17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतिबिम्ब

कथा सतीश छेत्री July 31, 2022, 12:56 pm
सतीश छेत्री
सतीश छेत्री

मलाई लाग्छ, उमेरलाई साक्ष्य दिने भनेको, मापनयन्त्र भनेको - ऐना हो। सर्टिफिकेटमा जति नै लेखेको भए पनि ऐनाले सही उमेर तोकिदिन्छ। स्त्री जातिले ऐना बोकेर हिँड़छन् र नै उनीहरू सदा फूल झैँ स्निग्ध छन्। किनभने ऐनाले बताइदिन्छ उनीहरूको सौन्दर्यत्रुटि। ऐनाको मामिलामा पुरूष साह्रै कम अङ्कसित रेखाङ्कित हुन सक्छन्। ऐना हेर्नु भनेको एक अर्थमा पुरूषको लागि त सम्झौता गर्नु मात्रसम्म सिमित छ। ऊसित सोह्र शृङ्गार छैन, केही नमिलेको देखियो त के गर्नु ? मिलेन । हिड़िन्छ उत्तिकै।

त आज म कुनै एउटा मान्छेको कथा भन्न लागेको छु, जो ऐना अघि उभिएको छ। तर यहाँ निश्चित छैन, को छाया हो, को वास्तविक। त्यहाँ प्रकाश छ, ऐना छ अनि परस्पर प्रतिबिम्ब। यही दुईवटा प्रतिबिम्बको कथा यहाँ यसरी हुन्छ आरम्भ ;

आज पनि प्रकाशले ऐना हेरेर छुटिटयो -

प्रतिबिम्ब १

प्रकाशको स्कुल छुट्टी भयो।
ऊ सरासर अस्पतालतिर लम्क्यो।
आज घरमा आमा छैनन्। आमा उसको सानो भाइसित अस्पतालको फिमेल सर्जिकल वार्डमा बसेकी छिन्। सानो भाइले स्कुलबाट फिर्दा कसरी हो लड़ेर देब्रे हातको नाड़ीको एउटा हाड़ ठवाक्क बिचमा भाँचिपठाएछ। प्रकाशलाई आज घर जान, मन लागेको छैन।

ऊ अस्पताल पुग्यो, भाइलाई हेरयो, सुतिराखेको छ। अरू पनि थुप्रै महिलाहरू विभिन्न गुनासोहरूसित विभिन्न बेडहरूमा छन्। प्रकाश चुपचाप बस्यो बेड्मा। एउटा लामो विषादजस्तो भाव उसको मनमा मोटो परत भएर बसेको छ।

“आइस ?“ - आमाले भनिन्।
“म्म“ मात्रै भन्यो दश कक्षा पढ़्ने प्रकाशले।
अनि अरू कुराहरू भए। ऊ अस्थीरजस्तो खुट्टा हल्लाउँदै बसिरह्यो। कुराहरू गर्दै। ‘जेठो छोरो रहेछ’ उसलाई वरपरकाले चिने।

एउटा कुनाको बेडमा उसले देख्यो - एकजना आफूजत्रै केटी साथी। उसले दाहिने हात भिरेकी छे गलाको डोरीमा। प्रकाशले केटीलाई केटी होइन, केही मनपर्ने थोक जस्तो देख्यो। यस्तो होइन कि उसले केटीलाई वस्तु देख्यो, तर केटीलाई उसले आफूभित्र कता के के नपुगेको अनुभव भइरहने रिक्तता भर्नेजस्तो देख्यो। एउटा गहिरो खोला ऊभित्र कुलुलु बज्न थालेको उसले अनुभव गरयो। यस्तो शितल अनुभूति उसले कहिले गरेको थिएन।

उसले भूइँ हेरयो, चारपाटे-चारपाटे रेखाहरू कोरिएको भूइँ देख्यो। एकछिन त्यहाँ घोरिएको जस्तो भयो। फेरि कुनामा केटीलाई हेरयो, केटीले एउटा हातले केश सम्याई। प्रकाश अलिकति अस्थिर भयो, पर परिचारिकाहरू बस्ने कोठातिर हेरयो। केहीबेर हेरिरहयो। हरियो पर्दाले छेलेको।


