16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषा मान्यतापछिका अझै रहल कुरा

विचार नवीन पौड्याल August 21, 2022, 12:01 pm
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली भाषाले संवैधानिक मान्यता प्राप्तिपछि हामीले हाम्रो कर्तव्य भुल्यौं। यसका निम्ति जोडतोडले आन्दोलन गर्ने, आन्दोलनको नेतृत्व दिने संस्था र नेतृत्वले काम भइसकेकपछि यसलाई छोडिदिए। प्राप्ति भइसकेपछि त्यसको सठिक रूपमा यसरी कार्यान्वयनको पनि नेतृत्व र दिशा-निर्देश दिनुपर्ने थियो, त्यो भएन। मान्यता पाएर हामीले धेरै कुरा हासिल गरेकै छौं। हाम्रो परिश्रम खेरो गएको छैन, निराश भइहाल्नु पर्ने स्थिति छैन। यद्यपि अझै धेरै भाषिक सुविधा-सहुलियत पाउने पर्ने, त्यसमा हाम्रो विचार पुगेको छैन। यसबारे हामी आफैं कमजोर छौं। हाम्रो लिने हातले लिन सकेका छैनौं। हामीले अरू कसैलाई दोष दिनु हुँदैन, आफैलाई दिनुपर्छ। यद्यपि हामी निराश नभइ अझै अरू कर्तव्य निभाउँदै अघि बढ्नु पर्छ।
नेपाली भाषाको प्रयोगका निम्ति सामाजिक, राजनैतिक, सरकारी सबै तह र तप्काबाट आफ्नो आफ्नो कर्तव्य पालन गर्नुपर्ने देखिन्छ। सर्वप्रथम त हामी आफैं उदासीन छौं। हामी आफैं दोषी छौं, आफैंले आफैंलाई मास्ने काम गरिरहेका छौं। भाषा प्रयोगका यहाँ निम्ति मूलतः दुईवटा पक्ष रहेका छन्- सैद्धान्तिक र व्यावहारिक। सैद्धान्तिक पक्षमा भाषाको प्रयोगको निम्ति सरल उपाय, भाषाको आन्तरिक सरलीकरणको निम्ति सैद्धान्तिक चिन्तन आदि रहेका छन्। व्यावहारिक पक्षमा भने धेरै निकायहरूको व्यावहारिक रूपमा कर्तव्य र भूमिका रहेको छ। प्रस्तुत वार्तामा व्यावहारिक पक्षबारे मात्र प्रकाश पारिनेछ।
१. विद्यार्थीवर्गले गर्नुपर्ने कर्तव्य -
नेपाली भाषाको प्रयोग गर्ने विद्यार्थी नै पहिलो प्रयोक्ता हुन्। विद्यार्थीले नेपाली भाषा नपढे, नसिके र नजाने कसैको केही लाग्दैन। यहाँ नजिकैको सिलगडी शहरका धेरै विद्यालयमा एक विषयका रूपमा नेपाली लिनु नमानेको वा नलिएको कुरा पनि सुनिन्छ। त्यस्ता अनेक ठाउँ र शहर छन् जहाँ नेपालीलाई एक विषयका रूपमा पठन पाठनको सम्भावना छ। यसका निम्ति विद्यार्थीवर्ग आफैं सचेत हुनुपर्ने देखिन्छ। नेपाली अपठ्यारो हुन्छ भन्ने मिथ्या प्रचारले जरा गाडेको देखिन्छ। यद्यपि आफुले सधैंभरि बोल्ने गरेको मातृभाषा कदापि कठिन हुँदैन। नेपाली व्याकरण पढ्ने, बुझ्ने र चर्चा गर्ने गरे खासै अपठेरो हुँदैन। आफुले पढ्ने गरेको विद्यालय, महाविद्यालयतिर नेपाली विषय पढ्न पाइन्छ कि पाइन्न, नपाए