18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली नाटक साहित्यको विकास यात्रा

विचार डा. गोमा देवी शर्मा 'अधिकारी' July 24, 2022, 5:04 am
डा. गोमा देवी शर्मा 'अधिकारी'
डा. गोमा देवी शर्मा 'अधिकारी'

नाटक संस्कृतको नट धातुमा अक प्रत्यय जोड़र निर्माण गरिएको शब्द हो जसले अभिनय गर्नु भन्ने अर्थ बुझाउँछ। संस्कृतमा नाटकलाई पञ्चम वेद मानिन्छ। भारतीय विद्वान ’नाट्यशास्त्र’का लेखक आचार्य भरतमुनिले भने अनुसार देउताहरूले प्रार्थना गर्दा ब्रह्माजीले ऋग्वेदबाट ’पाठ’, सामवेदबाट ’गायन’, यजुर्वेदबाट ’अभिनय’ र अथर्ववेदबाट ’रस’ लिएर ’नाटक’ नाम गरेको पञ्चम वेदको रचना गरे।’’ यसैले पूर्वीय साहित्यमा नाटकलाई नाट्यवेद वा पञ्चमवेद पनि भनिन्छ।
नाट्यशास्त्रमा भरतमुनिले नाटकको सैद्धान्तिक परिचय र नाटकका आवश्यक तत्वहरूको वर्णन गरेको पाइन्छ। संस्कृत नाटक साहित्यमा यसै ग्रन्थलाई आधार बनाएर कलिदास, भास, शूद्रक, विषाखदत्त, हर्षवर्धन, भवभूति जस्ता नाटककारले आफ्ना मौलिक नाटकहरू लेखेर संस्कृत नाटक परम्परालाई चुलीमा पुऱ्याएका थिए।
विभिन्न रूप र प्रकृतिका आधारमा रूपकलाई रूपक र उपरूपकमा विभाजित गरिएको छ। रूपक दस प्रकारका हुन्छन् जसमा नाटक मुख्य मानिन्छ। यही भेद आज समग्र नेपाली साहित्यमा अभिनय योग्य दृश्य साहित्यका रूपमा चिनिन्छ। आजको नाटकविधालाई विभिन्न रूपहरूले चिनिन्छ। सानो आकारको नाटकलाई लघुनाटिका, पद्यप्रधान नाटकलाई गीतिनाटक, खुला प्राङ्गण वा सडकमा देखाइने नाटकलाई सडक नाटक र एउटै अङ्कमा विभाजित नाटकलाई एकाङ्की भनेर जानिन्छ।
प्राचीनकालीन नेपाली नाटक
प्राचीनकालीन नेपाली नाटकको नमूना लोकनाटकमा प्राप्त हुन्छ। नेपाली भाषी समाजमा प्रचलित कृष्णचरित्र बालुन र रामायण बालुन यसको आधार स्वरूप लिन सकिन्छ। पूर्वोत्तर भारतका भाषा-साहित्यविद डा. खेमराज नेपालको भनाई अनुसार कृष्णचरित्र बालुनको रचना वि.स. 1710 वा 1653 ई.सनमा गरिएको थियो। यस तथ्यले नेपाली भाषी समाजमा प्राचीनकाल देखिनै लोकनाटकको अस्तित्व थियो भन्ने कुरा स्पष्ट पार्दछ। यस पछिका प्रारम्भिक नेपाली नाटकहरू राजशासनका छत्रछाँयामा हुर्किएका थिये र राजमहलमा मनोरञ्जन गर्ने साधनका रूपमा नाटक खेलाउने चलन रहेको कुरा इतिहासबाट थाहा लाग्छ।
लिपिबद्ध नेपाली साहित्यमा नाटक लेखनको थालनी शक्तिबल्लभ अर्यालले लेखेको हास्यकदम्ब शीर्षक नाटक (सन् 1798) बाट मानिन्छ। भवानीदत्त पाण्डेले संस्कृतबाट अनुवाद गरेको मुद्राराक्षस (सन् 1835) प्रारम्भिककालीन नेपाली नाटक साहित्यको दोस्रो उदाहरण हो।
भारतीय नेपाली नाटकको पृष्ठभूमि