फेरि केटीलाई हेरयो। केटीले खिड़कीबाट बाहिर हेरिरहेकी थिई। प्रकाश विचलित जस्तो भयो, उसलाई खिड़की बाहिरबाट भित्र हेरूँजस्तो लाग्यो; तर थियो यो चार मल्लाको दोस्रो तला। अब उसले वाक्क जस्तो भएर आफ्नो देब्रेतिर हेरयो, छेवैमा आँखा छेलेर सिमेण्टको स्तम्भ उभिएको रहेछ उसको नाकैनेर। उसले त्यहाँ सेता ब्याण्डेजका टुक्राहरू टाँसिएको देख्यो। नर्सहरूले रोगीहरूको नाड़ी छेँड़दा च्यातेर त्यहाँ टाँसेका। गन्यो - पूरै सातवटा रहेछ। अरू भेट्न खोज्यो, केही पाएन, टिकटिकटिकटिकहरू बाहेक। फेरि केटीलाई हेरयो।

केटी यति बेला त्यहाँ थिइन।
उसले खोज्यो नजरले। यता छैन। उता छैन।
कहीँ पनि त छैन।

चार बज्यो। घामले खिड़कीको भेण्टिलेशनबाट भित्र यसो चिहाउन टाउको झुकायो। खिड़कीपट्टि हेर्नेहरूको आँखा तिर्मिराए। काकी-माईज्यूहरूले उसलाई पर्दा झारिदिन कोमल आग्रहहरू गरे । ऊ गयो हरियो पर्दाका हातका चुराहरू फलामको एउटा डण्ठीमा उन्निएको तर एकै ठाउँमा थुप्रिएका थिए। उसले एकेकवटालाई तानेर पर्दालाई चौड़ा बनाउन खोज्यो; तर उसको उँचाईले जवाब दियो। कोशिश गरिरहेकै अवस्थामा रहँदारहँदै पर्दा लाग्यो। उ छक्क परयो। हेरयो छेउमा उही केटीले रहल भागहरू मिलाउँदैथिई। पल्लामा गाँठो पारेर खाँदेको मात्र तान्नु पर्थ्योरहेछ। यसैक्रममा ती दुईका हात छोइए। प्रकाशलाई यस्तो लाग्यो कि यसमा उसको रङ्ग सरेको होस्।

कति राम्री। खोलाको कुरकुरे झारजस्तो लहरै परेला, पेन्सीलले कोरेको आँखाको आकार। दुई दाना सुन्तला केस्रा, तलमाथि पारेर राखेजस्तो ओठ।

“आइज“ - आमाले भनिन्। उसले पुलुक्क हेरयो।
कसले हो देवालको ठूलो सेतो घड़ीमा ब्याट्री नहालेको ।

राति उसले सुत्नै दिइन। सपनामा आउँछे कि ठान्थ्यो निद्रै आएन, उसलाई।
प्रकाश कति लाटा कि उसले नाम पनि सोधेन।
नाम सोध्नु पर्थ्यो, कम से कम केही त बोल्नु पर्थ्यो। उसले आफूलाई, बाबाले जस्तै करायो। भोलि पक्का गरयो कि नाम सोधिने छ।

***

भोलि।
हरियो बट्टाको नारिवलको तेल, हातमा दल्यो। तर त्यो केशमा लगाउनेभन्दा मालिस गर्लाजस्तो साह्रो भएछ। निचोरेर टाउकोमा दल्यो। ‘अहिले घामले सुक्छ नि!’ उसले भन्यो। सधैँ आमाले केश सम्याइदिने। आज आफैं गरयो। बाबाले रोटी बनाएका थिए। इस्कुससित खायो।

"काँ जान्छ, जान्छ गोरु !" - बहिनीले कराई - " भिण्डीको चोखा राख्देको छु, आउँदैन, नआउने ठाउँमा गएको जस्तो"

बिहान कति छिटो दिन भएको ? एकछिन ढिलो भइदिएको भए, अहिले ऊ हस्पिटलमा हुन्थ्यो नि!
उसले आफैंसित हो कि कोसित गुनासो गरयो।
बाह्र बजी सम्भव थिएन जान।
तीन बज्यो, ऊ डाक्टरजस्तो कुद्दै अस्पतालतिर गयो।


दैलोमा उभियो, नाटकमा प्रवेश गर्लाजस्तो पर्दा झुण्डिएको थियो, उसलाई साँच्चै ‘पर्फरमेन्स’ दिनु पर्लाजस्तो तमामको औड़ाहा हुँदैथियो। मुटुले ‘म आफैं बाहिर निस्केर हेर्छु’ भनेजसरी उफ्रँदै थियो। उसलाई कसैले नसिकाएको कृत्य गरयो - एकपल्ट लामो सास तानेर, त्यहीँ पछारयो र भित्र पस्यो। आँखाहरू हिजकै केटीको बेडतिर थियो। केटी कोल्टे परेर उता फर्केकी थिई। उसका कपाल ओच्छ्यानमा बिस्कुन फिँजिएका थिए। प्रकाश छेउमा गएर उभियो।

