मैनबत्तीको शिखा उभिराखेको थियो, चारवटा हावा आए। एउटाले, पहिले उसको शिरलाई ठेलेर नुहायो, अर्कोले घुँड़ापछिल्तिरको खोप्चोमा घुँड़ै मोडे़ेको धड़-बलले एक हान्यो, जसले गर्दा मैनबत्तीको शिखाको शारीरिक उपस्थिति तीन भाँच भयो।
हावाहरू गए।
शिखा फेरि उभियो।
बत्ती हिजोदेखि छैन।
कथा लेख्न बसेको छु। तर यो सानो हावा र मैनबत्तीको खेलले मलाई एकछिनै भए पनि अभुतपूर्व आनन्द दियो।
मैनबत्तीको शिखाले त्यति उज्यालो बनाएको छ, जति मलाई चाहिएको छ; तर त्यति देखाउन सकेको छैन, जति मलाई आवश्यक लागेको छ।
यहाँ एउटा ‘टुइस्ट’ के भइदियो भने म तर्सिएँ पनि। कथा लेख्दै गर्दा आरम्भमा मैले एउटा खेत बनाएको थिएँ। खेतबाट कथा आरम्भ हुँदैथियो। अचानक त्यस खेत लेखेको प्रसङ्गमा त (अनुच्छेदमा) दुईचारजनाहरू पो सल्याङ्-मल्याङ हिँड़्न थाल्छन्। गोरू नारिरहेकाहरू, फरूवा, कोदाली काँधमा बोकेका मानिस आकृतिहरू, जम्मै आ-आफ्नो सरजामहरू भूइँमा फ्याँकेर उकालो हेर्छन्। म नियालेर हेर्छु, आँखामा विश्वास लाग्दैन। कसैलाई भनुँ भने ‘तिमी मातेका थियौ होला!’ यस्तै स्थितिमा भनिँदो हो।
मैले त्यहाँ देखेको दृश्य यस्तो थियो -
समय: एउटा राटो मारिसकेर किसानहरूलाई तिर्खा लाग्न आँटेको दिउँसो।
दृश्य: धेरै पर फुसका घरहरू। खेतका कोठाहरू, आँखाले भ्याउन्जेल। बिच-बिचमा हरियो झ्याम्म रूख। पर किनारहरूमा जङ्गल पोथ्राहरूसित बिचबिचमा विद्यार्थीहरूसित एकाधिक शिक्षक उभिएजस्ता ठाउँठावँै नारिवालका गाछहरू। कोही कोही धेरै टाढ़ामा गोरू नारिरहेका किसान। नाम पाइसकेका पात्रहरू हुन् - महबुब, लक्षमण, फुलिया, मोती, करिम, सागर, मणि, फुलेन, किशन
फुलेन: (उँभो हेरिसकेर फरूवा घोप्टाएर तालुमा बस्दै) हामी त ए कथाको पात्र हुँ रे ! लेख्नेले जस्तो लेख्यो, भोग्नु पर्ने - भन्छु। यस्तो जिन्गी राम्रो हो ? जहिले शास्ती भोग्नु परेको।
फुलिया: (नाकमा फुली लगाएकी, काली-काली) दुःख किन भोग्छस रे त फुलेन ? तँ त दैलो खोलिएको पिंजड़ामा भित्र बसिरा’को चरा होस् रे चरा !
करिम: (जिस्काएर) ए चरा ! उसलाई लिएर उड़िदिइहाल्। जहाँ पुग्छस्। आकाश तेरो हो ।
फुलेन: (सुर्ती सल्काएर) आः कुरा नगर यार। दुःखमाथि अर्को दुःख थप्नु ? नाई रे ! (मुखमा ओठको दुलो बनाएर धुवाँ छोड़छ)
फुलिया: ऐ कसलाई दुःख भन्छस रे फुलेन। हामीको दुःख नभन् है। दुःख त अइले तेरो एक्लो प्राण छ, कहिले फुर्रै उड्छ रे, थाहपत्तो छैन।
फुलेन: मैले तेरो नाम भनें न कि फुलिया ?
(सबै हाँसे)
मोती - शादी करेपछि तो जन्नत हुन्छ नि !
करिम - यसलाई नसुन् है। यो रात १ बजीसम्म मोबाइलमा गन्दा गन्दा फिलिम हेरेर धत्ताएको कुरा कसलाई थाह छ बे? भरे डाक्तरले भिटामिनको दबा लेख्दियो। के बिमारी पत्तो नलागेको ! बाबुको पैसा खुप सकिदियो। (कुममा हिर्काएर) जाति छस् अइले ?
महबुब - छिः इनसल नगर। उसको ईच्छाअनुसार गरोस न ऊ। धत्याएको त छ, हात त हालेको छैन !
