15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपालका हिमाल, पहाड र दुर्गम गाउँको चित्रण

कृति/समीक्षा रमेश प्रभात August 21, 2022, 11:22 am
रमेश प्रभात
रमेश प्रभात

आमुख
सामान्यतया स्रष्टा र पाठकको प्रत्यक्ष चिनजान कमै मात्रामा हुने गर्छ । त्यस्तै आजका मितिसम्म निबन्धकार राजेन्द्रमान डङ्गोलको र मेरो प्रत्यक्ष भेटघाट भएको छैन । प्रिय कवि एवम् अनन्य मित्र आर.एम्. डङ्गोलको सिफारिसमा उनको पछिल्लो कृति ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ सम्पूर्ण किताब, नारायणगढबाट केही दिन अघि प्राप्त गरेको हुँ । भौतिक रूपमा चिनजान नभए पनि यसरी प्रेमपूर्वक पठाइएको कृतिलाई सप्रेम स्वीकार गरेँ र थालेँ कृतिभित्र विचरण गर्न । एउटा पाठक भएका नाताले कृति हात परेपछि सर्सती पढ्नु मेरो धर्म हो र त्यसलाई अक्षरशः पालना गरेँ मैले । समीक्षाका क्षेत्रमा पनि अलिअलि काम गरेको नाताले कृति पढिसकेपछि समीक्षा लेख्नु पनि मेरो रुचिको विषय पनि हो । यही भएर उक्त कृतिका बारेमा मलाई लागेका कुरालाई समेट्दै यो समीक्षा तयार पारेको छु ।

निबन्धकार राजेन्द्रमान डङ्गोलका बारेमा छोटो चर्चा
पेसाले घुमक्कड अर्थात् पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोल (२०२६)ले नेपालका विभिन्न ठाउँको भ्रमण गरिसकेको कुरा उनको कृतिले बताउँछ । यसर्थ उनी एउटा यायावर हुन् भन्दा फरक पर्दैन । यसरी घुम्ने क्रममा देखेभोगेका घटनालाई मार्मिक पाराले उनले आफ्ना निबन्धमा उतार्ने गरेका छन् । उनका हालसम्म ‘यात्राका पाइला’ (२०७६) र ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ (२०७८) नामक दुईवटा नियात्रासङ्ग्रह प्रकाशित भएका छन् ।
त्यसो त राजेन्द्रमान डङ्गोल कविताको बाटो हुँदै नेपाली निबन्धमा प्रवेश गरेका लेखक हुन् । मिति २०६० जेठ ८ गतेदेखि सुरु गरेको यात्रा विवरणलाई समेट्दै २०७७ माघ २४ गतेसम्मका दैनन्दिन विवरणलाई समेटी उनले पछिल्लोे नियात्रा तयार पारेका हुन् । देशका कुनाकाप्चाको वर्णनदेखि लिएर हिमाल र पहाड चढ्दाको वर्णन गरेर यायावरीय शैलीमा उनले तयार पारेको पछिल्लो कृतिको प्रस्तुति ज्यादै प्रभावकारी छ । हामीसँग अरुलाई देखाउनका लागि अग्ला अग्ला हिमाल छन्, पर्यटक घुमाउनका लागि पनि थुप्रै हिमाल छन् र स्रष्टालाई लेख्नका लागि पनि हिमाल र हिमालका विषयमा तयार विभिन्न सङ्कथनहरू छन् । यही मेसोमा उनको हिमाल वर्णन तारिफयोग्य छ । उक्त कृतिमा हिमाल मात्र होइन, पहाड र त्यसको वरपरका विभिन्न गाउँहरू पनि आएका छन् । ती गाउँका जीवनभोगाइका विविध पाटाहरू आएका छन् । यसर्थ उक्त कृति नेपाल चिनाउन उपयोगी छ ।

