17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मणिपुरमा नेपाली नाट्य परम्परा र प्रवृत्ति

विचार डा. गोमा देवी शर्मा 'अधिकारी' July 31, 2022, 1:01 pm
डा. गोमा देवी शर्मा 'अधिकारी'
डा. गोमा देवी शर्मा 'अधिकारी'

ऐतिहासिक तथ्यहरूलाई नियाल्दा मणिपुरेली नेपाली साहित्यमा भारतको स्वतन्त्रतापूर्वनै नेपाली नाटक साहित्यको सूत्रपात भएको थाहा लाग्छ। यस क्षेत्रमा सन् 1942 मा मौलिक नाटकको सूत्रपात भएको थाहा लाग्छ। दीर्घ समयसम्म मणिपुरको भूमिमा धेरै नाटकहरूको सिर्जना भएको छ। यस क्षेत्रमा विशेष गरी दशैं तिहारको अवसरमा प्रत्येक गाउँ गाउँमा नाटक लेख्ने र मञ्चन गर्ने परम्परा चलेर आएको थियो र यो आजसम्म पनि यथावत् देखिन्छ। मणिपुरेली नेपाली साहित्यको धरातलमा लेखक, कवि, गीतकार, नाटककार कमल थापा ‘प्रकाशको’ उदय पछाड़ि नाटक साहित्यले राम्रो प्रगति गरेको देखिन्छ। उनले एक दर्जन जति नाटक लेखेर मणिपुरेली नेपाली नाटक साहित्यलाई ठुलो गुण लाएका छन्। यस आलेखमा मणिपुरेली नेपाली नाटक परम्परा र प्रवृत्तिमाथि विस्तारमा चर्चा गरिने छ।
मणिपुरको राजधानी इम्फालमा तैनात चौथो असम राइफल्स मणिपुरेली नेपाली नाटकको जन्मथलो थियो। थियेटरको सुविधा नभए तापनि बड़ा दशैंको अवसरमा अस्थायी मञ्च निर्माण गरेर एकाङ्की, प्रहसन वा लघुनाटकहरू हर्षोल्लासका साथ मञ्चन गरिन्थ्यो भन्ने कुराको तथ्य पुराना बुढ़ा पाकाहरूबाट प्राप्त हुन्छ। तत्कालीन नाटकहरू मौलिक नभएर धर्मशास्त्रमा आधारित हुन्थे। धर्मशास्त्रमा वर्णित कथा प्रसंगहरूलाई रङ्गमञ्चीय आवरण प्रदान गरेर लोक सामु पस्किएको देखिन्छ।
मणिपुरेली नेपाली नाट्य क्षेत्रमा मेजर हेमबहादुर लिम्बुको स्थान अग्रगण्य छ। यिनी मणिपुरेली गोर्खा समुदायका प्रथम नाटककार थिए। सन् 1942 मा लिम्बुद्वारा निर्देशित नाटक राजा हरिश्चन्द्र दशैंको अवसरमा चौथो असम राइफल्समा सफलतापुर्वक मञ्चन भएको तथ्य थाहा लाग्दछ। यसको सफलतापछि यिनले कृष्णजन्म, सीताहरण र सती रानक देवी नाटक क्रमशः मंचन गरेका थिए। यसपछि प्रतापचन्द्र राईले निर्देशन गरेको नाटक जयद्रथ वधले पनि त्यसताका निकै नाम कमाएको कुरा बुझिन्छ।
माथि उल्लेख गरिएका नाटककारहरू पछि चौथो असम राइफल्समा टी.बी.चन्द्र सुब्बा मौलिक नाट्य क्षेत्रमा देखा परे। कालिया दमन र बहिनीको लागि यिनका सफल नाटकहरू थिए। प्रथम नाटकको आधार कृष्ण चरित्रमा वर्णित कथा कालिया दमन थियो भने दोस्रो नाटक बहिनीको लागि नितान्त मौलिक सामाजिक थियो। यसरी टी. बी. चन्द्र सुब्बा मणिपुरेली नाट्य क्षेत्रमा मौलिक नाटकलेखनको परम्पराको सूत्रपात गर्ने पहिलो नाटककारको रूपमा देखा परे।
सन् 1942 मा शुरू भएको यो परम्परा सन् 1950 सम्म अबाध गतिमा अघि बढ़ेको देखिन्छ। यसपछि मणिपुरका अन्य ठाउँहरूमा पनि नाटक मञ्चनको कार्य शुरू भएको देखिन्छ। दशैं, तिहारको अवसरमा एकाङ्की, हास्य-व्यङ्ग्य नाटक वा अन्य नाटकहरूको मंचनगर्ने एउटा परम्परा नै बसेको देखिन्छ।
