15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शबरी महाकाव्य : एक नजर

कृति/समीक्षा डा. गोमा देवी शर्मा 'अधिकारी' August 21, 2022, 12:11 pm
डा. गोमा देवी शर्मा 'अधिकारी'
डा. गोमा देवी शर्मा 'अधिकारी'

नारी अस्मिता, नारी सम्मान, नारी अस्तित्व जस्ता विषयहरूमा गहन चिन्तनमग्न विश्वका मझेरीमा ‘शबरी’ जस्तो महाकाव्य पस्किएर असम का निवासी कवि, नाटककार, कथाकार रेवतीमोहन तिम्सिनाले आफ्नो प्रगतिशीलताको परिचय दिएका छन्। भारतीय साहित्यमा गौण पौराणिक पात्रहरूको वैशिष्ट्य केलाउने क्रम बीसौं शताब्दिको उत्तरारार्द्धबाट प्रारम्भ भएको देखिन्छ। हिन्दी साहित्यमा यसको प्रयोग बढ़ि मात्रामा भएको देखिन्छ। रामधारी सिंह दिनकरले कर्णको विशेषता समाज अघि राख्न रश्मिरथि लेखे भने मैथिलीशरण गुप्तले साकेतमा रामायणकी पात्रा, लक्ष्मण पत्नी उर्मिलाको मर्मलाई पाठक अघि राखेका छन्। यस्ता प्रयोगबाट भारतीय नेपाली साहित्य पनि अछूतो रहन सकेको छैन। रेवतीमोहन रचित शबरी यसै परम्परालाई डोऱ्याउने एउटा उत्तम महाकाव्य हो।
पुस्तकमा लेखिएको विधा अनुसार यसलाई महाकाव्य भनिएको छ। काव्यशास्त्रको परम्परा अनुसार यस ग्रन्थमा महाकाव्यका सम्पूर्ण गुणहरू नपाइएकाले यसलाई महाकाव्य भन्न मिल्दैन भन्ने विद्वानहरूको भनाई पनि छ। यहाँ यस विषयलाई लिएर केही चिन्तन गर्न आवश्यक भएको छ। समय चलायमान छ। विज्ञानको प्रगतिले मानव जीवन निरन्तर सरलीकरणतर्फ अग्रसर भइरहेको छ। जीवन मूल्यमा परिवर्तन दिनहुँ देखा परिरहेका छन्। हाम्रा पुर्खाले बाँचेको जिन्दगी भन्दा हाम्रो जीवनशैली धेरै भिन्न छ तर पनि हामी आफूलाई उनिहरूकै सन्तती मान्न कटिबद्ध छौं। त्यसैले वर्तमानको सन्दर्भमा साहित्यलाई पनि त्यही पुरानो कसिमा जोखेर हेर्नु उचित हुँदैन। वर्तमान सन्दर्भमा त्यसमा निहित मूल्य केलाउनु समयको माग हो। यी तर्कहरूलाई मध्यनजर गर्दा रेवतीरमोहन सृजित ‘शबरी’ कृति एउटा महाकाव्यको कसिमा उभिएको हामी पाउँछौं। सर्गबद्धता, धीरोदत्त नायक वा नायिका, मुख्य पात्रको जन्मदेखि मृत्यु पर्यन्तको जीवन कथा, प्रकृति चित्रण आदि काव्यशास्त्रले बताए बमोजिम एउटा महाकाव्यका अपेक्षित गुणहरू हुन्। यस काव्यकी नायिका शबरी धीरोदत्त नायिका हुन र यसमा उनको जन्मदेखि लिएर मरण पर्यन्तको गाथा वर्णित छ। काव्यको कथानक सत्रह वटा सर्गमा विभाजित छ। यसमा समय र प्रसङ्ग अनुसार चित्रात्मक भाषामा प्रकृतिको मनोरम चित्रण भएको पाइन्छ। छन्दको नजरले हेर्नु हो भने यो छन्दोबद्ध काव्य नभएर तुकान्त काव्य हो, यसैले यसलाई केलाउँदा छन्दस्खलन वा विचलन भन्ने प्रश्नै आउँदैन। छन्दबाट प्रेरित भन्न सकिन्छ, किनभने शिखरणी र अनुष्टुप छन्दको लय भने सम्पूर्ण काव्यमा देख्न पाइन्छ।