भारतीय नेपाली नाटक साहित्यको विकासमा विभिन्न परिवेश पृष्ठभूमि स्वरूप रहेको पाइन्छ। कुन कालखण्डमा के कस्तो परिवेशले यसलाई प्रभावित पाऱ्यो भन्ने तथ्य केलाउनका लागी आजसम्म लेखिएको भारतीय नेपाली नाटक साहित्यलाई यस कार्यपत्रमा चार चरणहरूमा विभाजित गरेर अध्ययन गर्ने प्रयास गरिएको छ -
1. प्रथम चरण - सन् 1884 -1917
2. दोस्रो चरण - सन् 1918- 1946
3. तेस्रो चरण - सन् 1947- 1974
4. चौथो चरण - सन् 1975 देखि वर्तमानसम्म
1. प्रथम चरण - 1884 -1917
भारतीय नेपाली नाटक साहित्यको प्रथम चरणको समय भारतमा बृटिश शासन विरूद्ध सङ्घर्ष चलिरहेको थियो। सन् 1885 मा उमेशचन्द्र बनर्जीको नेतृत्वमा भारतीय राष्ट्रीय कङ्ग्रेसको गठन, लक्ष्मीबाईको नेतृत्वमा प्रथम स्वतंत्रता संग्राम, सन् 1891 मा मणिपुरमा गोर्खा वीर सुबेदार निरञ्जनसिंहलाई ब्रिटिश सरकारले अन्य स्वतन्त्रता संग्रामीसँगै फाँसीको सजाय दिनु, लर्ड कर्जनको नेतृत्वमा 1905 मा बङ्गाल राज्यको विभाजन, प्रथम विश्वयुद्ध यस कालखण्डमा घटेका राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरका घटनाहरू हुन्, जसले एउटा नया मानसिकतालाई जन्म दियो। पश्चिमी शिक्षाको प्रभाव र भारतमा राष्ट्रीय स्तरमा गरिएका जनजागरण अभियान यस कालको साहित्यलाई प्रभावित पार्ने अन्य घटनाहरू हुन्।
नेपालको इतिहासमा यो काल राणा शासकहरूको विलासिता र कर्तव्यहीनताको पराकाष्ठाको समय थियो भने भारतमा अङ्ग्रेजहरूको साम्राज्य विस्तार साथै आमोद-प्रमोदको समय थियो। सुगौली सन्धिबाट उत्पन्न त्रासको बिस्तारै-बिस्तारै अन्त हुँदै जाँदा समाज फेरि आमोद-प्रमोदतिर फर्किएको देखिन्छ। भारतमा पारसी थियेटरहरू सस्ता र अश्लील नाटकहरू देखाउँदै शासकवर्ग र जनताको मनोरंजन गरिरहेका थिए।
नाटक र नाटककार
भारतीय नेपाली नाटकको प्रथम चरणको केन्द्रस्थलमा हामी बनारस लाई पाउँछौं। शासन व्यवस्थाबाट धपिएर भारतको बनारसलाई साहित्यिक कर्मक्षेत्र बनाउने नेपाली साहित्यकारहरूले भारतीय नेपाली साहित्य साथै समग्र नेपाली साहित्यको जग बसालेको कुरालाई इन्कार गर्न सकिँदैन। यसरी समग्र नेपाली साहित्यको जग बसाल्नमा बनारसको ठूलो भूमिका रहेको छ।
भारतीय नेपाली प्रारम्भिककालीन नाटक साहित्यको विकासमा मोतीरामभट्ट (1866-1896) को ठूलो योगदान छ। उनका शकुन्तला (सन् 1884) र प्रियदर्शिका (1884) र शम्भुप्रसाद ढुङ्गेलको शकुन्तला (1915) नाटक यस कालका प्रमुख नाटकहरू हुन्। यी नाटकहरू युग अनुरूप शृङ्गारिक ढाँचामा लेखिएका छन्।
