा जोड दिइएको छ । ‘गाली’मा जापानको परिवेशमा कामदारबाट काम गर्ने क्रममा भएको सानोतिनो क्षतिमा पनि कामदारलाई गाली गर्ने प्रवृत्ति देखाइएको छ । ‘प्रवृत्ति’मा आफूलाई पर्दा एकथरी र अरुलाई पर्दा अर्को थरी विचार राख्ने मानवीय स्वार्थी प्रवृत्तिको चित्रण गरिएको छ । ‘मन’मा कार्यस्थलमै निदाएका बेलामा कामदारका दुई मनका बीचमा कुरा भइरहेको अवस्थामा म्यानेजरबाट बोलावट भएको देखाइएको छ ।
यसैगरी ‘इच्छा’मा रमाले आफूलाई माया गर्ने शरद सर र आफ्नी एकल महिला आमाका बीचमा दुवैको मन मिल्ने देखेर विवाहको जोहो गरेको तथा ‘राष्ट्रियता’मा भारतीयबाट हुने गरेको सीमा अतिक्रमण तथा सीमा क्षेत्रका नेपाली नागरिकका समस्या तथा पीडा देखाइएको छ । ‘आमा’मा अस्वस्थ आमाको स्वस्थताको कामना गर्दै छोरा शक्तिपीठमा गएको तथा ‘भाइटीका’मा परदेशमा रहेको दाजुले तदर्थ बहिनीबाट नभई आफ्नै बहिनीहरूबाट अनलाइन भाइटीका लगाएको देखाइएको छ । ‘बोक्सी’मा बढी मोबाइल हेर्ने छोरा रिँगटा लागेर ढलेकाले जोखाना हेराउँदा बोक्सी लागेको भनेपछि बोक्साको रामधुलाइ गर्न हिँडेको र बाटैमा लागेको आँखा शिविरका डाक्टरले छोराका आँखा परीक्षण गर्दा आँखाको पावर माइनस पाँच पुगेको पाइएको देखाएर स्वास्थ्यका बारेमा अन्धविश्वासका पछि लाग्न नहुने सन्देश दिइएको छ ।
यसरी राईका अधिकांश लघुकथा सामाजिक यथार्थको उद्घाटन गर्नमा केन्द्रित देखिन्छन् । व्यक्तिका आनीबानी, नातासम्बन्ध, विभेद, असमानता, धनी–गरिब आदि सामाजिक विषय हुन् । राईले यही सामाजिक सेरोफेरोमा रहेर लघुकथाको सिर्जना गरेका छन् ।
राजनीति राज्यको मूल नीति हो । राजनीति सही ढङ्गले अघि बढेमात्र राज्यको समुचित विकास हुन्छ । परन्तु यहाँ यो ‘लाजनीति’का रूपमा विकसित भइरहेको छ । राईका अधिकांश लघुकथा सामाजिक विषयसित सम्बन्धित छन् भने त्यसपछि बढी राजनीतिक विषय केन्द्रित रहेका छन् । यस दृष्टिले भन्नुपर्दा राजनीतिक विषयले दोस्रो प्राथमिकता पाएको छ भन्न सकिन्छ ।
यस सङ्ग्रहका ‘धोका’, ‘म्यानेजर’, ‘जीविकोपार्जन’, ‘नुनको सोझो’, ‘मेरो हल’, ‘विश्वासघात’, ‘हड्डी’, ‘रेकर्ड’ र ‘जनगायक’ जस्ता लघुकथा राजनीतिसँग सम्बन्धित छन् । ‘धोका’मा निर्वाचनका बेलामा जनताका बीचमा आश्वासन बाँड्ने र संसदमा पुगेपछि बिर्सने राजनीतिक संस्कारप्रति व्यङ्ग्य गरिएको छ । ‘म्यानेजर’मा स्वैरकल्पना (सपना) लाई आधार बनाई विकृत राजनीतिले गर्दा विकास, शान्ति, सुरक्षा, सुशासन नभई भ्रष्टाचार, हत्या, हिंसामात्र