मणि - (छेवैमा आएर फुलेनको कुम समातेर बस्यो।)
करिम - जोतारो लिएर आ भनेको त तँलाई तीन दिन लाग्च ?
मणि - (गोजीबाट ठुटा निकालेर सल्काउँदै) त्याँ कुरा नगर मुर्दार्। पासो थापेर आ’को।
फुलेन - कसलाई ?
मणि - खै कसलाई हो ? आफैं चिनेर पर्छ।
लुङ्गी र गन्जी लगाएको सागर अलि पर कानमा टयाकटयाके मोबाइल टाँसेर उभिरहेको थियो। मोबाइल टक्टकाउँदै आयो।
सागर - यो कम्पनीको सम्बन्ध पनि कड़ा छ रे यार! रिचार्ज गरयो - छ, रिचार्ज गरेन...........(बस्छ).....एकै मिनटमा छैन।
उनीहरूको गलबदी उत्तिकै थियो। मैले लेख्दै गरेको डायरी बन्द गरेँ। म कथामा कति डुबेछु भने यी पात्रहरू यसरी आपसमा सम्वाद गरेको देखेँ। म डुबेको हो कि साँच्चै ती छन् ? ती कोरा पात्र-पात्राहरू मात्र हुन् कि तिनीहरू संवेदित् भावतरङ्गको मजस्तै संसारवासी हो ? मैले निर्क्यौल गर्न सकिनँ; तर मैले यो कथा पूरा त गर्नु नै थियो। मैले कथाको एउटा ‘प्लट’ बनाइसकेको छु मानसमा।
कथा -
महबुब यस कथाको मुख्य पात्र हो। महबुबले अरू साथीले जस्तै कलिलै उमेरमा स्कुल छोड़ेर जिन्दगी पढ़न थाल्यो। अहिले ऊ लक्का जवान छ। उसका सम्पूर्ण उल्लेख भएका साथीहरू यसै उमेरका हाराहारीमा छन्। उसको सबैभन्दा नराम्रो बानी भनेको उसले हस्तमैथुन गर्छ। उसलाई यो नराम्रो बानी हो भन्ने कसरी थाह लाग्यो भने एकदिन ऊखुबारीको बिचमा पसेर हस्तमैथुन गर्दैथियो। अचानक वीर्य पातमा छिर्का पुग्यो। तर त्यसले सुखापात भेटेर त्यसबाट आगोको सिर्जना भयो। आगो लाग्यो, मणि र सागर मुखबाट धुवाँ उड़ाउँदै त्यहीँ छेउबाट ‘के भो ? के भो ?’ भन्दै बाहिर निस्किए। तीनजना भएर आगो निभाए। उनीहरूले महबुबलाई पनि त्यही दिनदेखि बिँड़ी खान सिकाए।
महबुबलाई ठूलो तृप्ति भएको थियो त्यसदिन।
ऊ एकदिन खेतको आलीआली नै साइकिल कुदाउँदै आउँदै थियो। साइकलले यति हल्ला गर्थ्यो कि चिनिहालिन्थ्यो - गाउँमा त्यो सबैभन्दा पूरानो हो।
किशनले बाटोमा भेटेको महबुबलाई भन्यो - ‘साइकिल लिएर कुदिबस्। मजा छ तँलाई।’
कान्टे भएर बाटो छोड़ेको किशनलाई विपरितगामी महबुबले ढाड़ देखाएर जाँदै भन्यो - ‘परबाट आरामले कुदेको देख्छ, दुःखले पाइडल मारेको कल्ले देख्छ ?’