यस कालका अर्का नाटककारको रूपमा पहलमान सिह स्वाँर (सन् 1878-1934) देखापरेका छन्। उनको अटलबहादुर नाटक सन्, 1905 मा प्रकाशित भएको थियो। कतिपय विद्वानहरूले यसलाई अङ्ग्रेजी नाटककार शेक्सपियरको नाटक ह्यामलेटको अनुवाद मानेका छन्। तर यसको विषयवस्तु, पात्र, परिवेश सबै नेपाली हुनाले यसलाई अनुवाद न मानेर ह्यामलेटसँग प्रभावित मान्न सकिन्छ। सन् 1909-10 ताका दार्जीलिङमा कलकत्ता, बम्बई, दिल्ली का व्यावसायिक थिएटरहरू आफ्ना नाटकहरू देखाउन आउने गर्दथे भन्ने तथ्यमाथि डा. इन्द्रबहादुर राईले बिन्दु विशेषाङ्कमा प्रकाशित दार्जीलिङमा नेपाली नाटकको प्रारम्भ शीर्षक लेखमा प्रकाश पार्नुभएको छ। यस्ता उर्दु, पारसी नाटकहरूमा शीरी फरहाद, तशवीरे रहमत, गुलरू जरीना जस्ता मनोरञ्जन, प्रेमप्रधान, तिलस्मी नाटकहरूले यहाँका जनमानसलाई निकै प्रभावित पारेका थिए। यसता नाटक प्रहसनहरूमा थुप्रै नेपाली कलाकारले पनि अभिनय गरिसकेका थिए।
भारतेली नेपाली नाटकको विकासमा बनारसपछि दार्जीलिङले ठूलो भूमिका खेलेको छ। गोर्खा नेशनल थिएट्रिकल पार्टी, चिल्ड्रेन एम्युजमेन्ट एसोसिएशन, हिमालयन एम्युजमेन्ट एसोसिएशन, हिमालय नाट्य समाज, रोयल ड्रामाटिक क्लब जस्ता नाट्य-संस्थाहरूले नेपाली नाटकको विकासमा दिनरात परिश्रम गरेको थाहा लाग्छ।
पहलमानसिंह स्वाँरको नाटक अटलबहादुर (2005) 1908 मा दार्जीलिङको नाटय-मञ्चमा देखाइएको पहिलो नेपाली नाटक थियो। यसपछि दार्जीलिङकै हस्तलाल गिरीले बाङ्गला भाषाबाट अनुवाद गरेको नाटक कञ्जूसको धन (सन् 1910), गिरीशचन्द्र घोषले लेखेको नाटक आबू हुसैन, धनवीर मुखियाको राजा हरीश्चन्द्र (1916) चिल्ड्रेन एम्युजमेन्ट एसोसिएसन नामक संस्थाले मञ्चन गरेका शुरुवाती नाटकहरू हुन्।
यस कालमा दार्जीलिङमा अङ्ग्रेजी साहित्यबाट अनूदित नाटकहरूको मञ्चनपनि भएको पाइन्छ। यस्ता नाटकहरूमा जेम्स डनले अनुवाद गरेका किङलियर (1915) र किङजोन (1916) र सिन्ड्रेला प्रमुख छन्।
भारतीय नेपाली नाटक साहित्यको प्रारम्भिक चरणमा विभिन्न राजनैतिक सामाजिक तत्वहरूसँगै संस्कृत बाङ्ला र अङ्ग्रेजी साहित्यको ठूलो प्रभाव परेको पाइन्छ। यसका साथै पारसी थियेटरहरूले पनि भारतीय नेपाली नाटक मौलाउने बाटो फाँटिलो पार्नमा मद्दत पुऱ्याएको देखिन्छ।
दोस्रो चरण - 1918 - 1946
भारतीय नेपाली नाटक साहित्यको दोस्रो चरण विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक परिस्थतिहरूसँगै अन्तर्राष्ट्रीय स्तरमा घटने घटनाहरूको पृष्ठभूमिमा तयार भएको देखिन्छ। सन् 1918 पछाड़िको भारतीय नेपाली नाटक साहित्यले शृङगारिक र मनोरञ्जनात्मक वृत्तिलाई छोडे़र नया मोड़ लिएको देखिन्छ। जातीय अस्तित्व चिन्तन र नवजागरण यस कालका नाटकहरूको प्रमुख विषय रहेको छ।