त्यसका निम्ति सम्बन्धित संस्थानका मुख्य व्यक्तिलाई पत्राचार गरेर, माग राखेर भए पनि आफ्नो भाषालाई पठन-पाठनको विषय बनाउनु पर्छ। यसका निम्ति विद्राथी संगठन सक्रिय रूपमा अघि आउनु पर्छ। साथै उनीहरूले विद्यालय तहमा पनि नेपाली विषय खोज्ने कार्य गर्नुपर्दछ। विद्यार्थीवर्गले चासो लिए आफैंलाई लाभ हुन्छ नलिए आफैंलाई नोक्सानी हुन्छ।
२. शिक्षक-शिक्षिकाको कर्तव्य र भूमिका –
नेपाली भाषाको प्रचार र प्रयोगका निम्ति नेपाली विषय शिक्षक-शिक्षिकाको अति महत्त्वपूर्ण भूमिका हुन्छ। नेपाली भाषा शिक्षक-शिक्षिकाले अन्य विषयभन्दा यस विषयलाई बढी महत्त्व दिएर अध्यापन गर्नुपर्ने देखिन्छ। यसका निम्ति उनीहरूले नै बढी अध्ययन गर्नु पर्दछ। भाषा शैक्षणिक खेलाँचीको वस्तु होइन। विषयलाई रोचक बनाएर, विभिन्न उदाहरण दिएर, व्याकरणलाई रूचिकर बनाउने प्रयास गर्नुपर्छ। कतिपय विद्यालयतिर नेपाली व्याकरणलाई हेय र तुच्छ धारणा राखेर भाषा, साहित्य थोरै जान्नेलाई पढाउन लगाइन्छ। नेपाली भाषा शिक्षकहरूको शैक्षिक योग्यता नेपाली विषयमा समुचित शिक्षा पाएकै व्यक्ति हुनुपर्छ। यसो गरे मात्र विद्यार्थीले सही रूपमा भाषिक ज्ञान हासिल गर्न सक्छन्। हालसालमा विद्यार्थीको खच्कँदो नेपाली भाषिक ज्ञानको मूल कारण शिक्षक शिक्षिकाको अध्ययन र अध्यापनको कमजोरी र खेलाँची पनि हुन्छ। अँग्रेजी विद्यालयका नेपाली विषय शिक्षकहरूको अझ ठुलो कर्तव्य र चुनौती रहेको छ। त्यस्ता विद्यालयका शिक्षक-शिक्षिकाले आफ्नो मातृभाषालाई पनि प्रभावकारी ढङ्गमा बुझाउने प्रयास गर्नुपर्छ।
३. अभिभावकवर्गले गर्नुपर्ने कर्तव्य -
विद्यार्थीवर्गपछि अभिभावकवर्गको पनि नेपाली भाषा पठन पाठन गराउनका निम्ति ठुलो भूमिका छ। आफ्ना सन्तानले मातृभाषाप्रति कतिको चासो लिएको छ, कतिको जान्दछ, यसबारे केही जानकारी पनि हासिल गर्नुपर्छ। आफ्नो नानीको विद्यालयमा नेपाली भाषा पढन पाउँछ वा पाउँदैन, शिक्षक- शित्रिकाको व्यवस्था गरिएको छ वा छैन, त्यसबारे जानकारी लिनु पर्छ। नेपाली विषयलाई पनि उत्तिकै महत्त्व दिएर नानीहरूलाई पढाउनु पर्दछ। नेपाली पढ्नलाई हौसला प्रदान गर्नुपर्छ। आफ्नो नानीले नेपाली नजान्दा गर्वबोध होइन, ग्लानिबोध गरी उसलाई समुचित शैक्षिक परिवेश बनाइदिनु पर्छ।
४. विद्यालय-महाविद्यालयले गर्नुपर्ने कर्तव्य –