किशनले राजेन्द्र कुमारको शैलीमा रातो गाम्छा काँधमा हालेर त्यसको दुवै खुट्टा पक्रेर आफ्नो दिशा अघि बढ़यो।
महबुब जाँदैथियो। वरपर सेतो माटीले पिरामिड, पिरामिड बनाएको माटोको घैलामा पानी भरेर आएकी फुलियासित उसको जम्काभेट भयो। सानोतिनो जम्काभेट मात्र होइन, उनीहरू ठोकिए नै। फुलियाको घैँटा लड़ेर आलीबाट गुड़यो, भर्खरै धान काटेका बुच्काहरूले उसको घैलालाई हतार हतार पक्रिएर थमाए। गुड़दै पानी भक्लक भक्लक भक्लक हुँदै पोखियो।
फुलिया आत्तिई, पहिले उसले आफ्नो फरिया सम्याई। महबुब उतापट्टि छरिएको साइकल टिप्दैथियो।
अलिकति हिलो पनि लागेछ फुलियाको गालामा। कराई -
“तेरो आँखा नभएको, हेर मेरो घैला पोखाइदियो। दुःख गरेको पानी कसरी भर्नु मैले हँ ?“
यति भन्दा कम्मरमा हात लाएकी फुलियाको मुन्टो घुल्टुक्क हल्लियो। आँखा चिम्म भएर उघारिए।
अहिलेसम्म साइकल उठाइसकेको महबुब बोल्यो - ‘मेरो साइकल छ, जाऊँ कि फेरि लिन? .....म पुरयाइदिन्छु’ - यो पछिल्लो ‘दिन्छु’-मा ‘उ’ थपेर उसले निकै लामो र लयात्मक बनायो।
‘पर्दैन’ - भन्दा उनीहरूका आँखा चार भए। आँखामा के मोहनी थियो दुवैको, दुवै चुप लागे। हेरिरहेर, पाहा बत्तीमा लट्टिए झैँ भए। दुवैका गम्भीरताले बाँधेको ओठको मुस्कान फुस्किए।
फुलियाले कुहिनाको हिलोलाई अझ लतपत दल्दै भनी - “मुर्दार !“
उसका काला गाजालु रेखित चमचम नानी आँखा, गहिरो हाँसेका थिए।
महबुबले घैला टिपिदियो। “ए यो त खालि भएछ“ भन्यो। “पोखाएपछि भरिन्छ त नि ?“ उसले भनी अनि तानेर हिँड़ी।
महबुब लठुवाजस्तो उभिएर हेरिरहयो।
***
मेरो मनले मानेन बत्ती आउने छाँट छैन। यो बसाईँलाई सदुपयोग किन नगरूँ ! भनें आफैंलाई। लेखिहाल्नै पर्छ कि जस्तो लाग्यो।
मैले कथा लेख्नलाई फेरि डायरी उघारेँ। हेरेको त, सबै पात्रहरू उसरी नै बसिरहेका रहेछन्। उनीहरूको आधारभूमि मात्र बनाएको छु। अक्षर अघि सार्न पाइएको छैन। मेरो ‘प्लट’मा भएको कथा लेख्न पाउने हो कि होइन, म निर्क्यौल गर्न सकिरहेको छुइनँ। किनभने उनीहरू कुरै गरिराखेका छन्।
फुलेन- “हामी कथाको पात्र हुँ। कथा लेखिदिनेले हाम्रो जिन्गीसित खेलवाड़ गर्छ नि ! उसको कथा राम्रो बनाउनलाई। सङ्घर्ष नभई कथा हुँदैन अरे ! भनेर हाम्रो जिन्गीमा जबर्जस्ती सङ्घर्ष घुसाउँछ। हामी काठ पसेको मुलाजस्तो अरट्ठ पर्छौं। के फूलैफूलको भएर फूलफूलमा अन्त्य हुँदैन हाम्रो जिन्गी ? हामीले किन दुःख भोग्नु ? लेख्नेले हामीलाई दुःख किन भोगाउनु, जब कि सुखको अप्सन छ।“
लक्षमण - “दुःख छ र नै त सुख छ। सुख त मोमो हो। दुईघण्टाको पियाज काटेपछि, कोपी छिलेपछि, किमा गरेर फूलबुट्टा भर्ने दुःख गरेपछि एक केस्रा सुख बनिन्छ - मोमो। क्वाप्प खायो सकियो। मोमो खान्छस् भने फेरि दुई घण्टा दुःख गर्।“
फुलियाले सुर्तीको कागज फेदमा पुरयाएर छेवैको पानीमा फ्याँकी।
मोती - “आनन्द खोज्छस् भने त ब्याह कर्। केटीको खुट्टा स्वर्ग जाने सिँढ़ी हो।“ (त्यो हाँस्दा सप्रिएका मकैको उसिनेका दानाजस्ता पहेँला दाँतहरू देखिए।)
फुलिया - (उसको गालामा एक चटकन लगाई।) “त्यसो भए, योचाहि नर्क पठाउने टिकेट हो रे ! ला खाः“
मोती - (बिच्क्यो) - “बिना कारण किन मारिस रे मलाई ?“ (उसको हातमा घुस्सी थियो।)
फुलिया - “कुरा उता गर्छस्“ - (‘मार्नु’को कारण खोली फुलियाले) - “टेक्छस् अरूको पा’ !“
सबैले देखे - मोतीको पइताला, अझै पनि फुलियाको बुढ़ी औँलामाथि तीनवटा औँला कुल्चिएर आरामसित बसेको थियो। मोतीले हटायो।