ब्रिटिश शासनको विरोधमा गरिएको स्वाधीनता सङ्घर्षमा देशका समस्त नेपालीभाषीहरूले आफ्नो देशभक्तिको प्रदर्शन गर्नु, स्वतन्त्रता संग्राममा भारतीय नेपालीहरूले नेतृत्व गर्नु जस्ता कार्यले भारतीय नेपाली जनमानस बलियो रूपमा राष्ट्रीय समस्यासँग जोडिन पुगेको देखिन्छ।
सन् 1917 मा कलकत्ता विश्वविद्यालय अन्तर्गत हाईस्कूल आई.ए.र बी. ए. स्तरमा वर्नाकुलरको रूपमा गोर्खा भाषालाई मान्यता दिनु, 30 जुलाई 1926 मा बङ्गाल सरकारको नियुक्ति विभागले नेपाली भाषालाई मान्यता दिनु, नेपाली पाठ्य पुस्तकहरूको निर्माण, 1919 मा खरसाङ गोर्खा लाईब्रेरीको स्थापना, देशका विभिन्न ठाउँहरूमा गोर्खा स्कूल स्थापना साथै चन्द्रिका, गोर्खा सेवक, गोर्खा सन्सार, जन्मभूमि जस्ता युगीन पत्र-पत्रिकाहरूको प्रकाशन यस कालको साहित्यलाई प्रभावित पार्ने प्रमुख कारक तत्वहरूको रूपमा देखा पर्दछन्।
प्रमुख नाटक र नाटककार
माथि उल्लेख गरिएका विभिन्न घटनाहरूले भारतीय नेपाली नाटक साहित्यको पृष्ठभूमि तयार पारेको देखिन्छ। यस समयमा गोर्खा दुख निवारक सम्मेलन, हिमालय कला मन्दिर, नाट्यकला निकेतन जस्ता संस्थाहरूले नाटक साहित्यको विकासमा ठूलो योगदान पुऱ्याएको देखिन्छ।
यस कालखण्डमा देखापरेका नाटक र नाटककारहरूमा पारसमणि प्रधान का विद्यासुन्दर (1920), चन्द्रगुप्त (1922), रत्नावली (1923), महाभारत नाटक (1923), बुद्धचरित्र (1923) आदि अनूदित र पौराणिक कथाप्रसंगमा आधारित नाटकहरू हुन्। धनवीर मुखियाका रुक्मिणीहरण, प्रद्युम्न विजय (1925), के.एम.राई र जी.एम राई लिखित जीवन-संग्राम, लैला मजनू (1925), तीनधारे तरवार (1935), हर्षध्वज लामाको प्रेम बलिदान (1936), एल.टी लामाको मधुमालती (1928), जयद्रथवध (1929), भैयासिंह गजमेरका नलदमयन्ती (1924), परशुराम (1925), स्वामीभक्ति (1925), मिसमोहिनी बी.ए,(1926), जवानीको धन्धा आँखाको अन्धा (1926), कर्णार्जुन युद्ध (1926), विल्वमंगल (1927), उषाहरण (1928), सावित्री सत्यवान (1929), हर्षबहादुर शाहीका अलाद्दीन (1931), गरीबको आँसू (1931) अत्याचारी कंस (1933), महानन्द सापकोटाका बाङ्गलाबाट अनूदित रातकाना (1922) र कण्ठहार हरिनारायण उपाध्याय लिखित सत्य हरीश्चन्द्र, प्रबोध चन्द्रोदय (1934) प्रमुख रूपमा देखापरेका नाटय कृतिहरू हुन् भने सूर्यविक्रम ज्ञवालीको श्यामा कमारी (सन् 1917) मौलिक नाटकको रूपमा देखापरेको नाटक हो। यो करियाप्रथाको विरोधमा लेखिएको नाटक हो र यो सन् 1924 दार्जीलिङको मञ्चमा देखाइएको थियो।
यस कालमा लेखिएका नाटकहरू समसामयिक विषयवस्तुमा आधारित छन्। कतिपय नाटकहरू संस्कृत, बाङ्गला र हिन्दीबाट अनुवाद गरिएका छन् भने कतिपय पौराणिक कथाहरूलाई आधार बनाएर लेखिएका छन्। नैतिक सन्देश, सुधार भावना, समाजिक रूढ़िको विरोध, जातीय जागरण, सामाजिक आदर्शको स्थापना यी नाटकहरूको उद्देश्य देखिन्छ।