भएको तथा ‘जीविकोपार्जन’मा रोजगारीका अभावमा बेरोजगार गाउँले बुझी नबुझी राजनीतिको जिन्दावाद मुर्दावादमा लागेको देखाइएको छ । ‘नुनको सोझो’ राजनीति र पत्रकारिता दुबैतिर सम्बन्धित छ । यसमा सम्पादकलाई आफ्नो भाइको एउटै सिर्जना छापा र अनलाइन दुवैतिर छाप्न दबाब दिने माननीयका माध्यमबाट सबैतिर राजनीतिक हस्तक्षेप हुने अवस्था देखाइएको छ । अनि सम्पादक बबुरो नुनको सोझो गर्दै पहिले आफैँले अस्वीकृत गरेको सोही सिर्जना छाप्न वाध्य भएको छ । ‘मेरो हल’मा गफ हाँकेरै प्रदेश मन्त्रीको पीए भएको र पीए भएपछि काम लिन आउनेको काम नगर्ने मात्र होइन, फोनसम्म नउठाउने स्वार्थी राजनीतिक प्रवृत्ति देखाइएको छ ।
‘विश्वासघात’मा राजनीतिक दलभित्रको गुट र टुटफुटको परम्परा ध्वनित भएको छ । ‘हड्डी’मा गिद्धले टुँडिखेलमा खसालिदिएको मासुको चोक्टा विचार नपु¥याई खाँदा मासुमा रहेको हाड घाँटीमा अड्केकाले ज्यान जाने अवस्था सिर्जना भएको देखाइएको छ । यहाँ गिद्ध अमेरिका र मासु एमसीसीको प्रतीकका रूपमा रहेको प्रस्ट छ । ‘चाहना‘मा सरकारी विद्यालयका शिक्षकले राजनीति गर्ने गरेको तथा ’उत्कृष्ट शिक्षक‘मा विद्यालयमा नपढाई राजनीतिक पार्टीका पछि लाग्ने शिक्षकहरू उत्कृष्ट ठहरिई पुरस्कृत भएको देखाइएको छ । ‘रेकर्ड’मा सरकारमा छँदा सकिएको साख जोगाउन विपक्षमा पुगेपछि अनावश्यक वितण्डा मच्चाउने राजनीतिक दलप्रति व्यङ्ग्य छ । ’जनगायक‘मा प्रतिभाशाली गायक, कलाकार, साहित्यकारलाई जीवित छँदा बेवास्ता गर्ने अनि मरेपछि झन्डा ओढाउन तँछाडमछाड गर्ने राजनीतिक दल तथा दलबदलु स्वार्थी गायक–कलाकारप्रति पनि तिखो व्यङ्ग्य गरिएको छ ।
यसरी राईका यी लघुकथामा नेपालको राजनीतिक क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिको जीवन्त चित्र खिचिएको पाइन्छ ।
‘गुरुदक्षिणा’, ‘उत्कृष्ट शिक्षक’, ‘चाहना’, ‘व्यवस्थापन’, ‘औषधी’, ‘खुसी’, ‘परिस्थिति’, ‘बोक्सी’ आदि लघुकथा शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । ‘गुरुदक्षिणा’मा मानवीय लोभी स्वभावको चित्रण गरिएको छ । गुरुपूर्णिमाको भोलिपल्ट गुरुलाई भेट्न आएको शिष्य (राज) को बेवास्ता गर्दै चियासम्म नसोध्ने गुरुमा उपहार र दक्षिणा देखेपछि चियामात्र होइन, यतै खाना खानुपर्छ भन्न थालेबाट यो प्रस्ट भएको छ । ‘चाहना‘मा सरकारी विद्यालयका शिक्षक राजनीति गर्ने भाँडो बनेको तथा ’उत्कृष्ट शिक्षक‘मा विद्यालयमा नपढाई राजनीतिक पार्टीका पछि लाग्ने शिक्षकहरू उत्कृष्ट ठहरिई पुरस्कृत भएको देखाइएको छ । ‘व्यवस्थापन’मा अनलाइन कथा सञ्चालन भए पनि मोबाइलको अभावमा कक्षा लिन नपाएकोमा दसैँ र तिहारमा दिइने दक्षिणा कटौती गरी मोबाइल खरिद गरेको देखाइएको छ । यहाँ सांस्कृतिक चाडपर्वलाई खर्चिलो नबनाई आर्थिक व्यवस्थापन गरेर शैक्षिक सामग्री व्यवस्थापन गर्न सकिने सन्देश दिइएको छ ।