1 कथावस्तु - रामायणमा रामको वनवासमा युगौंदेखि दर्शनाभिलाषी भिल्लपुत्री शबरीले रामको दर्शन पाएर जूठा बयर खुवाएको छोटो प्रसंग मात्रै पढ्न पाइन्छ। यति सानो प्रसङगबाट प्रेरित भएर शबरी माथि महाकाव्य लेख्नु कविको काव्यसृजन शक्ति मात्रै नभएर अथक मेहनत र शोधमूलक प्रवृत्ति पनि देखिन आएको छ। भारतभूमिको वर्णन, भिल्ल समाज र उनीहरूको रीति रिवाज, शबरीको बाल्यकाल, विवाहको तैयारी, घरबाट पलायन, मतंग ऋषिकी शिष्या बन्नु, राम दर्शन, नवधा भक्तिको वर्णन, शबरीलाई रामचन्द्रको वरदान, स्वयं शरीर त्याग गर्ने अनुमति, अग्निद्वारा उनको शरीर भस्मीभूत हुनु यस काव्यको कथावस्तु हो। कथानक वर्णनात्मक शैलीमा निरन्तर अघि बढे़को देखिन्छ। कथा सूत्रमा पाठकलाई बाँधी राख्ने गुण विद्यमान छ र अगाड़ि के हुन्छ भन्ने पाठकको मनमा कौतुहल बनी रहनु यस काव्यको ठूलो विशेषता हो।
2.पात्र - भिल्लपुत्री शबरी यस महाकाव्यकी नायिका हुन्। दण्डकारण्यमा वसोबास गर्ने भिल्ल वा शबर जातिमा जन्म लिने शबरी बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि भएकी, पितालाई अनेकौं प्रश्न सोधिरहने जिज्ञासु र तेजस्विनी बालिका थिइन्। शबरीको मनमा पशु प्राणीमा दया भाव थियो। भिल्ल जनजातिमा प्रचलित पशुहत्या, मांस भक्षण प्रति उ विद्रोह गर्छिन्। विवाह योग्य भएपछि विवाहका दिन उनको मन यस अवसरमा गरिने हत्याप्रति हाहाकार गर्दछ र त्यसको प्रतिकार गर्दै उनी घर छाड़ी भाग्छिन्। अनेक दुख कष्ट भोग्दै तरूणी शबरी मतंग ऋषिका आश्रममा शरण लिन पुग्छिन्। त्यतै अध्यात्म चिन्तन गर्दै श्रीरामको दर्शन गरि अन्त्यमा आफैं शरीर त्याग गर्दछिन्। यसरी शबरी एउटी विद्रोही, प्राणीमात्रमा दया गर्ने, सदाचारी जीवन जिउने पात्रका रूपमा देखा पर्दछिन्।
शबरीका माता-पिता, साथी संगी, मतंग ऋषि, श्रीराम आदि शबरीको कथालाई दिशा दिने सहायक पात्रहरू हुन्।
3. देशकाल / परिवेश - शबरी पौराणिक कथा प्रसंग भएको हुनाले यसको काल निर्धारण छैन। भिल्ल जातिको वासस्थान दण्डकाराण्यको परिचय र परिवेश साथै तपोवनको वर्णन भने यस काव्यमा सुन्दर शब्दमा भएको छ-
देखिन्छन् दण्डकारण्य बीचमा वृक्षादि मनोरम
सुन्दर वन उपवन जलाशयहरू कान्तिमय अनुपम
पाइन्छन् भिल्ल जाति वन विषे पुरूष र नारी भई
घुम्दै हुन्छन् ती शिकार बटुली दुर्गम वनैमा गई । (शबरी, पृ-1)
यसरी भिल्ल जाति बस्ने स्थान व परिवेशको चित्रण कविले सुन्दर ढंगले गरेका छन्। तपोवनको शान्त वातावरणको वर्णन पनि कविले रोचक शैलीमा गरेका छन्। वाह्य परिवेश साथै पात्रको आन्तरिक परिवेशको चित्रण पनि कविले कुशलताका साथ गरेको पाइन्छ। शब्दको माध्यमबाट शबरीको मनस्थिति पाठक सामु ल्याउन कवि सफल देखिन्छन् -
भन्छिन् मनमन बिहे हुँदा मेरो ती निमुखा मारिने
बिहेनै बरू नभै दिएर कतै प्राण इनको जोगिने।
हुँदै हुन्ननि विवाह अब मेरो संकल्प मनमा लिएँ
घर छोड़़ी निराश्रय बनी हरि भागेर लौ म गएँ। (पृ.21)