3. तेस्रो चरण - सन् 1947- 1974
सन् 1947 मा पाएको स्वतन्त्रतासँगै भारतीय जनता सुख र समृद्धिले भरिएको सुनौलो भविष्यको सपनामा रम्न लागे। भारत सरकारले भारतीय नेपाली भाषी जनताको विकासका लागि कुनै पनि कदम उठाएन। गोर्खा शहीदहरूको रगतको उचित सम्मान नगर्दा भारतीय नेपाली भाषी जनताको मनमा विद्रोहको ज्वालो दन्किनु स्वाभाविकै थियो। अखिल भारतीय गोर्खा लीगको स्थापना, राष्ट्रीय-अन्तर्राष्ट्रीय घटनाहरू र भाषा साहित्यमा चलेका विभिन्न आन्दोलनहरूको प्रभाव पनि यस कालको साहित्य बढ़ी मात्रामा परेको देखिन्छ। सन् 1960 को छेउछाउ हिन्दी साहित्यमा देखापरेका भूखी पीढ़ी, अस्वीकृत जमात, कलकत्ताको हङ्ग्री जनरेशन महाराष्ट्रको दलित पन्थर, तमिलमा एङ्ग्री यङ मेन जस्ता साहित्यक चिन्तन आदिको प्रभाव स्पष्ट रूपमा परेको देखिन्छ।
सन् 1960 को दशकमा ईश्वरबल्लभले दार्जीलिङबाट फूल पात पत्कर नामक पत्रिकाको माध्यमबाट साहित्य क्षेत्रमा एउटा नयाँ आयामिक विचारधारा भित्र्याए। सन् 1963 मा तेस्रो आयाम पत्रिका (दार्जीलिङ) को माध्यमबाट दार्जीलिङबाट शुरू गरिएको आयामिक आन्दोलनले साहित्य लेखनमा ल्याएको नया विचारधारा, शिल्प र विधानलाई भित्र्याएको देखिन्छ।
1972 मा सिक्किमलाई भारतीय सङ्घमा गाभ्नु, सन् 1971 मा अखिल भारतीय स्तरमा भाषा समितिको गठन, भाषा आन्दोलन, यस कालको साहित्यलाई प्रभावित पार्ने अन्य प्रमुख कारक तत्वहरू हुन्।
थुपै पत्र-पत्रिकाहरूले यस कालको नेपाली साहित्यको विकासमा प्रमुख भूमिका खेलेको देखिन्छ। गोर्खा (कालिम्पोङ), युगवाणी (काशी), भारती (दार्जीलिङ), प्रभात (कलकत्ता), नौलो पाइलो (बनारस), आसाम गोर्खा (आसाम), उदय (बनारस), हिमाद्री (आसाम), फिलिङ्गो (शिलाङ), मुक्ति (डिग्बोई), बिन्दु (असाम) जस्ता पत्रिकाहरूले यस कालको साहित्य प्रकाशनमा ठूलो भूमिका निभाए।
यसै समयमा आसाम र मणिपुर जस्ता पूर्वोत्तर राज्यहरूमा नेपाली नाटकको थालनी भएको देखिन्छ। यस प्रान्तमा नेपाली नाटकको थालनी गोर्खा सैनिकहरूबाट भएको बुझिन्छ। शिलाङका भोलानाथ गुरुङ, हर्षबहादुर शाही र मणिपुरका हेमबहादुर लिम्बू यस भेकमा नाटक मञ्चन गर्ने प्रथम नाटककार का रूपमा देखा पर्दछन्।
भारतीय नेपाली नाटक साहित्यमा माथि उल्लेख गरिएका विभिन्न परिस्थतिहरूको प्रभाव स्पष्ट रूपमा परेको देखिन्छ। यस कालमा लेखिएका नाटकहरूमा भिन्नै भावबोध र नौलो शैलीको दर्शन पाइन्छ। यस कालमा आएर नेपाली नाटकले नीति, आदर्श एवं उपदेशलाई छोड़ेर यथार्थ जन-जीवनको सङ्घर्षपूर्ण जिन्दगीको सफल अभिव्यक्ति दिएको देखिन्छ।