उसले देख्यो आज त अस्पतालको यो कोठामा कोही पनि छैनन्। न अन्य रोगीहरू छन्। न भाइ लिएर बसेकी आमा। न परिचारिका कोठा, न मलमपट्टी बाँधिएको स्तम्भ। त्यहाँ त डेलियाको फूलबारी पो छ। अलि पर सेता दुईवटा राजा हाँस पौड़िँदै गरेको, माथिबाट आएको फिँजदार झरनाले बनाएको सानो तलाउ छ।

प्रकाश, किशोरीको यति छेउ पुगिसक्यो कि अब उसले एउटा औंला तेर्सायो भने उसलाई छुनेछ। केटीको आवाज कोपिला झैँ फुट्नै लागेको थियो -
कि तर
‘ऐ!’
उसलाई लाग्यो आमाले बोलाउन, सधैँजस्तो घरको डाँड़ामा आइन्। फर्केर हेरयो। त्यहाँ त सबै प्रकटित छन्। अन्य रोगीहरू छन्। भाइ लिएर बसेकी आमा छिन्। परिचारिका कोठा, मलम-पट्टी टाँसिएको स्तम्भ। अस्पताल कोठा हिजकै जस्तो छ।
‘चिन्दैनस् क्या हो?’ आमाले भनिन्।
ऊ, आफैं भित्रको लाज र संकोचको बोराभित्र गम्लङ्ग घोप्टिपठायो। टाउको उठाएर हेरयो, बोराको गुलाबी रङ् उसका गालामा सरेका थिए।

नदेख्नेहरूले हेरे, देख्नेहरूले बुझ्न खोजे, बुझ्नेहरूले कति हेरिरहेकै भएर हाँसे, कति हाँसो नदेखियोस् भनेर मुहारलाई घुमाए।

धड़लाई उतैतिर फर्काइराखेर आवाजले उत्सुक भएको मुहारचाहिँ यता फर्काइसकेकी, केटी पनि हाँसी।

***

प्रकाश घर फर्कँदै थियो पानी परयो गन्ती गरेरै थोपाहरू। दिनभरिको तातो घामले तातेका ढुङ्गाहरूबाट वाफ उड़े। बाटोकै ढिस्कनामा बसेको उसले त्यो देख्न पायो। हात थाप्यो - आकाशले तीनचार थोपा पानी उसको हत्केलामा पनि तप्काइदियो। तर त्यहाँ कुनै बादल थिएन। निधार थाप्यो - च्यापूमा, गालामा उसरी नै थोपाहरू खसे। घाँसबाट आएको एउटा मधुरो बास्ना उसले अनुभूत गरयो। उसले तल भुइँमा देख्यो, रातो पोशाक लगाएकाहरू कतै जाँदैथिए। प्रायः सबैले बेडिङ बिस्तरा बोकेका थिए, कतिले आफ्ना काबिलाको झण्डी बोकेका थिए। त्यो लश्कर, बाँसको पातैपात हिँड़ेर, एकछिन हराइवरी आलुदमको रातो कागजको बोल्ड ख र र’लाई छेका मारेर, ओह्रालो झरीवरी, अम्बकेको रूख फेद्बाट उता तेर्सो जाँदै थियो। यो के भइरहेछ आज ऊसित, यसरी त केही देखिएको थिएन अघिअघि।

प्रकाशलाई आज कतै जान मन लागेन, यो बसाइँ नै उसलाई आजसम्मकै अनुपम लाग्यो। माथि घरहरू जाने यो बाटो किनारमा एउटा गुलाब, पत्रहरूको फेदमा कलेजी रातो अनि बिस्तारै पात्लिँदै रक्तरातो भएर फुलेको थियो। अहिले त्यसको बाहिरी एउटा पत्रमा एउटा ठूलो र एउटा सानो गरी दुई थोपा पानी अड़ेका थिए त्यसमा घाम टल्किँदैथियो।

000

यो सुतिसक्ने बेला हो ! तर प्रकाश सुतेको छैन।
ओच्छयानमा पल्टिएको टुलुटुलु हेर्दैछ सिलिङ।
‘म आऊँ’ ?’- आवाज आयो।
‘आइज!’ उसले सहज अनुमति दियो।
घिउ कलरको एउटी भुत्ली बिराली ‘क्याटवर्क’ गर्दै आएर ओच्छयानमाथि हाम फाली।
प्रकाशले अलि तन्किएर बिरालोलाई तान्यो। मुसारयो। अङ्कमाल गरयो।
बिरालो हातखुट्टा तन्काएर मान्छेजस्तै भुसुक्क निदाई; तर प्रकाश बिरालोजसरी निदाउन सकेन ।

