19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईर्ष्या

कविता रेजिना गौतम August 21, 2022, 3:45 am
रेजिना गौतम
रेजिना गौतम

प्रिय ईर्ष्या,
अदृश्य तिमी एउटा शक्ति हौ
जो सधैं अतृप्त छौ ।
तर, मेरा लागि प्रिय छौ
मेरो सफलतामा तिम्रो ठूलो योगदान छ
ईर्ष्या !

म अघि बढ्छु भन्छु
तिमी पछि पछि खुट्टा तान्न आउँछौ
त्यही तिमीले खुट्टा तान्छौ भनेर नै
म चाँडो चाँडो दौडन्छु,
तिमीले नखेद्ने हो भने
मेरो यात्रा बीचैमा रोकिन पनि त सक्थ्यो
म नरोकिनु नै तिम्रो योगदान हो इष्र्या
त्यसैले तिमी मेरो प्रेरणा हौ ।
तिमी मलाई कमजोर बनाउन खेद्छ्यौ
तिमी चाहन्छ्यौ कि !
म लत्रिएर तिम्रो शरणमा आउँ,
तिम्रो पाऊ पुजा गरुँ
धुप, अक्षता चढाऊँ
र दिप बालेर आरती गरुँ
तिम्रा ती चाहना बुझे पनि
ईर्ष्या !

मसंग धुपध्वाँर र आरती गर्ने
कुनै कला छैन
हो मसंग धुपध्वाँर र आरती गर्ने कला छैन
तिमी चाहन्छ्यौ
म संधै एकै ठाउँ बसुँ
तिम्रो मर्जीमा मात्र चलमलाउँ
तिम्रो इशारामा मात्र हिंडौं र बोलौं
अनि तिमीलाई माथि ठेलिरहँु
आफू भुँईमा बसेर
सकेसम्म त गरेकै हो
तर, तिम्रो अतृप्तीको कुनै सीमा रहेन
तिम्रो तृप्तीको भाँडो कति बेला भरिन्छ ?
कसको मनमा कति बेला पस्छेउ ?
र डेरा जमाउछ्यौं ।
जसको मनमा डेरा जमाउछ्यौं
रात निद न दिन भोक त गराउछ्यौं नै
भएभरका रोग र शोक बढाउँछ्यौ,
कतिको उच्च रक्तचाप ?
अब यो भन्दा माथि नजाऊ
तिम्रो थर गोत्रबारे धेर–थोर जानकार नै छु
ईर्ष्या !

तिमी चाहन्छ्यौं आफूलाई उछिनेर
कोही अघि नबढोस्
कसैले अरुलाई आफूभन्दा राम्रो नभनुन्
आफ्नो भन्दा अरुको कुरा कसैले नसुनुन्
राम्रो नलगाउनु, नखानु, नहिड्नु,
तिम्रो पहुँचभन्दा माथि सम्बन्ध विस्तार नगर्नु
तिमीभन्दा अघि बढ्ने
शाहस नगर्नु,
यी तिम्रा चाहना, कामना र क्रियाहरु
मेरा लागि चेतनाको स्रोत हुन्
तिम्रा अतृप्त भावहरु नै
मेरा हिड्ने गोरेटा हुन्,
दोबाटो र मुल सडकसम्म पुग्ने
आधार तिमी नै हौ इष्र्या
त्यसैले त प्रिय छौं
तिमीले कुभलो चितायौ
मेरा लागि प्रेरणा बन्छ,
तिमीले हैसियत मापन गर्यौ
दृढता र संकल्प बन्छ,
बद्नाम गर्न तम्सिन्छौ
मेरा लागि लक्ष्मण रेखा बन्छ
तिमीले छरेका भ्रमहरु जोे छन्
ती मेरा लागि प्रतिज्ञा बन्छन्
त्यसैले तिमी मलाई प्यारो लाग्छ ।
तिमीले छरेका
इष्र्याका बीजहरु
मेरो ऊर्जाका स्रोत हुन् ।
अदृश्य तिमी मेरो प्रिय शक्ति हौं
जो सधैं अतृप्त छौं ।
तर, मेरा लागि प्रिय छौं ।
प्रिय इर्ष्या ।

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।