यसै गरी शबरीका मनमा कहिले हीन भावनाहरूको जन्म भएको देखिन्छ। आफुले उठाएको कदमलाई कहिले पाप नजरले हेर्ने गर्छिन्। उनको अन्तर्द्वन्द्वलाई कविले राम्रो शैलीमा दर्शाएका छन् -
पाप कर्म गरि हिंडें कुजन सरि, मैं मोरी पापी अति
कुन पापको फल यो अनर्थ हुनगो भोग्दी हुँ म कुमति
संगी दूर रहे परिजन गए बदनाम सारा भयो
अर्थ नाश भयो, परिश्रम गयो अनर्थ हुन गयो ।। (पृ.24)

4. उद्देश्य - पद्मपुराण, बाल्मीकिय रामायण, रामचरित मानस, कम्ब रामायण, भानुभक्तीय रामायण आदिमा वर्णित गौण पात्रा शबरीलाई एउटा महाकाव्यकी नायिकाको रूपमा उभ्याएर पाठक सामु उसको वैशिष्ट्य उद्घाटन गर्नु यस काव्यको मुख्य उद्देश्य हो। पुराण आदिमा शबरीलाई अछूत र दीन हीन पात्राका रूपमा वर्णन गरेको पाइन्छ। यसका साथै उसको छोटो प्रसंग पढ़न पाइन्छ। यस्ती गौण पात्रा शबरीमाथि महाकाव्य लेखेर कविले आफ्नो प्रगतिशीलताको परिचय दिएका छन्। यसमा कविले आफ्नु कवित्वशक्ति र मौलिक उद्भावनाको बढ़ि प्रयोग गरेर यसलाई जीवन्त तुल्याएका छन्। शबरी जीवनका प्रत्येक पाटालाई समाज सामु राख्नु मात्रै यस काव्यको उद्देश्य न भएर समाजमा प्रचलित पशु हत्या, प्रकृति विनाश जस्ता जघन्य कार्यको विरोध र प्रकृति संरक्षणको पक्षमा उभिनु पनि यसको लक्ष्य हो। समाजमा पलेका विसंगतिहरूको खुलासा र तिनीहरूको निराकरणको आह्वान पनि कविले यस काव्यग्रन्थमा गरेका छन्।
5.शैली पक्ष - प्रस्तुत ग्रन्थ झट्टै हेर्दा छन्दोबद्धझैं देखा पर्छ। तर राम्रोसँग अवलोकन गर्दा यो छन्दमा लेखिएको हो भन्न सकिँदैन। कतै-कतै शिखरिणी र अनुष्टुप छन्दको छटा भने देख्न अवश्य पाइन्छ तर सम्पूर्ण काव्य छन्दमा लेखिएको पाइँदैन शिखरिणी र अनुष्टुप छन्दको लय भने यस काव्यमा प्रशस्त मात्रामा देख्न पाइन्छ। यसमा तुकान्तताको निर्वाह भने कविले राम्रोसँग गरेको देखिन्छ।
क. अलंकार योजना - शबरी एउटा महाकाव्य हुनाले कवि रेवतीमोहनले आफ्नो कथ्यलाई विभिन्न अलंकारद्वारा रोचक बनाउने प्रयास गरेका छन्। यसमा अनुप्रास, रूपक, पुनरूक्ति, मानवीकरण जस्ता अलंकार र बिम्बहरूको सुन्दर प्रयोग गरेको देख्न पाइन्छ। केही उदाहरणहरू हेरौं -
मुकुट मस्तकमा मयूर चरीको प्वाँखले सुशोभित भई
देखिन्छन् सरदार विभिन्न रूपमा भीलको सभामा गई । (पृ.3)
यसको प्रथम पंक्तिमा ‘म’ वर्णको आवृत्ति क्रमशः मुकुट, मस्तक, मयूरमा भएकाले यसमा अनुप्रास अलंकारको छटा दर्शनीय छ।
यसै गरि -
कता केकालागि कुन किसिमले कसोगरि (पृ.6)
यस पंक्तिमा पनि क वर्णको आवृत्तिले अनुप्रास अलंकारको सौन्दर्य झल्किएकोलदेखिन्छ।
मानवीकरण अलंकार -
घुम्दै जान्छ फनफन्ति काल चकरी विधि बमोजिम हुँदै
वर्षा शीत गरि जगत प्रकृतिको मायालु हातले छुँदै। (पृ.9)