उसले आजै गर्न पर्ने हो तर भोलि उठेर गर्ने भएको छ। स्कुलमा सरले बाँसको लट्ठी बनाएर ल्याउनू भन्नुभएको छ। धेरै साथीहरू बजारका छन्, उसको थाप्लोमै यो जिम्मेवारी छ। प्रकाशलाई यति बेला लाग्न थालेको छ, कि यो पाप काममा आफूलाई सहभागि नबनाइदिएको भए हुन्थ्यो। पालो उल्टो परयो भने उसैले बेत खानुपर्ने छ।

देउरालीमा एउटा ठूलो बरको रूख थियो। कोही बेला ऊ त्यो छायामा गएर बिसाउँथ्यो। आज यसरी नै बसिरहेको बेलामा गाउँका छिमेकी बड़ा आइपुगे।
‘के गर्दैछौ नानी?’ भने।
‘बसिरा’को बड़ा !’ भन्यो प्रकाशले।
‘ल ल’ - बड़ा उकालो लागे। ऊ त्यहीँ केही बेर सुस्ताइरहयो।

000

प्रतिबिम्ब २

मर्सिडिज बेंज जी क्लास, कालो रङ्को कारबाट प्रकाश उत्रियो। हिमालजस्तो सिङ्गो शृङ्खला सेतो बिल्डिङहरूको उसको स्कुल। गेटबाट भित्र छिरेपछि टायल्सका तीन फुटे बाटोको दुवै किनारमा î पाल्म ट्रि’-हरूले सैनिक झैँ अदबका साथ उभिएर उसलाई स्वागत गरे। ती रूखहरूपछिल्तिर, दुवैतिर विस्तृत् फाँट थिए - हरियो चउर। चउर सकिएपछि स्कुलका अग्ला होंचा, आधुनिक ढप-ढाँचाका बिल्डिङ। उताबाट घुमेर आएको विस्तृत् कालोपत्रे फाँटिलो सड़कको टुङ्ग्याउनीमा पार्किङको अलग व्यवस्था थियो - फरारी, बुगाटी, लम्बोर्गिनी, रोल्स रोयस, अडी-हरू लहरै सजाइएको जस्तो राखिएको। प्रकाश आफ्नो कक्षाकोठाभित्र पस्यो। सेतो भुइँमा उसको छायाँ प्रतिबिम्बित भएर सँगसँगै हिँड़थ्यो। ड्राइभर-सीटजस्तो आ-आफ्नो अलग बस्ने व्यवस्था। यद्यपि उसले आफ्ना दुवै केटाकेटी साथीहरूसित ‘हाइफाइ’ गरेर एकएक हातको ताली पढ़कायो।

उनीहरूका पाठ पढ़ाइनलाई चल्क र डस्टर नभएर सम्पूर्ण आभाषी व्यवस्था थिए। गन्ध र स्वाद मात्र थाह गर्न नसकिने, अरू सबै अनुभव गर्न सकिने। रक्तकोशिका पढ़दा उनीहरू रक्तकणहरूसितै बहाउमा हुन्थे। रूख पढ़दा हाँगादेखि जरासम्म उनीहरू तलमाथि डुल्थे। प्रोडक्टिभिटी पढ़दैगर्दा आभाषी संसारमा उनीहरूले पुरूष अनि स्त्री जनेन्द्रीयलाई ओल्टाइपल्टाइ हेर्थे।

प्रकाशले मन पराएकी केटी छेउमा बसेकी छे। उसले आजै मात्र ऊसित फोन नम्बर साँटासाँट गरिसकेको छ। छुटिने बेलामा दुवैले एकएक ‘किस’ आदानप्रदान पनि गरे।

000

ड्राइभरले कारलाई कति क्षण आफैँ चलायो, कति क्षण कार आफैँ कुदिरहयो। ‘इनर रूफ’-मा ब्रम्हाण्ड तारा अनि बसेको चारैतिर रङ्गीन प्रकाश पानी झैँ बहँदै बद्लिरहेको छ। प्रकाशले केटीको नाम सोधेको छैन, स्टाण्डर्ड एठ्थमा पढ़्छ तर ठूलो कुरा गर्न सहज मान्छ ऊ। नाम किन नसोधेको केटीले सोध्दा उसले भन्यो -
“नाम त अरूको लागि हो, तिमी त म हो!“

उनीहरूले अघि पार्टीमा देखेका थिए - श्याम्पियेन खोलिएको थियो, दिदी-दाज्यूहरूद्वारा। उनीहरू एक-एक बोतल नाचिसकेपछि आ-आफ्नो सवारी साधन पक्रिएर खुशीको हल्ला गर्दै निर्धारित दिशातिर लागेका थिए।