नाटक र नाटककार
दोस्रो चरणमा प्रकाशित नाटकहरूमा असम निवासी हर्कबहादुर शाही लिखित शकुन्तला (1955), बाटुली (1955), सिक्किमका तुलसीबहादुर क्षेत्री ‘अपतन’ कृत कमल (1953), विजय (1955) र जमाना बदलियो (1956), टीकाराम शर्मा रचित आमाको पुकार (1963), लीलबहादुर क्षेत्री लिखित दोबाटो (1960), डी.बी. परियार रचित वीर खड्गबहादुर विष्ट (1954), ऐतिहासिक नाटक यस कालमा प्रकाशित प्रमुख नाट्य कृतिहरू हुन्।
माथि उल्लेख गरिएका पुस्तक रूपमा प्रकाशित नाट्य कृतिहरू बाहेक यस कालमा थुप्रै नाटकहरूको मञ्चन पनि देशका विभिन्न भागहरूमा भयेको तथ्य पाइन्छ। यस्ता नाटकहरूमा प्रेमसिंह सुवेदी रचित गोलीको निशान (1954), लइन छोकड़ो (1955), हर्कबहादुर राई कृत दीदी (1950), सीता (1951), भिखारिणी (1952), मोहन थापा रचित नौलो देशमा (1953), सीता वनबास (1954), डाकू रत्नाकर (1959), सावित्री-सत्यवान (1955), विदेश किन? (1961), सीमा (1962), समाधि (1963), भुलेको बाटो (1964), वीरविक्रम गुरुङका ज्वार भाटा (एकाङ्की, 1957), जीवन परिदर्शंन (1959), मनबहादुर गुरुङ कृत बाली सुग्रीव (1953), फर्केको लाहुरे (1962), लीलबहादुर क्षेत्री लिखित साईंला दाई (1954), लक्ष्य आदि यस कालमा देशका विभिन्न ठाउँमा मञ्चित नाटकहरू हुन्।
मनबहादुर मुखिया यस कालका वरिष्ठ नाटककारका रूपमा देखापरेका छन्। उनका अँध्यारोमा बाँच्नेहरू, अनि देवराली रून्छ, इतिहास दोहोरिन्छ, क्रसमा टाँगेको जिन्दगी सबै मौलिक नाटक हुन र यिनीहरूमा वर्ग संघर्षको उदाहरण देख्न पाइन्छ।
टीकराम शर्माका आमाको पुकार, चेली टुहुरो, रामप्रसाद लामा हाम्रो पञ्चायत (1972), हरेन आले प्रतिबिम्ब (1973) युवराज काफ्ले एवं काशीराम सुवेदी लिखित देव (1973) वीरेन्द्र सुब्बाको फिस्टा (1974) मोतीसिंह क्षेत्री लिखित अबलाको जीवन (1975) यस काल का प्रमुख नाटक हुन्।
यस कालमा मौलिक नाटकको विकास भएको देखिन्छ। यी नाटकमा युगानुकूल भाव र विषयवस्तु, शिक्षित पात्र, चेतनशील युवा समाज र आधुनिक रङ्गमञ्चीय दृष्टिकोण समावेश छ। यस कालका मञ्चित नाटकहरूमा पौराणिक र आधुनिक भावबोध युक्त मौलिक नाटक लेखनको प्रवृत्ति देखिन्छ। आधुनिक रङ्गमञ्चीय दृष्टि अनुकूल दृश्य र अङ्क-विधानको गुण पनि देखिन्छ। भाषिक दृष्टिले पनि यी नाटकहरूको विशेष महत्व छ। जन साधारणले बोल्न नेपाली भाषालाई स्थान दिइएको छ। जन साधारणको सुख-दु:ख, हर्ष-विस्मय र नवीन चेतनाले भरिएका जागृतिमूलक विषयको चित्रण पनि यस कालका नाटकहरूमा देख्न पाइन्छ।
4. चौथो चरण - (सन् 1975 देखि वर्तमानसम्म)