नेपाली भाषाको प्रयोग र श्रीवृद्धिमा विद्यालय र महाविद्यालय आदिको पनि ठुलो भूमिका रहेको हुन्छ। नेपाली भाषी विद्यार्थी भएको विद्यालय वा महाविद्यालयमा नेपाली विषयलाई एउटा विषयका रूपमा लिने परिवेश सिर्जना गरिदिनु पर्छ। त्यस विद्यालय वा महाविद्यालयका सञ्चालन समिति र प्रमुख आदिले पनि योग्य नेपाली विषय शिक्षक-शिक्षिकाको व्यवस्था गर्नुपर्ने देखिन्छ। विशेष गरी अँग्रेजी माध्यमका विद्यालयमा मातृभाषालाई दोस्रो भाषाको रूपमा ग्रहण गर्न लगाएको निती अवलम्बन गर्नु पर्ने देखिन्छ। आई. सि. एस. ई. बोर्डमा दोस्रो भाषालाई पनि मुख्य विषयको रूपमा दिएर अनिवार्य रूपमा पास गर्नु पर्ने नियम सह्राहनीय छ। यद्यपि विद्यालयले पनि नेपाली भाषा र साहित्यको राम्रो ज्ञान भएको सुयोग्य व्यक्तिलाई शिक्षक-शिक्षिकाको रूपमा नियुक्ति दिनु पर्दछ। अन्य विषयमा पढेको भन्दा नेपाली विषयमा नै अनर्स अथवा एम. ए. गरेको सुयोग्य शिक्षकको नियुक्ति आवश्यक छ।
५. सामाजिक, साहित्यिक र राजनैतिक संघ-संस्थाहरूको कर्तव्य र भूमिका -
नेपाली भाषाको श्रीवृद्धि र संवर्द्धनमा सामाजिक र साहित्यिक सङ्घ- संस्थाहरूको ठुलो भूमिका र कर्तव्य रहेको हुन्छ। नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ, गोर्खा जन पुस्तकालय, खरसाङ, सिलगडी देवकोटा सङ्घ, सिलगडी इत्यादि जस्ता साहित्यिक र सामाजिक सङ्घ-संस्थाको ठुलो अभिभारा रहेको हुन्छ। यस्ता संस्थाहरूको भूमिका मान्यता पाएपछि काम सकिदैन। यति बेला यस्ता संस्थाहरूले अझै काम गर्नु छ। यस्ता सामाजिक-साहित्यिक संस्थाहरूले यस्ता कतिपय शैक्षिक संस्थानमा नेपाली पठन-पाठनको निम्ति निवेदन, दबाब सिर्जना गरिदिने काम गर्न पर्छ। यस्ता गर्नुपर्ने कामहरू केही छन्। जस्तै-
क) कतिपय कलेजहरूमा नेपाली विषय पठन-पाठनको निम्ति पहल गर्ने-
दार्जिलिङ पहाडमा प्रायः जम्मै जसो कलेजमा नेपाली विषय उपलब्ध छन् तर सिलगडी, तराइ, डुवर्सतिरका डिग्री कलेजतिर भने नेपाली विषय पढाउने व्यवस्था गरिएको छैन। जस्तै-
१. सिलगडीको सूर्य सेन कलेजमा नेपाली विषय पढाइ हुँदैन।
२. सिलगडीकै मुन्सी प्रेमचन्द हिन्दी कलेजमा नेपाली पढाइ हुन्छ तर त्यहाँ पूर्णकालिक शिक्षक नियुक्ति गराइएको छैन।
३. सिलगडीकै आचार्य प्रफुल्ल चन्द्र सरकारी महाविद्यालयमा नेपाली विषयको प्रमुख भारतीय भाषाको रूपमा, ऐच्छिक र अनर्स तहमा नेपाली विषयमा पढाइ शुरू गरिएको छैन।
४. डुवर्सको नयाँ सरकारी कलेज बानरहाट हिन्दी सरकारी महाविद्यालय, ननीगोपाल महाविद्यालय, जयगाउँ, अलिपुरद्वार कलेजतिर पनि नेपाली पढाइ हुँदैन।