हिमाल र हिमाली साहित्यबारे छोटो विमर्श
हिमालमा पाइला नटेकेको र नजिकबाट हिमाल नदेखेको भए पनि हिमाल हामी जोकोही नेपालीलाई ज्यादै मन पर्ने विषय हो । हिमाल भनेको जमेको पानी मात्र होइन, अनुपम सौन्दर्यको भण्डार पनि हो । त्यसैले हिमाली सौन्दर्यले हामी सबैलाई मनैदेखि तान्छ । त्यसलाई उतारेर तयार पारिएको चाहे त्यो गीत, कविता, निबन्ध वा उपन्यासका रूपमा नै उतारिएको किन नहोस् मलाई त निःसर्त मनपर्छ । यस मानेमा आदरणीय उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यास मेरो रोजाइको पहिलो कृति हो । त्यस्तै रामकृष्ण ढकालको स्वरको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ गीतले पनि मलाई निकै भावुक बनाउँछ ।
नेपाली निबन्धका क्षेत्रमा हिमालबारे प्रशस्त लेखिएको छ । चाहे त्यो देवीचरण श्रेष्ठको हुम्लाका बारेमा होस् कि भीष्म उप्रेतीको मनाङका बारेमा होस् मलाई उत्तिकै प्रिय लाग्छ । त्यस्तै जय छाङ्छा र प्रतीक ढकालका हिमालसम्बन्धी निबन्धले पनि त्यत्तिकै तानेको छ मलाई । नेपालका बारेमा नभए पनि कृष्ण बजगाइँका हिमालसम्बन्धी वैदेशिक निबन्धहरूले पनि मेरो बौद्धिक खुराक बन्ने गरेको छ । मेरो पाइतालाले अहिलेसम्म हिउँ टेक्न नपाएकाले मैले हिमालसम्बन्धी आफ्नै खाले धारणा बनाएर आँखामा हिउँ र मनमा हिमाल बोकेर हिँडेको छु । कुनै दिन मेरो पाइताला हिउँमा परेछ भने म पनि राजेन्द्रमानको जस्तै निबन्ध लेखूँला, अहिलेलाई उनको निबन्ध पढेर समीक्षामा रमाउने चेष्टा गर्दै छु ।

‘पैतालामा हिउँ ः आँखामा हिमाल’ कृतिका बारेमा छोटो चिनारी
फिनिक्स बुक्स, काठमाडौँको प्रकाशन हो ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ । नियात्राकार राजेन्द्रमान डङ्गोलको पछिल्लो नियात्रा कृतिका रुपमा ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ (२०७८) आएको पाइन्छ । यसक कृतिको भूमिका लेख्ने क्रममा कवि आर.एम्. डङ्गोलले यस्तो लेखेका छन् ः
“पछिल्लो समय अत्यन्त सक्रिय र ऊर्जाशील प्रतिभाका रूपमा देखापरेका व्यक्तित्व हुन्, राजेन्द्रमान डङ्गोल । यो कृति उनको नियात्रा लेखन यात्राको निरन्तरताको दोस्रो साक्ष्य हो । यो कृतिमा व्यावसायिक प्रयोजन, पर्यटन प्रवद्र्धन र स्वतन्त्र वा मनमौजी ढङ्गले सम्पन्न वैयक्तिक यात्रा अनुभूतिलाई दैनिकी लेखनको ढाँचामा व्याख्यात्मक र विवरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । उच्च हिमाली भेगको जनजीवन र संस्कृतिप्रति नियात्राकारको गहिरो अभिरुचि देखिन्छ । उच्च स्थानबाट देखिने अलौकिक, रहस्यमय दृश्य, त्यहाँका थुम, भन्ज्याङ, घाँटी, नदीनाला, छहरा छाँगा, ताल तलैया जस्ता प्राकृतिक सम्पदाको महिमा, बौद्ध स्तूप छ्योर्तेन, मणिवाल वा लुङ्दा–लुङ्दरले सिँगारिएको सांस्कृतिक झाँकी उनको लेखनको विषय बनेको छ ।” (पृ. १९–२०)
जम्मा ३९० पृष्ठको ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ कृति छिचोल्न सामान्य पाठकलाई कम्तीमा एक हप्ता लाग्छ । उक्त कृतिलाई ११ वटा खण्डमा विभाजन गरिएको छ । हरेक खण्डको सुरुमा श्याम श्वेत खालको चित्र र त्यसको पछाडिको पृष्ठमा त्यसलाई बुझाउने खालका वाक्यहरू राखेर पाठकको मन तान्न खोजिएको छ । यो प्रविधको जमानामा श्याम श्वेत फोटोको सट्टा रङ्गीन फोटो राखेको भए अझ प्रभावकारी हुने थियो कि ! भन्ने मेरो व्यक्तिगत ठम्याइ रहेको छ । उक्त कृतिको मूल्य रु. ५९९।– राखिएकाले सामान्य पाठकको पहुँचभन्दा केही पर छ भन्ने मलाई लागेको छ ।