परबाट केराको पातमा डल्लो पारेको समान बोकेर कुद्दै आयो करिम। समूहमा आएर खोल्यो -नाङ्गा आलुहरूबाट बाफ उड्दै थिए।
करिम - “उसिनेको“
फुलियाले एउटा टिपेर फुलेनलाई दिई। फुलेनले पुलुक्क हेरयो।
फुलिया - “खा....आ ! के हेर्छस् ?“
करिमले सबै पोको पारयो। कागले रोटी टिपेर हिँड़े झैँ गएर महबुबको पल्लोपट्टि बस्यो।
करिम - “आफ्नो प्रेमीलाई आफैं पकाएर बाँड़्। “
फुलेन - “ऐ कसलाई प्रेमी भन्छस् रे ? प्रेमीको आँखा देख्दैनअस् ?“
फुलिया - “छोड़िदे न फुलेन! नराम्रो के छ ? भनि त हाल्यो“
मणि - “चिया पनि लेऊ“ (उसले सिल्भरे मग मायाले सारिदियो)
लक्षमणले खोजिरहेको जस्तो तानेर सुरूप्प पारयो। तत्कालै फेरि ‘फुड़ुत्त’ गरेर जिभ्रोको ताँदो तानेर ओठको धनुबाट केही चिज पर हुत्यायो। भन्यो - “झिङा हालेर दिस्?“
ऊ फिला पड़काएर हाँस्यो।
***
यता -
मैले लेख्नु पर्ने कथामा महबुबसित फुलियाको राम्रै सम्बन्ध गाँसिएको छ। उनीहरू बरको रूखमुनि पंचायत! हुने ठाउँमा बस्न पुग्छन्, साँझमा। उनीहरूको सम्बन्ध कसैले देख्नु नहुने सम्बन्ध हो। जुन सम्बन्ध हामीले टीभी, धारावाहिक, गीतहरूमा हेर्न रूचाउँछौँ। यसैले उनीहरू छेलिएर बस्छन्, बरको रूखले आफ्नो पिठ्यूँले मान्छेहरू छेलिदिन्छ।
महबुबले थाह गरयो - फुलिया नजिक भएपछि उसको हस्तमैथुन गर्नुपर्ने भावना मरेको छ। फुलिया आएपछि उसले देख्यो - घरमा कुनै पनि जनावर, जनावर मात्र होइनरहेछ। दिनभरी चरेर आउने गौरीको सानो बछेड़ा त, गौरीको छोरो पो रहेछ। माउबच्चा भनेको उनीहरू त आमा छोरो पो रहेछन्। अस्ति बेचिदिएको कालेलाई जानअघि छटपटिएको जस्तो गर्ने लाली त कालेकी दिदी पो रहिछ। उनीहरू दिदी भाइ पो थिएछन्। कुकुरलाई माया गरेर ख्वाएको मासु त एउटा परिवारको बाबुको पो रहेछ।
रातो बोलको पानीमा पौड़ँदै गरेको कमिलालाई देखेर ऊ एकदिन तालपोखरीमा डुबेर झण्डै मरेको दृश्य उसलाई सम्झना आयो। उसले पात दिएर उसलाई सुखा जमिनमा टक्टकाइदियो। अर्को कमिला आएर उनीहरूले मुख सुँघासुँघ गरे। महबुबलाई लाग्यो उसकी फुलियासित उसको भेट भयो।
“एउटा तारा मात्र देखियो भने घरमा झगड़ा हुन्छ अरे!“ - फुलियाले क्षितिज उज्यालो बलेको ठिक माथिपट्टि बैगुनेकालो भएको आकाशमा शिशाकलमको टुप्पोले टिक्क लेखेजस्तो एउटा तारालाई हरेरे भनी।
महबुबले पनि त्यहीँ हेरयो। भन्यो - “हुँदैन, यो त ताराहरूको चौतारा हो। जो जसले घरमा छिटो काम सक्यो उ नै फस आएर यहाँ बस्यो।“
फुलियाले उसको अनुहारमा हेरी। खानेमुखलाई तीनवटा औँलाले छोपी तर खित्काले ठेलेर हुत्याइदिँदा ऊ भुतुक्क परी।
सबै चराहरू घर फर्के। झ्याउँकिरीहरूले रागश्री गाउन थाले। देखिने संसारको हल्ला कम भयो, नदेखिने संसारको चहलपहल बढ़न लाग्यो।
फुलियाले भनी - “म छुइनँ भने तिमी के गर्छौ ?“
महबुबले भन्यो - “मायामा किन मान्छेहरू यस्तो अलच्छिन प्रश्नहरू गर्छ होला !“
“हाम्रो केइ’ मिल्दैन, त्यो हुनसक्छ“ - फुलियाले भनी।
“देखाइजाला!“ भन्यो महबुबले।
“तिमीले मलाई माया गरे पो।“ पुरीजस्तै फुलिई ऊ।
“यस्तो माया हो ?“ महबुब जिभ्रो निकालेर काली भयो, ‘आ...’ गरेर हाँस्दै भागी फुलिया। उनीहरू रूखका वरपर घुमे।
दृश्य ड्रोनले तानेर पर पुरयायो। टाड़ाबाट हेर्दा दुईवटा छायाहरू कालो छाया वरपर कुद्दैथिए। मधुरतम सङ्गीतमय हल्ला थियो उनीहरूको।
***
खटियामा पल्टेको थियो - फुलेन। उसकी आमा बाहिर इँटाको चुल्हामा आगो फुक्दैथिई। बहिनीचाहिँले ठेउका उप्काउँदै थिई भित्ताबाट।