५. उता आसाममा जम्मा २० कलेजमा प्रमुख भारतीय भाषा (MIL) का रूपमा नेपाली भाषा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ। चारवटा कलेजमा मात्र ऐच्छिक नेपाली पढाइ हुन्छ। गौहाटी विश्वविद्यालयले नेपाली विषयमा अनर्सको पाठ्यक्रम अनुमोदनका निम्ति विभिन्न संगठनबाट प्रयास गरिए तापनि पनि नै स्वीकृत भएको छैन। त्यहाँ नेपाली अनर्स चालु गरेर अझै अन्य नेपाली बहुल क्षेत्र र शहरका कलेजमा नेपाली पठन पाठनको निम्ति त्यहाँका सामाजिक राजनैतिक संघ-संस्थाहरूको ठुलो कर्तव्य र भूमिका रहेको छ।
६. मणिपुरमा दुइवटा सरकारी र एउटा निजी कलेजमा मात्र प्रमुख भारतीय भाषाका रूपमा नेपाली पठन-पाठन हुन्छ। अझै अन्य नेपाली जनसंख्या भएको शहरतिरका कलेजमा नेपाली भाषाको अध्ययन – अध्यापनको व्यवस्था गर्न सकिन्छ। त्यसका निम्ति त्यहाँकै संघ-संस्थाको चासोको विषय हुन्छ।
ख) ती ठाउँहरूका कतिपय सरकारी र गैरसरकारी विद्यालय तहमा पनि प्रथम मातृभाषाका रूपमा नेपाली पढाइ हुँदैन। जस्तो सिलगडीको सन्त जोसेफ्स स्कूल, डन बस्को स्कुल, मतिगडाको वेस्ट पोइन्ट स्कुल, ओदलाबाडी हिन्दी विद्यालय आदि। उता आसाम, मणिपुर, मेघालयतिरका नेपाली भाषी जनसंख्या भएको ठाउँमा कमसेकम मातृभाषा वा दोस्रो भाषा, तेस्रो भाषाका रूपमा नेपाली पढाइ गरिने व्यवस्था गर्नुपर्छ।
ग) कतिपय प्राइभेट नर्सरी स्कुलतिर पनि हाम्रा नानीहरूले बंगला, असमीय र हिन्दी पढ्नु पर्ने बाध्यता छ।
घ) विशेष गरी नेपाली साहित्य सम्मेलन दार्जिलिङले धेरै काम कुरा गर्नेपर्ने देखिन्छ। यो पुरानो गौरवशाली संस्था केही वर्षदेखि यता कानमा तेल हालेर अकर्मण्य भई बसेको छ। यसबाहेक नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ, गोर्खा जन पुस्तकालय, खरसाङ, नेपाली साहित्य परिषद्, सिक्किम, असम नेपाली साहित्य सभाले धेरै काम गर्नुपर्ने देखिन्छ। यस्ता संस्थाले विभिन्न विश्वविद्यालय, महाविद्यालय र विद्यालय तहमा नेपाली पठन पाठनको निम्ति लगातार माग गरिरहनु, विभिन्न सरकारी र गैरसरकारी भाषिक निकायमा नेपाली भाषाको निम्ति पत्राचार गरिरहनु आदि काम गर्नु पर्दछ।
ङ) संघीय लोक सेवा आयोग, राज्यहरूको लोक सेवा आयोगतिर नेपाली भाषा पनि एउटा पत्रका निम्ति लिने प्रावधान रहेको छ तर अब त्यसरी नेपाली लिएर परीक्षा दिने एकदुई जना मात्र भएका छन्।
च) त्यस्ता केन्द्रीय लोकसेवा आयोगतिर देखिएको ऐच्छिक र अनिवार्य नेपाली भाषा साहित्यको कठिन सिलेबसले गर्दा पनि नेपाली भाषा साहित्यमा उच्च शिक्षा नलिएका आवेदक र परीक्षकले उत्तीर्ण हुन कठिन पर्ने स्थिति पनि देखा परेको छ। यसबारे सरकारी निकायमा उक्त किसिमको सिलेबस तयारी पार्ने महानुभावहरूले पनि विचार पुर्‍याउन पर्ने देखिन्छ।