‘पैतालामा हिउँ ः आँखामा हिमाल’मा अभिव्यक्त भावहरू
नेपालका विभिन्न ठाउँको पैदल यात्रा गरी ती ठाउँका बारेमा दैनिकीका रुपमा लेखिएका टिपोट नै ‘पैतालामा हिउँ ः आँखामा हिमाल’ भन्ने नियात्रा कृतिको विशेषता हो । यसमा हेलम्बु, मुस्ताङ, इन्द्रदह, पोखरा, सिराइचुली, नार गाउँ, कोरोला नाका, काठमाडौँको काँठ, पिके हिमाल, रुबी भ्यालीजस्ता ठाउँका अतिरिक्त मन्थलीको माझीगाउँ घुम्दा अनुभूत गरेका घटनालाई दैनिकी लेखनको शैलीमा विभिन्न शीर्षकमा सजाइएको छ । जीवनको लय मिलेको हुँदैन, त्यसै गरी यो कृतिमा पनि प्रत्येक खण्डलाई बराबर खालको शीर्षकीकरण नगरी विभाजित एघार खण्डमध्ये छ वटा खण्डमा दुई वटा शीर्षकमा, दुई वटा खण्डमा तीन वटा शीर्षकमा, एउटामा पाँच वटा र अर्को एउटामा छ वटा शीर्षकमा यात्रा विवरण पस्किएको पाइन्छ । यसरी यो कृतिमा कूल ३१ वटा नियात्रा समेटिएको छ । यो कृतिमा मलाई मन परेका केही सन्दर्भ र भावलाई यहाँ पस्केको छु ः

नियात्राकारले हेलम्बुको यात्रा गर्दा यहाँ सगरमाथाको सम्झना गरेका छन् । आफू सानो पहाड चढ्दा थाकेको देखेर तेन्जिङ र हिलारीको सगरमाथा आरोहणलाई यसरी सम्झेका छन् ः
३५०० मिटरमा पुग्न त हामीलाई यति कठिन भइरहेको छ भने कस्तो भएथ्यो होला तेन्जिङ र हिलारीलाई सगरमाथाको चुचुरोमा पुग्न ! सम्झिरहेको थिएँ ती दुई मानवलाई । समस्त मानवजातिका लागि सर्वाधिक गौरवकोे दिन थियो, सगरमाथालाई जितेको त्यो दिन अर्थात् सन् १९५३ मे २९ । (पृ. ३८)

घुमन्तेको पाइला एकै ठाउँमा स्थिर नभएर गतिशील भइरहन्छ, यो कुरा लेखकको लेखनीले पुष्टि गरेको छ । उनी धौलागिरि पुगेपछि हिमाल पारि पुगेको अनुभव गर्छन् । तर त्यहाँ पनि उही लयमा बतास चलिरहेको पाउँछन् । उनको मनमा यता र उताको अनुभूति टम्म छ भन्ने कुरालाई तलको साक्ष्यले पुष्टि गरेको देखिन्छ ः
धौलागिरिको आँगन भएर हिँडिरहेका छौँ हामी । हामी हिँडेको नियालिरहेछ धौलागिरिले । लार्जुङ छाडेर कोवाङ र खन्ती हुँदै कालीगण्डकीको उबडखाबड बगरमा लर्खराउँदै छिचोलिरहेका छौँ, एकपछि अर्को सुन्दर बस्ती । हिमालपारि पुगिसकेका छौँ, यति बेला । उही लयमा चलिरहेछ बतास । (पृ. ६५)