प्रकाशले उसलाई भव्य महल अघिल्तिर छोड़ेर आयो। ‘अ बेबी डार्लिङ’ गेटमा उभिराखेकी एउटी स्त्रीभन्दा पनि लेडीजस्ती देखिने आइमाइले भनी र अङ्कमाल जस्तो गरेर उसलाई लिएर गइन्।

ऊ महलजस्तो शपिङ मलमा पस्यो। गहुँगोरो तर रगत चुहिएलाजस्तो ताजापन लिएर गालामा एक जोड़ी वृद्ध-वृद्धा त्रिकोण किन्दै थिए। उसले त्यहाँ एउटा आँखा भएको आकर्षक लकेट देख्यो। त्यो लकेट थियो तर त्यसले उसलाई बोलायो, ऊ छेउमा गयो।

राति सुत्न अघि प्रकाश र उसकी क्रसले च्याटगफमा, एकएकवटा फोटो आदानप्रदान गरे, आ-आफ्नो जनेन्द्रीयको अनि त्यसमाथि लभको चिन्हको मोहर लगाइदिए। प्रकाशले त्यो फोटोलाई दुई औँलाले जुमआउट गरेर हेरयो।

बाहिर अन्तिम तहसम्म पानी छोइएको स्वीमिङ पूलमा जून उत्रिएर नुहाउँदैथिई।

बादललाई अलिकति साह्रो बनाइएको जस्तो ढसनामा, अघिल्तिर ऐनाकै भित्ताहरूलाई एउटा रिर्मोटद्वारा पर्दाहरूले छोपेर प्रकाश निदाउन लाग्यो।

आँगनमा मृगको पाठो खेल्दै थियो, ऊ त्यो पाठोलाई भेट्न कुदयो तर अचानक घाम डुबेर अँध्यारो भयो। ऊ त्यस अँध्यारोमा आत्तिनुभन्दा पनि घुँड़ा टेकेकोमा बसी, मन दुखाइरहेको भयो।

000

भोलि बिहान।
आज फेरि दुईवटा प्रकाशको ऐनामा भेट भयो । एकले अर्काे बिम्बलाई परस्पर हेरे। घोरिएर हेरे। दुवैले कपाल मिलाउने प्रयास गरे।

000

प्रतिबिम्ब १

बिहान एसेम्ब्ली भयो। सबैले आ-आफ्नो लाइन चिनेर उभिए।

कक्षामा सरले एउटा कविता पढ़ाउँदा प्रसङ्गमा भन्नुभयो -

“योजना बनाएर कहिले काम नगर्नू ! घाम जून तारा योजना बनाएर लाग्दैन। फूल योजना बनाएर फुल्दैन। बादल योजना बनाएर लाग्दैन। खोला योजना बनाएर बग्दैन। रूख ढाल्नु योजना चाहिन्छ। चरा मारेर खानु योजना चाहिन्छ। मर्नलाई योजना चाहिन्छ। जिउनलाई योजना चाहिँदैन। यो कविताले पूर्णतासित हाम फाल्नू! भन्छ।"

प्रकाशलाई आमाले छिटो बोलाएकी थिइन्। भाइको हातमा ‘प्लास्टर’ गरेर काँधमा भिराइदिएको थिएछ। अब निर्धारित समयमा त्यसलाई खोल्नुपर्ने आदेशित रहेछ।

तर ऊ त्यहाँ पुगेर यति बुझिसक्दा उसको मनको एउटा रूख गर्लम्म आवाज गरेर ढल्यो र त्यसका झ्याम्म पातका टुप्पाहरूले उसका आँखाहरूमा लागे।

च्यादरमा ओड़ने - ओच्छयाउने डल्लो पारिरहँदा, उसले आँखाको कुनाबाट केटीलाई चिहायो। उसले निहुरिएकोबाट हेरेकी रहिछ। धेरै अव्यक्त। शब्दहरू नभएको जस्तो।

भाइ अघि लाग्यो, हात भिरेर। आमाले उसलाई दुई औंलाले पछिबाट सहारा दिई। प्रकाशले ठूलो गुन्टा बोकेको यसो कोल्टे परेर केटीलाई हेरयो। केटीले ओठ नखोली हाँसी, यो त झन् प्रकाशलाई थामिनसक्नुको पीड़ा भयो, ऊभित्र ठूलो पहिरो गयो। हतार हतार उसले पनि त्यसमाथि मुस्कानको तार्पोलिन हाल्यो। हात उठाएको तर बाइ भनिनसक्दै झारयो।
केटी ओझल भई ।