छ) इन्दिरा गान्धी राष्ट्रीय मुक्त विद्यालयमा पनि बि. ए. र एम. ए. एम फिल आदि तहमा नेपाली विषय राखिएको छैन।

६. सरकारी निकायबाट गर्नुपर्ने कर्तव्य -
१. नेशनल स्कुल अव् ड्रामा जस्तो सरकारी निकायबाट नेपाली भाषाका नाटकहरूको कतिवटा मञ्चन भएका छन्, त्यसमा नेपाली नाटकबारे के के कार्य भएका छन्, यसका केन्द्रहरू कता कता छन् र नेपाली नाटकबारे कुन कुन केन्द्रमा काम भएका छन्। यसबारे हामी धेरै अनभिज्ञ छौं। यसबारे सम्बन्धित अधिकारीबाट हामीले जानकारी लिने गरेका छैनौं।
२. नेसनल बुक ट्रस्टबाट नेपाली किताब कतिवटा प्रकाशित छन्, यसले किताब प्रकाशन र पुस्तक पठनको विकासका लागि के के कार्य गर्छ तथा नेपाली भाषा र यसका पुस्तकबारे के कति कार्य भएका छन्। यसले कतिपय संघ-संस्थालाई आर्थिक अनुदान दिएर संगोष्ठी, कार्यशाला आदि गरी किताब पठन विकासको निम्ति प्रोत्साहन दिने गर्छ। यसले नेपाली भाषासम्बन्धी कतिवटा संगोष्ठी, अधिवेशन र कार्यशाला अहिलेसम्म कतिवटा सम्पन्न गरेको छ, यसबारे अनभिज्ञ छौं।
३. साहित्य अकादमी, नयाँ दिल्लीबाट पनि नेपाली साहित्यसम्बन्धी धेरै कार्य भएका छन्। यद्यपि यसले अझै बढी काम गर्न सक्छ।
४. भारतीय भाषा संस्थान, मैसूरबाट पनि हामीले धेरै फाइदा लिन सकिरहेका छैनौं। यसले पुस्तक प्रकाशन गरिदिने र प्रकाशित भएका पुस्तक एक मुष्ठ किनिदिने व्यवस्था पनि गरेको छ। यसले पनि अन्य भाषाभाषीका निम्ति नेपाली भाषाको पठन पाठन गर्नलाई ठाउँ ठाउँमा भाषा प्रशिक्षण केन्द्र सञ्चालित छन्। यसले अनुवाद मिसन पनि सञ्चालन गर्ने गरेको छ। यसमा नेपाली भाषामा विभिन्न विषयका पुस्तक अनुवाद गर्न काम थालेको थियो तर सुयोग्य अनुवादकको कमीले अपूरो र अधुरो भएको छ। यसबाट प्रकाशित गरिएका जम्मा ३४५ वटा पुस्तकहरूमध्ये नेपाली भाषामा Hindi-English- Nepali Trilingual Dictionary - C.V. Sivaramakrishna नामको एउटा शब्दकोश र नेपाली लेखन शैली, नेपाली भाषिका खेल, नयाँ पल्लव (नेपाली नर्सरी राइम्स्) जस्ता थोरै पुस्तकहरू मात्र प्रकाशित देखिन्छन्। त्यसका धेरै सभातिर नेपाली भाषाको विशेषज्ञहरू उपस्थित नभएको इत्यादि कुरा पनि भएका छन्। यस भारतीय भाषा संस्थानको क्षेत्रीय भाषा संस्थान, गौहाटीमा अन्य भाषीका निम्ति नेपालीको पठन-पाठनको व्यवस्था थियो, २०१३ देखि त्यो पनि बन्द छ। त्यसबारे कसैले चासो दिएको जस्तो लाग्दैन।
५. राजाराम मोहन रोय पुस्तकालय, कोलकाता र राष्ट्रीय पुस्तकालय कोलकाता आदितिरबाट नेपाली पुस्तकको एकमुष्ठ क्रय गरिदिने काम भएको छैन।