‘औषधी’मा टाउकोमा डाडुको डामको दुखाइ कम गर्न भन्दै पेनकिलर (मदिरा) सेवन गरी उल्टोपाल्टो पढाउने विज्ञान शिक्षकको चरित्राङ्कन भएको छ । ‘खुसी’मा खुसी आफ्नै स्तरमा हुने देखाइएको छ । हर्कधन छोराले स्नातकोत्तर उत्तीर्ण गर्न नसकेकोमा असन्तुष्ट र बेखुसी छ भने त्यहीँ आफूले एसएलसी पनि नगरेको बिर्खरामले छोराले एसईई उत्तीर्ण गरेकोमा खुसी हुँदै नरनातासित खुसी साट्न भोजको आयोजना गरेको देखाइएको छ । ‘परिस्थिति’मा पढेर भन्दा पनि परेर वा अनुभवबाट ज्ञान लिँदै विदेशी भूमि त्यागेर स्वदेशमा फर्केको देखाइएको छ । ‘बोक्सी’मा शिक्षाको कमीले गर्दा धामीझाँक्री र बोक्सीमा विश्वास गरेको तर आँखा कमजोर भएको थाहा पाएपछि त्यस्तो अन्धविश्वास हटेको देखाइएको छ ।
यसरी हेर्दै जाँदा राईका यी लघुकथामा शिक्षा क्षेत्रका विद्यमान विकृति र विसङ्गति देखाउँदै शिक्षा र ज्ञानको प्रचारद्वारा त्यस्ता विसङ्गति हटाउन सकिने देखाइएको छ ।
राईका केही लघुकथा प्रशासन, साहित्य, पत्रकारिता र कृषि क्षेत्रका विकृतिलाई उदाङ्गो पारिएको छ । ‘बिचौलिया’मा विदेशबाट फेसबुकमार्फत बिचौलियाको घोर विरोध गरी लाखौँको समर्थन बटुलेकोमा पछि विदेश फर्कनका लागि श्रमस्वीकृति लिन घन्टौँ लामो लाइनमा लाग्नुपरेको, धेरै सास्ती खानुपरेको र अन्तमा हार खाई बिचौलियाको सहयोगमा आधा घन्टामै श्रमस्वीकृतिपत्र प्राप्त गरेको देखाइएको छ । यसले नेपालमा सरकारी काम लिन बिचौलियाको भर पर्नुपर्ने प्रशासन संंयन्त्रको धज्जी उडाइदिएको छ । यहाँ बिचौलियाको विरोध गर्ने व्यक्ति आफैँ बिचौलियाको भर पर्ने परिबन्दमा पुगेको छ । ‘नुनको सोझो’मा सम्पादकलाई आफ्नो भाइको एउटै सिर्जना छापा र अनलाइन दुवैतिर छाप्न दबाब दिने माननीयका माध्यमबाट सबैतिर राजनीतिक हस्तक्षेप हुने अवस्था तथा सम्पादक नुनको सोझो गर्दै पहिले आफैँले अस्वीकृत गरेको सोही सिर्जना छाप्न वाध्य भएको देखाइएको छ । ‘सर्जक’मा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सर्जकको नाम र सिर्जनाको उल्लेखै नगरी चौथो र सन्त्वना पुरस्कार प्राप्त गर्ने सर्जकको बढाइचढाइ गरी समाचार र