भारतीय नेपाली नाटकको यस कालखण्डमा राष्ट्रीय, अन्तर्राष्ट्रीय घटनाहरू, देशको राजनैतिक, आर्थिक, सामाजिक समस्या, जातीय अधिकार चेतना र पश्चिमी साहित्यको सम्पर्क जस्ता कारणहरूले यस कालका साहित्यको कलेवर निर्माण गरेको छ।
देशमा देखिएका आर्थिक, सामाजिक, धार्मिक, भ्रष्टाचारका समस्याहरू, खस्कँदै गरेको राजनैतिक आदर्श, सन् 1975 मा लगाइएको आपतकाल, कुर्सीधर्मी राजनीति, राजनैतिक भ्रष्टाचार, आतङ्कवादको समस्या जस्ता घटनाहरूले गर्दा सरकारप्रति मोहभङ्गको स्थितिले साथै युवावर्गमा कुण्ठाले जन्म लियो। यसैले कुण्ठा, निराशा, आदिको अभिव्यक्ति यस कालको साहित्यमा देख्न पाइन्छ।
अर्कोतिर बढ़दो वैज्ञानिक आविष्कार, औद्योगिकीकरण, यातायात र दूर सञ्चारका साधनहरूले मनुष्य जीवनका मान्यताहरूमा परिवर्तन आयो। विभिन्न वैज्ञानिक खोज, अन्तरिक्ष अभियान जस्ता साहसिक घटना, टेलिविजन, कम्प्यूटर, इन्टरनेट, सामाजिक मिडिया, भर्चुअल दुनिया आदिको आविष्कारले मनुष्य जीवनलाई धेरै प्रभावित पाऱ्यो।
विश्व साहित्यसँग निरन्तर सम्पर्क, विश्व साहित्यलाई प्रभावित पार्ने विभिन्न वाद र दर्शनको प्रभाव, विश्व संस्कृतिको आदान-प्रदान, मानवीय अस्मिताको खोजी, नारीवादी चेतना, दलित-शोषित जनको अधिकार चेतना, पुरुषप्रधान सामाजिक सोचमा परिवर्तन, आञ्चलिकता र स्थानीयताको बोध यस कालमा देखापरेका विभिन्न स्थितिहरू हुन्।
भाषा मान्यता, भारतीय संसद परिसरमा दुर्गामल्लको सालिगको स्थापना, मणिपुरमा निरञ्जन सुबेदारको मूर्ति स्थापनाका जस्ता घटनाहरू भारतीय नेपालीका लागि सुखद घटनाहरू हुन्।
जीवनको बड्दो भाग-दौडले पनि साहित्यलाई प्रभावित परेको देखिन्छ। यसरी भारतीय नेपाली नाटक साहित्यमा पनि भाव, कथ्य र शिल्पमा नयाँ विचारधाराहरूको समावेश र नयाँ प्रयोग देख्न पाइन्छ।
आजको नाटक पर्दामा भन्दा युट्युब र फेसबुक जस्ता सामाजिक प्लेटफार्ममा धेरै प्रदर्शित भएको देखिन्छ। सडक नाटकको अस्तित्व पनि यस कालखण्डका नाटकहरूमा देख्न पाइन्छ। यी नाटकहरूमा व्यकरणसम्मत जनप्रचलित नेपाली भाषाको प्रयोग देख्न पाइन्छ।
भद्रेको टोली, जागृति परिवार खरसाङ, मोर्डन थिएटर, हिमालय थिएटर, वर्कसप दार्जीलिङ नटराज नाट्य निकेतन, सुनगाभा कला निकेतन, लाली गुराँस थिएटर पार्टी, र ब्रहमपुत्र थिएटर कम्पनी, असम यस कालका प्रमुख नाट्य संस्थाहरू हुन्।

नाटक र नाटककार