000

प्रतिबिम्ब २

प्रकाश आज कक्षाश्रेणीमा कोहीसित बोलेन, उसकी केटी आई, छेउमा टाँसिएर बस्दै ‘हाउ वाज दयाट ?’ भनी।
उसले पुलुक्क हेरयो। केटीका आँखाहरू हात लगाएर जिस्किरहेका थिए। भन्यो - ‘मलाई कता कता नराम्रो लागेर आयो।’
केटी लज्जित जस्तो भई।
भनी - “राम्रो नराम्रो के र ! सबैको एउटै त हो।“
प्रकाश - “मैले त्यो सेन्समा भनेको होइन“ फेरि केटीतिर हेरेर भन्यो - “समथिङ इज मिसिङ इन आर रिलेशनशिप, आइ एम नट रेकगनाइजिङ, वाट इज दयाट!“
केटी - “नो वे, अहिले हुँदैन, हाम्रो उमेरै कति पुगेको छ र! आइ पर्फेक्टली नो दयाट्, इट वील टिरेबली हर्ट मी“, हामीले त यी सबै जान्यौं, हामीसित यसको जानकारी खुला छ, त्यही भएर।’
प्रकाश - “तिमीले बुझेनौ, वाट आई मिन टु से।“
केटी - “प्लीज जिद् नगर, जिद् नै गर्छाै भने मलाई भन्नु केही छैन, यु आर फ्री टु डू वाटएभर यू लाइक !“ हात बाँधेर उता फर्केको भई।
प्रकाश - “तिम्रो दिमाग सही त छ ? ....तिम्रो दिमागमा त्यही छ। त्यही भएर संसारमा अरू कुराको पनि एक्जीस्टेन्स हुनसक्छ भन्ने कल्पना पनि गर्न सक्दैनौ तिमी।“

केटी कलेजी सोफामा आफूलाई हुत्याइवरी बसी। सेतो चारकुने कुसन काखमा राखी। छातीमा दुईवटा परेवा हुर्किसकेका थिएनन् उसका तर जमिनको उभारले भविष्यमा त्यहाँ दुई थुम्का हरियो पहाड़को सिर्जना हुनसक्ने पर्याप्त सम्भावना बताउँथ्यो। उसका फिलादेखि तलसम्म नाङ्गा गोड़ा सङ्गमर्मर झैँ टल्किएका थिए। हिल, बुलेट जतिकै चुच्चा थिए। छालाको डोरीले गुणा चिन्हमा बुनेको जस्तो गरी बाँधेको जुत्ताभित्र उसको छाला माटो रङ्गमा पुटुकपुटुक भएर देखिएको थियो। खुट्टाका नङ्हरू काला अङ्गुरका दाना झैं टल्किँदैथिए।

"यति कुरा अनुभव गर्नु पनि विशेष केही घटेको हुनपर्छ र ?’ कसले न केही भनिदिएजस्तो प्रकाश बोल्यो।
"दाहिने हातको बुढ़िऔंलाले तल्लीन कान्छी औँलीको नङ कोटयाउँदै बोली केटी - “कस्तो कुरा ?“
“तिमी नि ! जे कुराको लागि उत्ताउलो हुँदैछौ, त्यसले तिमीलाई जत्रै ठूलो किन नहोस्, चारवटा भित्ता छाना र हातमा एउटा बेबी मात्र दिन सक्छ। के तिम्रो लाइफ त्यति मात्र हो र ?’
‘वाउ! बेबी सो क्युट हुन्छ नि! आई लाइक बेबीज’ - दुई हत्केलाहरू जोड़ेकै, टयाप्प औँलाहरू मात्र च्यापु अघिल्तिर हाँसिरहेको ओठले प्याट प्याट प्याट पारी।

चकमन्न भयो परिस्थिति। फेरि एकछिनपछि -
‘तिम्रो सुरी कतिबजी सुत्छ ?’
‘नाइन ओ क्लक एट नाइट’
‘केसित डराउँछ ?’
‘मेरो पिटबुलसित’
‘के के मन पराउँछ ?’
‘काउ मिल्क ! एण्ड यु नो ? सि इज प्रेग्नेण्ट, उसको हजबेण्ड छ’
‘तिमीलाई ती कति मन पर्छ ?
‘हद से ज्यादा’
‘त्यो सबैभन्दा तिमी राम्रो छौ। कति हो कति।’
केटीले हाँसिरहेको आँखाको कालो दानालाई स्वाइप गरेर भनी - ‘नटी’

दुवैजना चुप लागे।

“मलाई प्रायः एउटैजस्तो फिलिङ हुने गर्छ,“ प्रकाशले कान कोटयाउने सुइरोजस्तो फेरि कुरा झिक्यो - “हिजो पनि सपनामा के देखेँ भने मृगको राम्रो पाठो थियो, म समातुँ भनेर दगुरेँ तर घाम निभेर अँध्यारो भयो अनि म स्याड भएँँ।“