हिमाल बस्नका लागि होइन, केबल हेर्नका लागि हो भन्ने उनको ठम्याइ छ । हिमालमा बस्नेको जीवन निकै जोखिमपूर्ण छ भन्ने ठान्छन् उनी । हामी हिमालमा पाइला नटेकालाई त्यो कुरा के थाहा ? हिमाल बुझ्नका लागि हिमालसँग सङ्गत गर्नैपर्छ भन्ने उनको तर्क मलाई मन प¥यो । उनको हिमालका बारेको यो धारणामा जीवन र दर्शन घुलेको पाइन्छ ः
हिउँलाई टाढाबाट हेर्नु, सुम्सुम्याउनु, खेल्नु र महसुस गर्नु एउटा कुरा । हिउँसँग सङ्गत गर्नु नितान्त अर्कै कुरा । हो, हिउँ भोग्न हिउँसित सङ्गत गर्नैपर्छ । अझ हिमालमै बस्नुपर्छ । अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता । आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले । जोगिन सक्नुपर्छ हिउँसित, नत्र खाइदिन्छ हात, खुट्टा र बनाइदिन्छ अन्धो । (पृ. २०९)

उनको समग्र कृति पढेपछि उनले हिमाल मात्र होइन, पहाड र थुम्काथुम्कीहरू पनि चढेका छन् भन्ने थाहा पाइन्छ । त्यसो त म चितवनको बासिन्दा भएर पनि चितवनको सबैभन्दा अग्लो चुली अर्थात् सिराइचुली चढेको छैन । उनले त्यहाँ पुग्दाको गरेको यो अनुभूतिले मलाई ज्यादै रोमाञ्चित तुल्यायो ः
आफैँमा भव्य छ– सिराइचुली । यहाँबाट देखिने भूगोल झनै भव्य । मौसमल साथ दिएको त्यो पल देखिए– रक्तिम हिमाल, हरिया वस्त्र लपेटेका पहाड र तराईका विशाल फाँट । (पृ. १४४)

उनले पहाडको वर्णन गर्दा केवल पहाडका रूपमा मात्र नगरी त्यसलाई हाम्रो संस्कृतिसँग पनि दाँजेको कुरा मलाई ज्यादै मन प¥यो । उनको यात्रा वर्णनमा आएको यो सांस्कृतिक चेतना हाम्रा लागि निकै मनमोहक छ ः
चोरीको अभियोग लागेर बिटुलिएका इन्द्र चतुर्दशीका दिन जामाचो डाँडोमा पुगी हिमालको शीत खाएर चोखिएका र पूर्णेको दिन यही बाटो हुँदै स्वर्ग फर्कंदा यहाँ स्नान गरेका थिए रे । तसर्थ इन्द्रजात्राको भोलिपल्ट यहाँ मेला लाग्ने गर्छ । भक्तजनहरू रातभर बस्छन् र भोलिपल्ट बिहान दहमा स्नान गरेर फर्कन्छन् । (पृ. ९९)

उनले पहाडको यात्रालाई कतै संस्कृतिसँग, कतै दुःखसँग त कतै प्रकृतिका छटासँग पनि दाँजेर हेरेका छन् । पहाड हेरेर यात्रुहरू दङ्ग परे भने बल्ल यात्रा सुखद हुन्छ भन्ने उनको पनि ठहर पाइन्छ । पहाडमा देखिने विविध छटालाई उनले यसरी उतारेका छन् ः
रूपौला बादलले सुन्दर जवानी फिजाउँदै थियो हेलम्बुको आकाशमा, चञ्चल र चलायमान बनेर । बादलकै घपनीले छपक्क छोपिँदै गए, नीला पहाड–पर्वत । छोपिँदै गए, हिमालको फूल जस्तो मुस्कान । रहस्यमय आकाशगङ्गा । बादलको तमासा । आकृतिका अनेकानेक बिम्ब । आश्चर्यमा परेथेँ म । (पृ. ५६)