माथि उल्लेखित काव्य पंक्तिहरूमा मानवीकरणको सुन्दर उदाहरण देख्न पाइन्छ। यहाँ कालचक्रलाई वर्षा, शीत, प्रकृति आदिलाई मानव सरह छुँदै घुम्ने र मानव सरह कार्य गरेको देखाइएको हुनाले यहाँ मानवीकरणको सौन्दर्य देख्न पाइन्छ। यसै गरि -
पूर्वपट्टि उता दिवाकर विभु ब्युँझेर उठ्ने हुँदा
पर्दा त्यो क्रमशः उघारी दिंदि हुन् प्रकृतिले सर्वदा
आकाश पूर्वतिर रंगाई अनुहार लालिमा छरि छरि
गर्न लाग्दछ स्वागत विभुकन शीतले नुहाई वरि । (पृ.26)
यहाँ सुर्य र प्रकृतिलाई मानव सरह कार्यशील बताएको हुनाले मनवीकरणको सुन्दर उदाहरण देखिन गएको छ।
ख. चित्रात्मकता - कविले विषयवस्तुलाई पाठक सामु पस्किन धेरै ठाउँमा बडो चित्रात्मक भाषाको प्रयोग गरेका छन्। यसले गर्दा पाठकका आँखाअघि त्यसको चित्र उभिएको पाइन्छ। यसरी कविले बिम्बात्मक अभिव्यक्ति दिनमा पनि आफु खप्पिस भएको कुरा सिद्ध गरेका छन्।
1. रातो वर्ण ती सुन्दरी भीलनीको लामो मुहुडा कन
लामा हस्त दुवै सलक्क औंला सुनमा सुहागा झन। (पृ.9)

2. अचम्भ भैगो लौ, ज्वाल एक खंड चिता बीचको
उडेर जाँदो भो, क्रमशरू नभोमण्डल तिर त्यो। (पृ. 127)
6.भाषा - शबरी महाकाव्यमा कविले सर्वग्राह्य, सहज, सरल नेपाली भाषाको प्रयोग गरेको पाइन्छ। कविले प्रसंगानुसार र पात्रानुसार भाषा प्रयोगमा दक्षता देखाएका छन्। काव्यमा ब्रह्म मुहूर्त, प्रातः कृत्य, श्वान, सुधा, सौम्य, पिपासा, कुक्कुट, पाणिग्रहण, पयोधरा, कृष्णकाय, भयार्ता जस्ता तत्सम शब्दको प्रयोग बढ़ी मात्रामा भएको पाइन्छ तर त्यसले अर्थग्राह्यतामा बाधा पुऱ्याएको देखिँदैन। शब्द प्रयोगमा कविले आफ्नो भाषिक शक्तिको परिचय दिएका छन्। ध्वन्यात्मक शब्दहरूको प्रयोग पनि कविले सुन्दर रीतिले गरेका छन् -
पानी भरी-भरी साथीसंग खित खिताई
चोली फरिया समेत दिने निथ्रुक्क भिजाई । (पृ. 56)
कतै कतै कविले तुक मिलाउनका निम्ति शब्द रूपलाई तोड़मरोड़ गरेको पनि देख्न पाइन्छ। जस्तै बस्तीलाई बसती, सौगातलाई सउगात, समदर्शीलाई समदरसी, डर्दछुलाई डर्दिछु, सृजिन्छनलाई स्रजिन्छन र दुखीलाई असुखी भनेर प्रयोग गरेको पाइन्छ।
सम्वादात्मकता - शबरी काव्य धेरै जसो वर्णनात्मक शैलीमा लेखिएको छ। यसमा कथानकलाई अघि बढ़ाउनका निम्ति सम्वादको संयोजन पनि सुन्दर रूपमा गरेको पाइन्छ -
1. भन्छिन एक सखि ए साथी तिमी छौ भाग्यमानि अति
सर्वश्रेष्ठ ती गुणवान तिमीले पाई रहिछौ पनि । (पृ.14)
-----
2. जातिकी म त हुँ अछूत भिलनी बस्नु पो कसो गरि
ब्राह्मण देवता व ऋषिजनहरू तप गर्छन् निष्ठा लिई।
म शुद्रा परदार नीच अबला के गर्नु त्यहाँ गई। (पृ. 29)
-----
3. शबरी हाम्रो लौ, प्रभु दरशनको शुभघडी
आई पुग्न लाग्यो सबमा खुशी छायो वरिपरि। (पृ. 87)
7. सामाजिक पक्ष
शबरी महाकाव्यलाई नियाल्दा धेरै सामाजिक समस्याहरू पनि देखिन आएका छन्। यो कविको अन्तर्हृदयमा रहेको सामाजिक चेतनाको परिणाम हो भन्न सकिन्छ। यसमा विभिन्न पक्षहरूको उद्घाटन भएको पाइन्छ-
