बाटोमा हिँड्दाहिँड्दै अचानक उसको दिमाखमा आयो । उसले आफैँले आफैँलाई प्रश्न सोध्यो,अब मैले ३० वर्ष जति बाँच्नु पर्छ । के अब म अरू ३० वर्ष बाचौँला त ? फेरि उसले आफैँले आफैँलाई उत्तर दियो,काल नआए त त्यो भन्दा धेर पनि बाचौँला । काल आइहाल्यो भने त के बाचौँला र । अब ३० वर्ष जति यी हातखुट्टा चले त बाँकी केही गरिन्थ्यो कि ! ऊ आफ्नै आयुसँग अझै लोभिइरहेको थियो । बाटो साँगुरिदै गएको छ । अगिसम्म फराकिलो बाटो देख्ने उसका ती आँखा अब छितिज नजिक देख्न थाले । नजिकै अगाडि एउटा बाँसको पुल रहेछ । सानो चेपारे पुल । एक जना भन्दा बढी एकै पल्ट तर्न नमिल्नेजस्तो । बाँसकै खम्बा । बाँसकै भाटा ओछ्याएर बनाएको गल्याकगिलिक गर्ने । बडो जतनसाथ खुट्टा उचालेर राख्नु पर्ने जस्तो । झण्डै दुवै खुट्टा छिरेका । तल गहिरो खोला थियो । झरेको भए निस्किन नभ्याइने । ३ मिनेट पछिको कुरा । अब आउने ३० वर्ष सम्झेर निकै लामो सास फे¥यो उसले । मनसँ भन्यो,झण्डै गइएको । विस्तारै मुटुको ढुकढुकी घट्यो । हातखुट्टा काम्न छोडे । धन्न मानो घोप्टिएको रहेनछ । दिन आइपुगेको रहेनछ र बाँचियो । त्यसो त के कति पल्ट मर्दै बाँच्दै गरेको मान्छे म । एक पल्ट रूखबाट लडेर । एक पल्ट सर्पले झण्डै टोकेर । दुई पल्ट पानीमा डुबेर । एक पल्ट करेन्ट लागेर । एक पल्ट झण्डै गाडिले किचेर । मनमनै सोच्दै थियो । अझै कति दुःख गर्न लेख्या छ ।
जीवनले ३८ औँ वसन्त पार गरिसकेपछि २०६५ साल अर्थात् आज भन्दा १०÷११ वर्ष अगाडिको कुरा । जतिबेला ऊ इजरायलमा थियो । यस्तो तहल्का देखेर ऊ पहिलो पल्ट छक्क परेको थियो । मेरो देशमा यस्तो कहिले होला ! यसरी बस चढ्न सातौँ तलासम्म म लिफ्टमा तलमाथि गर्न कहिले पाउँला ! यो तेलभीभको कुरा हो । त्यहाँको बसपार्क ६÷७ तलामाथि रहेको छ । ऊ भर्खरदेखि तेलभीभ निस्कन थालेको थियो । कामको व्यस्तताका कारण उसलाई छुट्टी मिल्दैनथ्यो । तेलभीभ इजरायलमा काम गर्ने सबै विदेशीहरूको भेट हुने थलो हो भन्ने कुरा पनि राम्रोसँग थाहा थिएन । नेपाल चौतारी थियो,पहिले सबै नेपालीको भेट हुने थलो । लेभेन्स्की पार्क त पछि पत्ता लागेको हो । त्यही बसपार्कको तल एकापटीको पेटीलाई नेपालीहरूले नेपाल चौतारी नाम दिएर भेट हुने थलो बनाएका थिए । २००४÷५÷६ सम्म निक्कै चल्तिमा आयो यो नामठाम । नेपालीहरू पछिदेखि लेभेन्स्की पार्क र मणिको पसल अगाडि भेट्न थाले । इजरायलको जुनसुकै भागमा काम गर्ने भएपनि छुट्टीमा तेलभीभ आउँदा नेपालीनेपाली बिच भेट्ने मुख्य ठाउँ हुन् यी नेपालीहरूका । त्यसपछि मात्र आ–आफ्ना अपार्टमेन्ट जाने हो ।