मोबाइलमा शक्तिको सिन आयो। केटी “बचाऊ ! बचाऊ!“ गर्न लागी।
“थुइक्क! तित्लीजस्तो नाजुक ! उसलाई बचाउन एउटा पाले हो र हिरो, जो सधैँ ऊसित जोक जस्तो टालिएको हुन्छ ?“ - आफैंसित बात मारयो फुलेन।
“ऐ तँ नकराई हेर्न सक्दैनस्, फिलिम ?“ आमाले कराई -“फिलिम चुपो लागेर हेर्नुपर्छ, भन्छु झन्, नहेरेको मान्छेलाई कराएरै बुझाइदिन्छ त तेरो हरकतले“
बाबु आइपुगे। गोरू बाँध्ने डोरीको गाँठो काटिएको डल्लोले परैबाट हाने।
“बड़का छोरालाई पनि यसरी कस्छ।“ ऊ उठेर यता आयो।
“मङ्गलु उता चरनमा घोप्टिरा’को छ, ऊ यता उत्तानो परिरा’को छ।“ उभिएको बाबुले छोरोको बाटो हेरेर कराए।
थपे - “तन्त्र फेरिइसक्यो, छैन स्वतन्त्र भा’को दिमाक।“
***
फुलियाले आमाको पाउडर काखीमा खन्याई। अघिको घाममा पसिनाको खोला त्यतैबाट बगेको थियो। घमौरी हुने बेला हो यति बेला।
उसको घरमा गाइ ब्याएकी छे। बाछी उठेर धर्खरिँदै हिँड़नखोजेको देखेर ऊ मारसितले हाँसी। गोठधन्दा गर्दै गरेकी आमाले भनी - “मस्त तरूणी भएको छस् नि ! कुखुराको सुली काठले बाङ्गो बनाइवरी हाँस्छस्। यसमा हाँस्नुको कारण के छ रे?“
“अहिले एकछिनमा हाम्रो बाबा यस्तै त हिँड़ने हुन्छ“ - ऊ हाँस्दै भित्र कुदी।
-----------
उता लक्षमणको घरमा कलह मच्चिएछ। मोटो भुँड़ी भएको मान्छे, लक्षमणको हजुरबुवा खाटमा बसेका धुमधामले कराउँदैथिए -
“बढ़ेका छोराहरूको संस्कार छैन। संस्कृति मरिसकेको घर। ठूला बड़ाको सम्मान छैन। मेरो बाकसको साँचो कहाँ गयो भन्छु यो लछुले तपाइँको ओच्छयान पल्टाउनुहोस् भन्यो। यो कलिले खाएको जुगमा यो मेरो आँखामा किन किचलो परेन, के देख्नु परो एस्तो ? ठूला बड़ाको सम्मान गर्नु त कता हो हँ ? उल्टो जिउँदैमा घाट पुरयाउन खोज्ने?“
सबैजना त्यहाँ चुप्पले खड़ा थिए। बुहारीहरू मुखमा पछयौरी खाँदेर उभिएका थिए। छोराहरू निहुरमुन्टो फुटबलको प्यानेल्टी सर्ट छल्नु पर्ने खेलाड़ी जस्ता कम्मरमुनि हात बाँधेर खड़ा थिए। हजुरमुआ काँचोधागो कात्दै थिइन् सुन्दै। उनलाई थाह थियो पतिको रिस।
पल्लो घरबाट उनकै साथी चाचु पनि आइपुगेर उभिए।
“के भयो रे पण्डित ? किन हल्ला गरेर भाँड़ा बजाउँदैछस्?“
हजुरबुवा बोले - “मेरो साँचो हरायो भनेको ओच्छयान पल्टाऊ भन्छ, यो लछु। हातमा खेलाएर हुर्का’को। संस्कार, वंस्कार छैन, आलु जसरी पोलेर खायो“
त्यसपछि पनि झण्डै एकाध घण्टा त्यहाँ कोहोलो मच्चियो। बूढ़ा त्यहाँ बसेर कराइरहे। सबैले खोज्न थाले साँचो। सबैतिर खोजे, पसिना भेटियो, साँचो भेटिएन। कसो कसो गर्दा चाचुले नै हजुरबालाई - “लौ त उठ्“ भनेर उभिन लगाई राड़ी पल्टाएको त - साँचो त्यहीँ प्रश्नचिन्हजस्तो भएर सुतिरहेको थियो।
“यो के हो ?“ चाचुले त्यही प्रश्नचिन्हले उनलाई ठुङे।
एकछिन अल्मलिएर हजुरबुवा बोले - “राखेको चिज भेटिन्छ त ! घरमा संस्कार हुनुपर्छ नि!“
“आफैं बसेर, तेरो संस्कार !“ चाचु गन्गनाउँदै गए।
***
म यी पात्रहरूभन्दा निकै निरीह मान्छेहरूको भिड़को एउटा मान्छे। पात्रहरूको संसारलाई हेरिरहेको छु, हुन त आफ्नै पनि एउटा अलग्गै कथा छ।
भाषाको एउटा मनपर्दो परिभाषा पढ़ेको थिएँ - ‘भाषा मनमा उठेका प्रतिक्रियाहरूको अभिव्यक्ति हो।’
मलाई मैले कथा लेख्नु पनि त्यस्तै लाग्छ कोही कोही बेला। ‘मनमा उठेको प्रतिक्रिया।’ जुन दिन मान्छेको प्रतिक्रिया हुँदैन त्यस दिन सायद साहित्य मर्छ कि!
