17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हार भो कि जित !

कविता डा. हिम लाल श्रेष्ठ August 21, 2022, 11:34 am
डा. हिम लाल श्रेष्ठ
डा. हिम लाल श्रेष्ठ

हार र जितको बिचमा
म त मधुरो रेखा देख्छु साथी !
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी !

जब मझधारमा तिमि पुग्छौ
वारि र पारि सापेक्षित हुन्छन् |
एक पाइला पर सरे
पारि पुग्छौ
एक पाइला वर सरे
वारि आइपुग्छौ,
तिमीलाई मझधारसम्म
यत्नका साथ काँध थापेर पुर्याउँछन्
तिम्रो हरेक पाइलामा धुरु धुरु रुन्छन् |

हार र जितको बिचमा
म त मधुरो रेखा देख्छु साथी !
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी !

आफ्नो छिनोफानो आफै गर्छौ,
जित्यौं जित्यौं हार सबै निमिट्यान्न भो भन्छौ
असल र खराबको पातलो झिल्लिले
तिमीलाई झुक्याउँछ,

हार र जितको बिचमा
म त मधुरो रेखा देख्छु साथी !
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी !

अश्राङ्ग, गोरखा,(हाल – कटुन्जे, भक्तपूर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।