19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्वाल भा’ फोसी भएँ

कविता प्रा. डा. मोहन प्रसाद जोशी July 31, 2022, 4:47 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

वर्षौंवर्ष अभ्यास गरी नाटकराज भएँ
स्वयंलाई छल्दा पनि पत्तै नपाउने भएँ
थरीथरीका सर्टिफिकेट बटुलेर देखाएँ
किताबको उधारो ज्ञान फतफती सुनाएँ
किन बोलेको बुझ्दै नबुझी बेहद बोल्दै गएँ
अरूको कुरा चोरेर जोडी आफ्नो लेख बनाएँ
अत्तोपत्तो केही पाइन विशेषज्ञ कहलाएँ
भित्र खोक्रो भए पनि बाहिर टम्म बनाएँ
अरुलाई उपदेश दिनलाई तम्सीतम्सी उफ्रेँ
अरूले दियो भने चाहिं बुर्लुक-बुर्लुक उफ्रेँ
‘पुग्यो-पुग्यो’ भन्दैभन्दै थपीथपी खाएँ
संसार माया भन्दैभन्दै संसारैलाई समाएँ
बारम्बार ऐना हेरी बेहद दम्भ बढाएँ
हावाले फुल्या’ फोक्सो लिई छातीलाई फुलाएँ
दुई खुट्टा पाई दौडिँदा पृथ्वी नै हाँके̐ भनेँ
आँखाको आँखीझ्यालबाट आकाशै नापे ̐भनेँ
जिन्दगीको ढुकुटीमा धेरै सामान समेटे ̐
अहिले खोलेर हेर्छु त कीरैकीरा पो भेटे ̐
बाठो भई उर्ल्या’ थिएँ, तीन बल्ड्याङ् खाएँ
खोलो भई कुर्ल्या थिएँ, सट्ट सुकी गएँ
मोहन जोशी भा’ थे ̐, प्वाल भा’ फोसी भएँ |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।