केटी मुख छोपेर हुरूक्क भएर हाँसी अनि भनी - “वाट अ सिल्ली जोक! पाठा नपाउँदा रून्छ कोइ ?’ अघिको रहल फेरि हाँसी।

उसले आँखाको सिधा हेरयो र हात मल्यो। भन्यो -“तिमीलाई बित्थामा भनेछु। मैले यो कुरा चन्द्रलाई भनेको थिएँ; तर अनफर्च्युनेटली त्यो पनि सपना थियो।“

हाँसिसकेको मायालु भावमा केटीले भनी - “चेकअप गराउ न। हर्मनल इम्ब्यालेन्सहरू हो कि न“
“कुरा पाठाको होइन।“ अर्थ निचोर्न खोजेर बोल्यो प्रकाश - “हामीसित अलिकति सिरियसनेस हुनैपर्छ कि ?“
“छ त सिरियसनेस“ - केटी बोली - “तिमी मसित सिरियस छौ म तिमीसित। सिरियसनेस छैन र ? कोमामा जानु ?“ हाँसेको भई।
“कोमामा त अहिले छौँ“
“अऽऽ यू डेस्पेरेट्ली निड रेस्ट्! स्वीटहार्ट्।“

छेवैमा रूखको धड़ले बनाइएको एउटा हाँगामा काठका दुईवटा चराहरू उड़्नलाई बसेका थिए, लाग्थ्यो कि यिनीहरूको रङ्सित धाँधली भएको छ। एकछिनपछि प्रकाशले सबै कुरा बिर्सिएर माया गरेजस्तो गरी अनुहार छेउमा ल्याइवरी साउती स्वरले सोध्यो- “अच्छा, छोड़देऊ। भन, तिमी कस्तो छौ ?“
उसको तातो स्वासले केटीका गर्दनका पाँचवटा रौँ हल्लिए।
पाखुरामा मुड़कीले हानेर घुर्काएर उसले भनी - ‘म्म... पहिला तिम्रो भन!’

***
प्रतिबिम्ब १

जुरेको एकदिन -
सड़क काटेर लैजाँदा दुवैतिर माटोको निकै अग्ला ढिस्कना उठेका छन्। तल्लो छेउको टिल्लोमा प्रकाश उभेको र समर बसेको छ। यतिनै बेला एउटा रकेट घुमेर आएर चियापतीको बुट्टामाथि खस्यो। अर्को रकेट लन्च हुनै आँटेको छ, त्यसमा समरले हावा फुक्दैथियो तातो सासले पुच्छरमा।

रकेट लन्च भयो।

त्यो उडे़र माथि गयो, उतै। अर्को लन्च गरिनै आँटेको थियो,
‘बस्न हौ !’ प्रकाशले तानेकोमा समरको भित्री लुगाले ‘को हो दिल्लगी गर्ने ?’ भनेर कटिप्रदेशबाट चिहायो।
‘के भो ?’ भन्यो समरले, बिजुवाले जस्तो।
‘भनें त। रकेट उड़ाइबस्छस् ।’ फेरि भन्नुपरयो भने पैसा लाग्छ जस्तो गरयो उसले पनि।
एकछिनमा अलि ज्ञानि पारामा बोल्यो समर -
- ‘एउटा मेशीन आउँदैरै’छ। कानमा लगाएर बोल्नु हुने। फोनजस्तै हुन्छ अरे ! तर अलि सानो। बोकेर हिँड़्न सकिन्छ अरे!’
‘अरे !’ प्रकाशले भन्यो।
“पत्याउँदैन पो ? टीभी आफैंले भनेको“ समर रिसायो। उसको घरमा अनिडा थियो।
“पत्याएर के हुन्छ ?“ प्रकाशले भन्यो - “नपत्याएर के हुन्छ ? हो भने हो। होइन भने होइन।“ फेरि भन्यो - “ भोलि जान्छु खोज्नु।“
“कसलाई ?“ समर छक्क परयो।
उसैको अनुहारमा हेरेर बोल्यो प्रकाश - “तर कसरी खोज्नु ? नामै त थाह छैन। कसलाई सोध्नु ? ठेगाना पनि थाह छैन।“
“हेर भाइ! चिट्ठी लेख्ने हो भने ठेगाना थाह छैन, भन्छस्। नत्र म पुरयाइदिन्थेँ, मेरो पहुँच काँ-काँसम्म छ ?“
समरले तर्कको हँसिया आफूतिर तानेर जम्मै क्रेडिट आफैँले राख्न खोज्यो।
“जाऊ साथी ! तिमी रकेटै उड़ाऊ !“