मौलिक नाटक लेखन परम्पराको क्षेत्रमा काङ्ग्लातोंग्बी निवासी स्वर्गीय कमल थापा ‘प्रकाश’को ठूलो योगदान रहेको पाइन्छ। यिनले आफ्नो जीवनको छोटो अवधिमा दशवटाभन्दा बढी मौलिक नाटकहरूको प्रणयन र मंचनगरि नेपाली नाट्य परम्परालाई अघि बढ़ाएको पाइन्छ। तर यिनको असामयिक निधनले यो परम्परा पनि अँध्यारोतिर विलीन भएको देखिन्छ। यी नाटकहरू सबै पाण्डुलिपिमा नै सीमित रहे र कतिपय नाटकहरूको जगेडा हुन सकेन। गोर्खा ज्योति प्रकाशनले कमल थापाका प्राप्त नाटकहरूमा त्याग प्रकाशित गरिसकेको छ, यो सराहनीय कुरा हो।
स्व. कमल थापा ‘प्रकाश’
सन् 1948 मा चिङमैरोङ, नेपाली बस्तीमा जन्म लिएका कमल थापा बाल्यकालदेखि नै चिन्तनशील थिए। यिनको यही चिन्तन साहित्यको रूपमा प्रतिफलित हुनपुग्यो। नाटकको क्षेत्रमा कमल थापा ‘प्रकाश’ले 70 को दशकमा प्रवेश गरेको देखिन्छ। यिनका सबै नाटकहरू सामाजिक विषयमा आधारित छन्। सामाजिक विघटन, सामाजिक सम्बन्ध, पारिवारिक समस्या, गाउँले राजनीति, आदर्श प्रेम आदि विषयहरूलाई ध्यानमा राख्दै नाटकहरू लेखिएका थिए भन्ने कुरा थाहा लाग्छ। सन् 1973 मा यिनको प्रथम मौलिक नाटक सिन्दुरको मञ्चन काङ्ग्लातोंग्बीमा भयो। यसको सफलताले यिनको हौसला दोब्बर भयो। यस नाटकद्वारा कमल थापा एउटा सफल नाटककारको रूपमा उभिन सफल भए। यसपछि यिनले अन्य नाटकहरूपनि लेखे र मंच नगरे। हारजीत (1975), सुस्केरा (1977), निश्छल स्मृति, ममता, कलङ्क, घर-घरको कथा आदि नाटकहरूको मञ्चन धूमधामसँग भएको थाहा लाग्छ। सन् 1978 मा यिनले अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनको तत्वावधानमा आफ्नो निर्देशनमा स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा रचित मुनामदनको पाओना बजार इम्फालमा स्थित रूपमहल थियेटरमा मञ्चन गरे। यसको सफल मञ्चनपछि यस नाटकको माग मणिपुरका अन्य क्षेत्रमा पनि भएकोले ए.आर. कोलोनी, असम राइफल्स, साइकुल जस्ता क्षेत्रहरूमा उत्साहसँग यसलाई प्रदर्शित गरियो। यसरी कमल थापा ‘प्रकाश’ नेपाली नाट्यजगतका एउटा सशक्त, सफल र चर्चित नाटककार बन्न पुगे। यिनको ममता नाटक अधूरो रहेको थाह लाग्छ। यो नाटक पूरा हुन नपाउँदै उनी बिरामी परेको र यस सन्सारबाट सँधैका लागि विदा भएको देखिन्छ। यसरी मणिपुरेली नेपाली नाटकले एउटा झरीलो तारालाई सन् 1991 मा असमय नै गुमायो जसको क्षतिपूर्ति कहिल्यै पनि हुन सक्दैन।
त्याग गोर्खा ज्योति प्रकाशनले अक्टोबर 2015 मा बजारमा ल्याएको हो। यो पारिवारिक समस्यामा आधारित नाटक हो। 20 दृश्यमा विभाजित यस नाटकमा लेखकले पात्रको माध्यमबाट यथार्थ जीवनमा आइपर्ने घटनाहरूलाई रोचक पाराले पस्किएका छन्। यसमा सरल, सहज नेपाली भाषाको प्रयोग गरिएको छ। विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने पात्रा अनुसार कतै अङ्ग्रेजी शब्दहरूको प्रयोग पनि देख्न पाइन्छ। सम्वादहरू छोटा र अर्थपूर्ण र घटनाक्रमलाई अघि बढाएर लैजानमा सक्षम छन्। मञ्चनको दृष्टिले हेर्दा त्याग नाटकमा सबै गुणहरू विद्यमान रहेको पाइन्छ। सबै दृश्यहरूको मञ्चन गर्न सकिन्छ।