सिर्जना राखिएको त्यसप्रति प्रथम, द्वितीय र तृतीय हुने सर्जकले गुनासो गरेपछि सम्पादकले आफूले लैनो भैँसी दुहुने गरेको जबाफ दिएबाट पत्रकारिता क्षेत्र भित्रभित्र कति भ्रष्ट रहेछ भन्ने प्रस्ट भएको छ । ‘किनारको मिहिनेत’ लघुकथामा कृषिक्षेत्रका समस्या देखाइएको छ । यहाँ खोलाका किनारामा घर बनाई त्यहीँ बगरमा लहलहाउँदो खेती बगाएको अर्को पटक आएको बाढीले सबै बगाएर लगेको देखाइएको छ । घरबाट गरगहना र महत्त्वपूर्ण कागजात निकाल्न जाँदा कालुरामलाई समेत बाढीले बगाएको देखाइएको छ ।
कोरोना महामारी कोभिड-१९ ले गएको दुईतीन वर्ष आम नागरिक सन्त्रस्त भए । यसले समाजको कुनै वर्गलाई कुनै वर्गलाई छाडेन । लेखकलाई पनि यसले प्रभाव पा¥यो । राईका ‘डोरो’, ‘पुन्टे’, ‘पीडा’, ‘गुरुदक्षिणा’, ‘पोजेटिभ’, ‘सफलता’, ‘बाबुको जन्मदिन’ आदि लघुकथामा यही कोभिड सन्दर्भ देखिन्छ । ‘डोरो’मा कोरोनाकालमा स्वास्थ्यसेवीले भोग्नुपरेका पीडा, प्रभाव र बालबालिकाको जिज्ञासु स्वभाव देखाइएको छ । ‘पुन्टे’मा कोरोना कहर छँदै विद्यालय खुलेका र मास्क लगाई विद्यालय पुगेको पुन्टेको मास्कको एकापट्टिको डोरो चुँडिएकाले झोला त्यहीँ छाडी मास्क लिन घर गएको, घरमा आमा काममा गइसकेकोले रुँदै ढोकामै निदाउन पुगेको देखाइएको छ । ‘सफलता’मा दिमाग, नाक, मुख, कानका संवादका माध्यमबाट कोरोना महामारीको सन्त्रास देखाउँदै कोरोनाविरुद्धको ओखती र भ्याक्सिन लगाउन थालिएको सुखद सन्देश दिइएको छ । ‘पीडा’मा कोरोनाकालमा रोजगारका सिलसिलामा कतारमा गएका कामदारले भोग्नुपरेका कठिनाइलाई प्रस्तुत गरिएको छ ।
यसरी हेर्दा राईका लघुकथा समाज, राजनीति, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, पत्रकारिता, प्रशासन र कृषि क्षेत्रका विकृति र विसङ्गतिलाई कथ्यविषय बनाई लेखिएका छन् । यहाँ तमाम सामाजिक विकृति, वैदेशिक रोजगारीका पीडा, कोरोना प्रभाव, मानवीय दुष्प्रवृत्ति, अन्याय, अत्याचार आदिलाई कथ्यविषय बनाइएको छ । उनलाई विषयको कमी देखिँदैन । राईमा जेजस्तो विषयलाई पनि कथ्यविषय बनाएर लघुकथाको रचना गर्ने खुबी देखिन्छ ।
राईको कर्मथलो जापान हो । त्यसैले केही लघुकथामा जापान सन्दर्भ पाइन्छ । त्यस्ता लघुकथाहरूमा ‘आदत’, ‘बिर्खे’, ‘हाम्रो बाटो’, ‘म्यानेजर’, ‘इन्टरनेट सपिङ’, ‘पन्चैबाजा’, ‘गाली’, ‘हरियो बत्ती’ र ‘रेकर्ड’ पर्दछन् । यीमध्ये ‘बिर्खे’मा जापानी भाषा कक्षामा गएको बिर्खे चारैतिर समस्यैसमस्या देखेर यो गरौँ कि त्यो गरौँ भनी दोमन