क. नारी अस्मिता /प्रतिष्ठा - विश्व स्तरमा नारीको स्थिति बिडम्बनापूर्ण रहेको पाइन्छ। पुरुष प्रधान समाजमा उ सँधै दीन हीन स्थितिमा बाँचेको देखिन्छ। वर्तमानमा आएर उ स्वयं स्वअस्तित्वप्रति चेतनशील हुँदा विश्वको सोच उप्रति थोरै बदलिँदै गरेको देखिन्छ। यस महाकाव्यकी नायिका शबरी परिस्थितिकी दासी वा भाग्यमा भरोसा गर्ने पात्र नभएर सामाजिक परम्पराको विरोधमा उभिने एउटी विद्रोही एवं क्रान्तिकारी पात्रका रूपमा देखा परेकी छिन्। उनको यो कदम सम्पूर्ण नारी जातिका लागी प्रेरणाप्रद हो भन्न सकिन्छ। उ नारी अस्मिताकी प्रतिष्ठापक हुन्। कतै कतै सामाजिक सोचको प्रभाव शबरीको यस विद्रोही कदममा नेल बन्न खोजेर उनलाई कमजोर तुल्याउने कोशिश गरेको पनि देखिन्छ। विवाहमा पशुहत्या प्रति विद्रोह गर्दै घरबाट भागी जाने क्रममा उसले स्वयंलाई अबला, मै मोरी पापी आदि शब्दहरूले कमजोर तुल्याएको पाइन्छ। यो यस काव्यको कमजोर पक्ष हो भन्न सकिन्छ।
ख.पशुहत्याको विरोध, प्राणीमा दया- यस काव्यमा वर्तमान युगमा विश्वकै समस्या बन्न पुगेको पशु हत्या वा प्रकृति नष्ट गर्ने समस्याप्रति कविले आफ्नो चिन्तालाई मुख्य पात्रा शबरीमा आरोपित गरेको पाइन्छ। मानव मनमा प्राणी र प्रकृतिप्रति दयाभाव समाप्त भएकाले वर्तमानमा फैलिएको प्रदूषण र पृथ्वीको सन्तुलन बिग्रिएर मानव जातिले भोग्नु परेको समस्याप्रति कवि चेतनशील देखिन्छन्। यस काव्यकी नायिकाले यसै सामाजिक कुप्रथाप्रति विद्रोह गर्दै प्रकृतिकै काखमा जीवन बिताई मोक्षलाभ गरेको देखिन्छ।
ग. विद्रोह र अन्य विशेषताहरू--शबरी महाकाव्यमा पात्रा शबरीले परम्परागत नकारात्मक सामाजिक समस्याप्रति विद्रोह गरेकी छिन्। समाजमा प्रचलित जात-पात वा ऊँच नीचको समस्याप्रति पनि कविले व्यंग्य गर्दै सच्चरित्र, सद्विचार वा सदाचारनै मानवको सही पहिचान हो भन्ने कुराको पुष्टि शबरीको माध्यमबाट गरेका छन्।
माथि देखा पर्न गएका विभिन्न विशेषताहरू अवलोकन गर्दा शबरी एउटा बहुविषयी महाकाव्य हो भन्न सकिन्छ। यसमा व्यक्तिगत, मनोजगत, सामाजिक आदि विभिन्न विषयलाई सुरुचिपूर्ण शैलीमा अभिव्यक्ति दिएको पाइन्छ। यसमा पाठकहरूले साहित्यका उत्तरआधुनिक गुणहरू समावेश भएको अनुभव गर्न सक्दछन्। सम्पूर्ण भारतीय साहित्यमा रामायणकी गौण पात्रा शबरीलाई लिएर लेखिएको यो पहिलो ग्रन्थ हो भन्ने यस पंक्तिकारलाई लाग्दछ। यस ग्रन्थमा निहित वैशिष्ट्यलाई भारतीय साहित्यअधि राख्नका लागी अन्य भारतीय भाषामा यसको अनुवाद हुनु पर्ने आवश्यकता देखिन्छ। यस्तो अप्रतिम काव्यग्रन्थ भारतीय नेपाली साहित्य कोषलाई अर्पण गरेकोमा कवि रेवतीमोहन तिम्सिना साधुवादका पात्र छन्।
पुस्तकको नाम - शबरी
विधा - महाकाव्य
रचनाकार - रेवतीमोहन तिम्सिना (असम)

गुवाहाटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।