देशकाल र परिस्थितिलाई हेर्दा पनि कमल थापकाका नाटक सफल छन्। 70 को दशकमा रहेका सामाजिक कुरीति साथै शिक्षालाई अङग्रेजी परम्पराको पर्याय मान्दै नशा सेवन वा अन्य वृत्तिलाई सभ्यता मानने पीढ़ीको राम्रो चित्रण साथै आदर्शवादी परम्पराको स्थापना गरिएको छ।
महेश पौड्याल
महेश पौड्याल नाटक क्षेत्रमा देखा परेका अर्का कुशल नाट्यकार हुन्। यिनले सन् 1990 मा दाजुको कर्तव्य नाटकको लेखन र निर्देशन गरेर मणिपुरको इराङमा मञ्चन गरेका थिए। त्यसपछि 1999 मा देशको माटो र 2001 मा दाइजो शीर्षकका नाटक पनि यसै गरी लेखन, निर्देशन र मञ्चन काङ्ग्लातोंग्बीमा गरेका हुन्। पौड्यालले प्लेटोको प्रसिद्ध लेख एलेगोरी आफ द केभको नाट्यरूपान्तरण र निर्देशन गरेर यसलाई सन् 2002 मा भक्तपुर नेपालमा मञ्चन गरेका थिए। त्यसै गरी 2008 मा यिनको नाटक चङ्गा आफ्नै निर्देशनमा राष्ट्रिय बालनाटक महोत्सवमा दुईपटक मञ्चित भयो। 2011 मा यिनले आमा नहुँदा एक साँझ नामक एउटा एकाङ्की सङ्ग्रह प्रकाशित गरे। सन् 2012 मा यसै सङ्ग्रहभित्रको नाटक आमा न हुँदा एक साँझ शैली थिएटरले चौथो बालनाटक महोत्सवमा प्रस्तुत गऱ्यो। यसले राष्ट्रिय स्तरमा नाम कमाउन सफल भयो। यसबाहेक यिनले अन्तोन चेखभको भान्का र द बियर, अलेक्ज्यान्डर पुस्किनको द सोट, निकोलाई गागोलको ओभरकोट र रसियाली लोककथा बाबा यागाको नेपालीमा नाट्यरूपान्तर गरी सफल मञ्चन गरे।
महेश पौड्यालका नाटकहरूमा सामाजिक चिन्तनको राम्रो चित्रण भएको पाइन्छ। साथै यीनले यूरोपेली नाटकहरूलाई नेपाली रूपान्तर गरी यूरोपेली र पूर्वेली नाटकको साँघु बनाउने महान प्रयास गरेका छन्। यीनले नाटकमा सरल र सबै स्तरका मानिसले बुझ्ने नेपाली भाषाको प्रयोग गरेका छन्।
फुटकर नाटकहरू
नाटक लेखनमा सघाउ पुऱ्याउने धेरै यस्ता रचनाकारहरू पनि मणिपुरेली नेपाली समाजमा फेला परेका छन् जसले मञ्चनका लागि प्रशस्त मात्रामा नाटकहरू लेखे। यी नाटकहरू विशेष रूपमा बड़ा दशैँको अवसरमा मञ्चन हुने गर्दथे। सन् 80-90 को दशकसम्म यस्ता नाटकहरूको मञ्चन मणिपुरमा धेरै भएको कुरा समाजका बुजुर्गहरूबाट थाहा लाग्दछ। यी नाटकहरूको म़ञ्चन गराए पश्चात पुस्तकाकार रूपमा प्रकाशन नभएको र यिनीहरूको बारेमा कसैले कुनै पनि इतिहास ग्रन्थमा नलेखिदिएको हुनाले रचनाकारहरूले ओझेलमा परेर बस्नु परेको छ। यहाँ यिनै नाट्यकार र उनीहरूका नाटकहरूको नामोल्लेख गर्ने प्रयास गरिएको छ।