भएकोमा आजैबाट जाँगर गर्न जुट्ने एक मन भएको देखाइएको छ । ‘हरियो बत्ती’मा जापानमा एक कक्षामा पढ्ने किमुरा पहिलोपटक नेपाल आएकी र यहाँको सडकको अस्तव्यस्तता, ट्राफिक लाइट र जेब्रा क्रसिङको बेवास्ता देखेर जिल्ल परेको देखाइएको छ । यसरी नेपालमा जन्मी जापानमा कार्यरत राईका ६१ लघुकथामध्ये नौदस लघुकथामा धेरथोर जापान सन्दर्भ पनि देखिन्छ । आफू वरिपरिको सेरोफेरोले लेखकलाई प्रभाव पार्नु स्वाभाविकै हो । यसरी जापान सन्दर्भ आउनु राईका लघुकथाको एक सौन्दर्य हो ।
पात्र लघुकथाको एक महŒवपूर्ण घटक हो । पात्रको न्यूनता लघुकथाको विशेषता हो । यसमा राई औसत देखिन्छन् । उनका अधिकांश लघुकथामा मानवीय पात्र छन् भने ‘चलाख सिँगारे’मा खसी, ‘पञ्चैबाजा’मा बाजा, ‘हड्डी’मा गिद्ध, ‘सफलता’मा मानवका दिमाग, हात, खुट्टा आदि अङ्ग, ‘मन’ र ‘बिर्खे’मा दुई मनलाई पात्रका रूपमा प्रस्तुत गरिएको छ । केही लघुकथा चरित्रप्रधान भए पनि अधिकांश लघुकथा घटनाप्रधान रहेका छन् । पात्र महिला–पुरुष, सत्–असत्, स्वदेशी–विदेशी, स्थिर–गतिशील, मानव–मानवेतर, यथार्थ र आदर्शपरक आदि विभन्न खालका रहेका छन् । कथ्यले मागेअनुसार पात्रको चयन र उपयेग गर्न सक्नु राईको खुबी हो ।
भाषा लघुकथाको प्रस्तुतीकरणको माध्यम हो । मुद्रणगत त्रुटिबाहेक राईका यी लघुकथाको भाषा सरल र बोधगम्य रहेको छ । लघुकथाको कथ्यविषय र परिवेशले मागेअनुसार केही लघुकथामा जापानी र अङ्ग्रेजी भाषाका शब्दको प्रयोग छ । डिपेन्डेन्ट भिसा (आदत, पृ.९), फाम (चलाख सिँगारे पृ.७),गाक्को (बिर्खे, पृ.१९), ब्रेकटाइम (बिर्खे, पृ.१९), कोम्बिनी (बिर्खे, पृ.१९), नाइट ड्युटी (बिर्खे, पृ.१९), रियालटी सो (मूल्याङ्कन, पृ.४१), प्रोफाइल पिक्चर (फस्ट डेटिङ, पृ.४३), रुममेट (फस्ट डेटिङ, पृ.४३), सेफ ल्यान्डिङ (अनुहार पुृ.५६), हिडन क्यमरा (आरोप पृ.७२), रिपेयर (इन्टरनेट सपिङ, पृ.८४), याफुओकु (इन्टरनेट सपिङ, पृ.८४), अकाउन्ट (इन्टरनेट सपिङ, पृ.८४), स्क्रिनसट (इन्टरनेट सपिङ, पृ.८४), पबजी र फ्रिफायर (बोक्सी, पृ.११२) आदि केही त्यस्ता आगन्तुक अङ्ग्रेजी तथा जापानी शब्द हुन् । केही लघुकथामा नेपाली भाषाका शब्दको भोटबर्मेली चिनियाँ भाषापरिवारका भाषाका वक्ताको उच्चारणलाई राखिएको छ । जस्तै - नामास्ते, सार, ताउको, दुकेको, तियो, औसादी, काएरा, आलिक, दिलो, उतेछु, रुरु, देसुमा, बाएको (‘म्यानेजर’पृ.५)। केही लघुकथामा स्थानीय नेपाली भाषिकाका शब्दको प्रयोग पनि गरिएको छ । जस्तै - लामकाने (चलाख सिँगारे पृ.