एक दिनको कुरा हो । शुक्रबारको दिन बेलुका साँझ पर्नु अगाडि । तेलभीभ आइपुग्नासाथ । बस नपाएर ऊ त्यस दिन किराँत मल्लाकीबाट सेरुत चढेर तेलभीभ झरेको थियो । माइक्रो बसलाई हिब्रु भाषामा सेरुत भनिन्छ । सेरुतको स्टेशन भने नेपाल चौतारी अगाडि भूइँमा रहेको छ । सेरुत नेपाल चौतारीको अगाडि आएर रोकिनासाथ ऊ सेरुतबाट ओर्लेर सटासट मणिको पसलतिर लाग्यो । उता जान पनि बस पार्ककै तल अगाडिको मेन बाटो भएर जानु प¥थ्यो । ऊ पेटीपेटी भएर जाँदै थियो । उसलाई बस पार्क अन्डरग्राउण्डमा पनि छ भन्ने कुरा थाहा थिएन । तेलभीभको बस स्टेशन इजरायलको केन्द्रीय बस स्टेशन हो । इजरायलको सबैतिर जाने बस यहीँबाट छुट्छन् । त्यसबेला उसलाई यो पनि थाहा थिएन । पछि थाहा भएको हो । त्यस्तो बस स्टेशन त जेरुसेलममा पनि भर्खर मात्र बन्दै थियो । बल्न त अगाडि हरियो बत्ती बलिरहेको थियो । दसा भनेको यस्तो हुन्छ । उसले बाटो काट्न खुट्टा उचाल्ने वित्तिकै रातो बत्ती बलिसकेको थियो । उसले बत्ती देख्दा ऊ बाटोको बिचमा पुगिसकेको थियो । त्यति नै बेला जमिनदेखि एक तला मुनिबाट त्यही बाटो भएर बस बिजुलीको गतिमा हुइँकेर उसको छेउमा आइपुग्यो । ऊ यता जाऔँ कि उता जाऔँ भयो । जोडले बे्रक लाग्दा बस धस्रिदै उसको खुट्टा नेर आइपुग्यो । बसले यस्तो आवाज निकाल्यो कि जो कोहीले पनि अनुमान गरिसकेका थिए कि त्यहाँ एउटा डर लाग्दो दुर्घटना भयो । सायद मानिस गाडीको चक्का मुनि रोटी जस्तो भएर टाँसिएको होला । त्यहाँ उसलाई देख्नेहरूले त मनमनै समवेदना पनि प्रकट गरिसकेका थिए । सायद उसलाई पनि म मरेँ भन्नेसम्म थाहा भयो । ऊ पछाडि फर्कन खोज्दै थियो । केले उसलाई यस्तरी धकेलेर अगाडि हुत्यायो । गाडिले नै धकेलेर हुत्याए जसरी हुत्यायो । हावाले मात्र रहेछ । मणिको पसल अगाडि पुगेपछि मात्र उसलाई थाहा भयो कि म आज कसरी बाँचे हँ ! मानिसले साँच्चै आपतमा आफ्ना–आफन्तलाई सम्झन पनि पाउँदो रहेनछ । उसले कसैलाई सम्झन पाएन । उसलाई यति मात्र लाग्यो । पुनर्रजन्म भनेको यही रहेछ । उसले पछाडि फर्केर त्यतिबेला मात्र हे¥यो । बस हुइँकेर टाढा पुगिसकेको थियो । मानिसहरू उसरी नै बाटो काटिरहेका थिए ।
त्यसो त नेपालमा पनि आकलझुकल त्यसरी कहिलेकाहीँ बसले ठककर दिन नखोजेको होइन । कहिले सामान्य आफ्नो गल्तिले । कहिले गाडीको । यस्तो हुँदापनि केही समयपछि पहिलेकै सामान्य अवस्थामा फर्कन्थ्यो,मनस्थिति । यो पटक भने गहिरो चोट लाग्यो,उसको ह्रदयमा । मृत्यु त काँ टाढा रहेछ र ! सामान्य गल्तिले पनि जाने रहेछ ज्यान । दिमागमा यही कुरा घुमिरहयो । ऊ आफ्नो आयु सम्झेर टाढा कतै हेर्दै टोलाइरहेको थियो । एउटा इजरायली उसको नजिक आएर भन्दै थियो,एक पाइलो मात्र पछि सरेको भए तिमी आज रहने थिएनौ । यतिबेला नेपालमा तिम्रा बाउआमा रोइरहेका हुने थिए । त्यतिबेलासम्म पनि उसलाई आफू इजरायलमा छु भन्ने होस थिएन । त्यति मात्र होइन । त्यसको कति दिनसम्म उसको हृदयमा घाम लागेन । दिन पनि रात जस्तै भयो । त्यो ऊ अरू कोही नभएर म नै थिएँ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै हो ।