मणिपुरको काङ्ग्लातोंग्बी क्षेत्र प्रारम्भबाट नै नेपाली साहित्य विकासको केन्द्र रहेको हुनाले यस क्षेत्रबाट प्रशस्त नेपाली नाटकहरू लेखेको र मञ्चन गरेको तथ्यहरू फेला पर्दछन्। यस्ता नाटकहरूमा चुडामणि चापागाईं रचित प्रहारको चोट (1984), नौलो बिहान (1985), वेदना (1987), आ-आफ्नो व्यथा (1988), तारसिंह बिष्ट रचित आँसु (1984), फेरि खाँडो पखाल्नै पर्छ (1986), चुड़ामणि खरेल रचित अर्चना (1986), रोशनकुमार उप्रेतीको त्याग एउटा प्रेम कथा (2001), लक्ष्मण शर्मा रचित उपहार (2002), समर्पण (2005), शिवकुमार बस्नेत रचित महिमा (2003) दशैंको मौकामा बड़ो उत्साहका साथ सफलतापूर्वक मञ्चित भएका नाटकहरू हुन्।
कौब्रुलैखा गाउँमा पनि धेरै नाटकहरू मञ्चित भएका थिए। यस्ता नाटकहरूमा पं. नारायण प्रसाद शर्माद्वारा रचित हरिश्चन्द्र (1972) र अमर प्रेम (1976), काजी मोक्तान रचित छोरीको जन्म हारेको कर्म (1978), प्रेम दाहाल रचित बदला (1884), गौरीमान भट्टराई रचित खूनको कसम (1991) प्रमुख मञ्चित नाटक हुन।
मुकुलीबाट नन्दलाल बजगाईं रचित आँसु सरिको हाँसो, अकाल मृत्यु, अभिलाषा, पवित्र प्रेम, अनुसन्धान, बिदाई चन्द्रमानबाट स्व. लक्ष्मीप्रसाद मैनालीको प्रतिशोध (1993), तोरीबारीबाट शिवलाल भण्डारी, इराङ्गबाट मणिकुमार पौड्याल, गोविन्द न्यौपाने र टिकाराम पौड्याल, गोमा शर्मा आदिले नाटक रचना गरेर मञ्चन गराएको पाइन्छ।
90 कै दशकमा कालापहाड क्षेत्रमा प्रकाश सिवाकोटी एउटा राम्रा नाटककारको रूपमा देखा परेका हुन्। यिनका धेरै नाटकहरू बर्षेनी मञ्चित भएको कुरा स्वयं सिवाकोटी बताउँछन्। यिनका सबै नाटकहरू सामाजिक भावबोध युक्त रहेका छन् तर पुस्तक रूप दिनप्रति असमर्थ रहेको कुरा लेखकले जनाएका छन्।
नेपाली साहित्यका अन्य विधाहरू जसरी मणिपुरमा फस्टाएको देखिन्छ, त्यसैको हाराहरीमा नाटक फस्टाएको देखिँदैन। सबै नाटकहरू मुद्रित न भएता पनि असङ्ख्य नाटकहरूको लेखन र मञ्चन भइसकेको तथ्यलाई नकार्न सकिँदैन। लामो समयदेखि नेपाली नाटकहरू लेखिएको र मञ्चन भएको इतिहास भएर पनि पुस्तक रूपमा प्रकाशित नहुनु नेपाली साहित्यको ठुलो क्षति हो। स्वर्गीय कमल थापा ‘प्रकाश’ का दर्जनौं नाटकहरू अझ पनि प्रकाशमा आउन नसक्नु अतिनै दुखद कुरा हो। मणिपुरका राज्यका साहित्यिक सामाजिक संघ-संस्थाहरूले यिनीहरूको मुद्रण र प्रकाशन व्यस्था अवश्य मिलाउनेछन् भन्ने कुराप्रति आश्वस्त छु।
सन्दर्भ स्रोत
1. भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास-गोमा दे.शर्मा, शोधग्रन्थ, मणिपुर विश्वविद्यालय, 2009
2. मणिपुरमा नेपाली जनजीवन, मुक्ति गौतम-नेपाली साहित्य परिषद, 1999
3.मणिपुरमा नेपाली साहित्यः एक अध्ययन-डा. गोमा दे. शर्मा, गोर्खाज्योति प्रकाशन, 2016
4.मौखिक श्रोत-रामप्रसाद पौडेल, चुड़ामणि चापागाईं, शिवकुमार बस्नेत, प्रधान, काङ्ग्लातोंग्बी ग्राम पञ्चायत, तारासिंह विष्ट आदि।


गुवाहाटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।