यही कोठो हो, जसलाई मैले ‘जनतन्त्रे’ नै घोषणा गरेथें । सम्विधान माने पनि, मालपोत तिरे पनि, सम्पूर्ण परिवारका सदस्यको हकमा परे पनि मलाई स्वतन्त्र रूपमा पढ्न, लेख्न र मेरा साहित्यप्रेमी, साहित्यिक वरिष्ठदेखि कनिष्ठसम्मले खुल्ला गफ गर्ने ‘खुलाथलो’ बेलायतको ‘वक्ताको कुनो’ जस्तो यो ठाउँलाई मेरा आफ्ना भाषामा ‘जनतन्त्रे कोठो’का रूपमा भनिदिएँ । सायद, ‘वक्ताको कुनो’ सकार्ने मानसिकता थिएन मेरो र जनतन्त्र व्यापक अर्थलाई मैले आफूखुसी सीमित गरिदिएँ जसरी सही शब्दले ‘गोबर’लाई लिदी र गुहूमा सीमित गरिदिएको छ ।
जनतन्त्रे उपनामधारी मेरो यो कोठाले आइएदेखि जाइएसम्मका विद्यार्थीको स्वागत गरेको छ । कैयौं शोधार्थीलाई शोधकार्य गर्न बस्न दिएको छ । वम्शगत भूत पनि विचित्रको हुँदोरहेछ । अघि मेरा बाले १÷१ महिनासम्म कानचिरा लट्टाधारी साधु–सन्यासीहरूलाई थालभरि घिउ भात ख्वाएर, कचौराभरि–भरि दुध ख्वाएर धुनी लाउन दिन्थे । बाको त्यो पुण्यकार्यले अभिप्रेरित त्यही पुण्यकार्य गारउँदो रहेछु म यो जनतन्त्रे कोठामा । मेराचाहिँ साधु–सन्त शोधार्थी हुन् । गहिरिएर विचार गर्दा शोधार्थी र साधुसन्तमा फरक रहेनछ । पुण्यकार्यका निम्ति खप्नुपर्ने घच्चा मुखले भट्याएर कमाएको पुण्य किन मास्ने ? जे होस्, पुण्यकार्य–योगदाता हो यही ‘जनतन्त्रे कोठो’ ।
यो कोठाले सुख पनि भोग्यो, दुःख पनि भोग्यो । नेपाली साहित्यको इतिहास बनाउने धेरै जना यहाँ बसे । तीमध्ये धेरैले विविध चरित्र पनि प्रदर्शन गरे । एक जनाको कुरा यहाँ बखानौं । तिनलाई ओढ्ने लुगा दिन जानेले यो कोठामा वास्तवमै ती महासाहित्यकारलाई उहिलेको नागा बाबा नै देख्नुप¥यो । यो कोठाका कति पत्रिका, कति पुस्तक कुन–कुन साधु–सन्तले आफ्ना झोलामा हाले, त्यो कुरा यहाँ बखान नगरौं । यो ‘जनतन्त्रे कोठा’मा नेपाली साहित्यका इतिहासका पानाहरू विराजमान छन् । यहाँ वरिष्ठ विराजमान भए भने कनिष्ठ पनि आए । यहाँ मित्रहरू छाए भने वैरिहरू पनि आए । यहाँ झगडा कम्ती भए, अनेकौं शास्त्रीय गफ भए । नढाँटी भन्दा यहाँ ‘वात्स्यायन गफ’ पनि भए, क्षमा चाहन्छु ‘जनतन्त्रे कोठा’मा गफको दुरूपयोग भएकामा !
गफगाफका कुरा छाडेर लेखलाखका कुरा गर्ने हो भने ‘जनतन्त्र’ घोषणा भएउप्रान्त यो कोठामा ‘सचेत विचार’ राँकिएर उठ्यो, निराशा बिरालो भएर भाग्यो, कुण्ठाले सुइँकुच्चा ठोक्यो । कोठाको मालिक मेरा कपाल फुले, तर मनमा उत्साह बढेरै गयो । पान, तास अन्य व्यसनमा हुने खर्च, पुस्तक र पत्रिकामा भए, अनि भए काव्यशास्त्रीय विनोद, अध्ययन, सामग्री–सङ्कलन, लेखन, सम्पादन र छापेका पत्रिकाको वितरण गर्ने काम ।
हेर्छु यो कोठामा कागज छरिएका छन्, पुस्तक छरिएका छन् । यहाँ आउने डाक्टरले यदा–कदा निःशुल्क सुझाउ दिन्छन्– “दराज किने हुने ! नम्वर दिएर पुस्तक–पत्रिका राखे हुने !’ निजी पुस्तकालय भए पनि सबैको सम्पत्ति ठान्ने धेरै चुकचुकाए, भित्रभित्रै आफ्ना गल्ती छोप्छु, कमजोरी लुकाउँछु । आर्थिक अक्षमताको थाहै नुहने गरी घाँटी निमोठिदिन्छु । फलानो पुस्तक छैन, फलानो पुस्तक पाँचपटक किनें, त्यो पनि छैन । २०१२ सालको फलानो पत्रिका ६ महिना अघिसम्म थियो । अहिले छैन, जे होस् न ! मेरा साधु ! मेरा सन्न्यासी ! मेरा कान्चिरा मलाई प्यारा छन् । मेरा लागि मेरी प्रेयसी प्रथम प्रेयसी मुटु हुन् भने मेरा यी शोधार्थी, पुण्यकामी, कीर्तिउन्मुखी मेरा लागि अतिप्रिय वस्तु हुन् । मेरी प्रेयसीसँग मेरो नङ–मासुझैं सम्बन्ध छ भने यी शोधार्थीसँग पनि मेरो हृदयको एकाकार छ । यस्तो जनतन्त्रे कोठमा असरल्ल पुस्तक छरिनु पत्रिका छरिनु र कागजका टुव्रmाहरूले फोहोर हुनु स्वाभाविक भए पनि लामखुट्टे र झिंगाहरूलाई भने प्रवेश–निषेध छ, किनभने झ्याल–ढोका प्रायः खुल्दैनन् । गर्मीमा गर्मी होस्, बिजुली भए पङ्खा चलाउने, नत्र भरिसक्के नबस्ने, तर झिँगा र लामखुट्टेहरूलाई प्रवेश–निषेध ! एकाधपटक साङ्ला महाराज हिंडिटोपले तर सरल–सरल उपायले नै तिनको पनि बातो बस्यो ! तैपनि यदा–कदा भ्रष्टाचारीले छाल गन्दा पनि भ्रष्टाचार गर्न नछाडेझैं ‘साङ्लाप्रकोप’ देखिएकै हो ।
तर !
तर ! मूच्र्छा पर्ने कुरा छ, यता यो जाडामा मुसाले चमत्कार गरेछ ! प्रत्येक वर्ष यहाँ जाडो आएको हो । यो कोठो पनि थियो । यसमा म थिएँ नै । मेरा साधु–सन्न्यासी महोदयहरू पनि आए–गएका हुन् । खुसुक्क कुनै दिन कहिले केही भयो होला ! म भन्न सक्तिनँ । योपटक यो जाडामा त फलानाले अचानक मध्यावधिको घोषणा गरेझैं ‘कोठा–हमला’को घोषणा गरेछ । मध्यावधिको घोषणा गर्नेले भित्रभित्रै साउती मारेर कुरो सिध्याएझैं मुसाले पनि मुसिनी भित्र्याएर यो कोठामा बिध्वंस मच्चाएछ ! थोरैले सही पूर्वाञ्चलमा मोतीरामले गर्ने काम गर्ने बाहुन भनेको लेखकको स्वतन्त्र ‘जनतन्त्रे कोठा’मा गर्नु–नगर्नु चर्तिकला गरेछ ! एक बिहान देख्छु, जनतन्त्रे कोठा रोइरहेको छ । आँखाका अगाडि ‘बम खसेको हिरोसिमा’ छ । मेरा जनतन्त्रे कोठाभरि देख्छु, कागजका टुव्रmा, लिंड र मठुरिएका पुस्तक ! रुन मात्र सकिनँ । आँखाले नियालेर हेर्छु, छाती छाम्छु, व्रmौञ्चविहीन व्रmौञ्ची पक्षीको व्यथा छ । ‘मोरो मुसाले’ रास–लीला गरेछ ! आश्चर्यचकित पनि हुन्छु । छिमेकको कोठामा धानकोठातिर सरेछ अहिले । दिमागमा सत्य कुराको ज्ञान भएपछि निर्णय निकाल्छु मुसाले होस् कि जसले, जाडामा रासन–पानी भेटेपछि ‘रुई, दुई र फुई’को उखान चरितार्थ गरिहाल्छ नि !
मुसाको रास–लीलावारे गम्दा–गम्दै हाम्रा सचेत नेताहरूतिर ध्यान गयो मेरो । पहिले खान नपाएका नेता कस्ता थिए ! अहिले सत्ता–भत्ता भेटेपछि आफ्नी मुसुनीसँग पजेरोमा गुडेर रास–लीला गर्न थालेका छन् ! भकारीमा मुख गाड्न पाएपछि मुसाले मुसिनी खोज्छ, खोज्छ ! हाम्रा नेताहरू पनि सरकारी ढिकुटीमा हात हाल्न पाएपछि सुरा–सुन्दरीमा मस्त हुन्छन्–हुन्छन् !
ऋणम् कृत्वा घृतम् पिवेत् ।
चोरेर होस्, ढाँटेर होस्, छलेर होस् अचेल मोज गरिन्छ, आफ्नो नसही ! अर्काको भँडारलाई निजस्व पारिन्छ । आफ्नो नसही अर्काकै भए पनि गाडी चढेर भए पनि मोज गरिन्छ । यहाँ मोज गर्नुपर्छ, यहाँ आनन्द लुट्नुपर्छ, यो मुसो सिद्धान्त हो । हो, मेरो जनतन्त्रे कोठो शोधको थलो हो । मुसाको रास–लीला एउटा शोध हो । ‘लुटम् कृत्वा घृतम् पिवेत्’ यो मेरो निष्कर्ष हो ।