15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दरी

कविता काशीनाथ मिश्रित July 31, 2022, 12:51 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

सुन्दरी तिमी सुन्दरै थियौ !
वासना छरी प्रेम भर्दियौ
मोहमा परेँ के गरेँ गरेँ?
व्योममा पुग्यौ धर्तिमा झरेँ ॥

चाहना थिए कामना थिए
तिर्सना थिए भावना दिएँ
सान्त्वना दियौ मुग्ध भैगएँ
झिम्म झिम्कियौ सम्झना रहे ॥

स्वर्गकी परी मोहनी चरी
चञ्चला द्रुता पुष्प मञ्जरी
मग्मगाउँदी जग्मगाउँदी
लुप्त भै गयौ सूक्ष्म हर्ष दी ॥

दिव्य देहको त्यो सुधारस
चुम्छ माहुरी हुन्छ नश्वर !
पत्र वैलिए त्याग्दछन् सबै
वास फैलिए जाग्दछन् उनै ॥

भो हराभरा चेहरा जरा !
क्लान्त छन् सबै वाग पिञ्जरा !!
मौन देहको शान्त माधुरी
हेर नैनले दिव्य सुन्दरी ॥

खोल कण्ठको कोइलीस्वर !
बोल प्रेमले मन्त्र ईश्वर !
हुन्छ मोक्ष यो पाउ पाउँदा !
बुन्छ कल्पना मर्ममा छुँदा ॥

राग फैलियो क्या परागको
हार दन्तको त्यै मुहारको !!
सम्झना घना आज भैरह्यो
पाउँला कहाँ भेट्न देह त्यो !!॥

चन्द्रिका तथा माधवी सखी
सम्झँदा कतै शोक हुन्छ कि !
!!काव्यकुञ्जकी चञ्चला सरि
यादमा डुबेँ आज सुन्दरी

प्राणले भरी दिव्य सुन्दरी
फेरि आउ है वासना छरी !
अमृताक्षरी काव्य केशरी
दर्शनाभिलाषी छु यो घरी ॥
(सुन्दरी छन्द)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।