मनबहादुर मुखियाको क्रसमा टाँगिएको जिन्दगी (1977), अविनाश श्रेष्ठको अस्वत्थामा हतोहत: (1994), प्रेमसिंह सुवेदीको आम्रपाली (1999), कुमारी आमा (2000), इन्द्रबहादुर राई लिखित पहेँलो दिन (2002), मोहन पुकारका मैले काम पाएँ, टीका, मखुण्डो, सी.के. श्रेष्ठको सड़क नाटक ऐनामा हेर्दा रामसाँइली, ध्रुव लोहागणको हास्य नाटक झिल्के (1991), शरद क्षेत्रीको उत्तरआधुनिक भवबोधयुक्त नाटक खुब नाच्यो कठपुतली (1993), नन्द हाङखिमका युद्धहरू (1993) अभिषेक (1995), चुन्नीलाल घिमिरेको पुत्काको मह (1996), आत्मनिर्णय (2013), किरण ठकुरीको ओह दार्जीलिङ (1998), इन्द्रमणि दर्नालका ययाती (2002), अक्षि-भू (गीति नाटक 2002), मार्गदर्शन (2002) बाल नाटक, लक्ष्मण श्रीमलको श्रीमलका नाटकहरू (2003), पी. अर्जुनका हाँस्दै जल्नु पर्छ (पूर्णांक नाटक, 1982), पहाड़की रानी (पूर्णांक नाटक, 1984), दुखान्त सुखान्त (एकाङ्की नाटक, 1984), राजू हिमांशुका मखुण्डो लगाएको मन (2003), रङ्गहरूको खेल (2018), पूर्णकुमारको पाटेबाघ (2018), उषाकिरणको मुक्तिबोध (एकाङ्की संग्रह, 2018), कृष्णप्रधानको हास्य नाटक सिङ्साँढे (2019) यस कालका पुस्तक रूपमा प्रकाशित केहि नाटक, एकाङ्कीहरूका उदाहरण हुन्।
भारतीय नेपाली नाटकको विषयवस्तुमा सामाजिक समस्या, सामाजिक पारिवारिक सम्बन्ध, राजनैतिक षडयन्त्र, समाजका कथित ठालुहरूको चरित्रको खुलासा, जातीय जागरण, नारी चिन्तन, वर्ग सङ्घर्ष, गरीबी, स्थानीय समस्या, हास्यात्मकता, बाल समस्या, बोरोजगारीको समस्या, शिक्षाको महत्व, साधारण जनजीवन सम्बन्धी कथ्य, निम्नवर्गीय र मध्यवर्गीय पात्र, व्यङ्ग्यात्मकता, भष्टाचार, राजनैतिक अस्थिरताको चित्रण, रङ्गमञ्चको गुणलेयुक्त पाश्चात्य नाट्य शैलीको प्रयोग, जन-प्रचलित र व्याकरणसम्मत नेपाली भाषाको प्रयोग साहित्यको चौथो कालखण्डमा लिखित र मञ्चित नाटक र एकाङ्कीहरूमा देख्न पाइने विशेषताहरू हुन्। यसकालमा समयको माग अनुरूप नाटक साहित्यको लेखन र मञ्चन भएको देख्न पाइन्छ। यसरी विभिन्न पृष्ठभूमिमा निर्मित भारतीय नेपाली साहित्यले आशालाग्दो विकास गरेको देखिन्छ।

सहायक सन्दर्भ सामग्री
1.भारतीय नेपाली साहित्यको इतिहास-डा.गोमा देवी शर्मा, 2018
2.भारतीय नेपाली नाटक -इन्द्रबहादुर राईसँग वार्ता - PBNS मे 22, 2017
3.भारतीय नेपाली नाटक सञ्चयन -लक्ष्मण श्रीमल, साहित्य अकादमी, 2016
4. नेपाली एकाङ्की यात्रा, नेपाली सञ्चयिका- रामलाल अधिकारी- दार्जीलिङ,1977
5. नेपाली नाटकको इतिहास- रत्नध्वज जोशी-ने.रा.प्र.प्र. काठमाण्डू, वि.स.2037
6. नेपाली साहित्यको परिचयात्मक इतिहास, डा. घनश्याम नेपालस नेपाली साहित्य प्रचार समिति, सिलगढ़ी, 1981
7. समकालीन भारतीय साहित्य: नेपाली निबन्ध, नाटक, नियात्रा र बालसाहित्य -रूपेश शर्मा- लोक संवाद, वि.सं 2078

गुवाहाटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।