प्रतिक्रिया त थाकेर, मरेर पनि नहुँदो हो, कुरा त्यसको होइन। औचित्य वा सार बुझेर हराएको प्रतिक्रिया ठिक होला !
त्यसो हो भने सार के त गनगनको ? भन्ने लाग्छ।
म प्रतिक्रिया गरेर द्वन्द्वरत् हुन्छु, भइरहन्छु - आफ्नै स्व’सित। तगारो लगाउँछु, आफ्नो चिन्हारीको सन्देश बोकेर आउने हरेक सम्भावनाहरूलाई।
प्रतिक्रियाभन्दा परको साहित्य-मूल्य, आफैं हात हल्लाउँदै यादृच्छिक लहरमा अलग्गै चिनिन्छन्। तिनको पानामा अक्षरहरू, बिजनबाट कपना भएर हल्लिँदै गरेको देख्छु।
यो मेरो बसिबियाँलो चिन्तन हो।
मैले बुझेको त छु, तर कथामा सङ्घर्ष हाल्नु परेको छ। पात्रलाई दुःख दिएर हुन्छ कि कसरी !
दिन अलि धुम्मिए कि बत्ती जान्छ यता। बाटो, पानी, रासन, स्कुल, बजार, मनोरन्जन, पुस्तकालय, खेल मैदान,पर्यावरण-जङ्गल] सङ्कीर्तन, ध्यानस्थल, बाहेक जम्मैको सुव्यवस्था छ। मूलमूल धरोहरहरू राम्रैगरी उठ्नै नसक्ने बनाइएको हुनाले यसको राखनधरणमा थप् टाउको खियाउनु नपर्ने आनन्दको जोहो गरिएको छ र हामी गाउँका बासीहरू पनि धरनाढुक्क छौँ किनभनेे हामीलाई विश्वास यति प्रबल छ कि कुनै कुरा गम्भीरताले सोच्न हामीलाई कोही एकदुईवटाले अवकाश दिएको छैन, हामी कोहीद्वारा शोषित छौं भन्ने हाम्रो ठम्याइ प्रबल छ। यसो थाल सारेर त खाइन्थ्यो होला तर दोषी नै ‘उ’ भएपछि हामी थलोको थलै सबै गुजारा चलाइरहेका छौं। हामीलाई मायाले पाल्नु पर्थ्यो, किनभने हामी भनेको हामी हो तर ‘उनीहरूले’ केही नगरिदिएर अवस्था हाम्रो खराब भएको त्यो ग्यारेण्टेड कुरा हो। त्यो हाम्रो जमातको होइन भने ‘होइन’ भनेर विरोध गरोस्।
यो कुरा म कथामा लेख्न सकिरहेको छुइनँ।
बसेँ चौकीमा, मैनबत्ती बालेँ, कथा लेख्छु नै भनेर डायरी उघारेँ -
तर पात्रहरू त यतिबेला उफ्रिरहेका पो थिए। फुलेनको लट्री परयो अरे। हाहाहुहु गरिरहेका सबै। अरे हौ ! ऊ त धनी भइसकेछ। यो राम्रै कुरा थियो तर मेरोनिम्ति भने होइन। मेरो कथाको विपरित यो घटना भएको मैले अनुभव गरेँ। किनभने म चाहँदिनँ थिएँ कि फुलेन धनी बनोस्, चाहँदिनँ थिएँ कि उसको जिन्दगीमा समृद्धि आवोस्। उसको दुःख र सङ्घर्षहरूद्वारा उसलाई ऊजस्तै दुःखी र सङ्घर्षशील पात्रहरूको प्रतिनिधि पात्र बनाउने कथामा मेरो ध्येय थियो, र उसलाई त्यसरी नै सक्नु पनि थियो। यो पात्र खुशी भइदियो भने धेरै मीठामीठा शब्दहरू मेरो कथाबाट भुसजस्तै छानिएर उड्न सक्ने थिए र मेरो लेख्ने कथा भताभुङ/ल्यालडुङ् हुनसक्ने थियो। कथाको मजबुती मेरो कथाको पात्रको दुरूवस्थामा भर पर्थ्यो। तर फुलेनले लट्री जित्यो भन्ने सुनेर म अलि खच्किएँ।
फुलेन त भाग्यवादी पात्र थिएन। म पात्रलाई लट्री पारिदिन कसरी सक्थेँ ? पात्रलाई लट्री पारेर जिताएर पाठकलाई भाग्यवादको सन्देश पुरयाउनु छैन ; तर यहाँ त्यस्तो भइसकेछ।
डायरी बन्द गर्दागर्दै सुनिएको उनीहरूको वार्तालाप यस्तो थियो -