एउटा लेन्डरोभर ‘हँहँहँ.....’ गरेर गयो।
“होइन ! नहुने रै’छ यसरी!“
उसले भोलि नै अस्पताल जाने निर्णय गरयो।

भोलिपल्ट।
उसका कपाल सम्मिएका थिए। स्कुलको पेन्ट लगाएको थियो, नभएर अर्को। जुत्ता त भिजेछ, शीतले छपक्कै। रेगजिनको भात भएछ। अब उसले टेक्ने पन्जा चप्पलमा हालेको थियो। बारीमा सब्जीको लागि मुन्टा टिप्दै गरेको समरले उसलाई देख्यो। भन्यो -
“यै हो लभ् खोज्न हिँडेको ?“
“आ:“ प्रकाश बोल्यो - “जे छ त्यै। उसले मलाई यस्तै देख्नु पर्छ।“

प्रकाश बजार गइरहेको छ। गालामा हात लगाएको ऊ निर्निमेष बसको खिड़कीबाट बाहिर दृश्यहरू फिटिएको हेरिरहेको छ। केश फरफर हल्लिरहेछ। दृश्यहरू बद्लिरहेछन्। उसलाई यतिबेला केही सम्झनाहरू आयो। कसरी एकदिन गाउँको सत्येनारायण पूजामा खेलिएको थियो एउटा नाटक।
त्यो नाटकको गीत प्रकाशलाई मुखस्थ छ -

हेर आमा! तिम्लाई खोज्दै छोराहरू आउने छन्
घामको टीका, रातको साड़ी, उषा सिङ्गार ल्याउने छन्
कति सहयौ, पीर-व्यथा, शब्द बोलेनौ
अब होइन सन्तान हुर्के, माया-प्यार ल्याउने छन्

तिम्रो आँसु हिमालयको, पानी धारा हो
तिम्रो छाती वात्सल्यको, गहिरो ताल हो
कुहिना तिम्रो सिह्रान पारी, छाना-झरी सुन्दै
त्यही मीठो विश्रामलाई, थकान-तिर्खा ल्याउने छन्

तिम्रो जब जीत होला, सबको जीत होला
तिमी हारे, संसारमा अर्को के हित होला
आउनेछन् छोरा जब, छोरो पो हुँ त भन्दै
हेर आमा तिम्रो तीर्थ, तीनत्रिलोक धाउने छन्

उसले आफूलाई भन्यो - भन्नेलाई पो, नाटक थियो त्यो !

उसले आफ्नो यात्रामा फेरि ध्यानकेन्द्रीत गर्न खोज्छ यतिबेला बसमा गीत बज्दै हुन्छ -

‘मेरी साँसो में बसा है, तेरा ही एक नाम,
तेरी याद हमसफर सुबह शाम....’

***
साँझमा एउटा कालो आकृति खोलामा आइपुगेको छ । यहाँ पुल छैन। “हामी एड्रेस दिने अथोरेटी को हौँ ?“ पो भन्छ।

पत्करहरू बज्दैछन् खसक् खसक् छयाक् खसक् छयाक् छयाक् खसक् छयाक् अनि त्यो मधुरो मधुरो हुँदै जाँदैछ।

भोलि -
आज पनि ऊ हिँड्यो बिहानै। स्कुलको छुट्टी दुई दिन यसरी बित्दैछ। स्कुल चलेपछि त फेरि अर्को हप्ता। निश्चिति छैन, उसले भनेको छैन कति दिन खोज्छु भनेर यो लेख्नेलाई।

***

प्रतिबिम्ब २

टेरसमा एउटा कालो आकृति टेलिस्कोप लिएर आकाशमा ग्यालेलियोले जस्तै हेरिरहेछ। आकाश खुला छ, अनन्त गच्छेअनुसारका ताराहरू ! उसले पनि भनेन यो लेख्नेलाई, के खोजिएको हो ?
॰॰
त प्रिय पाठक ! यो थियो प्रतिबिम्बहरूको कथा - यसरी प्रकाशहरूको कथा युगौंयुग चलिरहयो होला ! प्रकाश जसले नजानेको समर्पण-भावसित केही खोज्ने प्रयास गरिरहयो।
कति समय बितेपछि यसरी
अथवा समय ‘स्पार्क’ हुँदा
अतीतमा कि भविष्यमा
हुनसक्छ त्यस क्षण तिनको अभीष्टसित मिलन भयो।
....
मैले ऐनाबाट पर, बाहिर दृश्यहरूको अविरल छपक्क झरी हेर्दै रियलाइज गरें -
ऐना हेर्नुको अनिवार्यता रहेछ, ऐना जो जादुको पनि त होइन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।