उनको यात्रा वर्णनमा नेपालका गाउँहरू पनि निकै ठाउँममा आएको छ । सबै गाउँको विवरण लेख्दा समीक्षा लामो होला कि भन्ने डर छ मलाई । तर पनि धादिङको गाउँ र कोरोनाको कहरलाई यसरी मिसाएर गरिएको चित्रणलाई मैलै बिर्सन सकिनँ ः
ढिस्को खारेर निकालेको बालुवा धमाधम पखाल्दै थिए केही श्रमिक । कोरोनाको यस्तो महामारीमा पनि काम पाएकै छन् । प्रकृतिले नै दिएको छ, बालुवाको पहाड । खोला धाउनै नपर्ने । यही बालुवा पखालिएर आइपुग्छ काठमाडौँ र उठ्छ पहाडजत्रो घर । (पृ. २६१)

यात्रामा निस्किएपछि दिनको उज्यालोमा मात्र होइन, निस्पट अँध्यारोमा पनि हिँड्नुपर्ने हुन्छ । समथर मैदानमा मात्र होइन, भिरालो बाटो र कतिपय डरलाग्दा भीरमा पनि हिँड्नुपर्ने हुन्छ । त्यस्तो खतरनाक बाटोमा रातको अँध्यारोमा यात्रा गर्दा कस्तो अनुभव हुन्छ भनेर उनले यस्तो लेखेका छन् ः
टर्चलाइटको उज्यालोमा आफैँले बनाएको बाटो छाम्छु । ठम्याउन सकिरहेको थिइनँ– म बाटो हिँडिरहेछु कि बाटो मसित हिँडिरहेछ । उज्यालो पनि आफैँलाई देखाउनु कि अशोकलाई । केही गरी चिप्लिइहाले ज्यान त भेटाइएला । प्राणवायु चाहिँ वायुमण्डलमा मिसिन्छ । (पृ. ३५२)

उनको यो कृतिमा यी र यस्ता उद्धरणहरू असङ्ख्य छन् । यहाँ तिनको लामो विवरण पेस गरेर यहाँको समय बर्बाद गर्न चाहन्नँ । समीक्षाको अन्त्यतिर उनले निबन्धमा राखेकोे यो भनाइसँग निकै म सहमति जनाउन चाहन्छु ः
“यात्रा, यात्रा र यात्रा ।”
आफू परियो यात्राप्रेमी मान्छे । कसैले मलाई मेरो जीवनका ती ओटा लक्ष्य सोधे भने मैले दिने सरल जवाफ हो यो । (पृ. ३३७)

समापन
र अन्त्यमा, नियात्राकार राजेन्द्रमान डङ्गोललाई अझ धेरै यात्रा गर्ने र नयाँ नयाँ निबन्ध लेख्ने प्रेरणा मिलोस् भन्ने कामना गर्छु । उनको लेखनको मुक्त कण्ठले प्रशंशा गर्दै उनले आफ्नो पेसा र व्यवसायबाट प्राप्त अनुभूतिलाई कलाको लेप लगाएर प्रस्तुत गर्न सक्नु नियात्राकार डङ्गोलको खुबी हो भन्ने निष्कर्ष मैले निकालेको छु । उनको नियात्रा लेखन अझ सशक्त बन्दै जाओस् भन्ने शुभेच्छाका साथमा उनको साहित्यिक उन्नयनको कामना गर्दै यो आलेखलाई यहीँ विसर्जन गर्न चाहन्छु । भबतु सब्ब मङ्गलम् ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।