19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजा र मेरो संवाद

कविता प्रा. डा. मोहन प्रसाद जोशी August 21, 2022, 4:21 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

अचानक केही चल्या’ जस्तो लाग्यो,
कुनामा कोही छ जस्तो लाग्यो |
त्यसैले मैले सोधेर हेरेँ—
त्यहाँ कोही छ ?
तुरुन्त कसैको उत्तर आयो—
छु |
अचम्म मानेर पुनः सोधेँ—
को त तपाईं ?
आवाज आयो—
म तिम्रै राजा हुँ नि |
नपत्याउँदै मैले प्रश्न गरेँ—
त्यसो भए किन देखिनुहुन्न त ?
जवाफ पाएँ—
किनकि म थुनामा छु |
प्रश्न गरेँ—
कहाँ ?
उत्तर पाएँ—
आफ्नै महलमा |
उत्सुकता बढ्यो र फेरि सोधेँ—
कुन महल ? म त कुनै महल देख्दिन यहाँ !
उनले तुरुन्त भने—
आफ्नै शरीर पनि देख्दैनौ र ?
अचम्म मानी पक्का गर्न खोजेँ—
मेरै शरीरलाई नै महल भन्नुभा’ हो कि क्या हो ?
उनले भने—
हो नि |
कौतूहल बढ्यो र प्रश्न निस्क्यो—
कसले थुन्यो त मेरै शरीरमा यहाँलाई ?
अलि नपत्या’ जसरी उनले प्रतिप्रश्न गरे—
के साँच्चिकै तिमीलाई थाहा छैन र ?
इमान्दारीका साथ मैले उत्तर दिएँ—
छैन, मलाई साँच्चै थाहा छैन |
दु:खी आवाजमा उनले भने—
होला, त्यो त्यस्तै छट्टू छ |
मेरो कौतूहल अझै बढ्यो र सोधिहाले ̐—
को हो त्यो छट्टू ? कृपया भन्नोस् न |
उत्तर आयो—
त्यही दुष्ट व्यक्ति त हो नि त्यो,
तिम्रै अहङ्कार त हो नि त्यो |
पत्याउन नसकेर मैले सोधेँ—
त्यो जाबो अहङ्कारले त्यस्तो गर्यो त ?
राजालाई नै थुनिदियो त ?
उनले भने —
सक्दो रै’छ त खै, मलाई गरिरा’ छ इ: !
मैले अरु खोतले ̐—
कसरी गर्यो त त्यसले एक्लै ?
राजाले मलाई बुझाउँदै भने—
केही शक्तिशाली व्यक्तिहरूको साथ लिएर
र बाँकी जनताको मति मन्द पारेर |
कौतूहल अझै थपियो र सोधेँ—
को हुन् त राजन् ती शक्तिशाली व्यक्तिहरू ?
उनले स्पष्ट पारे—
तिम्रा इन्द्रियहरू नै त हुन् नि |
यो सुनेर मेरो मुखबाट निस्क्यो—
ओहो ! अहम् र इन्द्रिय मिलेछन् त !
राजाले भने—
हो, यी दुई थरी मिलेर जालसाजी गरे
र अँध्यारोमा मलाई कैद गरे |
कुरा बुझेर मैले बिलौना गरेँ—
अहम् र इन्द्रियको मिलेमतो रै’छ,
राज्यमा अराजकता फैल्या रै’छ,
त्यसैले म यस्तो दु:खी भा’ रैछु,
संरक्षण नपाएर टुहुरो भा’ रैछु |
त्यसपछि झुकेर बिन्ती गरेँ—
हे राजन्, कुनै किसिमले बचाउनुहोस्,
मेरो बेडा पार गराउनुहोस् !
करुणापूर्वक राजाले भने—
अहम् र इन्द्रिय शक्तिशाली छन्,
तिनीहरु बेहद नशालु छन्,
सोमरस पिलाई लठ्याउँछन्,
मन र शरीरलाई झुक्याउँछन्,
सोच्ने शक्ति खि ̐चेर लिन्छन्
र मनोमानी राज्य चलाउँछन् |
तर कोसिस गरेमा उद्धार हुन सक्छ,
स्वराज्य फिर्ता आउन सक्छ |
हाम्रो देशमा अझै एक जना छ,
चाहेमा उसले मदत गर्न सक्छ |
मुख उज्यालो पार्दै मैले सोधेँ—
कहाँ छ राजन् त्यो बुद्धिमान् मान्छे ?
राजाले बताए—
शहरमा अहम् र इन्द्रिय उफ्रिरा’ छन्,
त्यसैले ऊ अहिले जङ्गलमा छ |
जाउ, अविलम्ब जङ्गलमा जाउ,
झुकेर उसको नाम बोलाउ
र भेटिनेबित्तिकै पाउ समाऊ |
मैले सोधेँ—
उसको नाम के हो राजन् ?
राजाले भने —
उसको नाम हो, ‘अवलोकन’ |
मैले नपत्याएर प्रश्न गरेँ—
अवलोकन ? मैले अलि बुझिनँ राजन् |
अवलोकन भन्या त हेर्ने भन्या हो |
खालि हेर्दैमा समस्या सकिएला त,
अहम् र इन्द्रियलाई जितिएला त ?
राजाले कुरा बुझाउँदै भने—
सुरुमा त्यस्तै लाग्छ, पत्यार लाग्दैन |
तर त्यो अवलोकन भन्ने व्यक्ति अपूर्व छ,
उसले सही रूपमा हेर्न सिकाऊँछ |
मैले अझै बुझिनँ र फेरि सोधेँ—
तर मैले अहिले पनि त हेरी नै रा’ छु नि,
राम्ररी नै हेरिरा’ छु जस्तो लाग्छ |
राजाले स्पष्ट पार्दै भने —
हो, ठीक हो, हेर्न त तिमीले हेरिरा’ छौ,
तर त्यस हेराइमा अहम् र इन्द्रिय छिरेका छन् |
अवलोकनले ‘अलग्गै’ बसेर हेर्न सिकाउँछ,
असंलग्न दृष्टि दिलाई साक्षीभाव जगाउँछ,
दूधको दूध र पानीको पानी गराउँछ,
अहम् र इन्द्रियको जालसाजीलाई खुलाउँछ,
तिमीलाई उनीहरुको चुङ्गलबाट छुटाउँछ
र मसम्म आइपुग्ने मार्ग देखाउँछ |
यो सुनेर झुक्दै विनय गरेँ—
राजन्, म आशीर्वाद पाऊँ,
अवलोकनजीको साथ पाऊँ
र आफू भित्र पस्ने विवेक पाऊँ !
राजाले आशीर्वाद दिंदै भने—
तिम्रो इच्छा मुमुक्ष्या भइजाओस् !
तिम्रो हेराइ अवलोकन भइजाओस् !

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।