ए नारी !
पहिलो बुनियादी साम्यता त
यही छ कि
तिमी र म दुवै
हौँ, हाड़मासुको मूढ़ा
फूल तिमी पनि
कोपिलाउँछौ,
फक्रिन्छौ र ओइलाउँछौ
म पनि हुन्छु बूढ़ा
तिम्रो र मेरो
पहिलो बुनियादि भूमिका त
यही छ कि
हामीले सृृष्टिचक्र गर्नुछ पूरा
तिमी र मभित्र पसेर
हाम्रो रगत मासमज्जा
तयार गर्ने
दाल वा चामलको दाना
उमार्छन् एउटै किसानले,
एउटै खेतमा।
तिमीले रूने
र मैले खसाउने
आँसुको पानीमा पनि छैन
कुनै रङ्गको भिन्नता।
तिमी अलग छौ
शक्तिको पूञ्ज छौ
तर तिमी दुर्गा हौ,
सरस्वती हौ.. फलाना, ढिम्कना
मलाई केही भन्नुछैन
यी सब बाहियात कुराहरू हुन्
फकाउँदै लगेर
गर्नुछैन बलात्कार एकान्तमा
तिमी शक्तिको पूञ्ज
यस अर्थमा हौ कि
तिमीले आफ्नो
छाला कागजजस्तो च्यातेर
एउटा नयाँ मान्छेलाई
धरती टेकाउँछौ।
म एउटा सूई खप्न सक्दिनँ।
मेरा शरीरमा कुनै दुःखाइ छैन
दिशा बस्नु बाहेक।
तिमीमा एउटा कामाख्य मन्दिर
छ स्थापित
जहाँ उम्रन्छ हरेक अन्तरालमा
खूनको पँधेरो।
तिमी स्त्री !
तिम्रो बाटो हिँडेर गयो भने
कोमलताको चरमतामा पुगिन्छ
संवेदनाको शिखरमा पुगिन्छ
मानवताको हिमालमा पुगिन्छ
सिर्जनाको फाँटमा पुगिन्छ
ईश्वरत्वको काखमा पुगिन्छ
किन कि ईश्वर कोमल छन् रे!
संवेदनाका मुहान छन् रे!
सबैका लागि छन् रे!
दयाका सागर,
करूणानिधान
र क्रोधको ज्वालामुखि पनि छन् रे
म त कल्पन्छु
उनी तिमीजस्तै हुनपर्छ।
फूल कोमल छ
तिमीले त्यहाँबाट त्यो ल्याएका छौ।
जूनबाट शितलता
झरनाबाट गतिमयता
मौसमबाट रहस्य
कपनाबाट समर्पण
कवित्वबाट भावना
सिंहनीबाट आक्रमकता
तिमीले ल्याएका छौ।
हुन त
म पुरूषसित पनि नभएका होइनन्
आँधीको निर्णय
हिमालको ईर्बी/अडिगता
पानीको क्षमा
मरूको सहनशीलता
जङ्गलको विभिदता
समुद्रको गहिराई
चट्टानको विकटता
खोलाको आत्मविश्वास
रूखको धैर्यता
आदि/इत्यादि
तर ती
जेट विमानको गतिमा
परास्त भइरहेका छन् र पो
विलखबन्दमा परेको छु।
मेरो आजभोलि
अलि नाक मात्र
संवेदनशील भइरहेको छ र पो
दुःख्ने गरेको छु
चिन्ता र अवसादले घेरिएर
रनभुल्लमा
परिरहेको छु।
किन कि म
औसतन अहिले
खोक्रो बाँचिरहेको छु
म मेरो यही बाटो गएँ भने अहिले
बच्चोको टाउको काटेर
फुटबल खेल्न बच्चालाई दिनसक्छु
स्वतन्त्रताको कुरा गरेर
नानीहरूलाई मारिरहन सक्छु
बम-बारूद्
स्वार्थप्रेरित उद्देश्यसित
लिसोपासोजस्तो खेलाउन सक्छु
बस्तीमा अणुबम खसाएर
आगोको च्याऊ उम्रेको देखेर
खुशी रमाउन सक्छु।
ए नारी !
तिमीलाई गर्भाधान गराउन
प्रकृतिले दिएको
संरचना र क्षमता
मेरोनिम्ति
मात्र अमृत मन्थनको
उद्देश्यमा गएर स्खलन भइरहेको छ।
मभित्र
यति जमा हुनसकेको छैन
चैतन्य वीर्य।
जसबाट तिमीलाई उपहार
एउटा
सूर्यको गानाजस्तो तातो
जूनको दानाजस्तो शीतल सेतो
गुलाबको स्पर्श जस्तो कोमल
हिमालको गर्व जस्तो गह्रौं
भविष्य
‘लौ बनाऊ !’ भनेर दिनसकुँ ।
म अहिले
कालो कारको अघि
अर्धनग्न,
साबुनको
दाह्री काट्ने मशीनको
छाताको
सेन्ट र पर्फ्यूमको
यतिसम्म कि
बाबाको प्रवचनलाई
बिक्री गराउनधरि
तिमीलाई नै उभ्याउन पर्ने
बाध्यताको संसार
बाँचिरहेको छु
यो राम्रो हो कि नराम्रो हो
म निर्णय दिने न्यायधिश होइन
कुरा यतिचाहिँ हो
शोषणचाहिँ हो
यो त्यस्तै हो
जस्तो कि
कुनै शब्द नभएका प्राणीलाई
चटक देखाउन लगाएर
रातो गम्चामा
पैसा थाप्छन् चटकेहरू
किन कि उनीहरू बोल्न सक्दैनन्
"अँ मेरो ईच्छा हो वा होइन"
भन्न सक्दैनन् ।
अब
यो पनि राम्रो हो कि नराम्रो हो
म निर्णय दिने न्यायधिश होइन
**
स्त्री पुरूषकै कुरामा
पुरूषभित्र
स्त्री जागेन भने
ऊ कसरी हुनसक्छ
परिवारप्रति समर्पित् ?
स्त्रीभित्र पुरूष
जागेन भने
उसले कसरी सोच्न सक्छ
देशहित ?
आ-आफ्नो सिमा चिनेरै
अन्तर्घुलन हुनुथियो
तर तिमी धेरै यता आयौ कि ?
पुरूषले अन्तिम सिमा नै लङ्घन गर्दैछ कि ?
हामी दुवै हुँदैछौं क्षय
प्रकृृतिको कठघेरोमा उभिँदा
हुनेछ भय।
तर
यतिचाहिँ हो
म यति कुराले
निश्लोट भइहालेको होइन
चुपचाप उभिएर हेर त !
कहीँ सृष्टिको दुई विपरित ध्रुव
अन्तर्बही विभिन्नताहरूलाई
पूर्णाहुति दिँदै
पूर्णबिराम भएर
‘मान्छे’ खालि उभिएको त होइन ?