६. सन् 1943 सालदेखि काशी हिन्दू विश्वविद्यालयमा नेपाली भाषा साहित्यको अध्ययन-अध्यापन शुरू भइसकेको हो। धेरै वर्षदेखि यता त्यहाँबाट डिप्लोमा, स्नातकीय, स्नातकोत्तर, एम फिल र शोधकार्य जस्ता अध्ययन अध्यापन हुने गरेको छ। त्यहाँ भारतीय भाषा विभागबाट काम चलाइएको छ तर पूर्णाङ्गी नेपाली विभाग छैन।
७. विश्वभारती विश्वविद्यालय, शान्तिनिकेतन र जवाहरलाल नेहरू विश्वविद्यालय जस्ता देशको र राज्यको राजधानीमा पनि नेपाली विभाग हुनुपर्ने थियो। तर कतैबाट यसबारे पहल भएको छैन।
८. पहिले पहिले दार्जलिङ जिल्लामा आउने सबै सरकारी कर्मचारीले नेपाली भाषा सिक्नु पर्ने अनिवार्यता गरिएको थियो। जिल्लाशासक, महकुमा शासकलगायत विभिन्न उच्च ओहदाधारी अनेपालीभाषी अधिकारीले नेपाली भाषा सिक्नु पर्ने व्यवस्था थियो। सिक्ने र सिकाउने दुवै पक्षलाई विशेष भत्ता दिने प्रावधान थियो। हालमा त्यो हटेको छ। त्यो प्रणाली फेरि लागु हुनुपर्नेछ।
९. प्रत्येक सरकारी कार्यालयमा नेपाली अनुवादकको पद सिर्जना गरेर नेपाली भाषाको जगेर्ना गर्ने दायित्व सरकारको हो।

७. भाषा साहित्य संस्थानका हाम्रो प्रतिनिधिले गर्नुपर्ने कर्तव्य –
साहित्य अकादमी, नयाँ दिल्ली, भारतीय भाषा संस्थान, नेशनल बुक ट्रस्ट, लोक सेवा आयोग आदि सरकारी र गैरसरकारी संस्थामा रहेका नेपाली भाषा-साहित्यका संयोजकहरूको पनि नेपाली भाषा प्रयोगसम्बन्धी ठुलो भूमिका हुन्छ। त्यस्ता संस्थानमा सुयोग्य र सक्रिय व्यक्ति पुग्नु पर्ने आवश्यकता छ। यसमा उहाँहरूको सक्रियता, कर्तव्यनिष्ठता र जागरूकताले पनि नेपाली भाषा र साहित्यको प्रयोगमा धेरै भूमिका निर्वाह गर्न सक्छ।
८. विभिन्न तहका पाठ्यक्रम निर्माताहरूको कर्तव्य –
पहिलो श्रेणीदेखि लिएर स्नातकोत्तरसम्मको नेपाली विषयको पाठ्यक्रम निर्माणले पनि भाषामाथि ठुलो भूमिका खेल्दछ। कुन श्रेणीका निम्ति कुन पाठ, त्यसमा के के आवश्यकता छ, नानीहरूले कुन कुन कुरा यतिको तहमा सिक्नुपर्ने छ, यसबारे सठिक निर्धारण गर्नु पर्ने आवश्यक छ। धेरै कठिन पाठ्यक्रम नहोस् तर सजिलो भन्ने बहानामा सारै फितलो र भाषिक ज्ञानसमेत नहुने खालको कमजोर पाठ्यक्रम पनि नहोस् भन्ने खालको पाठ्यक्रम निर्धारण गर्नुपर्ने आवश्यकता छ। नेपाली भाषा र साहित्यको पठन पाठनको स्तर दिन दिनै खस्कँदो अवस्थामा रहेको देखिन्छ। अघि अघिका मेट्रिक पास गर्नेको भाषिक र साहित्यिक ज्ञान जति अहिले बि.ए. पढ्ने वा पढेका विद्यार्थीमा हुन्न। प्रकाशकहरूको बजारको बिक्री र खपत हेरेर हल्का-फुल्का र निम्न स्तरीय पाठ्य-पुस्तक तयार गरेर पनि विद्यार्थीवर्गमा नेपाली भाषाको ज्ञान र रूचिमा ह्रास आएको पनि देखिन्छ।