७), झ्याप्ले (चलाख सिँगारे पृ.७), भुक्के (चलाख सिँगारे पृ.७), सिँगारे (चलाख सिँगारे पृ.७), सास अड्काउनी (चलाख सिँगारे पृ.७), माथ्लो घरे (आदत पृ.९), भट्भटे (पीडा पृ.१२), गोहो (डोरो पृ.१५), खरेटो (हाम्रो बाटो पृ.२९), कनसुत्ले (आरोप पृ.७२), जोखनापात (बोक्सी, पृ.११२) आदि । राईका केही लघुकथामा विशिष्ट भाषिक प्रयोग भेटिन्छ । जस्तै - आशाका त्यान्द्राहरूमा बिस्कुन हाल्नु (पृ.३), भित्ताहरू फिस्स हाँस्नु (पृ.१०), आँसुको बाँध भत्कनु (पृ.१२),रहस्यको गुफा खोल्नु (पृ.३८) आदि । जुन जोगी आए पनि कानै चिरेका (पृ.४), गहभरि आँसु पार्नु (पृ.१४), फलामको चिउरा चपाउनु (पृ.१९), हातमा एउटा हात्ती थमाइदिनु (बिचौलिया, पृ.३६), लोदर लाग्नु (संयोग, पृ.४८) आदि उखान र टुक्काको प्रयोगले भाषा थप सम्प्रेष्य भएको छ ।
राईको लघुकथा लेखन शैली चामत्कारिक नभएर सरल छ । चक्रीय र परावर्तित आदि शैलीको प्रयोगमा नलागी उनले कथानकको सरल रैखीय ढाँचाको उपयोगमा रुचि देखाएको पाइन्छ । उनका लघुकथाको कथानक आदि–मध्य र अन्त्यको क्रममा आएको छ । केही लघुकथामा संवादको प्रयोग भएको छ । बाँकी लघुकथामा वर्णनात्मक शैली अवलम्बन गरिएको छ । सबै लघुकथा बाह्य दृष्टिबिन्दुमा रहेका छन् । खुला समापनमा भन्दा बन्द समापनमा उनको रुचि देखिन्छ ।
आयामका दृष्टिले राईका यी लघुकथा केही अपवादलाई छाडेर बाँकी सीमाबद्ध देखिन्छन् । यी लघुकथा २५०÷३०० शब्दकै सेरोफेरोमा रहेको पाइन्छ । ‘प्रवृत्ति’ सम्भवतः यहाँ सङ्कलित लघुकथामध्ये सबैभन्दा कम शब्दको (१०० भन्दा कम) लघुकथा हो । शब्दहरूलाई खिपेर अझ कम गर्न सकिने पर्याप्त सम्भावनाहरू रहेका छन् । कतिपय लघुकथामा अनावश्यक वाक्यहरू छन् । उदाहरणका लागि ‘खड्ग ठाडा मगर’, ‘हाम्रो बाटो’, ‘पोजेटिभ’ आदि लघुकथाका अन्तिम वाक्य नराख्दा शब्द घट्ने तथा लघुकथाको मर्म पनि बढ्ने देखिन्छ । राईले आफू लघुकथाको सिकारु भएको स्वीकार गरेका हुँदा पछि त्यस्ता कमजोरी हटाएर अझ सशक्त लघुकथा लेख्ने विश्वास गर्न सकिन्छ ।
लघुकथाले जीवनजगतको कुनै एक क्षणलाई मात्र प्रस्तुत गर्दछ । यस दृष्टिले राईका कतिपय रचना लघुकथा भन्दा पनि कथाको सारसङ्क्षेप वा छोटा कथामात्र बन्न गएका छन् । ‘धोका’, ‘पुरुष’ र ‘किनारको मिहिनेत’ । अहिलेलाई यत्ति उदाहरण पर्याप्त होला ।
वैचारिक दृष्टिले ‘संयोग’मा परम्परागत विश्वासप्रति विद्रोह देखिन्छ भने पहिलो क्रमको ‘आशीर्वाद’मा आगन्तुकको आशीर्वादले गर्दा छोरो भएको जस्तो अन्धविशवासलाई प्रश्रय दिइएको छ । यो त स्वस्थानी व्रतकथामा जस्तै भयो ।