फुलेन - “हाम्रो पनि जिन्गी हो, जो जिन्गी हामीले एउटा कथामा मात्र पाउँछौँ। अर्को कथामा हुइन्छ हुइँदैन, के थाह रे ! यो जिन्गीलाई आशिर्वादपूर्ण किन नबनाउने ?“
लक्ष्मण - “तँ चिता म पुरयाउँछु, ईश्वरले भन्छ अरे! 'तँलाई चितामा पुरयाउँछु'- भनेको हामी सुन्दारै’छौँ।“
महबुब - “फुलेन, किशन र करिमको मेहनतले मिन्नत पुरा गरयो। अब हाम्रो छ बारी एकएकको।“
मोती - “शादी कर् शादी!“
फुलेन - “मैले त केटी पाइसकेँ हो !“
करिम - “को पाइस् रे ? को पाइस् ?“
फुलेन - “के भन्नु तँलाई ? जब कि थाहै छ - फुलिया!“
***
यता -
मेरो कथाको ‘प्लट’ मा महबुबसित जातिगत विभेदताको कारण देखाएर फुलियाको विवाह नभएको देखाउने मेरो योजना थियो। अब मैले यसलाई फेरबदल गरेँ। किनभने महबुबसित फुलियाको विवाहले सङ्घर्ष बढ़नेवाला थियो । म मेरो कथामा सङ्घर्ष बड़ोस् नबड़ोस्, तर यी पात्रहरू मेरो नियन्त्रणबाहिर रमाउन दिन चाहन्ना थेँ। मैले लेख्न लागेको कथामा त पात्रहरूलाई म कथाकारले पो माया गर्न पाउनु पर्छ त, म कथाकारले पो उसको दुर्दशामा प्रेम र सहानुभूति राख्न पाउनु पर्छ त, म कथाकार पो उसको तारणहार हुन पाउनु पर्छ त। पात्रहरू आफैंले कथा रच्न थाल्यो भने म कथाकारको अस्तित्व के होला ? मेरो नियन्त्रणबाट बाहिर गएर उनीहरूको जीवन आनन्दमय भयो भने म के गरूँ ?
अब यो कथा, परिधि नाघेर मेरो ‘स्व’-को केन्द्रमा आइसकेको मैले अनुभव गरेँ।
महबुब र फुलियाको विवाहको लागि पृष्ठभूमि मानसिक धरातलमा यसरी तयार हुन थाल्यो मेरो अब - (म अलि आत्तिएको पनि भएँ, कथामा छिटो परिणति हुनु मेरो आवश्यकता भइदियो।)
त्यही चौतारीमा महबुबले भन्यो - “म तिमीसित जमेर दुईचार बच्चा जन्माउन चाहन्छु।“
“के ?“ फुलियाले भनी।
“बुझेनौ ?“ महबुब प्रेमले तरल भइरहेको थियो।
“तिमीले मभित्र बच्चा खोज्छौ ?“ फुलिया बोली - “म त तिमीभित्र एउटा मन्दिर खोज्छु रे ! जहाँचाहिँ आफ्नो प्रेमको भगवानलाई सजाएर पुज्न सकुँ।“
“एउटै त कुरा हो !“ महबुब टिकट भइसकेको रेल’लाई लिएर जति नै आत्मविश्वासी थियो।
“एउटै कुरा कसरी हुनसक्छ ? म मशीन हो ? यति लामो प्यार तिमीले मेरो मासु हेरेर गरेको थियौ ?“ उसको आँखाको राँकोमा बिस्तारै रातो राप देखिनथालियो।
मलाई फुलियाको रवैया ठिक लागेन र मैले आफ्नो सोचलाई अर्कोतिर फर्क्याएँ। कथाको धरातल बनाउने उपक्रम त्यतिमै थाँतीमा रहयो।
पानी पिएँ।
पात्रहरूले जब आफ्नो वस्तुता थाह पाउँछन्, कथा रच्नेलाई गाह्रो पर्दोरहेछ। यसो गर् भन्दा मान्दैन, उसो गर् भन्दा मान्दैन।
-----------
उही मैनबत्ती छ। मानिसको आँसु पग्लिन्छ। मैनको आँसु जम्छ। जमेर अमूर्त प्रतिमा बनिएको छ। जो उसकै आधा धड़सित टाँसिएको छ।
फुलेन र उसका साथीहरूको बस्ती मैले लेखेको एक अनुच्छेदबाट आफैं दुबोजस्तै मौलिएर अघि बढ़ेको छ। उनीहरूले आफ्नो विचारअनुसार आधार र जीवन बनाइरहेका छन्। म सोंच्छु - ‘विचारले संसार बनाउँछ’ भनेको हो रहेछ क्यार !