९. भाषाविदहरूको कर्तव्य –
नेपाली भाषा कठिन भयो, हिज्जेमा एकरूपता छैन अनेक समस्या छन् भन्ने खालका गुनासो देखिन्छ। यसबारे भाषाविद्हरूले नयाँ नयाँ फर्मुला, निती, नियम र प्रणाली लागु गर्नु पर्ने देखिन्छ। कसरी र के गर्दा विद्यार्थीलाई नेपाली भाषा र साहित्य रूचिकर र ज्ञानवर्धक हुन्छ, भाषिक स्तर बढ्छ, त्यसबारे समीचीन रूपमा अध्ययन गर्नु पर्ने देखिन्छ। वर्ण विन्यासमाथि विवादरहित नीति निर्धारण गर्नुपर्ने, एकरूपता, सरलीकरण, मानक रूप आदिबारे चिन्तन मनन गरी विद्यार्थीवर्गमा नेपाली भाषाप्रति चासो जगाउने खालको काम गर्नुपर्ने देखिन्छ।
१०. आमजनताको कर्तव्य र भूमिका –
नेपाली भाषाको प्रचार-प्रसार र प्रयोगका क्षेत्रमा आमजनताको सबैभन्दा ठुलो भूमिका रहेको हुन्छ। जनताले चाहे, प्रचार-प्रसार र प्रयोग गरे नेपाली भाषाले अझ ठुलो भएर जाने अवसर पाउने छ। हालमा सूचना प्रौद्योगिकीको युगमा नेपाली भाषाको प्रयोग गर्ने बानी बसालौं। हामी आफु आफुमा इमेल, मोबाइल सन्देश आदिमा नेपाली भाषाको प्रयोग गर्न सक्छौं। अबको नयाँ कम्प्युटर प्रणालीमा मंगल फन्ट पाइन्छ, त्यसलाई सही उपयोग गर्ने गरौं। यस्तो किसिमको कम्प्यूटरीय प्रणाली जान्नेहरूले जतिसक्दो नजान्नेलाई सिकाउँ, अनि नजान्नेले पनि नेपाली भाषा प्रयोग गर्न सक्ने प्रणाली सिकौं। ईमेल, फेसबुक, वाट्यएप् आदि जस्ता प्रौद्यौगिक वस्तु आदितिर नेपालीमा लेखौं। किनकि नेपाली भाषा अरूले भन्दा बढी आफैंले जान्नपर्दछ, प्रयोग गर्नुपर्दछ। आफ्नो भाषामा जस्तो सजिलैसँग आफ्नो मनको कुरा व्यक्त गर्न अन्य कुनै भाषामा सकिन्न। हामी आफैंले सरकारी, गैरसरकारी कार्यलयतिर पठाइने वा दिने आवेदन पत्रादि नेपालीमा नै लेखौं। गाडीको नम्बर प्लेट, पोस्टर, होर्डिङ, विज्ञापन आदि नेपालीमा नै चलाउँ।
यसरी हेर्दा हामीले हाम्रो देशको संविधानको आठौं अनुसूचीमा भाषाको मान्यता पाएर पनि त्यसको पूर्ण रूपमा सदुपयोग गर्नसकेका छैनौं। यसमा हाम्रै कमजोरी छ। जति पाउने पर्ने त्यति पाउन आफै वञ्चित भएका हौं। हाम्रा विद्यार्थीवर्ग, शिक्षक-शिक्षिकावर्ग, अभिभावकवर्ग, शैक्षिक, सामाजिक, राजनैतिक, भाषिक र साहित्यिक सङ्घ-संस्था, सरकार इत्यादि जस्ता निकायहरूको कर्तव्य र भूमिका महत्त्वपूर्ण छ।

पेदोङ सरकारी महाविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।