सिर्जनात्मक लेखनमा भन्ने होइन, देखाऊ (डु नट टेल, सो) भनिन्छ । “पवित्रा निकै धार्मिक र निस्वार्थी थिइन् ।” (आशीर्वाद, पृ.१) । यहाँ धार्मिक थिइन् नभनी उनले धर्मकर्म गरेको क्रियाकलापको वर्णन गर्नु उचित हुन्छ । जस्तै - उनले तुलसीका मठमा जल चढाइन् वा बिहानै नुहाइधुवाइ गरी मन्दिरमा दर्शन गर्न गइन् वा पूजाकोठामा पुगेर पूजाआजा गरिन् इत्यादि । केही अन्य त्रुटि पनि छन् । जस्तै - ‘संयोग’ शीर्षकको एउटै लघुकथामा सजना र जयलाई पहिले दिदी–भाइ र त्यहीँ अलिक पछि दाजु–बहिनी भन्नु (पृ.४७), समान उमरेका जयलाई तँ र सजनालाई तिमी आदरार्थीको प्रयोग गर्नु (पृ.४७), हरिनाथ पण्डितलाई लेखकले ‘बाजे’ भन्नु । यस्तो नभए अझ राम्रो हुन्थ्यो कि ! ‍यस्तै सिर्जनात्मक लेखन सर्वथा मौलिक हुनुपर्ने हुन्छ । यहाँ ‘गायन’मा शौचालयमा चुकुल नभएकाले भित्र पस्नेले आफू भित्र भएको जनाउ गर्न गाएको देखाइएको छ । यो धेरै पहिलेदेखि सुनिएको जोक हो । यस्ता कमजोरीबाट लेखक सतर्क हुनु जरुरी छ ।
निष्कर्षमा भन्ने हो भने म्यामराज राईको उपस्थितिले नेपाली लघुकथा थप समृद्ध भएको महसुस गरिएको छ । राईका लघुकथामा समकालीन समाज, राजनीति, शिक्षा, स्वास्थ्य, पत्रकारिता आदि विषयले स्थान पाएका छन् । यसमा समकालीन समाजसम्बन्धी लेखकको बुझाइ प्रकट भएको छ । लेखक राई समाजलाई बोध गर्न सफल भएका छन् । यहाँ स्वदेश र विदेश समेत परिवेश बनेर आएको छ । विषयगत विविधता, भाषा र शैलीगत सहजता, केही विशिष्ट भाषिक प्रयोग, लघुकथाको आयामप्रतिको सचेतता, लघुकथा लेखनप्रतिको प्रतिबद्धता आदि राईका विशेषता हुन् । सङ्ग्रहभित्र ‘चलाख सिंगारे’, ‘हाम्रो बाटो’, ‘गुरुदक्षिणा’, ‘बिचौलिया’, ‘पोजेटिभ’, ‘अनुहार’, ‘घडेरी’, ‘अभियन्ता’, ‘हड्डी’, ‘बोक्सी’ आदि निकै राम्रा लघुकथाहरू रहेका छन् । राईले अब अझ स्तरीय र मौलिक लघुकथाको सिर्जनामा लाग्नुपर्ने देखिन्छ । जापानी बोलीवचन, साहित्य, सभ्यता, व्यवहार, काम गराइ, भौगोलिक विविधता, खानपान, रहनसहन, लबाइखवाइ, चिन्तन र सोच, विकास र समृद्धि आदिलाई नेपाली लघुकथामा उतार्न सकेमा नेपाली लघुकथाको थप विस्तार हुने थियो । राई जापानमा रहेकाले उनबाट यो सम्भव पनि छ । यस अवस्थामा उनबाट आउँदा दिनमा त्यस परिवेशबाट अझ अब्बल र उम्दा लघुकथाको अपेक्षा गर्न सकिन्छ ।

भैरहवा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।