एकपल्ट डायरी उघारेर हेर्ने मन भयो -
पल्टाएँ।
त्यहाँ त उत्सव पो हुँदैथियो।
मेरो मुल कथानायक महबुब त लक्षमणसित नाचिरहेको पो थियो। करिम र सागर रिबिन कागज टाँसिरहेका थिए। राम्ररी बुझ्दा थाह पाइयो -
फुलेन र फुलियाको विवाह हुँदैरहेछ।
फुलेन त गम्भीर पात्र भयो अचानक। भन्यो - “देख्यौ साथीहरू ! हामी कथा हुँ, पात्रको, तर कथाकारलाई कुनै मत्लप नभएको हुँदोरै’छ। हामीसित।
फुलेनको यो उल्टापाल्टी कुराले मलाई टाउको दुखेको जस्तो भयो।
खोलिएको पानाहरू टेबलमा छोड़ेर म अलि पर पुगें -
खिड़कीबाट बाहिर हेरेँ। एउटा चरा खिड़कीको यो कुनाबाट त्यो कुना गयो मेरो दृश्यमा; तर हुनसक्छ उसले वास्तविकतामा हामी मान्छेले धेरै समय लगाएर हिँड़नु पर्ने बाटोको दुरी तय गरयो।
माटोको कपमा ‘लभ’को चिन्ह छ। सोंच्छु - पाना ‘लभ’ भयो। पिपलको पात जस्तो आकारको पाना भनेको मुटु अरे! यसमा दुई कोठा छन्। जब कि मुटु त, मान्छेको मुटु त चार कोठाको पो हुन्छ अरे! पाना भएर मुटुको साइज घटेको हो कि ? अटाउँदैन चार कोठा यसमा ! औंलाको औँठीले टयाक टयाक बजाउँदै खेलाउँछु। खेलाउँछु कि झारिपठाउँछु, पाना बिचमा दुई फप्लेटो हुन्छ।
पार्श्वमा बज्दैगरेको धुनमा संयोग बज्छ -
‘भला हुआ मेरी मटकी, फूट गयी...’
एकछिनपछि विचार गर्छु, “जे होस्,लेख्नु पर्ने कथाको आधारभूमि-भावभूमि तयार जो छ, लेख्छु। यससित सम्झौता गर्नुहुँदैन“ भन्छु।
जसमाथि म यसो ध्यानकेन्द्रित फेरि गरिहेर्छु यतिबेला, आफूले लेख्नुलाई बनाएको कथाको प्लटमा, मानसमा I
थाह पाउँछु - मेरो मुख्य पात्र महबुबसित फुलियाको बोलीचाली नै बन्द भएर बसेको रहेछ। म उनीहरू बिच निकाह गराएर, कथालाई अर्को मोड़ लाने विचारमा थिएँ।
तर मेरो मानसमा बसेको कथाको आधार अलि हल्लिइसकेछ।
बत्ती आयो। सेतो उज्यालोमा मैनबत्ती मधुरो भयो। ‘कथा लेख्छु’ - भनें। यतिबेला डायरी उस्तै थियो, जस्तो मैले आरम्भमा छोड़ेको थिएँ। बोल्दै गरेका पात्रहरू सब् हराए। अब फुलेनले रचेको कथा भत्काउने मलाई कुनै आवश्यकता थिएन, कारण उनीहरू, उनीहरूको संसार यहाँ थिएनन्।
अन्यमनस्क भावले शीर्षकचाहिँ लेखेँ - - ‘लेखिन लागेको कथा’
तर साँचो भन्छु - कथामा लेख्नु पर्ने मेरो केही थिएन।
*